लगानीका थुप्रै सम्भावना छन्, स्पेनीस व्यवसायीसँग सहकार्य गर्न तयार छौंः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र स्पेन बीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र लगानी सहकार्यलाई थप विस्तार गर्ने स्पेनिस व्यवसायीहरूलाई आग्रह गरेका छन् । बुधबार सपेनको म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका थुप्रै सम्भावना रहेको भन्दै स्पेनी व्यवसायीहरूलाई लगानीका लागि आग्रह गरेका हुन् । स्पेन वाणिज्य तथा उद्योग महासंघका सदस्यहरू, व्यापारिक समुदायका अगुवाहरू, नेपाली समुदायका प्रतिनिधिहरू र कूटनीतिक व्यक्तित्वहरु सहभागी कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा दुई देशबीच सहकार्यको बलियो सम्भावना रहेको धारणा राखे । नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा पर्यटन उद्योग रहेको चर्चा गर्दै अध्यक्ष ढकालले सगरमाथादेखि लिएर भगवान बुद्धको जन्मस्थल लुम्बिनीसम्मका स्थलहरूको विशेष धार्मिक, सांस्कृतिक र प्राकृतिक आकर्षण रहेको बताए । गुणस्तरीय सेवा र पूर्वाधारमा लगानी गर्न सके नेपालले विश्वभरका पर्यटकहरूलाई थप आकर्षित गर्न सक्ने विश्वास व्यक्त गरे । साथै उनले नेपालमा लगानी मैत्री वातावरण निर्माण भएको, सरकारले लगानी र कम्पनी दर्तासम्बन्धी प्रक्रिया सहज बनाउन ‘वान-स्टप सर्भिस सेन्टर’ स्थापना गरिसकेको, राष्ट्रिय बजेटले ऊर्जा, कृषि, सूचना प्रविधि, निर्माण र डिजिटल नव प्रवर्तनजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै कर छुट र व्यापार नियमहरू सजिलो बनाएको उल्लेख गरे । ‘नेपालमा व्यवसाय गर्न सजिलो, छिटो र पारदर्शी बनाउने हाम्रो उद्देश्य हो । लगानीको लागि नीतिगत सुधारहरूका लागि महासंघले सरकारसँग निरन्तर पहल गर्यो,’ उनले भने, ‘फलस्वरुप लगानी मैत्री वातावरण बनाउन ३० भन्दा बढी व्यापारसम्बन्धी कानूनहरू संशोधन भएका छन् । जसले नेपालमा लगानीको लागी सहज वातावरण बनेको छ ।’ नेपालसँग स्वच्छ ऊर्जामा विशाल सम्भावना रहेको, ४० हजार मेगावाटभन्दा बढी जलविद्युत क्षमताको उपयोग हुन बाँकी रहेको र क्षेत्रीय विद्युत् व्यापार बढाउँदै नयाँ प्रसारण पूर्वाधार निर्माण भइरहेकाले स्पेनी कम्पनीहरूका लागि यो उपयुक्त समय भएको उनको भनाइ छ । स्पेन विश्वकै सफल पर्यटन उद्योगमध्ये एक भएको नेपाली व्यवसायीहरू पनि त्यो अनुभव र प्रविधिबाट सिक्न उत्सुक रहको चर्चा गर्दै स्पेनी व्यवसायीक समुदायलाई नेपाल भ्रमणका लागि लागि आमन्त्रण गरे । यस्तै उनले सम्बन्धित क्षेत्रहरू पहिचान गर्न, स्थानीय साझेदारहरू भेट्न र प्रक्रिया बुझ्न महासंघले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । लगानीकर्ताहरू स्थिरता, स्पष्ट प्रक्रिया र भरपर्दो प्रणाली खोज्ने उल्लेख गर्दै अध्यक्ष ढकालले नेपाल पछिल्लो समय पूर्वाधार विकास , डिजिटल प्रणाली, भन्सार र वित्तीय पहुँच सुधारमा केन्द्रित भएको बताए । स्पेनस्थित नेपाली डायस्पोराको भूमिकाबारे चर्चा गर्दै उनले नेपाली उत्पादनको प्रवर्द्धन, लगानी आकर्षण र पर्यटन विकासमा नेपालका आर्थिक दूतको रूपमा कार्य गर्न आग्रह गरे ।
जगदम्बा स्टील्सको भट्टीमा विस्फोट, एक जना घाइते
काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ मा अवस्थित जगदम्बा स्टील्सको भट्टीमा विस्फोट भएको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार राति करिब ९ः१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो । घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन । प्रहरी प्रवक्ता पण्डितले घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको बताए । उद्योग सञ्चालनमा रहेको समयमा विस्फोट भएको हुँदा सम्भावित मानवीय क्षतिको आशङ्का गरिए पनि एक जना मात्र घाइते भएको जानकारी प्राप्त भएको जनाइएको छ । घाइते हुनेमा भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेद जोशीले जानकारी दिए । उनका अनुसार अपरेटरको काम गर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छ भने आगो नियन्त्रण आइसकेको छ ।
मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना, १ करोड रुपैयाँ बढी खर्च
काठमाडौं । मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । नेपाल सरकार वातावरण विभागले यहाँको जोमसोमस्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यान पार्कमा केन्द्र स्थापना गरेको हो । विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सरकारले ३१औँ वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि आवश्यक भौतिक संरचना तथा प्रविधि जडान गरेको जानकारी दिए । वातावरणीय स्वच्छता कायम राख्ने, प्रदूषणलाई निश्चित सीमाभित्र सन्तुलनमा राख्ने, दिगो विकासका अङ्गसँग जोड्ने र मानव स्वास्थ्यलाई प्रतिकूल हुन नदिने लगायत उद्देश्य राखेर यहाँ मापन केन्द्र स्थापना गरिएको उनले बताए । विभागले समुद्री सतहको तीन हजारभन्दा माथि उचाइमा विश्वका पाँच स्थानमा यस प्रकारको वायु गुणस्तर मापन केन्द्र स्थापना भएको र त्यसमध्ये दुई नेपालमा रहेको विभागका महानिर्देशक सुवेदीले जनाए । ‘यस खालको प्रविधि मुगुको रारा र त्यसपछि मुस्ताङको जोमसोममा स्थापना गरिएको छ । यसअघि नेपालका ३० जिल्लामा वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा ल्याइसकेका छौँ । मुस्ताङमा प्रविधि जडान गर्न १ करोड रुपैयाँ बढी खर्च भएको छ,’ उनले भने । विभागले पफ प्यानल गृह निर्माणसहित दुई हजार किलोवाटको सौर्यऊर्जा सोलार प्यानल, विद्युत् पहुँचका साथै इन्टरनेट जडान गरिएको जनाएको छ । यहाँ जडान गरिएको उपकरणले वायुको गुणस्तर, वातावरणीय स्वच्छता र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने भावी रणनीति तय गर्न सहज हुने अपेक्षा गरिएको छ । मापन केन्द्रमा प्रविधि जडानसँगै यसको परीक्षण प्रसारण भइरहेको र त्यस क्रममा यहाँको वायु गुणस्तर अङ्क तीन मात्रै देखिएको महानिर्देशक सुवेदीले जानकारी दिए । ‘विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले औसत ५० अङ्क सम्मलाई वायु गुणस्तर राम्रो रहेको जनाएको छ । हामीले ४० अङ्कसम्मलाई वायुको गुणस्तर राम्रो हो भन्ने ठानेका छौँ,’ उनले भने, ‘यहाँ तीन अङ्क मात्रै दखिनु वायुको गुणस्तर निकै राम्रो हो भन्न हो। यहाँको वायुको अपेडट हेर्दा यो वायु प्रदूषण शून्य जस्तै हो ।’
एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा, १ करोड प्रिमियम भुक्तानी
काठमाडौं । ललितपुर महानगरले महानगरभित्रका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा गरिदिएको छ । महानगरपालिकाले बुधबार स्वास्थ्य बीमा बोर्डसँग स्वास्थ्य बीमाको प्रिमियम व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर प्रिमियमबापत १ करोड रुपैयाँ भुक्तानीसमेत गरिएको जनाएको छ । समझदारीपत्रमा महानगर प्रमुख चिरी बाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघु राज काफ्लेले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार महानगरले नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारी चालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरक (टिएचपी)को स्वास्थ्य बीमा बापतको सतप्रतिशत प्रिमियम महानगरले तिर्ने छ । महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम दुई वर्षअघि देखि सुरु गरेको थियो । महानगर प्रमुख चिरी बाबु महर्जनले महानगरवासीको स्वास्थ्य उपचारका लागि हरसम्भव प्रयास गरिएको बताए । ‘हामीले पाटन अस्पतालसँग सहकार्य गरेर बिरामीको शय्यासम्म अक्सिजन व्यवस्थापनका लागि सहज बनाएका छौँ, लास व्यवस्थापन गर्न ‘मर्चरी हाउस’को व्यवस्थापनका लागि सुविधा प्रदान गरेका छौँ । यो देशकै नमूना भएको छ, स्वास्थ्य क्षेत्रमा विषय विज्ञ चिकित्सकको अभाव र लापरबाही हुनुहुँदैन, यसमा हामी यसमा सचेत छौँ,’ उनले भने । महानगर प्रमुख महर्जनले स्वास्थ्य बीमाको उपचारका लागि स्वास्थ्य केन्द्रको व्यवस्थापन गरिएको र २१० जनाको क्षमता भएको ठाउँमा ३०० भन्दा बढीले दैनिक सेवा लिन आउने गरेको बताए । ‘स्वास्थ्य बीमा बोर्डसँग गरेको यो सम्झौताले थप दायित्व सृजना गरेको छ । मुलुकको पायोनियर अस्पतालसँग समन्वय गरेर केही हदसम्म काम गरेका छौँ, भविष्यमा पनि राम्रो काममा सहकार्य गर्नेछौँ,’ उनले भने । बोर्डका कार्यकारी निर्देशक रघु राज काफ्लेले महानगरबाट राम्रो कामको थालनी भएको बताए । ‘अरू ७५२ स्थानीय तहले पनि यसबाट सिक्नुपर्ने हुन्छ, ललितपुरले छुट्टै छवि कायम गरेको छ । विगत केही वर्षदेखिको कार्यसम्पादनले आफ्नो भूमिकालाई बलियो रुपमा स्थापित गरेको छ,’ उनले भने, ‘स्वास्थ्य बीमामा नसक्ने भुइँ तहमा रहेका लाखौँ नागरिक जोडिएका छन्, यसलाई राज्यले चाहेर पनि खोस्न सक्दैन । स्वास्थ्य बीमा ७५३ पालिका र सात प्रदेशका बेसहाराहरूको सहारा बन्दै गएको छ । नागरिकको बीमा गराउने नमूना काममा ललितपुर महानगर लागेकामा खुसी छौँ ।’ पाटन अस्पतालका निर्देशक रवि शाक्यले ललितपुर महानगरको सहयोगमा देशकै आधुनिक शव व्यवस्थापन गृह व्यवस्थापन गरिएको र यसमा स्वास्थ्य बीमामा पनि महानगरले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे ।
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
काठमाडौं । संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने भएको छ । अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी कार्यान्वयनलाई निरन्तरता दिन अमेरिकी सरकारले निर्णय गरेको हो । एमसिए(नेपालले २९७ किमी विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्ने सहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसीसीसँग निकटता पूर्वक काम गरिरहेको जनाएको छ । एमसिए(नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेका तीनवटा सबस्टेसन एवं १८ किमी सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको छ । उसले नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजना सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाएको छ । कम्प्याक्ट कार्यान्वयनका लागि एमसीसीको निरन्तर साझेदारीका लागि एमसिए–नेपालले आभार प्रकट गरेको छ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए-नेपाल)ले एमसीसी अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने संयुक्त राज्य अमेरिकी सरकारको निर्णयको स्वागत गरेको छ । एमसीसी कार्यान्वयनलाई निरन्तरता दिन अमेरिकी सरकारबाट भएको उक्त निर्णयको बुधबार स्वागत गरेको हो ।
मनसुनजन्य विपद्ः विगतमा के भयो, यस वर्ष २० लाख प्रभावित हुने
प्रगति ढकाल काठमाडौं । नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र रूपमा बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७२ सालदेखि २०८१ सम्म मनसुनजन्य विपद्का घटनामा परी २ हजार ३१७ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा मनसुनसँग सम्बन्धित बाढी, डुबान, भूक्षय, भारी वर्षा, चट्याङ र आकस्मिक बाढीका कारण ८ हजार ४१८ विपद्का घटना भएका छन् । ती घटनाबाट ५६ हजार ७०५ परिवार प्रभावित भएका छन् । यसैगरी, ३६ हजार ४७९ घर, १९५ पुल र १ हजार ३४६ गोठमा क्षति पुगेको छ । विसं २०८१ को मनसुनजन्य विपद्को घटनाबाट ४९५ ले ज्यान गुमाएका छन् । त्यस वर्ष पहिरोमा परी ३४४, बाढीका कारण ९१, भारी वर्षाका कारण ८ र चट्याङका कारण ५२ जनाले ज्यान गुमाएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । सो वर्षको बाढीका कारण १८ र पहिरोका कारण ४८ जना अझै बेपत्ता छन् । मृत्यु दरमा पहिरोको प्रभाव बढी तथ्याङ्क विश्लेषण गर्दा पहिरोको कारण मानवीय क्षति बढी देखिएको छ । १० वर्षको अवधिमा पहिरोका कारण १ हजार २९६ जनाको ज्यान गएको छ । यस्तै, बाढीले ५३९ र चट्याङले ३८५ जनाको ज्यान लिएको छ । सो अवधिमा २ हजार ६४९ जना घाइते भएका छन् भने ४१९ जना बेपत्ता छन् । सबैभन्दा बढी घाइते पनि पहिरोकै कारण भएको तथ्याङ्क छ । यस अवधिमा ३ हजार ५३२ पहिरोका घटना भएका छन्, जसबाट १ हजार १३६ घाइते र १७ हजार २३६ परिवार प्रभावित भएका छन् । भू-गर्भविद् डा सुबोध ढकालले बाढी पूर्वानुमान प्रणालीमा सुधार भए पनि पहिरोको पूर्वानुमान अझै चुनौतीपूर्ण रहेकाले यसबाट हुने मानवीय क्षति बढी भएको बताए । ‘पहिला बाढीका कारण धेरै मानिसको ज्यान जान्थ्यो, तर अहिले पूर्वानुमान प्रणालीको सुधारले जनधनको क्षति घटेको छ,’ उनले भने, ‘तर पहिरोका विषयमा पूर्व सूचना प्रणालीको विकास भएको छैन । अझै पनि पहिरो पूर्वानुमान गर्न गाह्रो छ ।’ डा ढकालका अनुसार पहाडका धेरै बस्ती पुराना पहिरो गएका जमिन क्षेत्रमै बसेकाले पनि जोखिम बढिरहेको छ । त्यस्ता ठाउँमा फेरि पहिरो जाने सम्भावना उच्च हुने गरेको उनको भनाइ छ । यस्तै, सडक तथा अन्य पूर्वाधार निर्माणका क्रममा वैज्ञानिक विधि नअपनाउँदा पनि जोखिम थप बढिरहेको ढकालले बताए । ‘सडक खन्ने बेलामा संवेदनशील ठाउँ पहिचान नगरेर निर्माण गरेको पाइन्छ । प्रविधिको उचित प्रयोग नगर्ने चलन कायमै छ । यस्तै, जहाँ जमिन छ, त्यहीँ घर बनाउने प्रवृत्ति छ । त्यो ठाउँ पहिरोको जोखिममा पर्छ कि पर्दैन भन्ने विश्लेषण नभई घरहरू बनिरहेका छन्,’ उनले भने, ‘त्यसैले भू-उपयोग नीति वैज्ञानिक र व्यवस्थित हुनुपर्छ । प्राकृतिक प्रकोप न्यूनीकरणका लागि दीर्घकालीन सोच, वैज्ञानिक योजना र प्रविधिको उचित प्रयोग, पहिरोको पूर्व सूचना प्रणालीको विकास अपरिहार्य छ ।’ यस वर्ष पनि बढी वर्षा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिसकेको छ । विभागका महानिर्देशक कमलराम जोशीले मनसुनको चार महिनाको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आवश्यक रहेको बताए । ‘यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेशको पूर्वी भू-भाग, लुम्बिनीको उत्तरी भू-भाग र गण्डकीका अधिकांश भू-भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ,’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशको दक्षिणी भू-भाग, लुम्बिनीको पश्चिमी भू-भाग, गण्डकीको उत्तर-पूर्वी भू-भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू-भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।’ यसैगरी, मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भू-भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भू-भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको जोशीले सुनाए । यसपटक २० लाख प्रभावित हुने यस वर्ष मनसुनजन्य विपद्का कारण करिब २० लाख मानिस प्रभावित हुने आकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ ले यस्तो आकलन गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले यस वर्ष मनसनुजन्य विपद्बाट देशभर करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको बताए । त्यसलाई मध्यनजर गरी आवश्यक पूर्वतयारी गरिएको पनि उनले जानकारी दिए । ‘यसपटक मनसुनबाट २० लाख मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुने अनुमान गरिएकामा दुई लाख मानिसचाहिँ प्रत्यक्ष प्रभावित हुनसक्ने अनुमान छ । जसलाई कुनै न कुनै रूपमा राहत व्यवस्थापन गर्नुपर्छ भनेर तयारी गरिरहेका छौँ,’ उनले भने, ‘स्थानीय तहमा स्वयंसेवकलाई तालिम दिइरहेका छौँ । सुरक्षा निकायसँग समन्वय गरी तयारी अवस्थामा राखेका छौँ । स्थानीय तहलाई विभिन्न तालिम दिएर बलियो बनाएका छौँ । नेपाल यातायात व्यवसायी महासङ्घसँग समन्वय गरेर विपद्को समयमा सवारीसाधन रोक्न अनुरोध गरेका छौँ ।’ सूचना व्यवस्थापनमा जोड जल तथा मौसम विज्ञान विभागका बाढी विद् विनोद पराजुलीले मनसुन अवधिभर ‘मौसम कक्ष’ २४ घण्टा सक्रिय हुने तथा बाढी र डुबानबारे पूर्व सूचना एसएमएस, टेलिफोन र भ्वाइस म्यासेज प्रणालीमार्फत सार्वजनिक गरिने बताए । नागरिकले ‘११५५’ नम्बरबाट सिधा सूचना पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । यस्ता छन् अन्य तयारी प्राधिकरणका अनुसार स्थानीय तहलाई नदी, खोलानाला सफा गर्र्न, ढल प्रणाली खुला राख्न, पहिरो सम्भावित क्षेत्रमा चेतावनी दिन, सुरक्षित स्थलमा अस्थायी आश्रय बनाउने कार्य प्राथमिकतामा राख्न भनिएको र सबै स्थानीय तहमा उद्धार टोली तयार पारिएको छ । नेपाली सेनाले विभिन्न हेलिकप्टर बेसहरूमा पूर्व तयारीसहित ‘रेस्क्यु’ टोली तैनाथ गर्ने र विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक सङ्घ र प्राधिकरणबीच समझदारीपत्रमा हस्तान्तरणसमेत भइसकेको छ । ‘विगतमा विपद् व्यवस्थापनमा भएका राम्रा र नराम्रा पक्षको विश्लेषण गरी आवश्यक पाठ सिकेका छौँ । कहाँ राम्रो भयो ? कहाँ चुक्यौँ ? के गर्दा थप राम्रो हुनसक्थ्यो भनेर समीक्षा गरेका छौँ । त्यही आधारमा यस वर्ष प्रतिकार्य योजना बनाएका छौँ,’ प्राधिकरणका कार्यकारी प्रमुख भट्टले भने, ‘विगतका अनुभव र सिकाइका आधारमा यस वर्ष पूर्व तयारीमा जोड दिएका छौँ । त्यसैले विगतभन्दा हाम्रो योजना सफल र प्रभावकारी हुने विश्वास छ ।’रासस
सिद्धबाबा सुरूङ मार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो, ‘लाइनिङ’ धमाधम अघि बढ्यो
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरूङ मार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । मुख्य टनेलको कुल १ हजार ८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरूङ मार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिए । उनले भने, ‘इन्भर्ट निर्माणको काम बुधबारदेखि सकिएको छ । ‘लाइनिङ’को काम धमाधम अगाडि बढाइरहेका छौँ । हालसम्म लाइनिङको काम ८३४ मिटर सकिएको छ ।’ सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान क्षेत्रमा निर्माणाधीन सुरूङ मार्गको हालसम्म समग्र भौतिक प्रगति ५६.३ प्रतिशत पुगेको छ । यसैगरी, वित्तीय प्रगति ५०.२४ प्रतिशत रहेको आयोजनाले जनाएको छ । सुरूङ मार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको छ । सिद्धार्थ सुरूङ मार्गअन्तर्गत बुटवल-तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि १ हजार १२६ मिटर सुरूङ मार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भइसकेको छ । सुरूङ मार्ग ५ वर्ष अर्थात् २०८३ मा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा सुरु भएको थियो । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खा याममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरूङ मार्ग निर्माण गरिएको हो । यस खण्ड हुँदै गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन सञ्चालन हुने गर्छन् । पाल्पा-सिद्धबाबा मन्दिरदेखि १ हजार १२६ मिटर लामो निर्माणाधीन सिद्धबाबा सुरूङ मार्ग र नागढुङ्गा सुरूङ मार्गका लागि सरकारले आगामी आर्थिक वर्षका लागि २ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ ।
आज तीनवटा संसदीय समितिका बैठक बस्दै, बाफिया विधेयकमाथि छलफल गर्ने
काठमाडौं । आज तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्दैछन् । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ । सोही समयमा बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूसँग प्रस्तुतीकरण र छलफल हुँदैछ । यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा पनि विविध विषयमा छलफल हुँदैछ ।