‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने ३ हजार पर्यटकलाई सास्ती
काठमाडौं । भिसा भेरिफिकेसन’ प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन् । चिनियाँ दूतावासले भिसा भेरिफिकेसनमा १० दिनभन्दा बढी समय लाग्दा कम्तीमा २ हजार ५०० पर्यटक काठमाडौंमा अड्किएको व्यवसायीले गुनासो गरेका छन् । विगतमा तीन दिनमा हुने भिसा प्रक्रिया हाल १० दिनसम्म लाग्ने र भिसाको सुनिश्चितता नहुँदा काठमाडौंका विभिन्न पाँच तारे होटलमा झन्डै ३ हजार पर्यटक मानसरोवर यात्राको प्रतीक्षामा रहेको व्यवसायीहरूको भनाइ छ । ओझा होलिडे टुर्स एन्ड ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक रमेश ओझाले ‘सिजन’कै बेला भिसा भेरिफिकेसनसम्बन्धी नयाँ नीतिले पर्यटन व्यवसायी मर्कामा परेको बताए । उनका अनुसार तीन दिनमा हुने भिसा प्रक्रिया हाल १० दिनसम्म लाग्ने गरेकाले २ हजारभन्दा बढी धार्मिक पर्यटक मानसरोवर जान पाएका छैनन् । भिसा भेरिफिकेसनले कैलाश मानसरोवर यात्रा विलम्ब भइरहेका बेला हालै रसुवामा आएको बाढीले सडक बाटो अवरुद्ध हुँदा पर्यटक थप समस्यामा परेका छन् । धेरैजसो पर्यटक रसुवागढीबाट केरुङ रुट भएर मानसरोवर पुग्ने गरेकाले समस्या भएको हो । यो मार्ग अवरुद्ध हुँदा भारतीय पर्यटकलाई गन्तव्यमा पुग्न कठिन भएको छ । अधिकांश भारतीय नागरिक यो ‘रुट’ भएर मानसरोवर जाने गरेका छन् । कैलाश मानसरोवरमा विभिन्न देशमा रहेका भारतीय मूलका नागरिक हवाई यातायातको माध्यमबाट काठमाडौं-हुम्लाको सिमीकोट र काठमाडौंबाट चीनको ल्हासा भएर मानसरोवर पुग्ने गरेका छन् । काठमाडौंबाट केरुङ रुट भएर पनि कैलाश मानसरोवर पुग्न सकिन्छ । यसका लागि काठमाडौँबाट रसुवागढी हुँदै केरुङ पुग्नुपर्छ । काठमाडौँबाट नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर जान सकिन्छ । ओझा होलिडेज, रिचा ट्राभल्स एन्ड टुर्स, इको ट्रेक, हेरिटेज टुर्स एन्ड ट्राभल, सनि ट्राभल, ट्रेकर सोसाइटीलगायत आधा दर्जन बढी कम्पनीले सर्वाधिक रूपमा कैलाश मानसरोवर टुर गराउँछन् । भारतको मुम्बईस्थित लिआजर पोर्टका सञ्चालक नमराज जोशीले ३९ जनाको समूह लिएर १० दिनदेखि काठमाडौंमा भिसा कुरिरहनुपरेको दुःखेसो पोखे । दूषित प्रिन्सेस काठमाडौंमा बसिरहेका उनीहरू चाँडै भिसा आउने प्रतीक्षामा छन् । सिजनमै कैलाश मानसरोवर यात्रामा व्यवधान आउँदा समस्या भएको व्यवसायीले गुनासो गर्दै आएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको यही असार २२ गतेको बैठकमा पनि सांसदहरूले मानसरोवर जाने पर्यटकको प्रवेशाज्ञा (भिसा) प्रक्रिया विलम्ब हुँदा सयौँको सङ्ख्यामा विदेशी नागरिक होटलमा कुरिरहेको भन्दै पर्यटन मन्त्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मानसरोवर जाने पर्यटकहरूका लागि भिसा प्रक्रिया सहजीकरणका लागि परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावाससँग पहल गर्ने प्रतिबद्धता जनाएका थिए । कैलाश मानसरोवरका लागि विदेशीले २ हजार ५०० देखि ३ हजार डलरमा प्याकेज खरिद गरेका हुन्छन् । उनीहरूले २ हजार हाराहारी डलर हवाई टिकटमा आफैँ खर्च गर्नुपर्छ । यसरी पाँचदेखि ७ हजार डलर विदेशीले मानसरोवर जान खर्च गर्नुपर्छ । ‘विदेशीलाई ल्हासाबाट प्रवेश अनुमति आउँछ, पासपोर्ट दिएपछि तीन दिनमा भिसा आउने गरेको थियो । हाल विदेशी आइसकेपछि चिनियाँ दूतावासले भिसा भेरिफिकेसन गर्ने गरेका छन् । भिसा विलम्ब हुँदा पाँचदेखि १० रातको बढी रकम होटललाई टुर अपरेटर कम्पनी आफैँले तिर्नुपरेको छ । आफ्नो कमिसनभन्दा पनि उल्टै बढी पैसा खर्च भएको र अनावश्यक तनाव र झन्झट पनि बेहोर्नु परिरहेको छ,’ व्यवसायीले भन्ने गरेका छन् । रसुवा नाका पहिरोले अवरुद्ध भएपछि भिसा पाएकाहरूलाई नेपालगञ्ज, हुम्ला हुँदै गन्तव्यमा पुर्याउनका लागि पहल भइरहेको व्यवसायीले बताएका छन् । बसाइँ लम्बिँदा पर्यटक बेखर्ची हुने र कतिपय फर्किन अवस्थामा रहेका भन्दै व्यवसायीले जानकारी दिएका छन् । नेपाल भएर तिब्बत, मानसरोवर, ल्हासा जाने पर्यटक समग्र पर्यटनको झन्डै २० प्रतिशत रहेको यस क्षेत्रमा कार्यरत कम्पनीले बताउने गरेका छन् । यसरी वार्षिक २० देखि २५ हजार पर्यटक मानसरोवर जाने गरेका छन् । जुन २५ देखि जुलाई नौ तारिखसम्म भिसा भेरिफिकेसनका नाममा पर्यटक होटलमै बसि रहनुपरेको र आर्थिक भार नेपाली व्यवसायीमाथि थुप्रिएको गुनासो छ । अमेरिकाबाट आएका भारतीय मूलका नागरिक १० दिनपछि भिसा प्रक्रिया पुर्याएर बुधबार ल्हासा पुगेको एक कम्पनीले जनाएको छ । ‘समयमा भिसा भेरिफिकेसन नहुँदा सबैभन्दा मारमा हामी व्यवसायी परेका छौँ । टुर चलाएर पाउने कमिसनभन्दा बढी खर्च गरेर पर्यटक व्यवस्थापन गर्नुपरेको छ,’ कैलाश यात्रा गराउने सोहम जर्निस प्रालिका प्रबन्ध निर्देशक सूर्य पाठकले गुनासो सुनाए । एक सिजनमा तीन हजार पर्यटक पठाउने गरेको स्मरण गर्दै व्यवसायी पाठकले यस वर्ष मुस्किलले एक हजार पर्यटक पुग्ने विश्वास व्यक्त गर्नुभयो । उक्त कम्पनीले सन् २०१९ मा झन्डै ४ हजार जनालाई मानसरोवर यात्रा गराएको थियो । एसोसियसन अफ कैलास टुर अपरेटर्स नेपालमा आबद्ध ३० भन्दा बढी कम्पनी छन् । मेदेखि सेप्टेम्बरसम्म करिब पाँच महिना कैलाश मानसरोवर जाने सिजन हो । सो संस्थाले जनाएअनुसार वार्षिक २५ हजारसम्म पर्यटक नेपाल भएर मानसरोवर जाने गरेका छन् । त्यहाँ पुग्न नेपालगञ्ज–सिमिकोट–हिल्सा सबभन्दा नजिकको रुट पर्ने हुनाले हरेक वर्ष उल्लेख्य सङ्ख्याका पर्यटक यो मार्ग भएर गन्तव्यमा पुग्छन् । मानसरोवर जान भारतीय नागरिकलाई रु अढाई लाखदेखि तीन लाख र गैर आवासीय भारतीय नागरिकलाई कम्तीमा १० लाख रुपैयाँ लाग्ने टुर कम्पनीहरूले जनाएका छन् । कैलाश मानसरोवरमा भारतीय मूलका, तर विश्वका विकसित देशहरू अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलियामा बस्ने गैर आवासीय भारतीयहरू बढीजसो जाने गरेका छन् ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा, यातायात प्रभावित हुनसक्ने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । सातै प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने छ भने उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ । सम्भावित वर्षाका कारण बाढी पहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।
ऋण खोजेर कर्मचारीलाई तलब, सहयोगमा प्राप्त दाल, चामलले खाना व्यवस्थापन
काठमाडौं । दाङको तुलसीपुर उप-महानगरपालिकाले सञ्चालनमा ल्याएको थेरापी सेन्टरले आर्थिक अभाव झेल्नु परेको छ । तुलसीपुर स्थित अपाङ्ग समाज सुधारको सहकार्यमा सञ्चालित उक्त थेरापी सेन्टरले तीन जना कर्मचारीलाई ऋण खोजेर तलब खुवाउनु परेको जनाइएको छ । उक्त थेरापी सेन्टरलाई उप-महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा छुट्याएको ३ लाख ५० हजार रुपैयाँ कर्मचारीको तलब नपुगेपछि थेरापी सेन्टर सञ्चालक समितिले ऋण खोजेर व्यवस्थापन गरेको अध्यक्ष ईश्वरी प्रसाद खड्काले जानकारी दिए । उनका अनुसार हाल एक जना थेरापिस्ट, एक जना थेरापी सहयोगी र एक जना कार्यालय सहयोगी यहाँ कार्यरत छन् । कर्मचारीको तलब मात्रै वार्षिक ५ लाख रुपैयाँभन्दा बढी हुने गरे पनि नगरपालिकाले पर्याप्त बजेट नछुट्याएका कारण अपुग रकम कतैबाट सहयोगमा नपाइएपछि ऋण खोजेर पनि तलब खुवाइएको अध्यक्ष खड्काको भनाइ छ । ‘नगरले दिएको बजेटले मात्रै पुगेन । त्यसैले १ लाख ५० हजार रुपैयाँभन्दा बढी ऋण खोजेर आर्थिक मसान्तमा कर्मचारीलाई तलब खुवाएका हौँ,’ उनले भने । उप-महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाले केन्द्रको अपनत्व लिएको भए पनि अपाङ्ग समाज सुधार कार्यसमितिले पूर्ण रूपमा सञ्चालन गरिरहेको छ । थेरापी सेन्टरमा हाल १९ जना कार्यरत छन् । त्यसमा ९ जना आवासीय रहेको र तीमध्ये ९ जनालाई साँझ-बिहानको खाना र दिउँसो नास्ता पनि बेहोर्ने गरिएको व्यवस्थापक हुमाकान्त कँडेलले बताए । ‘कसैको जन्मदिन, कसैको वैवाहिक वर्षगाँठको अवसरमा सहयोगमा प्राप्त दाल, चामललगायत सहयोगले जसोतसो व्यवस्थापन गरिरहेका छौँ,’ उनले भने । विसं २०७८ चैतदेखि सञ्चालनमा ल्याइएको थेरापी सेन्टरबाट सबै सेवा निःशुल्क प्रदान हुँदै आएको छ, तर सरकारी निकायबाट अत्यावश्यक बजेटसमेत व्यवस्थापन हुन सकेको छैन । अपाङ्ग समाज सुधार केन्द्रकै दुईतले भवनमा सेन्टर सञ्चालनमा छ । आवश्यक सबै सामग्री पनि छन् । लुम्बिनी प्रदेशमा सरकारी स्तरबाट सञ्चालित दुइवटा मात्रै थेरापी सेन्टर रहेकाले यसलाई पनि सङ्घ र प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने सरोकार भएकाहरूको माग छ ।
गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्र शास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ- गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर :। गुरु : साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम : ।। माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् । व्यास जयन्ती आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोजेका छन्ः ‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् । परोपकार पुण्याय, पापाय परपीडनम् ।। अर्थात् अरूको उपकार गरे धर्म हुन्छ, अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन् । यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं सङ्घ संस्थाले पनि गुरु पूर्णिमा पर्व मनाउने जनाइएको छ ।
नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष बनेका थिए । काठमाडौंमा जन्मिएका पाण्डे तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा आवद्ध छन् । सिभिल इन्जिनियरिङ, आवास र शहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दख्खल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् । उनी हरित सामाग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय छन् । परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष पाण्डेलाई सपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गरे । बुधबार सम्पन्न वार्षिक साधारण सभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा गोपाल कुमार अग्रवाल, मिलन बाबु मल्ल, परासी अग्रवाल, राहुल कुमार अग्रवाल, वरुण कुमार तोदी, दिपक कुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाण कुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिंघानिया, अमित कुमार बेगानी, गौरव शारडा, दिलिप अग्रवाल, यश अग्रवाल, सन्दिप शारडा, राजीव गुप्ता निर्वाचित भएका छन् । यसैगरी सञ्जीव न्यौपाने, हेम राज ढकाल, अनुराग गोयल, ध्रुब रिजाल, संजय गोल्छा, वर्षा श्रेष्ठ, राज बहादुर शाह, विदुषी राणा, लक्ष्मी प्रसाद सुवेदी, आशीष जजोडिया, पम्फा धमला, मनिष कुमार खेम्का, आशिष गर्ग, सेवा पाठक, गोकुल भण्डारी, बसन्त बहादुर चन्द, चन्द्र टण्डन निर्वाचित भए । यसैगरी कोशी प्रदेशबाट निवर्तमान अध्यक्ष भीम घिमिरे, मधेश प्रदेशका अध्यक्ष प्रमोद साह, बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, गण्डकी प्रदेशबाट अध्यक्ष विनोद न्यौपाने, लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, कर्णाली प्रदेशका अध्यक्ष छत्र शाही र सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठ राष्ट्रिय परिषद् सदस्य बनेका छन् । यस्तै, मकवानपुर उद्योग संघका अध्यक्ष बद्रीनाथ शर्मा, चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरे, नवलपुर उद्योग संघका अध्यक्ष केबी राना, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा र पोखरा औद्योगिक क्षेत्र उद्योग संघबाट रुद्र श्रेष्ठ पदेन राष्ट्रिय परिषद सदस्य बनेका छन् । निर्वाचित राष्ट्रिय परिषद सदस्यहरुबाट सर्वसम्मत रुपमा ७ जना उपाध्यक्ष चयन भएका छन् । परिसंघको वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् । यसैगरी उपाध्यक्षहरुमा राजबहादुर शाह, हेम राज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी, स्थायी आमन्त्रित सदस्यमा सन्दिप शारडा, विदूषी राणा र प्राची अग्रवाल मनोनित भएका छन् । नवनिर्वाचत अध्यक्ष पाण्डेले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यहरुलाई सपथ ग्रहण गराए । पदभार ग्रहण गर्दै अध्यक्ष पाण्डेले परिसंघले विगतदेखि हासिल गर्दै आएका उपलब्धीहरुलाई संस्थागत गर्दै थप नयाँ उचाइमा पुर्याउन सक्रिय रुपमा लाग्ने बताए । यस्तै, सीएनआई प्रेसिडेन्ट अवार्डबाट परिसंघका पूर्व अध्यक्ष एवं प्रतिष्ठित उद्योगी शतिस कुमार मोर सम्मानित भए । सो अवसरमा परिसंघबाट निर्यातमा योगदान गर्ने संस्था तथा कम्पनीलाई अवार्ड प्रदान गरिएको थियो । साफ्टाअन्तर्गत हुने निर्यातमा योगदान दिने आरएमसी. फुडस् प्रालि, गणपति वनस्पति लिमिटेड, नारायणी वेल रिभाइनरी उद्योग प्रालि सम्मानित भएका छन् । यसैगरी तेस्रो मुलुकतर्फ निर्यातमा योगदान दिने नेपाल एक्प्रेस पार्सल एण्ड लजिष्टिक प्रालि, एसेन्ट् एक्र्पोट्स प्रालि, स्मुथ कार्गो मुभरर्स प्रालि सम्मानित भएका छन् । यस्तै इन्डो नेपाल अन्तर्गत हुने निर्यातमा योगदान दिने आरती स्ट्रीप्स् प्रालि, रिलायन्स स्पिनिङ मिल्स् लिमिटेड र शिवम् प्लाष्टिक इन्डष्ट्रिज लिमिटेड सम्मानित भएका छन् । यसैगरी सबैभन्दा सक्रिय राष्ट्रिय परिषद् सदस्य अवार्ड गोपाल अग्रवाल, परिसंघ अन्तर्गतका समिति, परिषद्, मञ्चमध्येबाट सबैभन्दा सक्रिय समिति अवार्ड सूचना प्रविधि परिषद्ले प्राप्त गरेका छन् । यसैगरी सबैभन्दा सक्रिय प्रदेश परिसंघको अवार्ड बागमती उद्योग परिसंघ र सर्वोत्कृष्ट कर्मचारीको अवार्ड निर्देशक हिमाल पौडेलले प्राप्त गरे । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सम्मानित व्यक्ति तथा संस्थाहरूलाई अवार्ड प्रदान गरे ।
गोल्डस्टार जुत्ताको कारोबार २ अर्ब २२ करोड रुपैयाँ, उत्पादन क्षमता १ करोड ६६ लाख जोर
काठमाडौं । किरण सुज म्यानुफ्याक्चरर्सले ६ महिनामा साढे ७९ करोड रुपैयाँ बढीको कारोबार गरेको छ । गोल्डस्टार जुत्ता निर्माता तथा वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्सले चालु आर्थिक वर्ष २०८१÷८२ को ६ महिना (सन् २०२५)मा ७९ करोड ६० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको हो । कम्पनीले सन् २०२४ मा २ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको जुत्ताको कारोबार गरेको छ । यस्तै, सन् २०२३ मा २ अर्ब १५ करोड ४० लाख रुपैयाा, सन् २०२२ मा २ अर्ब ४२ करोड ३० लाख रुपैयाँको जुत्ताको कारोबार गरेको थियो । सन् १९९० मा स्थापित किरण सुजको बालाजु, भैरहवासहित तीन ठाउँमा उत्पादन प्लान्ट सञ्चालनमा छन् । कम्पनीको मुख्य लगानीकर्ता अमिर प्रताप जेबी राणा हुन् भने निर्देशक विदुषी राणा छिन् । कुनै समय गोल्ड स्टारले १७ वटा फ्याक्ट्री चलाउँथ्यो भने ५ हजारलाई रोजगारी दिएको थियो । तर पछिल्लो समय तीनवटा फ्याक्ट्री मात्रै सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । यी सबै उद्योगले वार्षिक कम्तीमा १ करोड ६६ लाख ५० हजार जोडी जुत्ता-चप्पल उत्पादन गर्न सक्ने क्षमता राख्छन् । तर क्षमताअनुसार कुनै पनि उद्योग सञ्चलानमा नआएको कम्पनीले जनाएको छ । गोल्डस्टार जुत्ता र हात्ती छाप चप्पल कम्पनीको मुख्य ब्राण्ड हुन् । कम्पनीले ४ अर्ब रुपैयाँ कर्जा लिएको छ । कम्पनीका अनुसार १ अर्ब ७९ करोड ६५ लाख रुपैयाँ दीर्घकालिन ऋण, १ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ अल्पकालीन ऋण र ५६ करोड ८२ लाख रुपैयाँ अल्पकालीन र दीर्घकालिन (एलसी÷बीजी)ऋण लिएको छ । नेपालमा वार्षिक करिब १६ करोड भन्दा बढी जोर जुत्ता–चप्पलको माग रहेको व्यवसायीहरु बताउँछन् । जसमध्ये वार्षिक १० करोड जुत्ता–चप्पल स्वदेशमै उत्पादन हुने गरेको छ । मुलुकभर १ हजार ५ सय हाराहारी जुत्ता–चप्पल उद्योग सञ्चालनमा छन् । विदेशी ब्राण्डका जुत्ता-चप्पल हाबी हुँदा स्वदेशी उद्योगले क्षमताअनुसार काम गर्न नसकेको व्यवसायीहरु बताउँछन् । नेपाली जुत्ता-चप्पल उद्योगमा ३० अर्ब रूपैयाँभन्दा बढीको लगानी रहेको व्यवसायीहरु बताउँछन् । जसमा ५५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । तर, अधिकांश उद्योगमा ६० प्रतिशत भारतीय कामदार छन् । तर, गोल्ड स्टार कम्पनीमा ९९ प्रतिशत कामदार नेपाली रहेको कम्पनीले दाबी गरेको छ ।
कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ
काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा. अर्यालले सपथ लिएका हुन् । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तलगायत सहभागी थिए । कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा. अर्याललाई नियुक्त गरेका थिए ।
शिक्षामा नवप्रवर्तन र हरित सोच : लिटिल एन्जल्स स्कूलको सफल शैक्षिक यात्रा
काठमाडौं । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स स्कूल (एलए) चार दशकभन्दा लामो समयदेखि देशको शैक्षिक क्षेत्रलाई उल्लेखनीय योगदान दिँदै आएको छ । हरियाली वातावरण, स्मार्ट क्लासरुम र वातावरणमैत्री इभी गाडीको प्रयोग गर्दै एलएले आफूलाई पूर्ण रूपमा वातावरणमैत्री शिक्षण संस्थाका रूपमा स्थापित गरेको छ । सन् १९८१ मा स्थापना भएको यस शैक्षिक संस्थाले आधुनिक शिक्षण पद्धति र प्रविधिमा आधारित सिकाइको अभ्यास गर्दै नेपाली शिक्षाक्षेत्रमा नयाँ आयाम थप्दै आएको छ । सन् १९९७ देखि प्लस टु तहको अध्यापन सुरु गरेको एलए अहिले स्नातक तहसम्मका कक्षा सञ्चालन गरिरहेको छ । स्थापनाकालदेखि नै शतप्रतिशत नतिजा निकाल्दै आएको लिटिल एन्जल्स पछिल्लो २२ वर्षदेखि देशभरिका उत्कृष्ट १० कलेजहरूमध्ये निरन्तर आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ । ‘शिक्षा सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ’ भन्ने ध्येयका साथ यो संस्थाले विद्यार्थीलाई संस्कारसहितको प्रविधिमैत्री शिक्षा दिने विश्वास राख्दै आएको छ । पाठ्यक्रमलाई युग सुहाउँदो ढंगमा विश्व परिवेश अनुसार परिष्कृत गर्दै एलएले शैक्षिक गुणस्तरलाई सधैं पहिलो प्राथमिकतामा राखेको छ । गुणस्तरीय भौतिक पूर्वाधार, प्रविधिसम्पन्न कक्षा कोठा, शान्त वातावरण, खुला र फराकिलो खेल मैदान यस शैक्षिक संस्थाको थप विशेषता हुन् । कक्षा ११ र १२ मा साइन्स, मेनेजमेन्ट तथा ए लेभल कार्यक्रमहरू सञ्चालन गर्दै आएको एलएले विद्यार्थीको समग्र विकासमा जोड दिएको छ । शैक्षिक उत्कृष्टता, शारीरिक र मानसिक विकासलाई सँगसँगै अघि बढाउँदै लिटिल एन्जल्स विद्यार्थीहरूका लागि उपयुक्त गन्तव्य बन्न सफल भएको छ ।