त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार सम्पन्न बैठकले रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो । बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । कुलपति ओलीले विश्वविद्यालयलाई २१औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रुपमा स्थापित गर्न आग्रह गरे । शिक्षा, सहकुलपति एवं विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिए । नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत (करिव चार हजार) विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्ने बताए ।
हिमताल विस्फोटबाटै रसुवामा बाढी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएको छ । विभागका बाढीविद् विनोद पराजुलीले ‘सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । 'रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करीब ३६ किलोमिटरमाथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्री सतहदेखि करिब ५१५० मिटर उचाइ) ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्दछ । हिम नदीको करिब बीच भूभागमा विकास भएको सुप्राग्लेशियल ताल (हिमताल) करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ', उनले भने, 'उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको छ । बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिको तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ । अध्ययनले उक्त समयावधिमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिएको छ ।' पराजुलीका अनुसार यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको छ । साथै आगामी दिनमा भू–उपग्रहमार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरुले थप पुष्ट्याइँ दिन सक्नेछ । जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने उनको भनाई छ । 'बाढी पूर्व र बाढीपछिको अवस्थाबीच उल्लेखनीय अन्तर देखिएको र विशेष गरी तालको क्षेत्रफल उल्लेख्य रूपमा घटेको देखिएको छ, जसअनुसार उक्त हिम तालबाट पानी निकास भएको देखिन्छ', उनले भने । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरुले चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको सुप्राग्लेशियल ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको पुष्टि गरेका छन् ।
एनआईसी एशिया बैंकले भन्यो–प्यान अपडेट नगरेर समस्या भए हामी जिम्मेवार हुँदैनौ
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका अनुसार, 'आयकर ऐन, २०५८' बमोजिम ग्राहकका खाताबाट हुने कर कट्टी नेपाल सरकारको स्थायी लेखा नम्बर प्रणालीमा समावेश गर्न आवश्यक भएकाले प्यान अद्यावधिक अनिवार्य छ । ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप वा वेब पोर्टल प्रयोग गरी सजिलै प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै, प्यान अद्यावधिकको सुविधा देशभरका शाखा कार्यालयहरूमा समेत उपलब्ध गराइएको बैंकले जनाएको छ । बैंकले निक्षेपमा तिर्नुपर्ने ब्याजमा गरिएको कर कट्टीलाई इडीटीएस प्रणालीमा पठाउन प्यान आवश्यक भएको स्पष्ट पारेको छ । प्यान अद्यावधिक भएपछि कर कट्टी विवरण स्वचालित रूपमा मिलान हुने र कर चुक्ता प्रमाणपत्र लिन बैंक धाउनुपर्ने झन्झट हट्ने बैंकको भनाइ छ । बैंकले प्यान अद्यावधिक नगरेका ग्राहकको ब्याज कर समायोजनमा उत्पन्न हुन सक्ने समस्यामा बैंक जिम्मेवार नहुने स्पष्ट रूपमा जनाएको छ । यदि यसअघि प्यान उपलब्ध गराइसके पनि विवरण समावेश नभएको खण्डमा ग्राहकले नजिकको शाखा वा ग्राहक सेवा केन्द्र (१६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न सक्नेछन् । सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले सबै ग्राहकलाई समयमै प्यान अद्यावधिक गरी लाभ लिन अनुरोध गरेका छन् ।
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र
काठमाडौं । एकै वर्षमा मुलुकको अर्थतन्त्र ४ खर्बले बढेको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष ५७ खर्ब थियो । चालु आर्थिक वर्षमा ६१ खर्ब मुलुकको अर्थतन्त्र पुगेको छ । अर्थमन्त्रालयका अनुसार यसरी एकै वर्षमा मुलुकको अर्थतन्त्रको आकार ४ खर्बले बढेको हो । यस्तै राजस्व पनि एक वर्षको अवधिमा १ खर्ब ८ अर्बले बढेको छ भने पूँजीगत खर्चमा समेत गत वर्षको भन्दा ३६ अर्बले वृद्धि भएको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो कर्जा ५.६ प्रतिशतले मात्रै बढेको थियो । रेमिट्यान्समा समेत १५.५ प्रतिशतले वृद्धि भएको अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । गत वर्षको तुलनामा ७७.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने आयात १३.१ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षणलाई आधार मान्दै अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचकहरु सकारात्मक रहेको अर्थमन्त्रालयले तथ्य प्रस्तुत गरेको छ । जसमा सकारात्मक सुचांकहरुमा यातायात, निर्माण, खानी, विद्युत तथा ग्यास, व्यापार, बैंक तथा बीमा, उद्योग, घर जग्गा, सूचना प्रविधि, कृषि तथा वन, प्रशासनिक सेवा,स्वास्थ्य सेवा, वैज्ञानिक सेवा, औद्योगिक उत्पादन, शिक्षा, आवास तथा भोजनजस्ता क्षेत्र रहेका छन् । अर्थमन्त्रालयका अनुसार मुलुक भित्र लगानी मैत्री वातावरण बन्दै गएको छ । नीतिगत तथा कानूनी सुधारतर्फ व्यापक प्रगति भएको छ । नीतिगत सुधारतर्फ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) ऐन, २०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०८१, निजीकरण (पहिलो संशोधन) ऐन, २०८१, भन्सार महसुल ऐन, २०८१, बैंकिङ कसुर तथा सजाय ऐन, २०८२, भन्सार ऐन अघि बढाइएको अर्थमन्त्रालयले जनाएको छ । त्यस्तै वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभा पेश गरिनुलाई पनि अर्थमन्त्रालयले उपलब्धि मानेको छ । पछिल्लो एक वर्षको बीचमा उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोग गठन र प्रतिवेदन कार्यान्वयन शुरु भएको, निजी क्षेत्रको गुनासा तथा मागहरु सुनुवाइ र आत्मविश्वास वृद्धि भएको, निर्माण क्षेत्रको गुनासा र माग सुनुवाइ, अघिल्लो वर्षको दायित्व ३० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी तथा भुक्तानीको समस्या साम्य भएको अर्थमन्त्रालयको दाबी छ । अर्थमन्त्रालयकाअनुसार लक्ष्यअनुसारको राजस्व संकलन, पूँजीगत खर्चमा थप वृद्धि, ग्रे लिष्टबाट बाहिर निस्कने चुनौतीहरू अर्थतन्त्रमा देखिएका छन् ।
चिमखोला-राहुघाट प्रशारण लाइनको परीक्षण थालियो, विद्युत केन्द्रीय प्रणालीमा जोडिने तयारी
म्याग्दी । म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालिएको छ । पैतीस मेगावाट क्षमताको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाको विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन चिमखोलादेखि गलेश्वर स्थित राहुघाट जलविद्युत आयोजनाको स्वीचयार्ड सम्म १३ किलोमिटर लामो प्रशारण लाइन निर्माण भएको हो । नेपाल विद्युत प्राधिकरण मार्फत रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा निर्माणाधिन सवस्टेशन सम्पन्न नहुँदा सम्मको लागि अस्थायी रुपमा राहुघाटको स्वीचयार्डबाट २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन मार्फत केन्द्रीय प्रणालीमा विद्युत पठाउन लागिएको चिमखोला–मंगले राहुघाट र माथिल्लो राहुघाटको प्रर्वद्धक तुँदि पावरका प्रतिनिधि उपेन्द्र गौतमले जानकारी दिए । चिमखोला–मंगले राहुघाट र ठूलोखोला जलविद्युत आयोजनाको बाँध, सुरुङ, पेनस्टक पाइप लगायत भौतिक संरचना र विद्युतगृहका उपकरणको परीक्षण भइसकेको छ । माथिल्लो राहुघाट र माथिल्लो ठूलोखोला निर्माणको अन्तिम चरणमा छन् । चिमखोला देखि गलेश्वरस्थित राहुघाटको स्विचयार्ड जोड्ने प्रशारण लाइनमा विद्युत आपुर्ती गराएर परीक्षण गराउन थालिएको तुँदिका प्रतिनिधि गौतमले जानकारी दिए । परीक्षण लगत्तै केन्द्रीय प्रणालीमा विद्युत जोडिने उनले बताए । चिमखोलादेखि राहुघाटसम्म ३९ टावर छन् । चार आयोजनाले सहकार्य गरेर एउटै प्रशारण लाइन मार्फत विद्युत आपूर्ति गर्ने संरचना बनाएका छन् । एकदेखि अर्को आयोजनाको स्वीचयार्ड सम्म सम्बन्धित आयोजना र त्यसपछि सवस्टेशनतर्फ सहकार्य गरेर प्रशारण लाइन बनाएका हुन् । परीक्षण शुरु भएको प्रशारण लाइनको टावर र तार नछुन तथा राहुघाट नदी किनारमा जाँदा सतर्कता अपनाउन तुँदि पावरले आज एक सार्वजनिक सूचना जारी गरेर प्रभावित क्षेत्रका बासिन्दाहरुलाई आग्रह गरेको छ । रघुगङ्गा गाउँपालिकाको ३, ४ र ७ नम्बर वडामा प्रशारण लाइन र टावर निर्माण भएको छ । विद्युतगृहमा पानी हाल्न थालेपछि नदीको सतह घटबढ हुने हुँदा माछा मार्ने, पौडि खेल्ने, नुहाउने, दाउरा छोप्न नदी किनारमा नजान तथा गाईबस्तु र पशुचौपाया नलैजान आयोजनाले अनुरोध गरेको हो । रासस
रसुवाको बाढीले ६०० मेगावाटका जलविद्युत आयोजना प्रभावित, दैनिक करोडौंको घाटा
काठमाडौं । चीनको तिब्बतबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा मंगलबार आएको विनाशकारी बाढीले जलविद्युत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार, बाढीका कारण करिब ६०० मेगावाट भन्दा बढी क्षमताका आयोजनाहरू प्रभावित भएका छन् । इप्पानका अनुसार, सञ्चालनमा रहेका २५० मेगावाट बराबरका आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको छ भने ३५० मेगावाटभन्दा बढी क्षमताका निर्माणाधीन आयोजनाहरूको काम रोकिएको छ । कहाँ कति क्षति ? उत्पादन बन्द भएका आयोजनाहरूमा रसुवागढी (१११ मेगावाट), त्रिशूली ३ ‘ए’ (६० मेगावाट), चिलिमे (२२ मेगावाट), माथिल्लो मैलुङ (१४ मेगावाट), मैलुङ खोला (५ मेगावाट), त्रिशूली ३ ‘बी’ हब सबस्टेसनमा क्षति पुगेकाले मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत केन्द्रबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकिएको इप्पानले जनाएको छ । यसैगरी निर्माण कार्य रोकिएका आयोजनाहरूमा माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) सुपर त्रिशूली (१०० मेगावाट), त्रिशूली ३ ‘बी’ (३७ मेगावाट) को प्रसारण लाइन र सबस्टेसनमा पुगेको क्षतिका कारण आगामी केही दिनसम्म विद्युत उत्पादन र प्रसारण ठप्प हुँदा दैनिक करोडौं रुपैयाँ घाटा हुने निश्चित रहेको इप्पानको भनाइ छ । इप्पानद्वारा उद्धार र पुनर्निर्माणका लागि आग्रह इप्पानले बाढीमा फसेका १५० जनाभन्दा बढी नागरिकको उद्धारमा खटिएकोमा नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलप्रति विज्ञप्तिमार्फत् आभार व्यक्त गरेको छ । साथै, संस्थाले क्षतिग्रस्त संरचनाहरूको शीघ्र पुनर्निर्माणका लागि आवश्यक नीतिगत सहजीकरण गर्न र विद्युत उत्पादन तथा प्रसारण सुचारु गराउन सरकारसँग आग्रह गरेको छ । भविष्यमा यस्ता घटनाबाट थप जनधनको क्षति हुन नदिन आवश्यक कदम चाल्न पनि इप्पानले जोड दिएको छ । इप्पानले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको शीघ्र खोजी र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ । साथै, देशभरका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन पनि अपिल गरेको छ ।
ग्लोबल आईएमईले पायो २०२५ का लागि उत्कृष्ट बैंकको उपाधि
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो । विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डहरूमा ग्लोबल आइएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउँदै यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरू, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकमा खुसी साट्दै हार्दिक आभार व्यक्त गरे । ग्लोबल फाइनान्स म्यागाजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रिय बैंक र वाणिज्य बैंकहरूलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ । ग्लोबल फाइनान्सले २०२५ को लागि हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको यूओबी मलेशिया, बङ्लादेशको सिटी बैंक, जापानको एसएमबीसी लगायतका विश्वभरका विभिन्न बैंकहरूलाई विभिन्न विधामा सम्मानित गरेको हो । ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी समयसान्दर्भिक नविनतम् सेवाहरु प्रदान गर्दै आइरहेको ग्लोेबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट 'नेपालको उत्कृष्ट बैंक' को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरू प्रदान गर्न प्रोत्साहित गर्नेछ । यस अघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म यस अवार्डसहित बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।
नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे एकै ठाउँमा
काठमाडौं । नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यले ‘सि–कार’ सञ्चालनमा आएको छ । एक औपचारिक समारोहबीच महानायक राजेश हमालले सि–कारको शुभारम्भ गरेका छन् । सि–कारमा नयाँ तथा सेकेन्ड ह्याण्ड गाडीको सोरुम, एस्सेसरिज पसल, चार्जिङ स्टेसन र क्याफेलगायत विभिन्न सुबिधा एकै स्थानमा उपलब्ध भएको सि कारका सँस्थापक रोशन घिमिरेले बताए । शुभारम्भका अवसरमा महानायक हमालले सवारी साधनसम्बन्धि एकै थालेमा विभिन्न सेवा उपलब्ध हुनुले ग्राहकको समय र खर्च दुवै बचत हुने भएकाले लाभदायी भएको प्रतिक्रिया दिए । कम्पनीका अनुसार पछिल्लो समय विद्युतीय सवारीमा अत्यधिक रुचाइएको विवाइडीको नयाँ शोरुमले ग्राहकलाई सहज हुनेछ । साथै सि–कारमा विभिन्न ब्राण्डका सेकेन्ड ह्यान्ड सवारी साधन पनि उपलब्ध हुनेछन् । ग्राहकले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्नुका साथै एक्सचेञ्जका पनि सुविधा पाउनेछन् । कम्पनीले सवारी खरिदबिक्रीका साथै सि–कार परिसरमा चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याएको छ । जहाँ एकै साथ (१५) भन्दा बढी विद्युतीय सवारी चार्ज गर्न सकिनेछ । कम्पनीले यसका लागि दु्रत गतिमा चार्ज हुने सुविधा ल्याएको छ । ग्राहकले सि–कार परिसरमै रहेको इटालियन रेस्टुरेन्टको मज्जा लिन सक्नेछन् । त्यति मात्रै होइन, सि–कारमा सवारी साधनका स्पेयर पार्टस् पनि सुलभ मूल्यमै उपलब्ध हुनेछन् । कम्पनीले ग्राहकलाई अधिकतम सेवा दिने उद्देश्यले सेकेन्ड ह्यान्ड सवारी बिक्री गरेको तीन महिनासम्मको प्राविधिक रुपमा सम्पूर्ण जिम्मेवारी लिनेछन् । 'ग्राहकहरु अहिले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्दा ढुक्क हुने अवस्था छैन, त्यसैले हामीले तीन महिनाका लागि प्राविधिक रुपमा कुनै समस्या आए समाधानको जिम्मेवारी लिने गरी अफर ल्याएका छौँ', घिमिरेले भने । साथै कम्पनीले ग्राहकलाई अझ बढी सेवा दिने उद्देश्यले बिलबुक निःशुल्क नवीकरण सुविधा पनि ल्याएको छ । सि–कारमार्फत सवारीको बीमा गर्नेले बिलबुक नवीकरणको पनि सुविधा पाउनेछन् । जसका लागि उनीहरुले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्दैन । कम्पनीले ग्राहकहरुलाई सहज सेवा दिने उद्देश्यले सदस्यता योजना पनि ल्याएको छ । विभिन्न वर्गीकरणका सदस्यता योजनामा सि–कारमा उपलब्ध कुनै पनि सेवा उपयोग गर्दा निश्चित प्वाइन्ट प्राप्त हुन्छ भने विभिन्न सेवामा आकर्षक छुट पनि पाउने कम्पनीको भनाइ छ । ४ रोपनी क्षेत्रमा फैलिएको सि कारमा करिब ५० जनाले रोजगारी पाएका छन् ।