विकासन्युज

कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आज बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको हो ।  विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले थप सचेतना अपनाउन आग्रह गरेको छ ।  यसअघि विभागले यस्तै सूचनामार्फत लमजुङको भुजुङ वर्षा मापन केन्द्र र वरपरका क्षेत्रमा पनि सावधानी अपनाउन आग्रह गरेको थियो ।   यस्तै, विभागले आज बिहान ५ः३० बजे अर्को सूचना जारी गर्दै इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जनाएको छ । विभागले सो आसपास वर्षाको मात्रामा क्रमशः वृद्धि भइरहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ । 

आज देशभर बदली हुने, कोशी, मधेस, बागमती, गण्डकी र कर्णालीमा भारी वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । यसैगरी देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख  छ ।

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिविरुद्ध शक्ति दुरुपयोगको मुद्दा दर्ता

काठमाडौं । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोग र सरकारी काममा अवरोध पुर्‍याएको आरोपमा मुद्दा दर्ता गरिएको छ । उनले सन् २०२४ को डिसेम्बर ३ मा देशमा मार्शल ल (सैनिक शासन) घोषणा गर्दै संसदमा सेना पठाएका थिए, जसले देशमा गम्भीर राजनीतिक संकट निम्त्यायो । उनलाई जनवरी महिनामा पक्राउ गरिएको थियो । तर, कानुनी प्रक्रिया अनुसार मार्च महिनामा उनलाई अस्थायी रूपमा रिहा गरिएको थियो । पछिल्लो साता फेरि सबुत नष्ट गर्ने सम्भावना देखिएकाले पुन: पक्राउ गरिएको हो । अनुसन्धानकर्ताहरूका अनुसार युनले प्रधानमन्त्री र रक्षा मन्त्रीले समर्थन गरेको झूटो कागज तयार पारेका थिए र त्यसलाई पछि नष्ट गर्न खोजिएको थियो । साथै, मार्शल ल घोषणा गर्नुपर्ने कानुनी प्रक्रिया उनले पूरा गरेका थिएनन् । अदालतमा सुनुवाइका क्रममा युनले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएको र शरीरमा कमजोरी रहेको बताउँदै रिहाइको माग गरेका थिए, तर जुलाई १८ मा अदालतले उनको अनुरोध अस्वीकार गरेको छ । हाल उनलाई तापक्रम निकै बढेको बेलामा, पंखा मात्र भएको तर एयर कन्डिसनर नभएको कोठामा एक्लै राखिएको छ । रासस

बैंकिङ कसुरमा दोषी ठहरिएकी तेजुमाया गुरूङ फरार अवस्थामा सुकेधाराबाट पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका–४ सुकेधारा बस्ने इलाम सन्दकपुर गाउँपालिका–२ माईमाजुवा घर भएकी ५० वर्षीया तेजुमाया गुरूङलाई प्रहरीले पक्राउ गरेको हो ।   उच्च अदालत पाटनको विसं २०७९ साउन १७ गतेको फैसलाले उक्त मुद्दामा तीन लाख ५० हजार रुपैयाँ जरिवाना, तीन दिन कैद र क्षतिपूर्तीवापत १६ हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भएपछि गुरूङ फरार रहेकी थिइन् । निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले  काठमाडौं सुकेधाराबाट शुक्रबार पक्राउ गरेको हो ।   

नदीमा सतर्कता तह पार हुनेगरी बाढी आउन सक्ने, जलविद्युतमा पूर्वतयारीका लागि इप्पानको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत आयोजनाहरुलाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट यहि श्रावण ३, ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरुमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरेर जलविद्युत आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो । इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदान प्रदान गर्ने सम्झौता अनुसार विभागले यस सम्बन्धमा इप्पानलाई पूर्वतयारीका लागि निरन्तर सूचना आदान प्रदान गर्दै आएको छ ।  विभागका अनुसार श्रावण ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुनेछ । पूवी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काई लगायतका नदीहरूमा बाढी आउन सक्ने सम्भावना अत्यधिक छ । कोशी नदी सतर्कता तह नजिक वा पार गर्न सक्ने स्थितिमा पुग्न सक्नेछ । पूर्वीनेपालबाट सक्रिय हुने मौसमी प्रणाली पश्चिम नेपालतर्फ अघि बढ्नेछ । ४ गते बेलुका बागमती नदीमा बाढी आई काठमाडौं उपत्यका र तल्ला तटिय क्षेत्र प्रभावित हुनेछन् भने ४ गते बेलुकादेखि ५ गते दिउँसोसम्म महाकाली नदी र त्यसको तटिय क्षेत्रमा बाढी आउनसक्ने सम्भावना उच्च रहेको छ । यसपटकको मौसमी प्रणालीले मध्य नेपालमा बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देही लगायतका जिल्लामा असर पर्नेछ, जसले नारायणी जलाधारको मध्य पहाडदेखि तल्लो तटसम्मलाई प्रभावित गर्नेछ । पश्चिममा राप्ती र बबई क्षेत्रमा पनि मध्यम स्तरको प्रभाव पर्ने सम्भावना छ भने महाकाली क्षेत्रमा श्रावण ४ गते बेलुकादेखि ५ गते मध्यान्हसम्म बढी सतर्कता अपनाउनु आवश्यक रहेको जलतथा मौसम विज्ञान विभागलाई उदृत गर्दै इप्पानले जानकारी दिएको छ ।  मौसम सम्बन्धी पूर्वसूचनाहरु लिएर इप्पानमा आवद्धसहित देशभरका सम्पूर्ण निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुलाई विपद्बाट हुन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनिकरणका लागि पूर्वतयारीका कार्य अघि बढाउन इप्पानले आग्रह गरेको छ । गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका आधा दर्जन भन्दा बढी जलविद्युत आयोजनाहरुमा ठूलो क्षति पुर्‍याएको घटनाका साथै विगतका वर्षहरुमा पनि बाढी पहिरोले जलविद्युत आयोजना निर्माणमा संग्लग्न धेरै कर्मचारीहरुले ज्यान गुमाउनुका साथै आयोजनामा निकै ठूलो भौतिक क्षति भई वर्षौसम्म विद्युत उत्पादन बन्द गर्नुपरेको घटनालाई स्मरण गराउँदै आगामी दिनमा यस्ता घना दोहोरिन नदिन इप्पानले आग्रह गरेको छ ।  इप्पानले विपदको बेलामा सबैभन्दा पहिला मानविय क्षति हुन नदिन जलविद्युत आयोजनाका प्रवर्द्धकहरुलाई आग्रह गरेको छ । त्यसका लागि सबै नदि करिडोरका माथिल्लो भागमा निर्माण भएका जलविद्युत आयोजनाहरुले बाढी आएको देखिसकेपछि तल्लो तटीय क्षेत्रमा निर्माण भएका आयोजनाहरुलाई समयमै बाढीको सूचना दिएर सञ्चालनमा रहेका आयोजनाहरु भए विद्युत प्राधिकरणलाई समेत सोको जानकारी गराई आयोजनाका गेटहरु बन्द गरी सुरक्षित स्थानमा जानका लागि सहकार्य गर्न पनि इप्पानले सबै जलविद्युत प्रवर्द्धकहरुसँग आग्रह गरेको छ ।  बाढी आएको सूचना सबैभन्दा पहिला मौसम विज्ञान विभागका गेज स्टेशनमा बस्ने कर्मचारीहरुलाई प्राप्त हुने हुँदा जलविद्युत आयोजनाका जिम्मेवार व्यक्तिहरुले उनीहरुसँग समन्वय गरी नदी करिडोरमा बस्ने स्थानिय बासिन्दाहरुको जिउधनको सुरक्षाको लागिसमेत स्थानिय स्तरमा सूचनाको आदान प्रदान गरिदिन पनि सबै जलविद्युत प्रवर्द्धकमा इप्पानले आग्रह गरेको छ । बाढीबाट हुने क्षति न्युनिकरणका लागि पूर्वतयारी गर्दा गर्दै पनि कहिँ कतै मानविय तथा भौतिक क्षति हुन गइहालेमा सो को जानकारी इप्पानमा गराइदिन पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।  

घरधुरीलाई सेयर बाँड्दै सरकार, मन्त्री खड्का भन्छन्- अब गरिब पनि धनी बन्छन्

काठमाडौं । 'म सामान्य मान्छे हुँ, तपाईंहरूको बलमा मन्त्री भएको हुँ, अब शिर झुकाउने छैन, परिणाम देखाउनेछु ।' ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शुक्रबार संखुवासभाको चैनपुरमा सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयको उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिए । कार्यक्रममा बोल्दै मन्त्री खड्काले सरकारको कार्यकाल पूर्ण हुने दाबी गर्दै, जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाए । 'यो सरकार चल्छ, एक वर्ष सम्माननीय केपी ओली प्रधानमन्त्री हुनुहुन्छ, त्यसपछि शेरबहादुर देउवा बन्नुहुन्छ, तर सरकार जनताले अपेक्षा गरेको काम गर्छ,' उनले भने । संखुवासभालगायत भोजपुर, धनकुटा र तेह्रथुम गरी चार जिल्लालाई लक्षित गरी नयाँ कार्यालय सञ्चालनमा ल्याइएको हो । उद्घाटन समारोहमा मन्त्री खड्काले ११ वटा जलस्रोत तथा सिंचाइ आयोजनाको ठेक्का खुलिसकेको जानकारी दिँदै, अरुण तेस्रो आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको बताए । 'अरुण तेस्रो आयोजनाबाट ९०० मेगावाट विद्युत उत्पादन हुनेछ, जसमा २०० मेगावाट नेपालले पाउँछ । अपर अरुण पनि अगाडि बढिसकेको छ,' उनले जानकारी गराए । साथै, स्थानीय घरधुरीहरूलाई सेयर दिने तयारी भइरहेको भन्दै उनले विपी कोइरालाको समाजवादी मार्गदर्शनअनुसार गरिबलाई धनी बनाउने नीति कार्यान्वयन भइरहेको उल्लेख गरे । मन्त्री खड्काले सिचाइ क्षेत्रमा रोकिएका कामहरूलाई अघि बढाउने प्रयास भइरहेको भन्दै, 'किमाथान्का' मा पुल, भन्सार नाका लगायत पूर्वाधार निर्माणमा भारत र चीन दुबै देशसँग सहकार्य गरिने बताए । नीतिगत क्षेत्रको प्रगति उल्लेख गर्दै मन्त्री खड्काले जलस्रोत र विद्युत् सम्बन्धी विधेयकहरू अगाडि बढिसकेको, मौसम नीति पारित भई विपद् सूचनालाई वडा वडा सम्म पुर्‍याउने प्रणाली लागू भइसकेको जानकारी दिए । 'मेरो पालामा बंगलादेशमा ४० मेगावाट विद्युत् बेचिएको छ, जसबाट १ अर्ब २५ करोड रुपैयाँ आम्दानी भएको छ,' उनले तथ्य प्रस्तुत गरे । कार्यक्रममा ऊर्जा मन्त्रालयका सिचाइ सचिव सरिता दवाडीले 'चार जिल्लामा सेवा पुर्‍याउने यो कार्यालय मन्त्रीको दृढताका कारण स्थापना भएको हो,' भन्दै यसले स्थानीय विकासमा ठूलो योगदान पुर्‍याउने बताए । सिचाइ विभागका महानिर्देशक सञ्जिव बरालले 'संघीय सरकार अन्तर्गतको आयोजना खुल्नु आफैमा चारै जिल्लाका लागि ठुलो उपलब्धि हो,' भनेका थिए । स्थानिय जनप्रतिनिधिहरूले पनि मन्त्री खड्काको नेतृत्वमा जिल्लामा ठूलो बजेट भित्रिएकोमा आभार व्यक्त गरे । खाँदवारी नगरपालिकाका मेयर महेश थपलियाले '५ अर्ब २० करोड बजेट जिल्लामा ल्याएकोमा मन्त्रीज्यूलाई धन्यवाद दिन्छु' भनेका थिए । पाँछखपन नगरपालिकाका मेयर विपिन राईले त मन्त्री खड्कालाई 'हाम्रो लागि भगवानसरह नेता' भन्दै प्रशंसा गरे । संघीय संरचनाअनुसार सशक्त सेवा दिन स्थापना गरिएको ‘सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय’ ले पूर्वी पहाडी जिल्लाहरूमा जलस्रोतको समुचित उपयोग गर्दै कृषि उत्पादनमा वृद्धि र समृद्धिमा टेवा पुर्‍याउने आयोजना प्रमुख धिराज लम्सालले बताए ।  

तरकारी र खसीबोका बिक्रीबाट महाशिलामा भित्रियो साढे तीन करोड

पर्वत । पर्वतको महाशिला गाउँपालिका किसानले तरकारी र खसीबोका बिक्री गरेर मात्रै साढे तीन करोड भित्र्याउन सफल भएको छ । गाउँपालिकाले कृषि तथा पशु पशुजन्य उत्पादन वृद्धि गरी नागरिकको आयस्तरमा अभिवृद्धि गर्नका लागि विभिन्न प्रोत्साहन मुलक कार्यक्रम सुरु गरेसँगै गत आर्थिक वर्षमा झण्डै साढे तीन करोड भित्रिएको हो । महाशिलाका छ वटै वडामा व्यावसायिक तरकारी खेती तथा बाख्रापालन गरिँदै आएको छ । पालिकाका सबै वडामा सडकको सहज पहुँच पुगेसँगै उत्पादित वस्तुको सजिलै निर्यात गर्न सकिने भएकाले एकै वर्षमा ठूलो परिमाणमा आम्दानी गर्न सफल भएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसालले जानकारी दिए । अध्यक्ष भुसालका अनुसार गत आर्थिक वर्षमा महाशिलाबाट एक करोड ५० लाखको तरकारी र दुई करोडको खसीबोका निर्यात भएको छ । गाउँमा उत्पादित अर्गानिक र स्वस्थ्य कर हुने भन्दै ग्राहकको पहिलो रोजाइ बनेको हाल पोखराको बिरौटामा बस्दै आएका महाशिला गाउँपालिका–५ का पूर्वअध्यक्ष जीवन विक्रम उच्चैले बताए । महाशिलाका अध्यक्ष भुसालका अनुसार कृषकलाई व्यावसायिक कृषिमा आत्मनिर्भर बनाउनका लागि पालिकाले तरकारीमा प्रतिकिलो पाँच र मासुमा २५ अनुदान दिँदै आएको छ । कृषकको गोठको भकारो सुधार र बाख्राको खोर महाशिलामा फर्सी, आलु, अकबरे खुर्सानी, साग, ब्रोकाउली, काउली, बन्दा, स्कुस, लौका, काक्रो, टमाटर, भिण्डी, सिमी, बोडी, फर्सिलगायतका तरकारी जन्यवस्तु उत्पादन हुने गरेको छ । महाशिला गाउँपालिकासँगको सहकार्यमा हेफर इन्टरनेशनल नेपालको सहयोगमा इन्प्रेड नेपालले तरकारी मूल्य श्रृङ्खलामार्फत ग्रामीण महिला उद्यमहरूको प्रतिस्पर्धात्मकता बढाउने परियोजना सञ्चालन गरेको छ । उक्त परियोजनाबाट महाशिला गाउँपालिकाका ८७५ कृषक लाभान्वित भएको अध्यक्ष भुसालको भनाइ छ । महाशिलामा एक हजार १५० रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरिएको छ् । यहाँबाट गत आर्थिक वर्षमा करिब ३० टन फर्सी, १० टन तरुल बिक्रीसमेत गरिएको थियो । महाशिलाले कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न कृषि एम्बुलेन्स र सहकारी÷कृषि समूहमार्फत उत्पादित वस्तुहरूको बजारीकरणको व्यवस्थापन गर्ने भएको छ । तरकारीखेतीमा लागेका यहाँका हरेक कृषकले न्यूनतम दुई लाखदेखि रु १० लाखसम्म आम्दानी गर्ने गरेका छन् । चालु आर्थिक वर्षको कार्यक्रममा पालिकाले स्थानीय तहमा उत्पादित कृषि उपजको एकीकृत बजारको स्थापना गर्ने योजना ल्याएको छ । खसी, बोकाको मासु निर्यात गर्ने दीगो आधारको सिर्जना गर्नुका साथै व्यावसायिक दूध उत्पादनका लागि उन्नत जातको गाईपालनमा अनुदान दिने गरी बजेट व्यवस्थापन गरिएको अध्यक्ष भुसालले बताए । ‘टोल टोलमा नर्सरीः घर घरमा करेसाबारी’ कार्यक्रम सञ्चालन गर्दै कम्तीमा एउटा वडालाई फूलको वडाको रुपमा विकास गर्ने गरी पुष्पखेती कार्यक्रम सञ्चालन गरिने र वडा नं. २ भोक्सिङ्गमा उत्पादन हुने आलुलाई ब्राण्डिङ गरिने भएको छ । पालिकाले पूर्णरुपमा कृषिमा आश्रित परिवार र व्यवसायले लिने कृषि ऋणमा लाग्ने ब्याजमा निश्चित अनुदान प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्ने र कृषि उद्यम गर्ने कृषकलाई सहुलियत ऋण प्रदान गर्ने योजना बनाएको छ । रासस

२५ प्रतिशत आयात शुल्कले जर्मन गाडी उद्योगमा असर, अमेरिकातर्फ गाडी निर्यातमा भारी गिरावट

बर्लिन। संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घबाट ल्याइने गाडीहरूमा नयाँ आयात शुल्क (कर) लगाएको केही समयमै जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यात अप्रिल र मे महिनामा तीव्र रूपमा घटेको देखिएको छ । यद्यपि जनुअरीदेखि मे महिनासम्मको अवधिमा समग्र निर्यातमा जम्मा १.९ प्रतिशतको मात्र गिरावट आएको जर्मन सङ्ख्यात्मक कार्यालयले जनाएको छ । वर्षको पहिलो तीन महिनामा अमेरिकी ग्राहकले शुल्क लागू हुनु अघि गाडी अर्डर गरेकाले निर्यातमा १४.७ प्रतिशतको वृद्धि देखिएको थियो । तर एप्रिल ३ मा २५ प्रतिशतको नयाँ आयात शुल्क लागु भएपछि जर्मन गाडी निर्यात २३.५ प्रतिशतले घटेको हो । जर्मनीको सवारी साधन उद्योग सङ्घ (भीडीए) ले यसअघि नै यस्तो शुल्कले युरोपेली संघबाट अमेरिकातर्फ गाडी पठाउने कार्यमा गम्भीर असर पर्ने चेतावनी दिएको थियो । सङ्घले भनेको छ,'थप शुल्कले स्वतन्त्र र नियममा आधारित व्यापारमा नराम्रो असर पार्दछ ।' सन् २०२४ मा जर्मनीले अमेरिका तर्फ ३६ अर्ब ८० करोड युरो बराबरका गाडी निर्यात गरेको थियो भने सात अर्ब ९० करोड युरो बराबरका गाडी आयात गरेको थियो । युरोपेली सङ्ख्यात्मक संस्था यूरोस्ट्याटका अनुसार, अमेरिका अझै पनि युरोपेली गाडीहरूको सबैभन्दा ठूलो निर्यात गन्तव्य हो । कुल घरेलु मूल्यवृद्धिको २० प्रतिशत हिस्सा अमेरिकी बजारबाटै आउने गर्छ । जर्मनी युरोपको सबैभन्दा ठूलो गाडी निर्यात गर्ने देश हो । फक्सवागन, मर्सिडिज–बेन्ज र बीएमडब्लु जस्ता जर्मन कम्पनीहरूले २०२४ मा युरोपेली संघबाट अमेरिका पठाइएका गाडीहरूको झण्डै ७३ प्रतिशत हिस्सा ओगटेका थिए । ती सबै कम्पनी अहिले शुल्क वृद्धिका कारण ठूलो दबाबमा छन् । पोर्शे, जुन फक्सवागन समूह अन्तर्गत पर्छ, हाल खर्च कटौतीको योजना बनाउँदैछ । पोर्शेका प्रमुख ओलिभर ब्लुमले कर्मचारीलाई पठाएको पत्रमा कम्पनीको हालको अवस्था कमजोर रहेको र संरचनात्मक परिवर्तन आवश्यक हुने बताए । पोर्शेले अप्रिल र मे महिनामा मात्र नयाँ अमेरिकी शुल्कका कारण करिब ३० करोड युरो बराबरको अतिरिक्त खर्च व्यहोर्नु परेको जनाएको छ । उता, जर्मनीमा अमेरिका बाट ल्याइने गाडीहरूको मागमा पनि भारी गिरावट आएको छ । जनुअरीदेखि मे महिनासम्म अमेरिकाबाट आयात हुने गाडी ३० प्रतिशतभन्दा बढीले घटेका छन् । अहिले अमेरिका चीनपछि पाँचौँ स्थानमा झरेको छ । रासस