विकासन्युज

कांग्रेस नीति तथा प्रतिष्ठानमा छ उपसमितिका संयोजक चयन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमितिको संयोजक चयन गरिएको छ । प्रतिष्ठानका संयोजक एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले सङ्गठनलाई थप प्रभावकारी बनाउन आइतबार (आज) छ वटा उपसमिति गठन गरी संयोजकको जिम्मेवारी तोकेका हुन् ।  उनले अपाङ्गता संवाद, समन्वय र सशक्तिकरण उपसमितिमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तिकरण उपसमितिमा रेशम गुरुङ, दुव्र्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिमा डा. डीबी सुनार तथा पूर्वआप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईंलाई संयोजकको जिम्मेवारी दिइएको बताए ।  यस्तै, सार्थक सम्प्रेषण उपसमितिमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिमा सिताराम काफ्लेलाई संयोजकको जिम्मेवारी दिइएको छ ।  उपसभापति शर्माको अध्यक्षतामा यही असार २५ र २६ गते बसेको बैठकको निर्णयानुसार उनीहरुलाई उपसमितिको संयोजक तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकले उपसमिति संयोजकहरुको मनोनयनका साथै प्रतिष्ठानको आगामी कार्यदिशा र विविध विषयमा समेत महत्वपूर्ण निर्णय गरेको सो पार्टीले जनाएको छ ।   

विद्युत मर्मतमा अब ढिलाइ नहुने, कर्णालीमा अत्यावश्यक क्रेन पठाइँदै

काठमाडौं । कर्णाली प्रदेशमा विद्युत सेवा थप भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यले नेपाल विद्युत प्राधिकरणलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराइने भएको छ । यस निर्णयसँगै विद्युत अवरोधपछि मर्मत कार्य छिटो सम्पन्न गर्न सहज हुने अपेक्षा गरिएको छ । गत असारको दोस्रो सातामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले कर्णाली प्रदेशसहित तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमन गरेका बेला सुर्खेतलगायत क्षेत्रमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत आपूर्ति अवरुद्ध हुने समस्या र मर्मतका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो ।  सो क्रममा नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालयले आवश्यक उपकरण व्यवस्थापनका लागि मन्त्रीको ध्यानाकर्षण गराएको थियो । अनुगमनपछि मन्त्री श्रेष्ठको पहलमा आवश्यक समन्वय अघि बढाइएको र त्यसकै परिणामस्वरूप नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन आवश्यक प्रक्रिया तथा सर्भिसिङ सम्पन्न भएपछि कर्णाली प्रदेशमा पठाउने निर्णय भएको हो । हालसम्म विद्युत उपकरण मर्मतका लागि अन्य प्रदेशबाट क्रेन ल्याउनुपर्ने अवस्थाका कारण सेवा पुनःस्थापनामा ढिलाइ हुने गरेको थियो । अब प्रदेशमै आवश्यक उपकरण उपलब्ध भएपछि मर्मत कार्य तीव्र हुने, विद्युत अवरोधको अवधि घट्ने तथा सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास गरिएको छ । ऊर्जा मन्त्रालयले स्थानीय तहमा देखिएका व्यावहारिक समस्या समाधान गर्दै विद्युत सेवाको गुणस्तर सुधार र नागरिकलाई छिटो तथा सहज सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिएको जनाएको छ ।

रविलाई भेट्न निवासमै पुगे प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।  प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले आइतबार (आज) दिउँसो लामिछानेकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।  उनी निकट स्रोतका अनुसार यो भेट नियमित हो । यसअघि पनि सभापति लामिछानेसँग राजनीतिक र संगठनात्मक कुराहरूबारे छलफल हुने गरेको थियो ।  आजको भेटमा पनि सरकारका पछिल्ला काम कारबाही र संगठनात्मक विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

सुकुमवासी समस्याको समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री सुधन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी बसोबास गर्दै आएका सुकुमवासी परिवारसँगको छलफलमा उनले सुकुमवासी/भूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको बताए ।   ‘तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो, यसलाई सरकारले गहनसँग बुझेको छ’, गृहमन्त्री गुरुङले भने, ‘यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुपर्‍यो ।’  सुकुमवासीरभूमिहीन समस्यालाई समाधान गर्ने सरकारको प्रयासमा कसैले पनि राजनीति गर्न नहुने उनको भनाइ छ ।  

खामेनी हत्याको बदला लिन ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक

काठमाडौं । इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको बदलाका लागि लक्षित गरिने भन्दै अमेरिकी, इजरायली तथा युरोपेली नेताको नाम समेटिएको सूची सार्वजनिक गरेको छ । गत फेब्रुअरी २८ मा अमेरिकी–इजरायली आक्रमणमा खामेनीको मृत्यु भएपछि उनका छोरा तथा उत्तराधिकारी मोजताबा खामेनीले बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन्। यसैसाता सम्पन्न अन्त्येष्टिपछि जारी आफ्नो पहिलो सन्देशमा मोजताबाले भने, ‘बदला लिनु हाम्रो राष्ट्रको चाहना हो र यो अवश्य कार्यान्वयन हुनेछ ।’ उनले सूचीमा रहेका व्यक्तिले आफ्नो ओछ्यानमै शान्तिपूर्ण मृत्युको अपेक्षा गर्न नसक्ने चेतावनी दिएका छन् ।  तेहरान महानगरपालिकाको स्वामित्वमा प्रकाशित ‘हमशहरी’ पत्रिकाले शनिबार राति आफ्नो अनलाइन संस्करणमा मोजताबाको उक्त भनाइसँगै १३ विदेशी नेताको तस्बिर समावेश गरिएको ‘इन्फोग्राफिक’ सार्वजनिक गरेको हो । यद्यपि, सर्वोच्च नेताको सन्देशमा लक्षित व्यक्तिको सूची तयार गरिएको उल्लेख भए पनि कुनै नाम सार्वजनिक गरिएको थिएन ।  पत्रिकाले सार्वजनिक गरेको सूचीलाई इरानी सरकार वा अन्य आधिकारिक निकायले अनुमोदन गरेको सङ्केत पनि छैन । उक्त सूची पत्रिकाको आइतबारको मुद्रित संस्करणमा समावेश गरिएको छैन । ‘इन्फोग्राफिक’मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, बेलायती प्रधानमन्त्री केयर स्टार्मर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी तथा जर्मनीका चान्सलर फ्रेडरिक मर्जलगायतका नेता समावेश छन् । युद्धका क्रममा इरानले युरोपेली मुलुकले आफ्नो भूमिमाथि भएका आक्रमणको निन्दा नगरेको तथा अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिएर आक्रमणमा सहयोग पुर्‍याएको आरोप लगाउँदै आएको छ । समाचारका अनुसार मोजताबा खामेनी युद्ध सुरु भएयता सार्वजनिक रूपमा देखा परेका छैनन् । उनका पिता मारिएको आक्रमणमा उनी पनि घाइते भएको बताइएको छ ।

बालिकामाथि यौनजन्य क्रियाकलाप गरेको आरोपमा श्रेष्ठ पक्राउ

काठमाडौं । बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको खैरहहनी नगरपालिका–१० का ३५ वर्षीय विकासकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।       श्रेष्ठले आफ्नो होटल नमस्ते मिलिजुली खाजा घरमा काम गर्ने १७ वर्षीया बालिकामाथि यौनजन्य क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको हो ।  श्रेष्ठले बालिकालाई शारीरिक सम्बन्ध कायम राख्नका लागि ५० हजार रुपैयाँ दिन्छु भन्दै प्रलोभन देखाएका थिए ।  उनले बालिकाको संवेदनशील अङ्गहरू छुने, बालिकाको ह्वाट्सप, इन्सटाग्रामलगायत सामाजिक सञ्जालमा सन्देश तथा भिडियो पठाउने गरेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवले जानकारी दिए ।  श्रेष्ठलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।  

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

काठमाडौं । सरकार र गणेश नेपालीको परिवारबीच नौ बुँदे सहमति भएको छ ।  जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा काठमाडौं महानगरपालिका र पीडित पक्षबीच भएको वार्तापश्चात नौ बुँदे सहमति भएको हो ।  गत बिहीबार त्रिपुरेश्वरमा आत्मदाह गरेका २५ वर्षीय नेपालीको शनिबार मृत्यु भएको थियो । सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिने भएको छ ।उक्त समितिले गठन भएको मितिले सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन बुझाउनेछ । साथै गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने सहमतिसमेत भएको छ । घटना भएको दिन घटनास्थलमा खटिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरी कर्मचारीलाई तत्काल निलम्बन गरी छानबिन समितिको प्रतिवेदन र सिफारिसअनुसार थप कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने सहमति पनि भएको छ । सहमतिअनुसार काठमाडौं महानगरपालिकाले मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गर्नेछ भने मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्चको व्यवस्था गर्नेछ । यसका लागि सम्बन्धित सरकारी निकायहरूले आवश्यक समन्वय गर्ने उल्लेख गरिएको छ । यस्तै, काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट मृतकका आश्रित परिवारलाई राहतस्वरूप उपयुक्त आर्थिक सहयोग उपलब्ध गराइनेछ । मृतकको अन्त्येष्टि तथा काठमाडौंमा गरिने सम्पूर्ण काजकिरियाको व्यवस्थापन पनि महानगरपालिकाले गर्नेछ ।  

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीले भनिन्- ‘यसलाई एलिफेन्ट सेन्चुरी बनाउनुपर्छ’

काठमाडौं । कृषि, वन तथा पर्यावरण  मन्त्री गिता चौधरीले चितवनस्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण गरेकी छन् । निरीक्षणका क्रममा मन्त्री चौधरीले केन्द्रको वर्तमान अवस्था, पूर्वाधार, हात्ती संरक्षण तथा व्यवस्थापनका विषयमा जानकारी लिएकी थिइन् । उनले केन्द्रको समग्र सुधार, व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा आवश्यक पूर्वाधार विकासका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइन् ।  मन्त्री चौधरीले दीर्घकालीन रूपमा यस केन्द्रलाई एलिफेन्ट सेन्चुरीका रूपमा विकास गरी संरक्षण र पर्यावरणीय पर्यटनको प्रवद्र्धनसँग जोड्नुपर्ने आवश्यकता औंल्याइन् ।  उनले प्राकृतिक वातावरणमै हात्ती संरक्षण, जैविक विविधताको संवद्र्धन तथा दिगो पर्यटन विकासलाई प्राथमिकतामा राखेर योजना अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइन् ।  उनले हात्ती संरक्षण, पर्यावरण संरक्षण र पर्यटन विकासलाई एकीकृत रूपमा अघि बढाउँदै चितवनलाई अझ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको समेत बताइन् ।