विकासन्युज

गत शुक्रबारदेखि अवरुद्ध बनेको कालीगण्डकी करिडोर अझै खुलेन

गुल्मी । गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुलेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् । कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा शुक्रबार अपराह्नदेखि सडकमा सुक्खा पहिराले उक्त सडक तीन  दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन् । सडक सञ्चालन गर्न पहिरोग्रस्त क्षेत्रमा तीनवटा डोजर तयारी अवस्थामा राखिएका भए पनि पहिरो खसिरहेको हुँदा सडक सञ्चालन गर्न समस्या परको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताए ।  'सडकभन्दा धेरै माथिबाट लगातार सुक्खा पहिरो खसिरहेको छ, हामीले यात्रीको सुरक्षालाई ध्यानमा राखेर प्रहरी टोलीलाई पहिरोग्रस्त क्षेत्रमा खटाएका छौँ, यात्रीलाई हर्मिचौर माथिबाट देउरालीहुँदै अर्बेनीकोटको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ', जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले भने ।   पहिरो झर्ने क्रम नरोकिएका कारण उनले आज केलुकीसम्म पनि उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताए । लामो समयसम्म मुख्य सडक बन्द हुँदा त्यस क्षेत्रका नागरिकलाई समस्या परेको गाउँपालिका अध्यक्ष थापाले बताए । 'सडक कतिबेला खुल्छ भनेर नागरिकले बारम्बार सोधिरहनुहुन्छ, तीन दिन भयो सडक पूर्ण रूपमा बन्द छ, के भनेर नागरिकलाई जवाफ दिने अवस्था यस्तो छ', उनले भने ।  

पाँचखालमा ‘विषादीरहित’ तरकारी संकललन केन्द्र सञ्चालन

काभ्रेपलाञ्चोक । यहाँको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी संकलन गर्न लक्षित कृषि उपज संकलन तथा बजार केन्द्र स्थापना गरिएको छ । रासायनिक विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरी उत्पादिन भएका तरकारी संकलन गर्न उक्त केन्द्र स्थापना गरिएको हो ।  केन्द्र स्थापनार्थ लवग्रीन नेपाल नामक संस्थाको २५ लाख रुपैयाँ र पाँचखाल नगरको नौ लाख रुपैयाँको साझेदारी गरिएको थियो । पाँचखालका नगरप्रमुख महेश खरेलका अनुसार विशेषगरी एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) प्रविधिबाट उत्पादन गरिएका तरकारी संकलन गर्न केन्द्र सञ्चालनमा ल्याइएको हो ।   'केन्द्रमा संकलन गरिएका कृषि उपजको प्याकेजिङ, ब्राण्डिङ र सर्टिङ गरेर राजधानी काठमाडौं आपूर्ति गर्ने उद्देश्य राखेका छौँ', खरेलले भने । अग्र्यानिक तरकारी उत्पादनले पाँचखालमा उत्पादन भएका तरकारीबारे दशकौँदेखि गरिएको दुष्प्रचार मेटाउन सफलतातर्फ उन्मुख भएको उनको भनाइ छ । अब हाटबजार सञ्चालनार्थ प्रक्रिया अघि बढाइने खरेलले बताए ।  केन्द्रको जापान सरकारको अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का नेपालका प्रमुख प्रतिनिधि माचुजाकी मिजुकी, नगरप्रमुख खरेल र लवग्रीन नेपालका अध्यक्ष अमिरा दलीले सयुक्त रूपमा शनिबार शुभारम्भ गरे । केन्द्रले नगरमा विषादीरहित तरकारी उत्पादनमा सहयोग पुग्ने जाइका नेपालका प्रमुख प्रतिनिधि माचुजाकीले बताए । नगर कार्यालय र लवग्रीन नेपालद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजनाले करिब चार वर्षदेखि सञ्चालन गरेको ‘विषादीमुक्त पाँचखाल’ बनाउने अभियानअन्तर्गत हाल उत्पादित तरकारीलगायत बाली अग्र्यानिक हुँदै गएको जनाइएको छ । केन्द्रमा १८ महिने आइपीएम कृषक पाठशालामा २२ थरिका आइपीएम प्रविधि अध्ययन गरेका एक हजार २०० अगुवा किसानले जैविक विषादी प्रयोग गरी उत्पादित तरकारी संकलन हुने अपेक्षा गरिएको छ ।  

डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

इलाम । सूर्योदय नगरपालिका–१ स्थित धजे-मकरजुङ गाउँमा वर्षौँदेखि डोकामा पानी ओसारेर गुजारा गर्दै आएका बासिन्दाको घरआँगनमा अहिले स्वच्छ खानेपानीको धारो बगिरहेको छ । 'डोकामा पानी ल्याउने तीतो दिन सम्झिँदा अचेल सपनाजस्तै लाग्छ', ८० वर्षीय वीरबहादुर राईले भने । ६० वर्षीया तुलसा सापकोटा विगत सम्झिँदै भन्छिन्, 'पहिला एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपथ्र्यो, आजकल घरमा धारा बग्दा जीवन नै फेरिएको महसुस हुन्छ ।' विसं २०७५ देखि सुरु गरिएको धजे-मकरजुङ खानेपानी आयोजना २०८१ साल चैत २ गते सम्पन्न भई हाल एक सय ६७ घरमा धारा जडान गरिएको छ । कोशी प्रदेश सरकारको रु ५८ लाख २० हजारमा आयोजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष टीका सापकोटाले बताए । जोगमाई खोलाबाट ९.८ किलोमिटर लामो पाइप लाइन बिछ्याएर ल्याइएको पानी सञ्चालनमा आएसँगै यहाँका नौ सय ४० उपभोक्ता लाभान्वित भएका छन् । शनिबार मकरजुङको सार्वजनिक भवनमा एक भव्य समारोहका बीच कोशी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले संयुक्त रूपमा आयोजनाको उद्घाटन गरे । प्रदेशसभा सदस्य लिम्बूले सुक्खा क्षेत्रसम्म पानी ल्याउन अनेकौँ चुनौती झेलिएको उल्लेख गरे । 'अब धजे-मकरजुङका बासिन्दाले शुद्ध पानी पाउनुभएको छ, खानेपानी हाहाकार अन्त्य भएको छ', उनले भने । उपभोक्ता समितिका अध्यक्ष सापकोटाका अनुसार योजनाअन्तर्गत ५० घनमिटर क्षमताका दुई र १० घनमिटर क्षमताका तीन थान ट्याङ्की निर्माण गरिएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापा चन्द्रगढीका प्रमुख विकास काफ्लेले आयोजना निर्माणले स्थानीयको समस्या समाधान भएको बताए ।

वीरगञ्ज नाका :  एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब नौ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने एक अर्ब छ करोड रुपैयाँले घटेको छ । सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि सोबाट प्राप्त हुने राजस्व भने ११ दशमलव ६६ प्रतिशत अर्थात् सात अर्ब ६४ करोड रुपैयाँले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयले चालु आवको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट भएको छ । यहाँको राजस्व पेट्रोलियम पदार्थको आयात र  सवारीसाधनको आयातमा निर्भर रहेको छ ।  चालु आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ७३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । जबकि गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट ६५ अर्ब ५४ करोड रुपैयाँ संकलन भएको छ ।  वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको जेठ मसान्तसम्म ८९ अर्ब ७६ करोड रुपैयाँ मूल्य पर्ने १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा भने ९३ अर्ब ६३ करोड रुपैयाँ मूल्य पर्ने नौ लाख २१ हजार २७५ किलोलिटर डिजेलको आयात भएको छ । डिजेल आयातबापत कार्यालयले ४१ अर्ब तीन करोड रुपैयाँ राजस्व संकलन गरेको छभने गत आवको सोही अवधिमा भने  ३६ अर्ब चार करोड रुपैयाँ संकलन गरेको थियो । त्यसैगरी, चालु आवको ११ महिनामा ३५ अर्ब ३४ करोड को चार लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकि गत आवको ११ महिनामा ३६ अर्ब चार करोडको तीन लाख ६१ हजार ७२७ किलोलिटर पेट्रोलको आयात भएको छ । पेट्रोल आयातबाट कार्यालयले २३ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गर्यो भने गत आवको सोही अवधिमा २० अर्ब ७३ करोड रुपैयाँ संकलन गरेको छ ।  यो नाका हुँदै चालु आवको ११ महिनामा ३३ अर्ब ३५ करोडको २९ करोड १४ लाख २० हजार २०९ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकि गत आवको सोही अवधिमा २७ अर्ब ७१ करोडको २५ करोड ७९ लाख ३८ हजार ९७६ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । ग्यास आयातबापत रु छ अर्ब  २४ करोड राजस्व संकलन गर्यो भने गत आवको सोही अवधिमा ग्यास आयातबाट पाँच अर्ब १६ करोड रुपैयाँ संकलनगरेको छ । वीरगञ्ज नाका हुँदै चालु आवको ११ महिनामा १५ अर्ब तीन करोड रुपैयाँ मूल्यको एक लाख ६७ हजार ३९८ किलोलिटर एटिएफ आयात भएको छ । जबकि गत आवको ११ महिनामा भने १७ अर्ब ११ करोड रुपैयाँ मूल्यको एक लाख ६१ हजार ८९२ किलोलिटर एटिएफ आयात भएको छ । एटिएफ आयातबापत दुई अर्ब ३५ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । जबकि गत आवको सोही अवधिमा दुई अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।  यो नाका हुँदै  चालु आवको ११ महिनामा रु ५९ करोड मूल्य पर्ने छ हजार ७३० किलोलिटर मट्टितेल आयात भएको छ । गत आवको सोही अवधिमा भने ६३ करोड मूल्यको छ हजार १२० किलोलिटर मट्टितेल आयात भएको छ । मट्टितेल आयातबाट १६ करोड रुपैयाँ राजस्व संकलन गर्यो भने गत आवको सोही अवधिमा १६ करोड रुपैयाँ नै राजस्व संकलन गरेको थियो ।

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति, सवारीको चाप र दुर्घटनाको जोखिम घट्यो

म्याग्दी । सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ । सडक स्तरोन्नतिका लागि सहरी विकास तथा भवन आयोजना बागलुङ र निर्माण कम्पनी काठमाडौँबीच २०८१ साल चैत १९ गते रु तीन करोड १९ लाख २० हजार ६८० मा ठेक्का सम्झौता भएको थियो । विसं २०८२ असार १५ गतेसम्म ठेक्काको म्याद भएको योजनाको ठेकेदार कम्पनीले २० दिनअघि नै सम्पन्न गरेको आयोजनाका इञ्जिनियर वीरबल सुनारले बताए । 'सम्झौताअनुसारको परिणाममा नाली, पर्खाल निर्माण र ढलान गर्ने काम सकिएको छ', उनले भने, 'प्राविधिक नापजाँच पनि भइसकेको छभने भुक्तानी दिन बाँकी छ ।' बेनी–८ कालीपुलबाट दोभान हुँदै खुलामञ्चको पश्चिमतर्फ बहुउद्देश्यीय मैदान छेउसम्म नौ सय मिटर लम्बाइमा पाँचदेखि छ मिटर चौडाइका दरले ढलान गरिएको सडक निर्माण गरिएको छ । रङरोगन भएको सडकमा ‘आइ क्याट’ राखिएको छ । अन्य आयोजना पनि लक्ष्यअघि नै सकिए निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना निर्माण गरेको बताए । बजेट अभाव, आर्थिक सङ्कट, निर्माण सामग्रीको मूल्यवृद्धि, सामाजिकलगायत समस्या देखाएर धेरै आयोजनामा ढिलासुस्ती भइरहेको छ । निर्माण कम्पनीले जिम्मा लिएका म्याग्दीका अन्य दुई योजना पनि लक्ष्यअघि नै सम्पन्न भएका छन् । बेनी नगरपालिकाले सञ्चालन गरको बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजना लक्ष्यभन्दा तीन महिनाअघि नै सम्पन्न भएको छ । विसं २०८१ पुस १९ गते रु दुई करोड नौ लाखमा निर्माण कम्पनीबीचमा ठेक्का सम्झौता गरेको योजना २०८२ असार २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजनामार्फत प्रवेशबिन्दु, रातोपहिरो, नेप्टेचौर, काउरा, आरते, गिठीनी र आखेत क्षेत्रको अप्ठ्यारो गाउँमा सडक फराकिलो पार्ने, ग्यावियन पर्खाल, नाली र ढलान गरेर स्तरोन्नति गर्ने काम चैतमा नै सकिएको थियो । बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत तीन किलोमिटर दूरीको बेनी–गलेश्वर सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने ठेक्का सम्झौता एक वर्षअघि नै सम्पन्न गरेका थिए । निर्माण कम्पनीले २०७९ पुस १७ गते रु १२ करोड ७५ लाखमा ठेक्का सम्झौता भएको उक्त योजना २०८० पुसमा सकिएको थियो । 'लक्ष्यअघि नै काम सम्पन्न गरे पनि भुक्तानी समयमा नपाउँदा समस्या भएको छ', उनले भने, 'झल्झट र झमेलामा पारेर भुक्तानीमा ढिलासुस्ती गरिदिदाँ निराश भएको छु ।' चक्रपथमा चहलपहल नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसिसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनीबजार सुरक्षित हुनुका साथै आकर्षक देखिएको छ । नदी किनारको सडकमा साँझ बिहान पैदलयात्रा गर्न र गर्मी छल्न बजारवासीको चहलपहल बढेको छ । प्राविधिकहरूका अनुसार अन्तिमपटक ढलान भएको २१ दिनपछि सडकमा यातायात सञ्चालन गर्न सकिनेछ । क्रमागत योजनाअनुसार आगामी वर्ष दरवाङ बसपार्क ढलान र टर्मिनल भवन निर्माणका लागि सहरी विकास मन्त्रालयमा योजना प्रस्ताव गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । 'सरकारको देशभर १० वटा नमूना नगरपालिका बनाउने कार्यक्रमअन्तर्गत बेनीबजारस्थित चक्रपथ स्तरोन्नति गरिएको हो', उनले भने, 'बेनी बजारको बाहिरी क्षेत्र कालीगण्डकी र म्याग्दी नदीको किनारैकिनार चक्रपथ बनेपछि सवारीसाधन आवागमनमा सहज, बजार क्षेत्रको भित्री भागमा सवारीको चाप र दुर्घटनाको जोखिम घटेको छ ।' बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम बेनीबजार संरक्षणका लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीमार्फत पक्की पर्खाल निर्माण योजना अन्तिम चरणमा पुगेको छ । नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएपछि किनारमा माटो राखेर फिलिङ गरेर सडक बनाइएको थियो । रासस

आईपीओ निष्काशन गर्न स्वस्तिक लघुवित्तले पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आ्रईपीओ) निष्काशन तथा बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले असार ५ गते सो संस्थालाई २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो । माइक्रो फाइनान्स समूहको सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बोर्डले चालु आवमा हालसम्म कुल १२ कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ ।  जसमा पाँचवटा जलविद्युत् समूहका कम्पनी छन् भने तीनवटा लघु बीमाका छन् । अन्यतर्फ दुई कम्पनीले अनुमति पाउँदा उत्पादनतर्फको एक र माइक्रो फाइनान्स एक छन् । समग्रमा बोर्डले २ अर्ब ९५ करोड ५६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको साधारण सेयर बिक्रीको अनुमति दिएको छ । त्यसैगरी, साधारण सेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा ४४ कम्पनी छन् । त्यसमा अधिकांश जलविद्युत् कम्पनी छन् । कुल ३५ जलविद्युत् कम्पनी साधारण शेयर बिक्रीका लागि अनुमतिको प्रतीक्षामा छन् ।

अमेरिकाले इरानका तीन आणविक स्थलमा बम खसाल्यो

काठमाडौं । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् । ट्रम्पले भने, ‘हामीले फोर्दाे, नातान्ज र एस्फाहान लगायत तीन इरानी आणविक स्थलहरूमा सफलतापूर्वक आक्रमण गरेका छौं। सबै विमानहरू अब इरानी हवाई क्षेत्रबाट बाहिर छन् । सबै बमु फोर्दाेमा खसालिएको छ र सबै विमानहरू सुरक्षित रूपमा अमेरिका फर्किरहेका छन्।’  हाम्रा महान अमेरिकी योद्धाहरूलाई बधाई समेत ट्रम्पले भनेका छन् । संसारमा यस्तो अरू कुनै सेना छैन जसले यो गर्न सक्थ्यो। अब शान्तिको समय भएको उनको भनाइ छ ।  डोनाल्ड ट्रम्पले इरानमा भएको यो सफल सैन्य कारबाहीको बारेमा राष्ट्रलाई सम्बोधन गर्ने पनि बताएका छन् । 

भित्रियो मनसुन, कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहदा आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।   वर्षाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता जोखिम हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागको धेरै स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी भाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।  त्यसैगरी, महाशाखाले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।