शून्य प्रिमियममा ५० करोड रुपैयाँसम्म सेयर कर्जा, बजारमा नयाँ तरङ्ग पैदा
काठमाडौं । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सेयर लोन’ योजना सार्वजनिक गरेको छ । बैंकले शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा 'सेयर लोन' योजना सार्वजनिक गरेको हो । सेयर धितो राखेर कर्जा प्रवाह गरिने यो योजनामार्फत बैंकले लगानीकर्तालाई सहज, किफायती र लचिलो कर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ । ग्राहकहरूको आवश्यकता, बजारको चाल तथा समयको मागलाई ध्यानमा राख्दै बैंकले अर्थतन्त्रको महत्वपूर्ण पिलर मानिने सेयर बजारलाई सम्बोधन गर्ने उद्देश्यसहित यो कर्जा योजना ल्याएको जनाएको छ । यस अन्तर्गत व्यक्तिगत लगानीकर्ताले अधिकतम २५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताले अधिकतम ५० करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । प्रतिस्पर्धी ब्याजदर, छिटो तथा पारदर्शी सेवा र लचिलो भुक्तानी योजनासहितको सुविधाले सुसज्जित यो कर्जालाई अझ प्रभावकारी बनाउन बैंकले एकद्वार प्रणालीमा आधारित ‘कर्जा सहायता केन्द्र’ स्थापना गरी ग्राहकका सल्लाह, सुझाव, गुनासो तथा जिज्ञासाको समयमै समाधान गर्ने व्यवस्था मिलाएको छ । बैंकले यो योजनाले सेयर बजारमा सक्रिय लगानीकर्तालाई थप सहजता प्रदान गर्ने र वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
सबै क्रिप्टो डुब्दा जीक्यास चम्कियो, २ महिनामा १२०० प्रतिशतभन्दा बढी रिटर्न
काठमाडौं । क्रिप्टो बजारमा पछिल्लो केही दिनयता गिरावट जारी छ । बिटकोइनसहित धेरै ठूला क्रिप्टोकरन्सीहरू धराशायी भइसकेका छन् । तर एक क्रिप्टोकरन्सी भने यस्तो छ जसमा यो गिरावटको प्रभाव परिरहेको छैन । त्यसको नाम जीक्यास हो । पछिल्ला २४ घण्टामा धेरै क्रिप्टोकरन्सीमा ठूलो गिरावट देखिए पनि जीक्यासको मूल्य करिब १२ प्रतिशत बढेको छ । दुई महिनामा यसको रिटर्न १२०० प्रतिशतभन्दा धेरै भएको छ । बिहीबार दिउँसो करिब २:३० बजे जीक्यास क्रिप्टोको मूल्य ६७३ डलर (करिब ९६ हजार रुपैयाँ) थियो । यो क्रिप्टोले मात्र २० दिनमा लगानी दोब्बर गरिसकेको छ । अक्टोबर ३१ मा यसको मूल्य करिब ३३० डलर थियो, अहिले ६७० डलरभन्दा माथि पुगेको छ । यसरी हेर्दा २० दिनमै यसले लगानीकर्तालाई १०० प्रतिशतभन्दा बढी रिटर्न दिएको छ । त्यस्तै एक महिनामा यसको रिटर्न १६० प्रतिशतभन्दा बढी भइसकेको छ । जीक्यास क्रिप्टो दुई महिनामा लगानीकर्तालाई असाधारण रिटर्न दिइसकेको छ । दुई महिना अघि यसको मूल्य करिब ५० डलर थियो, अहिले ६७० डलर पार गरेको हो । यसरी हेर्दा मात्र दुई महिनामा यसको रिटर्न १२०० प्रतिशतभन्दा बढी छ । हाल क्रिप्टोकरन्सी बजारमा आएको गिरावटले रोकिने नाम लिएको छैन । पछिल्ला २४ घण्टामा धेरै ठूला क्रिप्टोमा २ प्रतिशतसम्म गिरावट आएको छ । यद्यपि बिटकोइनमा केही सुधार देखिएको छ । कोइनमार्केटक्यापका अनुसार २४ घण्टामा बिटकोइन ०.७७ प्रतिशत बढेको छ । त्यस्तै, इथेरियम १.२० प्रतिशत गिरेको छ । यीबाहेक रिपल करिब १ प्रतिशत र बाइनान्स करिब २ प्रतिशत घटिसकेका छन् । सोलानामा भने २ प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ । क्रिप्टो करेन्सीमा किन गिरावट ? बिटकोइन, इथेरियमलगायत प्रमुख डिजिटल मुद्रामा ठूलो गिरावट आउँदा बजार मूल्य अरबौं डलरले खुम्चिएको छ । बजार विश्लेषकहरू अमेरिकी फेडरल रिजर्भले निकट भविष्यमा ब्याजदर घटाउने सम्भावना न्यून देखिएको हुँदा जोखिमयुक्त सम्पत्तिमा लगानीकर्ता पछाडि हट्न थालेको बताउँछन् । यससँगै बजारमा ठूलो मात्रामा लिइएका उधारो पोजिसन (लेभरेज ट्रेड) मूल्य घटेपछि जबरजस्ती बन्द (लिक्विडेसन) हुन थालेका छन् । लेभरेज ट्रेड भनेको सानो पूँजी प्रयोग गरेर धेरै ठूलो रकमजस्तै प्रभाव पार्नेगरी गरिएको ट्रेड हो । लेभरेजले ट्रेडरलाई ब्रोकर वा एक्सचेन्जबाट धितो पूँजी लिएर आफ्नो वास्तविक लगानीभन्दा धेरै गुणा ठूलो पोजिशन लिन अनुमति दिन्छ । उदाहरणका लागि यदि तपाईंले १०० डलर लगानी गर्नुभयो र दशौं गुणा लेभरेज प्रयोग गर्नुभयो भने तपाईंले १०० को नभई १ हजार डलर बराबरको ट्रेड गर्न सक्नुहुन्छ । ट्रेड एक्सचेन्ज स्रोतहरूका अनुसार एकै दिनमा लाखौं डलरका पोजिसनहरू लिक्विडेट भएका छन् । विश्लेषकहरूका अनुसार पछिल्लो महिना देखिएको मूल्यवृद्धिबाट धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री बढाएपछि बजारको उत्साह पनि कमजोर भएको छ । यसले मनोवैज्ञानिक असर घटाउँदै प्यानिक सेलिङ (सोच, विचारबिना, मूल्य घट्दै जाँदा पनि तुरुन्तै आफ्नो सम्पत्ति बेच्ने) को वातावरण बनाएको छ । प्राविधिक कारणले पनि बजार झनै कमजोर बनेको बताइन्छ । बिटक्वाइनले महत्त्वपूर्ण समर्थनस्तर (सपोर्ट लेभल) भत्काएपछि स्वचालित बिक्री अर्डरहरू सक्रिय भएर अर्को श्रृंखलाबद्ध गिरावट सुरु भएको हो । बजारमा तरलता (लिक्विडिटी) कमी देखिनाले ठूला विक्रेताहरूको कारोबारले समेत मूल्य माथि टिक्न नदिएको विश्लेषण छ । इन्डोप्यासिफिक क्षेत्रमा प्रभाव बढाउने दौडमा रूस, भारतसँग समुद्री व्यापार बढाउन पहल सुन भाडामा दिएर लाखौं कमाउँदै धनी
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी छ । बैठकमा मुलुकको समग्र सुरक्षा स्थिति, सीमावर्ती क्षेत्रका चुनौती, भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी सुरक्षा व्यवस्थापन र आन्तरिक सुरक्षामा देखिएका नयाँ जोखिमबारे विस्तृत छलफल गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले आफ्ना–आफ्ना क्षेत्रका प्रतिवेदन प्रस्तुत गर्दै हालको सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् । सम्भावित सुरक्षा चुनौतीहरू पहिचान गर्ने र तिनको प्रतिकार रणनीति तयार गर्ने लक्ष्यसहित बैठकले आगामी दिनमा सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशहरू जारी गर्ने तयारी गरेको छ । प्रधानमन्त्री कार्कीले सुरक्षा संवेदनशीलता बढिरहेको अवस्थामा सबै निकायबीच समन्वय र तयारी अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सुरक्षा नीतिहरूलाई अद्यावधिक गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएकी छन् ।
झिनो अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज बिहीबार ०.९३ अंकले घटेर परिसूचक २५६०.१५ बिन्दु कायम भएको छ । बजारमा दिनभर उतारचढाव जस्तो देखिन्दा कारोबार रकममा भने वृद्धि भएको छ । आज दिनभरमा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता सेयर कारोबार भएको छ । बजार बन्द हुँदा ११२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३२८ वटा कम्पनी कारोबारमा आउँदा ६६ हजार ७९ पटक सेयर किनबेच भएको छ । बजार घट्दा पनि ५ वटा कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ समूहमध्ये ६ समूह बढेको छ भने बाँकी ७ समूह घटेको छ । आज लगानीकर्ताले बढी होटल तथा पर्यटन समूहमा कमाएका छन् भने सबैभन्दा बढी फाइनान्स समूहमा गुमाएका छन् ।
भारतको राहत सहयोग जारी, नेपालले पायो थप १० बेलीब्रिज
हेटौंडा । भारतले नेपाललाई थप १० वटा बेलीब्रिज (फलामे पुल) अनुदानमा दिएको छ । भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो । नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेलीब्रिज अनुदानमा उपलब्ध गराएको हो । गत वर्ष भारतले १० वटा बेलीब्रिज नेपाललाई दिएको थियो । भारतले उपलब्ध गराउने १० वटामध्ये एकवटा बेलीब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीबार हेटौंडामा ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङलाई बेलीब्रिज हस्तान्तरण गरे । भारतले उपलब्ध गराएको बेलीब्रिजको लम्बाइ ७० मिटर रहेको छ । पुलको चौडाइ सिंगल लेन ४.२५ मिटर रहेको छ । पुलको भार बहन क्षमता ३८ मेट्रिक टन रहेको छ । पुल हस्तान्तरण समारोहमा मन्त्री घिसिङले नेपाल प्राकृतिक विपद्को संकटमा रहेका वेला भारतले उपलब्ध गराएको सहायताले क्षति पुगेका पूर्वाधार शीघ्र पुनःस्थापना गरी सडक सञ्जाल सहज बनाउन महत्त्वपूर्ण रहेको बताए । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको कठिन समयमा सहयोग गर्न सधैं तयार रहेको बताए । बाँकी नौवटा बेलीब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने जनाइएको छ ।
प्रभु म्यानेजमेण्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ
काठमाडौं । प्रभु म्यानेजमेण्ट प्रालिका पूर्व सेयरधनी तथा हालका सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलान्चोकको पनौती नगरपालिका–८ का स्थायी बासिन्दा रहेका ५१ वर्षीय महाजुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार ललितपुरको गोदावरी नगरपालिका–३, टौखेलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रभु म्यानेजमेण्ट प्रालिको नाममा सञ्चालित सिटिजन्स बैंकको खातामा विभिन्न व्यक्तिहरूको नामबाट १० लाख रुपैयाँ ननाघ्ने गरी ९ लाख ९९ हजार ५०० रुपैयाँका दरले बारम्बार शंकास्पद रकम जम्मा भएको पाइएको छ । रेमिट कारोबारको क्रममा कम्पनीले रकम भुक्तानी मात्र गर्नुपर्ने भए पनि सोही खातामा एकै दिनमा पटक–पटक अस्वाभाविक रूपमा रकम जम्मा भएको उल्लेख गरिएको छ । उक्त खातामार्फत रेमिट कारोबारको आवरणमा हुण्डीमार्फत नेपालमा पठाइएको अवैध विप्रेषण रकम प्राप्त गरी हिसाब मिलान गरिएको प्रमाण अनुसन्धानबाट भेटिएको प्रहरीको दाबी छ । सोही कार्यमा संलग्न खाता सञ्चालकमध्येका एकका रूपमा महाजुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
ज्योति विकास बैंकको मोबाईल बैंकिङबाट हवाई टिकट किन्दा ५ सय क्यासब्याक पाइने
काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई डिजिटल माध्यमबाट हवाई टिकट खरिद गर्न प्रोत्साहन दिने उद्देश्यले आफ्नो मोबाईल बैंकिङ एप ‘ज्योति स्मार्ट’मार्फत ५०० रुपैयाँ क्यासब्याक प्राप्त हुने योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार देशभरका जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट एपमार्फत खरिद गर्दा ‘फ्लाई५००’ प्रोमो कोड प्रयोग गरेपछि ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनेछ । यो सुविधा पहिलो ३०० जना ग्राहकका लागि मात्र उपलब्ध रहनेछ । मंसिर ३ गतेदेखि लागू गरिएको यो सीमित अवधिको अफर अन्तर्गत ज्योति स्मार्ट एप प्रयोग गरी गरिएको पहिलो हवाई टिकट खरिदमा मात्र क्यासब्याक पाउन सकिने बैंकले स्पष्ट पारेको छ । ज्योति विकास बैंकले डिजिटल कारोबार विस्तार तथा ग्राहकलाई किफायती, सहज र सुरक्षित सेवामा पहुँच दिलाउने उद्देश्यले निरन्तर विभिन्न आकर्षक योजना सञ्चालन गर्दै आएको छ । बैंकका अनुसार डिजिटल बैंकिङ प्लेटफर्मलाई अझ आधुनिक, सुरक्षित र प्रयोगमैत्री बनाउन पनि निरन्तर सुधार भइरहेका छन् ।
होटलमा लगानी थप्दै भीआईपी व्यवसायी, यी हुन् काठमाडौंमा बन्दै गरेका पाँचतारे होटल
काठमाडौं । काठमाडौं उपत्यकाको दृश्य पछिल्लो समय क्रेन र कंक्रिटको हलचलले बदलिएको छ । उपत्यकामा दर्जनभन्दा बढी पाँचतारे होटलहरू एकपछि अर्को निर्माण भइरहेका छन् । नयाँ परियोजनाहरू नक्सा पासको तयारीमा छन् भने केहीले २०२५ भित्रै सञ्चालनमा ल्याउने लक्ष्य लिएका छन् । तीव्र रूपमा बढ्दै गएको निर्माणले उपत्यकाको होटल बजारमा नयाँ प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको छ । लगानीकर्ताको उत्साह ठूलो छ, तर बजार भने त्यति सहज छैन । कोभिड-१९ महामारीपछि नेपालको पर्यटन क्षेत्र पूर्ण रूपमा उठ्न सकेको छैन । राजनीतिक तथा नीतिगत अस्थिरता र आर्थिक सुस्तताले सबैभन्दा बढी प्रभावित भएको होटल क्षेत्रको चुनौतीलाई सामना गर्दै ठूला व्यवसायीहरू होटल क्षेत्रमै लगानी बढाइरहेका छन् । अहिले पनि राम्रै होटल सञ्चालन गरिरहेका अधिकांश व्यवसायीहरुले थप नयाँ परियोजना सुरु गरिरहेका छन् । उनीहरूले चुनौतीमै बलियो सम्भावना देखेर एकपछि अर्को नयाँ होटल परियोजना सुरु गरिरहेका छन् । विदेशबाट फर्किएर स्वदेशै केही गर्छु भनेर एकपछि अर्को नयाँ परियोजनामा हात हालिरहेका कर्मा तेञ्जिङ हुन् वा लामो समय होटल क्षेत्रमै क्रियाशील रहेर बन्द भइसकेको अन्नपूर्ण होटलको सेयर बिक्री गरेर नयाँ सेयरधनी भित्र्याएकी सिर्जना राणाहरू नै किन नहुन् सबैले होटल क्षेत्रमा नयाँ अवसर र सम्भावना देखेका छन् । नेपाली व्यवसायीमाझ आकर्षक छवि बनाएका सिद्धार्थ राणा, होटल मेरियट सञ्चालन गरेर सफल व्यवसायीको परिचय बनाएका शशिकान्त अग्रवाल र आफूलाई अर्बपति भनेर चिनाउन मन पराउने विनोद चौधरीहरूले एकपछि अर्को नयाँ होटलमा लगानी थप्दा यो क्षेत्रमा थुप्रै अवसर रहेको बुझाइ अधिकांश व्यवसायीको छ । उपत्यकामा पाँचतारे होटलहरूको संख्या बढेसँगै प्रत्यक्ष रूपमा सेवा प्रतिस्पर्धा, रोजगारी र सहायक व्यवसायहरू विस्तार हुने अपेक्षा छ । चुनौती धेरै भए पनि लगानीकर्ताले उपत्यकाको भविष्यमा विश्वास गर्दै ‘फाइभ–स्टार रेस’लाई तीव्र बनाइरहेका छन् । त्यसैले त सुपरमार्केट व्यवसायमै व्यस्त मीनबहादुर गुरुङ र शिक्षाक्षेत्रमै सक्रिय उमेश श्रेष्ठहरू पनि हस्पिटालिटीमा छिरेका छन् । उसो त व्यवसायी शेष घलेले सुविधा सम्पन्न होटल शेराटन निर्माण गर्छु भनेर तम्सिएको वर्षौं बित्यो । उनले हालसम्म होटल शेराटनको निर्माण सम्पन्न गरिसकेका छैनन् । उनी सो परियोजनामा समयमै सफल हुन नसके पनि व्यवसायीको लगानीका लागि आकर्षणको क्षेत्र भने हस्पिटालिटी नै देखिएको छ । होटल विभागका अनुसार काठमाडौंमा एक दर्जन बढी पाँचतारे होटलहरू निर्माणाधीन अवस्थामा छन् । आज हामीले काठमाडौंमा निर्माणाीधीन अवस्थामा रहेका पाँचतारे होटलको बारेमा सामग्री तयार गरेका छौं । ‘द ओबरोय काठमाडौं’ काठमाडौंको रविभवनमा ७ अर्ब रुपैयाँ बढी लगानीमा सुविधा सम्पन्न पाँचतारे होटल निर्माणाधीन अवस्थामा छ । होटलको निर्माण कार्य सुरु भइसकेको छ । सिप्रभ्य होटल एन्ड रिसोर्ट प्रालिले ७ अर्ब १२ करोड ४० लाख रुपैयाँ लगानीमा लम्जरियस होटल ‘द ओबरोय काठमाडौं’ होटल निर्माण गर्न लागेको हो । उक्त होटल सन् २०२९ को जुनसम्ममा निर्माण सम्पन्न गरी व्यावसायिक कारोबार गर्ने योजना बनाएको छ । कम्पनीअनुसार यो होटल निर्माण सम्पन्न सन् २०२६ को डिसेम्बरसम्ममा सम्पन्न हुनेछ । व्यवसायिक कारोबार भने सन् २०२९ बाट गर्ने कम्पनीले लक्ष्य लिएको छ । कम्पनीले ७५ वटा लक्जरियस कोठाको सुविधासहित होटल निर्माण गर्ने भएको छ । कम्पनीले प्रतिकोठाको लागत ९ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । कम्पनीमा सिद्धार्थ राणाको सबैभन्दा बढी स्वामित्व रहेको छ । कम्पनीमा राणाको ६० प्रतिशत र एम/एस सूर्य इन्टरप्राइजेज प्रालि र एम/एस एसआर होल्डिङको २०/२० प्रतिशत स्वामित्व छ । होटल निर्माणका लागि कम्पनीले ४ अर्ब २७ करोड ४० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि रेटिङ गराइसकेको छ । समिट होटल ललितपुरको कुपण्डोल हाइटमा चौधरी समूह, एनई समूह र समिट समूहको संयुक्त लगानीमा आधुनिक पाँचतारे समिट होटलसहितको अपार्टमेन्ट निर्माणाधीन अवस्थामा छ । यो होटल व्यवस्थापन मेरियट इन्टरनेशनलको पाँचतारे लक्जरी ब्रान्ड ‘सेन्ट रिजिस’ले गरेको छ । यो परियोजनामा जग्गासहित साढे ७ अर्ब लगानी रहेको छ । होटलमा १० हजारभन्दा बढी कोठाहरू रहेका छन् । २ वटा अपार्टमेन्टमा समिट रेसिडेन्सेस् र समिट सिग्नेचर रेसिडेन्सेस् रहने छ । अपार्टमेन्टका भवन ग्राउन्डबाहेक १७ तलाको रहनेछ । विश्वका शौखिन खर्चालु पर्यटकलाई लक्षित गरेर यो ब्रान्ड ल्याउन लागिएको कम्पनीले जनाएको छ । ‘फोर प्वाइन्ट्स बाई शेराटन’ काठमाडौंको ठमेलमा मनाङ हस्पिटालिटी प्रालिले ‘फोर प्वाइन्ट्स बाई शेराटन’ ब्रान्डअन्तर्गत पाँचतारे होटल पुनःनिर्माण गर्न लागेको छ । कम्पनीले ठमेलकै पुरानो होटल वैशालीको जग्गा र भवन खरिद गरेर पुनःनिर्माण गरी पाँचतारे होटल निर्माणको प्रक्रिया अगाडि बढाएको हो । यो होटलमा सबैभन्दा धेरै सेयर मनाङ हस्पिटालिटीका अध्यक्ष कर्मा तेन्जिङको रहेको छ । उनको यो होटलमा ६३ प्रतिशत सेयर स्वामित्व रहेको छ । कर्मा तेन्जिङ कर्मा ग्रुपका अध्यक्षसमेत हुन् । उनको घरजग्गा, शिक्षा र हस्पिटालिटी लगायत क्षेत्रमा लगानी रहेको छ । तेन्जिङ अर्थशास्त्रमा विद्यावारिधि गरेका एक अनुभवी व्यवसायी हुन् । कम्पनीले म्यारियट इन्टरनेशनललाई होटलको व्यवस्थापन दिने उल्लेख गरेको छ । कम्पनीले कुल २ अर्ब ६७ करोड ७० लाख लागतमा होटल पुनःनिर्माण गर्न लागेको हो । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी रहनेछ । कम्पनीले होटलको पुनःनिर्माण गरे सन् २०२७ मा आंशिक र २०२८ मा पूर्ण व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । कम्पनीले बैंकबाट दीर्घकालीन २ अर्ब र अल्पकालीन अवधिको लागि ३ करोड गरी कुल २ अर्ब ३ करोड रुपैयाँको कर्जाका लागि रेटिङ पनि गराइसकेको छ । हाल यो योजना पुनःनिर्माणको प्रारम्भिक चरणमा रहेको छ। ले मेरेडिएन काठमाडौंको महाराजगञ्जमा ‘ले मेरिडिएन’ निर्माणाधीन छ । शैक्षिक, पदयात्रा तथा आरोहणजस्ता पर्यटनसम्बन्धी व्यवसायहरूमा संलग्न कर्मा तेञ्जिङले ४ अर्ब २ करोड रुपैयाँ लागतमा ‘ले मेरिडियन’ होटलको निर्माणको प्रक्रिया अगाडि बढाएका हुन् । होटलको व्यवस्थापनमा लक्जरी होटल म्यानेजमेन्ट (बीभीआई) रहेको छ । होटल २ तलाको बेसमेन्टसहित १२ तला र १७० कोठा हुनेछन् । होटलमा क्यासिनो, ठूलो ब्यांक्वेट हल, मिटिङ हल, स्वीमिङ पुल, जीम, साउना, स्पा, रेष्टुरेन्ट तथा बारलगायत आधुनिक सुविधा हुनेछन् । कर्मा ग्रुपले सन् २०२६ को अन्त्यसम्म होटल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखेको छ । होटलसँगै कर्मा ग्रुपले २ अर्ब रुपैयाँको लगानीमा अपार्टमेन्ट पनि बनाउँदैछ । उक्त ग्रुपले महाराजगञ्जमा १६२ युनिटको कर्मा रेसिडेन्सी अपार्टमेन्ट बनाउने भएको हो । अपार्टमेन्टमा पनि होटलमा जस्तै सुविधा उपलब्ध हुनेछन् । जीम, साउना, स्वीमिङ पुल, कम्युनिटी हल, खुला ठाउँलगायत सुविधा अपार्टमेन्टमा बस्नेले उपभोग गर्न पाउनेछन् । अन्नपूर्ण होटल पाँच दशक पुरानो नेपालको पहिलो पाँचतारे होटेल अन्नपूर्ण पुनःनिर्माणको कार्य भइरहेको छ । यो होटल कोरोना भाइरसको महामारी सुरु भएपछि २०७६ चैतमा भएको लकडाउनपछि नै होटेल व्यावसायिक सञ्चालनमा छैन । काठमाडौंको दरवारमार्गमा अवस्थित यो होटलकोे सञ्चालक सिर्जना राणा हुन् । दरवारमार्गमा करिब ४४ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा अहिले मीनबहादुर गुरुङ र उमेश श्रेष्ठ पनि लगानीकर्ता थपिएका छन् । इन्टरकन्टिनेन्टल काठमाडौं लाजिम्पाटस्थित होटल सांग्रिलालाई इन्टरकन्टिनेन्टल काठमाडौंको रूपमा पुनस्र्थापना गर्न लागिएको छ । लामो समयदेखि बन्द रहेको यो होटलको व्यवस्थापन बेलायतको इन्टरकन्टिनेन्टल होटल्स ग्रुपले गरेको छ । २२४ कोठा क्षमता भएको यो होटल अलडे डाइनिङ, स्वीमिङ पुल, बिजनेस सेन्टर, इन्डोर आउटडोरको सुविधा रहेको छ । होटल लालचन काठमाडौंको बाँसबारीमा होटल लालचान निर्माणाधीन अवस्थामा रहेको छ । कम्पनीका अनुसार निर्माण कार्य ६० प्रतिशत सम्पन्न भइसकेको छ । ५ रोपनी जग्गामा निर्माण भइरहेको यो होटलको १४ तला रहने छ । लालचन समूहले निर्माण गर्न लागेको यो होटल तीन अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको छ । कम्पनीले २ अर्ब ३४ करोड ऋणको रेटिङ गरिसकेको छ । ग्रुपको नेतृत्व सोमबहादुर लालचनले गर्दै आएका छन् । कम्पनीका अनुसार होटलको पहिलो तल्लामा किचन र मिटिङ हल रहनेछ । यसैगरी, होटलको दोस्रो तल्लामा स्पा, स्विमिङ पुल, मिटिङ हल र जिम हल बन्नेछ । तेह्रौँ तलामा रेष्टुराँ र लाउन्ज रहने छ । मोक्सी मेरियट काठमाडौंको कमलादीमा निर्माण भएको मोक्सी मेरियट सञ्चालनमा आउने तयारीमा छ । करिब दुई अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त होटलका सञ्चालक शशिकान्त अग्रवाल हुन् । इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटलमार्फत निर्माण भएको होटल मेरियट मोक्सी ब्राण्डमा आधारित छ । दुई रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त होटलमा एक सय वटा कोठाहरु छन् । होटलमा क्याफेटेरिया, बार, स्वीमिङ पुल, साउना स्टीम, हेल्थ क्लबलगायतका सुविधा हुने छ । यो होटल युवावर्ग र विदेशी पहुना लक्षित हो । ‘मन्नत’ बुटिक सेक्योर हस्पिटालिटीले होटल मन्नत ब्राण्डमा सञ्चालन गर्ने भएको हो । कोभिड महामारीलगायत विभिन्न कारणले गर्दा समयमै होटल निर्माण सम्पन्न हुन नसकेको जनाएको छ । होटल दिलकुमार श्रेष्ठले निर्माण थालेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल २.२ किलोमिटर दुरीमा रहेको छ । कम्पनीका अनुसार हालसम्म हालसम्म ८५ प्रतिशत भौतिक र ९० प्रतिशत वित्तीय प्रगति भएको छ । होटल आगामी जनवरीमा सफ्ट लञ्च गर्ने लक्ष्य व्यवस्थापनले लिएको छ । आगामी २०२६ को जुनदेखि होटल पूर्ण क्षमतामा सञ्चालनमा आउने व्यवस्थापनले जनाएको छ । कोभिड महामारीपछि समय लम्बिँदा लागत पनि बढेको सेक्योर हस्पिटालिटीले जनाएको छ । ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत संस्थापकको स्वपुँजी(इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ । सेक्योर्डले ९९ करोड ४७ लाख रुपैयाँ ऋणको रेटिङसमेत गराइसकेको छ । होटलमा सुविधाजनक बैठक हल, सम्मेलन हललगायत अन्य सुविधाहरू समावेश छन् ।