अनलाइन निर्देशिका संशोधन हुन्छ : मन्त्री राई
काठमाडौं, ९ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारले जारी गरेको अनलाइन सञ्चारमाध्यम निर्देशिका– २०७३ लाई आवश्यक संशोधन गरिने बताएका छन् । प्रेस चौतारी नेपालले बिहीबार सो निर्देशिका तत्कालका लागि फिर्ता लिन ध्यानाकर्षण गराएपछि मन्त्री राईले अनलाइन सञ्चार क्षेत्रको मूल प्रवाहमा आइसकेको सन्दर्भमा यसलाई व्यवस्थित गर्न हाल कानुन नभएकाले निर्देशिका ल्याइएको स्पष्ट गरे। राईले निर्देशिकामा भएका संविधानको मर्मसँग बाझिएका केही बुँदाका सम्बन्धमा प्रश्न उठेकाले संशोधनका लागि गठित कार्यदलको सुझाव बमोजिम चाँडै निर्णयमा पुगिने जनाए । मन्त्रालयले नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल नेपाल र अनलाइन पत्रकार सङ्घका अध्यक्ष रहेका कार्यदल गठन भएको छ । सरकारका प्रवक्ता राईले भने, “यो सरकार प्रेसलाई अङ्कुश लगाउन खोज्दैछ भनेर जुन ढङ्गले हल्ला मच्चाइएको छ, त्यस्तो होइन, निर्देशिका आवश्यक भएरै ल्याइएको हो, यो खारेज वा फिर्ता होइन, संशोधन हुन्छ ।” चौतारीका अध्यक्ष गणेश बस्नेतले संविधानको मर्म र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यताविपरीत निर्देशिका आएकाले अविलम्ब फिर्ता गरी सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले तय गर्ने आमसञ्चार नीतिभित्र अनलाइनको व्यवस्थापनको विषय राख्न माग गरे। रासस
उपत्यकाका प्रमुख सडक झिलीमिली हुँदै, एक हजार भन्दा बढी सौर्यबत्ती जडान गरिने
काठमाडौं, ९ जेठ । आगामी डेढ वर्षभित्र काठमाडौं उपत्यकाका प्रमुख सडकमा सौर्य ऊर्जा जडान गरी झिलिमिली गराइने भएको छ । महानगरपालिकाका सार्वजनिक निजी साझेदारीका प्रमुख शिव अधिकारीका अनुसार उपत्यकाका मुख्य सडकमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत उपत्यकामा एक हजार ८५ सौर्यबत्ती जडान गर्न लागिएको हो । काठमाडौंंका मुख्य सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ ल्याइएको उक्त कार्यक्रमका लागि कामपाले गत जेठ २७ गते सूचना बोलपत्र आह्वान गरिसकेको छ । बोलपत्रका लागि हालसम्म २० भन्दा बढी कम्पनीले फाराम भरिसकेका छन् । कामपाले यही असार १२ गतेसम्मका लागि आवेदन खुला गरेको छ । सौर्यबत्ती जडानका लागि महानगरले तीन छुट्टाछुट्टै खण्ड पहिचान गरेको छ । सोअनुसार कलङ्कीदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल तथा क्षेत्रपाटी हुँदै सोह्रखुट्टेसम्म सौर्यबत्ती राखिने छ । त्यस्तै सोह्रखुट्टेबाट बालाजु र नयाँ बसपार्कमा गरी पहिलो चरणमा चार सय खम्बा गाडिने कामपाको भनाइ छ । त्यस्तै दोस्रोे चरणमा दरबारमार्गदेखि काठमाडौं प्लाजा, कृष्ण पाउरोटी सडक तथा गौशालामा सौर्यबत्ती राखिने छ । त्यस्तै ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तीसपुतली, मैतीदेवी, डिल्लीबजार र पुतलीसडकमा तीन सय सौर्यबत्ती जडान गरिने छ । महानगरले पहिचान गरेको तेस्रो चरणमा ती सय ८५ खम्बा राखिने छ । सो चरण अन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शङ्खमूल पुलसम्म, तीनकुने कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामङ्ल चोकसम्म सौर्य बत्ती जडान गरिने बताइएको छ । रासस
रामेछाप र ओखलढुंगामा अनुदान सम्झौता अन्तिम चरणमा
काठमाडौं, ९ असार । रामेछाप र ओखलढुंगामा भूकम्पबाट क्षति भएका घरहरु पुनर्निर्माणका लागि घरधनीसँग अनुदान सम्झौता गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार रामेछापमा ४३ हजार ६ सय ९ घरधनीले अनुदान पाउने छनौट सूचीमा परेकोमा ३९ हजार ४ सय ५ घरधनीसँग अनुदान सम्झौता भइसकेको छ । यस्तै ओखलढुंगामा १९ हजार ८ सय १९ घरधनी अनुदान पाउने छनौट सूचीमा परेकोमा १६ हजार ६ सय २१ घरधनीसँग अनुदान सम्झौता भइसकेको छ । गोरखा र सिन्धुपाल्चोकमा पनि अनुदान सम्झौता धेरै अघि बढिसकेको छ । गोरखामा ५८ हजार ५ सय ३ घरधनी अनुदान पाउनेको छनौट सूचीमा परेकोमा ३४ हजार ४ सय ५७ घरधनीसँग र सिन्धुपाल्चोकमा ७८ हजार ५ सय ३७ घरधनी अनुदान पाउनेको छनौट सूचीमा परेकोमा ३४ हजार ४ सय ५७ घरधनीसँग अनुदान सम्झौता भएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार उपत्यका बाहिरका भूकम्प अतिप्रभावित ११ जिल्लामा २०७३ साल असार ९ गतेसम्म १ लाख ४७ हजार १ सय ८८ घरधनीसँग अनुदान सम्झौता भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई प्रमुख गणेशराज वस्तीले असार मसान्तभित्र ११ जिल्लामा अनुदान सम्झौता सम्पन्न गर्ने गरी काम गरेको जानकारी दिए । ११ जिल्लामा भएको अनुदान सम्झौता यस प्रकार रहेको छः क्र.सं. जिल्ला अनुदान सम्झौता १ रामेछाप ३९४०५ २ ओखलढुंगा १६६२१ ३ गोरखा ३४४५७ ४ सिन्धुपाल्चोक २००७८ ५ दोलखा ५८८४२ ६ धादिङ ८६६० ७ काभ्रे ३२९७ ८ नुवाकोट २८७५ ९ रसुवा १५६६ १० सिन्धुली ११०० ११ मकवानपुर २८७ कूल १४७१८८ भूकम्प अतिप्रभावित उपत्यका बाहिर ११ जिल्लामा ७ लाख १७ हजार ७ सय १८ घरधनीको सर्भेक्षण गरिएकोमा ५ लाख ३३ हजार ४ सय ५४ घरधनीहरु अनुदान पाउनेको छनौट सूचीमा परेका थिए । बाँकी घरधनी मापदण्डभित्र नपरेकाले अनुदान पाउनेको सूचीमा नाम समावेश नगरिएको प्राधिकरणले जनाएको छ । अनुदान सम्झौता भइसकेका घरधनी मध्ये ५ हजार ८ सय ४१ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान रकम जम्मा भएको छ । जसमा गोरखामा ४ हजार ४९, दोलखामा १२ सय ३७, ओखलढुंगामा ४ सय ४१, रसुवामा १ सय १२ र सिन्धुपालचोकमा २ जना घरधनीको बैंक खातामा रकम जम्मा भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले अनुदान सम्झौतासँगै घरधनीको बैंक खातामा अनुदान रकम पुर्याउने व्यवस्था मिलाउन प्राथमिकताका साथ प्राधिकरण अघि बढेको बताए । बैंकमार्फत अनुदान रकम वितरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल तथा नेपाल फाइनान्सियलल इन्स्टिच्युसन एशोसियसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही अनुसार प्राधिकरण र ५९ वटा बैंकबीच छुट्टाछुट्टै रुपमा सम्झौता भइसकेको छ ।
सरकार, मेरो घर आंशिक क्षति हो की पूर्ण ?
काठमाडौं, ९ असार । यो घर धादिङको चैनपुर गाबिस वडा नम्बर ३ का लोकनाथ लोहनीको हो । गत वर्षको बैशाख १२ र २९ गतेको भूकम्पका कारण लोहनीको घर बस्नै नहुने गरि भत्किएको छ । तर लोहनीको यो घर लाभग्राही सूचिमा परेको छैन् । सम्भवतः यो घरलाई आंशिक क्षतिग्रस्त रुपमा परिभाषित गरिनेछ । यो घर त केबल प्रतिनिधी मात्रै हो । यसरी घर भत्किएर पनि लाभग्राहीको सूचिमा नपरेकाहरुको संख्या एक लाख बढि हुने देखिन्छ । हालसम्म आफुलाई लाभग्राहीको सूचिमा समावेश गरिनु पर्यो भन्दै गुनासो फारम भर्नेहरुको संख्या ७६ हजार ८ सय २४ पुगिसकेको छ । र यो संख्या अझै बढ्ने देखिन्छ । ‘धादिङमा ४० प्रतिशतको हाराहारीमा लाभग्राही छुटेका छन, प्वाल परेको हाडीलाई आंशिक क्षति भन्ने की पुर्ण ? यो गम्भिर प्रश्नका रुपमा खडा भएको छ, सरकारले पुनः सर्वेक्षण गर्नु पर्छ’, धादिङका सांसद गुरु बुर्लाकोटी भन्छन् । पुननिर्माण प्राधिकरणका अनुसार हालसम्म ५ लाख ३३ हजार ४५ घरधुरीको लाभग्राही सूचि प्रकाशित गरिसकेको छ । यीमध्ये एक लाख ४२ हजार ७ सय २२ घरधुरीसँग अनुदान सम्झौता गरिसकेको छ । पाँच हजार ५० लाई पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ प्रदान गरिसकेको छ । नामावली प्रकाशित लाभग्राहीको संख्यालाई आधार मान्ने हो भने १४ प्रतिशत भन्दा बढि भूकम्प पीडितले गुनासो फारम भरेको छन् । पहिलो चरणमा सर्वेक्षण गरिएका ११ वटै जिल्लामा ठुलो संख्यामा असली भूकम्प पीडित छुटेका छन् । त्यसो त ठुलो संख्यामा गैर पीडित पनि लाभग्राही सूचिमा परेको आरोप लागिरहेको छ । सिन्धुपाल्चोकका सांसद शेर बहादुर तामाङले गैर पीडित पनि लाभग्राही सूचिमा परेको नाममा वास्तविक पीडितलाई छुटाउन नहुने बताए । ‘घर भत्केर उठिबास लागेकाहरुको नाम समेत लाभग्राही सूचिमा परेको छैन, कस्ता घरलाई आंशिक क्षतिग्रस्त भन्ने भनेर सर्वेक्षेकहरु नै अन्यौलमा परेको पनि देखियो’, सांसद तामाङले भने । पीडितहरु छुट्दैनन्ः प्राधिकरण राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले वास्तविक भूकम्प पीडितलाई लाभग्राही सूचिमा समेट्ने बताए । ‘वास्तविक पीडित लाभग्राही सूचिमा समेटिन्छन, हामी गुनासो कार्यबिधी निर्माणको अन्तिम चरणमा पुगिसकेका छौं’, प्रवक्ता थपलियाले भने । उनले गुनासो सम्बोधनको सवाल राजनीतिक समेत भएकाले बृहत छलफल अघि बढेको जानकारी दिए । कुन जिल्लाको अवस्था के ? रामेछाप रामेछापमा ४३ हजार ६ सय ९ जनाको लाभग्राही सूचि प्रकाशित गरिएको छ भने ३९ हजार ६४ घरधुरीसँग अनुदान सम्झौता सम्पन्न भएको छ । सो जिल्लाका ३ हजार २ सय ५८ घरधुरीले ५० हजार प्राप्त गरिसकेका छन भने १२ हजार ५ सय ३८ घरधुरीले गुनासो दर्ता गरेका छन् । गोरखा यहाँका ५८ हजार ५ सय ३ परिवारको लाभग्राही सूचि प्रकाशित भएको छ । उनीहरुमध्ये ३१ हजार ८ सय ६६ जनासँग अनुदान सम्झौता गरिएको छ भने एक हजार २ सय ३७ जनाले पहिलो किस्ताको रकम पाईसकेका छन् । गोरखाका ११ हजार ७ सय २६ घरले पहिलो किस्ताको ५० हजार पाईसकेका छन् । दोलखा जिल्लाका ५१ हजार ७ सय ४९ घरधुरीको लाभग्राही सूचिमा नाम परेको छ । तीमध्ये १८ हजार ८ सय ४२ घरधुरीसँग अनुदान सम्झौता गरिएको छ ।१५ हजार ५ सय २७ परिवारले पहिलो किस्ताको ५० हजार पाईसकेका छन् । ओखलढुंगा जिल्लाका १० हजार ८ सय १९ लाभग्राहीको सूचि प्रककाशित भएको छ । तीमध्ये १६ हजार ६ सय २१ परिवारसँग अनुदान सम्झौता गरिएको छ भने ४४१ परिवारले पहिलो किस्ताको रकम प्राप्त गरिसकेका छन् । जिल्लामा ५२२६ परिवारले गुनासो फारम भरेका छन् । सिन्धुपाल्चोक ७८५३८ परिवारको लाभग्राही सूचि प्रकाशित गरिएकोमा १८५४७ परिवारसँग अनुदान सम्झौता सम्पन्न भैसकेको छ । त्यस्तै, दुई परिवारले पहिलो किस्ताको ५० हजार पाइसकेका छन भने ४७२७ नयाँ गुनासो आएको छ । धादिङ ७०५८१ परिवारको लाभग्राही सूचि प्रकाशित गरिएकामध्ये ८६६० परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ र २५६५ नयाँ उजुरी दर्ता भएकाछन् । काभ्रेपलाञ्चोक ६७७३१ घरधुरीको लाभग्राही सूचि प्रकाशित गरिएको छ । ३२९७ परिवारसँग अनुदान सम्झौता भएको छ भने २५२५ नयाँ गुनासो दर्ता भएका छन् । सिन्धुली ३४२६९ घरधुरी लाभग्राहीको सूचिमा परेका छन् । तीमध्ये ११०० सयँग अनुदान सम्झौता भएको छ भने १३०० नयाँ गुनासो दर्ता भएका छन् । रसुवा १२२३६ परिवारको लाभग्राही सूचि प्रकाशित गरिएको छ १५६६ परिवारसँग अनुदान सम्झौता भएको छ भने ११२ परिवारले ५० हजार पाएका छन् । जिल्लामा १९६ वटा गुनासो दर्ता गरिएका छन् । नुवाकोट ६५७७३ परिवारको लाभग्राही सूचि प्रकाशन गरिएको छ २८७५ परिवारसँग अनुदान सम्झौता भएको छ भने ८५५६ वटा गुनासो आएका छन् । मकवानपुर ३०२३८ परिवारको लाभग्राही सूचि प्रकाशित गरिएको छ भने २८७ परिवारसँग अनुदान सम्झौता भएको छ । यहाँ २१८ वटा गुनासो दर्ता भएका छन् ।
सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा इलाममा
काठमाडौं, ९ असार । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा इलामको नेपालटारमा शुरु गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यले सो स्थानमा उक्त शाखा सञ्चालन गरेको हो । उक्त सेवा बैंकको इलाम शाखाका प्रमुख राज रेग्मी र नेपालटार उच्च मा.वि.का प्रधानध्यापक गोपाल प्रसाद कट्टेलले बिहीबार एक समारोहकाबीच उद्घाटन गरेका छन् । सो अवसरमा रेग्मीले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि सुरेन्द्र राईलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्र्तगत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने रेग्मीले बताएका छन् । बैंकका अनुसार बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या ६ पुगेको छ । साथै, बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई शाखारहित बैंकिङ्ग सेवामार्फत अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जाने बैंकले बताएको छ ।
उपत्यकाको बीस चोकमा ट्राफिक आइल्यान्ड निर्माण
काठमाडौं, ९ असार । काठमाडौँ उपत्यकाको बीस वटा चोकमा ट्राफिक पोष्ट (आइल्यान्ड) निर्माण गरिएको छ । उपत्यकाको पुतलीसडक, पद्यमोदयमोड, चक्रपथ, नयाँ बानेश्वर, दरबारमार्ग, कलङ्की, त्रिपुरेश्वर, कालिमाटीलगायतका चोकमा आइल्यान्ड निर्माण गरिएको हो । दिगो सहरी विकास आयोजनाको सहयोग तथा काठमाडौं महानगरपालिका र सडक विभागको सहकार्यमा उक्त आइल्यान्ड निर्माण गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले जानकारी दिए । उनले भने – “सडकमा भीडभाड नभएको बेलामा एकछिन् भए पनि ट्राफिकलाई आराम गर्ने वातावरण आइल्यान्ड निर्माणले मिलेको छ ।” उक्त आइल्यान्डमा मोबाइल फोनलाई चार्ज गर्नका लागि सोलारको समेत व्यवस्था मिलाइएको छ भने ट्राफिकको पानी परेको बेला लगाउने कपडा र पानी राख्ने ठाउँ समेत छ । प्रवक्ता मल्लले यसलाई काठमाडौं उपत्यकाका सम्पूर्ण चोकमा राख्ने वातावरण बनाउन दिगो सहरी विकास आयोजनासँग छलफल गरिरहेको बताए । रासस
भाईवरद्वारा नेपालमा लगानीको घोषणा, कर्पोरेट हाउससँग साझेदारी गर्न इच्छुक
काठमाडौं, ९ असार । विश्वभरी ७ करोडभन्दा बढी प्रयोगकर्ता र नेपालमै ४५ लाख सूचीकृत प्रयोगकर्ताहरुले प्रयोग गर्दै आएको विश्वको अग्रणी मैसेजिङ्ख एप्प भाइवरले नेपालमा लगानी गर्ने घोषणा गरेको छ । विहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दे भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैय्यरले भनेँ भाइवरका लागि नेपाल एक प्रथमिक बजार भएकोले भविष्यमा थप लगानी गर्न र नवीन अफरहरु ल्याउन इच्छुक रहेको बताएका छन् । संयुक्त लगानीको लागि धेरै लगानीकर्ता सम्पर्कमा आएको उनले बताए । कति लगानी गर्ने र कोसँग साझेदारी गर्नेबारे उनले खुलाउन चाहेनन् । ‘लगानी हुने रकमबारे म बोल्न चाहान्न । तर हामी नेपालका बैंक, कर्पोरट हाउस, टेलिकम कम्पनी, सञ्चारगृहसँग साझेदारी गर्न चाहान्छौं’ उनले भने । “पब्लिक च्याटको सफलतापछि हामी हाम्रो ग्राहकमाझ नयाँ अफर ल्याउने निर्णय गरेका छौँ । प्रयोगकर्ताहरुलाई आफ्नै भाषामा भावना व्यक्त गर्न सजिलो बनाउन हामीले नयाँ र विषेश स्टिकर प्याकहरु सुरु गर्ने निर्णय गरेका छौँ’’ नैय्यरले भने । टेलिकम कम्पनीहरुको व्यापार खोस्दै गएको भाईभरले टेलिकम कम्पनीसँग कसरी साझेदारी गर्छ भन्ने प्रश्नमा उनलको तर्क छ –संसारभर सञ्चार सेवा निशुल्क हुनुपर्छ भनेर वहस चलिरहेको छ । कसको आम्दानी कसले खोस्यो भन्दा पनि उपभोक्तालाई सस्तो र गुणस्तरीय सेवा दिने विषय बढी महत्वपूर्ण हो । भाईवरले २०७३ सालको सुरुवातदेखी नै स्थानीय भाषामा स्टीकरहरु उपलब्ध गराउँदै आएको छ । नेपालमा प्रचलित सामाजिक मिडिया एप्स्मध्ये भाइवर पनि एक हो र पछिल्लो केही वर्ष यता भाइवरले नेपाललाई पनि आफ्नो बजार विस्तारको प्राथमिकतामा राख्दै आएको छ । यही सफलतासँगैं भाइवर निकट भविष्यमा नेपालमा एक बृहत् डिजिटल संचार एप्स्को रुपमा स्थापीत हुने भएको छ । प्रयोगकर्ताहरुमाझ स्टिकरले सन्देश र सूचना प्रवाह गर्ने एक क्रान्तिकारी भूमिका निर्वाह गरेको छ । स्टिकरले आपसी वार्तालाई अत्यन्त निजी बनाउन र मनको भावलाई राम्ररी व्यक्त गर्न मद्दत गर्दछ । नेपाली नयाँ वर्ष २०७३ लाई उत्सवको रुपमा मनाउने सन्दर्भमा भाइबरले नेपाली रुपेैंयाँ १०,००० बराबरको स्टिकरहरुको प्याक निःशुल्क उपलब्ध गराएको थियो । यसले कुराकानीमा अपनत्वमात्र बढाउने नभई यसका मनमोहक डिजाइनहरुले प्रयोगकर्ताहरुमाझ बृहत् संवेदना पनि प्रवाह गरेको भाईवरको दावी छ । हालै पब्लिक च्याटको आरम्भ गरेको भाइबरले नेपालको बजारमा उल्लेख्य सफलता प्राप्त गर्दै गइरहेछ । पब्लिक च्याटमा प्रयोगकर्ताहरुले सेलिब्रेटी, प्रेरक र ब्रान्डहरुलाई पछ्याउन सक्दछन् । माल्भिका सुब्बा, प्रियँका कार्की, ऋचा शर्मा, नगमा श्रेष्ठ जस्ता सेलिब्रेटीहरु लगायत पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले समेत भाइबर पब्लिक च्याट्समा आफ्नो उपस्थिति जनाइसकेका छन् । फ्यान र फलोअरहरुले अब उनीहरुको आफ्नो प्रिय सेलिब्रेटीहरुको दिनचर्या, जीवनशैलीका बारेमा सुटुक्क चिहाउन सक्ने भाईवरले जनाएको छ ।
मेवाखोला हाइड्रोपावर असार अन्तिमदेखि सञ्चालन हुने
खोटाङ, ९ असार । जिल्लामा सञ्चालन गर्न लागिएको मेवाखोला हाइड्रोपावर असार अन्तिमदेखि सञ्चालन हुने भएको छ । खोटाङ जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउने अभियानका साथ उत्पादनको काम थालिएको एक मेगावाट क्षमताको जलविद्युत आयोजना असार अन्तिमदेखि सञ्चालन गर्ने तयारी गरिएको हो । सत्तरी प्रतिशत बैंकको लगानी तथा ३० प्रतिशत उपभोक्ताको सेयरबाट सञ्चालन गर्न लागिएको हाइड्रोपावरका लागि मेसिन जडानको मात्र काम बाँकी रहेकाले असार अन्तिममा सञ्चालन गर्ने तयारी गरिएको आयोजना प्रमुख ललितकुमार राईले जानकारी दिए । केन्द्रीय लाइनमा जोड्ने गरी उत्पादन गर्न लागिएको सानिमा बैंकको नेतृत्वमा बैंक अफ काठमाडौंले समेत लगानी गरेको छ । साप्सु कालिका हाइड्रोपावर कम्पनी प्रालि काठमाडौँको प्रवद्र्धनमा उत्पादन हुन लागेको हाइड्रोपावर निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन हुने जनाइएको छ । हाइड्रोपावरबाट उत्पादित विद्युत् बुइपास्थित केन्द्रीय लाइनको सबस्टेसन पु¥याएर प्रवाह गरिने कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले जानकारी दिए । हाइड्रोपावरमा चारवटा कम्पनीले कन्ट्र्याक्टमा काम गरिरहेका छन् । हाइड्रो मेकानिकलका लागि महाशक्ति हाइड्रोपावर कम्पनी, ट्रान्समिसनका लागि शाह इलेक्ट्रोनिक प्रालि, सिभिलका लागि पेसिफिक बिल्डर्स र इलेक्ट्रोमेकानिकलका लागि चिन्सीले जिम्मा लिएका छन् । हाइड्रोपावर सञ्चालन भएपछि जिल्लामा विद्युत् सञ्चालन भएका सबै गाविसमा विद्युत्भार कटौती नहुने जनाइएको छ । केन्द्रीय विद्युत् प्रयोग हुँदै आएको जिल्लामा अहिलेसम्म ३८ गाविसका उपभोक्ताले विद्युत् उपभोग गर्दै आएका छन् । गत असोजबाटै सञ्चालनमा ल्याउने गरी काम थालिएको हाइड्रोपावर गत साल असार १९ गतेको भीषण वर्षापछि आएको बाढीले हाइड्रोपावरको सर्वे मेसिन, मकी जेम्पर, वेल्डिङ सामान, गिट्टी, बालुवा, सिमेन्ट, फलामको रड लगायतका सामान बगाएर रु ४० लाखभन्दा माथिको क्षति गरेको थियो । त्यसपछि गत सालकै चैत अन्तिमबाट सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि भारतीय नाकाबन्दीका कारण सामान ढुवानी गर्न नसक्दा काम प्रभावित भएको कम्पनीले जनाएको छ । रासस