देशभर बाढीपहिरो: ४६ जनाको मृत्यु, १७ बेपत्ता
काठमाडौँ, २३ असार । निरन्तर वर्षात्सँगै आएको बाढी र पहिरोका कारण मुलुकभर ४६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट एक साताको अवधिमा ४६ जनाको मृत्यु हुनकासाथै १७ जना हराइरहेको मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए । अहिलेसम्म १५० घर बगाएको दुई करोडको प्रारम्भिक क्षति भएको उनले उल्लेख गरे । प्राकृतिक विपत्तिका घटनाको उद्धार र राहतका लागि सुरक्षा निकायलाई तैनाथ र आवश्यक संयन्त्र परिचालन गरिएको मन्त्रालयले जनाएको छ । ललितपुर, धादिङ, सिन्धुपाल्चोक, प्यूठान, दार्चुलालगायतका स्थानमा बाढी र पहिरोले जनधनको क्षति पु¥याएको छ । घटनाका पीडित ९घर भत्केकालाई० राहतका लागि तत्काल पाँचदेखि २५ हजार उपलब्ध गराइने प्रवक्ता कोइराराले बताए । सिन्धुपाल्चोकसहितका जिल्लामा बाढी र पहिरोले धेरै क्षति पुगेको भए पनि यकिन विवरण आइनसकेको गृहले जनाएको छ ।
सीपले दिएको अवसरः बारटेन्डरमा जम्दै नेपाली युवा
काठमाडौँ, २३ असार । वैदेशिक रोजगारी भन्नासाथ सबैले दुःख पाउँछन् भन्ने छैन । सीप र जाँगर भए पैसा मात्र होइन सम्मानित बन्ने अवसरसमेत पाउँछन् । कर्मशील यस्तै नेपालीले आफ्नो इमान्दारिता र मिहिनेतले युरोपमा आफ्नो पहिचान र गौरवलाई बढाइरहेका छन् । झापा जिल्लाको भद्रपुर–२ का ३४ वर्षीय राजु आलेमगर तिनै प्रतिनिधि पात्र हुन् जसले युवा अवस्थामै युरोपमा आफ्नो पहिचान बनाए । उनको सफलताको कथाले सायद अरु धेरै नेपाली युवालाई कर्मशील हुन प्रेरित गराउँछ । आलेले इटालीको प्रख्यात ‘मेडिटेरानियन सिपिङ कम्पनी’ ९एमएससी० मा शानका साथ सेवा गरिरहेका छन् । उनीजस्ता कामदारले मासिक बढीमा दुई हजार ५०० डलरसम्म कमाउँछन् । “यहाँ काम गर्ने धेरै नेपालीको सपना हुन्छ, तर सबैले पाउँदैनन्”, ‘जग्लर बारटेन्डर’ भएर काम गर्ने आले भन्छन्, “मिहिनेत र धैर्यताले यो सफलता मिलेको हो ।” सन् २००८ देखि यो क्षेत्रमा लागेका उनले व्यावसायिक तालिम लिएका छन् । भारतीय व्यावसायिक बारटेन्डर मन्दीप अग्रवालसँग विशेष प्रशिक्षण लिएका आलेको आलाकाट होटल ट्रेनिङ सेन्टरबाट करियर सुरु भएको थियो । दरबारमार्गको इन्सोमेनिया, लाजिम्पाटको एटिक बार, ठमेलको द फ्याक्ट्री रेस्टुरेन्ट एण्ड बारमा लामो समय काम गरेपछि आलेको युरोपतिरको यात्रा तय भयो । एमएससी कम्पनीका १३ वटा ठूला पानीजहाज छन् । झन्डै महिनादिनको जहाज यात्रामा आले व्यावसायिक बारटेन्डरका रुपमा काम गर्छन् । जहाजबाटै स्पेन, फ्रान्स, स्विट्जरल्यान्ड, ट्युनिसिया घुमिसके । उक्त कम्पनीमा आलेसहित करिब ७० जना नेपाली कामदार छन् । करिब ४३ हजार यात्रुलाई सेवा दिनु चानचुने विषय हैन । डेढ वर्षदेखि काम गर्दै आएका आलेले नेपाली कामदारले अशिक्षाकै कारण विदेशमा दुःख कस्ट भोग्नुपरेको अनुभव सुनाउँदै आफूले लाखौँ खर्चेर सिकेको सीपले अहिले सफलता मिलेको बताए । यसमा दिदी कुसुम आले र भान्जी सम्झना बिष्टको प्रेरणा उत्तिकै थियो । उनको बुझाइमा भाषामा राम्रो ज्ञान, जुन काममा जाने हो त्यसबारे आवश्यक तालिम लिएर जाँदा कामदारले समस्या भोग्नुपर्दैन । के हो ‘बारटेन्डर’ ? त्यसो त नेपालमा पनि ‘बार’ को प्रचलन बढेको छ, केही बार गुणस्तरीय पनि छन् । तर, अधिकांशले मापदण्ड पूरा गर्दैनन् । बारका नाममा डान्स, डिस्को, रेस्टुरेन्ट बार आदि नाम राखेर अनेक धन्दा चलाइरहेका हुन्छन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार बार त्यो हो जहाँ अन्तर्राष्ट्रिय ब्रान्डका मदिरा मात्रै बिक्री वितरण हुन्छन्, बारका ग्राहक पनि स्तरीय र नियमित हुन्छन् । बार भन्नासाथ रक्सी भट्टी सम्झिने नेपालीको बानी परिसकेको छ । नेपाली बारमा करोडको लगानी गर्ने तर मजदुरलाई उचित तलब सुविधा नदिने प्रवृत्तिले धेरैको गन्तव्य युरोप र एसियाली मुलुकतिर हुने गरेको आलेको भनाइ छ । “दुई करोड लगानी गरेर बार खोल्छन् तर कर्मचारीलाई सस्तोमा राख्छन्, कसरी गुणस्तर सेवा दिने यसले बारका नाममा अनेक विकृति मात्रै निम्त्याएकोे छ,” उनले भने । बारटेन्डर भनेको मदिराजन्य पदार्थको कक्टेल बनाउने कला हो । यो कलाले ग्राहक आकर्षित मात्र हुँदैनन् स्वादिस्ट र रङ्गीविरङ्गी मदिरा सेवन गर्न पाउँछन् । आले बारटेन्डरका साथै ‘बारिस्ता’ ९कफी बनाउने० व्यावसायिक पनि हुन् । बारको मापदण्ड हुन्छ, जहाँ १८ वर्षमुनिका किशोरकिशोरीले प्रवेश पाउँदैनन् तर नेपालमा त्यसको मतलब छैन । बारमा रक्सी र सिगरेट मात्र दिइन्छ । बारलाई रक्सीभट्टीका रुपमा लिने र पैसा खर्चिने प्रवृत्ति छ, कुनै मापदण्ड छैन । सीप भएर पनि नेपालमा बारटेन्डरको भविष्य नदेखेकाले विदेसिनु परेको बताउने आलेको भविष्यमा नेपाल फर्केर यही क्षेत्रमा लगानी गर्ने योजना रहेको छ । आलेजस्तै सफलता काठमाडौँका २४ वर्षीय मोहमद हुसेनको पनि छ, उनले हालै चीनमा सम्पन्न अन्तर्राष्ट्रियस्तरको बारटेन्डर प्रतिस्पर्धामा सहभागिता जनाए । होटल व्यवस्थापनसम्बन्धी अध्ययनरत सिन्धुपाल्चोककी मीरा थापाको पनि यही क्षेत्रमा जम्ने चाहना छ । बानेश्वरको ‘चौरासी व्यञ्जन रेस्टुरेन्ट’मा कार्यरत थापाले विदेशमा सीप सिकेर नेपालमै भविष्य बनाउने सुनाइन् । काभ्रेकी निकिता लामाले पनि होटल क्षेत्रमै व्यावसायिक जीवन बिताउने योजना सुनाइन् । “काठमाडौँ फ्लेयर बारटेन्डिङ एकेडेमी, शङखमुलले बारटेन्डर जनशक्ति उत्पादन गर्दै आएको छ”, आलेले भने, “विदेशमा दुःखसुख सबै छ, १८ तले जहाजमा काम गर्नु निकै जोखिम मोल्नुपर्ने हुन्छ, ७।८ रिक्टरको भूकम्पजस्तो हल्लाउँछ, समुद्रमा छाल आएका बेला ।” नेपालमा एटिक, द फ्याक्ट्रीलगायत अन्तर्राष्ट्रियस्तरका बार मानिन्छन् । युरोप, अमेरिकालगायत मुलुकमा भने व्यावसायिक बार फस्टाएका छन् । रासस
सानो सानो झुप्प्रो–मान्छेको थुप्प्रो, काउलेपानी होमस्टेको कमाई वार्षिक एक करोड नाघ्यो
लम्जुङ, २३ असार । ‘सानो सानो झुप्प्रो, मान्छेको थुप्प्रो । काउलेपानीको झुपडी बस्तीमा धेरै जनालाई स्वागत गर्न पाउँदा हामीलाई खुशी लागेको छ ।’ असार १५ गते काउलेपानी होमस्टेका संयोजक देवबहादुर गुरुङले त्यसो भन्दै गर्दा स्थानीय महिलाहरु राजधानीबाट काउनेपानी पुगेका अथितिहरुलाई परम्परागत शैलीमा कलसको जल छर्कदै गलामा रक्षा धागो लगाईदिन व्यस्त थिए । संयोजक गुरुङले जलले अभिसेक गर्नु र रक्षा धागो लगाउनुको परम्परा र अर्थ भट्याउँदै गए । महिलाहरुले गुरुङ संस्कार अनुसार स्थानीय मदिरा (तीन पाने रक्सी) र कोदोको सेल खुवाउँदै गए । ‘खाने बेलामा गनगन गर्ने मान्छेलाई हाम्रो समाजमा राम्रो मानिदैन । तैपनि म तपाईहरुलाई काउलेपानीको बारेमा केही जानकारी दिन अनुमति चाहान्छु’ शुद्ध नेपाली उच्चरण गर्दै मिठासपूर्ण शैलीमा इतिहास, भूगोल, समाज, संस्कार सबैको बारेमा सरर बताउन थाले, पत्रकारले डायरीमा टिप्नै पनि नभ्याउने गरी । ‘‘रामकृष्ण ढकालले गाएको गीतमा ‘विहान उठ्ने वित्तीकै, हिमाल देख्न पाइयोस्’ भनेका छन् । काउलेपानीबाट हिमाल हेर्न उठ्नै पर्दैन । अछ्यानमा सुती सुती देख्न पाईन्छ । काउनेपानीका हरेक घरको ओछ्यानबाट नजिकै हिमाल देख्न सकिन्छ । हरेक घरको आँगन र पीडिबाट सूर्योदय देख्न सकिन्छ । सूर्योदय हेर्न भनेर स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै अन्त जानुपर्दैन ।’’ गुरुङले भनेजस्तै प्रकृति प्रेमिका लागि काउलेपानी साँच्चिकै मनमोहक छ । लम्जुङ दरबार उनले इतिहास कोट्याए । शाह बंशीय राजाहरुको इतिहास बोकेको विक्रम सम्वत १५५० मा बनेको राजदरबार अहिले पनि काउलेपानीमा सुरक्षीत छ । त्यतिबेला योशोवर्मा शाहले त्यहाँबाट राजकाज चलाउँथे । गुरुङका अनुसार यशोवर्मा शाहका कान्छा छोरा द्रव्य शाहले नै लिलिगकोर्टमा दौड जितेर गोर्खाका राज्य समालेका थिए । उनैको सन्तान हुन्–तत्कालिन राजा पृथ्वीनारायाण शाहदेखि ज्ञानेन्द्र शाहसम्म । उनी बर्णन गर्दै गए । ‘काउनेपानीमा दुर्लभ जनावर मध्ये एक चरिबाघ पाइन्छ । देख्दा बाघ नै हो । तर चरा झै उड्छ । लामो जम्प हान्छ । रुखमा भने बस्दैन ।’ यस क्षेत्रमा पाईने काँडेम्याकुर, चरा चुरुङ्गी, गुराँसको जङ्गल, काफल, एैसेलु, चिराईतो, तरुल लगायत पर्यटकका लागि आकर्षक फलारको बारेमा उनले लामो बर्णन गरे । काउलेपानीमा रहेका देबीदेताका मन्दिर र यहाँको धार्मिक महत्वको बारेमा पनि उल्लेख गरे । काउलेपानीमा बाह्रै महिना पर्यटकको लागि आकर्षक प्याकेज रहेको बताए । देव गुरुङ ‘टान’ लेखेको टिसर्ट, सामान्य क्याप, ट्राउजर, चप्पल लगाएका, ५० वर्ष नाघेका बुढा किसान जस्तो देखिने गुरुङले सबैलाई लठ्नै पार्ने गरी करिव २० मिटेनमा काउलेपानी र लम्जुङको बारेमा वर्णन गरे । लेखकको मनमा लाग्यो–दुर्गम गाउँमा पनि यस्तो क्षमतावान व्यक्ति रहेछन् । संयोग उनकै घरमा रात बस्ने मौका मिल्यो र उनको बारेमा थप जानकारी लिने मौका मिल्यो । उनले इतिहासमा डिग्री हासिल गरेका रहेछन्, काउलेपानी र लम्जुङलाई केन्द्रमा राखेर थेसिस लेखेका रहेछन्, दुई दशकदेखि स्कूलमा सामाजिक विषय पढाउने शिक्षक रहेछन् । गाउँमा उनको बढो इज्जत रहेछ । लाहुरे जीवनबाट कायल बुबाको सपना पूरा गर्दै उनले गाउँमा पढे, गाउँकै सेवामा जीवन विताउँदै आएका रहेछन् । होमस्टे नेपाल पर्यटन वर्ष २०११ देखि यस क्षेत्रमा होमस्टे सञ्चालन भएको रहेछ । शुरुमा ७ घरबाट शुरु भएको यो होमस्टेमा हाल १४ घर आवद्ध रहेछन् । ३५ कोठा र ८२ बेड रहेछ । विकट गाउँमा एकै पटक १०० जना पुग्दा पनि आनन्दले खाने बस्ने सुविधा रहेछ । त्यसैले त होला नेपाल पर्यटन बोर्डले नेपालमा घुम्नै पर्ने १० गाउँमा काउलेपानीलाई पनि राखेको रहेछ । वाहिरबाट आउने पर्यटकहरु यिनै १४ घरमा खान्छन्, बस्छन् । ती १४ घरमा आउने पाउनालाई खानेकुरा थप ११ घरपरिवारले उत्पादन गरि बेच्छन् । काउलेपानी होमस्टेका अध्यक्ष देव गुरुङका अनुसार प्रत्यक्ष १४ परिवार र अप्रध्यक्ष ११ गरी २५ परिवारले यस होमस्टे सेवाबाट लाभ लिईरहेका छन् । काउलेपानीमा गुरुङ, नेवार र भुजेल बस्ती रहेको छ । काउलेपानी प्याकेज काउलेपानी नास्ता काउलेपानी होमस्टेले दुई प्रकारको सेवा दिने गर्छ । १० जनाभन्दा बढी समूह आउँदा प्रति व्यक्ति ९९० रुपैयाँ लिन्छन् । त्यसमा स्वागत, सम्मान, साँझको खाजा, मनोरञ्जन कार्यक्रम, ननभेज खाना, विहान चिया, नास्ता र विधाई कार्यक्रम हुन्छ । पारिवारिक वा एकल व्यक्तिलाई ८५० रुपैयाँको सेवा प्याकेज बनाईएको छ । त्यसमा शुरुको स्वागत र मनोरञ्जन कार्यक्रम राखिएको छैन । खानामा कोदोको सेल र तीन पाने रक्सी, गानामा गुरुङ भाका काउलेपानीमा लोकप्रिय बन्दै गएको स्थानीयबासी बताउँछन् । पर्यटकको ओहिरो गुरुङका अनुसार काउलेपानी होमस्टे शुरु भएको पहिलो वर्ष सन् २०११ मा ३ हजार ४१५ जना स्वदेशी र ६७ जना विदेशी पर्यटक पुगेका थिए । यो संख्या हरेक वर्ष बढ्दै गएको छ र सन् २०१५ मा स्वदेशी पर्यटक १२ हजार ९६६ जना र विदेशी २०३ जना पुगेका छन् । काउलेपानी होमस्टेले वार्षिक एक करोडभन्दा बढी आम्दानी गर्न थालेको गुरुङले बताए । काउलेपानी पुग्ने पर्यटकमा ९८ प्रतिशत स्वदेशी छन् भने २ प्रतिशत विदेशी छन् । विदेशी पर्यटक कम्तिमा ७ दिन र बढीमा १०० दिनसम्म बसेको अध्यक्ष गुरुङले बताए । स्वदेशी पर्यटकमा काठमाडौं, लुम्बिनी र मकवानपुरबाट बढी जाने गरेका छन् । साङ्केतिक भाषाको प्रयोग काउलेपानीका स्थानीयबासीलाई अंग्रेजी भाषाको ज्ञान शुन्य जस्तै छ । भाषा सिकाई कक्षा तथा तालिम भएको पनि देखिएन । विदेशीसँग कसरी कुराकानी हुन्छ त ? गुरुङले रमाईलो पाराले जवाफ दिए–‘‘साङ्केतिक भाषा सबैभन्दा सजिलो । ‘आईज आईज, मेरो घरमा बस्ने ठाउँ छ, सुत्न सकिन्छ’ भन्न अंग्रेजी जान्नु पर्दैन । साङ्केति भाषा प्रयाप्त छ ।’’ उनी थप्छन्:–स्कूल पढेका बाबुनानीले पर्यटकसँग कुरा गर्न सहयोग गरिरहेका हुन्छन् । विकट क्षेत्र भएपनि राणा प्रधानमन्त्री पद्मसमशेरको पालामा विक्रम संवत २००५ मा खुलेको स्कूलले शिक्षा क्षेत्रमा बुझेका र पढ्न चाहानेका लागि सहयोग मिलेको देखिन्छ । सानो लक्ष्य, ठूलो उपलब्धि प्रतिपरिवार २ जना पर्यटक भित्र्याउन सकेमा पनि एक बोरा चामल किन्न पुग्ने पैसा जुट्ने र एउटा परिवारलाई एक महिना खान पुग्ने उदेश्य लिएर होमस्टे शुरु गरिएको अध्यक्ष गुरुङ बताउँछन् । शान्ति श्रेष्ठ ‘मासिक १६/१७ सय रुपैयाँ आम्दानी गर्ने उदेश्यले शुरु गरेका हौ’ गुरुङ भन्छन्–’अहिले मासिक ४० हजार रुपैयाँ आम्दानी हुन्छ । हामीले सोचेको भन्दा राम्रो कमाई भयो ।’ होमस्टेमा आवद्ध सबै जना महिनाको ४०/५० हजार रुपैयाँ कमाई हुने बताउँछन् । पत्याउनै गाह्रो । काउलेपानी पुगेका पत्रकारले आम्दानीमा शंका गरे र प्रश्नहरु तेस्र्राए । त्यतिबेला पत्याउनै पर्यो जब सिता गुरुङको लबाई, बसाई देखियो । झण्डै एक तोला सुनको सिक्री गलामा लगाएकी शान्ति श्रेष्ठले हालसालै बनाएको चार कोठा घर देखाउँदै भनिन्–होमस्टे सञ्चालन भएपछि कमाएको पैसाले यो घर बनाएँ । पुरानो घरमा हामी बस्छौ, पाउनालाई नयाँ घरमा राख्छौं ।’ स्थानीय पत्रकार किसन संगीत भन्छन्–काउनेपानीको होमस्टे साँच्चिकै सफल भएको छ र यहाँका मानिसको जीवनस्तर उकास्एिको छ । समाज विकास जुट्दै काउलेपानी बासीले प्रति पर्यटक ९०० रुपैयाँ लिएर ३०० रुपैयाँ सामुहिक कोषमा जम्मा गर्छन् । सोही पैसाले गाउँमा खाने पानीको व्यवस्था गरिएको छ । भ्यूटावर निर्माण गरिएको छ । बाटो बनाउने काम भईराखेको छ । पैदलमार्ग बनाउन नेपाल पर्यटन बोर्ड कास्की शाखाले पनि सहयोग गरिरहेको छ । पैदल बाटो बनाउँदै ‘सरकारले बनाएको धारामा बर्सौंसम्म पानी आएन, त्यसैले हामीले आफैले लगानी गरी पाईप विच्छ्याएर घरघरमा पानीको व्यवस्था गरेका हौं’ उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार श्रेष्ठले भन्छन्–‘बेसीसहरबाट काउलेपानी पुग्ने ८ किलोमिटर सडक त्यस क्षेत्रको लागि भाग्य रेखा हो । तर उक्त सडकलाई स्थरीय बनाउने प्रयास सफल भएको छैन ।’ मुख्य चुनौति स्थानीय पत्रकार परमेश्वर अधिकारीका अनुसार गाउँमा युवा पुस्ता छैन । त्यसैले होमस्टे कार्यक्रम प्रवद्र्धनमा युवाको उपस्थिति शुन्य नै छ । नेपालका अन्य गाउँमा जस्तै यो गाउँको विकासमा युवा पुस्ताको शुन्य उपस्थिति यहाँको सबैभन्दा ठूलो चूनौति हो । काउलेपानीको होमस्टेलाई दिगो बनाउन, व्यवसायिक बनाउन गर्न सकिने साना साना काम पनि हुन सकेको छैन । ब्रोसर, भिजिटिङ कार्ड, फेसबुक पेज, वेवसाईट जस्ता आधारभूत प्रचार प्रसारका अभ्यास पनि भएका छैनन् । सहयोगि संघ लम्जुङ उद्योग वाणिज्य संघले ग्रामिण कृषि पर्यटन प्रवद्र्धन गर्न ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ मार्फत त्यस क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्दै आएको छ । यस कार्यक्रम अन्तरगत हालसम्म २९ लाख ४३ हजार रुपैयाँ खर्च भएको संघको अध्यक्ष श्रेष्ठले बताए । यस कार्यक्रम अन्तरगत स्थानीय वासीको क्षमता विकास गर्न, अवलोकन भ्रमण गराउन, काउनेपानीको प्रचार प्रसार गर्न धेरै राम्रा प्रयास भएको उनले बताए । काउलेपानी होमस्टेका अध्यक्ष भन्छन्–काउलेपानीको विकासमा उद्योग वाणिज्य संघ र प्रचारप्रसारमा स्थानीय पत्रकारहरुको मुख्य साझेदार हुन् ।
प्रभु मनि ट्रान्सफर र एफ.आई.ए टेक्नोलोजिबीच रेमिटान्स सम्झौता
काठमाडौं, २२ असार । निजी क्षेत्रको अग्रणी रेमिटान्स कम्पनि प्रभु मनि ट्रान्सफर प्रा.लि र भारतिय कम्पनि एफ.आई.ए टेक्नोलोजि प्रा.लि, इन्डीया विच रेमिटान्स सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु मनि ट्रान्सफरका तर्फ बाट उपाध्यक्ष कुशुम लामाले र एफ.आई.ए को तर्फबाट वित्त तथा अपरेशन प्रमुख प्रदिप मेहेताले हस्ताक्षर गरेका छन् । भारतिय सुपरिचित बैंकहरु एस बैंक, बैंक अफ इन्डीया, स्टेट बैंक अफ इन्डीया, विजया बैंक लगायतका बैंकहरुसँगको सहकार्यमा भारत भरी ८ हजार ५ सय भन्दा बढि सेवा केन्द्र मार्फत आन्तरीक तथा बाहय रेमिटान्स कार्य गर्दै आएको छ । यस कम्पनीले अब भारतमा रोजगारीको शिलशिलामा गएका नेपालीहरुका लागि सस्तो र सुलभ एंव विश्वाशिलो रेमिटान्स सुविधा प्रदान गर्ने कम्पनिका वित्त प्रमूख प्रदिप मेहेताले बताएका छन् । सम्झौता पश्चात भारतबाट नेपालमा रेमिटान्स पठाउनको लागि प्रभु मनि ट्रान्सफर इन्डीयाको सहकार्यमा एक दर्जन भन्दा बढि कम्पनिहरुले संकलन गरेको रकम नेपालमा प्रभु मनि ट्रान्सफरको भुक्तानी केन्द्रहरु मार्फत सजिलै भुक्तानी लिन सक्ने छन ।
बिहीबार इदुल्ल फित्रको अवसरमा सार्वजनिक बिदा, कार्यालय तथा शिक्षण संस्थाहरु बन्द हुने
काठमाडौं, २२ असार । भोलि असार २३ गते बिहीबारका दिन इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल्ल फित्र) परेकाले सरकारले सार्वजनिक बिदा दिएको छ । सो अबसरमा सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द हुनेछन् । गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा उक्त दिन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको जनाइएको छ ।
नयाँ एनसेल शप अब लबिम मल र बालाजु चोकमा
काठमाडौं, २२ असार । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले लबिम मल, पुलचोक (ललितपुर) र बालाजु चोक (काठमाडौं) मा नयाँ अवधारणाको एनसेल शप संचालनमा ल्याएकोे छ । ग्राहकका लागि एकै ठाँउबाट विभिन्न सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप खोलिएको उक्त शपहरुबाट ग्राहकले एनसेलका विभिन्न सेवाहरु, त्यसका बारेमा जानकारीहरु र प्रतिस्पर्धी बजार मुल्यमा मोबाईल सेटहरु खरिद गर्न सक्छन् । एनसेलका प्रवन्ध निर्देशक साइमन पर्किन्स्ले बुधबार एक कार्यक्रम बिच लबिम मल स्थित एनसेल शपको उद्घाटन गरे । त्यस्तै एक छुट्टै कार्यक्रम माझ बालाजु चोकमा रहेको एनसेल शपको उद्घाटन कम्पनीका रिजनल अपरेसन निर्देशक आइबेक माखाबेतोभले गरेका थिए । नयाँ एनसेल शपको संचालनसँगै उक्त क्षेत्रका ग्राहकहरुले अब यी एनसेल शपबाट एनसेलका सेवा सुविधाहरु सजिलै लिन सक्नेछन् र विभिन्न ब्राण्डका मोबाईल सेटहरु सजिलै खरिद गर्न सक्छन् । ग्राहकले एनसेल शपबाट नयाँ सिम कार्ड खरिद गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, ईन्टरनेट तथा एमएमएस सेटिङ्, ट्यारिफ परिवर्तन तथा सियुजीसेवा परिमार्जन गर्न सक्नेछन् । यसका साथै ग्राहकले एनसेलका सेवा सुविधाको बारेमा सोधपुछ गर्न, रिचार्ज कार्ड खरिद गर्न, ब्यालेन्स ट्रान्सफर र अन्य सुविधा पनि लिन सक्नेछन् । “धेरै भन्दा धेरै ग्राहक माझ एनसेलको सेवा र सुविधाको पहुँच सहज बनाउने योजना अनुरुप एनसेल शपहरु खेलिएको हो,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भने । “ग्राहक अनुभवलाई अझ परिस्कृत गर्दै लग्नका लागि अन्य क्षेत्रमा पनि यस्तै एनसेल शप खोल्ने योजनामा छौ ।” ग्राहक सेवालाई सहज बनाउन तथा ग्राहक अनुभवलाई परिस्कृत गर्नका निमित्त एनसेलले देशको विभिन्न भागमा एनसेल सेन्टरहरु र शपहरु संचालन गर्दै आएको छ ।
तयार भयो पुननिर्माण तालिम निर्देशिका
काठमाडौं, २२ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तालिम सञ्चलान तथा व्यवस्थापन निर्देशिका तयार पारेको छ । भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माण तथा पुनस्थापना गर्न आवश्यक जनशक्ति विकासका लागि व्यवस्थित र योजनाबद्ध रुपमा तालिम सञ्चालन गर्न प्राधिकरणले निर्देशिका तयार पारेको हो । निर्देशिका अनुसार प्राधिकरण, यसको उपक्षेत्रीय कार्यालय वा सम्बन्धित आयोजना कार्यान्वयन इकाईले पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी अल्पकालिन, मझौला तथा दीर्घकालिन तालिम सञ्चालन गर्न सक्नेछन् । कुनै निजी संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा निकायले आफ्नो स्रोतबाट पुनर्निर्माण तथा पुर्नस्थापना गर्न चाहेमा प्राधिकरण वा उपक्षेत्रीय कार्यालय वा सम्बन्धित आयोजना कार्यान्वयन इकाईबाट तालिम सञ्चालन गर्न अनुमति लिनु पर्नेछ । पुनर्निर्माण र पुनर्स्थापनाको लागि गैरसरकारी संस्था परिचालन सम्बन्धी कार्यविधि, २०७२ बमोजिम कार्य गर्न प्रस्ताव वा आशय पत्र पेश गरी प्राधिकरण वा सम्बन्धित आयोजना कार्यान्वयन इकाईसँग सम्झौता गरिसकेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले तालिम सञ्चालन गर्न अनुमति लिनु नपर्ने निर्देशिकामा उल्लेख छ । तर त्रिपक्षीय सम्झौता गर्दा निर्देशिकामा व्यवस्था भए अनुसारका पाठ्यक्रम, पाठ्य सामग्री लगायतका प्रावधानहरु अनिवार्य रुपमा पालना हुने गरी सम्झौता गर्नु पर्नेछ । निर्देशिका जारी हुनुभन्दा अघि गैरसरकारी संस्था परिचालन सम्बन्धी कार्यविधि अनुसार त्रिपक्षीय सम्झौता गरिसकेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले पनि यस निर्देशिकामा व्यवस्था भए अनुसारका पाठ्यक्रम, पाठ्यसामग्री लगायतका प्रावधानहरु अनिवार्य रुपमा पालना गर्नु पर्ने व्यवस्था गरिएको छ । निर्देशिका अनुसार भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुर्नस्थापना सम्बन्धी तालिम सञ्चालन गर्ने निकायले प्राधिकरणबाट स्वीकृत पाठ्यक्रमको आधारमा तालिम सञ्चालन गर्नु पर्नेछ । प्राधिकरणले नयाँ पाठ्यक्रम निर्माण गर्नुका साथै अन्य सरकारी निकायबाट तयार गरिएका पाठ्यक्रमलाई जस्ताको तस्तै वा परिमार्जन गरी स्वीकृत गर्न सक्नेछ । नयाँ पाठ्यक्रम निर्माण एवं निर्धारणका लागि सिफारिस गर्न प्राधिकरणका सम्बन्धित कार्यकारी सदस्यको संयोजकत्वमा समिति रहनेछ । निर्देशिका अनुसार पुनर्निर्माण र पुर्नस्थापनासँग सम्बन्धित दक्षता अभिवृद्धि, ज्ञान अभिवृद्धि र चेतनामुलक तथा अध्ययन, अवलोकन, अनुसन्धानमुलक तालिम हुनुपर्नेछ । यस्तै तालिममा सहभागी छनौट गर्दा उपलब्ध भएसम्म भूकम्पबाट प्रभावित युवा, युवती, एकल महिला, सीमान्त तथा विपन्न वर्गलाई सहभागी गराउन प्राथमिकता दिनु पर्नेछ । यस्तै प्राधिकरण वा उपक्षेत्रीय कार्यालय वा सम्बन्धित आयोजना कार्यान्वयन इकाईले तालिम प्रदान गर्ने संघसंस्थाको नियमित रुपमा सुपरीवेक्षण, अनुगमन तथा मूल्याकंन गर्नु पर्नेछ । सम्झौता अनुसारको काम नगरेमा, तोकिएको मापदण्ड र स्तर पूरा नगरी तालिम दिएको पाइएमा, तालिम अनुमति लिई तालिम सञ्चालन नगरेमा प्राधिकरण वा उपक्षेत्रीय कार्यालय वा सम्बन्धीत आयोजना कार्यान्वयन इकाईले तालिम प्रदायक संघसंस्था तथा व्यक्तिलाई दिएको तालिम अनुमति खारेज गर्न सक्ने व्यवस्था पनि निर्देशिकामा प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए ।
६ महिना भित्रै रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण थालिने
काठमाडौं, २२ असार । आगामी ६ महिना भित्रै रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्य सुरु हुने भएको छ । नेपाल आयल निगमले इण्डियन आयल कर्पाेरेशन(आइओसी)को सहयोगमा निर्माण गर्न लागेको पाइप लाइनको निर्माण कार्य सुरु भएको ३० महिनामा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । ‘आगामी ६ महिना भित्रै रक्सौल–अमलेखगञ्ज पाइप लाइन निर्माण आरम्भ गर्ने योजनाका साथ काम अघि बढिरहेको छ’, नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल बहादुर खड्काले भने । उनले पाइप लाइन निर्माण भएपछि नेपालमा पेट्रोलियम पदार्थको कहिल्यै अभाव नहुने दावी समेत गरे । ‘अहिले सडक अवरोध हुँदा वा मधेशमा आन्दोलन हुँदा पनि इन्धन आपुर्तिमा समस्या आइरहेको छ, पाइप लाइनले त्यस्ता समस्याको दिर्घकालिन समाधान गर्नेछ’, निगमका कार्यकारी प्रमुख खड्काले भने । नेपाल र भारतबीच सो पाइप लाइन निर्माणबारे २०७२ साल भदौं ७ गते सम्झौता भएको थियो । सम्झौता पत्रमा नेपालका तर्फबाट तत्कालिन बाणिज्य तथा आपुर्ति मन्त्री सुनिल बहादुर थापा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास रज्य मन्त्री धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेका थिए । कुल ४१ किलोमिटर लम्बाई भएको पाइप लाइनको ३९ किलोमिटर भाग नेपालमा पर्छ भने २ किलोमिटर भारतीय भूमिमा पर्छ । नेपाल र भारतबिच भएको पाइप लाइन निर्माण सम्झौता अनुसार त्यसको लागत ४ अर्ब ४० करोड लाग्ने प्रक्षेपण गरिएको छ । सो लागतमध्ये आइओसीले २०० करोड भारतिय रुपैंयाँ अर्थात ३ अर्ब २० करोड रुपैंयाँ उपलब्ध गराउने छ । थप एक अर्ब २० करोड भने नेपालले लगानी गर्नु पर्नेछ । भारतले उपलब्ध गराउने ३ अर्ब २० करोड रुपैंयाँले भारत तर्फ पर्ने एक किलोमिटर जमिनको मुुआब्जा तथा नेपाली भूमिमा पाइप लाइन बिछ्याउन खर्च गरिनेछ । त्यस्तै नेपालले खर्च गर्ने एक अर्ब २० करोडमध्ये ९० करोडमा अमलेखगञ्ज डिपोको स्तरोन्नति गरिनेछ भने ३० करोडले मुआब्जाको समस्या समाधान गरिनेछ । पाइप लाइन निर्माण सम्पन्न भएपछि नेपालको कुल मागको ८० प्रतिशत पेट्रोल तथा डिजेल आयात गर्न सकिनेछ भने हवाई इन्धन र मट्टि तेलको पनि ९५ प्रतिशत माग यहिबाट आयात गर्न सकिनेछ । यसरी निर्माण भएको पाइप लाइनलाई थप एक सय किलोमिटर विस्तार गरेर चितवन तथा निजगढसम्म विस्तार गर्दै दिर्घकालमा काठमाडौंसम्म विस्तार गर्ने दुई देशबिच भएको सम्झौतामा उल्लेख गरिएको थियो । पाइप लाइनबाट निजी क्षेत्रले समेत भाडा तिरेर इन्धन आयात गर्न सक्ने व्यवस्था गरिएको छ । पाइप लाइनको निर्माणले बार्षिक ७० लाख रुपैंयाँ बराबरको इन्धन ढुवानी खर्च बचत हुने बताइएको छ ।