२ वर्षको वार्षिक प्रतिवेदन पारित गर्न राष्ट्रिय बीमा कम्पनीले डाक्यो तेस्रो साधारण सभा
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले २ वर्षको वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितिको असार ५ गते बसेको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा असार २९ गते बिहान ११ बजे काठमाडौंमा बोलाएको छ । कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, सोही वर्षको लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २३ गतेदेखि असरा २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सभामा सहभागीता जनाउन पाउने छन् । कम्पनीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ९२ करोड ५२ लाख ६७ हजार रुपैयाँ र आर्थिक वर्ष २०७६/७७ मा ६१ करोड २१ लाख ९४ हजार रुपैयाँ खुद नाफा गरेको देखिन्छ ।
एशियन लाइफले २५ असारदेखि हकप्रद सेयर बिक्री गर्ने, १० कित्ता सेयर हुनेले ४.२ कित्ता पाउने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २५ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ १६ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीका सेयरधनीहरुले साउन १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा, एशियन लाइफ इन्स्योरेन्सका कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।
६१ लाख रुपैयाँ पारिश्रमिक लिएपछि केदार घिमिरेले भने- राज्यलाई तिर्नुपर्ने कर तिर्छु
काठमाडौं । टेलिशृङ्खलामा ‘माग्ने बुढा’को उपनामले परिचित अभिनेता केदारप्रसाद घिमिरेले राज्यलाई कर तिर्नु कलाकारको दायित्व भएको बताएका छन् । चलचित्र ‘माग्ने राजा’को पहिलो झलक (फस्टलुक) सार्वजनिक गर्न शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेता घिमिरेले अन्य क्षेत्रका पेसाकर्मीझैँ कलाकारले पनि देशमा समृद्धिका लागि आफ्नो दायित्व पूरा गर्नेबाट पछाडि हट्न नहुने बताए । ‘मैले लिएको पारिश्रमिकको चर्चा भइरहँदा मैले आफ्नो दायित्व भुलेको छैन । म आफ्नो पारिश्रमिक बुझेपछि राज्यलाई तिर्नुपर्ने कर तिर्छु, किनकि देश विकासमा हामीले पनि अन्य पेसाकर्मीझैँ तत्परता र सहभागिता देखाउनु आवश्यक छ । हामीले आफ्नो दायित्व नभुलेमात्र सरोकारवाला निकायलाई चलचित्र क्षेत्रलाई समृद्ध बनाउने विषयमा झक्झकाउन सक्छौँ,’ उनले भने । चलचित्र ‘माग्ने राजा’मा ६१ लाख रुपैयाँ पारिश्रमिक बुझ्ने चर्चा चलेपछि कलाकारको दायित्व र सुविधाका विषयमा अभिनेता घिमिरेले चर्चा गरेका थिए । उक्त चलचित्रका निर्देशक ऋषि लामिछानेले कलाकार घिमिरेको लगनशीलता र बजार मूल्य हेरेर पारिश्रमिक दिएको बताए । ‘कलाकार घिमिरेले माग राख्नुभयो होला तर हामीले उहाँको लोकप्रियता र बजारको अस्तित्व हरेर लगानी गरेका हौँ । उहाँलाई गरिएको लगानीबाट निर्माताले मुनाफा कमाउनुहुन्छ भने त्यसमा कसैले आपत्ति मान्नुपर्ने ठाउँ छैन,’ निर्देशक लामिछानेले भने । आफूले आफूलाई राजा ठान्ने स्वभाव रहेको एक व्यक्तिको कथालाई चलचित्र ‘माग्ने राजा’मा प्रस्तुत गरिएको उनको भनाइ छ । सामीप्यराज तिमल्सेनाको लेखन रहेको चलचित्रमा कलाकार घिमिरेसँगै वर्षा शिवाकोटी, विल्सनविक्रम राई, आर्यन सिग्देल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरीलगायतले अभिनय गरेका छन् । उक्त चलचित्रलाई कलाकार मुनाल घिमिरेले निर्माण गरेका हुन् । चलचित्र ‘माग्ने राजा’ आगामी भदौ ६ गतेदेखि नेपालसहित विदेशमा पनि प्रदर्शन हुनेछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, खर्च कटौतीको प्रस्तावसमेत पेस हुने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरू माथिको छलफल जारी रहने छ । सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ । यस्तै, सांसदहरूले राखेकाे खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ । यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
मधेशमा छाया अर्थतन्त्र बढी, किसान बिचौलियामा निर्भर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि सुझावसमेत दिएको छ । केन्द्रीय बैंकले सो प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशभित्र हुने आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनुपर्ने उल्लेख गरेको छ । स्वास्थ्योपचारका लागि गुणस्तरीय अस्पताल, चिकित्सक तथा विभिन्न स्वास्थ्य उपकरणको राम्रो व्यवस्था नभएकाले अधिकांश सीमावर्ती क्षेत्रका नागरिक भारतीय अस्पतालमा उपचार गराउन जानुपर्ने बाध्यता रहेको र त्यसका लागि भारतीय रुपैयाँको पनि माग अत्यधिक रहेको जनाएको छ । सो प्रदेशका अस्पतालमा आवश्यक उपकरण, दक्ष चिकित्सक, जनशक्ति तथा अन्य स्वास्थ्य उपकरणमा आवश्यक स्रोतसाधनको व्यवस्था गर्नु चुनौतीको रूपमा रहेको अध्ययनमा देखिएको छ । सरकारी विद्यालयहरूको गुणस्तर सुधार, व्यावसायिक तथा प्राविधिक शिक्षालाई प्राथमिकता र ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रहरूलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने कार्यलाई पनि चुनौतीका रूपमा देखाइएको छ । प्रदेशमा अवस्थित जनकपुर र वीरगन्जजस्ता ठूला र व्यापारिक शहरलाई शैक्षिक हबका रूपमा विकास गर्दै शैक्षिक गुणस्तरमा सुधार गर्नु आवश्यक रहेकाे राष्ट्र बैंकले जनाएकाे छ । वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्दै प्रदेशलाई सुन्दर र आकर्षक प्रदेशका रूपमा विकास गर्नका लागि सहरी क्षेत्रका सडकमा जताततै थुप्रने फोहर व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ । कृषि उत्पादनका लागि उचित बजारमा पहुँच नहुनाले किसान प्रायः बिचौलियामा निर्भर रहेकाले बजारसम्म कृषि उपजको पहुँच विस्तार गर्नु तथा कृषि उपजको उचित मूल्य प्राप्तिको व्यवस्था गर्ने कार्यलाई चुनौतीका रूपमा देखाएको छ । त्यसैगरी, माछा पालनका लागि प्रसिद्ध रहेको जनकपुर तथा परवानीपुरलगायत मत्स्य विकास भइरहेको स्थानमा माछा उत्पादन क्षमता थप अभिवृद्धि गर्नु जरुरी रहेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । परम्परागत रूपमा हुँदै आएको निर्वाहमुखी कृषिलाई आधुनिकीकरण तथा व्यावसायीकरण गर्नु, कृषि क्षेत्रलाई प्रतिस्पर्धी बनाउन मलखादको सुलभ आपूर्ति, उत्पादित अन्नको उचित मूल्य प्राप्ति तथा व्यवस्थापन मिलाउनुका साथै बजारको प्रबन्ध गरी कृषिजन्य क्रियाकलापमा युवाहरूलाई आकर्षित गर्नु जरुरी रहेको छ । प्रदेशका दक्ष जनशक्ति विदेश पलायन हुने प्रवृत्तिमा वृद्धि भएकाले सेवा क्षेत्र सञ्चालनका लागि प्राविधिक, स्वास्थ्यकर्मी, शिक्षक, सूचना प्रविधि विज्ञको व्यवस्था गरी रोजगारीको वातावरण सृजना गर्ने कार्य पनि चुनौतीपूर्ण देखिएको छ । वैदेशिक रोजगारीमा रहेका युवाबाट प्राप्त विप्रेषणलाई स्थानीय तहको समन्वयमा उत्पादन मूलक क्षेत्रमा लगानी गर्नु अत्यावश्यक छ । भौगोलिक तथा धार्मिक सम्पदा, जैविक विविधता आदिको उचित संरक्षण र प्रवर्द्धन गरी पर्यटकीय गन्तव्य क्षेत्रका रूपमा विकास गर्दै जानकी मन्दिर, पर्सा वन्यजन्तु आरक्ष, नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष, सिन्धुलीको युद्ध सङ्ग्रहालय, भरत ताललगायत क्षेत्रको संरक्षण र संवर्द्धन गरेर आर्थिक गतिविधि बढाउनुपर्नेमा केन्द्रीय बैंकले जोड दिएको छ । मधेस प्रदेशमा निर्माण सुरु भएका आयोजना हुलाकी राजमार्ग, काठमाडौं-निजगढ द्रुत मार्ग, राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलजस्ता राष्ट्रिय गौरवका आयोजना विभिन्न सरोकारवाला निकाय तथा क्षेत्रहरूबीच समन्वय कायम गर्दै निर्धारित लागत र समय तालिकाभित्र सम्पन्न गर्ने कार्य चुनौतीपूर्ण रहेको अध्ययनको ठहर छ । प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धि गरी सीमान्तकृत वर्गमा वित्तीय पहुँच अभिवृद्धि गर्नु, आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनु जरुरी रहेको अध्ययनले देखाएको छ ।
'सेयर बजारको सुधारले अर्थतन्त्रलाई गति दिन्छ'
काठमाडौं । नेपाली अर्थतन्त्रमा सेयर बजारको प्रभावबारे छलफल गर्न मोरङ उद्योग व्यापार संघको आयोजनामा विजटक कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर फ्युजन र रोटरेक्ट क्लब अफ विराटनगरको सहकार्य तथा शुभकामना सेक्युरिटिजको प्रायोजनमा आयोजित कार्यक्रम संघको कार्यालयमा सम्पन्न भयो । कार्यक्रमको संयोजन मोरङ उद्योग व्यापार संघका कार्यकारिणी सदस्य ओम प्रकाश शर्माले गरेका थिए । प्यानलमा मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्त चापागाई, विशाल मैदा मिलका प्रबन्ध निर्देशक विकास कुमार बेगवानी, शुभकामना सेक्युरिटिजका प्रोमोटर निखिल अग्रवाल सहभागी थिए । कार्यक्रमको मोडरेसन केतन बोहराले गरे । स्वागत मन्तव्यका क्रममा संयोजक शर्माले नेपालको सेयर बजार विकासको चरणमा भए तापनि अस्थिर रहेको बताए । उनले अस्पष्ट नीतिहरू, नियमनको अभाव र लगानीकर्ताको विश्वास घट्नुले बजारमा अस्थिरता ल्याएको उल्लेख गरे । साथै, उनले आईपीओ प्रक्रिया सरल बनाउने, निजी क्षेत्रको सहभागिता प्रोत्साहन गर्ने र नीतिगत स्पष्टता ल्याउने खालका सुधारबाट दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न सकिने धारणा राखे । प्यानलमा सहभागी वक्ताहरुले पनि सेयर बजारको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावनाबारे आफ्ना विचार राखे । सहभागीहरुद्वारा उठाइएका जिज्ञासामा प्यानल सदस्यहरुले प्रस्टिकरण दिएका थिए । कार्यक्रममा संघका अध्यक्ष अनुपम राठीसहित पदाधिकारी, कार्यसमिति सदस्य, युवा तथा महिला उद्यम समिति, विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी–व्यवसायी, सेयर लगानीकर्ता, सञ्चारकर्मी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम मकालु टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।
विदेशको नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : सभापति देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरुलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् । शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने स्पष्ट पारे । अरु कामहरुका लागि एनआरएनलाई दिए सरहको नागरिकता दिन सकिने बताए । नेपाल जस्तो देशमा त्यसरी नागरिकता दिँदा कठिनाइ आइपर्ने बताए । नेपाल फर्किन चाहनेलाई स्वागत गर्न तयार रहेको बताए । ब्रिटिश गोरखा सैनिकबारे समितिमा छलफल जारी रहेकाले संसदबाट निस्कर्ष निस्किने जिकिर गरे । सभापति देउवाले भने, ‘जहाँसम्म गोरखा ब्रिटिश सैनिकलाई बेलायती सैनिक सरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ । त्यसमा म स्पष्ट छु । ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरुले छलफल गरिरहेका छन् । नेपाल छोड्नुपर्ने विभिन्न बाध्यता छन्, त्यसैले ब्रिटिश गोरखा सरह नै नागरिकता पाउनुपर्छ भन्ने छ ।’ सभापति देउवाले गोरखा सैनिकहरुको इतिहास गर्विलो रहेको बताए । ब्रिटिश गोरखा सैनिकहरु नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम भएको बताए । नेपाल र बेलायतबीचको सम्बन्ध विस्तार हुनुमा गोरखा सैनिक फौज महत्वपूर्ण रहेको जिकिर गरे ।
टेस्लाद्वारा शाङ्घाइमा नयाँ ‘ग्रिड साइड ऊर्जा भण्डारण’ स्टेशन निर्माण गर्ने सम्झौता
काठमाडौं । अमेरिकी कार निर्माता कम्पनी टेस्लाले शुक्रबार चिनियाँ साझेदारहरूसँग मिलेर शाङ्घाइमा मेगाप्याक ऊर्जा भण्डारण ब्याट्री प्रयोग गरी ग्रिडको लागि ऊर्जा भण्डारण स्टेशन बनाउने सम्झौता गरेको छ । कुल ४ अर्ब युआन (लगभग ५५६ मिलियन अमेरिकी डलर) को लगानीमा भएको यो परियोजनाले टेस्लालाई चीनको तेजीसँग बढिरहेको ऊर्जा भण्डारण बजारमा प्रवेश गर्ने मौका दिएको हो । यसले चीनको विशाल विद्युत् ग्रिडसँग जोडिने सम्भावना पनि बढाएको छ, जुन संसारकै सबैभन्दा ठूलो विद्युत् ग्रिड हो । यो गिगावाट-घण्टा स्तरको ऊर्जा भण्डारण स्टेशन चीनको शाङ्घाइको लिङगाङ विशेष क्षेत्र, चिनियाँ अन्तर्राष्ट्रिय मुक्त व्यापार क्षेत्र (पाइलट फ्री ट्रेड जोन) मा निर्माण हुनेछ । यस सम्झौता अनुसार, टेस्ला, लिङगाङ विशेष क्षेत्रको प्रशासनिक समिति, शाङ्घाइको फेंग्सियान जिल्लाको सरकारी निकाय र चिनियाँ काङफु इन्टरनेशनल लीजिङ कम्पनी लिमिटेडले भाग लिएका छन् । यो टेस्लाको पहिलो ग्रिड साइड ऊर्जा भण्डारण स्टेशन हुने भएकाले यसले चीनको मुख्य भूमिमा स्थापना हुने पहिलो यस्तो परियोजना हो । टेस्लाका चीनका ऊर्जा व्यवसायका महाप्रबन्धक डोंग कुनले भने, 'यस स्टेशनले एकपटक सञ्चालनमा आएपछि, यसले बिजुलीको स्पट ट्रेडिङमा सहभागी भएर स्थानीय ग्रिडमा चरम र कम आवश्यकताहरू बीच सन्तुलन कायम गर्न मद्दत गर्नेछ, जसले ग्रिडको स्थिरता बढाउँछ ।' यसैबीच, टेस्लाले चीन काङफुसँगको सहकार्यलाई अझ विस्तारित गरी विश्वव्यापी रुपमा शुन्य-कार्बन ऊर्जा समाधानहरू ल्याउने योजना बनाएको छ । यस वर्षको फेब्रुअरीमा, टेस्लाको नयाँ मेगाफ्याक्ट्री लिङगाङ विशेष क्षेत्रमा सुरु भएको थियो, जुन यसको दोस्रो प्लान्ट हो र यसले मेगाप्याक ब्याट्री उत्पादन गर्न थालेको छ । टेस्लाले २०२५ मा ऊर्जा भण्डारणको डिप्लोयमेन्टमा वार्षिक ५० प्रतिशत वृद्धि अपेक्षा गरेको छ । रासस