नेपाल नागरिकता विधेयक असार १४ गतेको पारित हुन्छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक आगामी असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले नागरिकता विधेयकलाई अनावश्यक रूपमा अड्काइराख्न नहुनेमा जोड दिँदै, सरकार सबै विषयमा छलफल गर्न तयार रहेको बताएका हुन् । गृहमन्त्री लेखकले समितिले छोटो समयमा विधेयकमाथि प्रभावकारी छलफल गरी टुंगोमा पुर्याएको जानकारी दिँदै असार १४ गते प्रतिनिधि सभाबाट पारित गर्ने प्रक्रिया अघि बढेको स्पष्ट पारे । उनले भने, 'छिटो छलफल गरेर यसलाई टुंग्याऔँ । सरकार कन्टेन्टमा छलफल गर्न तयार छ। नागरिकताको विषयलाई अब ढिला नगरी टुंग्याउनुपर्छ ।' बैठकमा नेपाल प्रहरी सम्बन्धी कानून संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलसमेत प्रारम्भ भएको थियो । गृहमन्त्री लेखकले प्रहरीसम्बन्धी विधेयकलाई पनि सरकारको प्राथमिकतामा राखिएको जानकारी दिँदै, संभव भए असार महिनाभित्रै समितिबाट पारित गरी प्रतिनिधि सभामा पेस गर्ने वातावरण बनाउन आग्रह गरे ।
दुनियाँकै ठूलो अर्थतन्त्र संकटमा ? अमेरिकामा मन्दीको खतरा फेरि बलियो
काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिका अहिले पनि मन्दीबाट खतरामुक्त छैन । देशका प्रमुख आर्थिक सूचकांकहरूले अझै पनि मन्दीको संकेत दिइरहेका छन् । लिडिङ इकोनोमिक इन्डेक्स (एलईआई) मा मे महिनामा लगातार छैटौं महिनासम्म गिरावट आएको छ । पछिल्ला ३९ महिनामध्ये ३७ पटक यसमा गिरावट आएको हो, जुन अमेरिकी इतिहासकै सबैभन्दा लामो गिरावटहरूमध्ये एक हो । पछिल्ला ६ महिनामा यसमा वार्षिक ५ प्रतिशतको दरले गिरावट आएको छ, जसले देखाउँछ कि अमेरिकामा मन्दीको खतरा अझै कायम छ । एलईआई आफ्नो उच्चतम बिन्दुबाट १६ प्रतिशतले घटिसकेको छ र हाल यो नौ वर्षको न्यूनतम स्तरमा पुगेको छ । सन् १९६० पछिको इतिहास हेर्दा हरेक पटक मन्दी सुरु हुनु अघि एलआ मा लामो समयसम्म गिरावट आएको देखिन्छ । त्यसैले अब अमेरिकी अर्थतन्त्र मन्दीतर्फ जाँदैछ भन्ने आशंका बलियो हुँदै गएको छ । यदि अमेरिका मन्दीमा फस्यो भने त्यसको असर सम्पूर्ण विश्वमा पर्नेछ । प्राविधिक रूपमा भने लगातार दुई त्रैमासिक अवधिमा जीडीपी घटेमा त्यसलाई मन्दी भनिन्छ । यहीबीच अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले निकट भविष्यमै ब्याजदरमा कटौती हुने सम्भावना नरहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी अहिले नीति परिवर्तनको चरणमा छौं र यसको अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने भन्न अझै गाह्रो छ । हामी अहिले प्रतिक्षामा छौं ।’ ट्रम्पको ट्यारिफ नीतिले अर्थतन्त्रमा केही असर गर्नेछ, तर त्यो कति गम्भीर असर पार्छ भन्ने हेर्न बाँकी नै छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर घटाउन दबाब दिइरहेका छन् र फेडका केही अधिकारीहरूले पनि उनको मागलाई समर्थन गरेका छन् । जुकरबर्गको नयाँ खेल : एआई दुनियाँमा अग्रता लिन अरबौं खर्च गर्न तयार चीनको ‘डलरमुक्त अभियान’ : विश्व बजारमा छाउने तयारी गर्दै युआन
अरूको नाममा परीक्षा दिँदै गर्दा नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंं महानगरपालिका–१४ स्थित रहेको जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरको परीक्षामा एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जुम्ला, चन्दननाथ नगरपालिका–८ घर भइ हाल काठमाडौं महानगरपालिका–४ धुम्वाराही बस्ने २६ वर्षीय केशव रोकाया रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, 'उक्त क्याम्पसमा अध्ययनरत दानबहादुर रोकायाको तर्फबाट परीक्षामा सहभागी भएको र निजलाई आवश्यक अनुसन्धान तथा कारबाही गर्न जन प्रशासन क्याम्पसको प्राप्त पत्रानुसार पक्राउ गरिएको हो ।' निज नक्कली परीक्षार्थी रोकायालाई शिक्षासम्बन्धी ऐन कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।
अध्यक्ष ओलीले तिरे एमालेको लेबी
ललितपुर । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिरेका हुन् । अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए ।
राष्ट्र बैंकलाई मोरङ उद्योग संघको आग्रह : लगानी, कर्जा र डिजिटल कारोबार नीतिमा सुधार गर्नुपर्ने
काठमाडौं । मोरङ उद्योग व्यापार संघले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तयार गरिने मौद्रिक नीतिमा समावेश गरिनुपर्ने ११ बुँदे सुझाव नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको छ । संघका अध्यक्ष अनुपम राठीले जारी विज्ञप्तिमा पूँजी बजारको विकास, कर्जा प्रवाहमा लचीलोपन, साना तथा मझौला उद्योगका लागि सहजता, र डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उपायहरू मौद्रिक नीतिमा समेटिनुपर्ने उल्लेख गरिएको छ । संघका प्रमुख सुझावहरूमा सेयर धितो कर्जाको सीमा १५ करोडबाट ३० करोड पुर्याउने, घरजग्गा धितो कर्जा सीमा ५० प्रतिशतबाट ७० प्रतिशत पुर्याउने, र उत्पादनमूलक उद्योगहरूका लागि चालु पुँजी कर्जाको सीमा ४० बाट ६० प्रतिशत पुर्याउने छन् । त्यसैगरी, साना तथा मझौला उद्योगका लागि कर्जा सीमा ५-१० करोड कायम गर्नुपर्ने र घाटामा गएका व्यवसायहरूको ऋण वर्गीकरण गर्दा व्यवसायको सम्भाव्यता तथा सुधार प्रयासलाई ध्यान दिनुपर्ने माग गरिएको छ । डिजिटल कारोबारको सन्दर्भमा बैंक तथा वालेट सेवा प्रदायकहरूले लिने ट्रान्सफर शुल्क उच्च रहेको भन्दै त्यसलाई ३ तहमा सीमित गर्नुपर्ने सुझाव दिइएको छ । नेपाल–भारत डिजिटल भुक्तानीमा समता ल्याउने, स्टार्टअप व्यवसायलाई कर्जामा पहुँच दिने, स्थिर पुँजी कर्जाको व्याजदर कम गर्ने, र खाद्य वस्तुको आयात खुला गरी विदेशी मुद्रा सञ्चिति परिचालन गर्नुपर्ने संघको भनाइ छ । साथै, अत्यधिक बैंक विदाका कारण उद्योगमा पर्ने असर न्यूनीकरण गर्न वार्षिक अधिकतम १३ दिन विदा मात्रै दिने नीति ल्याउनुपर्ने पनि माग गरिएको छ।
मोदी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट, ५ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.३३ अंकले घटेर २६ सय बिन्दुमा झरेको छ । आज ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार ३११ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनीको भएको छ । बुटवलको ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३६ करोड, राधी विद्युतको २४ करोड, सानिमा माइ हाइड्रोको २० करोड र चन्द्रागिरी हिल्सको १७ करोड रुपैयाँ बढीको करोबार भएको छ । आज मोदी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सिटिजन्स बैंकको एपबाट २ लाखसम्म ऋण लिन सकिने सुविधा सुरु
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरूका लागि मोबाइल बैंकिङ एपमार्फत ‘डिजिटल लोन अगेंस्ट फिक्स्ड डिपोजिट’ सेवा सुरु गरेको छ । अब ग्राहकले आफ्नो मुद्दती निक्षेपको आधारमा अनलाइनबाटै तत्काल ऋण लिन सक्ने सुविधा पाउनेछन् । बैंकले उक्त सेवा ल्याउने उद्देश्य सेवा प्रक्रियालाई सरल, सहज र डिजिटल माध्यममै उपलब्ध गराउनु रहेको जनाएको छ । ग्राहकले मोबाइल एपमार्फत मुद्दती निक्षेपको अधिकतम ९० प्रतिशतसम्म (५ हजारदेखि २ लाख रुपैयाँभित्र) ऋण प्राप्त गर्न सक्नेछन् । ऋणको स्वीकृति पश्चात् रकम आवेदकको बचत खातामा तुरुन्तै जम्मा हुनेछ । यस सेवाका लागि कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने भएकाले डिजिटल बैंकिङको दिशा तर्फको यो प्रयासले ग्राहकलाई सहजता र समयको बचत गराउने विश्वास बैंकले व्यक्त गरेको छ । सिटिजन्स बैंकले डिजिटल प्रविधिको माध्यमबाट सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजान निरन्तर रुपमा नयाँ-नयाँ प्रविधिमैत्री सेवा ल्याइरहेको जनाएको छ ।
पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेनन : सीईओ जोशी
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा लगानी बढे पनि अपेक्षाकृत रुपमा विदेशी पर्यटकको सङ्ख्या बढ्न नसकेको बताएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल पर्यटन बोर्डले आयोजना गरेको पर्यटक सवारीचालक तथा सहचालक अभिमूखीकरण प्रशिक्षण कार्यक्रममा उनले आवश्यक पूर्वाधार निर्माण नहुँदा सोचेभन्दा कम पर्यटक आएको बताए । 'अहिले पूर्वाधारको अभावमा हामीले लक्ष्यअनुसार पर्यटक ल्याउन सकेका छैनौँ, यद्यपि मुलुकभर सडकलगायतका पूर्वाधार निर्माण तथा विस्तार भइरहेको सन्दर्भमा आगामी दुईपछि पर्यटक बढाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ', उनले भने, 'यसका लागि सम्बन्धित पक्ष जिम्मेवार भएर पूर्वाधार निर्माणमा सक्रिय हुनुपर्छ ।' उनले पर्यटकलाई लक्षित गरेर सेवा दिने गुणस्तरीय हुनुपर्नेमा समेत सुझाव दिए । त्यस अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालका वरिष्ठ प्रहरी नायब निरीक्षक राजीव विष्टले पर्यटक सवारी चालकहरु आफै जिम्मेवार हुनुपर्नेमा जोड दिए । 'सवारी चालक र सहचालक जिम्मेवार भए दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ, चालकहरूले ट्राफिकका लागि नभई आफ्ना लागि नियम पालना गर्नुपर्छ ।' नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष बेदराज बास्तोलाले चालक आफैँ सक्षम भए आफू र पर्यटकलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन सक्ने धारणा व्यक्त गरे । 'यस प्रशिक्षणले चालक र सहचालकलाई सक्रिय, दक्ष र सुरक्षाका उपाय अपनाउनेबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान दिनेछ', उनले भने, 'चालक र सहचालकले यात्रामा पर्यटकसँग गर्ने व्यवहार सिक्नुहुनेछ ।' यात्रामा चालक मात्र नभई सहचालक पनि उत्तिकै जिम्मेवार हुन आवश्यक रहेको उनको भनाइ थियो । आजदेखि सुरु प्रशिक्षण दुई दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रममा पर्यटक सवारीका चालक तथा सहचालक गरी ९२ जनाको सहभागिता छ ।