विकासन्युज

स्वाधिन अर्थतन्त्रलाई फूलको स्वागत, आत्मनिर्भर बन्ने बाटोमा पूष्प व्यवसाय

काठमाडौं, ७ कात्तिक । बढ्दो व्यापार घाटाले थाला पर्दै गरेको अर्थतन्त्रलाई पूष्प व्यवसायले केहि राहत दिएको छ । फूलमा आत्मनिर्भर बनाउँदै पूष्प व्यवसायीले स्वाधिन अर्थतन्त्र निर्माणको जगलाई बलियो बनाउँदै लगेका हुन् । यसको प्रमाण हो फुल तथा फूलजन्य उत्पानको आयातमा भैरहेको कटौती । नेपालले आर्थिक गत आर्थिक वर्ष २०७२/७३ मा जम्मा ६ करोड ४ लाख मूल्य बराबरको फूल तथा फूलजन्य उत्पादन मात्रै आयात गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा करिब २ करोडले कम हो । आर्थिक वर्ष २०७१/७२ मा ८ करोड २१ लाख मूल्य बराबरको फूल तथा फूलजन्य उत्पादन आयात भएको थियो । यसरी आयात गरिएका उत्पादनमध्ये पनि थोरै मात्र तयारी फूल रहेका छन् । बाँकी फूलका बिरुवा रहेका छन् । नेपालमा गत आर्थिक बर्षमा एक अर्ब ३४ करोडको फूलको कारोबार भएको फ्लोरिकल्चर एसोसियन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । अध्यक्ष कुमार कसजु श्रेष्ठले भने ‘निरासा जनक वैदेशिक व्यापारमा पुष्प व्यवसायले उत्साह थपेको छ, हामी आत्मनिर्भर उन्मुख छौं ।’ उनले बर्षेनी ५ प्रतिशतका दरले फूलको आयात घटाउने अभियान सञ्चालन भैरहेको पनि बताए । नेपालमा फूलको बजार भने बर्षेनी १२ देखि १५ प्रतिशतले बढिरहेको छ । अध्यक्ष श्रेष्ठका अनुसार गोदावरी र मखमली फुलमा नेपाल आत्मनिर्भर बनिसकेको छ । तिहारका समयमा सयपत्री फुलका २ लाख वटा माला मात्रै आयात गर्नुपर्ने अवस्था छ । नेपालको फूल बजारमा तिहारको हिस्सा १५ प्रतिशत रहेको छ । तिहारमा १० लाख माला खपत हुने उनले जानकारी दिए । तर नेपालमा दैनिक १५ हजार माला खपत भैरहेका छन् । नेपालको पुष्प व्यवसायमा ७ सय पुष्प व्यवसायीले ४ अर्ब भन्दा बढि लगानी गरेका छन् ।

प्रोफेसनल दियालोलाई अक्वायर गर्ने लक्ष्मी बैंकको निर्णय, शतप्रतिशत हकप्रद सेयर पनि

काठमाडौं, ७ कात्तिक । लक्ष्मी बैंक लिमिटेडको बिशेष साधारण सभाले प्रोफेसनल दियालो विकास बैंक लिमिटेडलाई अक्वायर गर्ने निर्णय पारित गरेको छ ।साधारण सभाले स्वाप रेसिया १ः०५ कायम गर्दै प्रोफेसनल दियालो विकास बैंक अक्वायर गर्ने निर्णय गरेको हो । साथै बिशेष साधारण सभाले प्रोफेसनललाई अक्वायर गरेपछि कायम हुने पूँजीको शतप्रतिशत हकप्रद सेयर समेत जारी गर्ने निर्णय गरेको छ । लक्ष्मी बैंकको चुक्ता पूँजी तीन अर्ब रुपैंयाँ रहेको छ । लक्ष्मीले गत आवमा ६७ करोड नाफा कमाएको थियो । उता, प्रोफेसनल दियालोको चुक्ता पूँजी २४ करोड छ र यसले गत आवमा ३ करोड नाफा कमाएको थियो ।

बुमबाट पठाएको रेमिट्यान्स सिद्धार्थ डेभलपमेन्ट बैंकले भुक्तानी दिने

काठमाडौं, ७ कात्तिक । बुम रेमिट्यान्स प्रालि र सिद्धार्थ डेभलपमेन्ट बंैक लिमिटेडबिच रेभिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम रकम सिद्धार्थ डेभलपमेन्ट बंैकका शाखाहरु मार्फत भुक्तानी दिईनेछ । साथै बुम रेमिट सफ्टवेयर मार्फत आन्तरिक रुपमा समेत विप्रेषणको भुक्तानी गर्ने कार्य गर्नका लागि सम्झौता भएको छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ३१५० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । सो सम्बन्धी सम्झौता पत्रमा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र सिद्धार्थ डेभलपमेन्ट बंैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले हस्ताक्षर गरेका हुन् । हाल बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, मालदिभ्सस, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि एक अर्ब कम

काठमाडौं, ७ कात्तिक । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार बजार १२ दशमलब शुन्य ८ अंकले घटेर १७८२ दशमलब ३९ अंकमा आइपुगेको हो । सो दिन होटल विकास बैंक समुह बाहेक सबै समुहका परिसूचकमा ओरालो लागेका छन् । बैंक समुह १७ दशमलब ९९ अंक, उर्जा २८ दशमलब ७६, फाइनान्स ४ दशमलब शुन्य ८, इन्स्योरेन्स १२ दशमलब १५ र अन्य समुह ९ दशमलब २५ अंकले घट्दा होटल समुह भने १५ दशमलब ८४ अंकले बढेको छ । विकास बैंक समुह पनि ८ दशमलब ७३ अंकले बढेको आइतबार १२६ कम्पनीको १० लाख कित्ता सेयर ९६ करोड ४५ लाख रुपैंयाँमा किनबेच भएको हो ।

बैंकले निक्षेपकर्तालाई ८ प्रतिशत व्याज दिन थाले, निक्षेपको व्याजदर मुद्रास्फिति दर नजिक

काठमाडौं, ७ कात्तिक । बैंकका बचतकर्ताले करिव ६ वर्षपछि निक्षेपको व्याज दर मुद्रास्फिति दरको हाराहारी पाउन थालेका छन् । व्यक्तिगत बचतकर्तालाई मुद्दती खातामा बैंकले ७.५ प्रतिशत व्याज दिन थालेका छन् । सिद्धार्थ बैंकले ६ महिने अवधिको मुद्दतीमा ७.५ प्रतिशत व्याज दिने योजनासहित निक्षेककर्तालाई बचत गर्न आह्वान गरेको छ । अन्य धेरै बैंकहरुले कात्तिकको पहिलो साता व्याजदर वृद्धि गरेको सूचना पत्रपत्रिकामा प्रकाशित गरेको छन् । अधिकांशले मुद्दति बचतमा ७ प्रतिशत व्याजदर तोकेका छन् । बैंकहरुले प्राथमिकताका ग्राहकलाई सार्वजनिक गरेको सूचनामा भन्दा १ प्रतिशतसम्म थप व्याज दिन सक्ने राष्ट्र बैंकको नियम छ । सामान्यतय वाणिज्य बैंकले भन्दा विकास बैंकहरुले निक्षेपकर्तालाई बढी व्याज दिन्छन् । त्यस्तै विकास बैंकले भन्दा वित्त कम्पनीले बढी र वित्त कम्पनीले भन्दा बचत तथा ऋण सहकारी संस्थाले बढी व्याज दिन्छ । विकास बैंक संघका अध्यक्ष कृष्णराज लामिछानेको अनुसार अन्तर बैंक व्याजदर ४ प्रतिशत नाघेको छ । जबकी एक वर्ष पहिले अन्तरबैंक व्याजदर १ प्रतिशतभन्दा कम थियो । बैंक तथा वित्तीय संस्थाको सेयर पुँजी वृद्धिसँगै लगानी वृद्धिमा परेको चापले बजारमा विगतमा रहेको अधिक तरलता हट्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार अधिक तरलताको समस्या समाधान भएको छ । निक्षेपकर्ताले उचित व्याज दर पाउने थालेका छन् । वित्तीय क्षेत्रमा लगानी योग्य पुँजी अधिक हुँदा निक्षेपकर्ता मर्कामा परेका थिए । बैंकले कम व्याज दिँदा वित्तीय क्षेत्रमा जम्मा हुनुपर्छ बचत अनौपचारिक क्षेत्रमा गएको थियो । ‘बैंकले बढी व्याज अपर गरेपछि निक्षेप संकलन बढ्छ, बैंकमा लगानी योग्य पुँजी जम्मा हुन्छ । औपचारिक क्षेत्रमा लगानी बढ्छ । त्यसले समग्र आर्थिक वृद्धिमा सहयोग पुग्छ’ थापाले विकासन्युजसँग भने । बैंक तथा वित्तीय क्षेत्रमा २०६६/६७ सालमा जस्तै लिक्विडिटि क्रन्च (लगानी योग्य पुँजीको हाहाकार) हुने हो कि भन्ने आशंका देखिएको छ । तर त्यस्तो अवस्था नआउने थापा बताउँदछन् । उनका अनुसार बैंक तथा वित्तीय संस्थाले राख्र्ने पर्ने अनिवार्य रकम बाहेक अझै थप ३५ अर्ब रुपैयाँ लगानी योग्य अवस्थामा छ । बैंकहरुले निक्षेपको व्याज बढाएपछि निक्षेप वृद्धि हुन्छ । यतिबेला व्यक्तिगत निक्षेपकर्ताले भन्दा संस्थागत निक्षेपकर्ताले बढी व्याज पाउन थालेका छन् । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलका अनुसार कोषले वाणिज्य बैंकमा निक्षेप राख्दा कम्तिमा ८ प्रशित व्याज पाउन थालेको छ । ‘८ देखि ८ दशमलव २५ प्रतिशतसम्म व्याज चलेको छ’ विकासन्युजसँग कुरा गर्दै पोखरेलले भने । राष्ट बैंकका अनुसार चालु आर्थिकको प्रथम दुई महिनामा कर्जा लगानी ३ प्रतिशतले विस्तार भएको छ भने निक्षेप करिव १ प्रतिशतले विस्तार भएको छ । यो क्रम अझै केही महिना रहने हो भने बचतकर्ताले मुद्रस्फिति दर भन्दा बढी व्याज दर पाउनेछन् । राष्ट्र बैंकका अनुसार भदौंमा उपभोक्ता मुद्रास्फिति दर ७ दशमलव ९ प्रतिशतमा झरेको छ । ५ वर्षअघि वार्षिक मुद्रास्फिति दर १४ प्रतिशतसम्म पुगेकोमा क्रमशः घट्दै गएको छ । यद्यमी गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १ प्रतिशत भन्दा कम रहदा मुद्रास्फिति करिव ९ प्रतिशत रहेको छ । सामान्यतय आर्थिक वृद्धिदर भन्दा मुद्रस्फिति दर कम हुनुपर्छ । भारतमा मै पनि पछिल्लो समय आर्थिक वृद्धि ७ प्रतिशतको हाराहारीमा रहदा उपभोक्त मुद्रास्फिति ४ प्रतिशतको हाराहारीमा छ ।

सिन्धु विकास बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौं, ७ कात्तिक । सिन्धु विकास बैंकले लगानी कर्तालाई १६ दशमलब ८ प्रतिशत लाभांश दिने भएको छ । कात्तिक ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लगानी कर्तालाई १६ दशमलब ८ प्रतिशत बोनस सेयर र शुन्य दशलब ८८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि बैंकका लगानी कर्ताले सो मात्रामा लाभांश प्राप्त गर्नेछन् । १२ करोड चुक्ता पुँजी भएको सिन्धु विकास बैंकले गत आर्थिक बर्षमा २ करोड ७२ लाख नाफा कमाएको थियो ।

आईएमई हात हुँदैन खाली योजनाको विजेता शेर्पा र श्रेष्ठ

काठमाडौं, ७ कात्तिक । आईएमई लिमिटेडको हात हुँदैन खानी योजनाको तेश्रो र चौथो हप्ताका विजेता घोषणा गरिएको छ । दशैं तथा तिहारका अवसरमा कम्पनीले अघि सारेको प्रवद्र्धनात्मक योजनाको तेश्रो हप्ताको विजेता मलेसियाबाट पैसा पठाउने आङ्ग नर्बु शेर्पा र डेनमार्कबाट पैसा पठाउने सरोज श्रेष्ठ चौथो हप्ताका विजेता बन्न सफल भएका हुन् । शेर्पाले मलेसियाबाट नेपाली रुपैयाँ २०, ६०९ र श्रेष्ठले २,२६८ रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । बिजेता दुबैले युएम पावर म्याक्स स्कुटी प्राप्त गर्नेछन् । आइमएमइले असोज १ गतेदेखि असोज ३० गतेसम्म “आईएमई हात हुँदैन खाली” योजना सञ्चालन गरेको थियो । नेपालमा १४७ आईएमई सेन्टर सहित ५२०० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राहीलाई यसमा समावेश गरिएको थियो । आईएमईले उपभोक्तालाई टि सर्ट तथा दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराएको थियो ।

साइन रेसुङगा र मुक्तिनाथले पाए बोनस सेयरको स्विकृति, २१ प्रतिशत लाभांश दिँदै भार्गव

काठमाडौं, ७ कात्तिक । साइन रेसुङगा डेभलपमेन्ट बैंक र मुक्तिनाथ विकास बैंकलाई बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकले स्विकृती दिएको छ । राष्ट्र बैंकले आइतबार दुबै बैंकको बोर्ड बैठकले प्रस्ताव गरे बमोजिमको बोनस सेयर वितरण गर्न अनुमति दिएको हो । साइन रेसुङगा बैंकको सञ्चालक समिति बैठकले २७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो भने मुक्तिनाथ विकास बैंकले ३४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । ८६ करोड ८४ लाख चुक्ता पुँजी रहेको साइन रेसुङगा डेभलपमेन्ट बैंकले आर्थिक बर्ष २०७२/७३ मा २७ करोड नाफा कमाएको थियो । ८३ करोड ८४ लाख चुक्ता पुँजी भएको मुक्तिनाथ विकास बैंकले गत आवमा ३५ करोड ८८ लाख रुपैंयाँ नाफा कमाएको थियो । यसैबिच भार्गव विकास बैंकले २१ प्रतिशत लाभांश दिने भएको छ । कात्तिक ६ गते सम्पन्न बैंक सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र एक दशमलब शुन्य ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । १२ करोड चुक्ता पुँजी रहेको बैंकले गत आवमा २ करोड ५८ लाख रुपैंयाँ नाफा कमाएको थियो ।