दिवङ्गत पत्रकार सुरेश रजककी श्रीमतीलाई रोजगारीको व्यवस्था
काठमाडौं । सरकारले दिवङ्गत पत्रकार सुरेश रजकको श्रीमतीलाई रोजगारीको व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजककी श्रीमती सुजन मगियालाई ‘कम्प्युटर अपरेटर’ पदमा रोजगारीको व्यवस्था मिलाइएको हो । मंगलबार सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री खरेल र मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले सुजन मगियालाई कम्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरे । विसं २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा दृश्य कैद गर्दागर्दै एक घरभित्र आगजनीमा परी पत्रकार रजकको निधन भएको थियो । सञ्चारमन्त्री खरेलले देश र जनताका लागि जोखिम मोलेर समाचार सङ्कलन गर्ने पत्रकारहरु सधैँ असुरक्षित रहने अवस्थामा राज्यको अभिभावकीय भूमिका रहनुपर्ने विचार व्यक्त गरे । उनले भने, 'पत्रकार सुरेशको क्रियाशील पत्रकारका रुपमा जोखिम मोलेर पत्रकारिता गरिरहेको सन्दर्भमा दुःखद निधन भएको छ । सुरेशका लागि केही गर्न पाए हुन्थ्यो भनेर मन्त्रालयलाई लागिरहेको थियो र नेपाल पत्रकार महासङ्घले पनि आग्रह गरिरहेको सन्दर्भमा सानो रुपमा भए पनि रोजगारीको पहल गरिएको छ । यसले थोरै भए पनि सान्त्वना मिल्ने अपेक्षा छ ।' सञ्चारमन्त्री खरेलले दिवङ्गत रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। उनले परिवारका लागि निःशुल्क उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था गर्नसमेत पहल गरिने प्रतिबद्धता जनाए । दिवङ्गत पत्रकार सुरेश रजकका आफन्त पुरुषोत्तम मगियाले कार्यस्थलमा नै निधन भएका सुरेशको न्यायका लागि घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन, सहिद घोषणा गर्न र तीनकुनेमा रजकको सालिक निर्माणका लागि पहल गर्न आग्रह गरे ।
राजनीतिक जोखिमबीच पनि नेपालले फिचको ‘बीबी माइनस’ रेटिङ जोगायो
काठमाडौं । विश्वव्यापी क्रेडिट रेटिङ एजेन्सी फिच रेटिङ्सले नेपाललाई ‘बीबी माइनस’ रेटिङ दिएको छ । गत वर्षको मूल्यांकनबाट पनि नेपालले यही रेटिङ प्राप्त गरेको थियो । कम बाह्य ऋणभार, सबल विदेशी मुद्रा सञ्चिति र जलविद्युतमा आधारित मध्यकालीन वृद्धि सम्भावनालाई आधार बनाउँदै फिचले यो निर्णय लिएको हो । हङकङबाट मंगलबार सार्वजनिक गरिएको प्रतिवेदनले यस्तो देखाएको हो । यो पुष्टि सेप्टेम्बरमा युवाहरूले नेतृत्व गरेको अशान्तिका कारण बढ्दो राजनीतिक अनिश्चितता र वित्तीय घाटाका बाबजुद आएको हो । प्रतिवेदनले नेपालले समष्टिगत अर्थतन्त्रमा देखाएको स्थायित्वको प्रशंसा गर्दै राजनीतिक अस्थिरता दीर्घकालीन भएमा शासन क्षमता, सुधार कार्यक्रम र सार्वभौम क्रेडिट प्रोफाइल कमजोर हुनसक्ने चेतावनी पनि दिएको छ । पछिल्ला महिनाहरूमा देखिएको सामाजिक(राजनीतिक चुनौति, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले नेपालको दीर्घकालीन दायित्वहरू पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः प्रमाणित गर्नुका साथै समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको पुष्टि गर्दछ । चुनाव-केन्द्रित खर्च तथा अनिश्चितता बढ्ने सम्भावनाबीच पनि सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, उचित खर्च प्राथमिकता, समयमै चुनाव सम्पन्न गर्ने प्रतिबद्धता र रणनीतिक परियोजनाहरूलाई अवरोध रहित रूपमा निरन्तरता दिने नीतिले अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रतिको विश्वास मजबुत बनाएको छ। मुलुकभित्र वैदेशिक लगानी बढाउन, अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य विस्तार गर्न र भविष्यमा अन्तर्राष्ट्रिय वित्तीय बजारमा नेपालले आफ्नो सार्वभौम ऋण जारी गर्दा आवश्यक पर्ने स्थिर क्रेडिट प्रोफाइल कायम राख्न यो रेटिङले मद्दत पुर्याउनेछ । विशेषगरी ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रमा हुने दीर्घकालीन लगानी आकर्षणका लागि रेटिङ स्थायित्व अत्यन्त महत्त्वपूर्ण सूचकको रुपमा रहेको हुन्छ । फिचका अनुसार गत भदौमा भएको जेनजी आन्दोलन छिटो शान्त भए पनि देशको राजनीतिक वातावरण अझै कमजोर छ । फिचका अनुसार संघीय बजेट घाटा आर्थिक वर्ष २०२६ मा जीडीपीको ३.५ प्रतिशतमा पुग्ने छ, जुन २०२५ को अनुमानित १.७ प्रतिशत र बीबी माइनस रेटेड देशहरूको मध्यमान (३ प्रतिशत) भन्दा उच्च हो । २७ मा पनि घाटा जीडीपीको ३.४५ प्रतिशतमा रहने अनुमान छ । नेपालका विदेशी मुद्रा सञ्चिति अझै पनि देशको बलियो पक्ष हो । आर्थिक वर्ष २०२५ मा सञ्चिति १३.५ महिनाको आयात धान्ने स्तरमा पुगेको छ, जुन बीबी माइनस रेटिङ पाएका राष्ट्रहरूको ४.८ महिनाको औसतभन्दा धेरै माथि छ । फिचले आव २०२६ मा आर्थिक वृद्धि २.५ प्रतिशतमा झर्ने बताएको छ, जुन आव २०२५ को ४.६ प्रतिशतभन्दा निकै कम हो । जेनजी आन्दोलनले आर्थिक गतिविधिमा भएको अवरोध, निजी लगानीमा गिरावट, कम पर्यटक आगमन र मौसमजन्य कृषि क्षतिका कारण यस्तो भएको फिचको भनाइ छ। तर प्रमुख जलविद्युत् र प्रसारण लाइन परियोजनाहरू समयमा अघि बढिरहेकोले मध्यकालीन आर्थिक वृद्धि ५ प्रतिशत आसपास रहने अपेक्षा गरिएको छ । फिचका अनुसार नेपालको रेटिङ घट्न राजनीतिक अस्थिरता अझ बढेर शासन र आर्थिक वृद्धि कमजोर हुने अवस्था सिर्जना हुनु, राजनीतिक हस्तक्षेपका कारण सार्वजनिक वित्तीय व्यवस्थापन बिग्रनु र आईएमएफ कार्यक्रम सफल नहुँदा अन्तर्राष्ट्रिय ऋणदाता समर्थन कमजोर हुनु प्रमुख कारण बन्न सक्छन् । टिङ बढ्नका लागि नेपालले स्थिर र दिगो आर्थिक वृद्धि हासिल गर्दै जीडीपी र प्रति व्यक्ति आयमा सुधार ल्याउनुपर्नुका साथै राजस्व परिचालन मजबुत पारेर सरकारी ऋणमा उल्लेख्य कमी गर्नुपर्ने फिचको मूल्याङ्कनमा उल्लेख छ ।
मुक्तिनाथ विकास बैंकले महराजगञ्ज प्रहरीवृतलाई दियो दुई थान मोटरसाइकल
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रदान गरिएको उक्त सहयोग शान्ति–सुरक्षा प्रवर्द्धनमा उपयोगी हुने अपेक्षा गरिएको छ । एक समारोहबीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बर्जाचार्यले प्रहरीवृत महराजगञ्जका प्रमुख निरञ्जन थापालाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । बैंकले गरेको सहयोगले प्रहरीलाई संवेदनशील क्षेत्रहरूको निगरानी, समयमै सूचना संकलन तथा समाजमा शान्ति–व्यवस्था कायम राख्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । बैंकका अनुसार सुरक्षित समाज निर्माण सबैको साझा दायित्व भएकाले नागरिक सुरक्षामा अग्रपंक्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग गर्नु संस्थाको सामाजिक जिम्मेवारी हो । यस सहयोगले प्रहरीको दैनिक कार्यसम्पादन सहज हुने बैंकको विश्वास छ ।
रुपन्देही व्यापार संघको तेह्रौं अधिवेशनको अध्यक्ष पदमा सहमतिको प्रयास
काठमाडौं । रुपन्देही व्यापार संघको तेह्रौं अधिवेशनको अध्यक्ष पदको लागि सहमतिको प्रयास भइरहेको छ । संघको अध्यक्ष पदमा दयानिधि भण्डारी र प्रकाश ढकाल प्रमुख प्रत्यासी रहेका छन् । रुपन्देहीका व्यापारिक क्रियाकलापमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने यो संस्थामा मंसिर ५ देखि नयाँ नेतृत्वले कार्यभार सम्हाल्ने छ । संघ प्रदेशको सबैभन्दा पुरानो र प्रतिष्ठित छाता संस्था हो जसले विभिन्न व्यापारिक, आर्थिक र सामाजिक मुद्दाहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । भण्डारी र ढकाल दुबै संघको नेतृत्वमा रहेको अनुभव छ । संघका अनुसार सहमतिको तयारीले आगामी कार्ययोजनामा नयाँ उचाइमा पुग्ने अवसर प्रदान गर्नेछ ।
फेरि बन्द भयो चन्द्रागिरि केबलकार, अस्ट्रियाबाट पाटपुर्जा आयात गरिँदै
काठमाडौं । जेनजी आन्दोलनले बन्द भएर सञ्चालनमा आएको चन्द्रागिरि केबलबार पुनः बन्द भएको छ । कम्पनीका अनुसार सञ्चालन प्रणाली (प्यानल बोर्ड) मा समस्या देखिएपछि सेवा अनिश्चितकालका लागि स्थगित गरिएको हो । गत भदौ २४ गते केबलकारमा तोडफोड भएपछि केबलकार बन्द भएको थियो । केबलकारमा पुर्ननिर्माण भएर कात्तिक २२ र २३ गते सञ्चालनमा आएको थियो । अहिले फेरि बन्द भएको छ । पुर्ननिर्माणपछि दुई दिनमात्रै सञ्चालनमा आएको केबलकार त्यसपछि बन्द अवस्थामा छ । कम्पनीका सचिव झलक शर्माले प्यानल बोर्डमा धुलो जम्मा भई प्रणालीमा समस्या आएको र यसलाई दिगो समाधान गर्न अस्ट्रियाबाट आवश्यक पार्टपुर्जा मगाइएको जानकारी दिए । शर्माले प्यानल बोर्डमा देखिएको समस्याबारे बताउँदै विकासन्युजसँग भने, ‘केबलकारको प्यानल बोर्डमा समस्या देखिएकाले यो सधैंका लागि समस्या नहोस् भनेर हामीले त्यसलाई परिवर्तन गर्न लागेका छौं । यो विशेषगरी प्यानल बोर्डको साइडमा डस्ट (धूलो) जम्मा भई केही सिस्टममा परिवर्तन गर्नुपर्ने देखिएको हो ।’ उनका अनुसार पार्टपुर्जा आइसकेपछि करिब एक साताभित्र केबलकार पुनः सञ्चालनमा आउनेछ । गुणस्तरीय र सुरक्षित सेवा सुनिश्चित गर्नका लागि यो मर्मतसम्भार आवश्यक रहेको उनको भनाइ छ । ‘हामी त्यो सामान आयातको प्रक्रिया अगाडि बढाएका छौं, सामान आएको समयको करिब एक हप्ताभित्रमा केबलकार पुनः सञ्चालनमा ल्याउँछ,’ शर्माले भने । गुणस्तरीय र सुरक्षित सेवा प्रदान गर्नका लागि यो मर्मतसम्भार आवश्यक रहेको कम्पनीको भनाइ छ । जेनजी आन्दोलनको झट्का गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले केबलकारको बटम स्टेसनमा तोडफोड र आगजनी हुँदा रिसोर्टसहितका सेवाहरू करिब २ महिनासम्म ठप्प भएका थिए । यो घटनाले कम्पनीलाई ठूलो आर्थिक नोक्सानी समेत भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५५ लाख रुपैयाँ खुद नाफामा रहेको कम्पनीको चालु आर्थिक वर्षको सोही अवधिमा १ करोड २४ लाख रुपैयाँ नोक्सानीमा गएको छ । कुल आम्दानी पनि १९ करोड ५८ लाख रुपैयाँबाट घटेर १३ करोड ८७ लाख रुपैयाँमा झरेको कम्पनीले जनाएको छ ।
एनपिएल : बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा रबि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी भएको छ । चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै १६६ रनको योगफल बनायो । एक सय ६७ रनको विजयी लक्ष्य चितवनले पाँच बल बााकी छँदै ६ विकेट गुमाउदै पूरा गर्यो । चितवनको जितमा बोपाराले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ३६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै दिपक बोहोराले ३६ बलमा ६ चौका र एक छक्काको सहयोगमा ४२ रन बनाए । सइफ जइबले १६ बलमा दुई चौका र चार छक्का हान्दै ३८ तथा कप्तान कुशल मल्ले १५ बलमा दुई छक्काको मद्दतमा २० रन बनाए । बलिङततर्फ कर्णाली याक्सका लागि कप्तान सोमपाल कामीले दुई तथा उनिस सिंह, मार्क वाट र युवराज खत्रीले एक एक विकेट लिए । त्यसअघि कर्णाली याक्सका लागि ओपनर प्रियाङ्क पञ्चालले सर्वाधिक ९० रनको योगदान दिए । उनी शतक बनाउनबाट १० रनले चुके । पहिलोपटक एनपिएल खेलिरहेका पञ्चालले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ९० रन बनाएका हुन् । यस संस्करणमा अर्थशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् । त्यसैगरी म्याक्स ओडाउडले ३० बलमा एक चौका हान्दै २० रन बनाए । मार्क वाटले २१ बलमा एक चौकाको मद्दतमा १६, पवन शर्राफले अविजित २७ तथा नाजिबुल्लाह जद्रानले अविजित चार रन बनाए । बलिङतर्फ चितवन राइनोजका सोहेल तानविर, सइफ जैब र रबि बोपराले एक एक विकेट लिए । आजै खेलिने दोस्रो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल अपराह्न ४ बजे सुरु हुनेछ ।
विप्लवको नेकपा माओवादीलाई दल दर्ताको प्रमाणपत्र, गुलाब चिह्न चयन
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीलाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । यससँगै माओवादी पार्टीको वैधानिकता औपचारिक रूपमा स्वीकृत भएको छ र आगामी चुनावमा भाग लिनका लागि पार्टीलाई थप अधिकार प्राप्त भएको छ । निर्वाचन आयोगको निर्णयसँगै माओवादीले आफ्नो चुनाव चिह्नको रूपमा गुलाब चयन गरेको छ । निर्वाचन आयोगले गुलाब निर्वाचन चिन्ह दिएपछि पत्रकारहरूसँगको प्रतिक्रियामा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले गुलाब चिह्नको चयनले पार्टीको राजनीतिक दृष्टिकोण र पहिचानलाई स्पष्ट पार्ने काम गरेको बताए । उनले गुलाबलाई परिवर्तन र संघर्षको प्रतीकको रूपमा लिइएको जानकारी दिए ।
आइजीआई प्रुडेन्सियल र अल्का अस्पतालबीच नगदरहित उपचार सेवासम्बन्धी सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र अल्का अस्पताल प्रालिबीच बीमित ग्राहकका लागि नगदरहित (क्यासलेस) उपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ। नारायणचौर, नक्शालस्थित आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रधान कार्यालय र जावलाखेल, ललितपुरस्थित अल्का अस्पतालबीच भएको सम्झौतापत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अल्का अस्पतालका वित्त अधिकृत मुकुन्द भुसालले हस्ताक्षर गरे । सम्झौता अनुसार आइजीआई प्रुडेन्सियलबाट औषधोपचार बीमा सेवा खरिद गरेका बीमितले बीमालेखमा तोकिएको सीमाभित्र अस्पतालमा नगदरहित भर्ना सेवा प्राप्त गर्न सक्नेछन् । सम्झौता हस्ताक्षरपछि नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले अल्का अस्पतालका ग्राहकलाई आइजीआई प्रुडेन्सियलको स्वास्थ्य बीमा सेवा उपयोग गरी सहज र व्यवस्थित सेवा लिन अनुरोध गरे । उनले अस्पताल तथा त्यससँग आवद्ध सदस्यहरूले आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा कम्पनीमार्फत निश्चिन्त रूपमा पाउन सकिने बताए । त्यसैगरी अल्का अस्पतालका वित्त अधिकृत भुसालले अस्पतालसँग सन्तुष्ट ग्राहकको संख्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै आइजीआई प्रुडेन्सियलबाट प्राप्त बीमा सेवा छिटो छरितो हुने र आगामी दिनमा दुबै संस्थाले मिलेर सेवाको दायरा अझ विस्तार गर्दै जाने जानकारी दिए