विकासन्युज

५ करोडको लगानीमा बन्धातालमा पूर्वाधार निर्माण गरिँदै

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित पर्यटकीय गन्तव्य बन्धातालको पर्यटन विकासका लागि पूर्वाधार निर्माण सुरु गरिएको छ । सरकारले २०७५ सालमा घोषणा गरेका सय वटा नयाँ पर्यटकीय गन्तव्यमध्येको बन्धातालमा पर्यटकीय पूर्वाधार निर्माणका लागि सङ्घ सरकारको रु पाँच करोड ४३ लाख लागतमा निर्माणकार्य भइरहेको छ । ताललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यअनुरुप गत जेठमा ठेक्का सम्झौता भएर काम भइरहेको बेलौरी नगरपालिकाका इञ्जिनियर जगदीश जोशीले जानकारी दिए ।  'हाम्रो अवधारणा बीचमा मन्दिर बनाउने र मन्दिरसम्म जानका लागि पुल निर्माण गर्ने हो, छेउछाउमा पनि ट्रस्ट पुल बनाउने योजना हो', जोशीले भने, 'यो योजनाअनुसार तालमा पूर्वाधार निर्माण गर्न रु २७ करोड लागत अनुमान गरिएको छ ।' उनले पहिलो चरणमा तालको चारैतिर पर्खाल निर्माण गरेर संरक्षण गरिने र पर्यटकको सहजताका लागि विभिन्न संरचना निर्माण हुने बताए ।  सत्ताइस बिघा क्षेत्रफलमा फैलिएको यो तालको संरक्षण र पर्यटकीय विकासका लागि पालिकाले पनि नगर गौरवको योजनामा समेटेर बन्धाताललाई बेलौरीको चिनारीका रूपमा विकास गर्न खोजेको बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले बताए । 'तालको विकासका लागि थप बजेटका लागि सङ्घ र प्रदेश सरकारसँग माग गरिरहेका छौँ', उनले भने, 'नगरपालिकाको बजेटबाट पनि पर्यटकीय विकासका लागि पूर्वाधार निर्माण भइरहेका छन् ।' ताल परिसरमा पूर्वाधार निमार्णका लागि दाउत निर्माण सेवा र भूमिराज कन्स्ट्रक्सनले संयुक्त रूपमा गरिरहेका छन् । गत जेठ ९ गतेको ठेक्का सम्झौताअनुसार आगामी असार मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने छ । स्थानीयका अनुसार गोलो घेरामा फैलिएको भएकाले तालको नाम बन्धाताल रहन गएको हो । उक्त तालमा विभिन्न प्रजातिका माछा, जलपन्छी र चराचुरुङ्गीको समेत अवलोकन गर्न सकिन्छ । रासस

कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकै परिवारका ५ जना बिरामी

दोधारा चाँदनी । कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी भएका छन् । दोधारा-चाँदनी नगरपालिका-६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँच जना विषालु च्याउ सेवनबाट बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । उनका अनुसार सुनारका १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीया नाति भीम सुनार, १२ वर्षीया नाति वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सु सुनार बिरामी भएका हुन् । 'भारतको नङ्ग्रा जङ्गलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा उहाँको परिवारका पाँचै जना बिरामी परेका हुन्', बोहराले भने, 'पाँचै जनाको दोधारा-चाँदनी अस्पतालमा उपचार भइरहेको छ ।'

नेपालमा उत्पादित स्टिल भारतले लगायो प्रतिबन्ध, एक महिनादेखि निर्यात रोकिँदा गोदाममै थन्किए

काठमाडौं । नेपालमा उत्पादित स्टिल जन्य उत्पादन एक महिनादेखि भारत निर्यात हुन सकेको छैन । भारतीय पक्षले प्रतिबन्ध लगाएपछि निर्यात ठप्प भएको हो । प्रतिबन्धले नेपालको स्टिल उद्योग क्षेत्रमा ठूलो असर पर्ने अनुमान गरिएको छ ।      यसका कारण विशेष आर्थिक क्षेत्र (सेज) मा रहेका उद्योगहरू प्रभावित भएका छन् । निर्यात गर्नुपर्ने बाध्यकारी व्यवस्थाबीच मुख्य आयातकर्ता भारतले उत्पादित सामानको भन्सार जाँच पास नगरिदिँदा उद्योगीहरु समस्यामा परेका हुन् ।       भारतमा स्टिल निर्यात गर्ने प्रणाली ‘स्टिल इम्पोर्ट म्यानेजमेन्ट सिस्टम’ (सिम्स)मा नेपालको मात्र नाम हटाइएको सेजमा रहेको विस्तार ग्लोबल प्रालिका प्रबन्धक रुपक गर्गले बताए ।  ‘हामीले सिम्समा फाराम भर्न खोज्दा नेपालको अप्सन नै देखाउँदैन,’ गर्गले भने, ‘एक महिनादेखि निर्यात रोकिएको छ ।’ विस्तार ग्लोबलमा मात्र ३०० देखि ४०० कामदारहरूले रोजगारी पाएका थिए । एक महिनादेखि निर्यात रोकिँदा उत्पादित सामान गोदाममै थन्किएका छन् । उत्पादित भाँडाहरू ९० प्रतिशत बढी भारतमा निर्यात हुँदै आएको थियो । विस्तार ग्लोबलका लेखा अधिकृत अरविन्द त्रिपाठीले सरकारले छिट्टै समस्या समाधानको पहल गर्न आग्रह गरे । विशेष आर्थिक क्षेत्र भैरहवाबाट विस्तार ग्लोबलले चालु आर्थिक वर्षमा ७२ करोड रुपैयाँ बढीको भाँडा निर्यात गरेको छ ।       सेजमै खानेपानी ट्याङ्की उत्पादन गर्दै आएको पञ्चकन्या समूह पनि निशानामा परेको छ । पञ्चकन्याको ट्याङ्की पनि भारत निर्यातमा रोकिएको छ ।  ‘एकद्वार सेवा पाउने अपेक्षासहित सेजमा उद्योग स्थापना गरेका थियौँ, अहिले निर्यात रोकिँदा झन समस्या भयो,’ पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले भने, ‘छिट्टै केही निकास ननिस्के हामी सेजबाट बाहिरिने मनस्थितिमा पुगेका छौँ, उत्पादन बन्द गरिसकेका छौँ ।’ पहिला भारतले उत्पादित सामानमा मात्र ब्यूरो अफ इण्डियन स्ट्याण्ड्स (बिआइएस) प्रमाणपत्र खोज्ने गरेको थियो । त्यो सेजमा स्थापित विस्तार ग्लोबलले लिए पनि पञ्चकन्याले लिएको थिएन । तर स्ट्यानलेस स्टिलमा भारतमै बिआइएस नभएकाले खानेपानीका ट्याङ्की निर्यात हुँदै आएका थिए । हाल भारतीय पक्षले कच्चा पदार्थमा बिआइएस प्रमाणपत्र नभएको कारण देखाउँदै सिम्सबाट नेपाललाई हटाएको नेपाली उद्योगीहरुको अनुमान छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले यस निर्णयले नेपाली स्टिल उद्योगलाई ठूलो धक्का लाग्ने बताए । यस विषयमा उद्योग मन्त्रालयमा खबर गरिएको विशेष आर्थिक क्षेत्र प्राधिकरणका सूचना प्रविधि वरिष्ठ सहायक सागर सिलवालले जानकारी दिए । उद्योग मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालय, भारतीय दूतावासलगायतमा पहल गर्नुपर्ने उनको भनाइ छ ।

छात्रवृत्तिमा साढे ५ अर्ब खर्च हुन्छ, चिकित्सक युरोपका गल्लीमा नभइ नेपालकै अस्पतालमा भेटिनुपर्छ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले चिकित्सा क्षेत्रमा उत्पादन भएका दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशभित्रै खपत हुने वातावरण बनाउन आवश्यक रहेकामा जोड दिएका छन् । त्रिवि शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सवमा अवसरमा उनले चिकित्सा शिक्षामा सुधार आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि शिक्षा मन्त्रालय आवश्यक सहजीकरण गर्न तयार रहेको जानकारी दिए ।  मन्त्री पन्तले भने, ‘यहाँ उत्पादित चिकित्सक युरोपका गल्ली र अस्पतालमा भन्दा नेपालकै अस्पतालमा भेटिनुपर्ने वातावरण सृजना गर्न सबैले सहयोग गर्नुपर्ने जरुरी छ ।’ छात्रवृत्तिका बारेमा समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘साढे पाँच अर्ब रुपैयाँ जति छात्रवृत्तिमा खर्च हुन्छ । करिब ७५ प्रतिशत विद्यार्थी छात्रवृत्तिमा पढ्छन् । सतप्रतिशत नभए पनि कम्तीमा ७५ प्रतिशतले स्वदेशमा सेवा गर्नुपर्छ । देशले लगानी गरेपछि त्यसको प्रतिफल पनि यहीँ फर्किनुपर्छ ।’  मन्त्री पन्तले नेपाली चिकित्सक र नर्सको योग्यता माथि प्रश्न उठाउन जरुरी नरहेको स्पष्ट पारे ।  ‘हाम्रो उत्पादन कमजोर छन् भन्ने मलाई लाग्दैन । यदि उहाँहरू अयोग्य छन् भने विदेशमा काम कसरी पाइरहेका छन् ? यसबारे गम्भीर छलफल गरिनुपर्छ,’ उनले भने ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पताललाई चिकित्सा जनशक्ति उत्पादनको प्रमुख केन्द्रका रूपमा रहेको बताए । ‘यो अस्पताल केबल बिरामीको उपचारका लागि मात्र नभई, उपचार गर्ने जनशक्ति उत्पादन गर्ने अभ्यास केन्द्र हो,’ उनले भने ।  स्वास्थ्यकर्मीलाई सुरक्षित रूपमा काम गर्ने वातावरण बनाइ दिनुपर्नेमा उनको जोड छ । बिरामी निको नभए चिकित्सक र नर्सलाई दोष दिने चलन रहेकाे उनकाे भनाइ छ । ‘समाजले स्वास्थ्यकर्मीमाथि अविश्वास राख्नु हुँदैन । कम जनशक्तिमा बढी सेवा गर्नुपर्ने हुन्छ, त्यसैले उहाँहरूलाई सुरक्षित वातावरणमा काम गर्न दिने, विशिष्ट क्षमता भएको जनशक्तिका रूपमा पहिचान दिने काम गर्नुपर्छ,’ उनले भने ।  स्वास्थ्य सेवा ऐन ल्याउने तयारी भइरहेको जानकारी दिँदै मन्त्री पन्तले थपे, ‘स्वास्थ्यकर्मीलाई सुरक्षित, दबाब रहित वातावरणमा काम गर्नसक्ने र सम्मानका साथ बाँच्नसक्ने व्यवस्था आवश्यक छ । तलब पनि समान र प्रोत्साहन योग्य हुनुपर्छ ।’ त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दीपक अर्यालले त्रिवि शिक्षण अस्पताल गुणस्तरीय जनशक्ति उत्पादनमा योगदान पुर्‍याउँदै आएको बताए ।  अनुसन्धानको क्षेत्रलाई बलियो बनाउनुपर्ने भन्दै विद्यार्थी सङ्ख्या वृद्धि गर्ने र विदेशबाट विद्यार्थी भर्ना बढाउने किसिमका कदम चाल्नुपर्ने उनको धारणा छ । प्रत्येक क्षेत्रमा अनुसन्धान हुनुपर्छ, अनुसन्धान केन्द्र खोल्न आवश्यक रहेको उनले बताए । 

सानिमा रिलायन्स लाइफको साढे १६ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको साढे १६ लाख कित्ता सेयर बिक्रीमा राखेका हुन् ।  कम्पनीका अनुसार केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता सेयर बिक्रीमा राखेका हुन् । केही सेयरधनीले सेयर बिक्रीमा लागि निवेदन दिएकोमा सञ्चालक समितिको असार १३ गते र असार २७ गते सम्पन्न बैंकले स्वीकृति दिएको कम्पनीले जनाएको छ ।  कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिन अर्थात् भदौ २ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त समयभित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

धरान-चतरा खण्डका ३ वटा पुल अन्तिम चरणमा, समस्याको दीर्घकालीन समाधान

काठमाडौं । मदन भण्डारी राजमार्ग अन्तर्गत धरान-चतरा सडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् । यी पुलहरूसँगै सो सडक खण्डमा पर्ने रेल्वे पुलको निर्माण भने अझै सुरु हुन सकेको छैन । निर्माणको जिम्मा लिएको सूर्य एण्ड सन्स कन्स्ट्रक्सन निर्माण कम्पनीका इञ्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ खोला, बगुवा खोला र ठकुरी खोलाको पुल निर्माण करिब ९५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ । उनले धरान-चतरा सडक खण्ड सुनसरीको बराहक्षेत्र नगरपालिका-१ मा निर्माण भइरहेको दुवैतर्फ पेटीसहित ६० मिटर लामो बाघ खोला पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ । त्यस्तै, बगुवा खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलको निर्माण ९५ प्रतिशत र ठकुरी खोलामा निर्माणाधीन ३५ मिटर लामो पुलको काम ९० प्रतिशत सम्पन्न भएको उहाँले जानकारी दिए ।  ‘रेल्वे पुलको काम भने जङ्गल क्षेत्रभित्र पर्न गएका कारण सुरु हुन सकेको छैन । जङ्गल क्लियरेन्सको काम अफिसले गर्ने भएकाले क्लियरेन्स भएपछि तुरुन्तै काम सुरु गरिनेछ,’ इञ्जिनियर श्रेष्ठले भने ।  कम्पनीले चार वटा मोटरेबल पुल निर्माणका लागि भ्याटसहित २१ करोड ७८ लाख ६३ हजार ७५० रुपैयाँमा २०७९ साल जेठ महिनामा ठेक्का स्वीकृत गरी निर्माण सुरु गरिएको थियो । तीन वटै पुल सञ्चालनमा आइसकेका छन् भने छेउछेउमा फिनिसिङको काम बाँकी रहेको इञ्जिनियर श्रेष्ठले बताए । छेउछाउमा धेरै रुख भएकाले फिनिसिङ र छेउको बाटोमा यसअघि रोकिएको रुख व्यवस्थापनपछि बाँकी काम सम्पन्न गरिने उनले जानकारी दिए ।  उनले भने, ‘बर्खामा खोलामा यात्रा गर्न निकै कठिन थियो, कैयौँ मानवीय क्षति भएको थियो । अब पुल बनेपछि सहज यात्रा सम्भव भएको छ ।’ उक्त सडक खण्ड भोजपुर, खोटाङ, उदयपुरलगायत जिल्लाका नागरिकका लागि धरान बजारमा स्वास्थ्य सेवा, शिक्षा तथा कृषि उपज बिक्री वितरणका लागि महत्त्वपूर्ण मार्ग हो । पुल नहुँदा वर्षायाममा सास्ती भोग्नुपरेको समस्याको दीर्घकालीन समाधान हुने स्थानीयहरूको विश्वास छ ।

पहिरोले बीपी राजमार्ग ३ ठाउँमा अवरुद्ध, सडक खुलाउने प्रयास

काठमाडौं । बीपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार काभ्रेको रोसी गाउँपालिका-११ माम्तीस्थित सडकमा भेल बाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोसी-९ स्थित खहरे खोलाको लेदो आई गए राति सडक अवरुद्ध भएको थियो । सोही समयमा सोही वडाको बिरुवा डाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए । उनका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मङ्गलटारको बिरुवा डाँडामा सडक अवरुद्ध भएको थियो । उक्त राजमार्ग अन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोला वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो । रातभर जेसिभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुईतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्गकै पिन्थलीमा यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । यही असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो । 

सेवन्तक पोखरेललाई बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सेवन्तक पोखरेललाई दिइएको छ । शरद ओझा निलम्बनमा परेपछि सरकारले  बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।  प्राधिकरणका अध्यक्ष ओझाको कार्यक्षमता र जिम्मेवारी पालनबारे छानबिन गर्न समिति गठन गरेपछि उनी निलम्बित भएका हुन् । पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा कपिलदेव ओली र जीवन प्रकाश सिटौला सदस्य रहेका छन् । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन् ।