विकासन्युज

कृषिमा साढे ७ करोड बढीको अनुदान दिइँदै

कृष्ण आचार्य काठमाडौं । चितवन र मकवानपुरका किसानलाई लक्षित गर्दै ७ करोड ५० लाख रुपैयाँ भन्दा बढीको कृषि अनुदान वितरण गरिने भएको छ । ‘राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ’ चितवनले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ७ करोड ६४ लाख ३९ हजार रुपैयाँ बराबरको कृषि अनुदानका लागि बिहीबार प्रस्ताव आह्वान गरेको हो । चितवन र मकवानपुरमा सञ्चालित तरकारी, धान, केरा, माछा, मौरी जोन तथा उद्यमशीलता कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मीले जानकारी दिए । यस कार्यालयले चितवनका पाँच र मकवानपुरका दुइवटा जोन हेर्दै आएको छ । यी क्षेत्रमा चालु आवमा कार्यक्रम सञ्चालन गर्न ५० देखि ८५ प्रतिशत अनुदानका कृषि कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान गरिएको रेग्मीले बताए ।  कार्यालयले सबैभन्दा बढी यस वर्ष सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतमा अनुदान दिँदैछ । यहाँबाट सञ्चालित सातवटै जोन क्षेत्रमा सिँचाइका कार्यक्रम सञ्चालन गर्ने गरी सूचना आह्वान गरिएको छ । कार्यक्रमले सिँचाइका लागि २ करोड ७५ लाख २५ हजार रुपैयाँ बजेट प्रस्ताव माग गरेको छ । यस बजेटबाट १५५ वटा सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भार गर्ने लक्ष्य राखिएको छ । चितवन र मकवानपुरमा सञ्चालित धान जोनमा २ करोड ६४ लाख ६ हजार रुपैयाँ, तरकारी जोनमा १ करोड १ लाख ८० हजार रुपैयाँ, माछा जोनमा ९५ लाख ३८ हजार रुपैयाँ, मौरी जोनमा ८७ लाख १५ हजार रुपैयाँ बराबरको कृषि कार्यक्रमका लागि प्रस्ताव माग गरिएको छ । त्यसैगरी, कार्यालयले जोन क्षेत्रसहित अन्य क्षेत्रमा पनि उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न १ करोड ६० लाख रुपैयाँ, व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रमका लागि १८ लाख रुपैयाँको प्रस्ताव आह्वान गरेको छ । यसका लागि ५० प्रतिशत किसानले व्यहोर्नुपर्ने हुन्छ । कार्यालयले तरकारी जोन क्षेत्रमा सिँचाइसहित प्राङ्गारिक उन्मुख कृषि प्रवर्द्धन, आलु बाली, उन्नत प्रविधिका लागि गोलभेँडाको ग्राफ्टिङ बेर्ना वितरण, जोन सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण, थोपा सिँचाइ प्रणाली जडान, बेमौसमी तरकारी उत्पादनका लागि स्थायी टनेल निर्माणका लागि प्रस्ताव आह्वान गरेको हो । यी कार्यक्रम सञ्चालन गर्न ५० देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइने कार्यालयले जानकारी दिएको छ । यी कार्यक्रम भरतपुर महानगरपालिकाका वडा नं ४ देखि ९ र ११ देखि २८ नं वडा एवं मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको वडा नं १ देखि ५ नम्बर वडामा लागू हुनेछ । चितवन र मकवानपुरको धान जोन क्षेत्रका लागि कार्यालयले बीउ उत्पादन, ढुवानीका लागि साधन खरिद, पोष्ट हार्भेस्ट क्षति न्यूनीकरण, प्याकेजिङ, लेबलिङ, बजारीकरण सहयोग, धान मिल सञ्चालन, सामूहिक नर्सरी तथा सिकाइ केन्द्र सञ्चालन गर्नका लागि प्रस्ताव आह्वान गरिएको छ । यी कार्यक्रम चितवनको रत्ननगर नगरपालिकाको ३ देखि ९ वडा, खैरहनी नगरपालिकाको ९ देखि १३ वडा, राप्ती नगरपालिकाको १ देखि ४ र ६, मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका वडा नं ६, ७, ८, १२, १६, १७, १८ र मनहरी गाउँपालिकाको ३ देखि ९ वडामा लागू हुनेछन् । केरा सुपरजोन क्षेत्रमा केराको परिकारको विविधीकरण, उन्नत प्रविधिका लागि टिस्युकल्चर बिरुवा वितरण, केराको सकर वितरण, कृषि यान्त्रिकीकरण, पाँच बिघाभन्दा बढी केराखेती गर्ने किसानलाई फार्म हाउस निर्माण, केराको राइपनिङ च्याम्बर निर्माणका लागि किसानलाई प्रस्ताव आह्वान गरेको छ । केरा सुपरजोन क्षेत्र भरतपुर महानगरपालिका–१, ५, ८, १७, १९ र २३ देखि २८, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिकाको १ र ३ देखि ९ र कालिका नगरपालिकाको १ देखि ८ नम्बर वडालाई तोकिएको छ । यसैगरी गत वर्षदेखि सञ्चालनमा आएको माछा जोनमा माछाका उन्नत प्रविधि प्रदर्शन, माछा झिक्नका लागि प्रयोग हुने महाजाल, नर्सरी, नर्सरीका लागि चरा प्रतिरोधात्मक जालीमा अनुदान, माछाको नर्सरी व्यवस्थापन, कृषि यान्त्रिकीकरण, माछाको ह्याचरी सुदृढीकरण तथा सञ्चालन, पुरानो पोखरी मर्मतका लागि किसानसँग प्रस्ताव माग गरिएको छ ।  माछा जोन माडी नगरपालिकामा सञ्चालित छ । मौरी जोनका लागि सुपरसहितको घार वितरण, सुरक्षित प्याकेजिङका लागि सिसाको जार वितरण, कृषि यान्त्रिकीकरण, महको बजारीकरणमा सहयोग, महघर स्थापना, मौरी स्थानान्तरण तथा मह सङ्कलनका लागि ढुवानी साधन र मह सङ्कलन घर निर्माणका लागि माग गरिएको कार्यालयले जनाएको छ ।  यी कार्यक्रम भरतपुरका केही वडा, कालिका, खैरहनी, राप्ती, रत्ननगर नगरपालिका र मकवानपुरको राक्सिाराङ गाउँपालिकाको केही वडामा सञ्चालित हुनेछ । कार्यालयले यी कार्यक्रममा समावेश हुनका लागि ३५ दिनभित्र कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ । यसका लागि सम्बन्धित निकायको कृषि समूह, सहकारी, संस्था, समिति तथा कृषि फार्म दर्ता, नवीकरण गरेको प्रमाणपत्र, जग्गा भाडामा भएमा सम्झौतापत्रलगायत कागजपत्रसहित निवेदन पेस गर्न अनुरोध गरिएको छ । रासस

प्रसूति गृह र पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा जाँदै छन् । प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका-८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं ६ मा नव निर्मित प्रसूति गृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।  महोत्तरीमै जनकपुर-कुुर्था-सम्सी सडक खण्ड रौजास्थित रातु खोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नव निर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए, छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ ।  दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससहितको समन्वयमा नियन्त्रणमा लिई स्थल मार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ ।  दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौं ल्याइरहेको छ ।  त्यसैगरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन ब्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रूपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिए । 

प्रतिनिधिसभा बैठक बस्दै, तिलगङ्गा नेत्र विश्वविद्यालय  विधेयक प्रस्तुत गर्ने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।  आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय  विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सो विधेयक, २०८१ असार ४ गते राष्ट्रिय सभामा दर्ता भएको थियो । सो विधेयकलाई राष्ट्रिय सभाले २०८१ चैत ४ गते पारित गरेको थियो । यो विधेयक ‘आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम् प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नसँग सम्बन्धित’ छ ।

आज देशभर साधारणतया बदली रहने, बागमती र गण्डकीमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावा हुरी चल्ने सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित मौसमसम्बन्धी बुलेटिनमा उल्लेख छ ।

नाइमा अटो शोमा याडियाको भेलक्स सिरिज सार्वजनिक हुँदै

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन ९नाइमा० अटो शो- २०२५ मा याडियाको भेलक्स सिरिज सार्वजनिक हुने भएको छ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले भेलक्स सिरिज सार्वजनिक गर्न लागेको हो ।  भेलक्स फास्ट चार्जिङ, भेलक्स यू अल्ट्रा परफर्मेन्स र भेलक्स एच हाइ परफर्मेन्स पहिलो पटक सार्वजनिक गर्न लागेको हो ।  भेलक्स फास्ट चार्जिङ मोडलले ११० किमी सम्मको रेञ्ज दिने जनाइएको छ । यसमा २० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमता रहेको छ । यसमा ३ हजार २०० वाट मोटर, ६२ किमीरघण्टा गति र १७२ एनएम टर्क रहेको छ । भेलक्स यू प्रदर्शनका पारखीहरूका लागि तयार पारिएको याडियाको प्रमुख मोडेल हो । यो डुअल ७४ भी २० एएच ब्याट्री सिस्टमद्वारा सञ्चालित छ र १४० किमीसम्म रेञ्ज प्रदान गर्छ । यसमा ४ हजार ९०० वाट शक्तिशाली मोटर, ८० किमीरघण्टा गति र १७६ एनएम टर्क रहेको छ । दैनिक प्रयोगकर्ताहरूका लागि सहज, भरपर्दो र सुलभ मूल्यमा उपलब्ध भेलक्स एच याडियाको मूल्यमैत्री तर शक्तिशाली मोडेल हो । यसमा ७२ भी ३० एएच ब्याट्री छ, जसले १०० किमी सम्म रेञ्ज दिन्छ । यसमा ३ हजार २०० वाट मोटर, ६२ किमीरघण्टा टप स्पीड र १७२ एनएम टर्क रहेको छ । याडिया भेलक्स सिरिजले नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रालाई नयाँ उचाइमा पु¥याउनेछ विश्वास कुजु नेपालले जनाएको छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ८ प्रतिशत ऋणपत्र बाँडफाँट

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ऋणपत्र बाँडफाँट गरेको छ । बिहीबार बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘शाइन रेसुङ्गा डिवेञ्चर’ नामको १ अर्ब रकम बराबरको १० लाख कित्ता ऋणपत्र  बाँडफाँट गरेको हो । जसमध्ये ६० प्रतिशत व्यक्तिगत र ४० प्रतिशत ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बाँडफाँट गरिएको हाे । बैंकले २०८२/०३/३२ गतेदेखि २०८२/०४/०४ गतेसम्म ऋणपत्र निष्काशन गरेको थियो । उक्त ऋणपत्र खरिदका लागि ५.९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो ।  बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिएका थिए ।

नेबिको लिमिटेडले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । नेबिको लिमिटेडले प्राथमिक सेयर निष्काशन (आईपीओ) गर्ने भएको छ । कम्पनीले २० करोड मूल्य बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।  कम्पनीले उक्त सेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा नेबिको लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच सेयर निष्काशन सम्बन्धी बिहीबार सिद्धार्थ क्यापिटल लिमिटेडको नक्साल, काठमाडौं स्थित कार्यालयमा भएको हो ।  नेबिको लिमिटेडका तर्फबाट अध्यक्ष राजबहादुर सिंह र सिद्धार्थ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेबिको लिमिटेड सन् १९६४ मा स्थापना भएको नेपालकै पुरानो र प्रख्यात खाद्य उत्पादन कम्पनी हो । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको मुख्य कारखाना तथा हेटौंडा, भैरहवामा थप भएका उद्योगबाट बिस्कुट र कन्फेक्शनरी उत्पादन गर्दै आएको यस कम्पनीको वार्षिक उत्पादन क्षमता १५ हजार मेट्रिक टन रहेको छ । यसको व्यापार विभिन्न प्रमुख खाद्य क्षेत्रमा छ । बिस्कुट, कन्फेक्शनरी, कुकिज,सिरियल्स कम्पनीका हालका मूख्य उत्पादनहरु हुन् ।