विकासन्युज

असार २७ गतेदेखि हिमालय एअरलाइन्सले काठमाडौं–दोहा दैनिक उडान शुरु गर्ने

काठमाडौं, २३ असार । हिमालय एअरलाइन्सले आगामी असार २७ गतेदेखि दोहा, कतारमा दैनिक उडान सेवा सञ्चालन गर्ने भएको छ । उक्त गन्तव्यमा जाने यात्रुहरुको मागलाई सम्बोधन गर्न एअरलाइन्सले दैनिक उडान सेवा सञ्चालन गर्न लागेको हो । एअरलाइन्सले उडानको लागि साबिककै समयतालिका कायम गर्ने छ, तद्अनुसार विमान काठमाडौंबाट २३ः०० बजे (स्थानीय समय) उडेर ०१ः३० बजे (स्थानीय समय) दोहा अवतरण गर्ने छ । त्यसै गरी विमान भोलिपल्ट दोहा बाट ०२ः ३० बजे (स्थानीय समय) उडेर १०ः १५ बजे (स्थानीय समयमा) काठमाडौं अवतरण गर्ने छ । एअरलाइन्सले आफनो तोकिएको समय तालिका अनुसार उडान गर्न तमाम प्रयत्न गर्नेछ । एअरलाइन्सले हाल हप्ताको ३ दिन मंगलबार, बिहिबार र शनिबार उडान सञ्चालन गरिरहेको छ । हिमालय एअरलाइन्स्ले जेठ १८, २०७३ देखि दोहा, कतारलाई आाफ्नो पहिलो गन्तव्य बनाउँदै पहिलो नियमित उडान शुरु गरेको थियो । एअरबस ३२०–२१४ विमानमा ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सिट क्षमताको रहेको छ । दैनिक उडानबारे टिप्पणी गर्दै विजय श्रेष्ठ, भाइस प्रेसिडेन्ट भन्छन्,“दोहा गन्तव्यलाई हामीले उच्च प्राथमिकतामा राखेर दैनिक उडान सेवा सञ्चालन गर्न लागेका हौँ । हिमालय एयरलाइन्सको दैनिक उडान सेवाले विशेष गरी कतारमा बस्दै र काम गर्दै आएका यात्रुहरुको लागि उत्कृष्ट सेवा प्रदान गर्ने छ ।” एअरलाइन्सले आफ्ना यात्रुहरुलाई आन्नददायी, उच्चस्तरीय आरामदायी, सुरक्षित, विश्वसनीय र तोकिएको समयमै सेवा प्रदान गर्ने कुरामा कम्पनी विश्वस्त छ ।

बैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरु एक हुँदै

काठमाडौं, २३ असार । बैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरुको अनुभवलाई नेपालको विकासमा खर्चन र बैदेशिक रोजगारीलाई मर्यादित बनाउन सहयोग पुर्याउने हेतुले आप्रवासन श्रमिक संजाल निर्माण गर्ने विषयमा पहल थालिएको छ । बिडब्लु आई–नेपाल आबद्ध समिति काठमाडौंले नेपालमा आप्रवासन परियोजनाको गतिबिधि तथा कार्यक्रमहरु विषयक अन्तक्रियामार्फत संजाल निर्माण घोषणा गरि उनीहरुलाई एक पार्न पहल थाल्ने निष्कर्ष निकालेको हो । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष योगेन्द्रकुमार कुँबरले एजेन्टका कारण कामदार ठगिने गरेको भन्दै बैदेशिक रोजगारबाट फर्किएकाहरुको श्रमिक संजाल र नेटवर्क बनाईनुपर्ने बताए । उनले भने, ʽबिदेशबाट फर्किएकाहरुको एउटा युनियन बनाऔं, त्यसले नेपालमा उद्यमशीलताको विकासका साथै बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई शिक्षा दिने कार्य गर्नेछ ।ʼ बैदेशिक रोगजारबाट स्वयं फर्किएका श्रमिकले दिएको अनुभव र शिक्षा दिक्षालाई अधिकाँशले पत्याउने हुँदा पनि नेपालीहरु बैदेशिक रोजगारीमा ठगिनबाट जोगिन सकुन् भन्ने उदेश्यका साथ आप्रवासन श्रमिक संजाल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गत नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपालका अध्यक्ष नरनाथ लुइटेलले बैदेशिक रोजगारीमा जाने नेपालीहरु नेपालीबाटै पीडित बन्ने गरेको तथ्याँक प्रस्तुत गरे । पछिल्लो समय बैदेशिक रोजगारमा गएकाहरुप्रति सरकारको चासो बढेपनि त्यो पर्याप्त नभएको उनको भनाई थियो । यता बैदेशिक रोजगारबाट फर्किएकाहरु बाटै नेपालमा विशेषतः कृषिका क्षेत्रमा तरकारी, पशुपालन, फलफूल खेतीका क्षेत्रमा उद्यमशीलता बढेको उनले बताए । त्यसैले उनीहरुका अनुभवलाई कुनै नेटवर्क मार्फत नेपालको विकास र नेपालीको हितमा लगाउनुपर्ने लुइटेलको भनाई थियो । कार्यक्रममा सहभागी बिडब्लु आई आबद्ध प्रतिनिधि र अन्य सहभागीले बिदेशी भूमिमा कार्यरत ४० लाखभन्दा बढि श्रमिकहरु एकैचोटी नेपाल फर्कनुपर्ने अवस्था आयो भने त्यतिबेला के हुन्छ भन्दै मुलुकको कहालिलाग्दो अवस्थाबारे चिन्ता अनाएका थिए । त्यो कहालिलाग्दो अबस्थाबारे कसैले पनि बर्णन गर्न नसक्ने भन्दै यसबारे उनीहरुले सरकारको ध्यानाकर्षण गराए । रेमिट्यान्सबाट मुलुक चलाईरहेको सरकार र जिम्मेवार राजनीतिक दलहरुले यसबारे बेलैमा सोच्नुपर्ने उनीहरुको भनाई थियो । विदेशबाट फर्किएका श्रमिकहरुले भने कुनै जानकारीबिना बैदेशिक रोजगारमा जानुपर्ने, कुनैपनि शिक्षा, शिप र दक्षता हासिल नगरि बैदेशिक रोजगारीमा जानु भनेकै दुःख पाउनु हो भन्ने पक्का भएको ठोकुवा गरे । त्यसैले जानेर बुझेर र शिप सिकेर मात्र बैदेशिक रोजगारमा जानुपर्ने उनीहरुको सुझाव रहेको थियो ।

५ लाख ३३ हजार ४५४ घरधनी अनुदान पाउने सूचीमा परे

काठमाडौं, २३ असार । भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण गरी सम्पन्न गरी ५ लाख ३३ हजार ४ सय ५४ घरधनी अनुदान पाउने छनौट सूचीमा परेका छन् । अनुदान पाउने सूचीमा परेका घरधनीसँग अनुदान सम्झौता गर्ने र पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराउने क्रम जारी छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार २०७३ साल असार २२ गते बेलुकासम्म २ लाख २३ हजार ८ सय ३० घरधनीसँग अनुदान सम्झौता भइसकेको छ । अनुदान सम्झौता गरेका २४ हजार ४ सय २८ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान ५० हजार रुपैयाँ जम्मा भइसकेको छ । बैंकिङ प्रणालीमार्फत घरधनीलाई अनुदान रकम उपलब्ध गराउन २०७३ साल जेठ १४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन तथा फाइनान्सियल इन्स्टिच्यूसन एशोसियसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही अनुसार प्राधिकरण र ५९ वटा बैंकबीच छुट्टा(छुट्टै सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जिल्लाहरुमा रहेका सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सबै गाविस र नगरपालिका समेटने गरी क्लस्टरिङका साथै कार्य विभाजन गरी केन्द्रमा आएको विवरणलाई सम्बन्धीत बैंकको केन्द्रीय कार्यालय र बैंकका स्थानीय शाखामा सम्बन्धित घरधनीको भौतिक उपस्थित विना नै एकमुष्ट रुपमा खाता खोल्ने व्यवस्था मिलाइएको छ । प्राधिकरणको कार्यकारी समितिको २०७३ साल असार १७ गतेको बैठकले अनुदान सम्झौता पत्रमा उल्लिखित घरधनीको नाम, नामेसी, तीनपुस्ते र युनिक आइडीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जिल्लामा उपलब्ध गराएको नाम, नामेसी, तीनपुस्ते र युनिक आइडीसँग भिडान गर्दा सामान्य त्रुटी भएमा अनुदान सम्झौता पत्रमा उल्लिखित विवरणलाई आधिकारिक मान्ने निर्णय गरी सम्बन्धीत पक्षलाई जानकारी गराइसकेको छ । घरधनीको सुरुको नाम, बीचको नाम, थर, ठेगाना, नागरिकता नम्बर, नागरिकता जारी भएको जिल्ला, जारी भएको मिति जस्ता कुरामा त्रुटी देखिई अन्य विवरण भिडान भएमा अनुदान सम्झौता पत्रमा उल्लिखित विवरणलाई आधिकारिक मान्ने निर्देशन पठाइसकेको छ । यस्तै जन्म मिति, बाबु वा बाजेको नाम, थर, ससुरा वा पतिको नाम तथा थर लगायतमा त्रुटी देखिई अन्य विवरण भिडान भएमा पनि अनुदान सम्झौता पत्रमा उल्लिखित विवरणलाई पनि आधिकारिक मान्ने निर्णय भएको छ । उल्लिखित माथिका निर्णयका साथै अनुदान रकम उपलब्ध गराउने बैंक तथा वित्तीय संस्था र अनुदान प्राप्त गर्ने घरधनीको नाम सम्बन्धमा कहि कतै अन्योल वा द्विविधा उत्पन्न भएमा सम्बन्धित गाविस वा नगरपालिका वा जिल्ला विकास समितिमा सम्पर्क गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछ ।

मुस्ताङमा कोइलाखानीको पनि अध्ययन हुने, थप टोली पठाउने सरकारको योजना

मुस्ताङ, २३ असार । मुस्ताङको जोमसोमस्थित ठिनीमा पर्ने ताङ्दुङ भन्ने ठाउँमा रहेको कोइलाखानीको सरकारले अध्ययन गर्ने तयारी थालेको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वमा खानी तथा भूगर्भ विभागका विज्ञसहितको टोलीले हालै मुस्ताङका विभिन्न स्थानमा रहेको युरेनियम, पेट्रोल र नुनखानीको अध्ययन गरेसँगै कोइलाखानीको पनि अध्ययन हुन लागेको हो । जोमसोमबाट ठिनी हुँदै ताङ्दुङ जान सकिन्छ । विश्वको सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल जाने बाटोमै पर्ने कोइलाखानीमा बाहिरबाटै कोइलाका भाग देखिन्छ । त्यसलाई स्थानीयवासीले आगो बाल्नसमेत प्रयोग गर्दै आएको ठिनीका आशबहादुर थकालीले बताए। “बाहिरबाटै कोइला देखिन्छ, तर त्यसको अन्वेषण भएको छैन, यसको अध्ययन जरुरी छ”, उनले भने। विभिन्न खानीको अध्ययन गर्न आएको सरकारी टोलीले समय अभावका कारण कोइलाखानीको अनुसन्धान गर्न नपाएको भन्दै त्यसका लागि थप टोली पठाउने तयारी थालेको खानी तथा भूगर्भ विभागले जनाएको छ । उद्योगमन्त्री पाण्डेले कोइलाखानीको अध्ययनका लागि सरकारले प्राथमिकता दिएको बताए । “मुस्ताङमा विभिन्न स्थानमा रहेका खानीका अध्ययन गर्न सरकार योजनाबद्ध तरिकाले अघि बढ्छ, युरेनियम र कोइलाखानीका लागि थप टोली पठाउने योजना छ”, उनले भने । रासस

सगरमाथाको फोहर तारा एयरले निःशुल्क ढुवानी गर्ने

सोलुखुम्बु, २३ असार । सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट निस्कने फोहरलाई तारा एयरलाइन्सले निःशुल्क ढुवानी गर्ने भएको छ । सगरमाथा प्रदर्शन नियन्त्रण समिति (एसपिसिसी)ले सगरमाथा क्षेत्रको विभिन्न गाउँ, हिमालका आधारशिविर आदि स्थानबाट सङ्कलन गरेको फोहरलाई तारा एयरलाइन्सले ढुवानी गर्ने भएको एसपिसिसीले जनाएको छ । प्रत्येक वर्ष सरसफाइ अभियान नै चलाएर एसपिसिसीले सगरमाथा प्रवेशद्वार नाम्चेदेखि सगरमाथाको आधारशिविरसम्मको फोहर सङ्कलन गर्ने गरेको छ । यस वर्ष सम्पन्न भएको सरसफाइ अभियानबाट एसपिसिसीले दुई हजार ५७८ किलो फोहर सङ्कलन गरेको एसपिसीसीले जनाएको छ । सङ्कलित फोहरमध्ये जल्ने प्रकृतिका प्लास्टिकजन्य एक हजार ५६० किलो फोहर नाम्चेमा नष्ट गरिएको छ भने बाँकी रहेको एक हजार १८ किलो फोहरलाई पुनः प्रयोगमा ल्याउनका लागि काठमाडौं पठाउनुपर्ने एसपिसिसीले जनाएको छ । त्यस्तै सगरमाथा आधारशिविरमा आरोहणका क्रममा ३५ आरोहण दलले सङ्कलन गरेको नौ हजार ६६० किलो फोहरमध्ये एक हजार ६३ किलो नजल्ने फोहोर पनि काठमाडौं लानुपर्ने एसपिसिसीका उपाध्यक्ष लामाकाजी शेर्पाले बताए । यस वर्ष ५३ समूहका आरोहीले सगरमाथा आरोहण गरेको भए पनि ३५ आरोहण दलको फोहर एसपिसीसीको कार्यालय नाम्चेमा आइपुगेको छ । एसपिसिसीका उपाध्यक्ष लामाकाजी शेर्पाले भने – “नजल्ने फोहरलाई ‘रि युज’का लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । नजल्ने फोहरलाई पगालेर विभिन्न प्रतिमा बनाउन सकिन्छ ।” सगरमाथा क्षेत्रमा सङ्कलन भई काठमाडौं लानुपर्ने फोहरमध्ये एक वर्षमा १२ टन फोहरलाई तेन्जिङ हिलारी विमानस्थल लुक्लादेखि अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँसम्म निःशुल्क ढुवानी गरिदिने सम्झौता भएको एसपिसिसीले जनाएको छ । कार्यालयका अनुसार तीन वर्षसम्मका लागि सम्झौता भएकोे छ । दिगो पर्यटन विकासका लागि भन्दै एसपिसिसीले फोहर व्यवस्थापनका लागि प्रस्तावना पेस गरेकामा सम्झौता गर्न सफल भएको कार्यसमितिका प्रथम उपाध्यक्ष डिमदोर्जी शेर्पाले जानकारी दिए । रासस

फुटबल स्टार मेसीलाई २१ महिनाको जेल सजाय

स्पेन, २३ असार । बार्सिलोनाको एक अदालतले विश्व फुटबल स्टार लियोनल मेसी र उनका पिता जर्ज होरासियो मेसीलाई आफ्नो कमाई अनुसार तिनुपर्ने कर नतिरेको अभियोगमा २१ महिनाको जेल सजाय तोकेको छ । मेसी स्पेनी क्लब बार्सिलोनामा रहेर खेल्दा आर्जन गरेको सम्पत्ती बापत तिर्नुपर्ने कर नतिरेको भन्दै स्पेनी अदालतमा मुद्दा परेको थियो । फुटबल स्टार मेसीलाइ लगातार तीन पटकसम्म कर छली गरेको आरोपमा मुद्दा दायर भएको थियो । तर स्पेनी कानून अनुसार उनीहरूले जेल बस्नु पर्ने भने छैन । स्पेनको कानून अनुसार पहिलोपटक दुईबर्ष भन्दा कम जेल सजाय तोकिएका फौजदारी अपराधमा सम्लग्न नभएका अभियुक्तलाई जेलमा बस्नु नपर्ने प्राबधान छ । विश्वविख्यात फुटबल खेलाडी मेसी र उनका पितालाई करछली गरेबापत ४१ लाख अमेरिकी डलरबराबरको जरिवाना तोकिएको छ । जेल जानु नपरेपनि उनीहरूले जरिवाना भने स्पेन सरकारलाई बुझाउनुपर्नेछ । रासस/एएफ्पी

नेपाल बैंक र सेन्ट्रल बैंक अफ ईण्डियाबीच रेमिट सम्झौता

काठमाडौं, २३ असार । नेपाल बैंक र भारतको सेन्ट्रल बैंक अफ ईण्डियाबीच मुम्बईमा रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सो सम्झौता पछि भारतमा विभिन्न रोजगारी तथा व्यवसाय गरी रहेका नेपालीहरुले उक्त सेन्ट्रल बैंक अफ ईण्डियाको कुनै पनि शाखाबाट पठाएको रकम मूलुकभर रहेका नेपाल बैंक लिमिटेडको कुनै पनि शाखाबाट सजिलै भुक्तानी लिन सक्नेछन । सेन्ट्रल बैंक अफ ईण्डियाबाट पठाएको रकम नेपाल बैंकको एनबीएल रेमिट मार्फत क्यास टु क्यास, अकाउन्ट टु अकाउन्ट अथवा क्यास टु अकाउन्ट सुविधाबाट भुक्तानी लिन सक्नेछन् । अहिले मूलुकभर नेपाल बैंकको १२६ वटा शाखा सञ्चालनमा छन् । करिब चार हजार पाँच सय शाखा रहेको भारतको सेन्ट्रल बैंक अफ ईण्डियासँगको रेमिट्यान्स सेवा सम्झौता पछि भारतमा रहेका नेपालीहरुलाई स्वदेश आगमनमा रकम बोक्नु पर्ने झन्झटबाट मुक्ति पाउनुका साथै बाटोमा हुन सक्ने चोरी ठगीबाट समेत सुरक्षित हुने बैंकले जनाएको छ । नेपाल बैंकले यस अघि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय रेमिट्यान्स कम्पनीहरुसँगको साझेदारीमा युरोप, खाडी मूलुक तथा अन्य राष्ट्रबाट “एनबिएल रेमिट तथा अन्य माध्यमबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । यसैगरी यस बैंकले वेष्टर्न युनियन, हिमाल रेमिट, प्रभु मनी ट्रान्सफर, आईएमई, मनीग्राम, सिटी एक्सप्रेस लगायतका रेमिट्यान्स कम्पनीसंगको सहकार्यमा विदेशबाट पठाएको रकम भुक्तानी गर्दै आएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यती डेभलपमेण्ट बैंकले २ बराबर १ हकप्रद सेयर जारी गर्ने, ४३ करोडको बोनस सेयर प्रस्ताव

काठमाडौं, २४ असार । यती डेभलपमेण्ट बैंक लिमिटेडले २ सेयर बराबर १ सेयर हकप्रद सेयर निश्काशन गर्ने भएको छ । हकप्रद सेयर जारीपछि बैंकको चुक्ता पुँजी करिव २ अर्ब ७ करोड रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको नाफा र आगामी आर्थिक वर्षको नाफाबाट बैंकले ४३ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकले विकास बैंकको चुक्ता पुँजी २०७४ असार मसान्तसम्ममा २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । असार २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हकप्रद सेयर र बोनस सेयर सम्बन्धि निर्णय गरेको हो । बैंकले साउन १५ गते चौधौ वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको साधारणसभामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्ने अजेण्डा रहेको छ । साथै, बैंकले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । हाल बैंकमा संस्थापक समूहको सेयर ६८ प्रतिशत रहेको छ ।