दुई महिनाभित्रै क्लियरिङ बैंक, नेप्सेमा नयाँ सफ्टवेयर र इन्भेष्टर्स आइडीसम्म
काठमाडौं, १७ साउन । नेपाल धितोपत्र बोर्डले साउन ५ गते ब्रोकर कमिसन करिब ४० प्रतिशतले घटायो । त्यसको दुई दिनपछि अर्थात साउन ७ गते ओटिसी मार्केटको कारोबार शुल्क झन ९० प्रतिशतसम्म कम गरायो । त्यति मात्रै होइन, बोर्डले ब्रोकहररुलाई सचेत गराउनेदेखि कालोधन लगानी हुन सक्ने सम्भावनालाई अध्ययन गर्न समेत छानविन समिति बनाइसकेको छ । पछिल्लो समय सेयर बजार सुधारका प्रयासहरुमा नेपाल धितोपत्र बोर्डले तदारुकता देखाईरहेको छ । बोर्डले आगामी दुई महिनाभित्र सम्पन्न हुनेगरि सुधारको खाका नै तयार पारेको छ । जस अनुसार दुई महिनाभित्रै क्लियरिङ बैंक, इन्भेष्टर्स आइडीदेखि नेप्सेमा नयाँ सफ्टवेयर जडान र सेटलमेन्ट ग्यारेण्टी फण्ड तथा अक्सन मार्केटको काम समेत पर्छन् । ‘नेपालको सेयर बजारलाई प्रबिधी मैत्री तथा लगानी कर्ता मैत्री बनाउने अभियानमा छौं, त्यसका लागि विस्तृत योजनासहित काम गरिरहेका छौं, आगामी दुई महिनामा धेरै उपलब्धिपुर्ण कामहरु हुनेछन्’, नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले भने । बोर्डले क्लियरिङ्ग बैंक थप्ने जिम्मेवारी पाएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई साउन मसान्तभित्रै प्राबिधिक काम सकेर क्लियरिङ्ग बैंक थपिसक्न भनेको छ । त्यस्तै, लगानी कर्ताको पहिचानका लागि यूनिक इन्भेष्टर आइडिन्टिफिकेशन (इन्भेष्टर आइडि) प्रदान गर्न बोर्डले आवश्यक प्रविधि विकास गर्ने प्रकृया अगाडी बढिसकेको छ । भदौ १५ गतेसम्ममा अध्ययन तथा मोडालिटी निर्क्र्याैल गरेर अघि बढ्न सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई अर्काे निर्देशन दिएको छ । त्यसबाहेक सेटलमेन्ट ग्यारेण्टी फण्डको कार्यान्वयन, अक्सन मार्केट कार्यान्वयनको कार्यबिधी बनाउने काम पनि भदौं १५ गतेभित्रै सम्पन्न गर्न नेप्सेलाई निर्देशन दिएको छ । धितोपत्र तथा रकमको राफसाफ सम्बन्धमा टी प्लस टु मा नै पे–इन गर्न लगाउने, टी थ्रीमा खरीदकर्ताको खातामा धितोपत्र तथा बिक्रि कर्ता खातामा रकम जम्मा हुने व्यवस्था गर्ने व्यवस्था कार्यान्वयन गराउन पनि बोर्डले कडा निर्देशन दिइसेकेको छ । धितोपत्र दलाल व्यवसायीको भौतिक पूर्वाधारसहित मार्जिन लेण्डिङ्ग, डिलरसिप कार्य गर्न दिनेबारे पनि नेप्सेसँग साउन मसान्त भित्रै रायसुझाव मागी सकेको छ । काठमाडौं बाहिर धितोपत्र दलाल व्यवसायीको कार्यालय विस्तार गर्नेबारेमा नेप्सेले गठन गरेको अध्ययन समितिको प्रतिवेदन चाँडै उपलब्ध गराउन भनेको छ । नेप्सेले धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली, २०५५ तथा धितोपत्र सूचिकरण विनियमावली, २०५३ लाई प्रतिस्थापन गर्न पेश गरेको विनियमावलीहरुमा बोर्डको सुझाव अनुसार परिमार्जन गरी आगामी भदौ १५ गते भित्र बोर्डको स्वीकृतिका लागि पेश गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । ‘बोर्डको उदेश्य भनेको पुँजी बजारको सुदृढीकरण र लगानी कर्ताको हितको रक्षा नै हो, त्यसको लागि बजारलाई अन्तराष्ट्रियस्तरको बनाउनु पर्छ, हामी त्यहि दिशामा अघि बढिरहेका छौं, नेप्से, सिडिएस, ब्रोकर, मर्चेण्ट बैंकर तथा सूचिकृत कम्पनी सबैलाई लगानी कर्ताको हितका पक्षमा उभिने बनाउँछौं ।’, बोर्डको प्रवक्ता गिरिले विकासन्युजसँग भने । सेयर बजार विश्लेषक रविन्द्र भट्राईले भने नेप्से मार्फत बोर्डको गराउनुपर्ने काम भने तत्कालै सम्भव हुनेमा आशंका व्यक्त गरे । ‘बोर्डले सुरु गरेको सुधारको प्रयास सकारात्मक छ, तर नेप्से मार्फत गराउनु पर्ने काम समयमै सम्पन्न गर्न कठिन छ’, विश्लेषक भट्टराईले भने ।
सोमबार नेप्से परिसूचक १७ अंकले घट्यो, होटल बाहेक सबै समूह ओर्लिए
काठमाडौं, १७ साउन । सेयर बजारमा नेप्से परिसूचक १७ दशमलब ३५ अंकले घटेर १८४५ दशमलब ४१ अंकमा पुगेको छ । सोमबार १४० कम्पनीको २६ करोड ५८ लाख कित्ता सेयर करिब एक अर्ब ८४ करोड २६ लाख रुपैयाँमा किनबेच भएको छ । सोमबार होटल समूहको परिसूचक बाहेक अन्य बाकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६४ अंकले ओरालो लागेको छ । त्यस्तै उत्पादनमूलक, विकास बैंक, हाइड्रोपावर र बैंकिङ् समूहको परिसूचक क्रमशः ४२, ३२, २५ र १६ अंकले तल झरेका छन् । होटल समूहको परिसूचक ४० अंकले उकालो लागेको हो । सो दिन नबिल बैंक लि. प्रमोटर सेयरको सबैभन्दा बढी करिब २७ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल बङ्गलादेश बैंक र प्राइम कमर्सियल बैंकको करिब १० करोड बढीको सेयर कारोबार भएको छ । सबैभन्दा बढी काबेली विकास बैंकको सेयर मूल्य करिब ९ प्रतिशतले घटेको छ । सोही दिन करिब १० प्रतिशत कमाउनेमा लक्ष्मी भ्यालु फन्ड, माउन्ट मकालु डेभलपमेन्ट बैंक र ललितपुर फाइनान्सका लगानीकर्ताहरु रहेका छन् ।
ज्योति विकास बैंकको विज्ञ सञ्चालकमा अधिकारी नियुक्त
काठमाडौं, १७ साउन । ज्योति विकास बैंकको विज्ञ सञ्चालकमा जगदिश्वरप्रसाद अधिकारी नियुक्त भएका छन् । साउन १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई दोश्रो कार्यकालका लागि विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । अधिकारीको दोश्रो कार्यकाल साउन १३ गतेबाट सुरु भएको छ । उनले आगामी चार बर्षसम्म कम्पनीको विज्ञ सञ्चालकको जिम्मेवारी सम्हाल्नेछन् । कम्पनीले विज्ञ सञ्चालकमा अधिकारी रहेको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको छ ।
धनराज गुरूङ र रबिन्द्र अधिकारीको उद्घोषः लोकमानलाई महाअभियोग
काठमाडौं, १७ साउन । नेपाली काँग्रेस र एमालेका युवा नेताहरु अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने पक्षमा उभिएका छन् । काँग्रेस युवा नेता धनराज गुरूङ र एमाले युवा नेता रबिन्द्र अधिकारीले अख्तियारका प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाएरै छाड्ने घोषणा गरेका हुन् । काँग्रेस युवा नेता गुरूङले भने,‘उहाँमाथि गम्भिर आरोप लागेको छ, यो देश र जनताको लागि अत्यन्तै महत्वपूर्ण विषय हो, नयाँ सरकार गठन भएसँग संसदमा ५ सय ९६ सदस्यहरुवीच अवश्य छलफल हुन्छ, छलफल भैसकेपछि वास्तविक कुरा बाहिर ल्याउने विषयमा संसदीय छानविन समिति गठन भएर महाअभियोग लगाउन सम्म सकिन्छ ।’ नयाँ सरकार गठनसँगै कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथी छलफल सुरु हुने उनले बताए । उनले अघि थपे,‘समितिमा बोलाउँदा डाक्टरले नबोल्नु भनेको छ भनेर झुक्याउने काम भयो, घाँटी दुःखेको बहानामा संसद छल्न पाईन्छ र ?’ उनले विरामी भएकै कारण समितिमा भाग लिन नमानेका कार्कीले खुलमखुल्ला टेलिभिजनमा अन्र्तवार्ता दिएकोवारे प्रश्न गर्दै भने,‘उही लोकमान हो कि अर्को हो, तर त्यही अनुहार गरेको व्यक्ति त बडो शानका साथ टिभिमा अन्र्तवार्ता पो दिईरहेको छ, डाक्टरले पनि कस्तो प्रिस्क्रिप्सन दिँदा रहेछन्, समितिमा बोल्न नहुने अनि टिभीमा चाहीँ ठूलो स्वरले बोल्न मिल्ने ?’ उनले अख्तियार प्रमुखमाथि काठमाण्डौं विश्वविद्यालय प्रवेश परिक्षा, गोकर्ण रिसोर्टको शेयर काण्ड र सार्वजनिक लेखा समितिले सुन काण्डबारे अडियो–भिज्यूयल प्रमाण पेश गर्दासमेत कुनै चासो नदेखाईएकोले उसको कार्यक्षेत्रमा व्यापक प्रश्न उठेको गुनासो गरे । एमाले युवा नेता रबिन्द्र अधिकारीले संसदमा सार्वजनिक महत्वको विषयमा छलफल हुने निश्चित भईसकेको उल्लेख गर्दै आफ्नो पार्टीले पनि छलफलमा भाग लिने दाबी गरे । उनले भने,‘सार्वजनिक महत्वको प्रस्ताव भएकोले हाम्रो पार्टीले भाग नलिने भन्ने कुरै आउँदैन, छलफल गर्दै जाने हो यसले अरु धेरै बाटोहरु खोल्छ भन्नेमा म विश्वस्त छु ।’ अधिकारीले एक दुईवटा राम्रो काम गरेको बहानामा संसदलाई छल्ने काम गर्न नमिल्ने बताए । उनले अघि थपे,‘अख्तियारलाई बलियो बनाउनुपर्छ, यसको अर्थ लोकमानलाई बलियो बनाउने होईन नि ।’ अधिकारीले संवैधानिक निकाय मर्यादित भएर बस्नुपर्ने उल्लेख गर्दै भने,‘संसदले बोलाउँदा अनि संसदीय समितिले बोलाउँदा संवैधानिक निकायले जवाफ दिनुपर्छ, विरामी भएको बहानामा संसदलाई छल्ने काम गर्नुहुँदैन, संसदले बोलाउँदा नगएपछि हामीले कसरी उहाँलाई उत्तरदायित्व मान्ने त ?।’ अधिकारीले आक्रोश पोख्दै भने,‘अख्तियार र यसका प्रमुख भागेका छन्, यस्तो तरिकाबाट राज्य कसरी चल्छ ?।’ तर, नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले अख्तियार प्रमुख आयुक्तलाई महाअभियोग लगाउन नमिल्ने ठोकुवा गरे । उनले भने,‘संसदमा दर्ता भएको पत्र ध्यानाकार्षण पत्र मात्रै हो, यो महाअभियोगको लागि आएको विषय होईन् ।’ साहले अहिले अख्तियार छ भन्ने बोध भएको उल्लेख गर्दै भने,‘यतिखेर अख्तियारलाई झनै बलियो बनाउन आवश्यक छ, उनले अख्तियारले केही गल्ती वा कमीकमजोरी गरेको भए सच्चिन आग्रह गर्नुपर्छ ।’
यस्तो छ एलजी सुपर एचडी टिभी सर्वोत्कृष्ट हुनुको कारण
काठमाडौं, १७ साउन । एलजीको सुपर युएचडी टिभी अरु टिभीको तुलनामा सर्वोत्कृष्ट र फाइदाकारी रहेको दाबी छ । कम्पनीका अनुसार अन्य टिभीको तुलनामा एलजीको सुपर युएचडी टिभीमा एचडीआरसँगै डब्लि भिजन आउने छ । कम्पनीले जनाएअनुसार अन्य टिभीमा साधारण स्पिकर हुने गरेकोमा यसमा उच्च गुणस्तरीय हार्मन र कार्डनद्धारा डिजाइन गरिएको छ । यसमा आपिएस ४ के क्वान्टम डिस्प्ले र अर्बौ रंग देखिने भएकोले तस्विरलाई वास्तविक देखाउने कम्पनीले बताएको छ । अरु टिभी स्मार्ट मात्रै भएको दाबी गर्दै एलजीले म्याजिक रिमोट भएको वेभओएस ३.० भएको जनाएको छ । यो टिभी ३डी समर्पित भएको कम्पनीले बताएको छ ।
किरण सुज र मोर्डन स्लिपर इन्डस्ट्रीको आयोजनामा ‘डिलर मिट’ सम्पन्न
पोखरा, १७ साउन । युनिभर्सल ग्रुप अन्तर्गतको किरण सुज मेनुफेक्चर र मोर्डन स्लिपर इन्डस्ट्री प्रालिको आयोजनामा पोखरामा शनिबार बृहत ‘डिलर मिट’ सम्पन्न भएको छ । उक्त सम्मेलनमा देशभरबाट ६४ वटा अधिकृत विक्रेताहरुको सहभागिता रहेको कम्पनीका प्रमुख बजार व्यवस्थापक गणेश कार्कीले जानकारी दिए । सम्मेलनमा विक्रेताहरुले कम्पनीबाट उत्पादित गोल्डस्टार जुत्ता र हात्तीछाप चप्पल हरेक नेपालीको पहिलो रोजाई बन्न सफल भएको धारणा राखेका थिए । लाइफटाइम एचिभमेन्ट अवार्डबाट माँ भद्रकाली भवानी स्टोर्स काठमाडौंलाई सम्मान गरिएको थियो । त्यसैगरी अन्य बिधावाट उत्कृष्ट हुने डिलरहरुलाई समेत सम्मानीत गरिएको छ । सम्मानित हुनेमा गोल्डस्टार सुजतर्फ पौडेल सुसेन्टर इटहरी, जयअम्वे स्टोर वीरगञ्ज, दिब्य लक्ष्मी स्टोर बुटवल, सुरज इन्पोरियम महेन्द्रनगर, अधिकारी ब्रदर्श बिजनेस प्रालि काठमाडौं, आशीर्वाद इम्पेक्स पोखरा, वनेपा चप्पल पसल बनेपा, आर एन डब्लु स्टोर वनेपा र रञ्जित सु सेन्टर पोखरा उत्कृष्ट बनेका छन् । हात्तीछाप चप्पलतर्फ उत्कृष्ट डिलरहरुमा पौडेल सु सेन्टर इटहरी, गौरीशंकर फेन्सी स्टोर्स सुर्खेत, शुभलक्ष्मी ट्रेड सेन्टर, सुभास रेडिमेड सेन्टर, न्यु सिद्धवावा इन्टरनेश्नल, प्रयाग ट्रेडर्स काठमाडौ, केशव फेन्सी भैरहवा, करिम बुट हाउस लाहान र अधिकारी ब्रदर्स बिजनेस प्रालिलाई सम्मान गरिएको थियो । उक्त कम्पनीले नेपाल सहित दक्षिण एसिया सहित अरबीयन राष्ट्रहरुमा समेत निर्यात गर्ने गरेको छ । सो कम्पनी निर्यात क्षेत्रमा उत्कृष्ट कम्पनी भएकाले नेपाल चेम्बर अफ कमर्सले बिगत ७ बर्षदेखि निरन्तर सर्वाधिक निर्यात गर्ने कम्पनिको रुपमा सम्मान गर्दै आएको छ । यस्तै नेपाल सरकारले सन २०१४ मा निर्याततर्फ उच्च करदाता सम्मानबाट सम्मानित गरेको थियो । किरण सुज मेनुफेक्चर दैनिक ३५ हजार जोर जुत्ता उत्पादन गर्दै आएको छ । त्यस्तै मोडन स्लिपरले दैनिक २५ हजार हात्तीछाप चप्पल उत्पादन गर्दै आएको छ । राजधानी उपत्यकामा प्रत्यक्षरुपमा ३ हजार जनालाई रोजगारी दिने यो कम्पनी राजधानीको सवैभन्दा धेरै रोजगार दिने कम्पनीको रुपमा स्थापित भएको छ ।
बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान
काठमाडौं, १७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आह्वान गरेका छन्। सहमतिका लागि तोकिएको समयसीमामा कुनै सहमति हुन नसकेपछि राष्ट्रपति भण्डारीले आज व्यवस्थापिका–संसद् सचिवालयलाई पत्र पठाएर बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आग्रह गरेका हुन् । नेपालको संविधानको धारा ३०५ को बाधा अड्काउ फुकाउ आदेश तथा संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति भण्डारीले पत्र पठाउनुभएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले बताए । राष्ट्रपति भण्डारीले यही साउन १० गते प्रमुख दललाई सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न आग्रह गरेका थिए । उनले दिएको समयसीमा आइतबार सकिएपछि पुनः बहुमतका आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् । राष्ट्रपतिको पत्र प्राप्त भएपछि संसद् सचिवालयले प्रधानमन्त्री चयनको कार्यतालिका तयार गर्नेछ । सचिवालयले यही बुधबार नयाँ प्रधानमन्त्री चयन हुने गरी प्रक्रिया सुरु गर्न लागेको जनाएको छ । व्यवस्थापिका–संसद्को बैठक आज अपराह्न १५ः०० बजे बोलाइएको छ । आजको बैठकमा पूर्व सांसद हरिराज खेवाको शोक प्रस्ताव पारित गरिने र त्यसपछि राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र वाचन गर्ने कार्यसूची रहेको छ । रासस
भिटोफ अध्यक्षमा सापकोटा
काठमाडौं, १७ साउन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ–नेपाल)को अध्यक्षमा कमल सापकोटा निर्वाचित भएका छन् । २० औं गाउँ पर्यटन दिवसका आयोजित भिटोफको सम्मेलनले आगामी दुई वर्षे कार्यकालको सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । भिटोफको प्रथम उपाध्यक्षमा राम घले, द्धितिय उपाध्यक्षमा दिपक दाहाल, महासचिवमा बासुदेव पाण्डे, सचिवमा जस्था पाण्डे, कोषाध्यक्षमा गगनराज न्यौपाने, सह कोषाध्यक्षमा कृष्ण बहादुर सुवेदी निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरि सदस्यहरुमा हरिचन्द्र गैरे, सञ्जिव श्रेष्ठ, कुल प्रसाद सुवेदी, जंग बहादुर लामा र प्रकाश अर्याल पनि निर्विरोध निवाचित भएका छन् । दुई जना मनोनितसदस्य भने निवाचित कार्यसमितीले गर्ने प्रावधान रहेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले १० वर्षे पर्यटन रणानीतिलाई निरन्तरता दिने बताएका थिए । मन्त्री पोखरेलले केपी ओली नेतृत्वको सरकारले ल्याएको १० वर्षे पर्यटन रणनीतिलाई निरन्तरता दिन नयाँ बन्ने सरकारलाई आग्रह पनि गरेका थिए । १० वर्षमा कम्तीमा २३ लाख पर्यटक नेपाल भित्र्¥याउने रणनीतिका साथ सरकारले पर्यटन रणनीति सार्वजनिक गरेको भन्दै यसलाई कुनै दल र पार्टी विशेषको कार्यक्रमको रुपमा नलिई देशकै हितका लागि आएको कार्यक्रमका रुपमा बुझ्नु पर्ने उनको भनाई थियो ।