किन बन्द छन् अधिकांश विमानस्थल ?
काठमाडौं, १९ साउन । मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भए पनि यसका चुनौती यथावत् छन् । अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको छ, तर पनि प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेको छैन । भौगोलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी बन्न सकेका छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार मुलुकभर कुल ५६ विमानस्थलमध्ये ३३ वटा सञ्चालनमा छन् भने १७ वटा बन्द रहेका छन् । छ वटा निर्माणधीन छन् । सोलुखुम्बुमा सबैभन्दा बढी चारवटा र खोटाङमा तीनवटा विमानस्थल छन् । काठमाडौंसहित २६ वटा विमानस्थल कलोपत्रे (पक्की) गरिएका (पक्की) छन् । काठमाडौंपछि पोखरा विमानस्थल सुविधा सम्पन्न मानिन्छ । भोजपुर, कांँगेलडाँडालगायत कालोपत्रे गर्ने क्रममा छन् । वर्षातमा तीन महिना बन्द मुलुकभित्र सञ्चालनमा रहेका आन्तरिक विमानस्थलमध्ये वर्षातको समयमा पहाडी भेगका अधिकांश विमानस्थल बन्द हुन्छन् । क्यानका अनुसार ताप्लेजुङ, लामिडाँडा, कांगेलडाँडा, थामखर्क, दाङ, मनाङ, मेघौलीलगायतका विमानस्थल बर्सेनि वर्षातको समयमा बन्द हुन्छन् भने अन्य केही विमानस्थलमा अवरोध हुने गरेको छ । वर्षातको समयमा पहिरो, बाढीका कारण सडकमार्ग अवरुद्ध हुने र गन्तव्यमा पुग्ने यात्रुलाई समस्या पर्ने हुँदा हवाई यातायात छिटो र छरितो मानिन्छ । मौसम प्रतिकुलताका कारण पहाडी भेगका अधिकांश विमानस्थल बन्द हुनेगरेको क्यानका आन्तरिक विमानस्थल र सहजीकरण विभागका प्रमुख सुधीरकुमार श्रेष्ठले बताए। असार १५ गतेदेखि भदौ १५ गतेसम्म हवाइ सेवा अवरुद्ध हुने गरेको छ । दशकौँ अघि उडान सुरु गरेका (हाल बन्द विमानस्थल) एयरलाइन्सले उडान नराखेका कारण बन्द रहेको क्यानको भनाइ छ । यिमध्ये सबैभन्दा लामो सन् १९६० देखि सप्तरीको राजविराज र गोरखाको पालुङटार बन्द छन् । क्यानका प्रवक्ता देवेन्द्र केसीले सम्भव भएसम्म क्रमशः उडानयोग्य सबै विमानस्थल कालोपत्रे गर्ने योजनाअन्तर्गत प्राथमिकतामा काम अघि बढाइएको बताए । सरकारको तर्फबाट साझेदारीका साथ लगानी गर्न चालु आवको प्रस्तावित बजेटमा करिब रु १९ अर्ब बजेट विनियोजन भएको र क्यानले पनि बजेट थपेर विमानस्थलको निर्माण, मर्मत र क्षमता विस्तारका काम अघि बढाइने उनको भनाइ छ । निर्माण प्राथमिकतामा राजविराज र डोटी विमानस्थल छन् । कतिपयको स्तरोन्नति गरिनेछ । पहाडी उडान किन प्रभावित भन्ने प्रश्नमा प्रवक्ता केसीले विमानस्थल कालोपत्रे नभएको र उडानयोग्य (मनाङ, दाङ)लगायत विमानस्थलमा साना विमान नभएकाले पनि उडान बन्द हुने गरेको बताए । लामो समयदेखि बन्द रहेका विमानस्थल पनि स्थानीयवासीको माग अनुसार सञ्चालनको प्रयास गरिने उनले बताए । हाल नेपाल एयरलाइन्स बाहेक नौवटा निजी एयरलाइन्सले आन्तरिक उडान भर्दै आएका छन् । विशेष गरी विगतको द्वन्द्व र पछिल्लो लोकतान्त्रिक आन्दोलनका कारण कतिपय विमानस्थलमा भौतिक पूर्वाधारमा भएको क्षतिपश्चात् उडान सञ्चालन हुन नसकेको क्यानले जनाएको छ । सडक सञ्जालले पहाडी जिल्लालाई जोडेपनि क्रमशः विमानमा यात्रा गर्ने यात्रुमा कमी आउनु, वायुसेवा कम्पनीले उडान नगर्नु तथा वायुसेवा कम्पनीसँग पहाडी जिल्लामा उडान गर्ने जहाजको कमीका कारण समस्या आएको हो । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि हाल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयले जनाएको छ । घाटामै आन्तरिक विमानस्थल आर्थिक हिसावले आन्तरिक विमानस्थल सबैजसो घाटामा रहेको बताइन्छ । विराटनगर, भैरहवा, पोखरा र नेपालगञ्ज मात्र सञ्चालनयोग्य रहेका छन् । पर्यटकीय दृष्टिकोणले करोडौँ खर्चेर बनाइएका विमानस्थल पनि पूर्णरुपमा सञ्चालन नहुँदा थप घाटा पुगेको छ । “करोड खर्च गरेर विमानस्थल कालोपत्रे गरियो तर प्रतिफल राम्रो छैन, पर्यटलाई लक्ष्यित गरेर बनाइएका विमानस्थल पनि चलेका छैनन, साना जहाज प्रर्याप्त नहुनुले पनि उडान हुनसकेको छैन,”–प्रवक्ता केसीले भने । अहिले रारा, मुगु, डोल्पा, सिमिकोट आदि विमानस्थल प्रभावकारी रुपमा सञ्चालनमा छैनन् । एउटा विमानस्थल कालोपत्रे गर्न कम्तीमा रु १५ करोड लाग्छ । विमानस्थलमा कतिखर्च हुन्छ भन्ने यकिन छैन, क्षेत्रफल र घनत्वका आधारमा खर्च निर्धारण हुन्छ । रासस
प्रचण्ड ३९ औं प्रधानमन्त्री निर्वाचित
काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित भएका छन् । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीलाई विस्थापित गर्दै प्रचण्ड मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित भएका हुन् । प्रचण्डले व्यवस्थापिका संसदमा खसेको ५७३ मतमध्ये ३६३ मत ल्याएर विजयी भएका हुन् । उनको विपक्षमा जम्मा २१० मत मात्रै खसेको थियो । प्रचण्ड नेपालको संबिधान २०७२ को धारा २९८ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । प्रधानमन्त्रीका रुपमा प्रचण्डको यो दोश्रो कार्यकाल हो ।
परिसूचक र कारोबार रकम दुबैमा गिरावट, सबै समूहले देखाए रातो रङ
काठमाडौं, १९ साउन । बजारमा बुधबार परिसूचक र कारोबार रकम दुबैमा गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलब ७५ अंकले घटेर १८१३ अंकमा पुगेको छ । सो दिन १३७ कम्पनीको २४ लाख ८३ हजार कित्ता सेयर करिब एक अर्ब २७ करोड ९२ लाख रुपैयाँमा किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको करिब ९ करोड २२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सिद्धार्थ बैंकको ७ करोड २१ लाख रुपैयाँ र नेपाल बैंकको ६ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको ५ करोड ३८ रुपैयाँको र अन्य कम्पनीको ५ करोड भन्दा थौरै रुपैयाँको सेयर किनबेच भएको छ । दोहोरो अंकले घटेको दिन बजारमा सबै समूहमा रातो रङ देखिएको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक ४१ अंकले ओरालो लागेको छ । बीमा, हाइड्रोपावर, बैकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः ३३, १७, १३ र ११ अंकले घटेको छ । होटल र फाइनान्स समूहको बराबर अंक १० ले घटेको छ । त्यस्तै अन्य समूहको सामान्य अंक ३ ले घटेको छ ।
विद्युत् अवरुद्ध भएपछि सर्वसाधारण आक्रोशित
खोटाङ, १९ साउन । खोटाङ र ओखलढुङ्गामा पाँच दिनदेखि विद्युत् अवरुद्ध भएपछि सर्वसाधारण आक्रोशित भएका छन् । गत शनिबारदेखि गाईघाट–दिक्तेल ३३ केभी विद्युत् प्रशारण लाइन अवरुद्ध भएपछि सर्वसाधारण मर्कामा परेका हुन् । आक्रोशित सर्वसाधारण विद्युत् प्राधिकरणको कार्यालय दिक्तेल गएर तत्काल विद्युत् सुचारु गराउन ध्यानाकर्षण गराएका छन् । प्राधिकरणबाट बेलुकासम्ममा विद्युत् सुचारु हुने जवाफ पाएपछि आक्रोशित स्थानीय फर्किएको गोपालचन्द्र आचार्यले बताए । विद्युत् अवरुद्ध हुँदा जिल्लास्थित सरकारी तथा गैंरसरकारी कार्यालय, वित्तीय संस्था, फोटो तथा फोटोकपी व्यवसाय तथा निजी कामकाज प्रभावित भएको छ । लामो समयम्म विद्युत् अवरुद्ध भएपछि खोटाङका ३९ गाविसका आठ हजार ८५३ उपभोक्ताका साथै छिमेकी जिल्ला ओखलढुङ्गाको जनजीवन प्रभावित भएको हो । विद्युत् नआउँदा खोटाङ जिल्लाबाट हरेक शुक्रबार प्रकाशित हुँदै आएको हलेसी खबर साप्ताहिक, आइतबार प्रकाशित हुँदै आएको रुपाकोट खबर साप्ताहिक र हरेक सोमबार प्रकाशित हुँदै आएको खोटाङ खबर साप्ताहिक पत्रिका प्रकाशन हुनसकेको छैन । लामो समयसम्म विद्युत् अवरुद्ध भएपछि जिल्लामा सञ्चालन हुँदै आएका हलेसी एफएम र रुपाकोट एफएमको प्रशारण समेत बन्द भएको छ । उदयपुरको रसुवादेखि साउनेबीचमा ‘फल्ट’ भएकाले विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण शाखा खोटाङले जनाएको छ । हालसम्म फल्ट भएको स्थान पत्ता लाग्न नसकेको प्राधिकरणका निमित्त प्रमुख सुदिप ज्ञवालीले बताए । रासस
फास्ट ट्रयाक आफैं बनाउने प्रचण्डको प्रतिवद्धता
काठमाडौं, १९ साउन । प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहालले फास्ट ट्रयाक आफैं बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीमा आफुलाई मतदान गर्न आग्रह गर्दै व्यवस्थापिका संसदमा सम्बोधन गर्नेक्रममा प्रचण्डले फास्ट ट्रयाक आफैं बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले भने–‘प्रधानमन्त्रीज्यु चिन्ता नगर्नुस, फास्ट ट्रयाक हामी आफैं बनाउँछौं, हुलाकी राजमार्ग पनि हामी आफैं बनाउँछौं ।’ उनले केरुङ–रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग, चीनसँग पेट्रोलियम पाइप निर्माण लगायतका सबै काम यथोचित ढंगले अघि बढ्ने स्पष्ट पारेका हुन् । प्रचण्डले बजेट बिनियोजन गरिएका कुनै पनि काम नरोक्ने तर प्रधानमन्त्री ओलीले देखाएका असम्भव सपना भने पुरा नहुने स्पष्ट पारे । ‘प्रधानमन्त्रीज्यु तपाईले बजेट बिनियोजन गर्नु भएका सबै काम अघि बढ्छन, तर बजेट बिनियोजन नगरिएका तपाइँको अनावश्यक सपना भने पुरा गर्न सकिन्न ।’ प्रचण्डले अथाह सम्भावना भएको देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउने जिम्मेवारी आफ्नो काँधमा आएको र त्यो पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । संसदलाई सम्बोधन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले विकास र समृद्धिको जनअपेक्षा पुरा गर्न नयाँ सरकार प्रतिवद्ध रहने बताएका थिए । उनले चीन र भारतसँगको सन्तुलित सम्बन्ध कायम गराउनु पर्ने धारणा पनि राखेका थिए । छिमेकी बदल्न नसकिने भएकाले दुबै मुलुकसँग उचित सम्बन्ध कायम गर्नुपर्ने बताए । देउवाले चीन र भारतकाबिचमा नेपालले खेल्न नहुनेमा पनि जोड दिएका थिए ।
कार्यालय सार्दै धितोपत्र बोर्ड, ३० कोठा भएको घरको खोजी
काठमाडौं, १९ साउन । नेपाल धितोपत्र बोर्डले कार्यालय सार्ने भएको छ । धितोपत्र बोर्डले रामशाहपथ, थापाथली, बवरमहल, कालिकास्थान, डिल्लीबजार, बालुवाटार, गौशाला र बानेश्वर आसपास क्षेत्रमा कार्यालय प्रयोजनका लागि घर खोजी सुरु गरेको हो । २० वटा चार पांग्रे सवारी साधन, ४० वटा मोटरसाइकल पार्किङ क्षमता भएको २८ देखि ३० वटा कोठा भएको घर भाडामा लिन लागेको हो । बोर्डले आगामी १५ दिनभित्र सम्बन्धीत घरधनी वा फर्मलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ । कति भाडा लिने हो भन्ने समेत खुलाउन पनि बोर्डले आग्रह गरेको छ ।
उपत्यकामा आयआर्जन घटेपछि जीविको पार्जनमा समस्या
काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकामा भूकम्पपछि सर्वसाधारणको आयआर्जन घटेकाले जीविकोपार्जनको समस्या परेको बताइएको छ । लुमन्ति नेपाल र अक्सफामले संयुक्त रुपमा ‘सहरी सामुदायिक पुनःनिर्माणका लागि जीविकोपार्जनसम्बन्धी’ कार्यशाला गोष्ठीमा सहभागीले उपत्यकामा बसोबास गर्ने सर्वसाधारणको आयआर्जन घटेकाले जीविकोपार्जनमा समस्या परेको बताएको छ । उनीहरुले आयआर्जन घटेसँगै जीविकोपार्जनमा समस्या परेकाले पुनःस्थापनासम्बन्धी कार्यक्रम ल्याउनुपर्नेमा जोड र्दिएका छन् । कार्यक्रममा भूकम्प पुनःनिर्माण प्राधिकरणका सदस्य डा कृष्ण भण्डारीले भूकम्पछि सर्वसाधारणको आयआर्जनमा घटेको बताउँदै आयमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले पुनःनिर्माणको काम सँगसँगै जीविकोपार्जनसम्बन्धी कार्यक्रममा सञ्चालन गरेमात्र वास्तविक रुपमा पुनःनिर्माण हुने बताए । नेपाल रेडक्रस सोसाइटीका उमेश दाहालले भूकम्पले उपत्यकाका मानिसमा आर्थिक उपार्जन घटाएको बताउँदै आयआर्जन सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । लुमन्ती नेपालका अध्यक्ष लजना मानन्धरले उपत्यकामा दैनिक गुजारा समस्या परेकाले आफूहरुले १७० जनालाई आयआर्जन सम्बन्धी कार्यक्रम गरिएको जानकारी गराए । उनले प्राकृतिक जोखिमले जुनसुकै बेला पनि समस्या पर्ने भएकाले ऋणमा डुब्ने सम्भावना भएकाले गरिब हुनबाट जोगाउनु आवश्यक रहेको बताए । अक्सफामका कार्यक्रम संयोजक प्रवीणमान सिंहले उपत्यकामा भूकम्पपछि जीविकोपार्जनमा जोखिम बढेकाले त्यस्ता समुदायको पहिचान गरी स्वरोजगार प्रदान गर्ने जानकारी गराए । उनका अनुसार भाडामा बस्ने, खोलाको किनार बस्ने र उपत्यकाका रैथानेहरु जो भाडाबाट मात्र जीविकोपार्जन गर्नेहरुलाई समस्या परेको छ । उनले उत्पत्यका सात नगरपालिकामा पहिलोपटक स्वरोजगार कार्यक्रम सञ्चालन गरिने जानकारी गराए । एक अध्ययनले उपत्यकामा तीन प्रतिशत गरिबी बढाएको तथ्याङ्क सार्वजनिक गरेको छ । रासस
सुनचादी व्यापारी घाङ्गेमाथि सम्पत्ति शुद्धीकरणको अभियोग, २ करोड १९ लाखको विगो दाबी
काठमाडौं, १९ साउन । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुनचादी ब्यवसायी बालु जगन्नाथ घाङ्गेमाथि सम्पत्ति शुद्धीकरणको अभियोमा मुद्दा चलाएको छ । काठमाडौंको न्यूरोडमा संचालित सुन पसल बालाजी सन्सका संचालक घाङ्गेले अवैध सुनचादीको कारोवार गरेको सुचनाका आधारमा प्रहरीले पक्राउ गर्दा भेटिएको सुन चादी र नगदमध्ये २ करोड १९ लाख रुपैयाँको स्रोत देखाउन नसकेपछि सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएको हो । विभागले १७ साउनमा घाङ्गे विरुद्ध मुद्दा विषेश अदालतमा मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ । उनमाथि २ करोड १९ लाख ३ हजार ७ सय २९ रुपैयाँको स्रोत देखाउन नसकेको अभियोग लगाइएको छ । घाङ्गेले भन्सार छली चारी पैठारी गरी सुन चादीको अबैध कारोवार गरेको सुराकीको आधारमा नेपाल प्रहरीको विषेश टोलीले उनलाई २१ माघ २०७१ मा पक्राउ गरेको थियो । सो समयमा खानतलासी गर्दा उनीसँग ३ करोड २२ लाख नेपाली रुपैयाँ, सुनचादी र हजार र ५ सय दरका भारतीय मुद्रा पनि फेला परेको थियो । सुनचाली, ठूलो मात्रामा नेपाली पैसा भारतीय मुद्रा सहित पक्राउ परेका घाङ्गेलाई राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो । सो अनुसन्धानको क्रममा २ करोड १९ लाख रुपैयाँको स्रोत नखुले पछि राजस्वले सो फाइल सम्पत्ति शुद्धीकरण विभागलाई दिएर सम्पत्तिको स्रोत खोज्न आग्रह गरेको थियो । सोही आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्दा सो रकमको स्रोत नखुलेकोले मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ । विभागले दायर गरेको मुद्दामा सो परिमाणको रकम जफत गरी सोको विगो समेत असुल गर्न माग गरिएको छ ।