काठमाडौंमा लामिनारका थप दुई एम्पोरियो शोरुम सञ्चालनमा
काठमाडौं । नेपाली टाइल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकाभित्र थप दुई वटा एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको शङ्खरापुर नगरपालिका–साँखुस्थित सुपर सप्लायर्स प्रालि र गोकर्णेश्वर नगरपालिका–जाम्बुडाँडास्थित बंसल टाइल्स एन्ड ग्रेनाइट हबसँगको सहकार्यमा नयाँ शोरुम सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार बर्दियास्थित उद्योगमा उत्पादन हुने लामिनारका फुल्ली भिट्रिफाइड टाइल्स कम पानी सोस्ने र उच्च मजबुतीका भएकाले घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक भवनमा प्रयोगका लागि उपयुक्त छन् । नयाँ शोरुमहरूमा फुल बडी, एन्टिब्याक्टेरियल सर्फेस र हाई–ग्लोससहित ५०० भन्दा बढी डिजाइनका टाइल्स उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी शोरुम विशेषगरी घरधनी, ठेकेदार, आर्किटेक्ट तथा संस्थागत ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो । कम्पनीका अनुसार ग्राहकलाई आवश्यकताअनुसार उपयुक्त टाइल छनोट गर्न परामर्श सेवा पनि उपलब्ध गराइनेछ । लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले नयाँ शोरुममार्फत ग्राहकले टाइलको गुणस्तर, डिजाइन र उपयोगिताका आधारमा सहज रूपमा छनोट गर्न सक्ने बताए । सुपर सप्लायर्स प्रालिका अध्यक्ष भँवरलाल बिश्नोईले पछिल्लो समय ग्राहकले डिजाइनसँगै टाइलको टिकाउपन र सरसफाइको सहजतालाई पनि प्राथमिकता दिन थालेको बताए ।
जनउत्थान सामुदायिक लघुवित्तका सीईओ सुनिलकुमार रायले दिए राजीनामा
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिलकुमार रायले पदबाट राजीनामा दिएका छन् । संस्थाका अनुसार रायले दिएको राजीनामा सञ्चालक समितिको २७४औँ बैठकबाट स्वीकृत भएको हो । उक्त निर्णयअनुसार उनको राजीनामा २०८३ साउन १ गतेदेखि लागू हुने भएको छ । सीईओ रायले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको जनाएको छ । सीईओको जिम्मेवारी रिक्त भएपछि संस्थाको विभागीय प्रमुख इन्द्र बराललाई प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेवारी तोकिएको संस्थाले जनाएको छ ।
रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द
रसुवा । ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ । रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो । खोलाको अवस्था सामान्य रहेमा सोमबारबाट पुनः विद्युत् उत्पादन सुरु गरिने उनले जानकारी दिए । गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो । त्यसपछि मर्मत तथा पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको आयोजनालाई पुनः क्षति पुग्न सक्ने आशङ्कामा सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको प्राविधिकहरूले बताएका छन् । रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव निरन्तर अनुगमन भइरहेको छ । अवस्था सुरक्षित देखिएमा आजैदेखि विद्युत् उत्पादन पुनः सञ्चालनमा ल्याइने उनले बताए । भोटेकोशी नदीमा पनि पानीको बहाव बढ्न थालेपछि रसुवागढी भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन तथा नयाँ आयातित सवारी तत्काल सुरक्षित स्थानमा सारिएको त्यहाँस्थित सुरक्षाकर्मीले जनाएका छन् । भन्सार यार्डको उत्तरी भागबाट बाढी पस्न सक्ने जोखिम रहेकाले यार्डको थप सुरक्षा र तटबन्ध निर्माण गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति (प्रालि)सँग चालकहरूले माग गरेका छन् । गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले ल्हेन्दे खोला र भोटेकोशी नदी आसपास नजान तथा सवारीसाधन नदी किनारमा नराख्न स्थानीयवासीलाई आग्रह गर्नुभएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आइतबार साँझ आएको हल्का बाढीले मैलुङ सडकबाहेक अन्य स्थानमा उल्लेखनीय क्षति पुर्याएको छैन । मैलुङ सडकखण्ड जोखिममा परेकाले केरुङ आवतजावत गर्ने सवारीसाधनलाई बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसी हुँदै रसुवागढी पुग्ने साविकको सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले यात्रु तथा चालकलाई जोखिमयुक्त सडक प्रयोग नगर्न अनुरोध गरेका छन् । लगातारको वर्षाका कारण नदी तथा खोल्सामा पानीको बहाव बढिरहेकाले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नबस्न र यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ । कतै पनि विपद्को अवस्था देखिएमा आपत्कालीन निःशुल्क नम्बर १२३४ मा तत्काल जानकारी गराई उद्धार तथा राहत कार्यमा सहयोग गर्न प्रमुख जिल्ला अधिकारी परियारले सर्वसाधारणसँग अनुरोध गरेका छन् ।
रूखकटहर किलोको ५० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४८, आलु रातो (गोलो) प्रतिकिलो रु ४७, आलु रातो (मुढे) प्रतिकिलो रु ४७, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २४, भन्टा लाम्चो प्रतिकिलो रु ३० र भन्टा डल्लो प्रतिकिलो रु ४० कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ३५, परवर (लोकल) प्रतिकिलो रु ३०, परवर (तराई) प्रतिकिलो रु ३०, चिचिण्डो प्रतिकिलो रु २०, घिरौँला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ९०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो रु ४०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १५०, आँप (दशहरी) प्रतिकिलो रु १६०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रूखकटहर प्रतिकिलो रु ५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ । अदुवा प्रतिकिलो रु २००, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ५५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, माछे खुर्सानी प्रतिकिलो रु ४०, खुर्सानी भेडे प्रतिकिलो रु ६०, अकबरे प्रतिकिलो रु २२०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।
सडक भासिँदा मेची राजमार्ग बन्द, पाँचथर र ताप्लेजुङको झापासँग सम्पर्क टुट्यो
काठमाडौं । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका-९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । ढकालका अनुसार उक्त सडकमा विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिइएको भए पनि गएराति सडक थप भासिएपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको हो । सडक अवरुद्ध भएपछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको छ । इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ आएका ठूलो सङ्ख्याका मालवाहक तथा अन्य सवारीसाधन माइखोलाको दुवै किनारमा रोकिएका छन् । ‘दिनदिनैको वर्षाले सडक भासिने र पहिरो झर्ने क्रम बढ्दो छ,’ प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिएका थियौँ । जोखिम झन बढेकाले आजदेखि उक्त सडकखण्ड अनिश्चितकालका लागि पूर्ण रूपमा बन्द गरेका छौँ ।’ राजदुवाली खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी-सिमलगोला सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सन आइतबारको बाढीले बगाएपछि उक्त सडक पनि अवरुद्ध भएको छ । यस्तै, इलाम-झापा जोड्ने छोटो दूरीको केचना-कञ्चनजङ्घा सडक (मेची करिडोर) अन्तर्गत पुवा खोलाको डाइभर्सन पनि बाढीले बगाएपछि इलाम, पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । सडक डिभिजन इलामका प्रमुख भवन भट्टराईका अनुसार जोगमाई र पुवा खोलामा बेलीब्रिज जडानका लागि डेढ महिनाअघि नै सिभिल संरचना तयार भए पनि भारत सरकारले निःशुल्क उपलब्ध गराएको बेलीब्रिजको सामग्री हालसम्म नआउँदा समस्या समाधान हुन सकेको छैन । सडक पूर्ण रूपमा अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि यात्रा गरेका सर्वसाधारण पहिरो प्रभावित राजदुवाली खण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य भएका छन् ।
मण्डीखाटारमा बेनेभिस आइसक्रिमको पाँचौं शाखा सञ्चालनमा
काठमाडौं । बेनेभिस आइसक्रिमले काठमाडौंको पाली मण्डीखाटारमा आफ्नो पाँचौं आइसक्रिम पार्लर सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको उद्घाटन अभिनेत्री वर्षा सिवाकोटीको विशेष उपस्थितिमा गरिएको हो । कार्यक्रममा कम्पनीका ग्रुप अध्यक्ष हरि कर्माचार्य, निर्देशक प्रमिला कर्माचार्य, अध्यक्ष सुरेश कुमार धोर्जु, प्रबन्ध निर्देशक विकल कर्माचार्य तथा सेलरमार्ट प्रालिकी प्रबन्ध निर्देशक रश्मी कर्माचार्यले संयुक्त रूपमा रिबन काटेर पार्लरको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सेलरमार्ट प्रालिकी प्रबन्ध निर्देशक रश्मी कर्माचार्यले ग्राहक, साझेदार तथा शुभेच्छुकहरूको निरन्तर विश्वास र साथप्रति आभार व्यक्त गर्दै पाँचौं शाखाको उद्घाटनले बेनेभिसको विस्तार यात्रामा नयाँ अध्याय थपेको बताइन् । उनले गुणस्तरीय उत्पादन, उत्कृष्ट सेवा र अविस्मरणीय ग्राहक अनुभव प्रदान गर्ने प्रतिबद्धतामा कम्पनी अडिग रहेको उल्लेख गरिन् । अभिनेत्री वर्षा सिवाकोटीले बेनेभिस परिवारलाई नयाँ शाखाको शुभारम्भका लागि बधाई दिँदै आगामी दिनमा पनि उत्कृष्ट स्वाद र सेवामार्फत नेपाली उपभोक्तामाझ लोकप्रिय ब्रान्डका रूपमा स्थापित हुँदै जाने विश्वास व्यक्त गरिन् । परिवार, साथीभाइ तथा सबै उमेर समूहका ग्राहकलाई लक्षित गरी आधुनिक अवधारणामा निर्माण गरिएको नयाँ पार्लरमा बेनेभिसका विभिन्न प्रिमियम आइसक्रिम फ्लेभर, डेजर्ट तथा मौसमी विशेष परिकार उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पाँचौं शाखाको सञ्चालनसँगै गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै नेपालभर आफ्नो उपस्थितिलाई थप विस्तार गर्ने लक्ष्य लिइएको छ । बेनेभिस आइसक्रिम नेपालका उदाउँदा प्रिमियम आइसक्रिम ब्रान्डमध्ये एक हो । उच्च गुणस्तरीय सामग्रीको प्रयोग, नवीन स्वाद र ग्राहकमैत्री सेवामार्फत कम्पनीले देशभर शाखा विस्तार गर्दै उपभोक्तालाई उत्कृष्ट आइसक्रिम अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
बीमा दाबी भुक्तानीमा लापरबाही गरे कम्पनी र कर्मचारीमाथि कारबाही गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा अनियमितता, ढिलासुस्ती वा कानुनविपरीतका गतिविधि भए प्रमाणसहित उजुरी दिन सर्वसाधारणलाई आह्वान गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै बीमाको दायित्व निर्धारण तथा दाबी भुक्तानीका क्रममा केही बीमा कम्पनी, तिनका कर्मचारी, बीमा सर्भेयर वा अन्य सम्बन्धित पक्षले प्रचलित कानुन, नियामकीय व्यवस्था तथा व्यावसायिक आचारसंहिता विपरीत काम गरेको भन्ने गुनासो प्राप्त भइरहेकाले उजुरी आह्वान गरिएको जनाएको हो । प्राधिकरणका अनुसार बीमा कम्पनी, कर्मचारी, सर्भेयर वा अन्य कुनै पक्षले तथ्य लुकाएको, गलत विवरण तयार गरेको, कागजात तोडमोड गरेको, पक्षपातपूर्ण मूल्याङ्कन गरेको, अनुचित लाभ लिएको वा अन्य कुनै गैरकानुनी कार्य गरेको भए त्यस्ता व्यक्तिविरुद्ध बीमा ऐन, २०७९ बमोजिम कारबाही गरिनेछ । प्राधिकरणले उजुरी दिँदा उजुरीकर्ताको नाम, ठेगाना, सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम, समस्याको विवरण, बीमा दाबी नम्बर, बीमालेख नम्बर तथा घटनासँग सम्बन्धित कागजात, फोटो, भिडियो वा अन्य प्रमाण अनिवार्य रूपमा संलग्न गर्न आग्रह गरेको छ । उजुरी नेपाल बीमा प्राधिकरणको दर्ता शाखामा प्रत्यक्ष, इमेलमार्फत वा हुलाकमार्फत गर्न सकिने व्यवस्था गरिएको छ । प्राधिकरणले प्राप्त हुने सबै उजुरी र प्रमाणको गोपनीयता कायम राख्दै बीमा ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।
दुई सहकारीलाई घर खाली गर्न काठमाडौं महानगरको अल्टिमेटम
काठमाडौं । काठमाडौं महानगरपालिकाले २ वटा सहकारी संस्थालाई घर खाली गर्न निर्देशन दिएको छ । पुण्यभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कल्याणेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई बहालमा लिएका घर, कोठा तथा फ्ल्याट खाली गर्न निर्देशन दिएको हो । महानगरको कानून तथा मानव अधिकार विभागले न्यायिक समितिबाट भएको निर्णय बमोजिम घरजग्गा खाली गर्न निर्देशन दिएको हो । साथै, उक्त सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति) कर्मचारी तथा संस्थाका सदस्यलाई १५ दिनभित्र कानून तथा मानव अधिकार विभागमा सम्पर्क गर्न निर्देशन दिएको छ । तोकिएको समयभित्र सम्पर्कमा नआएमा सहकारीले बहालमा लिएका घर कोठा, फ्ल्याट न्यायिक समितिको निर्णयानुसार खाली गर्ने चेतावनी दिएको छ । साथै उक्त घर कोठा खाली गर्दा सहकारी कार्यालयका सामानहरू सम्बद्ध घरधनीको जिम्मामा दिइनेछ । पछि सहकारीका सम्पत्ति सर सामान सम्बन्धमा कुनै दाबी विरोध नलाग्ने महानगरले जनाएको छ । वडा नम्बर ९ मा रहेको पुण्यभूमि बचत तथा ऋण सहकारी विरुद्ध कम्लेस कुमार कुण्डलिया र वडा नम्बर १४ मा रहेको कल्याणेश्वर बचत तथा ऋण सहकारी विरुद्ध दीपक कुरमा फैँजुले महानगरमा उजुरी दिएका थिए ।