विकासन्युज

शुक्रबार र शनिबार दिनभर बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २४ असार । नेपाल राष्ट्र बैंकले भोली शनिवार पुरै समय बैंक खोल्न सरकारी कारोबार गर्ने बैंकहरुलाई निर्देशन दिएको छ । केन्द्रिय बैंकले राजश्व बुझ्नका लागि बैंकहरुलाई यस्तो निर्देशन दिएको हो । शुक्रबार सूचना जारी गर्दै केन्द्रिय बैंकले आगामी २५ गते शनिवार र असार ३१ गते शुक्रबारका दिन पुरै समय बैंक खोलेर राजश्व वुझ्न निर्देशन दिएको हो ।राष्ट्र बैंकले सरकारी कारोबार गर्ने सबै बैकका नाम सूचना जारी गर्दै भोली साँझ ४ बजेसम्म र अर्को शुक्रवार अर्थात ३१ गते साँझ ५ बजेसम्म राजश्व बुझ्न निर्देशन दिएको हो । चालु आर्थिक बर्षको राजश्व बुझ्ने अन्तिम साता भएकाले राष्ट्र बैंकले राजश्व बुझ्ने समय मिलाउन निर्देशन दिएको हो ।

सर्वोच्च बारको चुनाव शनिवार, प्रगतिशील र लोकतान्त्रिकबीच कडा प्रतिस्पर्धा

रामप्रसाद भण्डारी काठमाडौँ, २४ असार । सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति निर्वाचनमा बृहत् लोकतान्त्रिक, पेसागत तथा समावेशी समूह र पेसागत, प्रगतिशील, गणतान्त्रिक, देशभक्त एवम् समावेशी कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक पक्षको प्रतिनिधित्व शैलेन्द्रकुमार दाहाल र प्रगतिशील समूहको प्रतिनिधित्व अधिवक्ता रामप्रसाद भण्डारीले गरेका छन् । लोकतान्त्रिक समूहका उम्मेदवारमा उपाध्यक्षमा धर्मराज रेग्मी, सचिवमा विष्णु लुइँटेल, सहसचिवमा अमिता दीक्षित, कोषाध्यक्षमा दयाराम हुमागार्इं छन् । सो समूहबाट सदस्यमा शर्मिला श्रेष्ठ, गीता अर्याल, नारायणप्रसाद भट्टराई, पूर्णिमा रिमाल गुरागार्इं, सुरेशकुमार पौडेल, रामेश्वर पोखरेल, अवतार न्यौपाने, रामकृष्ण भण्डारी, राजेन्द्रप्रसाद साह र रमेश महर्जन उम्मेदवारी दिएका छन् । प्रगतिशील समूहका उपाध्यक्षमा नारायणप्रसाद प्रसाईं, सचिवमा रामबहादुर थापा, सहसचिवमा अञ्जु उप्रेती ढकाल र कोषाध्यक्षमा जगतबहादुर कार्की उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्यमा लक्ष्मी पोखरेल, मोहम्मदशेख अब्बास, राम राउत, धीर्जराज पोखरेल, सन्तकुमार बास्कोटा, द्रोणप्रसाद दाहाल, हरिबहादुर कार्की, श्रुतिकुमारी रेग्मी, पुष्पराज पौडेल र श्रवणकुमार चौधरीले उम्मेदवारी दिएका छन् । शैलेन्द्रकुमार दाहाल दुवै समूहले कानुन व्यवसायलाई मर्यादित एवम् स्वच्छ व्यवसायका रुपमा प्रवद्र्धन तथा स्थापित गर्दै सामाजिक मान, प्रतिष्ठा अभिवृद्धि गर्ने, बारलाई वास्तविक अर्थमा सर्वोच्च र गरिमायुक्त बनाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् । शनिबार ८ बजेदेखि मतदान निर्वाचनका लागि शनिबार बिहान ८ बजेदेखि मतदान सुरु भई अपराह्न २ बजे सम्पन्न हुने र ३ बजेदेखि मतगणना हुने निर्वाचन समितिका संयोजक राजु बस्नेतले जानकारी दिए । पाँच पदाधिकारीसहित १५ नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ । शनिबार नै ७ बजेसम्म मतगणना सम्पन्न गर्ने निर्वाचन समितिको तयारी छ । बारको परिसरमा हुने निर्वाचनमा कुल मतदाता ५८० छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालद्वारा पुनःनिर्माणको अनुगमन

काठमाडौं, २४ असार । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भएका पुनःनिर्माणका कामको गुणस्तरीयताबारे नागरिक समाजका तर्फबाट ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले अनुगमन गर्ने भएको छ । पुनःनिर्माण गुणस्तरीय भएको छ छैन , पीडितले सरकारले दिने भनिएको अनुदान रकम पाए पाएनन्, पीडितका गुनासा के छन् आदि विषयको अनुगमन गर्न लागिएको टिआइ नेपालका कार्यकारी निर्देशक आशिष थापाले बताए । “युरोपियन युनियनले भूकम्पपछिको पुनःनिर्माणका लागि दाता सम्मेलनमा सहयोग गर्न गरेको सम्झौतामा स्वतन्त्र नागरिक समाजका संस्थाले अनुगमन गर्ने व्यवस्था थियो, यो व्यवस्था अनुसार अर्थ मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, टिआइ नेपाल र युनियनबीच भएको बैठकले गुणस्तरीयताको अनुगमन गर्ने जिम्मेवारी दिएको हो”– उनले भने । टिआइ नेपालले पाँच वर्षसम्म युनियनको १२ करोड रुपैयाँ अनुदान सहयोगमा भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली काभे्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा जिल्ला समन्वय कार्यालय स्थापना गरी पुनःनिर्माणका क्रममा भएका कामको गुणस्तरीयता मापन गर्नेछ । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलिया दाताले पुनःनिर्माणका लागि दिएको रकममा भ्रष्टाचार नहोस् भनी टिआइ नेपाललाई अति प्रभावित १४ जिल्लामा अनुगमन गर्न स्वीकृति दिइएको बताए । पुनःनिर्माणका काम जवाफदेही र पारदर्शी बनाउने उद्देश्यले कामको अनुगमन गर्न लागिएको टिआइ नेपालले जनाएको छ । रासस

काठमाडौंको किलागलमा संयुक्त आवास बनाउने योजना स्वीकृत

काठमाडौं, २४ असार । काठमाडौं महानगरपालिका वडा नं १८ किलागलस्थित दुम्बो चुकमा भूकम्पबाट प्रभावित ५४ घर परिवारका लागि बनाउन प्रस्ताव गरिएको सामूहिक आवास भवन निर्माण योजनालाई महानगरपालिकाले स्वीकृति दिएको छ । महानगरपालिकको स्वीकृतिपछि बिहीबार काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीसमक्ष घर/जग्गा अधिग्रहण (हाउस पुलिङ) का लागि ५४ घर परिवार दिएको संयुक्त निवेदनसहित यो योजनालाई कार्यान्वयनका लागि प्रस्तुत गरियो । सो अवसरमा आयुक्त तिवारीले यो आयोजना नमूनाको रुपमा रहने विश्वास व्यक्त गर्दै यसलाई सफल पार्न आफूले सक्दो सहयोग गर्ने वचनबद्धता प्रकट गरेका छन् । उनका अनुसार योजना सञ्चालनका लागि प्राधिकरण, महानगरपालिका र स्थानीय वासिन्दाको एक व्यवस्थापन समिति गठन गरिने छ । ऐतिहासिक काठमाडौं सहरभित्रको वस्तीे विकासका लागि प्राधिकरणले अहम् भूमिका खेल्ने र त्यसक्षेत्रमा आवश्यक पर्ने बाटो, बिजुली, खानेपानी तथा ढल जस्ता पूर्वाधारको व्यवस्थापनका लागि सम्बन्धित निकायलाई आग्रह गरिने उनले बताए । एकीकृत विकास पुनःनिर्माण अभियानका संयोजक मचाराजा महर्जनले प्राधिकरणका प्रमुख तिवारीलाई स्थानीयवासीको निवेदन र उनीहरुका जग्गाधनी पूर्जाका प्रतिलिपि बुझाएका हुन् । घर जग्गा अधिग्रहण भएपछि बढीमा तीन वर्षभित्र उपभोक्ताहरुलाई अपार्टमेन्ट उपभोगका लागि हस्तान्तरण गरिने योजना छ । गत वर्ष वैशाख १२, १३, २९ मा गएका ठूला भूकम्प र त्यसपछिका पराकम्पका कारण काठमाडौँको भित्री सहरमा थुप्रै घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भएको र दाजुभाइको अंशवण्डाबाट स–साना टुक्रामा विभाजित भई जोडिएका त्यस्ता घर आफू खुसी बनाउन सक्ने अवस्था पनि नरहेकाले स्थानीयवासीकै पहलमा यस्तो संयुक्त आवास बनाउने पहलकदमी लिइएको हो । यस्तो आवासको निर्माण गर्दा खुला ठाउँ, बाटो र व्यवस्थित आवासका साथै स्वच्छता कायम भई नागरिकलाई सुविधा पुग्ने विश्वास महर्जनले व्यक्त गरे । यो योजना सफल भए काठमाडौंका नेवारको बसोवास रहेका भित्री सहरका अन्य भागमा समेत एकीकृत वस्ती विकासको पहल हुने अभियानका सदस्य नेवाः जागरण मञ्चका अध्यक्ष सुजिव बज्राचार्यले बताए । उनले संयुक्त आवासका लागि महानगरपालिकाले रु। पाँच करोड बजेट विनियोजन गरेको जानकारी पनि दिए । रासस

वालिङ–हुवास सडक एक सातापछि पुन सञ्चालनमा

पर्वत, २४ असार । लगातारको वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेको दक्षिण पर्वतका एक दर्जनभन्दा बढी गाविसलाई जोड्ने वालिङ–हुवास सडक एक सातापछि सञ्चालनमा आएको छ । पर्वतको हुवास र स्याङ्जाको कालीकाकोट गाविसको सिमानास्थित डुम्रेभञ्ज्याङमा गएको पहिरो डोजर र मजदुर लगाएर हटाएपछि आज बिहानदेखि सञ्चालन भएको हो । निर्माणाधीन अवस्थामा रहेको उक्त सडक गत असार १६ गते बिहीबार रातिदेखि अवरुद्ध बनेको थियो । डोजरको क्षमताभन्दा ठूलो ढुङ्गा सडकमा खसेपछि लामो समयसम्म खुलाउन नसकिएको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । सडक खुलेसँगै एक सातादेखि ठप्प बनेका सवारी साधन गन्तव्यतर्फ लागेको उनले बताए । उक्त सडकको अहिले स्तरोन्नतिको काम भइरहेको छ । वाइवी कन्स्ट्रक्सनले सडकको स्तर सुधारको काम गरिरहेको छ । कच्ची सडक भएकाले सामान्य वर्षा हुनेबित्तिकै बाटो अवरुद्ध हुने गरेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा उक्त क्षेत्रमा तरकारी, औषधि तथा बिरामीलाई अस्पताल लैजानका लागि समस्या भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । उनका अनुसार ठूलो मेसिन ल्याएर ढुङ्गा हटाएपछि सञ्चालन भएको हो । उक्त सडक दक्षिण पर्वतका हुवास, त्रिवेणी, भोर्ले, रानीपानी, वहाकी, शालिग्राम, रानीपानी, बर्राचौर, उरामपोखरा, होस्राङ्दी, भोर्ले, सरौखोला गाविसवासीले लाभान्वित हुने गरेका छन् । पर्वत सदरमुकामसँग सिर्धा सडकको पहुँच नपुगेका उक्त क्षेत्रका बासिन्दा वालिङ, हुवास सडक हुँदै स्याङ्जा र कास्की घुमेर सदरमुकाम कुश्माबजार आउन बाध्य भएका छन् । रासस

सानिमा बैंकले क्रिकेटर सन्दिप लामिछानेलाई प्रायोजन गर्ने

काठमाडौं, २४ असार । सानिमा बैंक लिमिटेडले नेपाली राष्ट्रिय तथा अन्डर–१९ क्रिकेटका उदयमान खेलाडी सन्दिप लामिछानेलाई दुई वर्षका लागी प्रायोजन गर्ने सम्झौता गरेको छ । बैंकले लामिछानेलाई मासिक रुपमा प्रायोजित रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गरेको छ । एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र क्रिकेटर सन्दिप लामिछानेबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सन् २०००, अगस्ट २ मा जन्मिएका लामिछाने लेग ब्रेक बलिङ्ग स्टाईल मा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनी सानै उमेरमा बङ्गलादेशमा हालै सम्पन्न भएको आई.सी.सी अण्डर १९ विश्व कप मा राम्रो प्रदर्शन गर्न सफल भएका थिए । प्रमुख कार्यकारी अधिकृत दाहालले सानिमाबाट प्रेरित भई अन्य संस्थाहरुले पनि खेलाडीहरुलाई सहयोग गरी नेपालमा प्रोफेसनल क्रिकेटको विकासमा सहयोग गर्ने आशा व्यक्त गरेका छन् । साथै नेपाल क्रिकेट टिम को आगामी यू.के (बेलायत) तथा नेदरल्याण्ड भ्रमणको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

गोरखाका पन्ध्र हजार भूकम्पपीडितको गुनासो

गोरखा, २४ असार । भूकम्पले पूर्णरुपमा घर क्षति भए पनि तथ्याङ्क सङ्कलनपछि आफूहरुको नाम अनुदान पाउने सूचीमा छुटाइएको भन्दै गोरखाका १५ हजार ८ जनाले गुनासो गरेका छन् । भूकम्प प्रतिरोधी निजी आवास निर्माणलाई सरकारले दिने रु दुई लाख वास्तविक भूकम्पपीडितले नपाउने र नक्कली भूकम्पपीडितले पाउने अवस्था सिर्जना भएको भन्दै भूकम्पपीडितले गाविस र नगरपालिकामा गुनासो गरेका हुन् । पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय गोरखाका अनुसार असार २२ सम्मको तथ्याङ्क हेर्दा जिल्लाका ४४ हजार ७८१ घरधुरीसँग अनुदान सम्झौता हुँदा १५ हजार ८ जनाले गुनासो गरेका छन् । गोरखामा अनुदान पाउने लाभग्राहीको सङ्ख्या ५८ हजार ५०३ हो । कार्यालयका प्रवक्ता गुणराज भट्टराईले भने, “हिमालपारिका सात गाविसमा अनुदान सम्झौता सकियो । दुई नगरपालिकासहित ५० गाविसमा अनुदान सम्झौता सम्पन्न भएको छ । आउँदो एक सातामा जिल्लाभर अनुदान सम्झौताको काम सक्छौँं ।” अनुदान सम्झौता र रु ५० हजारका दरले लाभग्राहीको बैँंक खातामा रकम पठाउने काम द्रूत गतिमा भइरहेको उनले बताए । गोरखाका विभिन्न एघार गाविसका १० हजार १५६ जना लाभग्राहीलाई पहिलो किस्ता अनुसारको रकम वितरण गरिसकिएको भट्टराईले जानकारी दिए । हंशपुर, बारपाक, सौरपानी, मुच्चोक, केराबारी, हर्मी, ताक्लुङलगायत गाविसका भूकम्पपीडितको बैंँक खातामा ५० हजारका दरले रकम पठाइएको जिल्ला विकास समितिको कार्यालयका योजना अधिकृत शतिसकुमार भट्टराईको भनाइ छ । दुर्गम भेग सिर्दिवास, बिही, प्रोक, ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारका भूकम्पपीडितले घर बनाउने निर्माण सामग्री ढुवानीमा सरकारले सहुलियत दिनुपर्ने माग गरेका छन् । उत्तरी भेग पुगेका पुनःनिर्माण प्राधिकरणका अधिकृत गुणराज भट्टराईसँग हिमालपारिका बासिन्दाले रु दुई लाखले भूकम्पप्रतिरोधी घर निर्माण गर्न नसकिने भएकाले निर्माण सामग्री ढुवानीमा सरकारले सहयोग गर्नुपर्ने माग राखेका हुन् । उत्तरी भेगका १३ गाविसमा खच्चडले निर्माण सामग्री र खाद्यान्न ढुवानी गर्दै आएको छ । आफ्नो बैंक खातामा अनुदान रकमको पहिलो किस्ता उपलब्ध भए पनि भूकम्पपीडितले बर्खा लागेको भन्दै घर निर्माणको काम अघि बढाएका छैनन् । तर सबै गाउँमा इन्जिनियर र प्राविधिक भने खटिइसकेका छन् । रासस

बाढीपहिरोका कारण निर्माणाधिन जलविद्युत् आयोजनाहरु समस्यामा

काठमाडौं,२४ असार । मनसुनका कारण यातायात आवागमनमा समस्या भएपछि निर्माणाधिन जलविद्युत् आयोजनाहरु प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सान्जेन, तल्लो सान्जेन र रसुवागढी जलविद्युत् आयोजनालाई निर्माण सामग्रीको अभाव भएको छ । सिमेन्ट, रड, इन्धन जस्ता सामग्री आयातमा समस्या भएपछि पूर्ण क्षमतामा काम गर्न गाह्रो भएको ती आयोजनाले जानकारी दिएका छन् । रसुवाको राम्चे, कालीकास्थानलगायतका क्षेत्रमा पहिरो गएको छ । यस्तै स्याफ्रुबेसीखण्डमा पहिरो गएका कारण निर्माण सामग्री आयातमा समस्या भएको छ । सान्जेन जलविद्युत् आयोजनाका प्रमुख गिरिराज अधिकारीले आयोजना निर्माणमा समस्या नआए पनि निर्माण सामग्री आयातमा अवरोध भएको छ । “सुरुङ निर्माण तथा अन्य भौतिक पूर्वाधारको कामलाई विशेष जोड दिएका छौँ,” उनले भने । सान्जेन १४.८ मेगावाट क्षमता तथा तल्लो सान्जेन ४२.५ मेगावाट क्षमताको आयोजना हो । सान्जेनको करिब ५० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । यस्तै एकहजार ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनालाई समेत निर्माण सामग्री अभाव भएको छ । बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा निर्माण सामग्री आयात गर्न नसकिएको आयोजनाले जनाएको छ । पासाङल्हामु राजमार्गअन्तर्गत मूलखर्क, सानु भार्कु र खोपाङको भीर दुराअवस्थामा रहेको छ । रसुवाका नागरिक अगुवा बाबुलाल तामाङकाअनुसार नेपाल चीनको व्यापारिक नाकाको बीच भागमा पर्ने राम्चे गाविस– १ र स्यापु्र गाविस– ४ सानो भार्कु तथा खोपाङभीरको राजमार्गमा समस्या भएको छ । दिनानु दिन सडक जीर्ण हुँदै गएकाले त्यसलाई व्यवस्थित गर्न डिभिजन सडक कार्यालय नुवाकोटलाई आग्रह गरिएको छ । डिभिजन कार्यालयले अवरुद्ध सडक खुलाउने विषयमा पहल गरिरहेको भए पनि भूकम्पले चिराचिरा परेको पहाडमा पहिरो आउने क्रम रोकिएको छैन । दैनिक सरदर रु एक करोडभन्दा बढी राजस्व सङ्कलन हुने सडकको उक्त खण्डमा सवारीसाधन सञ्चालनमा ल्याउन असहज भइरहेको छ । सवारी चालक दैनिक हैरानी खेप्न बाध्य छन् । कतिपय सवारी साधन पहिरोको बीच भागमा बिग्रिएर बाटोमै थन्किएका छन् । समस्यालाई गम्भीरतापूर्वक लिई यातायात नियमित गराउन रसुवावासीले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । काठमाडौंबाट छुटेका सवारी साधन मूलखर्क क्षेत्रमा थिक्निु पर्छ भने कतिपय सवारी साधन फर्काएर कालीकास्थान बास बस्नुपर्ने बाध्यता छ । कुन बेला कहाँ पहिरो खस्छ भन्ने चिन्ताले चालकलाई त्रसित बनाएको छ । मालबहाक ट्रक, बस र बिरामी बोक्ने एम्बुलेन्स चलाउन समस्या भएकाले मर्मतसम्भारका लागि पासाङल्हामु बस व्यवसायी समितिले आग्रह गरेको छ । सडक मर्मत गर्न नेपाली सेनालाई आग्रह गरिने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक केसीले बताए । यस्तै रसुवाको लिङ/लिङको भीरमा ढुड्गा झर्ने क्रम निरन्तर जारी रहेका कारण रसुवागढी आयोजनाको निर्माणमा समस्या भएको छ । रसुवाढी नाकामा पहिरो खस्दा तीन दर्जनभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ । केरुङबाट सामान आयात गरेर रोकिएका ट्रक तथा कन्टेनरमा क्षति पुगेको हो । यस्तै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सामग्री आयातमा समस्या भएको छ । आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले सिमेन्ट, रड, पेनस्टक पाइप आयातमा समस्या आएको बताए। नारायणगढ, मुग्लिन सडकखण्ड र सुनकोसीको पुलमा अवरोध हुँदा निर्माण सामग्री ढुवानी गर्न नकिएको बताइएको छ । रासस