विकासन्युज

निजी क्षेत्रले व्यापार गर्नसक्ने कानूनी व्यवस्था गरेर मात्रै टेक एण्ड पेमा जानुपर्छ : सांसद बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले जलश्रोत विधेयक जसरी नै विद्युत विधेयक फिर्ता लिए ठूलो संकट निम्तिने बताएका छन् । प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गइरहेको विधेयक फिर्ता गर्नुले सरकारको जवाफदेहिता स्पष्ट हुने बताए । सरकार विधेयक र कानून निर्माणप्रति जिम्मेवार हुन नसकेको आरोप लगाए । निजामति ऐन छिटो भन्दा छिटो संसदबाट पारित हुनुपर्ने जानकारी दिए ।  सांसद बस्नेतले भने, ‘सरकारले जलश्रोत विधेयक जस्तो विद्युत विधेयक पनि फिर्ता गरिदियो भने अर्को डिजास्टर हुनेवाला छ । जलश्रोत विधेयक जस्तै विद्युत विधेयक पनि फिर्ता लिने । निजामति सेवा ऐनको बारेमा माननीयज्यु यहाँ भन्दै हुनुहुन्थ्यो । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगिरहेको विधेयक फिर्ता गर्ने निर्णय सरकार गर्दछ । सरकारको जवाफदेहीताको बारेमा त यो भन्दा थप कुरा के भन्नु ।’ सांसद बस्नेतले निजी क्षेत्रले व्यापार गर्नसक्ने कानूनी व्यवस्था नगरी टेक एण्ड पेमा जाँदा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको योजना लथालिङ्ग हुने बताए ।   

सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी

काठमाडौं । पछिल्लो दुई दिन परेको भारी वर्षापछि बाढी र पहिरोका कारण विभिन्न क्षेत्रका १० स्थानमा अवरुद्ध भएका सडकमध्ये आजसम्म ७ ठाउँको सडकमा यातायात सञ्चालनमा आएको छ । साथै अझै तीन स्थानमा सडकमा यातायात ठप्प रहेको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरक्षिक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार नवपलरासी बर्दघाट सुस्तापूर्वको विनयी खोलामा डाइभर्सन बगाउँदा अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन । यहाँ हिजो यात्रुबाहक गाडी नै बगाएको थियो भने यात्रुलाई सकुसल उद्धार गरिएको थियो ।  रोल्पाको त्रिवेणी गाउँपालिका ७ जङ्डाँडामा पहिरोले घोराही–रुकुम सहिदमार्ग अवरुद्ध भएको छ ।  पहिरोकै कारण पाल्पाको तिनाउ नगरपालिका ३ सुरुङमार्गमा सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग बन्द भएको छ । ती सडकहरु खुलाउने प्रयास भने जारी रहेको प्रवक्ता घिमिरेले बताए । उनका अनुसार ललितपुरको बागमती गाउँपालिकामा पहिलोले अवरुद्ध कान्ति लोकपथ पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ । यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिकामा पहिरोले अवरुद्ध सडक, नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङ्टारमा पहिरोले अवरुद्ध कालिगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम सडक, गुल्मीमा अवरुद्ध कालिगण्डकी करिडोर पनि पहिरो पन्छाएर सडक खुलाइएको प्रहरीले जनाएको छ । यस्तै जुम्लामा अवरुद्ध जुम्ला–मुगु सडक, डोल्पामा बाढीका कारण अवरुद्ध भेरी करिडोर पनि एकतर्फी खुलाइएको र दुईतर्फी खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।   शुक्रबारबाट देशभर नै मनसुन फैलिएकाले देशभर नै मनसुनै वायुको प्रभाव रहेको छ । जसका कारण जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ ।

मुलुकको स्रोत साधनकै आधारमा बजेट विनियोजन भएको छ : सांसद डा. महत

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८२/८३ का लागि मुलुकको स्रोत साधनको आधारमा नै बजेट विनियोजन भएको बताएका छन् । शनिबार प्रतिनिधि सभा बैठकमा विनियोजन शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद महतले यस्तो बताएका हुन् ।  उनले मन्त्रालयहरुमा विनियोजित बजेटको सही उपयोग हुन्छ कि हुँदैन र बजेट सदुपयोगको सम्भावना र प्राथमिकताको आधारमा खर्च भयो कि भएन भन्ने महत्वपूर्ण सवाल रहेको टिप्पणी गरे । डा. महतले सरकारले विनियोजित बजेट कार्यान्यनतर्फ जोड दिनुपर्ने बताउँदै कनिका छरेजसरी बजेट छरिदिने परम्पराले परिणाम नआउने दाबी गरे । ठूला र महत्वपूर्ण योजना संघीय सरकारले नै गर्नुपर्ने बताउँदै उनले विकास कसरी गर्नुपर्छ भनेर प्रदेश र स्थानीय तहलाई उदाहरणका रुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘मन्त्रालयहरुले आउने दिनमा बजेटलाई कसरी कार्यान्वयन गर्छ त्यसपछि भन्न सकिने अवस्था हुन्छ । जहाँसम्म परराष्ट्र मन्त्रालयको अत्यन्त महत्वपूर्ण भूमिका छ । परराष्ट्र नीतिको कार्यान्वयन गर्ने मुख्य निकाय नै परराष्ट्र मन्त्रालय हो र यसलाई राष्ट्रिय बजेटको १५.८ प्रतिशत बजेट थपिएको छ । तथापी बढाउनु आवश्यक थियो । अहिले जुन अन्तर्राष्ट्रिय परिस्थिति छ, यो आर्थिक सहयोगलाई परिचालन गर्नपनि परराष्ट्र मन्त्रालयको महत्वपूर्ण भूमिका हुन्छ ।'  छुट्याइएका बजेटमा मन्त्रालयको कार्यान्वयन हेरेपछि मात्र त्यसबारेमा टिप्पणी गर्नसकिने डा. महतले बताए । 

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्यो : सांसद मोदी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले थोरै समयमा धेरै मन्त्रालयको खर्च कटौतीमा टिप्पणी गर्नुपर्ने अवस्थामा समय कम भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।  शनिबार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद मोदीले छलफलमा मन्त्रीहरू पनि नआउने र मन्त्रालय थप्दै जाने होभने समयपनि थप्न आग्रह गरेका हुन् । संघीय निजामति ऐन संसदमा पेश भएरपनि नआउँदा दुःख लागेको बताउँदै आफू मन्त्री भएको समयमा कर्मचारीको तलब वृद्धिका लागि कार्यदल बनाइएको भएपनि त्यो अहिले नदेखिएको स्पष्ट पारे । सांसद मोदीले कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढिरहेको दाबी गरे । सरकारले आन्दोलनरत शिक्षकसँग वार्ता र सम्झौता गरेर शिक्षा ऐन ल्याउने कुरा गरेपनि संसदमा आजसम्म विधेयक नआएको भन्दै आपत्ति जनाए । उनले भने, ‘खर्च कटौतीसँग सम्बन्धित १० वटा मन्त्रालयको बजेटसँग सम्बन्धित विषयहरुमा आफ्ना धारणा राख्दा केही कुरामा सभामुखज्यूलाई विशेष ध्यानाकर्षण गर्न चाहन्छु । तपाईले १० वटा मन्त्रालय आजै राख्नुभयो, अनि समयपनि अत्याधिक कम भएको कारणले सबै मन्त्रालयको टिप्पणी गर्ने र खर्च कटौती गर्ने कुरामा कहिँ न कहीँ समस्या हुन्छ ।’ उनले आन्दोलनरत शिक्षकहरूसँग जुन तरिकाले वार्ता र सम्वाद भएको थियो सोही अनुरूप कार्यान्वयन गर्नुपर्ने कि नपर्ने भन्दै प्रश्न गरे । 

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

काठमाडौं । इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरुको उद्धार गरिने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बताइन् । इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उनले त्यसप्रति भारत सकारात्मक रहेको बताइन् ।  परराष्ट्रमन्त्री डा. राणाले भनिन्, 'इरानमा केही नेपाली हुनुहुन्छ । आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु । हामी भारतबाट सकारात्मक जवाफ आउनेमा विश्वस्त छौँ ।'  भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा पनि नेपालीको उद्धारका निम्ति भारत सरकारसँग निरन्तर सम्पर्क एवं समन्वयमा छन् ।  तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दैैछ । यस क्रममा उक्त दूतावासले नेपालीलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरानमा रहेका नेपालीको उद्धारका लागि त्यहाँस्थित भारतीय दूतवासका उपप्रमुखसँग सम्पर्क र समन्वय गरिरहेको बताए ।   

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द गरिने भएको छ ।  यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण रुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएको छ ।  आयोजना निर्देशनालयका निर्देशक इञ्जिनियर चुडाराज ढकालले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार आजदेखि रातिको समयमा सडकमा यातायात सञ्चालनमा रोक लगाइएको हो ।  'निर्माणाधीन नारायणघाट–बुटवल सडकको दुम्कीबासस्थित विनयी खोला पुलको डाइभर्सन सडक वर्षाले बारम्बार बगाइरहेकाले सो स्थानमा बनेको नयाँ पुल सञ्चालनमा नआउने बेलासम्म रातिमा सडकमा यातायात सञ्चालन बन्द गर्ने निर्णय भएको छ', उनले भने, 'यसैगरी दाउन्ने खण्डको केही स्थानमा ग्राबेल राखेर सडक मर्मत गर्ने काम भइरहेकाले दाउन्नेमा सहज रुपमा यातायात सञ्चालन नहुने बेलासम्मका लागि रातिमा सडक बन्द गरिएको हो ।'  उक्त सडक खण्डमा ठूला र मालवाहक सवारीसाधन भने आजदेखि चौबिसै घण्टा सञ्चालन गर्न नदिने गरी रोक लगाइएको ढकालको भनाइ छ । ठूला र मालवाहक सवारीसाधनलाई नारायणघाट बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै निर्देशक ढकालले साना सवारीसाधनसमेत सडकको अवस्था हेरेरमात्रै दिउँसोमा यात्रा गर्न सुझाव दिए ।  चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य पानी पर्दा हिलोका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ । त्यस्तै, विनयी खोलामा आउने बाढीले यहाँ निर्माण गरिएको डाइभर्सन बगाउँदा पटकपटक यातायात सञ्चालनमा अवरोध हुने गरेको छ ।   

आरामको जिन्दगी हैन, स्वस्थ्य र खुसी जिन्दगी बाँच्न ध्यान दिनुस् : प्रधानमन्त्री

पाटन । प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउने आग्रह गरेका छन् ।  ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शनिबार ललितपुरमा आयोजित ११औँ विश्व योग दिवसमा उहाँले योगको सम्बन्ध मानव जाति र शान्तिसँग रहेको भन्दै योग मानव जातिको कल्याण, विश्वशान्ति, सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि मुलुकले गर्ने कार्य हो भने 'योगका आठवटा सूत्रहरुमध्ये अथक योग अनुशासन आवश्यक छ, आज नेपाली समाज अनुशासनबाट टाढा छ, अनुशासन विना ध्यान हुँदैन, असल कुरामा स्थिर हुनु नै योगको निष्कर्ष हो, बुद्धिसहितको योग आवश्यक छ, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले हामीले योगलाई दैनिकचर्यासँग जोडेर हरेकलाई योगी बनाउन खोजेका हौँ भन्दै आरोग्यको कुरा गर्दा खानपान, योग र आरामको सन्तुलनलाई ध्यान दिनुपर्छ भन्नेमा जोड दिए ।  'पेट भर्नका लागि हैन, स्वास्थ्यका लागि विषादीरहित खानामा ध्यान दिनुपर्छ, हामीलाई डक्टर र अस्पताल पनि चाहिन्छ, तर योग र ध्यान पनि चाहिन्छ, डक्टर चाहिन्छ धेरै डक्टर उत्पादन गर्छौं, तर डक्टरको सङ्ख्या बढाउनेभन्दा बढी रोगीहरुको सङ्ख्या घटाउनेमा ध्यान दिनुपर्छ, त्यसकारण निरोगी नेपाल सफल हुन्छ, म प्रधानमन्त्री हुने बित्तिकै निरोगी नेपालको नारा दिएँ, निरोगी नेपालको अर्थ रोग लाग्नै नदिने भनेको हो,' उनले भने । उनले मानिसको जीवनमा लागू गर्नुपर्ने कुरा अहिंसा, सत्य, अनुशासन र स्वस्थ्यतासहितको खुसी हो भने । 'आज विश्वलाई शान्ति चाहिएको छ, हिंसा हैन अहिंसा चाहिएको छ, यही कुरा हतियारधारी र अहङ्कारीहरुले बुझिदिए भने शान्ति हुन्छ, म पवित्र भावले काम गर्छु, मौका पाएका बेला देशको सेवा गर्छु, नपाएको बेला पवित्र भावना राख्छु, योगले स्वास्थसँग, शरीरसँग, मनसँग र समाजसँग सम्बन्ध राख्छ । योग घरमै बसेर गर्न सकिन्छ आफू पवित्र रहनुस्, पवित्र सोच्नुस्, अरूको सम्पत्तिमा लोभ नगर्नुस्,' उनले भने । प्रधानमन्त्री ओलीले योग र ब्रह्माचार्य भनेको समाजले दिएको जैविक र मानवीय आवश्यकता नै पूरा नगर्ने भन्ने होइन भने । 'समाजको मान्यताभित्र रहेर बस्नुपर्छ, कानुनभन्दा पहिला समाजले थिति बसाएको हुन्छ, ती थितिहरुलाई मानेर समाज सुखमय हुन्छ, मुटुलाई स्वस्थ्य राख्न शरीरलाई चलायमान बनाउन आवश्यक छ, त्यसका लागि योग चाहिन्छ, लापरबाह जीवन बिताएर आफू खराब हुने र भगवान्लाई दोष दिएर डक्टरकामा जानेभन्दा योग र ध्यानमा जोड दिएर खुसी जीवन बिताउनेमा ध्यान दिनुपर्छ,' उनले भने । उनले संयुक्त राष्ट्रसङ्घले योग दिवस मानेको यस दिनमा शुभकामना व्यक्त गर्न चाहन्छु भने । 'नेपालका पुर्खाहरुबाट योगको सृजना भएको थियो, पुर्खा र प्रकृतिलाई हामी देवतातुल्य मान्छौँ, पानी र हावा पनि देवता हो, हामी गर्वमा हुँदा र जन्मपश्चात् पनि अक्सिजनबाट बाँचेका छौँ, जुन अदृश्य छ, हामी आकाश शान्ति र पृथ्वी शान्तिको कामना गर्छौं, योगमा शक्ति छ, पहिला शिवबाट योग प्रारम्भ भएकाले शिवलाई आदियोगी भनिन्छ, विश्वामित्रले सर्जरीको विकास गर्नुभयो, विश्वामित्रले आफ्ना नाति चरकलाई डक्टर बनाउनुभयो । चरकले आरोग्य विज्ञानको विकास गरे, विश्वामित्रको समयमा योगविज्ञानले चमत्कार गर्यो,' प्रधानमन्त्री ओलीले भने । उनले आफू जेलमा हुँदा उपचारको अवसर नभएकाले दुखाइ कम गर्ने औषधि मात्रै दिइन्थ्यो भन्दै त्यही कारणले आफ्नो मिर्गौला फेल भएको प्रसङ्गमा भने, 'अप्रेसन गर्नै पर्ने अवस्था चाहिँ ध्यानले मात्रै हुँदैन, योगका नियम र आसनले मात्र हुँदैन, कर्मयोगमा पनि ध्यान दिनुहोला । आरामको जिन्दगी हैन, स्वस्थ्य र खुसी जिन्दगी बाँच्न ध्यान दिनुस्, योगले यही सिकाउँछ, समय र परिवर्तन बलवान् हुन्छ ।' शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पूर्वीय चिन्तन, योग र ध्यान संसारको साझा जीवन पद्धतिका रुपमा अगाडि बढेको बताए । उनले योगभित्र लुकेका विभिन्न पक्षलाई सांस्कृतिक सम्पदाका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । मन्त्री पन्तले नेपालको हिमालय क्षेत्र नै योग र ध्यानको उद्गमस्थल भएको धारणा राख्दै विश्वमा शान्तिको आवश्यकता रहेको वर्तमान अवस्थामा योग, ध्यान र वैद्धिक साहित्यको विकास आवश्यक भएको बताए ।      संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले योग हाम्रा लागि आफैँमा महत्वपूर्ण रहेको भन्दै पूर्ण स्वस्थ्यता आर्जन गर्न मद्दत पुर्याउने बताए । उनले योग नेपालको सांस्कृतिक र मौलिक संस्कृति भएको धारणा राखे । योगको मूल तीर्थस्थल नेपाल हो भन्ने कुरालाई विश्वभर चिनाउन तत्परताका साथ काम गर्ने बताए । जीवन विज्ञानका योगगुरु प्राध्यापक डाक्टर दीपक रेग्मीले विज्ञान सम्मत पद्धतिमा योग विकास हुँदै गएको बताउँदै विज्ञानले समेत योगलाई मान्यता दिइसकेको बताए । उनले योग र ध्यान मानव जीवनका लागि अत्यन्तै फाइदाजनक भएको बताए । उनले पैसाले किन्न सकिने भौतिक सुखभन्दा शारीरिक स्वास्थ्य, आत्मशान्ति र खुसी महत्वपूर्ण भएको भन्दै त्यो योग र ध्यानबाट प्राप्त हुने धारणा राखे । समारोहमा जीवन विज्ञान, पतञ्जली योग, पतञ्जल योग समिति, त्रिभुवन विश्वविद्यालय योगविज्ञानका योगगुरु, योगाचार्य, योगार्थीहरु, योगाभ्यास गरिरहेका बालबालिकाहरु, ब्रह्कुमारी राजयोग समितिका व्यक्तित्वहरु, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका व्यक्तित्वहरु,सरकारका उच्चपदस्थ व्यक्तित्वको सहभागिता थियो ।  हरेक वर्ष जुन २१ मा दिन विश्व योग दिवस र हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ । 

सांसद श्रेष्ठको प्रश्न : जनताको आवाज सदनमा नसुनाए कहाँ सुनाउने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग गरेकी छन् । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।  उनले अहिलेसम्म जनताको माग राखेर आन्दोलन गर्दा सदनमा जनताको आवाज नसुनिएको बताइन् । सरकारले संसदीय छानबिन समिति, उच्चस्तरीय छानबिन आयोग किन नबनाएको भन्दै प्रश्न गरिन् । जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने ? भन्ने उनको प्रश्न छ । सरकार निर्बलको लागि हो की शक्तिशालीहरुको भन्दै प्रश्न गरिन् ।  ‘हामीले यो सदनमा यत्तिका दिनसम्म जनताको माग राखेर उभिरहेका छौँ । तर अहिलेसम्म पनि सरकारले संसदीय छानबिन समिति, उच्चस्तरीय छानबिन आयोग बनाउँछु भनेर कतै पनि जनताको आवाजको सुनुवाई गरेको छैन । जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने ? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन । जनताको आावज यहाँ बोलिन्छ, यहाँ सुनुवाई हुन्छ । सरकार कसको लागि ? निर्बल दुर्बलको लागि की शक्ति भएकाहरुको लागि ? कहिलेसम्म हाम्रा युवाहरु देश छोडेर बाहिरिने ? एक करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन्, एक वर्ष लगाएर किन ? त्यसमा पोलिसी रिफर्म गर्न पर्दैन ?’, उनले भनिन् । सांसद श्रेष्ठले भिजिट भिसाबाटै रसिया, खाडी मुलुकमा नेपालीहरू जाने गरेको बताइन् ।