विकासन्युज

आज काठमाडौं गोर्खाज र साबिक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाडौं गोर्खाज र साबिक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौं दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद सुरुआत गर्ने लक्ष्यमा रहनेछ ।  काठमाडौंले उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । काठमाडौंको नेतृत्व करण केसीले गर्दै छन् । उनी नेतृत्वको टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेट किपर), सन्नी पटेल, जोन सिम्पसन (विकेट किपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा समावेश छन् ।  सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तान समेत रहेका दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । उनी नेतृत्वको टोलीमा विनोद भण्डारी (विकेट किपर), अविनाश बोहरा, दीपक बोहरा (विकेट किपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत (विकेट किपर), नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा (विकेट किपर) र हिम्मत महरा छन् ।  काठमाडौंको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक मोन्टी देशाइ र सुदूरपश्चिमको प्रशिक्षक जगत टमाटा रहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि जारी प्रतियोगितामा ८ टोली सहभागी छन् ।

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटका प्रतिबद्धता कार्यान्वयन, अवरोध नगर्न मन्त्री घिसिङको आग्रह

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्न बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित स्थानीय बासिन्दासँग सरकारले जनाएका प्रतिबद्ध कार्यान्वयन भएका छन् । फोहोर बिसर्जनमा अवरोध भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ल्याण्डफिल्ड साइटमा गत १६ कात्तिकमा गएर तत्काल पूरा गर्न सकिने माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । माग पूरा नगरेको भन्दै केही स्थानीयबाट फोहोर लैजान अवरोध गर्ने घोषणा गरिएको थियो ।   मन्त्री घिसिङले मंगलबार आन्दोलनकारीलाई टेलिफोन गरी प्रतिबद्धता जनाइएका बुँदाहरू कार्यान्वयनमा गइसकेकाले फोहोर फाल्न अवरोध नगर्न र आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आग्रह गरे । स्थानीयको माग बमोजिम ल्याण्डफिल साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ति जडान कार्य सम्पन्न गरिएको छ । त्यस्तै प्रतिबद्धता अनुसार, शहरी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा प्रभावित धुनिवेशी नगरपालिकाका प्रमुख तथा ककनी गाउँपालिकाका अध्यक्ष र काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रहेको सहजीकरण समिति गठन गरिएको छ । समितिले विगतमा भएका सहमति कार्यान्वयन अवस्थाको प्रगति विवरण तयार गरेको छ ।  मुआब्जा तथा क्षतिपूर्तिका लागि समितिबाट तत्कालको लागि सिसडोलमा अपनाएको विधिअनुसार ल्याण्डफिल्ड साइट नजिक पर्ने धादिङ र नुवाकोटका प्रभावितलाई क्षतिपूर्ति स्वरूप रकम वितरण गर्न काठमाडौं महानगरपालिकालाई पत्राचार गरिएको छ । क्षतिपूर्तिका लागि विगतमा वार्षिक रुपमा ६५ लाख काठमाडौं महानगरले वितरण गर्दै आएमा चालू आर्थिक वर्षका लागि बजेट बृद्धि गरी एक करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ । फोहोर लैजान निकुञ्ज भएर जाने छुट्टै बाटो प्रयोग गर्न शहरी विकास विभागबाट प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गर्न परामर्शदातासँग सम्झौता गरिएको छ । ल्याण्डफिल्ड प्रभावित क्षेत्रका विभिन्न ४ सडक खण्डको स्तरोन्नतिका लागि बोलपत्र आह्वान भई मूल्याङ्कनको चरणमा रहेको छ ।

शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड राखिने

काठमाडौं । शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड राखिने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड समावेश गर्ने जनाएको हो ।  परीक्षा नियन्त्रण कार्यालयबाट आईटीएमएस अनलाइनबाट जारी हुने डिप्लोमा तथा प्रमाणपत्र तहको ट्रान्सक्रिप्टमा र प्रि–डिप्लोमा तहको मूल प्रमाणपत्रमा क्यूआर कोड समावेश गरी प्रमाण पत्र जारी गर्ने जनाएको छ ।  उक्त क्यूआर कोड मंसिर १ गतेदेखि लागू हुने गरी प्रमाण पत्र जारी गरिने छन् । 

नबिल बैंकबाट जीतबहादुर श्रेष्ठसहित ३ जना बाहिरिँदै, मूल्य ३०१.१० रुपैयाँ

काठमाडौं । नबिल बैंकबाट विभिन्न ३ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । संस्थापक सेयरधनी जीतबहादुर श्रेष्ठ, जश श्रेष्ठ र जिज्ञासा अर्यालले बैंकमा आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने भएका हुन् ।  बैंकका अनुसार जीत बहादुर श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता, जश बहादुर श्रेष्ठले २५ हजार कित्ता र जिज्ञासा अर्यालले ५० हजार कित्ता सेयर बिक्रीमा राखेका हुन् । जश श्रेष्ठले आफ्नो स्वामित्वको सेयरको मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकेका छन् भने जीत बहादुर र जिज्ञासाले भने मूल्य सार्वजनिक गरेका छैनन् ।  बैंकको सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताहरुका लागि सेयर बिक्रीमा राखिने बैंकले जनाएको छ । 

क्यासिनोलाई कडाई गर्दै विभागले दियो १२ बुँदे निर्देशन, सिसिटिभी रेकर्ड ६ महिना सुरक्षित राख्नुपर्ने

काठमाडौं । सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले हाल सञ्चालनमा रहेका सबै क्यासिनोलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन र त्यसका सबै व्यवस्थाको पूर्ण परिपालनामा जोड दिएको छ । विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन एवं सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनको पूर्ण परिपालनामा जोड दिएको छ । नेपाल राष्ट्र बैंकबाट विदेशी अपरिवर्त्य मुद्रा कारोबारको इजाजत नलिई विदेशी मुद्राको कारोबार गर्न नहुने विषयलाई विभागले स्मरण गराएको छ । क्यासिनो नियमावली, २०८२ र सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन बमोजिमको विवरण नियमित रुपमा विभागमा पेस गर्नुपर्नेछ । क्यासिनो खेलाडीको ग्राहक पहिचान प्रणाली, बायोमेट्रिक विवरणहरू तोकेअनुसार अद्यावधिक गरी  विभागले माग गरेको अवस्थामा उपलब्ध गराउनुपर्ने, क्यासिनो स्थलमा हुने सबै गतिविधि रेकर्ड गर्ने गरी सिसिटिभी क्यामेराको अभिलेख कम्तीमा ६ महिना सुरक्षित राख्नुपर्नेछ । तेस्रो पक्षसँग सम्झौता गरी वा अन्य कुनै तरिकाबाट क्यासिनो सञ्चालन गर्न नपाइने, इजाजत लिएको स्थानमा बाहेक अन्य कुनै पनि स्थानमा सञ्चालन गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । खेलाडीले क्यासिनोबाट जितेको रकम भुक्तानी गर्नुअघि त्यस्तो खेलाडीले जितेको रकमबाट प्रचलित कानुन बमोजिम तत्काल आकस्मिक लाभकर अग्रिम रुपमा कट्टी गर्नुपर्नेछ । आकस्मिक लाभकर कट्टी गरेपछि इजाजत प्राप्त कम्पनीले खेलाडीलाई आकस्मिक लाभ कर कट्टी गरेको प्रमाणपत्र लिई त्यसको विवरण तत्काल सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा पठाउनुपर्ने र सो को जानकारी विभागमा समेत दिनुपर्नेछ । यस्तै, इन्टरनेटमा आधारित वा अनलाइन माध्यमबाट कुनै पनि खेल खेलाउन प्रतिबन्ध हुनेछ । क्यासिनो तथा होटल परिसर भित्र तथा बाहिर पर्याप्त सुरक्षाको प्रत्याभूति गराउनुपर्नेछ । यस्तै, नेपाल ग्रे लिस्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण, २०८२ बमोजिम जोखिमको आधारमा क्यासिनो अनुगमन गर्दा दुरुस्त न पाइएमा तत्काल कानुन बमोजिम कारवाही हुनेछ ।

माथिल्लो मुस्ताङलाई निषेधित क्षेत्रको सूचीबाट हटाउन माग, सरकारले तोक्यो दैनिक ५० डलर शुल्क

काठमाडौं । नेपाल-चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिए । उनले अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गर्ने गरी उक्त निर्णय गरिएको बताए ।  उक्त निर्णयसँगै उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकले अब १० दिनको पदयात्रा अनुमतिका लागि एकमुस्ट ५०० अमेरिकी डलर बुझाउने पर्ने बाध्यता हटेको छ । अब मुस्ताङ भ्रमण गर्ने विदेशीले माथिल्लो मुस्ताङमा जतिदिन बस्छन् त्यति दिनको मात्रै पैसा तिरे पुग्नेछ । यसअघि माथिल्लो मुस्ताङ प्रस्थान गर्ने विदेशी पर्यटकले कम्तीमा १० दिनका लागि ५०० अमेरिकी डलर पदयात्रा शुल्क बुझाउनुपर्ने व्यवस्था थियो । माथिल्लो मुस्ताङमा १० दिनको एकमुस्ट पदयात्रा शुल्क तिरेर गएका विदेशी नागरिकहरूले १० दिन कटेपछि प्रतिदिन प्रतिव्यक्ति ५० डलर शुल्क बुझाउँदै आएका थिए । लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले आफूहरूको माग माथिल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीबाट हटाउनुपर्ने रहेपनि सरकारको उक्त निर्णयले आशिंक रुपमा भए पनि माग सम्बोधन भएको बताए । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले पनि सरकारको उक्त निर्णय सकारात्मक भएको बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गतको उपल्लो मुस्ताङ क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेको छ । त्यहाँ जाने विदेशी पर्यटकहरूका लागि पदयात्रा शुल्क महँगो भएकाले अधिकांश विदेशी पर्यटकहरू कागबेनी र मुक्तिनाथबाट फर्किने गरेका थिए । बर्सेनि झण्डै डेढ लाख विदेशी पर्यटक मुस्ताङ भित्रिदा करिब ३ वा ४ प्रतिशत मात्रै विदेशी पर्यटक माथिल्लो मुस्ताङ जाने गरेका थिए ।

देशभर क्रमशः चिसो बढ्दै, उपत्यकामा तापक्रम ९.४ डिग्री सेल्सियसमा झर्याे

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ । आज बिहान ५:३० बजे यहाँको न्यूनतम् तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाका अनुसार काठमाडौं उपत्यकामा क्रमशः चिसो बढ्दै गएको छ ।

पुँजी बजारमा बैंकहरूको १ खर्ब २१ अर्ब रुपैयाँ लगानी, माछापुच्छ्रे र कृषि विकासले धेरै बढाए

काठमाडौं । वाणिज्य बैंकहरूले १ खर्ब बढी रकम सेयर धितो कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा २० वटा वाणिज्य बैंकले १ खर्ब २१ अर्ब ५८ करोड २८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् । जबकि गत वर्षको असोजसम्मा बैंकहरुले ८४ अर्ब २१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।  गत वर्षको तुलनामा चालु आवमा बैंकहरुले ४४.३७ प्रतिशत अर्थात् ३७ अर्ब ३७ करोड २३ लाख रुपैयाँ बढी सेयर धितो कर्जा प्रवाह गरेका हुन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा विगतमा गरिएका कडाइलाई खुकुलो गरेसँगै बैंकहरुले लगानी बढाएका हुन् । नीतिगत व्यवस्था सहज भएर सेयर बजारमा प्रवाह हुने रकम बढेको भएपनि बजार माथि उकालो लाग्न नसकेको लगानीकर्ताहरु बताउँछन् ।  चालु आवको असोज मसान्तसम्ममा सबैभन्दा धेरै माछापुच्छ्रे बैंकले सेयर धितो कर्जा वृद्धि गरेको छ । माछापुच्छ्रे बैंकको २९२.४८ प्रतिशत बढाएर ३ अर्ब ५३ करोड २५ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । जबकि गत वर्षको असोजमा बैंकले ९० करोड रुपैयाँ मात्रै सेयरमा लगानी गरेको थियो ।  यस्तै, असोज मसान्तसम्ममा कृषि विकास बैंकको २५१.९९ प्रतिशत बढेर ५ अर्ब ९१ करोड रुपैयाँ सेयर कर्जा लगानी प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६७ करोड रुपैयाँ सेयरमा लगानी गरेको थियो ।  समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकको ८९.९८ प्रतिशत बढेर ७ अर्ब ७९ करोड रुपैयाँ, एनएमबि बैंकको ८६ प्रतिशत बढेर ३ अर्ब २ करोड रुपैयाँ, प्राइम बैंकको ७७.७८ प्रतिशत बढेर ९ अर्ब ८० करोड रुपैयाँ, एभरेष्ट बैंकको ७२.८२ प्रतिशत बढेर ३ अर्ब ६७ करोड रुपैयाँ सेयरमा लगानी गरेका छन् । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ६७.११ प्रतिशत बढेर ६ अर्ब ९२ करोड रुपैयाँ,  हिमालयन बैंकको ६५.४५ प्रतिशत बढेर २ अर्ब ९५ करोड रुपैयाँ, प्रभु बैंकको ६३.६९ प्रतिशत बढेर ५ अर्ब ९६ करोड रुपैयाँ, सानिमा बैंकको ५५.२५ प्रतिशत बढेर २ अर्ब ९६ करोड रुपैयाँ, नबिल बैंकको ४८.३८ प्रतिशत बढेर १६ अर्ब २६ करोड रुपैयाँ सेयरमा लगानी गरेको राष्ट्र बैंकको तथ्याङ्क छ ।  राष्ट्र बैंकका अनुसार कुमारी बैंकको ३६.२९ प्रतिशत बढेर १० अर्ब ५४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को २३.३२ प्रतिशत बढेर ३ अर्ब ८० करोड रुपैयाँ, सिटिजन्स बैंकको १८.७४ प्रतिशत बढेर ६ अर्ब ६१ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको १७ प्रतिशत बढेर ५३ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १७ प्रतिशत बढेर १२ अर्ब ५६ करोड रुपैयाँ, सिद्धार्थ बैंकको १५.७५ प्रतिशत बढेर ८ अर्ब ९५ करोड रुपैयाँ पुँजी बजारमा लगानी गरेका छन् । समीक्षा अवधिमा नेपाल बैंक र एनआईसी एशिया बैंकले भने सेयर बजारमा प्रवाह हुने कर्जा घटाएका छन् । एनआईसी एशिया बैंकले १६.०७ प्रतिशत घटाएर २ अर्ब ४७ करोड रुपैयाँ र नेपाल बैंकले ३.६१ प्रतिशत घटाएर ७ अर्ब २६ करोड रुपैयाँ मात्रै सेयरमा लगानी गरेका हुन् ।