विकासन्युज

थप विद्यार्थी लिन सकिँदैन भन्दै अभिभावकसँग माफी माग्नुपरेको छ

नीलबाराही काठमाडौंको उत्कृष्ट सामुदायिक विद्यालय हो । यहाँ करिब ११ सय बढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरूको रुचिका आधारमा शिक्षा दिइरहेको यो विद्यालयले जापानिज र कोरिया भाषा पनि पढाइरहेको छ । यो विद्यालयमा अहिले विद्यार्थीको आकर्षण कस्तो छ ? ३४ वर्षदेखि शिक्षण पेशामा आवद्ध हुँदाको अनुभवसहित हामीले विद्यालयका प्रधानाध्यापक डा. जानुका नेपालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :  शिक्षण पेसामा केकस्ता चुनौती छन् ?  यो एकदमै राम्रो पेशा हो । यसमा आत्मसन्तुष्टि छ, आत्मसम्मान पनि छ । तर समाजले शिक्षकलाई हेर्ने नजर अलिकति फरक छ । शिक्षक भनेको कृपाले जागिर खाने, केही नपाएर शिक्षण पेशामा जाने भन्ने खालको समाजको एउटा मूल्यांकन छ । तर त्यो मूल्यांकन पनि विस्तारै परिवर्तन हुँदैछ । अहिले शिक्षण पेशा पनि राम्रो पेशा हो भनेर आकर्षण धेरै बढेको छ । तर शिक्षण पेशालाई व्यवस्थित गर्न नेपाल सरकारले अझ सकिरहेको अवस्था छैन ।  शिक्षा ऐनको लागि लाखौंलाख शिक्षकहरू सडकमा पुग्नुभयो । तर ऐन अहिलेसम्म आउन सकेको छैन ।  शिक्षण पेशा राम्रो हो, म शिक्षक हुँ, यस पेशाप्रति म गर्व गर्छु । शिक्षण पेशामा युवाहरूको आकर्षण बढ्नुपर्छ किनभने यहाँभित्र विद्यार्थीसँग पाउने सन्तुष्टि र आफूले जानेको कुरा विद्यार्थीहरूलाई कसरी सहजीकरण गर्ने र उहाँहरूमा भएको कुरा कसरी आफूले लिएर अझ सहज बनाइदिने भन्ने हुन्छ । जो कोहीलाई यो गाह्रो हुन्छ ।  सिक्ने र सिकाइने पेशा, शिक्षण पेशा हो ? हो, यसमा सिक्ने/सिकाउने दुवै बराबरी हुन्छ । अहिलेको भनेको कृत्रिम बौद्धिकता (एआई)को जमाना हो । हामीभन्दा विद्यार्थीहरू आईसीटीमा स्मार्ट हुनुहुन्छ । कतिपय कुरा हामीभन्दा धेरै विद्यार्थीले जानेका छन् । कतिपय कुरा कसरी सहजीकरण गर्ने र विद्यार्थीमा राम्रो कुरा कसरी भरिदिने भन्ने कुरा शिक्षकले गर्नुपर्छ ।  नैतिक मूल्यमान्यता, अनुशासनका कुरा, कर्तव्यका कुरा, हिजोका संस्कार र संस्कृतिका कुरा कसरी विद्यार्थीलाई भरिदिने र पाठ्यक्रममा भएका कुरालाई कसरी विषयवस्तुसँग जोडिदिने, उहाँहरूको जीवनसँग कसरी जोडिदिने, व्यवहारिक जीवनसँग, सिकाइसँग कसरी जोड्ने भन्ने कुरा चाहिँ शिक्षकले अब सिकेर सिकाउनुपर्ने हुन्छ । तर विद्यार्थीलाई पहिले जस्तो बोर्डमा केही लेखिदिने र विद्यार्थीहरूलाई मैले भनेकै कुरा गर्नुहोस्, यही कुरा होमवर्कको रूपमा लेख्नुहोस्, यही कुरा क्लास वर्कको रूपमा लेख्नुहोस् भन्ने छैन । अब फरक भइसकेको छ । यही अनुसार हामीले सोच्नुपर्छ ।  स्मार्ट विद्यार्थीलाई सिकाउन शिक्षक पनि स्मार्ट हुनुपर्यो, यस्ता शिक्षक कति देख्नुभएको छ ?  सहरी क्षेत्रमा एकदमै स्मार्ट शिक्षकहरू धेरै  पाइन्छ । यदाकदा ग्रामीण क्षेत्रमा पनि त्यस्ता शिक्षकहरू प्रवेश गर्नुभएको छ । तर अत्यन्त कम हुनुहुन्छ । जसले गर्दा शिक्षकभन्दा विद्यार्थीहरू स्मार्ट हुनुहुन्छ । स्मार्ट विद्यार्थीको मनोभावना बुझेर, उहाँहरूसँग भएको ज्ञानलाई हामीले फेरि त्यो एकनलेज गरेर, उहाँहरूकै नलेजलाई हामीले बुझी थप कुरा बुझाउन सक्नु चाहिँ हाम्रो शिक्षकको महत्त्वपूर्ण चुनौती हो । उक्त चुनौतीमा शिक्षकले आफूलाई अपडेट गर्नुपर्छ । आज म के विद्यार्थीहरूसँग सिकाउनेभन्दा पनि सहजीकरण गर्दैछु, विद्यार्थीलाई करिकुलमलाई के कुरा जोड्दैछु, उनीहरूको व्यवहारिक ज्ञानसँग के कुरा चाहिँ म थपिदिँदैछु भन्ने कुरालाई पूर्वतयारी गर्न आवश्यक छ । विद्यार्थीहरूको लागि उत्सुक वातावरण शिक्षकले नै सिर्जना गर्नुपर्छ ।  अब शिक्षकहरू परिवर्तन हुनुपर्यो र सिकाउने विधि पनि परिवर्तन हुनुपर्यो भन्ने हो ? हो, तर यसका लागि शिक्षकहरूलाई तालिमको आवश्यक पर्छ । अहिले शिक्षकले पाइरहेको तालिम पर्याप्त छैन । तालिम नै छैन त मैले भन्दिनँ तालिम छ तर पर्याप्त छैन । अब तालिम डिजाइन गर्ने सम्बन्धित निकायले अब स्कुल–स्कुलमा गएर तालिम दिनुपर्छ । स्कुलमा जति शिक्षक छन् उहाँहरूको मागअनुसार तालिम दिनुपर्छ । स्रोतकेन्द्र स्तरमा गएर तालिम दिनुपर्छ । उहाँहरूलाई दैनिकभन्दा निरन्तर रूपमा अनुगमन संयन्त्र बनाउनुपर्छ, मूल्यांकनको संयन्त्र निर्माण गर्नुपर्छ । त्यो तालिमको रिफ्लेक्सन कसरी गरिरहनुभएको छ, कक्षाकोठामा रिफ्लेक्सन भएको छ कि छैन भन्ने कुरा हेरिनुपर्छ । तालिम लिएर मात्र पनि भएन, विद्यार्थीमा सकारात्मक परिवर्तन पनि आउनुपर्यो । अहिलेसम्म तपाईंको स्कुलमा अनुगमनको लागि अनुगमन टोली पुगेको छ ?  कहिलेकाहीँ आउनुहुन्छ, अनुगमन हुन्छ । काठमाडौं महानगरपालिकाभित्र चाहिँ विभिन्न कार्यक्रमहरू छन् । शिक्षामा सिर्जनात्मक सीप भनेर कार्यक्रम गरिरहेको छ । तर मैले समग्र देशको कुरा गरिरहेकी छु । समग्र देशका शिक्षकहरूलाई सहजीकरणको लागि सहायताको कुरा हुन्छ, तालिमका कुरा हुन्छ, अनुगमनका कुरा हुन्छ तर त्यहिमात्र पर्याप्त छैन । सामुदायिक विद्यालयको गुणस्तर नै खस्किएको भन्ने कुरा आइरहन्छ, के शिक्षकहरूले तालिम नपाएरै हो त ? यसमा धेरै कुरा छन् । मैले नीलबाराही माध्यमिक विद्यालयलाई मात्र जोडिनँ । समग्र सामुदायिक विद्यालयलाई जोड्दा सबैभन्दा पहिले विषयअनुसारको दरबन्दी नै पर्याप्त रूपमा अपुग छ । जुन विद्यालयमा विषयगत दरबन्दी पुगेका छैन, त्यो दरबन्दीको फुलफिल हुनुपर्छ । दोस्रो नम्बरमा शिक्षकलाई आफ्नो पेशाप्रति दक्ष बनाउनको लागि तालिम एकदमै जरुरी छ । तेस्रो, विद्यालयको वातावरण राम्रो हुनुपर्यो । अहिले विविधतामा एकता छ । विविध प्रकारका विद्यार्थीहरू कक्षाकोठामा हुनुहुन्छ । उहाँहरूको रुचि फरक छ, क्षमता फरक छ । ती विविध प्रकारका विद्यार्थीहरूलाई सम्बोधन हुने किसिमका प्याकेजहरू ल्याउन जरुरी छ ।  एउटै करिकुलम छ, एउटै शिक्षक हुनुहुन्छ अनि पुरानै तरिकाले पढाइरहनुभएको छ, यसले पनि केही असहज भएको छ । एउटा कक्षाकोठामा ६०/६५ जनासम्म विद्यार्थी राखेर पढाउनुपर्ने वातावरण विद्यालयमा छ भने शिक्षकले विविधतामा ध्यान गाह्रो हुन्छ । कुनै विद्यालयमा विद्यार्थीभन्दा धेरै शिक्षक पनि हुनुहुन्छ । त्यसलाई सरकारले दरबन्दी मिलान गर्न, विद्यालय मर्जिङ गर्न सकिरहेको अवस्था छैन । ग्रामीण क्षेत्रमा विद्यालयको ठूलो जग्गा–जमिन छ, भवनहरूलाई व्यवस्थित गर्न सकेको छैन । भवन छ, फर्निचर छैन । फर्निचर छ, शौचालय छैन । सहरी क्षेत्रमा भवन छ, जग्गा छैन । दुई आनामा पनि विद्यालय छन्, तीन आनामा पनि विद्यालय छन्, चार आनामा पनि विद्यालय छन् । वास्तवमा एउटा माध्यमिक तहको विद्यालय सञ्चालन गर्न कति जमिन चाहिने त ? कति ठाउँ चाहिने जसले गर्दा कत्रा कक्षाकोठा, कस्तो चाहिने भन्ने म्यापिङ हुनुपर्यो । क्षेत्र निर्धारण गर्नुपर्यो । यति नहुँदासम्म सामुदायिक विद्यालयको गुणस्तर सोचेजति राम्रो हुँदैन ।  भौतिक पूर्वाधारदेखि लिएर दरबन्दीको कुरा नीलबाराहीमा चाहिँ कस्तो छ ? नीलबाराही एउटा राम्रो विद्यालय हो । जमिन थोरै छ । लगभग तीन रोपनी जग्गा विद्यालयले ओगटेको छ । त्यति ओगट्दा पनि सबै छैन । बाटोतिर गएर सायद डेढ–दुई रोपनी जतिमा मात्र विद्यालय सञ्चालित छ । समुदायका धेरै व्यक्तिहरूले हामीलाई सपोर्ट गर्नुभएको छ । विद्यालयको खुला एरिया भएको हुनाले सुरक्षाको दृष्टिकोणले अलिकति समस्या भएको छ ।  हाम्रो भौतिक पूर्वाधारको क्षमताभन्दा धेरै विद्यार्थीहरू छन् । विद्यार्थीको रोजाइ, अभिभावकको रोजाइ हाम्रो विद्यालय हो किनभने यहाँ राम्रो पढाइ हुन्छ, व्यवहारिक शिक्षा दिइन्छ, शिक्षकहरूको टिम राम्रो छ । साथै सीपका कुराहरू, नैतिक मूल्य–मान्यताका कुराहरू, अनुशासनका कुराहरू, संस्कार र संस्कृतिका कुराहरू पनि पढाइ हुन्छ ।  अहिले विद्यार्थीको संख्या कक्षा १ देखि १२ सम्म कति छ ?  नीलबाराहीमा कक्षा १ देखि १२ सम्म करिब १ हजार विद्यार्थी छन् । अहिले कक्षा ११ मा भर्ना कार्यक्रम जारी छ । यति विद्यार्थीका लागि ५१ जना शिक्षक कर्मचारी हुनुहुन्छ । ११/१२ मा नेपाल सरकारले दुईवटा अनुदान दरबन्दीमात्र दिएको छ भने बाँकी विद्यालयले नै विषयगत शिक्षकहरू राखेको छ त्यसमा कक्षा १० सम्मको लागि शिक्षक र कर्मचारी सबै जोड्दा ३७ जना हुनुहुन्छ । त्योभन्दा बाँकी माथि कक्षा ११ र १२ को लागि हुनुहुन्छ ।  कक्षा ११ मा के–के विषय पढाइ हुन्छन् त ? हामीकहाँ विज्ञानभन्दा बाहेक व्यवस्थापन, मानवशास्त्र, शिक्षा, कानुनका विषयहरू पढाइ हुन्छ अहिलेको विद्यार्थीहरूको रोजाइको विषय कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, मास कम्युनिकेसन, ट्राभल एन्ड टुरिजम लगायतका विषयहरू विद्यार्थीले पढ्न पाउँछन् ।  यो बाहेक विद्यार्थीलाई जापानी भाषा र कोरियन भाषा पनि हामीले पढाउने गरेका छौं ।  विद्यालयमै कोरियन र जापानिज भाषा किन ? हामीले कोर्सकै रूपमा यी विषयहरू पढाइराखेका छौं । यसका लागि पाठ्यक्रम विकास केन्द्रसँग स्वीकृति पनि लिएका छौं । पाठ्यक्रम विकास केन्द्रले स्वीकृति गरेका विषयहरू हुन् । किनभन्दा अहिले विद्यार्थीको रोजाइको विषय नै भाषा बनेको छ । कतिपय विद्यार्थीले यही भाषा सिक्नको लागि विद्यालय छोडिरहेका छन् । विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयले यी विषयहरू पढाउन सुरु गरेको हो । कत्तिको आकर्षण छ यसमा विद्यार्थीहरूको? विद्यार्थीको आकर्षण एकदमै धेरै छ । हामीले तीन ब्याच, चार ब्याच चाहिँ कोरियन र जापानी भाषा उतारिसक्यौं । अब यसपालि चाहिँ विद्यार्थीहरू कति ११ मा आउनुहुन्छ, कुन–कुन विषय रोज्नुहुन्छ भनेर हेर्न बाँकी नै छ । विद्यार्थीहरूको रोजाइ सामुदायिक भन्दा निजी किन हुन्छ ? सबै विद्यार्थीको रोजाइ निजी विद्यालय नै हुन्छ भन्ने नै होइन । सामुदायिक पनि विद्यार्थीको रोजाइमा पर्छ । हामीले पनि अब विद्यार्थी लिन सकिँदैन भन्दै अभिभावकसँग माफी माग्नुपरिरहेको हुन्छ । तर अहिले काठमाडौं महानगरले सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई १० प्रतिशत निजीमा पढाउन छात्रवृत्ति दिने काम गरिरहेको छ । यसले गर्दा सामुदायिक विद्यालयका अब्बल विद्यार्थीको संख्या घट्न थालेको छ । यसले राम्रो र नराम्रो दुवै देखिएको छ । राम्रो पक्ष भनेको देशका प्रतिष्ठित भनिएका प्लस टु विद्यालयहरूमा निःशुल्क रूपमा पढ्न पाउने भए । नराम्रो पक्ष भनेको सामुदायिक विद्यालयका अब्बल विद्यार्थीहरू निजीमा जाँदा सामुदायिक विद्यालयमा अब्बल नहुने भए । यसले झन् सामुदायिक विद्यालयको गुणस्तर खस्किने चिन्ता थपिएको छ ।  कक्षा ११/१२ मा कति विद्यार्थीको सिट छ ? हाम्रो क्षमता भनेको ११/१२  दुवै गरी चार सय विद्यार्थी पढाउने हो  । त्योभन्दा बढी लिन सकिँदैन । अहिले भर्ना प्रक्रिया जारी रहेको छ । कति जना विद्यार्थी आउनुहुन्छ भन्ने यकिन छैन । हाम्रो स्कुल विद्यार्थीको रोजाइको विद्यालय हो । ११/१२ को नतिजा पनि उत्कृष्ट छ । कुनै पनि विद्यार्थीले असफलता भोग्नुपरेको अवस्था छैन । त्यसकारण पनि हाम्रो स्कुलमा विद्यार्थीको आकर्षण बढ्दो छ ।  अन्त्यमा केही भन्न चाहनुहुन्छ ? कक्षाकोठाको रुचि अनुसार, उनीहरूको विद्यार्थीको रुचि, आवश्यकताअनुसार शिक्षा दिनलाई हामी समय–सान्दर्भिक रूपमा हामी शिक्षकहरू अपडेट हुनुपर्छ । आईसीटीमा अपडेट हुनुपर्छ, प्रविधिमा अपडेट हुनुपर्छ ।  हामीले नै विद्यालयमा सिकाइको वातावरण सिर्जना गर्नुपर्छ । 

विश्वभरका पशुको कल्याणका लागि महायज्ञ गर्न ओडिसाका पण्डित पशुपतिमा

काठमाडौं । विश्वभरका सबै पशुलाई पशुपतिनाथले कल्याण गरुन् भन्ने कामनासहित पशुपति क्षेत्रमा राम कथा महायज्ञ सञ्चालन भइरहेको छ । पशुपतिनाथले विश्वभरका सबै पशुको कल्याण गर्ने भन्दै भारतको ओडिसास्थित विश्व सनातन ट्रष्टले पशुपति क्षेत्रमा आएर राम कथाको आयोजना गरिरहेको हो । पशुपति क्षेत्रमा आएर महायज्ञ गर्दा पशुपतिनाथबाट विश्वभरका पशुको उन्नति हुने भन्दै गत आइतबारदेखि राम कथा महायज्ञ सुरु भएको हो । महायज्ञ गर्न भारतका विभिन्न स्थानबाट करिब दुई सयजना भक्तजन काठमाडौंमा आएका छन् । पशुपति क्षेत्रस्थित नेपाल–भारत मैत्री पशुपति धर्मशालामा पण्डित काशीनाथ मिश्रले राम कथा वाचन गरिरहेका छन् । यो महायज्ञ आगामी शनिबारसम्म सञ्चालन हुने ट्रष्टले जनाएको छ । यसबाट धार्मिक पर्यटन प्रवर्द्धन भएको कथास्थलमा भेटिएकी मनिषा निरौलाले बताइन् ।  महायज्ञमा दैनिक करिब पाँच सयजना सहभागी हुने गरेका छन् । दिउँसो ३ः०० बजेदेखि बेलुकी ७ः०० बजेसम्म कथा वाचन भइरहेको छ । ट्रष्टले सनातन धर्म, संस्कृतिको संरक्षणका लागि नेपाल, भारत, अमेरिका, क्यानडा, बेलायतलगायत देशमा यस्तो यज्ञ आयोजना गरिरहेको ट्रष्टका अध्यक्षसमेत रहेका पण्डित मिश्रले बताए ।  

मिसन ०८४ मा राजनीतिक दलहरूको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूको एजेण्डा रोजगारी सिर्जना र राजस्व बढाउने कुरा हुनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  राजनीतिक दलहरु मिसन ०८४ को एजेण्डा बोकेर हिँडिरहेको भन्दै रोजगारी सिर्जना र राजस्व बढाउने कुरा राजनीतिक दलहरुको एजेण्डा बन्नुपर्ने बताए । राजनीतिक दलहरुले एकले अर्कोलाई नराम्रो देखाएर मत बटुल्ने काम गर्नु भन्दा पूर्वाधार निर्माण, रोजगारी सिर्जना, लगानी वृद्धि गर्नेकुरा प्राथमिकतामा राख्नुपर्ने जानकारी दिए ।  ‘अहिले राजनीतिक दलहरुको एजेण्डा मिसन ०८४ भनिने गरेको छ । निजी क्षेत्रको तर्फबाट मैले भन्नुपर्दा हामी रोजगारी सिर्जना गर्नेकुरा, राजश्व बढाउने कुरा छ । कुनै एउटा राजनीतिक दलले अर्को राजनीतिक दललाई एकले अर्कोलाई आक्षेप लगाउने र अर्कोलाई नराम्रो देखाएर आफू राम्रो हुने काम भन्दा पनि अहिले आम नेपालीको चाहना रोजगारी सिर्जना गर्नुपर्ने, पूर्वाधार निर्माण गर्ने, लगानी वृद्धि गर्नुपर्ने कुरा आवश्यक छ,’ अध्यक्ष ढकालले भने । अध्यक्ष ढकालले हरेक नेपालीले आज रोजगारी खोजिरहेको बताए । 

सत्यवतीका गाईलाई १० हजार भत्ता

काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिकाले गत वर्षदेखि सुरु गरेको गाईपालक कृषक प्रोत्साहन  अभियानलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । गाउँ कार्यपालिकाको निर्णयबमोजिम पहिलो बेत ब्याउने आफ्नै गोठमा जन्मिएर हुर्किएका गाईका लागि प्रोत्साहनस्वरूप प्रति गाई १० हजार रुपैयाँ अनुदान उपलब्ध गराइने भएको हो । स्थानीय गाईको संरक्षण होस् र  गाईका बाच्छी हुर्काउने प्रचलन बढोस् भनेर कृषकलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत उक्त योजना ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भुसालले जानकारी दिए । पालिकाले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी आर्थिक वर्ष २०८२/८३ को पशुपन्छी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त प्रोत्साहन कार्यक्रम सार्वजनिक गरेको हो । पालिकाले २०८२ साउन १ गतेदेखि २०८३ असार १५ गतेभित्र आफ्नो फर्म वा घरमा पालेको गाई पहिलो पटक ब्याएमा १० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने सार्वजनिक सूचना जारी गरेको छ  ।  प्रोत्साहन स्वरूपको उक्त रकम प्राप्त गर्नका लागि कृषकले आफूले पालेको कोरेली गाई बाली भएको पालिकामा जानकारी गराउनुपर्ने भुसालले बताए । अनुदान प्राप्त गर्नका लागि कृषकले पालिकामा निवेदनसहित नागरिकताको प्रतिलिपि, पहिलो पटक ब्याएको बेहोरा उल्लेख गरिएको कम्तीमा तीन जना छिमेकीको हस्ताक्षर लगायतको मुचुल्का, सम्बन्धित वडा कार्यालयको सिफारिस, माउ र बच्चा देखिने गरी खिचेको तस्बिर उपलब्ध गराउनुपर्ने  उनले जानकारी दिए । भुसालका अनुसार गाई किसानकै घरमा जन्मिएको हुनुपर्नेछ । र उक्त प्रोत्साहन रकम प्राप्त गर्न भेटेरिनरी प्राविधिक र वडाको सिफारिससहित आफ्नो बैंक खाता पनि निवेदनका साथ राख्नुपर्ने छ । 

मार्जिन कर्जा नीतिमा पुनरावलोकन हुने

काठमाडौं । धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन कर्जा उपलब्ध हुने हालको व्यवस्थामा पुनरावलोकन हुने भएको छ । धितोपत्र बोर्डले चालु आर्थिक वर्षका लागि वार्षिक कार्यक्रम तय गर्दै धितोपत्र कारोबारको लागि धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन कर्जा उपलब्ध हुने हालको व्यवस्थामा पुनरावलोकन गरी सुधार गर्ने भएको हो ।  बोर्डकाअनुसार चालु वर्षमा पुँजी बजारको विकास विस्तारका लागि क्षेत्रगत औजारगत विविधता ल्याउनुका साथै नयाँ धितोपत्र औजारको तथा विकास तथा विस्तार गर्न गरिँदैछ । त्यसका लागि धितोपत्र बोर्डले सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार हुने व्यवस्थालाई सहजीकरण गर्ने भएको छ । सरकारी संस्थानहरुमा सरकारले ऋणपत्रमार्फत लगानीको लागि वित्तीय साधन परिचालन गर्ने सहजीकरण गर्नेछ ।  त्यस्तै इन्ट्रा डे कारोबार, सेक्युरिटिज लेन्डिङ एण्ड बरोइङ्ग सम्बन्धी नीतिगत तथा कानूनी व्यवस्था गर्ने, अक्सन मार्केटको व्यवस्था गर्न आवश्यक सहजीकरण गर्ने, धितोपत्रको दोस्रो बजारमा कारोबारयोग्य औजारहरूको विविधिकरणका लागि डेरिभिट्भ्स औजारहरूको सञ्चालन गर्न आवश्यक अध्ययन गर्ने योजना बोर्डले बनाएको छ । इक्युटी डेरिभेटिभ बजारको विकासको लागि आवश्यक पूर्वाधार बनाउनुका साथै कारोबार व्यवस्था मिलाउन सहजीकरण गर्दैछ । यस्तै बोर्डले चालु आर्थिक वर्षमा धितोपत्र बजारमा प्रणालीगत जोखिम न्युनीकरण गर्दै लगानीकर्ताको हित प्रवद्धर्न गरी धितोपत्र बजारमा जन विश्वास बढाउने नीति लिएको छ ।  जसअनुसार मर्चेण्ट बैंङ्कर, धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारी, सामूहिक लगानी कोष, सूचीकृत संगिठत संस्थाहरूले बोर्डमा पेश गर्नुपर्ने विवरणको ढाँचा लागू गर्ने, जोखिममा आधारित सुपरिवेक्षण ढाँचा लागू गर्ने, धितोपत्रको प्राथमिक निष्काशनमा आस्वा सदस्य बैंक वित्तीय संस्थाले सिडिएस एण्ड क्लियरिङ्ग लि. बाट एपीआई लिइ आवेदकको आवेदन तत्कालै सिस्टम भेरिफिकेसन हुनु व्यवस्था गर्दैछ ।  यसबाट  आवेदन रकम रोक्का हुने वा सोहीअनुसार धितोपत्र बाँडफाट पश्चात फुकुवा हुने व्यवस्था मिलाइँदैछ । यस्तै, दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाउने नीति बोर्डले लिएको छ । त्यसका लागि लगानीकर्ता संरक्षण कोषलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि आवश्यक समन्वयात्मक कार्य गर्ने, सूचीकृत कम्पनीहरू वर्गीकरण व्यवस्थालाई सुधार गरी समसामयिक बनाउन विद्यमान कानूनी व्यवस्थालाई सुधार गर्न आवश्यक व्यवस्था गर्ने, सार्वजनिक निष्काशन गरी संकलन गरिएको रकम निष्काशनको उद्देश्य बमोजिम परिचालन भए/नभएको सम्बन्धमा अनुगमन गर्ने वार्षिक योजना धितोपत्र बोर्डले बनाएको छ ।  त्यस्तै, धितोपत्र कारोबार गर्दा सदस्य दलाल व्यवसायीले लगानीकर्ताको आदेश कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण व्याकअपको प्रभावकारी व्यवस्था भए नभएको सम्बन्धी अनुगमनको व्यवस्था गर्ने योजना छ । यस्तै, नियमित रुपमा बोर्डले धितोपत्र तथा वस्तु विनिमय वजार सम्वन्धी प्रचलित कानुन बमोजिम धितोपत्र बजार, वस्तु विनिमय बजार, केन्द्रिय निक्षेप सेवा, धितोपत्र व्यापारी, धितोपत्र दलाल, मर्चेन्ट बैंकर, योजना व्यवस्थापक तथा डिपोजिटरी, निक्षेप सदस्य, आस्वा सदस्य, क्रेडिट रेटिङ्ग संस्था, विशिष्टीकृत लगानी कोष व्यवस्थापक, सामुहिक लगानी कोष सुपरीवेक्षक, योग्य संस्थागत लगानीकर्ता लगायत धितोपत्र व्यवसाय गर्न अनुमतिपत्ररदर्ता प्रमाणपत्र प्रदान गर्ने तथा नवीकरण गर्ने योजना बोर्डको छ । धितोपत्र सम्वन्धी प्रचलित कानून बमोजिम धितोपत्र दलाल व्यवसायीहरुको शाखा विस्तार र आधिकारिक प्रतिनिधि नियुक्त गर्न स्वीकृति प्रदान गर्ने योजना समेत बोर्डले बनाएको छ ।   

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्र वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५ यही साउन १ गतेदखि कार्यान्वयन नगर्न भनेको हो । आदेशमा ऐन निर्माण भई जारी भएको हाल करिब २५ वर्ष व्यतित भइसकेको अवस्था रहेको र हालसम्म ऐन कार्यान्वयनका लागि आवश्यक पूर्वशर्तको रुपमा रहेको नियमावली बनाउने काम पनि हुन नसकेको देखिएको उल्लेख छ ।      साथै विना आवश्यक पूर्वतयारी ऐन लागू गर्दा यस अदालतबाट यसअघि परेका मुद्दामा चिन्ता व्यक्त गरिएजस्तै आम जनताको स्वास्थ्य र जनजिविकासँग प्रत्यक्ष सरोकार रहने आयोडिनयुक्त नुनको आपूर्ति र बिक्री वितरण नै प्रभावित हुनसक्ने अवस्था देखिएको आदेशमा उल्लेख छ ।      आदेशमा भनिएको छ, 'तत्काल ऐन लागू नगर्दा कसैलाई अपूरणीय क्षति पुग्नसक्ने अवस्था नदेखिएको र प्रस्तुत विषयवस्तुको प्रकृतिबाट रिट निवेदनको अन्तिम किनारा लाग्दाका बखत नै निरुपण हुन मनासिब हुँदा प्रस्तुत रिट निवेदनमा अन्तिम किनारा लाग्दाका बखत ठहरे बमोजिम हुने गरी हाललाई नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मिति २०८२ साउन १ गतेदेखि आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन, २०५५ प्रारम्भ हुने गरी नेपाल राजपत्रमा प्रकाशित सूचना कार्यन्वयन नगर्नु नगराउनु ।'      आदेशमा आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ को व्यवस्था कार्यान्वयन गर्नका लागि नियमावली जारी नगरेकाले उक्त ऐन कार्यान्वयनमा रोक लगाइएको उल्लेख छ ।      अधिवक्ता शिलत महर्जनले २५ वर्षअघि बनेको ‘आयोडियनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन, २०५५’ लाई जगाइ आम जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको आयोडिनसम्बन्धी नुनलाई निजी क्षेत्रबाट आयात र वितरण गर्ने योजना प्रत्यक्ष देखिएकाले उक्त ऐन लागू हुँदा मानव स्वास्थ्यमा दीर्घकालीनरुपमा गम्भीर असर पर्ने उक्त ऐन बदर गर्न माग गरेका थिए ।  

४ कम्पनीमा सकारात्मक सर्किट, १८ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले बढेर २९ सय ८३ बिन्दुमा पुगेको छ । आज १२३ कम्पनीको मूल्य बढ्दा १२७ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३२८ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ७७ करोड रुपेयाँ बराबरको कारोबार भएको छ ।  साथै, न्यादी गुप्रको ७१ करोड, ग्रीन भ्यान्चरको ६६ करोड, लुम्बिनी विकास बैंकको ५४ करोड र हिमालयन रिइन्स्योरेन्सको ५१ करोड रुपैयाँ बराबरको करोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वीट गंगा हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन, दुई वर्षमा १ सय कामदार पनि पठाउन सकेनन्

काठमाडौं । वैदेशिक रोजगार विभागले कामदार पठाउन असफल रहेका ३२६ म्यानपावर कम्पनीहरूको इजाजतपत्र निलम्बन गरेको छ । विभागका अनुसार ती कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ मा वार्षिक न्यूनतम १ सय कामदार विदेश पठाउन नसकेपछि कारबाहीमा परेका हुन् । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार लगातार दुई वर्षसम्म न्यूनतम १ सय कामदार विदेश पठाउन नसक्ने म्यानपावर कम्पनीहरूको इजाजतपत्र स्वतः रद्द हुने कानुनी प्रावधान छ । यही व्यवस्थाअनुसार विभागले असार मसान्तसम्म इजाजत नवीकरण नगरेका कम्पनीहरूको अनुमति स्वतः निलम्बनमा पारेको हो । यो कानुनी व्यवस्था २०७५ सालमा संशोधनसहित लागू गरिएको थियो । तर, व्यवसायीहरू भने उक्त प्रावधान खारेज गर्न राजनीतिक लबिङ गर्दै आएका  थिए । विभागका अनुसार यस्तो कारबाहीले म्यानपावर क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ। यसले गैरसक्रिय वा केवल इजाजतपत्र ‘होल्ड’ गरेर बसेका कम्पनीहरूलाई छाँटकाँट गर्ने सरकारको संकेतसमेत दिन्छ । सरकारले वैदेशिक रोजगार बजारलाई व्यवस्थित गर्न चाल्ने यस्ता कदमले आगामी दिनमा गुणस्तरीय म्यानपावर कम्पनीको छनोटलाई प्राथमिकता दिने नीति देखिन्छ ।