साढे ६ अर्बमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण हुने
काठमाडौं । नेपाल आयल निगमले ६ अर्ब ५० करोड रुपैयाँ लागतमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सिनामङ्गलस्थित डिपो अन्तरराष्ट्रिय मापदण्ड बाहिर रहेको, विमानस्थलमा सुरक्षा जोखिम बढेको र भण्डारण क्षमता विस्तार गर्न नमिल्ने भएपछि निगमले विमानस्थलको उत्तरपूर्वी गुह्वेश्वरी क्षेत्रमा नयाँ इन्धन डिपो निर्माण गर्ने तयारी अघि बढाएको हो । त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान, पूल्चोक क्याम्पसको कन्सल्टेन्सी सेवाले सो डिपो स्थानान्तरणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आज निगमलाई हस्तान्तरण गरेको छ । सिनामङ्गलस्थित निगमको कार्यालयमा आयोजित कार्यक्रममा इञ्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन प्राडा सुरज लामिछाने र सहप्राध्यापक नारयण गौतमले सिनामङ्गलस्थित डिपोका प्रमख प्रदीकुमार यादव र लेखा प्रमुख प्रचण्ड पाठकलाई हस्तान्तरण गरे । उक्त प्रतिवेदनमा कुल छ अर्ब ५४ करोड २९ लाख रुपैयाँको लागतमा डिपो स्थान्तरण गरिने उल्लेख छ । अब बन्ने डिपोमा पेट्रोलियमसम्बन्धी अन्तरराष्ट्रिय मापदण्डको पूरा पालना गरिने छ । नयाँ डिपो अमेरिकी पेट्रोलियम इन्स्टिच्युटले तोकेको सुरक्षा मापदण्डको हुने निगमले जनाएको छ । डिपो स्थानान्तरणसम्बन्धी प्रतिवेदन तयार गर्न निमगले गत मङ्सिर ५ गते त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिएको थियो । सरकारले गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकबाट सिनामङ्गलस्थित हवाई इन्धन डिपो गुह्वेश्वरीमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । नयाँ बन्ने डिपोमा इन्धन भण्डारणका लागि तीन हजार किलोलिटरका पाँच वटा भर्टिकल टयाङ्क निर्माण हुनेछन् । भविश्यमा भण्डारण टयाङ्क निर्माणका लागि थप जग्गा पनि रहनेछ । प्रमुख यादवले आगामी ५० वर्षका लागि हवाई इन्धनको माग धान्न सक्नेगरी नयाँ डिपो निर्माण गरिने जानकारी दिए । डिपो अत्याधुनिक तथा पूर्णरूपमा स्वचालित हुनेछ । हवाई इन्धन ‘लोडिङ’ र ‘अनलोडिङ’का लागि क्रमशः छ र आठ वटा वे, अन्तरराष्ट्रिय उडानका जहाजमा इन्धन भर्न सात वटा ‘हाइड्रेन्ट रिफ्युलर’ रहने निमगले जनाएको छ । डिपोमा अग्नि सुरक्षाका लागि दुई हजार १०० किलोलिटरका दुई वटा पानी टयाङ्क तथा पूर्णस्वचालित अग्नि नियन्त्रक प्रणाली जडान हुने प्रमुख यादवले जानकारी दिए । नेपाल नागरिक उडड्यन प्राधिकरणले जग्गा व्यवस्थापनको काम सम्पन्न गरिदिएमा आगामी भदौमा अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी आगामी मङ्सिरदेखि निर्माण प्रारम्भ गर्ने योजना रहेको उनले बताए । जग्गा व्यवस्थापनको काम अत्यन्त ढिलो गतिमा भइरहेको जानकारी दिँदै उनले प्राधिकरणबाट सहयोगको अपेक्षा गरिएको बताए । निर्माण सुरु भएको दुई वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विसं २०८४ मङ्सिरदेखि नयाँ डिपोबाट इन्धन भर्ने योजना रहेको प्रमुख यादवले सुनाए । इञ्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन लामिछानेले आफूहरू जस्तोसुकै परियोजनाको पनि डिजाइन गर्न सक्षम रहेको बताए । उनले निगमसँगको सहकार्यबाट संस्थानको पनि क्षमता वृद्धि हुनुका साथै निर्धारित समयमा डिपिआर हस्तान्तर गरिएको स्पष्ट पारे ।
थाइल्याण्ड-कम्बोडिया सीमा क्षेत्रमा भएको सैन्य झडपमा कम्तीमा १२ जनाको मृत्यु
काठमाडौं । थाइल्याण्ड-कम्बोडिया सीमा क्षेत्रमा जारी सैन्य झडपमा हालसम्म कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । थाइल्याण्डका स्वास्थ्यमन्त्रीका अनुसार झडपमा एक जना सैनिक र ११ जना सर्वसाधारणको ज्यान गएको हो । उनका अनुसार मारिनेहरू ती ३५ जनामध्येका हुन्, जो आक्रमणबाट प्रभावित भएका थिए । थाई अधिकारीहरूको रिपोर्टअनुसार सुरिन प्रान्तमा दुई जना सर्वसाधारणको मृत्यु भएको छ, जसमा एक आठ वर्षीय बालक पनि छन् । उता उबोन रत्चथानी प्रान्तमा एक जनाको ज्यान गएको छ भने श्रीसाकेत प्रान्तमा आठ जना सर्वसाधारणले ज्यान गुमाएका छन् ।
विश्व सम्पदास्थल स्वयम्भूमा एक महिने मेलाको तयारी पूरा
काठमाडौं । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरेको छ । श्रावण शुक्ल प्रतिपदा (भोलि)देखि भाद्र शुक्ल प्रतिपदासम्म लाग्ने एक महिने मेलाका अवसरमा महासमितिको अगुवाइमा स्थानीय सङ्घसंस्थाको समन्वयमा मन्दिर तथा आसपास क्षेत्रका जङ्गलमा सरसफाइ गरिएको हो । सरसफाइका क्रममा सङ्कलन भएको फोहरमध्ये कागज, कपडा, प्लास्टिक र सिसा पुनःचक्रणका लागि पठाइएको महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले जानकारी दिए । कुहिने फोहर मात्र ल्यान्डफिल साइट पठाइने उनले बताए । उनका अनुसार प्रत्येक वर्ष लाग्ने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेलालाई व्यवस्थित बनाउन सो क्षेत्रमा सरसफाइका साथै रङरोगन, सडकबत्ती जडान गरिएको छ । नेवार समुदायका बौद्ध धर्मावलम्बीले एक महिना मेलाको अवधिमा स्वयम्भू चैत्यको दर्शन गर्न तथा धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने प्रचलन छ । नेपाल संवतको नौ महिनामा पर्ने गुँला पर्वमा विभिन्न प्रकारका बाजा बजाउँदै स्वयम्भू चैत्यको पूजाआजा गर्नाले दिवङ्गत पितृको बैकुण्ठबास हुने विश्वास रहेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए । काठमाडौं उपत्यका तथा आसपास क्षेत्रबाट धर्मावलम्बीले मेलामा सहभागिता जनाउने गरेका छन् ।
करिब ५० जना सवार विमान रुसमा बेपत्ता
काठमाडौं । रुसमा बिहीबार करिब ५० जना यात्रु बोकेको एउटा विमानसँग एयर ट्राफिक कन्ट्रोलको सम्पर्क टुटेको छ । समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार यो जानकारी उक्त क्षेत्रका गभर्नरले दिएका हुन् । उनले विमानको खोजी कार्य जारी रहेको पनि बताएका छन् । एजेन्सीका अनुसार स्थानीय आपतकालीन मन्त्रालयले जनाएको छ कि उक्त विमान चीनको सीमामा रहेको अमूर क्षेत्रको टिन्डा शहर नजिक पुग्दा राडारबाट हराएको हो। क्षेत्रीय गभर्नर भासिली ओरलोभले प्रारम्भिक तथ्यांकका आधारमा विमानमा पाँचजना बालबालिकासहित ४३ जना यात्रु र चालक दलका ६ जना सदस्य सवार रहेको बताएका छन् । उनले टेलीग्राममा लेखेका छन्, ‘विमानको खोजीका लागि आवश्यक सबै बल र स्रोत परिचालन गरिएको छ ।’
भारतको चर्चित यस बैंक ऋण ठगी मुद्दामा अम्बानीका फर्ममा ईडीको छापा
काठमाडौं । भारतको चर्चित यस बैंक ऋण ठगी मुद्दासँग सम्बन्धित मनी लन्ड्रिङ अनुसन्धानको सम्बन्धमा प्रवर्तन निर्देशनालय (ईडी)ले बुधबार रिलायन्स अनिल अम्बानी ग्रुप एण्ड कम्पनीजसँग सम्बन्धित ३५ भन्दा बढी स्थानका ५० कम्पनीहरूमा छापा मारेको छ । ईडीका अनुसार प्रारम्भिक अनुसन्धानले २०१७ र २०१९ को बीचमा यस बैंकले स्वीकृत गरेको लगभग ३ हजार करोड रुपैयाँ बराबरको ऋण कथित रूपमा शेल फर्महरू र अन्य समूह संस्थाहरूमा डाइभर्ट गरिएको देखाएको फाइनान्सियल टाइमले लेखेको छ । अनुसन्धानकर्ताहरूले यस बैंकका प्रमोटरसहित अधिकारीहरूको सम्भावित घुसखोरीको संकेत गर्ने प्रमाणहरू पनि फेला पारेका बताएको फाइनान्सियल टाइमले आफ्नो अनलाइन संस्करणमा लेखेको छ। एजेन्सीले यस बैंकको ऋण स्वीकृति प्रक्रियामा गम्भीर त्रुटिहरू औंल्याएको छ । पुराना क्रेडिट कागजातहरूको प्रयोग गरेर कमजोर वित्तीय अवस्था भएका फर्महरूलाई ऋण दिइएको र यसले ऋणका सर्तहरूको उल्लङ्घन गरेको ईडीलाई उद्धृत गर्दै फाइनान्सियल टाइमले लेखेको छ ।
२ लाख ४४ हजार विदेशी पर्यटकले गरे भक्तपुरको अवलोकन, २९ करोड रुपैयाँ बढी पर्यटन शुल्क सङ्कलन
भक्तपुर । गत आर्थिक वर्ष २०८१/८२ मा भक्तपुर नगरभित्र दुई लाख ४४ हजार ८६८ विदेशी पर्यटकको आगमन भएको छ । त्यसमध्ये एक लाख १५ हजार ४८७ जना सार्क राष्ट्र र चीनका पर्यटक रहेका छन् भने एक लाख २९ हजार ३८१ जना तेस्रो मुलुकका पर्यटक भित्रिएको भक्तपुर नगरपालिकाको पर्यटक शाखाले जनाएको छ । भक्तपुरमा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ४५ हजार ५९३ विदेशी पर्यटक भित्रिएका थिए । त्यसमा गैरसार्क मुलुकका एक लाख १६ हजार ४०१ र चीनसहितको सार्क राष्ट्रका एक लाख २९ हजार १९२ जना थिए । आव २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा करिब एक हजार जना पर्यटक कम भित्रिए पनि पर्यटन शुल्क भने वृद्धि भएको नगरपालिकाले जनाएको छ । आव २०८१/८२ मा पर्यटक शुल्कबाट नपाले २९ करोड ११ लाख रुपैयाँभन्दा बढी सङ्कलन गरेको नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले बताए । त्यसमा गैरसार्क पर्यटकबाट २३ करोड ३३ लाख ७८ हजार ७६० रुपैयाँ र चीनसहितका सार्क राष्ट्रका पर्यटकबाट रु पाँच करोड ७७ लाख ४३ हजार पर्यटन शुल्क उठेको छ । आव २०८०/८१ मा पर्यटक शुल्कबाट नगरपालिकाले रु २७ करोड ४५ लाख सङ्कलन गरेको थियो । त्यसमा गैरसार्क पर्यटकबाट रु २० करोड ९९ लाख ७५ हजार ९५० र सार्क तथा चीनसहितका राष्ट्रका पर्यटकबाट रु छ करोड ४५ लाख ९६ हजार पर्यटन शुल्क उठेको थियो । आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा रु एक करोड ८३ लाख १२ हजार ४६० बढी पर्यटक प्रवेश शुल्कबाट नगरपालिकाको आय वृद्धि भएको हो । नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्कअनुसार आव २०८१/८२ मा सबैभन्दा बढी भारतीय पर्यटकले नगरको अवलोकन गरेका छन । गत वर्ष भारतबाट मात्रै ७९ हजार १३२ जना पर्यटक भक्तपुर आएको केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार भक्तपुर घुम्नेमा दोस्रोमा चिनियाँ पर्यटक परेका छन् । गत वर्ष ३६ हजार १३५ चिनियाँ पर्यटकले भक्तपुर अवलोकन गरेका थिए । यसैगरी अमेरिकाका १६ हजार ५५८, जर्मनीका ११ हजार ७८८, फ्रान्सका ११ हजार ७५४, इटालीका आठ हजार २२८, स्पेनका सात हजार ९८, जापानका छ हजार ७३३, इङ्गल्याण्डका छ हजार ५०२, अस्ट्रेलियाका चार हजार ९६८, ताइवानका चार हजार ६६०, हल्यान्डका चार हजार १६५ नागरिकले भक्तपुर अवलोकन गरेको थियो । यस्तै पोल्यान्डका तीन हजार ९३, रसियाका दुई हजार ८८२, थाइल्यान्डका दुई हजार ५९५, दक्षिण कोरियाका दुई हजार ५४३, इजरायलका दुई हजार ५१९, क्यानडाका दुई हजार ३६०, मलेसियाका दुई हजार ९९ र अन्य मुलुकका २९ हजार ५६ जनाले भक्तपुर नगरको अवलोकन गरेका छन् । नगरपालिकाले डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न चालु आर्थिक वर्ष २०८२/८३ देखि गैरसार्क पर्यटकसँग प्रति पर्यटक रु दुई हजार र सार्क तथा चिनियाँ पर्यटकसँग ५०० रुपैयाँ शुल्क निर्धारण गरेको छ । नगरपालिकाले हाल खौमा, सानो व्यासी, ठुलो व्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ काउन्टरबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकसँग पर्यटक शुल्क उठाउँदै आइरहेको सुवालले जानकारी दिए । नगरपालिकाले पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न पर्यटक सूचना केन्द्र, पर्यटक बस पार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्रमार्फत छ भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रूपमा अशक्त पर्यटकका लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामका लागि बस्ने सुविधाको व्यवस्था गर्दै आएको छ । भक्तपुर नपाअन्तर्गत स्थानीय पथप्रदर्शक परिचालन समिति बनाइ स्थानीय पथप्रदर्शकलाई पुनर्ताजगी तालिमका साथै आवश्यक व्यवस्थापन पनि गर्दै आइरहेको छ । नगरपालिकाले पर्यटकको आकर्षण वृद्धि गर्न नगरभित्रका सम्पदाको पुनःनिर्माणमा जोड दिँदैं आइरहेको छ । त्यसअनुसार २०७२ सालपछि हालसम्म ६९ पाटी, ४७ मन्दिर, १५ द्योछेँ, २२ पोखरी, नौ सत्तल, नौ इनार, पाँच मठ, ढुङ्गेधारा नौ र अन्य विविध १५ समेत गरी २०४ वटा सम्पदा पुनःनिर्माण सम्पन्न गरेको तथा हाल १४ वटा सम्पदा निर्माणाधीन अवस्थामा रहेको सूचना अधिकारी सुवालले जानकारी दिए । भक्तपुरको मौलिकता बचाइराख्न परम्परागत घर निर्माण गर्ने घरधनीलाई इँटा, काठ, झिङ्गटीका लागि दिँदै आएको अनुदानलाई निरन्तरता दिइएको छ । कला संस्कृतिको महत्त्वबारे नयाँ पुस्तालाई प्रशिक्षित गर्न र व्यवहारिक ज्ञान दिएर सीप सिकाउन विद्यालयमा सांस्कृतिक गुरुको व्यवस्था गरी संस्कृतिलाई जीवन्तता दिने नीति नगरपालिकाले लिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी आवश्यकताअनुसार नगरका विभिन्न स्थानसम्म सहजरूपमा पुग्न सक्ने गरी सानो आकारको विद्युतीय सवारी साधनको व्यवस्था गर्ने योजना नगरपालिकाको रहेको सुवालले बताए।
महाकाली सिचाँइ तेस्रो चरण : नहर बन्यो पानी आएन
दोधारा चाँदनी । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौ भइसक्यो । फुलेलीदेखि कैलालीको गोदावरीसम्म थप २० किलोमिटर निर्माणाधीन अवस्थामा छ । मूल नहर निर्माण भएको २८ किलोमिटरमा २२ वटा शाखा नहरमध्ये आधा निर्माण भइसकेका छन् । उक्त क्षेत्रमा तीन हजार हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा उपलब्ध गराउने संरचना तयार भए पनि भारतले टनकपुरबाट नहरमा पानी नछोड्दा नहर यहाँका किसानले सिचाँइ सुविधा पाउन सकेका छैनन् । टनकपुर ब्यारेजबाट भारतीय पक्षले पानी नछाड्दा किसानको खेतमा पानी पुग्न नसकेको हो । उक्त नहर निर्माण भएर परीक्षणसमेत भइसकेको अवस्थामा भारतीय पक्षले आनाकानी गर्दा पानी सञ्चालन हुन सकेको छैन । चार वर्षअघि उक्त नहर परीक्षणको क्रममा टनकपुरबाट आएको पानीले धान दिवससमेत मनाइएको थियो । त्यसपछि भने नहरमा पानी आउन सकेको छैन । 'नहरमा पानी आयो भने किसानको तीन हजार हेक्टर खेतमा पुर्याउन सकिन्छ', महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक डा योगेन्द्र मिश्रले भने, 'तीन हजार हेक्टरमा संरचना तयार छन्, महाकालीबाट पानी आएको अवस्थामा थप पाँच हजार हेक्टरमा सिँचाइ सुविधा पुग्छ ।' उनले टनकपुरबाट पानी छाड्नका लागि थुप्रै प्रयास भए पनि नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी) ले पानी छाड्न नमानेको बताए । एनएचपीसीले माथिल्लो तहबाटै उद्घाटन गरेर मात्रै पानी छाड्न सकिने बताउँदै आएको छ । 'दिल्लीको आदेश आउनेबित्तिकै पानी छाड्छौ भन्ने जवाफ एनएचपीसीका कर्मचारीले दिने गरेका छन', उनले भने, 'यस विषयमा हामीले विभागमा समेत जानकारी गराइसकेको छौं ।' दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उक्त आयोजनाको उद्घाटन गरेपछि मात्रै नहरमा पानी आउने अवस्था बनेको छ । आगामी भदौमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको छ । उक्त भ्रमणका क्रममा यो विषयले प्राथमिकता पाउन सके नेपालले महाकाली सन्धिअनुसारको पानी महाकाली नदीबाट पाउने छ । नहरमा पानी सञ्चालन हुन सके निर्माण कम्पनीलाई पनि कामको गति बढाउन दबाब पुग्ने आयोजना निर्देशक मिश्र बताउँछन् । 'अहिले जग्गा अधिग्रहण गर्दा पनि नहरमा पानी आएको छैन भन्ने जवाफ आउँछ', उनले भने, 'नहरमा पानी सञ्चालन हुन सकेमा खेतमा सिँचाइ हुने आसमा यी समस्याको समाधान पनि हुने थियो ।' उनले आगामी तीन वर्षभित्रमा ब्रह्मदेवदेखि कैलालीको गोदावरीसम्मको मुल नहर निमार्ण सम्पन्न गरि पाँच हजार हेक्टरमा सिचाँइ पुगाउने गरि काम भइरहेको बताए । 'यहाँ जग्गाको मुख्य समस्या छ, यहाँका नागरिकले मुआब्जा रकम बढी दाबी गर्ने गरेका छन्, नहर बनाउनुपर्ने स्थानमा ऐलानी जग्गा छ, मुक्त कमैयाको जग्गा छ', उनले भने, 'जग्गा र वनको समस्याले आयोजनाको काममा ढिलाइ हुँदै आएको छ ।' महाकाली सन्धिमा सम्झौता भएको छ महिनाभित्र नहर निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि सम्झौताको ३० वर्षसम्म नेपालले पाउनुपर्ने पानी नपाएको महाकाली सन्धिका जानकार विष्णु अवस्थीले बताए । 'सन्धि सम्झौता भएको तीन दशकसम्म पनि नेपालले पानी पाउन सकेको छैन, यसमा सरकार गम्भिर भएर लाग्नुपर्छ', उनले भने, 'यस पटक प्रधामन्त्रीको भ्रमणमा यो विषयले प्राथमिकता पाउनुपर्छ नेपालले सन्धि सम्झौताअनुसारको पानी पाउनुपर्छ ।' उनले नेपालतर्फ नहरका संरचना तयार भए पनि सरकारको तर्फबाट पहल नपुग्दा यहाँका किसानको खेतमा पानी पुग्न सकेको छैन । उनले सन्धि सम्झौताअनुसार टनकपुर ब्यारेजबाट हिउँदमा ३०० क्यूसेक र बर्षातमा एक हजार क्यूसेक पानी पाउनुपर्ने बताए । आर्थिक वर्ष २०६३÷६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुवातदेखि नै प्रयाप्त बजेट नहुँदा निमार्ण कार्यले गति लिन सकेनको थिएन । सरकारले आर्थिक वर्ष २०७६÷७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निमार्ण कार्यले गति लिएको थियो । लक्ष्यअनुसार मुल नहरसहित १५१ किलोमिटर नहर निमार्ण भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । आयोजनाका अनुसार हालसम्म नौ अर्ब रुपैयाँ बजेट खर्च भइसकेको छ । चालु आर्थिक वर्षमा पनि आयोजनाका लागि करिब दुई अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । कञ्चनपुरमा हाल महाकाली सिचाँइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा उपलब्ध छ । विसं २०४२ मा सुरु भई २०४८ मा सम्पन्न भएको महाकाली सिचाँइ पहिलो चरणबाट चार हजार ८०० हेक्टर र २०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट छ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिचाँइबाट यहाँको भीमदत्त र बेदकोट नगरपालिका तथा बेलडाँडी गाउँपालिकासम्म सिचाँइ सुविधा उपलब्ध छ । महाकाली सिचाँइ तेस्रो चरणको काम सम्पन्न भए कैलाली र कञ्चनपुरको ३५ हजार हेक्टरमा सिचाँइ सुविधा पुग्नेछ । रासस
नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैन : सचिव भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु नहुने बताएका छन् । बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरूसँग छलफल भएको हो । समितिको छलफलका क्रममा उनले नेपालमा ५५ वटा विमानस्थलहरु रहेको र त्यसमध्ये सञ्चालमा ३२ वटा मात्रै रहेको बताए । सरकारले नीति तथा कार्यक्रममा अहिले पनि विमानस्थ्ल थप्ने कुरा ल्याउनु उचित नरहेको बताए । अब पनि विमानस्थल थप्ने कुरा फेसन भएकाले राजनीतिक दबाबमा विमानस्थल थप्न नहुने र भएकालाई व्यवस्थित बनाइ विस्तार गर्न जरुरी रहेको बताए । निजगढ अन्तर्राष्ट्रिय एयरपोर्टमात्रै अबको प्राथमिकतामा पर्नुपर्ने जानकारी दिए । उनले भने, ‘हाम्रो नेपालको हवाई सेवाको इतिहास हेर्दा १९४९ मा पहिलो पटक हवाई सेवा शुरु गरेका थियौँ । त्यस यता अहिलेसम्म १०८ वटा दुर्घटना भएका छन् । यसबाट ९५९ जना मान्छेको ज्यान गएको छ । यति छोटो अवधिमा यति धेरै दुर्घटना भएका छन् । यि ऐनहरु किन बनाइरहेका छौँ भन्दा यि दुर्घटनाहरुलाई कसरी मिनिमाइज गर्ने, मानवीय त्रुटी, जहाजका प्राविधिक समस्या, व्यवस्थापकीय समस्या होलान् ।’ सचिव भट्टराईकाअनुसार १९४९ मा पहिलो पटक नेपालमा हवाई सेवा शुरु भएको थियो । त्यसपछि हालसम्म् १०८ वटा दुर्घटना भएका छन् । जसबाट ९५९ जनाको ज्यान गएको छ । अब दुर्घटना हुन नदिने गरी ऐन बनाउनुपर्छ ।