विकासन्युज

काठमाडौंबाट हराएका ५३ वटा मोटरसाइकल सवारीधनीले पाए

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५३ वटा मोटरसाइकल र स्कुटर सवारीधनीलाई बुझाएको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार (आज) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।  काठमाडौं उपत्यका ट्रफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ३१ ओटा मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट आएका सूचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यका स्थित काडाँघारी, स्वयम्भू, दरबारमार्ग, चापागाँउ, नेपालटार, नयाँबसपार्क, बालकुमारी, लोकन्थली, बसन्तपुर, कालिमाटी, बौद्ध, गोकर्ण, मुलपानी, सुकेधारा, सुन्दरीजल, थानकोट, सोह्रखुट्टे, कपन, चागल लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।  आज बुझाइएका ५३ वटासहित २९६ वटा सवारी साधन गत साउन यता काठमाडौं उपत्यका ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाएको छ । चोरीका १६ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न २९ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।   आर्थिक वर्ष २०८०/०८१ मा ४१७ ओटा र ०८१/०८२ मा ५०३ वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।  सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्नका साथै ९जीपीएस जडान, मानिसहरूको आवत(जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले अनुरोध गरेका छन् ।

पाल्पा सिमेन्टको नाफा २ करोड ६३ लाख रुपैयाँ, अन्य इक्विटी १ अर्ब ९ करोड

काठमाडौं । पाल्पा सिमेन्टको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ७२.९६ प्रतिशत घटेर २ करोड ६३ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ७५ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५४ प्रतिशत घटेर १ अर्ब ८९ करोड ४ लाख ४३ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ११ करोड २० लाख ९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको अन्य आम्दानी १४.२१ प्रतिशत बढेर १ करोड ३ लाख ४० हजार रुपैयाँ र कुल नाफा ६१.८९ प्रतिशत घटेर ३८ करोड ४१ लाख २३ हजार रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च ५१.९३ प्रतिशत घटेर ५ करोड ४९ लाख ९२ हजार रुपैयाँ र बिक्री लागत ५१.४६ प्रतिशत घटेर १ अर्ब ५० करोड ६३ लाख ५९ हजार रुपैयाँ गरेको छ ।  ३ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी १ अर्ब ९ करोड ८५ लाख ७३ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३६.६२ रुपैयाँ रहेको छ । 

जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचना निर्माणका लागि ४ अर्ब ३४ करोड खर्च गर्दै

काठमाडौं । सरकारले जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचना निर्माण गर्न दातृ निकायबाट सहयोग लिने तयारी गरेको छ । अर्थ मन्त्रालयका अनुसार स्रोतको चाप परेका कारण विकास साझेदारहरुसँग पुनर्निमाण गर्न स्रोत लिने तयारी गरिएको हो।  विकास साझेदार तथा गैर-आवासीय नेपाली समुदायबाट पुनर्निर्माणमा योगदान जुटाउन कुटनीतिक पहल गर्ने योजना अर्थमन्त्रालयले बनाएको हो । जेनजी आन्दोलनबाट क्षति पुगेका संरचना बनाउन संघीय सरकारले मात्रै चालु आर्थिक वर्षमा ४ अर्ब ३४ करोड खर्च गर्दैछ ।  आगामी दुई वर्षमा वार्षिक १० अर्ब १८ करोड खर्च गर्नुपर्ने स्थिति रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, प्रदेश सरकारबाट चालु आवमा ८१ करोड २५ लाख, आगामी दुई वर्षमा वार्षिक १ अर्ब ४६ करोड ५२ लाख खर्च गरिँदैछ । स्थानीय तहबाट चालु आवमा १ अर्ब ४२ करोड ४७ लाख खर्च गरिनेछ भने आगामी दुई वर्षमा वार्षिक ३ अर्ब २१ करोड ९२ लाख खर्च गर्ने योजना छ । अहिले सरकारले पुनर्निमाणका लागि स्रोत जुटाउन अहिले साना तथा टुक्रे आयोजना कटौती गर्ने, संघीय सरकारले ३ करोडभन्दा साना आयोजना नगर्ने, सवारी साधन खरीदमा कडाइ गर्ने जस्ता मितव्ययी नीति अपनाइएको छ । पुनर्निर्माणमा अपुग स्रोतका लागि दातृ निकायसँग अर्थमन्त्रालयले छलफल अघि बढाएको हो । अर्थमन्त्रालयले हालै सार्वजनिक गरेको अर्ध वार्षिक समीक्षा प्रतिवेदनमा भनिएको छ, ‘विकास साझेदार तथा गैर–आवासीय नेपाली समुदायबाट पुनर्निर्माणमा योगदान जुटाउन कूटनीतिक पहल गरिनेछ ।’ राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनअनुसार जेनजी आन्दोलनबाट कुल ८४ अर्ब ४५ करोड ७७ लाख बराबरको भौतिक सम्पत्ति क्षति भएको छ । जसमध्ये सरकारी तथा सार्वजनिक क्षेत्रमा ४४ अर्ब ९३ करोड ७३ लाख र निजी क्षेत्रमा ३३ अर्ब ५४ करोड ८७ लाख क्षति पुगेको अनुमान गरेको थियो । सरकारी क्षेत्रको पुनर्निर्माणका लागि मात्रै ३६ अर्ब ३० करोड २१ लाख लाग्ने देखिएको छ, जसमा भवन पुनर्निर्माणकै लागि १९ अर्ब ९८ करोड ९८ लाख छुट्याइएको छ । सरकारले बनाएको जेनजी आन्दोलनको क्षति पुनर्निर्माण कार्ययोजनामा पुनर्निर्माणका प्रमुख सिद्धान्तहरूमा आन्तरिक स्रोतको अधिकतम परिचालन, तीनै तहका सरकारबीच समन्वय तथा विपद् प्रतिरोधी (उत्थानशील) पूर्वाधार निर्माणलाई जोड दिइएको छ । तत्कालीन रूपमा सामान्य क्षति भएका संरचनाको मर्मत चालु आर्थिक वर्षकै बजेटबाट गर्ने र आंशिक वा पूर्ण क्षति भएका संरचनाको पुनर्निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

खोटाङमा पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सुरु

खोटाङ । खोटाङ जिल्ला अस्पतालमै  पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । अबदेखि सो समस्याका लागि राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।  सेवा सुरु भएलगत्तै दुई महिलाको सफल उपचार गरिएको अस्पताल प्रमुख एवं डा. अमिताब ठाकुरले जानकारी दिए ।  ‘म यहाँ आएपछि धेरै महिलाको दुःख देखें । पाठेघरसम्बन्धी समस्या भएका महिलाका लागि उपचार गर्न काठमाडौं वा विराटनगर जानुपर्ने बाध्यता रहेछ । अब त्यो बाध्यताको अन्त्य भएको छ,’ उनले भने, ‘हाम्रो विशेषज्ञता प्रयोग गरेर खोटाङमै निःशुल्क शल्यक्रियासहितको सेवा उपलब्ध गराएका छौं ।’ अस्पतालमा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार, बाँझोपनको उपचार र पहिलोपटक शल्यक्रियामार्फत सन्तान जन्माएकी महिलाको दोस्रोपटक पनि शल्यक्रिया गर्ने सेवासमेत सुरु गरिएको जनाइएको छ ।  अस्पतालमा पाठेघरसम्बन्धी समस्याको निःशुल्क उपचार सेवा उपलब्ध भएपछि लामो समयदेखि पीडित महिलाहरू उपचारमा आउन थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।  जिल्ला अस्पतालको आफ्नै स्रोत साधन उपयोग गरेर गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन थालिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए ।  ‘जिल्लामा स्त्री रोग विशेषज्ञ नहुँदा धेरै महिला रोग लुकाएर तथा बाहिर गएर उपचार गराउनुपर्ने बाध्यतामा थिए । यो समस्या दीर्घकालीन रुपमा समाधान गर्न मन्त्रालयबाट विशेषज्ञ चिकित्सक झिकाएका छौं,’ उनले भने, ‘यो जिल्लाका लागि खुशीको कुरा हो । अब कुनै पनि महिलाले उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने छैन ।’ दश स्थानीय तह रहेको जिल्लामा यसअघिसम्म पाठेघरको समस्या भएका महिलाको शल्यक्रिया सेवा उपलब्ध नहुँदा अन्य जिल्ला पठाउने गरिएको थियो । अस्पताल जानेरआउने, उपचार गर्ने, खाने र बस्ने खर्च सम्बन्धित स्थानीय तहले उपलब्ध गराउनेगरी राजधानी लगायतका सुविधायुक्त अस्पतालमा पठाउने गरिएको थियो ।  हालैमात्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाले त्यस्ता समस्या भएका महिलालाई शिर मेमोरियल अस्पताल बनेपा लगेर निःशुल्क शल्यक्रियासहितको उपचार गराएको थियो । दुवै नगरपालिकाले गाडी रिजर्भ गरेर १८/१८ जना महिला तथा एक/एक जना कुरुवालाई बनेपा लगेर निःशुल्क शल्यक्रियासहितको उपचार गराएको थियो । 

चौतारीदेखि आँगनसम्म सुन्दै सुनाउँदै गुल्मीका गोकर्ण विष्टको चुनावी प्रचार

काठमाडौं । गोकर्ण विष्ट यतिबेला गुल्मी क्षेत्र नम्बर–२ का गाउँ–गाउँ, टोल–टोल र घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन् । उनी भीडभाडयुक्त सभाभन्दा साना समूहमा बसेर स्थानीयको गुनासा, सुझाव र अपेक्षा सुन्नेमा केन्द्रित देखिन्छन् । विष्ट नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । गुल्मी–२ का ग्रामीण बस्तीहरूमा पुग्दा विष्टलाई कहिले किसानसँग खेतको डिलमा, कहिले आँगनमा चिया पिउँदै छलफल गर्दै, त कहिले युवासँग चौतारीमा बस्दै गरेको दृश्यमा देख्न सकिन्छ ।  विष्टका अनुसार चुनाव जित्नका लागि मात्रै नभई दीर्घकालीन योजना बनाउन जनताको प्रत्यक्ष धारणा बुझ्नु आवश्यक छ । ‘म बोल्नभन्दा बढी सुन्न आएको छु । जनताको आवाजलाई नीति र कार्यक्रमसँग जोड्न सके मात्रै प्रतिनिधित्व सार्थक हुन्छ,’ उनले भने । स्थानीय तहमा खानेपानी, सडक स्तरोन्नति, कृषि उत्पादनको बजारीकरण, युवा रोजगारी र स्वास्थ्य सेवाका विषय बढी उठ्ने गरेको उनले बताए । साना समूहमा भएको छलफलले मतदातालाई आफ्ना समस्या खुलेर राख्न सहज भएको स्थानीयहरूको भनाइ छ । विष्टले चुनावी भाषणलाई संक्षिप्त राख्दै प्रश्न–उत्तर शैली अपनाएका छन् । उनी आफ्ना विगतका काम, संसदीय अनुभव र आगामी योजनाबारे जानकारी दिँदै स्थानीयका जिज्ञासाको जवाफ दिने गर्छन् । गुल्मी–२ मा विकास निर्माणका अधुरा योजनालाई पूरा गर्ने, कृषि क्षेत्रमा आधुनिकीकरण र साना उद्योग प्रवद्र्धनमा जोड दिने उनको प्रतिबद्धता छ । साथै संघीय सरकारसँग समन्वय गरेर पूर्वाधार विस्तारलाई तीव्रता दिने योजना पनि उनले सार्वजनिक गरेका छन् । स्थानीय नरेश भण्डारीका अनुसार पछिल्लो समय मतदाता ठूला नाराभन्दा व्यवहारिक योजना र प्रत्यक्ष पहुँच खोजिरहेका छन् । यस्तो अवस्थामा विष्टको सुन्दै–सुनाउँदै अभियानले सकारात्मक सन्देश दिन सक्ने भण्डारीको आँकलन छ । चुनावी अभियानमा युवाको सहभागिता बढाउन विष्टले सामाजिक सञ्जाल र प्रत्यक्ष अन्तरक्रियालाई सँगसँगै अघि बढाएका छन् । उनले युवालाई स्वदेशमै रोजगारी सिर्जना, सीप विकास तालिम र उद्यमशीलतामा सहजीकरण गर्ने विषयमा आश्वस्त पार्दै आएका छन् । स्थानीय बासिन्दा समेत रहेका विकास पाण्डेका अनुसार उम्मेदवार आफै घरदैलोमा आउँदा र ध्यान दिएर कुरा सुन्दा मतदातामा विश्वास बढ्ने गरेको छ ।  गुल्मी क्षेत्र नम्बर–२ मा यसपटक प्रतिस्पर्धा रोचक देखिए पनि विष्टले भने आफ्नो अभियानलाई जनमत बुझ्ने अवसरका रूपमा लिएको बताएका छन् । 

एआई असमानता घटाउन माइक्रोसफ्टले ५० अर्ब डलर लगानी गर्ने

काठमाडौं । माइक्रोसफ्टले विश्वव्यापी कृत्रिम बौद्धिकता (एआई) असमानता घटाउने उद्देश्यले दशकको अन्त्यसम्म ५० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ।  बुधबार आयोजित एआई समिटमा कम्पनीले ‘ग्लोबल नर्थ’को तुलनामा ‘ग्लोबल साउथ’मा एआई अपनाउने गति करिब आधा मात्र रहेको र यो अन्तर निरन्तर बढिरहेको बताएको हो ।  समिटको एक सेसनमा माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथ र प्रमुख जिम्मेवार एआई अधिकृत नताशा क्र्याम्पटन सहभागी थिए । उनीहरूले समयमै आवश्यक कदम नचालिए एआई खाडलले विश्व आर्थिक असमानता अझ गहिरो बनाउन सक्ने चेतावनी दिए । घोषित ५० अर्ब डलर लगानी पाँच प्रमुख क्षेत्रमा खर्च गरिने जनाइएको छ—डिजिटल पूर्वाधार, सीप विकास (स्किलिङ), बहुभाषिक एआई विकास, स्थानीय नवप्रवर्तन, र एआई अपनाउने प्रवर्द्धन ।  गत आर्थिक वर्षमा माइक्रोसफ्टले ‘ग्लोबल साउथ’का लागि डाटा सेन्टर पूर्वाधारमा ८ अर्ब डलरभन्दा बढी खर्च गरेको थियो, जसमा भारत, मेक्सिको, अफ्रिका, दक्षिण अमेरिका, दक्षिण–पूर्वी एशिया र मध्य–पूर्व समेटिएका छन् ।  कम्पनी २५ करोड मानिससम्म इन्टरनेट पहुँच पु‍र्याउने लक्ष्यमा काम गरिरहेको छ, जसमा १० करोड अफ्रिकाबाट हुनेछन् । हालसम्म अफ्रिकामा ११.७ करोड मानिससम्म पहुँच विस्तार भइसकेको कम्पनीले जनाएको छ । डिजिटल स्किलिङअन्तर्गत गत वर्ष २ अर्ब डलरभन्दा बढी लगानी गरिएको थियो । भारतमा २०२५ मा ५६ लाख व्यक्तिलाई तालिम दिएपछि अब २०३० सम्म २ करोड भारतीयलाई एआई सीपले सशक्त बनाउने लक्ष्य राखिएको छ । समिटमा ‘इलिभेट फर एडुकेटर्स’ कार्यक्रम पनि सुरु गरिएको छ, जसअन्तर्गत २ लाखभन्दा बढी संस्थाका २० लाख शिक्षक र ८० लाख विद्यार्थीलाई एआई क्षमतासँग सशक्त बनाइनेछ । अमेरिकी चिप निर्माता क्वालकमले भारतको एआई स्टार्टअप इकोसिस्टमलाई टेवा पु‍र्याउन १५० मिलियन अमेरिकी डलर (करिब २१७६ करोड रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ । यो कोष सबै चरणका स्टार्टअपमा लगानी गरिनेछ, विशेषगरी अटोमोटिभ, इन्टरनेट अफ थिङ्स, रोबोटिक्स र मोबाइलसँग सम्बन्धित एआई समाधान विकास गर्ने कम्पनीहरूमा केन्द्रित रहने जनाइएको छ । कम्पनीका सीईओ क्रिस्टियानो आमोनले एआई नयाँ चरणमा प्रवेश गरिरहेको बताउँदै स्मार्टफोन, पीसी, कार तथा औद्योगिक मेसिनजस्ता उपकरणहरूमा प्रत्यक्ष बौद्धिकता समावेश हुँदै गएको उल्लेख गरे । उनका अनुसार एआईले विभिन्न क्षेत्रमा नवप्रवर्तनलाई तीव्र बनाउनेछ र यस प्रक्रियामा भारतको स्टार्टअप इकोसिस्टमले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

फागुनमा पन्च ईभी किन्दा ७० प्रतिशत रिसेल ग्यारेन्टी

काठमाडौं । टाटा मोर्टसको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले फागुन महिनालाई लक्षित गर्दै विद्युतीय गाडी टाटा पन्च ईभीमा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले फागुनभर पन्च ईभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत ग्यारेन्टेड रिसेल भ्यालु योजना ल्याएको  हो । यस योजनाअन्तर्गत फागुन महिनाभित्र पन्च ईभी किन्ने ग्राहकले भविष्यमा टाटाको अन्य कुनै गाडी साट्दा ७० प्रतिशतसम्म सुनिश्चित पुनःबिक्री मूल्य प्राप्त गर्नेछन् ।  कम्पनीका अनुसार ग्राहकले गाडी खरिद गरेपछि भविष्यमा त्यसको उचित मूल्य पाउने सुनिश्चितता दिलाउन यो विशेष योजना ल्याइएको हो । विद्युतीय सवारी साधनप्रति बढ्दो आकर्षणबीच यस्तो उच्च रिसेल ग्यारेन्टीले ग्राहकमा थप आत्मविश्वास र सुरक्षा भावना जगाउने कम्पनीको विश्वास छ ।  अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स तथा नेपाली सडक सुहाउँदो डिजाइनका कारण पन्च ईभी पछिल्लो समय ग्राहक माझ लोकप्रिय बन्दै गएको छ । कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ ।  यस विशेष स्किमसम्बन्धी विस्तृत जानकारीका लागि देशभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा सम्पर्क गर्न सकिनेछ । फागुनको यो अफरले विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकहरूका लागि अवसरका रुपमा रहेको छ ।

हत्या गरेर फरार रहेका मुसलमान १३ वर्षपछि पक्राउ

काठमाडौं । कपिलवस्तु प्रहरीले हत्या गरेर १३ वर्षसम्म फरार रहेका एक जनालाई पक्राउ गरेको छ । बुद्धभूमि नगरपालिका ५ मोहम्मदनगरका इरफान भन्ने क्यामुद्दिन मुसलमानलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जानकारी दिएको छ । कपिलवस्तु जिल्ला अदालतको २०६९ चैत १६ गतेको फैसला अनुसार मुसलमानलाई २० वर्ष ९जन्मकैद० हुने ठहरी फैसला भएको थियो । अदालतको फैसलापश्चात मुसलमान फरार रहेका थिए । विशेष सूचना तथा निरन्तर खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुको फैसला कार्यान्वयन टोली संयुक्त प्रहरी टोलीले मंगलबार मायादेवी गाउँपालिका १ को बर्रोहिया स्थितमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।  कैद भुक्तानका लागि कारागार पठाइएको सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।