संवैधानिक आयोगका ५२ पदाधिकारी विरुद्धको रिट बहुमतले खारेज
काठमाडौं । सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ । यस फैसलासँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण कार्यकाल काम गर्न पाउने भएका छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू मनोजकुमार शर्मा, डा कुमार चुडाल र डा नहकुल सुवेदीको संवैधानिक इजलासमा उक्त विवादको सुनुवाइ भएको थियो । उक्त इजलासमा भएका न्यायाधीशहरूमध्ये वरिष्ठतम् न्यायाधीश मल्ल, न्यायाधीशहरू शर्मा र डा चुडालले रिट खारेज हुने पक्षमा राय दिएका छन् । प्रधानन्यायाधीश राउत र डा सुवेदीले विसं २०७७ मङ्सिर ३० गतेको संवैधानिक परिषद्को सिफारिस र सो आधारमा भएको नियुक्ति संविधान र कानुनविपरीत भएको हुनाले उत्प्रेषणको आदेशले बदर हुने राय दिएका छन् भने २०७८ वैशाख २६ गतेको दोस्रो नियुक्तिका हकमा रिट निवेदन खारेज हुने ठहर गरेका छन् । अदालतले उक्त रिट निवेदनमाथि सुनुवाइ सकिएर गत जेठ २८ गते फैसला सुनाउने भनिए पनि फेरि असार १८ गतेका लागि फैसला सुनाउने तय गरेको थियो । लामो छलफलपछि अदालतले मध्यरातमा रिट खारेज हुने फैसला गरेको हो । मध्यरातमा संवैधानिक इजलास बसेर प्रधानन्यायाधीश राउतले इजलासबाटै राय बाझी फैसला भएकाबारे जानकारी गराएका छन् । फैसलाको निर्णयपछि सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बहुमत न्यायाधीशले रिट निवेदन खारेज हुने ठहर गरेको जानकारी दिए । सरकारले विसं २०७७ र २०७८ मा दुई चरणमा गरी अध्यादेशमार्फत विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेको थियो । अध्यादेशमार्फत संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्नु गैरकानुनी भएको उल्लेख गर्दै सर्वोच्चमा १५ वटा रिट निवेदन दर्ता भएका थिए । ती निवेदनमाथिको सुनुवाइ गत जेठ १ गते सकिएको थियो । जेठ २८ गते निर्णय सुनाउने भनिए पनि फेरि असार १८ गतेका लागि मिति तय गरिएको थियो ।
कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा तत्कालीन अध्यक्ष मिश्र पक्राउ
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । मिश्रलाई बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । पूर्वसांसद समेत रहेका उनी बैंक घोटालाको घटना बाहिरिए पछि फरार रहेका थिए । सीआईबीको टोलीले मिश्रलाई बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो । एमाले केन्द्रीय सदस्य रहेका मिश्र २०७९ को स्थानीय तह निर्वाचनमा नेपालगन्ज उप-महानगरपालिकाकाे मेयरमा पराजित भएका थिए । २०६० सालमा स्थापना भएको कर्णाली डेभलपमेन्ट बैंकमा मिश्र विसं २०६६ देखि २०७५ सम्म बैंकको अध्यक्ष बनेका थिए । यसअघि प्रहरीले तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर राय पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई बाँकेमै राखेर अनुसन्धान भइरहेको छ । बैंकमा २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेपछि अनुसन्धान भइरहेको छ ।
लागत बढे पनि बीमाको विकासका प्रविधिको प्रयोग बढाउन निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रलाई सहज हुने गरी सूचना प्रविधिको प्रयोग बढाउन र सही रूपमा तथ्याङ्क व्यवस्थापन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणले ललितपुरमा बीमकहरूसँग आयोजित बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग तथा तथ्याङ्क व्यवस्थापन सम्बन्धी छलफल एवं अन्तक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले लागत बढे पनि बीमा उद्योगको विकासका लागि सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भएको बताए । अध्यक्ष ओझाले भने, ‘बीमा सम्बन्धी कस्ता तथ्याङ्क आवश्यक छन्, कस्ता छैनन्, कस्ता दीर्घकालसम्म आवश्यक पर्छन् भन्ने स्क्रिनिङ गर्नुपर्छ, सोही अनुसार तथ्याङ्क भण्डारण गर्नुपर्छ, दीर्घकालसम्म आवश्यक पर्ने तथ्याङ्क भण्डारण गर्ने क्षमता विकास गर्नुपर्छ, यसका लागि प्राधिकरणले पनि आवश्यक व्यवस्था गर्छ, बीमकहरूले पनि उपयुक्त व्यवस्था गर्नु आवश्यक छ ।’ कानून बमोजिम समयमै वित्तीय विवरण र तथ्याङ्कहरू प्राधिकरणमा बुझाउन बीमकहरूलाई निर्देशन दिँदै ओझाले भने, ‘समयमै प्राप्त हुने सही तथ्याङ्कबाट निर्णय प्रक्रियामा समेत सहयोग पुग्छ, बीमा व्यवसाय अभिवृद्धि हुने गरी तथ्याङ्क सदुपयोग गर्नुपर्छ, सूचना प्रविधि र तथ्याङ्क व्यवस्थापन सम्बन्धी बीमा कम्पनीका गुनासालाई सम्बोधन गर्न प्राधिकरण सधैं तत्पर छ ।’ अध्यक्ष ओझाले बीमा कम्पनीले सार्वजनिक गर्ने, प्राधिकरणमा पेश गर्ने र अन्तिम प्रकाशन हुने तथ्याङ्क फरक फरक नहुने गरी यथार्थपरक रूपमा सही तथ्याङ्क तयार एवं परिमार्जन गरी तथ्याङ्कलाई अन्तिम रूप दिन समेत निर्देशन दिए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग तथा तथ्याङ्क व्यवस्थापनमा प्राधिकरण र बीमकबीचको समन्वयलाई अझै प्रभावकारी बनाउँदै यस सम्बन्धी कार्यलाई थप परिष्कृत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारीले बीमा कम्पनीहरूले सूचना प्रविधिको प्रयोग तथा तथ्याङ्क व्यवस्थापनलाई बढी विश्वसनीय एवं जवाफदेही बनाउनुपर्ने र कम्पनीमा यस सम्बन्धी सम्पर्क व्यक्ति तोक्नुपर्ने आवश्यकता औंल्याइन् । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक रविन्द्र श्रेष्ठले बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग र तथ्याङ्कशास्त्री वसन्त प्रसाद बोहराले बीमकको तथ्याङ्क व्यवस्थापन सम्बन्धी छुट्टा छुट्टै प्रस्तुति गरेका थिए । कार्यक्रममा बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका सूचना प्रविधि तथा तथ्याङ्क व्यवस्थापन शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
नेशनल लघुवित्त १२औँ वर्षमा प्रवेश, २५ अर्ब रुपैयाँ पुग्यो लगानी
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था १२औँ वर्षमा प्रवेश गरेको छ । विसं २०७१ असार १८ गते स्थापना भएको नेशनल लघुवित्त आजबाट ११ वर्ष पुरा गरी १२औँ वर्षमा प्रवेश गरेको हो । लघुवित्तले विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाएको छ । सातै प्रदेशमा पहुँच विस्तार गरेको यस लघुवित्तले ७४ जिल्लामा १८५ शाखा कार्यालयको माध्यमबाट समाजमा रहेका विपन्न तथा गरिब वर्गको जीवनस्तर माथि उठाउने र राष्ट्रको गरिबी न्यूनीकरणमा टेवा पुर्याइरहेको छ । २ लाख ४६ हजार ग्राहक रहेका लघुवित्त संस्थाले २५ अर्ब रुपैयाँ लगानी गरेको छ भने ७ अर्ब रुपैयाँ बचत गरेको छ । १ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तमा ७ वटा बैंक तथा वित्तीय संस्था र ३१ जना राष्ट्रिय स्तरमा ख्याति प्राप्त व्यक्तिको संयुक्त लगानी रहेको छ । लघुवित्तमा वाणिज्य बैंकहरुको २७.५२ प्रतिशत, विकास बैंक तथा फाइनान्स कम्पनीहरूको ३.४१ प्रतिशत र व्यक्तिगत संस्थापकहरूको ४४३.०९ प्रतिशत सेयर स्वामित्व छ भने सर्वसाधारण सेयरधनीहरूको २५.९८ प्रतिशत स्वामित्व रहेको छ । लघुवित्तका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १३.०५ प्रतिशत, कुमारी बैंकको ९.४९ प्रतिशत, प्राइम बैंकको १.८८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको १.२२ प्रतिशत, सिद्धार्थ बैंकको ०.८० प्रतिशत, हिमालयन बैंक र नबिल बैंकको ०.५४÷०.५४ प्रतिशत सेयर लगानी रहेको छ । यस्तै, गरिमा विकास बैंकको १.२७ प्रतिशत, गोर्खाज फाइनान्सको ०.९३ प्रतिशत, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ०.६८ प्रतिशत र बेस्ट फाइनान्सको ०.५३ प्रतिशत सेयर लगानी रहेको छ । लघुवित्तको सञ्चालक समिति अध्यक्षमा केशव प्रसाद आचार्य रहेका छन् प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम बहादुर यादव रहेका छन् । आचार्य अर्थविद हुन् भने यादव नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष हुन् । साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति र साविक समीट लघुवित्तसँग मर्ज गरेको यस लघुवित्तको केन्द्रीय कार्यालय बनेपा १०, काभ्रेपलाञ्चोकमा रहेको छ ।
बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा बुधबार दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना छिमेकी मुलुक भारत पलायन भएका थिए उनले ढाका फर्कन दिइएको अदालतको आदेशको अवज्ञा गरेका थिए । अदालतको फैसलापछि मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामले पत्रकारसँग भने, 'उहाँ बङ्गलादेश पुगेको दिन वा अदालतमा आत्मसमर्पण गरेकै दिन सजाय भुक्तान गर्नुहुनेछ ।' यो मुद्दा अभियोजनकर्ताले पूर्वप्रधानमन्त्रीलाई सत्ताबाट हटाइएपछि उनले गरेको टिप्पणीमा केन्द्रित थियो, जुन उनीहरूले जारी अदालती सुनुवाइमा साक्षीहरूलाई धम्की दिएको बताएका थिए । इस्लामले भने, 'उहाँको टिप्पणीले मुद्दा दायर गर्नेहरू र साक्षीहरूबीच डरको आभा पैदा गरेको अभियोजन पक्षको जिकिर छ ।' प्रतिबन्धित अवामी लिगका देशबाहिर रहेका अर्का नेता शकिल अकाण्डा बुलबुललाई सोही मुद्दामा दुई महिनाको जेल सजाय सुनाइएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार गत वर्षको जुलाईदेखि अगष्टसम्ममा हसिनाको सरकारले सत्तामा टिक्न असफल प्रयासस्वरुप प्रदर्शनकारीमाथि कारबाही गर्न आदेश दिएपछि एक हजार ४०० जनाको मृत्यु भएको थियो । जुन १ देखि सुरु भएको अर्को सुनुवाइमा अभियोजनकर्ताहरूले हिंसाका लागि हसिनाले समग्र कमाण्डको जिम्मेवारी लिएको बताएका छन् । उनका सरकारी वकिलले बङ्गलादेशी कानुनअनुसार मानवताविरुद्धको अपराधका विभिन्न आरोप अस्वीकार गरेको बताएका छन् ।
बीमा कम्पनीलाई सही तथ्यांक व्यवस्थापन र प्रविधि प्रयोग गर्न अध्यक्ष ओझाको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रलाई सहज हुने गरी सूचना प्रविधिको प्रयोग बढाउन र सहीरूपमा तथ्यांक व्यवस्थापन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा मंगलबार ललितपुरमा बीमकहरूसँग आयोजित बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग तथा तथ्यांक व्यवस्थापन सम्बन्धी छलफल एवम् अन्तक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले लागत बढेपनि बीमा उद्योगको विकासका लागि सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भएको बताए । अध्यक्ष ओझाले भने, 'बीमा सम्बन्धी कस्ता कस्ता तथ्यांक आवश्यक छन्, कस्ता छैनन्, कस्ता दीर्घकालसम्म आवश्यक पर्छन् भन्ने स्क्रिनिङ गर्नुपर्छ, सोही अनुसार तथ्यांक भण्डारण गर्नुपर्छ, दीर्घकालसम्म आवश्यक पर्ने तथ्याङ्क भण्डारण गर्ने क्षमता विकास गर्नुपर्छ, यसका लागि प्राधिकरणले पनि आवश्यक व्यवस्था गर्छ, बीमकहरूले पनि उपयुक्त व्यवस्था गर्नु आवश्यक छ ।' कानून बमोजिम समयमैं वित्तीय विवरण र तथ्यांकहरू प्राधिकरणमा बुझाउन बीमकहरूलाई निर्देशन दिँदै अध्यक्ष ओझाले भने, 'समयमैं प्राप्त हुने सही तथ्यांकबाट निर्णय प्रक्रियामा समेत सहयोग पुग्छ, बीमा व्यवसाय अभिवृद्धि हुने गरी तथ्यांक सदुयोग गर्नुपर्छ, सूचना प्रविधि र तथ्यांक व्यवस्थापन सम्बन्धी बीमा कम्पनीका गुनासालाई सम्बोधन गर्न प्राधिकरण सधैं तत्पर छ ।' अध्यक्ष ओझाले बीमा कम्पनीले सार्वजनिक गर्ने, प्राधिकरणमा पेश गर्ने र अन्तिम प्रकाशन हुने तथ्यांक फरक फरक नहुने गरी यथार्थपरक रूपमा सही तथ्यांक तयार एवम् परिमार्जन गरी तथ्यांकलाई अन्तिम रूप दिन समेत निर्देशन दिए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग तथा तथ्यांक व्यवस्थापनमा प्राधिकरण र बीमकबीचको समन्वयलाई अझै प्रभावकारी बनाउँदै यस सम्बन्धी कार्यलाई थप परिस्कृत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारीले बीमा कम्पनीहरूले सूचना प्रविधिको प्रयोग तथा तथ्यांक व्यवस्थापनलाई बढी विश्वसनीय एवम् जवाफदेही बनाउनुपर्ने र कम्पनीमा यस सम्बन्धी सम्पर्क व्यक्ति तोक्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक रविन्द्र श्रेष्ठले बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग र तथ्यांकशास्त्री वसन्त प्रसाद बोहराले बीमकको तथ्यांक व्यवस्थापन सम्बन्धी छुट्टाछुट्टै प्रस्तुती गरेका थिए । कार्यक्रममा बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका सूचना प्रविधि तथा तथ्यांक व्यवस्थापन शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्माले गरेका थिए ।
पर्यटन क्षेत्रका चुनौतीबारे संसदीय समितिलाई बोर्डको ब्रिफिङ, २५ लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । नेपाल पर्यटन बोर्डले मुलुकको पर्यटन क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई जानकारी गराएको छ । सिंहदरबारस्थित समितिको सभाहलमा बुधबार भएको बैठका बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालको पर्यटनको वर्तमान अवस्था, वार्षिक प्रगती, भावी रणनीति, समस्या र चुनौतीबारे ब्रिफिङ गरेका छन् । बोर्डका सीईओ जोशीले भने, 'हालको आर्थिक वर्ष २०८१/८२ मा ९३.३५ करोड रुपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि १३२ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य हामीले राखेका छौं ।' पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले अमेरिका, युरोप, चीन, भारत, बङ्गलादेश, दक्षिण–पूर्व एशिया, र मध्यपूर्वका विभिन्न सहरहरूमा गरी २५ अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको सीईओ जोशीले जानकारी गराएका हुन् । ती मेलामा सहभागी ३३३ भन्दा बढी नेपाली पर्यटन व्यवसायी कम्पनीहरूले नेपालको पर्यटन उत्पादन र सेवाहरूलाई प्रवर्द्धन गरेका थिए । विदेशस्थित नेपाली दूतावासहरूसँग सहकार्य गर्दै १५ वटा गन्तव्य प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गरेको र यसले नेपालको दिगो पर्यटन विकासमा कूटनीतिक नियोगहरूको भूमिका थप प्रभावकारी बनाएको सीईओ जोशीले जानकारी गराएका हुन् । बोर्डले '४५ गन्तव्य स्तरीकरण कार्यक्रम' सँगै, होमस्टे व्यवस्थापन, होटल व्यवस्थापन, ट्रेकिङ, र्याफ्टिङ, प्रकृति गाइड तालिम, भाषा तालिम, प्याकेज निर्माण र डिजिटल मार्केटिङसम्बन्धी तालिमहरू सञ्चालन गरेको जनाइएको छ । यससँगै पर्यटन जनशक्ति विकासमा समेत ध्यान दिइएको सीईओ जोशीले बताए । नेपालमा आयोजना गरिएका ४० स्थानीय कार्यक्रमहरू, जस्तै सांस्कृतिक पर्व, परिकार महोत्सव, साहसिक पर्यटन उत्सवहरूले आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको पनि सीईओ जोशीले जानकारी गराएका हुन् । साथै, कुम्भमेलाका अवसरमा भारतीय पर्यटक लक्षित विशेष प्रचार अभियानहरू सञ्चालन गरिएको थियो । सीईओ जोशीले नेपालको पर्यटन विकासमा केही संरचनागत र प्रणालीगत चुनौतीहरू कायमै रहेकोसमेत जानकारी गराएका हुन् । उनले भने, 'आधारभूत पूर्वाधारको अभाव, स्पष्ट रणनीति नभएको गन्तव्य प्रवर्द्धन, दक्ष जनशक्तिको अभाव, स्वास्थ्य तथा सुरक्षाको चासो, मौसममा आधारित पर्यटन प्रवृत्ति, संस्थागत दिगोपनाको कमजोरी, नीति–निर्माणमा अस्थिरता, र गुणस्तरीय उत्पादनको अभाव आदि प्रमुख चुनौतीहरू हुन् ।' साथै, अन्तर्राष्ट्रिय स्तरमा उदीयमान प्रतियोगिता र पर्यटकको बदलिँदो मनोविज्ञानको प्रभाव पनि नेपालले ध्यानपूर्वक अवलम्बन गर्नुपर्ने विषय भएको बोर्डका सीईओ जोशीले बताए । पर्यटन बोर्डले नयाँ दृष्टिकोण प्रस्तुत गर्दै नेपाललाई 'विश्वकै सबैभन्दा अनुभवमूलक र जीवनभर सम्झनलायक गन्तव्य'को रूपमा स्थापित गर्ने योजना अघि सारेको छ । बोर्डले एसियाली बजारमा माग वृद्धि र परम्परागत बजारको संरक्षण, डिजिटल क्षमतामा वृद्धि, गुणस्तरीय लगानी प्रोत्साहन र गन्तव्य विविधीकरण, पर्यटन उत्पादनको सुधार र नियामकीय सुधार, श्रम, सीप र प्रादेशिक सहभागिता विस्तार, उद्योगको लचिलोपन, उत्पादकत्व र गुणस्तर अभिवृद्धि, वातावरणीय उत्तरदायित्व र दिगोपनाको सुनिश्चितता र प्रदेशहरूको पर्यटन सम्भावना उजागर गर्ने रणनीतिक आधारस्तम्भ अवलम्बन गरेको सीईओ जोशीले जानकारी गराएका हुन् । 'पर्यटन सडक पूर्वाधार आयोजना' अन्तर्गत काठमाडौं–पोखरा, नारायणघाट–बुटवल, धुलिखेल–रामेछाप, रसुवा–केरुङ, बुटवल–पाल्पा–पोखरा आदि मार्गहरूमा सुधार गर्नुपर्ने सीईओ जोशीले बताए । हवाइ सेवा सुधारमा सिधा अन्तर्राष्ट्रिय उडान, हेलिकप्टर सञ्चालन सहजता, गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अधिकतम प्रयोग, र हवाइ खेलकुद प्रवर्द्धनको लक्ष्य बोर्डले लिएको छ । पर्यटन बोर्डको दीर्घकालीन योजनाअनुसार आगामी वर्षहरूमा नेपालमा वार्षिक २५ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने, १४ लाख रोजगारी सिर्जना गर्ने र २.५ खर्ब रुपैयाँको पर्यटन आम्दानी प्राप्त गर्ने लक्ष्य बोर्डले राखेको छ । समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले पर्यटन बोर्डले गरिरहेका गतिविधिहरुको प्रशंसा गर्दै मन्त्रालय नीतिगत र संरचनागत सुधारका काममा लागिरहेको बताएका हुन् । नेपालको पर्यटनमा लगानी बढाउनका लागि निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले भने, 'पर्यटन बोर्डका माध्यमबाट निजी क्षेत्रलाई सहजीकरण गर्ने काममा लागिरहेका छौं । उहाँहरु पनि बोर्डको सहजीकरणबाट विश्वस्त र उत्साहित हुनुहुन्छ । पर्यटन बोर्ड थिंक ट्यांक पनि हो । त्यसकारण बोर्ड थप रणनीतिक तवरमा अघि बढ्नेछ भन्नेमा विश्वस्त छ ।' त्यसैगरी समितिका सदस्यहरू एनपी साउद, उदय शमशेर जबरा, धवल शमशेर राणा, प्रेम सुवाल, भिम आचार्य, शिशिर खनाललगायतले नेपालको पर्यटन प्रबर्द्धनमा देखिएका चुनौतीहरू समाधान गर्न समितिले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । समितिका सभापति राजकिशोर यादवले पर्यटन बोर्डले आफ्ना समस्याहरूलाई प्राथमिकिकरण गरेर ल्याउन आग्रह गर्दै खरिद नियमावली, पूर्वाधार विकास तथा सडक र हवाई यातायात सहज बनाउन सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्वास्थ्य बीमाको प्रिमियममा ललितपुर महानगरको उदाहरणीय काम
ललितपुर । ललितपुर महानगरले महानगरवासीको स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम तिर्ने भएको छ । ललितपुर महानगर र राष्ट्रिय बीमा बोर्डबीच बुधबार प्रिमियम तिर्नेसम्बन्धी समझदारीपत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रुपमा हस्ताक्षर गरे । यसैगरी नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारीचालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरक (टिएचपी)को भने सय प्रतिशत नै प्रिमियम तिर्ने महानगरले जनाएको हो । कार्यक्रममा चेक हस्तान्तरण पनि गरिएको थियो । ललितपुर महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम दुई वर्ष अघिबाट सुरु गरेको हो । यल स्वास्थ्य केन्द्रमार्फत बीमा कार्यक्रमको प्रथम सेवा केन्द्रबाट प्राप्त हुने स्वास्थ्य सेवा लिइरहेका छन्। ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जनले पाटन अस्पतालसँग सहकार्य गरेर महानगरको स्वास्थ्य क्षेत्रमा नयाँ र नौलो काम गरेको बताए । उनले भने, ‘महानगरले महानगरबासीलाई प्रदान गर्ने स्वास्थ्य सेवाको प्रस्थान बिन्दु हो ।’ कोभिडको बेलादेखि पाटन अस्पतालसँग सहकार्य गर्दै आएको बताए । कोभिडपछि महानगरले सहयोगमा पाटन अस्पतालमा अक्सिजन प्लान्टसमेत जडान गरेको नगर प्रमुख बताए । पाटन अस्पतालमा मर्चरी हाउसको स्तरोन्नतिको लागि समेत महानगरले सहयोग थियो । उनले यल स्वास्थ्य केन्द्रमा चाप बढेको बताउँदै उपयुक्त स्थानमा यसलाई विस्तार गर्ने तयारी गरेको समेत उनले जानकारी दिए । महानगर प्रवक्ता राजु महर्जनले महानगर बासीको स्वास्थ्यप्रति महानगर संवेदनशील भएको बताउँदै प्रिमियम तिर्ने महानगर पहिलो स्थानीय तह भएको दाबी गरे । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रवि शाक्यले स्वास्थ्य बीमा कार्यक्रममा समेटिएका नागरिकको ४० प्रतिशत प्रिमियम तिर्ने निर्णय महत्वपूर्ण निर्णय भएको बताए । ललितपुर महानगर पाटन अस्पतालको अभिभावक भएको बताउँदै पाटन अस्पतालको उतारचढाव र कठिनाइमा सँगै भएको बताए । राष्ट्रिय बीमा बोर्डका रघुराज काफ्लेले बीमा कार्यक्रमभित्र समेटिएका नागरिकको ४० प्रतिशत बीमा गरेर महानगर आफ्ना नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएको प्रमाणित भएको बताए । उनले भने, ‘यो अन्य सात सय ५२ स्थानीय तहको लागि अनुकरणीय काम हो ।’ विभिन्न क्षेत्रमा बीमा कार्यक्रमलाई कमजोर बनाउन खोजिए पनि अब कसैले चाहेर पनि यो कार्यक्रम कमजोर हुन नसक्ने बताए । बीमा कार्यक्रम भुइँ तहका नागरिकले स्वास्थ्य क्षेत्रमा प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको बताए । बीमा कार्यक्रमका थुप्रै आरोह अवरोह भएको बताउँदै त्यसलाई पन्छाउँदै अघि बढेको प्रष्ट पारे । एक सय पाँच भन्दा बढी मुलुकको स्वास्थ्य बीमाको मोडलबारे छलफल भएर लागू गरेको बताए ।