विकासन्युज

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष देवकुमार ढकालले गरे पदभार ग्रहण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देवकुमार ढकालले पदभार ग्रहण गरेका छन् । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उनले पदभार ग्रहण गरेका हुन् । ढकालसँग नेपाल राष्ट्र राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष देव कुमार ढकालले गरे पदभार ग्रहण मा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ । पछिल्लो समय राष्ट्र बैंकको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैंकिंग प्रशासन तथा नियमन प्रणाली विषयको जानकार छन् ।  नवनियुक्त ढकाललाई बैंक सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्य बहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, बैंकका व्यवस्थापन समितिका पदाधिकारीहरु, कम्पनी सचिव प्रमोद अधिकारी एवम् प्रमुख कार्यकारी अधिकृतको कार्यालयका सम्पूर्ण कर्मचारीहरुले स्वागत गरेका थिए । 

वस्तु काठमाडौं सम्पर्क समाजको बीसौँ वार्षिकोत्सव सम्पन्न, ६ जना विद्यार्थी सम्मानित

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिका-५ बाट काठमाडौंमा आएर बसोबास गर्ने बस्तेलीहरूको साझा संस्था वस्तु काठमाडौं सम्पर्क समाजले आफ्नो बीसौँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । समारोहमा समाजबाट विभिन्न क्षेत्रमार्फत योगदान पुर्याउने विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो । हालै उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा नियुक्त भएका लालबहादुर कुँवरलाई विशेष सम्मान गरिएको समाजले जानकारी दिएको छ । त्यसैगरी, हालै प्रकाशित एसईई परीक्षामा उत्कृष्ट ग्रेड प्राप्त गरेका ६ जना विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो । अध्ययनमा उत्कृष्टता हासिल गरेका ती विद्यार्थीहरूलाई प्रेरणा मिलोस् भन्ने उद्देश्यले कार्यक्रममै सम्मान गरिएको हो । कार्यक्रममा तीनजना जेष्ठ नागरिकहरूलाई पनि सम्मान गरिएको थियो । वस्तु समाजले आफ्नो स्थापनादेखि नै सामाजिक एकता, सहयोग र सम्मानको संस्कृतिलाई प्राथमिकता दिँदै आएको बताइएको छ ।

कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै

काठमाडौं । साइबर अपराध नियन्त्रण र प्रविधिमैत्री सुरक्षाको लक्ष्यसहित कोरिया सरकारको एक अर्ब रुपैयाँ सहयोगमा निर्माण भएको साइबर ब्युरो छिट्टै सञ्चालनमा आउने भएको छ । प्रहरी महानिरीक्षक दीपक थापाका अनुसार ब्युरोको भवन निर्माण सकिएको छ भने अब प्रविधियुक्त उपकरण जडानको काम बाँकी छ । शुक्रबार संघीय संसदको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आइजिपी थापाले साइबर अपराध नियन्त्रणका लागि प्रहरी संगठनलाई प्रविधिमा दक्ष बनाउनु अपरिहार्य रहेको बताए । उनले भने, 'अहिले चोरी, ठगीजस्ता अपराधहरू पनि प्रविधिमार्फत भइरहेका छन् । अनलाइन फ्रड, स्क्याम, टेलिग्राममार्फत हुने ठगी अब दिनानुदिन बढिरहेको छ । प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट निर्देशन आएपछि बल्ल टेलिग्राम बन्द हुने अवस्थामा पुगेको छ ।' महानिरीक्षक थापाका अनुसार टेलिग्रामजस्ता माध्यमबाट भएको ठगीका घटनाले प्रविधिक चुनौतीको गम्भीरता झनै देखिएको छ । 'अब एआई (कृत्रिम बुद्धिमत्ता) पनि आइसक्यो,' उनले भने, 'त्यसैले साइबर अपराध नियन्त्रणका लागि अब दक्ष जनशक्ति र अत्याधुनिक प्रविधिको प्रयोग अपरिहार्य भइसकेको छ ।' साइबर सुरक्षासँगै फरेन्सिक अनुसन्धानको पहुँच विस्तार गर्न थापाले सातवटै प्रदेशमा ल्याब स्थापना गरिने जानकारी दिए । 'पहिले काठमाडौंमा मात्रै फरेन्सिक ल्याब थियो,' उनले भने, 'अब धरान, नेपालगञ्ज र यसपटक पोखरामा पनि ल्याब बनाउँदैछौं। बाँकी प्रदेशमा पनि विस्तार गरिन्छ ।' तर उनले यसका लागि इन्फ्रास्ट्रक्चर मात्र होइन, दक्ष जनशक्तिको आवश्यकता पर्नेमा जोड दिए । उनले भने 'इक्विपमेन्ट राखेर मात्रै पुग्दैन, त्यसलाई चलाउने र अनुसन्धान गर्न सक्ने दक्ष विज्ञ आवश्यक छन् ।' महानिरीक्षक थापाले इन्टरपोल लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय गर्दै साइबरमा खटिने प्रहरीलाई प्रविधिमैत्री बनाउने प्रयास भइरहेको बताए । 'इन्टरपोलका कार्यक्रमहरूमार्फत पनि प्रहरीलाई दक्ष बनाइँदैछ,' उनले स्पष्ट पारे । उनका अनुसार कोरियाली सहयोगमा बनिरहेको साइबर ब्युरो सञ्चालनमा आएपछि प्रविधिमा आधारित अपराधको नियन्त्रण गर्न प्रहरीलाई थप सजिलो हुनेछ । 'साइबर ल्याबहरू स्थापना भएपछि अनुसन्धानमा उल्लेखनीय सहजता आउनेछ,' थापाले भने ।

नेपाल इन्स्योरेन्सले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत पायो ‘गोल्ड अवार्ड’

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेकोमा ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ । नेपालका निर्जीवन बीमा कम्पनीहरूबीच प्रतिस्पर्धात्मक मूल्याङ्कनका आधारमा प्रदान गरिने यस सम्मानका लागि कम्पनीलाई इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालले पुरस्कृत गरेको हो । शुक्रबार राजधानीको होटल र्‍याडिसनमा आयोजित विशेष समारोहमा महालेखापरीक्षक तोयम रायको प्रमुख आतिथ्यमा नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई सम्मानपत्र प्रदान गरिएको हो । कम्पनीले पारदर्शिता, सुशासन, वित्तीय विवरणको स्पष्टता र अन्तर्राष्ट्रिय मान्यताअनुसारको प्रतिवेदन संरचनाका आधारमा यो अवार्ड पाएको हो । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत महर्जनले यस सम्मानले कम्पनीलाई अझ पारदर्शी, उत्तरदायी र सेवालाई गुणस्तरीय बनाउने प्रेरणा दिएको प्रतिक्रिया दिएका छन् ।

१५ लाखको लगानीमा बनाइएको ऐनापहराको ‘स्काइ वाक’ सञ्चालमा

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा साहसिक स्काइ वाक आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएको थियो । स्काइ वाकका लागि प्रतिव्यक्ति २५० शुल्क तोकिएको छ । ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित गाउँपालिकाले स्काइ वाक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । १५ लाखको लगानीमा स्काइ वाक निर्माण गरिएको हो । कूल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ। उनले भने, ‘स्काइ वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा एक अनौठो साहसिक अनुभव गर्न सकिनेछ। सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकाले डर मान्नुपर्ने अवस्था छैन ।‘ यस ठाउँ पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनिरहेको रहेकाले यहाँ पूर्वाधार थप गरिएको उनको भनाइ छ । स्काइ वाकले यहाँको पर्यटन विकास र साहसिक गतिविधिका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँ पर्यटकको घुम्ने गन्तव्यको रुपमा विकास भएको छ । बिदा र शनिबार दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ। शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी गाउँपालिका–२ का वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए । ढुङ्गामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेको उनले बताए । उनले भने, ‘गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा अगाडि बढाएको छ । राजमार्गसँगै जोडिएकाले पनि यस ठाउँ रोजाइमा पर्ने गरेको छ ।' ऐनापहराबाट गाउँपालिकाले ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ । राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीय स्थलको रुपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ । यहाँ झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ। तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ। यस ठाउँलाई व्यवस्थित गर्न आयोजनाको विस्तृत प्रतिवेदनअनुसार रु १० करोड बजेट आवश्यक पर्छ । प्रतिवेदनअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ । रासस  

बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख राजस्व संकलन

बागमती । बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४.१२ प्रतिशत राजस्व सङ्कलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशतअर्थात् ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व सङ्कलन भएको छ । प्रदेश सरकारले आव २०८१/८२ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा ती सबै शीर्षकबाट ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व सङ्कलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सन्ज्यालले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले सो आवमा राजस्व बाँडफाँटबाट २९ अर्ब ५५ करोड ८९ लाख राजस्व सङ्कलन हुने लक्ष्य लिएकोमा त्यसको ८३ प्रतिशत अर्थात २४ अर्ब ५३ करोड ४० लाख ३० हजार राजस्व सङ्कलन भएको छ । यस्तै प्रदेश सरकारको आन्तरिक स्रोतबाट चार अर्ब ५३ करोड ८४ लाख ७९ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा लक्ष्यको ८४.०८ प्रतिशतअर्थात् तीन अर्ब ८१ करोड ५८ लाख २१ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी सन्ज्यालले बताए । सङ्घीय सरकारबाट १५ अर्ब ५७ करोड ५६ लाख अनुदानप्राप्त हुने अनुमान गरिएकोमा त्यसको ७६ प्रतिशतअर्थात् ११ अर्ब ९६ करोड ८७ लाख ७३ हजार अनुदान प्राप्त भएको उहाँको भनाइ छ । गत आव २०८०/८१ मा बागमती प्रदेशमा ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार राजस्व सङ्कलन गरेको थियो । आव २०८०/८१ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट ४८ अर्ब २५ करोड ४३ लाख ७५ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा ती सबै शीर्षकबाट ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार राजस्व सङ्कलन भएको थियो । यस्तै आव २०७९/८० मा पनि बागमती प्रदेश सरकारले अनुमान गरेकोभन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन गरेको थियो । प्रदेश सरकारले आव २०७९/८० मा ५५ अर्ब ३१ करोड राजस्व सङ्कलनको अनुमान गरेकोमा ४५ अर्ब ८८ करोड राजस्व सङ्कलन गरेको थियो । सङ्घीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोतलगायतका राजस्व सङ्कलनमा आएको कमी र आर्थिकमन्दीका कारण सङ्घीय सरकारले केही कार्यक्रम कटौती गर्नुजस्ता कारणले लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको प्रदेश कोष तथा लेखा निन्त्रणक कार्यालय हेटौंडा मकवानपुरका प्रमुख लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

नागढुंगा-मुग्लिङ सडकमा सुधार,अब बर्खामा यात्रुलाई सास्ती नहुने

काठमाडौं । एक वर्षअघि नागढुंगा-मुग्लिङ सडकखण्ड अन्तर्गतको झ्याप्ले खोलामा पहिरो खस्यो । जसकारण ठूलो मानवीय क्षति भयो । ३५ जनाले अकालमै ज्यान गुमाए । देशलाई नै शोकमा बदल्ने त्यो घटनापछि नागढुंगा–मुग्लिन सडक खण्डमा अहिले पहिरो रोकथामदेखि सडकनिर्माणको काम तीव्र गतिमा भइरहेको छ ।   नागढुंगा–नैबिसेको पहिलो प्याकेज अन्तर्गत चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार कम्पनी सगुनले काम गरिरहेको छ । सो सडकखण्ड निर्माण गरिरहेका निर्माण व्यवसायी ज्ञानेन्द्र घिमिरे सो प्याकेज अन्तर्गत अहिले कालोपत्रेको काम सकिसकेको बताउँछन् । उनकाअनुसार झ्याप्ले खोलाको पोहिरो पोहोर जुन बितण्डा निम्तायो । अहिले सडक निर्माणसँगै पहिरो रोकथामको काम तीव्र गतिमा भइरहेको छ । काम मात्रै भएको छैन त्यो पहिरो आउनुको मुख्य कारण पनि खोजि भइसकेको छ । देशलाई नै शोकमा पार्नेगरी दशकौँ यता भएको उक्त पहिरो जानुको मुख्य कारण सडकभन्दा केही माथि घरजग्गाका लागि प्लटिङ गरिनु हो ।  निर्माण व्यवसायी घिमिरेकाअनुसार प्लटिङको माटो यत्तिकै फालिदिए । जब भारी वर्षा भयो त्यो पानीले माटो बग्यो । माटो पहिरो स्वरुप आयो र माटो लेदो भएर आयो । सडकमा कलर्भट थियो । लेदेलो कलर्भट भरिदियो । निकासी हुन पाएन । पानीले पनि कहीँ जाने निकास पाएन । सम्पूर्ण लेदो पहिरोस्वरुप आएका कारण ठूलो घटना घट्यो ।  घिमिरेकाअनुसार स्थानीयले भनेअनुसार २०५० सालमा पनि त्यहाँ ठूलो पहिरो आएर धेरै क्षती गरेको रहेछ । सडक निर्माण कार्यले गर्दा अहिले झ्याप्ले खोलामा ठूलो पहिरो आएको होइन ।  सडक भन्दा केही माथि अव्यवस्थीत तवरले गरिएको प्लटिङले गर्दा पहिरो आएको घिमिरेले बताए । उनकाअनुसार अनुसन्धान गर्दै जाँदा सडक निर्माणका क्रममा त्यसरी पहिरो गएको पाइएन । निर्माण व्यवसायी घिमिरेले भने–'जब झ्याप्ले खोलामा पहिरो गएर जनधनको क्षती ग¥यो अहिले पुनडिजाइन गरेर भित्ताहरुमा कडा चट्टानहरु राखेर जालि भर्ने काम भइरहेको उहाँ बताउनुहुन्छ । घिमिरेकाअनुसार झ्याप्ले खोलामा पहिरोको रुप लिइसकेको छ । अब त्यसलाई रोकथाम गर्नका लागि अहिले काम गरिरहेको निर्माण कम्पनीलाई गत चैतमा सरकारले जिम्मा दियो र अहिले यसमा काम भइरहेको छ । अहिले भित्तामा ‘ग्याबिन’ लगाइएको छ । प्लटिङ भएको भूभागआसपासका भित्तामा बास रोप्नेदेखि अत्याधुनिक तवरले भित्तालाई आरसीसी ढलान गरिँदैछ ।' नागढुंगा-मुग्लिङ सडक योजना पूर्वी खण्ड आयोजना प्रमुख केशवप्रसाद ओझा पनि बर्खायाममा यात्रुहरुले पाइरहेको दुःख अब छिट्टै अन्त्य हुने बताउँछन् । उनकाअनुसार नागढुंगा पूर्वी खण्ड आयोजना सडकखण्डअन्तर्गत दुईओटा प्याकेजहरु छन् । आयोजना प्रमुख ओझाका अनुसार नागढुंगा–मुग्लिङ सडक आयोजनालाई दुई प्याकेजमा विभाजन गरिएको छ। पहिलो प्याकेज नागढुंगादेखि नैबिसेसम्म १२.२ किलोमिटर र दोस्रो प्याकेज नैबिसेदेखि मलेखुसम्म ४३.५ किलोमिटर लम्बाइको छ । कुल ५५ किलोमिटरमध्ये हालसम्म करिब २७ किलोमिटरमा पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको उनले बताए । सडकसँगै निर्माणाधीन १५ पुलमध्ये ८ वटा पुलमा सवारीसाधन सञ्चालनमा आइसकेका छन् । आगामी दिनमा थप २ वटा पुल छिट्टै सञ्चालनमा आउने छन् भने बाँकी ५ वटा पुल चालु आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । ओझाका अनुसार चालु आवभित्र ५५ किलोमिटर नै पहिलो तहको कालोपत्रे गरिने योजना रहेको छ । हाल आयोजनाको समग्र भौतिक प्रगति ४४ प्रतिशत पुगेको छ । पहिलो प्याकेजको ८४ प्रतिशत र दोस्रो प्याकेजको ४४ प्रतिशत काम सम्पन्न भइसकेको छ । यो आयोजनाअन्तर्गत डेडिकेटेड डबल लेन सडक निर्माण भइरहेको छ । कतिपय खण्डमा बिस्तारै हिँड्ने सवारीसाधनका लागि क्लाइमिङ लेन थपेर तीन लेनको संरचना बनाइँदैछ, जसमा उकालोतर्फ २ लेन र ओरालोतर्फ १ लेन हुने व्यवस्था मिलाइनेछ । त्यस्तै बजार क्षेत्रहरूमा चारदेखि छ लेनसम्मको सडक विस्तार भइरहेको छ । विशेषगरी गल्छी–बैरेनी क्षेत्र अत्यधिक वर्षा र सडकमा खाल्डाखुल्डीको समस्या देखिने क्षेत्र भएकोले त्यहाँ पछिल्लो हिउँददेखि युद्धस्तरमा काम भइरहेको ओझाले बताए । 'अब यात्रुहरू हिलो र धुलोबाट मुक्ति पाउने छन्,' उनले भने, 'यद्यपि केही कामहरू अझै बाँकी छन्, तर सडक अहिले दोहोरो सवारी गुड्न सक्ने अवस्थामा पुगिसकेको छ ।' उनले पनि गत मनसुनका घटनाहरु सडकहरुमा क्षती पुगेको  र त्यस ठाउँमा पहिरोलाई रोकथाम गर्न नयाँ प्रविधिहरु ल्याएर काम भइरहेको बताए  । यो मनसुनलाई लक्षित गरेर कामहरु तिब्र गतिमा भइरहेको छ । खोलाका कटानहरु समेत रोक्ने काम सम्पन्न भएको छ । उनकाअनुसार मलेखु भीरमा पनि पहिरो गएर सधैँ दुःख दिइरहने स्थानमा त्यहाँ पनि पहिरो नजानेसम्मको सतह भेटाइसकेको छ । पर्खाल लगाएर लेदो सडकमा आउन नसक्नेगरी काम भइरहेको छ । अहिले दैनिक १५ हजार भन्दा बढी सवारीलाई व्यवस्थापन गरेर निर्माण गर्न मुख्य चुनौतीका रुपमा देखा परिरहेको छ । यसको डाइर्भसन पनि गरिएको छैन । विपी, कान्ति राजमार्गले पनि सोचेअनुसारको सुविधा नदिएका कारण सडक निर्माणाधिन सडकमै परेको छ । दैनिक ८ घण्टा काम गर्ने समय पाउन पनि मुस्किल परिरहेको छ । यसले गर्दा सोचेअनुरुप परिणाम निस्कन सकिरहेको छैन । गाडीको चाप कम हुने समयमा काम गर्नुपरिरहेको छ । 

नेपालको ढुवानी क्षेत्रमा आधुनिकीकरण ल्याउँदै सारथी लजिस्टिक्सको आधिकारिक सुरुवात

काठमाडौं । प्रविधिमैत्री लजिस्टिक्स कम्पनी सारथी लजिस्टिक्स प्रालिले नेपालभर आफ्नो सेवा औपचारिकरूपमा सुरु गरेको छ । आधुनिक प्रविधि र पारदर्शितामार्फत नेपालको वस्तु आपूर्ति क्षेत्रमा नयाँस्तरको सेवा प्रदान गर्ने लक्ष्य रहेको सारथीले जनाएको छ । स्वयम्भू ठूलोभर्‍याङ, काठमाडौंमा मुख्य कार्यालय रहेको सारथीले नारायणघाट, वीरगञ्ज, विराटनगर, बुटवल, भैरहवा, हेटौँडा, पोखरा, इटहरी र धनगढीमा शाखा कार्यालयहरूसहित १५ स्थानबाट सेवाको सुरुवात गर्दैछ, जसले गर्दा नेपालभर प्रभावकारी सेवा पुग्नेछ । सारथीले आंशिक तथा पूर्ण ट्रक लोड सेवा, कुरियर तथा पार्सल डेलिभरी, फ्लीट म्यानेजमेन्ट, वेयरहाउसिङ र वितरण, रिभर्स लजिस्टिक्सलगायतका सेवा प्रदान गर्छ । ग्राहकहरुले मोबाइल एप वा वेबसाइटमार्फत सजिलै ट्रक बुकिङ, रियल-टाइम ट्र्याकिङ र पारदर्शी सेवा प्राप्त गर्न सक्नेछन् । 'नेपालमा ढुवानी व्यवसायलाई प्राविधिक, पारदर्शी र सहज बनाउन सारथी स्थापना गरिएको हो,' सारथीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपाने भन्छन्, 'हाम्रो लक्ष्य ढुवानी क्षेत्रलाई व्यवस्थित गर्दै व्यवसाय तथा आम उपभोक्तालाई भरपर्दो सेवा प्रदान गर्नु हो ।' अनुभवी व्यवस्थापन टिम जसमा १५ वर्ष ढुवानी पेसाकर्मीहरु, आईटी विज्ञ र सीएद्वारा सञ्चालन हुने सारथीले अबदेखि नेपालभर सस्तो, भरपर्दो र प्रविधिमैत्री ढुवानी सेवा उपलब्ध गराउने घोषणासमेत गरेको छ ।