पुँजी बजारमा बैंकहरूको १ खर्ब २१ अर्ब रुपैयाँ लगानी, माछापुच्छ्रे र कृषि विकासले धेरै बढाए
काठमाडौं । वाणिज्य बैंकहरूले १ खर्ब बढी रकम सेयर धितो कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा २० वटा वाणिज्य बैंकले १ खर्ब २१ अर्ब ५८ करोड २८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् । जबकि गत वर्षको असोजसम्मा बैंकहरुले ८४ अर्ब २१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । गत वर्षको तुलनामा चालु आवमा बैंकहरुले ४४.३७ प्रतिशत अर्थात् ३७ अर्ब ३७ करोड २३ लाख रुपैयाँ बढी सेयर धितो कर्जा प्रवाह गरेका हुन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा विगतमा गरिएका कडाइलाई खुकुलो गरेसँगै बैंकहरुले लगानी बढाएका हुन् । नीतिगत व्यवस्था सहज भएर सेयर बजारमा प्रवाह हुने रकम बढेको भएपनि बजार माथि उकालो लाग्न नसकेको लगानीकर्ताहरु बताउँछन् । चालु आवको असोज मसान्तसम्ममा सबैभन्दा धेरै माछापुच्छ्रे बैंकले सेयर धितो कर्जा वृद्धि गरेको छ । माछापुच्छ्रे बैंकको २९२.४८ प्रतिशत बढाएर ३ अर्ब ५३ करोड २५ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । जबकि गत वर्षको असोजमा बैंकले ९० करोड रुपैयाँ मात्रै सेयरमा लगानी गरेको थियो । यस्तै, असोज मसान्तसम्ममा कृषि विकास बैंकको २५१.९९ प्रतिशत बढेर ५ अर्ब ९१ करोड रुपैयाँ सेयर कर्जा लगानी प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६७ करोड रुपैयाँ सेयरमा लगानी गरेको थियो । समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकको ८९.९८ प्रतिशत बढेर ७ अर्ब ७९ करोड रुपैयाँ, एनएमबि बैंकको ८६ प्रतिशत बढेर ३ अर्ब २ करोड रुपैयाँ, प्राइम बैंकको ७७.७८ प्रतिशत बढेर ९ अर्ब ८० करोड रुपैयाँ, एभरेष्ट बैंकको ७२.८२ प्रतिशत बढेर ३ अर्ब ६७ करोड रुपैयाँ सेयरमा लगानी गरेका छन् । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ६७.११ प्रतिशत बढेर ६ अर्ब ९२ करोड रुपैयाँ, हिमालयन बैंकको ६५.४५ प्रतिशत बढेर २ अर्ब ९५ करोड रुपैयाँ, प्रभु बैंकको ६३.६९ प्रतिशत बढेर ५ अर्ब ९६ करोड रुपैयाँ, सानिमा बैंकको ५५.२५ प्रतिशत बढेर २ अर्ब ९६ करोड रुपैयाँ, नबिल बैंकको ४८.३८ प्रतिशत बढेर १६ अर्ब २६ करोड रुपैयाँ सेयरमा लगानी गरेको राष्ट्र बैंकको तथ्याङ्क छ । राष्ट्र बैंकका अनुसार कुमारी बैंकको ३६.२९ प्रतिशत बढेर १० अर्ब ५४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को २३.३२ प्रतिशत बढेर ३ अर्ब ८० करोड रुपैयाँ, सिटिजन्स बैंकको १८.७४ प्रतिशत बढेर ६ अर्ब ६१ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको १७ प्रतिशत बढेर ५३ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १७ प्रतिशत बढेर १२ अर्ब ५६ करोड रुपैयाँ, सिद्धार्थ बैंकको १५.७५ प्रतिशत बढेर ८ अर्ब ९५ करोड रुपैयाँ पुँजी बजारमा लगानी गरेका छन् । समीक्षा अवधिमा नेपाल बैंक र एनआईसी एशिया बैंकले भने सेयर बजारमा प्रवाह हुने कर्जा घटाएका छन् । एनआईसी एशिया बैंकले १६.०७ प्रतिशत घटाएर २ अर्ब ४७ करोड रुपैयाँ र नेपाल बैंकले ३.६१ प्रतिशत घटाएर ७ अर्ब २६ करोड रुपैयाँ मात्रै सेयरमा लगानी गरेका हुन् ।
अध्यक्ष ओली भन्छन्– प्रतिनिधिसभा पुनःस्थापनाका लागि एमाले अदालत जान्छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित आफ्नो पार्टी सर्वोच्च अदालतमा जाने घोषणा गरेका छन् । उनले यो कदम संविधानको रक्षा र लोकतान्त्रिक अभ्यासको पुनःस्थापनाका लागि आवश्यक भएको बताए । मंगलबार च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको विघटित प्रतिनिधिसभाका एमाले सांसदहरूको बैठकलाई सम्बोधन गर्दै ओलीले हालै भएको प्रतिनिधिसभा विघटन पूर्ण रूपमा असंवैधानिक भएको दाबी गरेका हुन् । उनले संविधानका प्रावधानहरू पटक–पटक अध्ययन गरेको बताउँदै प्रतिनिधिसभा विघटनका लागि संविधानले कुनै ठाउँ नदिएको बताए । ओलीले भने, ‘यो सरकारले आफूलाई लोकतान्त्रिक र संवैधानिक भनेर आँट गर्न सक्ने अवस्था छैन । न शासन सञ्चालनमा पारदर्शिता छ, न त वैधानिकता नै ।’ उनका अनुसार देशमा फैलिएको अराजकता, आगजनी, तोडफोड र लुटपाटजस्ता गतिविधिलाई सरकारले क्रान्तिको उपमा दिएको छ, जुन लोकतान्त्रिक मूल्य–मान्यताका विरुद्ध रहेको छ ।
पुन: फोहोर व्यवस्थापनमा संकट, बञ्चरेडाँडाका स्थानीयले बुधबारदेखि फोहोर रोक्ने
काठमाडौं । सरकारले दिएको वाचा फेरि पनि कागजमै सीमित भएको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीयहरूले बुधबारदेखि फोहोर विसर्जन पुनः रोक्ने चेतावनी दिएका छन् । बञ्चरेडाँडा–सिसडोल बीचको धारेमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा धुनिबेशी नगरपालिका, ककनी गाउँपालिका र बेलकेटगढी नगरपालिकाका स्थानीयहरू एकैसाथ उभिएका थिए । स्थानीयका अनुसार सरकार तथा सम्बन्धित निकायले १५ दिनभित्र माग पूरा गर्ने प्रतिवद्धता जनाए पनि एउटा पनि माग सम्बोधन भएन । यसअघि १२ कात्तिकमा स्थानीयले फोहोर रोक्दा काठमाडौं उपत्यकाका चाेकचोकमा फाेहाेर थुप्रिएकाे थियाे ।अवरोध चर्किएपछि १४ कात्तिकमा काठमाडौं महानगरले घर–घरमै फोहोर सँगालेर कम्पाउण्डभित्र राख्न सूचना जारी गरेको थियो । त्यसपछि सहरी विकासमन्त्री कुलमान घिसिङ स्वयं १६ कात्तिकमा बञ्चरेडाँडा पुगेका थिए र स्थानीयका अगाडि १५ दिनभित्र माग सम्बोधन गर्ने वाचा गरेका थिए ।
जेनजी आन्दोलनका घाइतेलाई जनही १५ हजार दिने सरकारको निर्णय
काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई सरकारले तत्काल जनही १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४२९ जनालाई १५ हजार रुपैयाँ रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले प्रदेश तथा स्थानीय सरकार शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारले प्रदान गर्ने करिव ५ मिलियन अमेरिकी डलर तथा स्वीस सरकारले प्रदान गर्ने २.१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्न आवश्यक अध्ययनगरी सुझाव पेश गर्न समिति गठन गरिएको छ । प्रकाशजंग केसीको संयोजकत्वमा ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ गठन गरिएको हो । बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको मन्त्री खरेलले बताए । साथै, माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि लाग्ने पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम गर्ने निर्णय गरिएको छ । सो कार्यका लागी अध्यागमन नियमावली, २०५१ को अनुसूचि–१२ मा हेरफेर गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । बैठकले शहीद धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठ लाई नियुक्त गरेको छ ।
बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको उद्घाटन
काठमाडौं । भेस्पा तथा अप्रिलियाका नेपालका आधिकारिक विक्रेता डेल्टा अटोकर्प प्रालिले बालाजुको सानिमा बैंक नजिकैै नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सर्भिस सेन्टरले २०८२ मंसिर १ गतेदेखि आधिकारिक रूपमा सेवा प्रदान गर्न थालेको हो । सर्भिस सेन्टरको उद्घाटन डेल्टा अटोकोर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा निर्देशक विजयकुमार महतोले गरे । सर्भिस सेन्टरले ग्राहकहरूलाई बिक्री पछिको सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास कम्पनीले लिएको छ । नयाँ बलाजु सर्भिस सेन्टरले ग्राहकहरूलाई प्रिमियम सर्भिसिङ, मर्मत, डाएग्नोस्टिक सेवा तथा जेन्यून स्पेयर पार्ट्स उपलब्ध गराउँदै विश्वसनीय र सहज अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ ।
आइवर्ट नेपालको चौथो अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न
काठमाडौं । आइवर्ट नेपालद्वारा आयोजित चौथो अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव तथा छैटौँ लघुचलचित्र प्रतियोगिता सम्पन्न भएको छ । महिला सशक्तिकरण, सिर्जनशीलता र कलात्मक अभिव्यक्तिलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव मंसिर १ गते चलचित्र विकास बोर्डमा सम्पन्न गरिएको हो । महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रहरू भारतबाट ‘ब्याक स्टोरी’, बंगलादेशबाट ‘एक्स्ट्रा गर्ल फ्र्रम द सिल्भर स्क्रिन’ र ‘द लाइफ अफ अक्टोपस फिसरम्यान’, तथा केन्याबाट एक चलचित्र प्रदर्शन गरिएको थियो । त्यसैगरी, आइवर्ट नेपालको छैटौँ लघुचलचित्र प्रतियोगितामा अन्तिम छनोटमा परेका ९ लघुचलचित्रमध्ये पत्रिका घिमिरेको ‘ह्वाट ग्रोज इन थारि माइलाज गार्डेन’ प्रथम, सरिता साहको ‘पुतला’ दोस्रो र निशा मानन्धरको ‘बडी नट माइन्’ तेस्रो भएका छन् । प्रतियोगितामा आकांक्षा जिसी भुजेलद्वारा खोजमूलक पत्रकारितामा आधारित रूपमा निर्माण गरिएको वृत्तचित्र ‘डस्ट टु डिस्क्लोज’ लाई विशेष अवार्डद्वारा सम्मान गरिएको थियो । विजेताहरूलाई पुरस्कार, नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा छानिएका सबै चलचित्र १५ मिनेटभित्रका थिए । प्रतियोगिताका निर्णायकहरूमा चलचित्र निर्माता अनुपा श्रेष्ठ, पत्रकार तथा वृत्तचित्र निर्माता देवकी बिष्ट र निर्देशक समुन्द्र भट्ट रहेका थिए । यस वर्षदेखि आइवर्ट नेपालले मोबाइलबाट निर्माण भएका लघुचलचित्रहरूको पनि प्रतियोगिता आरम्भ गरेको छ । नागार्जुन नगरपालिकाको दस वटै वडाहरूमा नागार्जुन नगरपालिका र इमेज एकेडेमीसँग सहकार्यमा गत असारमा आयोजित मोबाइल फिल्म मेकिङ्ग तालिममा सहभागीहरूले बनाएका ६ लघुचलचित्रमध्ये चण्डिका केसीको ‘ओ नेगेटिभ’ प्रथम, अनुशा पौडेलको ‘मेनोपज’ दोस्रो र दिपा बलामीको ‘द मिस्ड कल’ तेस्रो भएका छन् । विजेताहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । मोबाइल चलचित्रतर्फका निर्णायकहरू आइवर्ट नेपालका बोर्ड सदस्यहरू रहेका थिए । महोत्सवको उद्घाटन नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी पहिलो महिला कुलपति माननीय निशा शर्माले गरेकी थिइन् । कार्यक्रममा रास्वपाका पूर्व सांसद तथा चलचित्र निर्माता अशिम शाह, निफका अध्यक्ष केपी पाठक, निफका कार्यक्रम संयोजक शिव पुरी, प्रेस काउन्सिलका मदनकृष्ण सिलवाल, आइवर्ट इन्टरनेशनलकी सचिव मन्दिरा राउत, आइयुसिएन क्षेत्रीय परिषद् सदस्य रोशनी अधिकारी पाठक, फ्रान्सका पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठ, रेडियो सगरमाथा स्टेशन म्यानेजर उर्वशी बस्न्यात, अन्नपूर्ण नेटवर्ककी रिता अधिकारी, अर्थर अवार्डकी अध्यक्ष शिला खड्का, वरिष्ठ सर्जन डा. उत्सवमान श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रमा बोल्दै कुलपति निशा शर्माले नेपाली कला क्षेत्रमा अनेकौं चुनौती भए पनि महिलाहरूको सहभागिता दिनानुदिन बढिरहेको जनाउँदै महिलाहरू कुनै पनि क्षेत्रमा पछि हट्न नहुने धारणा व्यक्त गरिन् । महोत्सवकी निर्देशक संगीता श्रेष्ठका अनुसार नेपाली चलचित्र उद्योगमा महिला निर्देशकहरू निकै कम रहेका अवस्थामा यस्ता महोत्सव र प्रतियोगिताले महिला निर्देशक तथा फिल्ममेकरहरूलाई उत्साह र अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । समारोहमा श्रेष्ठद्वारा निर्देशित तथा नेपाल आदिवासी चलचित्र महोत्सव बेलायतमा ‘बेस्ट डकुमेन्ट्री फिल्म’ बनेको ‘द एभरेस्ट मम’ को नेपाल प्रिमियर पनि गरिएको थियो। आइवर्ट नेपालकी अध्यक्ष इच्छा गुरुङका अनुसार महिला पत्रकारहरू, चलचित्र निर्माणमा रुचि राख्ने महिलाहरुको क्षमता अभिवृद्धि, उनीहरूको सिर्जनाको सम्मान तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पहुँच बढाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । चलचित्रमार्फत महिला सशक्तिकरण, भाषा, संस्कृति र पर्यटनको आदानप्रदान हुने पनि उनले बताइन् ।
एनपीएल: विराटनगरविरुद्ध टस जितेर बलिङ गर्दै पोखरा
काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिए । एनपीएल प्रतियोगिताको विजेता टिमले गतवर्ष जस्तै यस वर्ष पनि १ करोड ११ लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टिमले ५१ लाख तथा तेस्रो हुने टिमले २५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । पोखराले पहिलो संस्करणको भेटमा विराटनगरविरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।
शिखर इन्स्योरेन्स २२औं वर्षमा प्रवेश, सात प्रदेशमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशभर बढ्दो रगतको मागलाई ध्यानमा राख्दै कम्पनीले सातै प्रदेशमा एकसाथ साताव्यापी रक्तदान अभियान सञ्चालन गरेको हो । कम्पनीका अनुसार कोशी प्रदेशमा ५३ युनिट, मधेश प्रदेशमा १६७ युनिट, बागमती प्रदेशमा ६३९ युनिट, गण्डकी प्रदेशमा ७९ युनिट, लुम्बिनी प्रदेशमा ४३५ युनिट, कर्णाली प्रदेशमा ४४ युनिट तथा सुदूरपश्चिम प्रदेशमा २२ युनिट गरी जम्मा १४३९ युनिट रगत संकलन भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा सहकार्य र उत्साहजनक सहभागिताका लागि कम्पनीले सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक समिति, आयोजक कार्यालयहरू, नेपाल रेडक्रस सोसाइटी, रक्तदाता तथा सबै सहयोगीप्रति आभार व्यक्त गरेको छ । २२औं वर्षमा प्रवेश गरेको शिखर इन्स्योरेन्सले आगामी दिनमा अझ सबल, सरल र सुदृढ बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।