विकासन्युज

ब्रिटिस भर्जिन आइल्यान्डले आठ अर्ब लगानी गर्ने, २००० जनाले रोजगारी पाउने

काठमाडौँ, १० असार । ब्रिटिस भर्जिन आइल्यान्डका १४ उद्योगले नेपालका विभिन्न क्षेत्रमा रु सात अर्ब ९६ करोड ७० लाख लगानी गर्ने भएका छन् । आइल्यान्डका उद्योगले सबैभन्दा बढी लगानी रु तीन अर्ब ७८ करोड ५० लाख नेपालको सेवा क्षेत्रमा गर्न स्वीकृति प्राप्त गरेको उद्योग विभागले जनाएको छ । आइल्यान्डका उद्योगको उक्त लगानीबाट मुलुकमा दुई हजार ५४ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । ती उद्योगमध्ये नेपाल बोर्डस लिमिटेडको रु दुई करोड ८८ लाख ६८ हजार, होटल एन्ड लिजरको रु ९१ करोड पाँच लाख ६५ हजार, ह्वाइट हर्स फल्स कोपरेसनको रु दुई करोड २० लाख, प्लेन पान मसाला गुट्खा, स्वीट् सुपारीको रु चार करोड ५० लाख लगानी रहेको छ । त्यस्तै अर्गानिक इगटेबल्सको रु ५० लाख, होटल विथ रेस्टुराँको रु २४ लाख, वित्तीय लगानी योजना विकासको रु एक अर्ब ७५ करोड ५० लाख, जिटी एन्ड टि होटलको रु एक अर्ब ९४ करोड, घोराही सिमेन्टको रु आठ करोड लगानी रहेको विभागले जनाएको छ । विभागका अनुसार आइल्यान्डका उद्योगमध्ये प्याकेजिङ मिनरल्स मेनुफेक्चरिङको रु २४ करोड, अर्गानिक भेजिटेबल्सको रु ५० लाख, टाइगर टु प्रालिको रु ९० करोड, अस्पताल सञ्चालन गर्न रु दुई अर्ब ८४ लाख ४३ हजार र सनसाइन भ्याली अर्गानिक फर्मको रु २५ करोड लगानी रहेको छ । आइल्यान्डको लगानी रहेको नेपाल बोर्डस लिमिटेडले मुलुकमा पहिलोपटक २०५० साल वैशाख २ गते लगानी गर्न स्वीकृति पाएको हो भने पछिल्लो पटक २०७२ साल वैशाख ३१ गते सनसाइन भ्याली अर्गानिक फर्मले लगानी गर्न स्वीकृति पाएको विभागको विदेसी लगानी शाखाका निर्देशक विपीन राजभण्डारीले जानकारी दिए । नेपालमा २०४६ सालदेखि हालसम्म विश्वका ८७ देशका जम्मा तीन हजार ५७८ बढी उद्योगले लगानीका लागि स्वीकृति प्राप्त गरेका छन् भने सबैभन्दा बढी लगानी भारतीय उद्योगको रहेको बताइएको छ । रासस

बेलायत यूरोपियन यूनियनबाट बाहिरयो, विश्व बजारमा नैराश्यता, पुँजी बजारमा गिरावट

काठमाडौं, १० असार ।  बेलायत युरोपियन युनियनबाट बाहिरिने भएको छ । गएराति भएको ऐतिहासिक जनमतसंग्रहमा युरोपेली संघबाट बाहिरिनुपर्ने पक्षले ५१.९ प्रतिशत मत ल्याएको छ भने इयुमै आवद्ध रहनुपर्ने पक्षले ४८.१ प्रतिशत मत हासिल गरेको छ । लण्डन र स्कटलण्डले इयुमा नै रहने पक्ष बहुमत आएको छ । तर उत्तरी ब्रिटेनमा इयुबाट वाहिरीने पक्षमा बहुमत आएको छ । युकेआइपीका नेता नाइजल फराजले परिणामको स्वागत गर्दै त्यसलाई ब्रिटेनको स्वतन्त्रताको दिनको संज्ञा दिएका छन् । २० वर्षदेखि इयुबाट अलग हुनुपर्ने पक्षमा अभियान चलाइरहेका युकेआइपीका नेता नाइजल फराजले समर्थकहरुलाई सम्बोधन गर्दै भनेका छन्, ‘यो साधारण र सभ्य जनताहरुको विजय हो ।’ मतदान सकिएपछि इयुमै रहने पक्षले जित्ने अनुमान गरेको फराजले जुन २३ तारिखलाई स्वतन्त्रता दिवसका रुपमा इतिहासले सम्झने बताएका छन् । तर बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । विश्वमा त्रास बेलायतका जनताले यूरोपबाट अलग हुने पक्षमा गरेको मतदान परिणामले विश्वलाई त्रसित बनाएको छ । सम्पत्ति बजारमा लगानी गर्ने लगानीकर्ता आत्तिएका छन् । सेयर बजार र मुद्रा बजार घटेको छ । बेलायतको मुद्रा पाउन्डको मूल्य डलरको तुलनामा सन् १९८५ यताकै तल्लो बिन्दुमा खसेको छ । जापान, चीन, भारत लगायत विश्वको ठूला अर्थतन्त्र भएको देशहरुको सेयर बजारमा भारी गिरावट आएको छ । बेलायतमा सेयर बजार बन्द भएकोले मूल्य असर देखिएको छैन । लामो प्रक्रिया २८ वटा राष्ट्र सम्मिलित युरोपेली संघबाट बेलायतको बहिर्गमन तत्कालै हुने छैन् । उक्त प्रकिया पूरा हुन न्युनतम दुई वर्ष लाग्नेछ । यूरोपियत यूनियनका २७ राष्ट्रले बेलायतको जनमत संग्रहको प्ररिणामबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन । अनौपचारिक छलफलमा यूनियनको सदस्य रहिरहन आग्रह गर्ने विषयमा छलफल भईरहेको यूनियन अध्यक्षले बताएका छन् ।

सिलिन्डरको मापदण्ड छानबिन गर्न आयल निगमलाई निर्देशन

काठमाडौं, १० असार । आपूर्ति मन्त्रालयले हिमालयन पेट्रोकेमिकल प्रालिको रोक्का भएको ग्यास खरिद अनुमति(पिडिओ) फुकुवा गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ । नबकमन्त्रालयको निर्णयानुसार गत जेठ ७ गते खाना पकाउने ग्यास विस्फोट भई ललितपुरका सुरेश ताम्राकार र राजेश ताम्राकारको मृत्यु भएपछि मृतकका आफन्तलाई भौतिक क्षतिका लागि राहतस्वरूप ४० लाख रूपैयाँ आर्थिक सहयोग गरिसकेका अवस्थामा विरोधका कार्यक्रम फिर्ता दिई सहमति भएपछि फुकुवा गर्न मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयको शुक्रबारको निर्णयानुसार प्रयोगमा ल्याइएका सिलिन्डर मापदण्डअनुसार भए/नभएकाबारे छानबिन गर्न पाँच सदस्यीय समिति समेत गठन गरिएको छ । रासस

विकास निर्माणका कार्यहरु तीव्र गतिमा, करिब एघार करोडको लगानी

नवलपरासी, १० असार । चालु आवमा सञ्चालन भएका निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमतर्फका योजनाहरु अन्तिम चरणमा पुगेका छन् । जिल्लाका छवटै निर्वाचन क्षेत्रमा तीव्र गतिमा योजना कार्यान्वयन अन्तिम चरणमा पुगेको जिविसका योजना शाखा प्रमुख पुरुषोत्तम ढकालले जानकारी दिए । निर्वाचित सांसदको क्षेत्रमा एक करोड ५० लाख रुपैयाँको दरले छवटा निर्वाचन क्षेत्रमा नौ करोड रुपैयाँका ८९ वटा योजना सञ्चालनमा छन् । अधिकांश योजना बाटोघाटो, मठमन्दिर, विद्यालय भवन निर्माणलगायत छन् । यसैगरी निर्वाचित र समानुपातिकतर्फका सांसदको निर्वाचन क्षेत्रअन्तर्गत प्रतिसांसद २० लाख रुपैयाँका दरले दुई करोड रुपैयाँ बराबरका ११९ वटा योजना रहेका छन् । अधिकांश योजना विकास निर्माणसँग सम्बन्धित छन् । यता केही योजना सांसदले आफ्नो कार्यकर्तालाई पोस्ने उद्देश्यले अघि बढाएको जनगुनासो बढेपछि जिविसले ती योजनाको अनुगमन गर्न थालेको छ । “काम पूर्ण भएपछि मात्र रकम भुक्तानी गरिने छ,” जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पन्थीले भने। यस पटक जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमतर्फ नौ करोड तथा निर्वाचन क्षेत्र विकास कार्यक्रमतर्फ रु दुई करोड बजेट विनियोजन भएको बताइएको छ । रासस

काबुलमा मारिएका प्रतिपरिवारलाई दश लाख रुपैयाँ राहत

काठमाडौं, १० असार । सरकारले काबुल घटनामा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको काबुल घटनामा परी मुत्यु भएका १३ नेपालीका परिवारलाई प्रतिपरिवार १० रुपैयाँ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए । बैठकले अफगानिस्तानको काबुलमा यही असार ६ गते आतङ्ककारी आक्रमणमा १३ नेपालीको मृत्यु भएको घटनाको निन्दा र भत्र्सना गर्दै घटनामा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जलिका सार्थ सबै परिवारजनमा समवेदनासहित शोक प्रस्ताव पारित गरेको छ । काबुलमा भएको आतङ्ककारी आक्रमणमा नेपालीको मृत्यु भएको घटनालगत्तै सरकारले काबुलबाट तिनको शव बुधबार नेपाल एयरलाइन्सको एयरबस चार्टर गरी काठमाडौं ल्याएर आफन्तलाई बुझाएको थियो । बैठकले काबुल घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको प्रबन्ध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपालीका लागि तत्काल अफगानिस्तान जान रोक लगाई श्रम स्वीकृति बन्द गर्ने र त्यहाँ रहेका नेपालीको सुरक्षाबारे अफगान सरकारसँग कूटनीतिक वार्तालाप गरी सुरक्षाको सुनिश्चितता गर्ने तथा असुरक्षित महसुस गरी नेपाल फर्कन चाहने नेपालीलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले लिबिया, इराक र सिरिया जान पूर्ण रोक लगाउने समेत निर्णय गरेको छ । उक्त घटनाबारे अन्य समग्र पक्षको विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको छ । त्यसैगरी लगानी बोर्डको कार्यकारी प्रमुखमा महाप्रसाद अधिकारीलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरिएको छ । सरकारले नेपाल फिलाटेलिक सोसाइटीको स्वर्ण महोत्सवका अवसरमा एक हजार रुपैयाँका दरको चाँदीको १२ ग्रामको दुई हजार थान र १०० रुपैयाँका दरले क्युप्रोलिकेल धातुको ८.५ ग्रामको चार हजार थान स्मारिका टकमरी निस्काशन गरिने निर्णय पनि गरेको सूचना तथा सञ्चारमन्त्री राईले बताए । बैठकले भारतीय आशिष चटर्जीले बाँके र मोहन पाण्डेले पर्सा जिल्ला प्रशासन कार्यालयबाट झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएकामा ती नागरिकता ऐन बमोजिम रद्द गरी नेपाली नागरिकताबाट हटाउने र सो नागरिकता प्रदान गर्ने अधिकारीलाई छानबिन गरी तत्काल कारबाही गर्ने निर्णय गरेको छ । रासस

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा महाप्रसाद अधिकारी

काठमाडौं, १० असार । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई आगामी चार वर्षको लागि नियुक्त गरेको हो । अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिले अधिकारी, निवर्तमान सिईओ राधेश पन्त र सरोज कोइरालाको नाम सिफारिस गरेको थियो । नबनियुक्त प्रमुख कार्यकारी अधिकृत अधिकारी नेपाल राष्ट्र बैंकको निवर्तमान डेपुटी गभर्नर हुन् । चाटर्ड एकाउन्टेट अधिकारीले नेपाल राष्ट्र बैंकमा वित्तीय क्षेत्रमा सुधारका लागि महत्वपूर्ण कार्यमा नेतृत्वदायी भूमिका खेलेका थिए । लगानी वोर्डमा चार वर्षको अवधिमा ठूलो परियोजना अगाडि बढाउन ऐतिहासिक काम गर्ने उनले बताएका छन् ।

पूँजी खाता पूर्ण खुल्ला गर्ने पहल, विदेशमा लगानी गर्न सहज हुने

काठमाडौं, १० असार । सरकारले पूजी खाता पूर्णपरिवत्र्य बनाउने तर्फ पहल सुरु गरेको छ । अहिलेसम्म चालु खाता नै आंशिक खुल्ला गरेको सरकारले आगामी २०७६ भित्रमा पूजी खाता पूर्णपरिवत्र्य बनाउने महत्वाकांक्षी योजना अगाडी सारेको हो । सरकारले विश्व बैंकको सहयोगमा तयार पारेको वित्तीय क्षेत्र विकास रणनीतिमा यस्तो उल्लेख गरिएको छ । सो रणनीति तयार भइसकेको छ । यसअघिको मन्त्रिपरिषद बैठकले रणनीति पारित गर्ने भने पनि समय नपुगेको कारण मात्रै रोकिएको हो । अब बस्ने मन्त्रिपरिषद बैठकले सो रणनीति पारित गर्ने अर्थमन्त्रालयका अधिकारीको भनाइ छ । सो रणनीतिमा वित्तीय स्थायित्व प्राप्त गर्नको लागि समष्टिगत अर्थतन्त्रलाई सवल र स्वस्थ तुल्याउने भनिएको छ । यसको लागि ‘पूजी खाताको पूर्णपरिवत्र्यतातर्फ कदम चाल्दा देखा पर्न सक्ने चुनौतिहरु सामना गर्न पर्याप्त सुरक्षाका उपायहरुको विकास गर्ने’ भनिएको छ । यसको अर्थ अव पूजी खाता पूर्ण परिवत्र्य बनाउनको लागि तयार सुरु भएको हो । यस्तो कार्य आगामी २०७६ साल भित्रमा गरिसकिने लक्ष्य तोकिएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । पूजी खाता परिवत्य हुने अवस्था रहेमा नेपालीलाई विदेशमा लगानी गर्न बाटो खुल्ला हुन्छ । अहिलेसम्म सरकारले पूजी खाता परिवत्र्य नबनाउदा विदेशमा लगानी गर्ने नेपालीले चोर वाटो भएर वा बैकल्पिक विधि अपनाएर लगानी गरिरहेका छन् । पूजी खाता पूर्ण परिवत्र्य भएमा विदेशमा लगानी गर्न चाहने नेपालीले जति विदेशी मुद्रा माग्छन् त्यति विदेशी मुद्रा सरकारले दिनुपर्ने हुन्छ । तर यसरी विदेशमा लगानी गर्नको लागि विदेशी मुद्रा दिन विदेशमा लगानी गर्ने सम्बन्धि कानुनमा पनि सो अनुसारको ब्यवस्था भने गर्नुपर्ने हुन्छ । अहिले सरकारले चालु खाता पनि पूर्ण खुल्ला गरेको छैन । विदेश भ्रमणमा जादा नेपालीले प्रतिब्यक्ति २ हजार ५ सय अमेरिकी डलर मात्रै लैजान पाउछन् । सो भन्दा बढी रकम लिनु परेमा उचित कारण र प्रमाण पेश गर्नुपर्छ । यो भनेको चालु खाता पनि आंशिक मात्रै खुल्ला छ भन्ने हो ।

बुटवल पावर कम्पनीले ३० लाख कित्ता नयाँ सेयर जारी गर्ने, सेयर मूल्य २००ले बढ्यो

काठमाडौं, १० असार । बुटवल पावर कम्पनी लिमिटेडले ३० लाख कित्ता नयाँ सेयर निश्काशन गर्ने भएको छ । कम्पनीले नयाँ सेयर निश्काशन गर्दा प्रिमियम मूल्य राख्ने भएको छ । कम्पनीको सञ्चालक समितिले प्रिमियम मूल्यमा ३० लाख कित्ता नयाँ सेयर निश्काशन गर्ने निर्णय गरेता पनि प्रिमियम मूल्य भने तोकेको छैन । सञ्चालक समितिको निर्णय साधारणसभाले पारित गरेपछि सञ्चालक समितिले नै नयाँ मूल्य निर्धारण गर्ने कम्पनीले जनाएको छ । यस विषयमा साधारणसभाबाट निर्णय गराउन कम्पनीले असार २७ गते विशेष साधारणसभा बोलाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ रहेकोमा नयाँ सेयर जारीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुने कम्पनीले जनाएको छ । प्रिमियम मूल्यमा सेयर निश्काशन गर्ने निर्णयसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब २ सय रुपैयाँले बढेको छ । जेठ ३१ गते सञ्चालक समितिले निर्णय गरेको दिन प्रतिकित्ता ७०३ मा कारोबार भएकोमा असार ९ गते ८८५ रुपैयाँमा सेयर कारोबार भएको छ । ६ महिनाअघि यस कम्पनीको सेयर प्रतिकित्ता करिव ५०० रुपैयाँमा करोबार भएको थियो ।