विकासन्युज

एनसीएचएल र एण्ट इन्टरनेशनलको साझेदारीमा क्रस-बोर्डर क्यूआर भुक्तानी, पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र अन्तर्राष्ट्रिय डिजिटल फाइनान्स कम्पनी एण्ट इन्टरनेशनलले संयुक्त रूपमा नेपालका पर्यटन व्यवसाय र डिजिटल अर्थतन्त्रलाई जोड्ने उद्देश्यले विशेष कार्यक्रमको आयोजना गरेका छन् । बैंक, वित्तीय संस्था र पर्यटन क्षेत्रका सरोकारवालाहरूको उपस्थितिमा आयोजित कार्यक्रममा क्रस(बोर्डर क्यूआर भुक्तानी प्रणालीमार्फत विदेशी पर्यटकहरूलाई सहज भुक्तानी सेवा उपलब्ध गराई पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित, निर्देशक सुभाषचन्द्र घिमिरे, नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा, ट्राभल एजेण्ट संघ (नाट्टा) का अध्यक्ष कुमार मणि थपलिया, होटल एसोसिएसन नेपालका प्रमुख कार्यकारी टेक बहादुर महत, नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्त लगायत विविध सरोकारवालाहरूको सहभागिता रहेको थियो । एनसीएचएल र एण्ट इन्टरनेशनलले गत वर्ष कार्तिकमा नेपालपे क्यूआर र अलीपेपल्स बीच क्रस–बोर्डर भुक्तानी प्रणालीको सुरुवात गरेका थिए । हाल १७ भन्दा बढी अन्तर्राष्ट्रिय इ–वालेट तथा मोबाइल बैंकिङ एपमार्फत नेपालमा नेपालपे क्यूआर नेटवर्कमा आबद्ध १२ लाखभन्दा बढी व्यवसायहरूलाई सहज रूपमा भुक्तानी गर्न सकिने सुविधा उपलब्ध रहेको छ । उक्त पहलले विदेशी पर्यटकलाई डिजिटल माध्यमबाट सजिलो भुक्तानी सेवा प्रदान गर्ने मात्र होइन, नेपालमा डिजिटल कारोबार विस्तार र पर्यटन उद्योगको आधुनिकीकरणमा समेत महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन । ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन । गाउँमा ‘एक घर, एक धारा’ बनाउने गरी सुरू भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन् । स्थानीयको खानेपानी समस्या समाधानका लागि विसं २०६७ मा ओखरगैंडा खानेपानी आयोजना सुरू भएको थियो । योजनाको दुई किलोमिटर टाढा घिनसिङ खोलाबाट मौरीभिर सम्मो भन्ने ठाउँमा लिफ्टमार्फत ओखरबोट किम्लेमा पानी तानेर वितरण गरिने योजना थियो । तर त्यो योजना १५ वर्ष पुग्दासम्म पनि अधुरै छ । स्थानीयले दैनिक खानेपानीका लागि लाइनमा बस्नु पर्ने बाध्यता छ । सरकारले अपर्याप्त बजेट विनियोजन गर्दा कामा ढिलासुस्ती भएको हो । विसं २०७२ मा सङ्घीयता आएपछि उक्त खानेपानी योजना सशर्त कार्यक्रमअन्तर्गत नेपाल सरकारबाट प्रदेश सरकारको जिम्मेवारीमा आएको छ । प्रदेश सरकारले उक्त आयोजनालाई पुनः डिजाइन गरेर काम गर्दै आएको छ । पहिले निर्माण भएको रिजर्भ ट्याङ्की र सार्वजनिक धारा अहिले काम नलाग्ने भएका छन् । यहाँको झण्डै १०० घरधुरीको घर घरमा धारा निर्माण भएका छन् । घरमा धारा भए पनि पर्याप्त पानी नआउँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । सिसाखानीको बाघखोरमा रिजर्भ ट्याङ्की निर्माण भएपछि मात्रै सहज रूपमा पानी वितरण गर्न सकिने ओखरगैँडा खानेपानी आयोजनाका अध्यक्ष दिलबहादुर पुनले बताए । एउटा ४५ हजार लिटर र अर्को २० हजार लिटरको ट्याङ्की निर्माण गरेपछि मात्र खानेपानी समस्या समाधान हुने उनको भनाइ छ । अध्यक्ष पुनले भने, ‘यहाँ खानेपानी आयोजना सुरू भएको धेरै भयो तर अहिलेसम्म सम्पन्न नहुँदा हामीहरूले खानेपानीको सक बेहोर्नुपरेको छ, आयोजनाका लागि वर्षमा कहिले पाँच लाख, अहिले १० लाख बजेट आउँछ, त्यो बजेटले अपुरो काम हुन्छ, बजेट अभावका कारण अहिलेसम्म यो खानेपानी आयोजना सम्पन्न हुन सकेन, राज्यको ध्यान नगएको महसुस भएको छ ।’ करिब ६० लाख बजेट आए मात्रै आयोजना सम्पन्न हुने अध्यक्ष पुन बताउँछन् । ट्याङ्कीसँगै वडा कार्यालय, विद्यालयलगायत स्थानमा सार्वजनिक धारा र केही घरमा निजी धारा निर्माणको काम पनि बाँकी रहेको पुन बताउँछन् । वर्षौंदेखिको आयोजना पूरा नहुँदा अहिले पनि नागरिक पानी बोकेर उपभोग गर्नुपरेको स्थानीय किशोर काउचा घर्तीले बताउनुभयो । अहिले बस्तीभन्दा झण्डै एक किलोमिटर तल रहेको रिजर्भ ट्याङ्कीबाट ओखरबोटमा रहेको २० हजार लिटरको ट्याङ्कीमा झारेर अस्थायी रूपमा पानी वितरण गरिएको छ । बिहान दुई घण्टा र साँझ दुई घण्टा पानी तानेर वितरण भइरहेको उहाँको भनाइ छ । खानेपानी पर्याप्त नहुँदा सरसफाइ गर्न, बस्तुभाउलाई खुवाउन र सागसब्जीखेती गर्न समस्या भएको घर्ती बताउँछन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी सागर अधिकारीले अहिले अस्थायी रूपमा यहाँका स्थानीयलाई पानी खुवाउने व्यवस्था मिलाएको बताए । आगामी वर्ष अर्को ट्याङ्की निर्माण गरेपछि हरेक घरमा पानी पुर्‍याउने उनको भनाइ छ । अपर्याप्त बजेटका कारण धेरै योजना सम्पन्न गर्न नसकिएको अधिकारीले सुनाए । रासस

११ महिनामा १७ हजारभन्दा बढी ईभी आयात, सरकारलाई २२ अर्बभन्दा बढी राजस्व

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा १७ हजार  ३०५ युनिट चार-पांग्रे विद्युतीय सवारीसाधन (ईभी) आयात भएका छन्।  भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, यी गाडीहरूबाट करिब ४२ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सरकारले सो आयातबाट २२ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। आयात गरिएका गाडीहरूमा ५० किलोवाट क्षमतासम्मका ४,७३७ युनिट, ५१-१०० किलोवाट क्षमताका ७,३५८ युनिट, १०१-२०० किलोवाट क्षमताका १,३५४ युनिट, २०१ किलोवाटभन्दा माथिका ४३ युनिट रहेका छन्।  यस अवधिमा कमर्सियल प्रयोजनका लागि ३,८१३ युनिट ईभी पनि आयात गरिएका छन्।

नेपालकै पहिलो ओभरपास उद्घाटन, प्रधानमन्त्री ओलीद्वारा विकासको गति दोब्बर बनाउने घोषणा

काठमाडौं। काठमाडौं उपत्यकाको व्यस्त चक्रपथ अन्तर्गत ललितपुरको ग्वार्को चोकमा निर्माण भएको नेपालकै पहिलो ओभरपास शुक्रबार उद्घाटन गरिएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीसँग संयुक्त रूपमा ओभरपासको उद्घाटन गरे। सवारी चाप व्यवस्थापन गर्न चक्रपथ विस्तार परियोजना अन्तर्गत निर्माण गरिएको यो ओभरपास कोटेश्वर-कलङ्की सडक खण्डमा जाम हुने तीन मुख्य स्थानमध्ये ग्वार्को चोकमा निर्माण गरिएको पहिलो संरचना हो। जसको लम्बाइ ४ सय ५५ मिटर रहेको छ भने उचाइ (ग्राउन्ड क्लियरेन्स) ६ मिटर, र्‍याम्प लम्बाइ दायाँतर्फ १८० मिटर, बायाँतर्फ ११० मिटर, स्पान ३५ मिटर, लेन ४ लेन तथा कुल अप्रोच सडक लम्बाइ ५०० मिटर रहेको छ भने, यसको निर्माण लागत १७ करोड ६ लाख ८८ हजार रुपैयाँ रहेको छ ।  निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेर जेभीले २०७८ सालमा सुरु गरिएको ओभरपासको निर्माण पटक–पटक म्याद थप गर्दा पनि तोकिएको समयमा पूरा हुन सकेन। अन्ततः २०८१ पुस १० गतेदेखि निर्माण कम्पनीलाई दैनिक जरिवाना तिराएर काम सम्पन्न गराइएको हो। उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले ओभरपास निर्माणले ग्वार्को चोकको ट्राफिक जामको दीर्घकालीन समाधान गर्ने विश्वास व्यक्त गरे। उनले देशका विभिन्न क्षेत्रमा भइरहेका पूर्वाधार परियोजनाहरूको प्रगति उल्लेख गर्दै नेपालको विकासले गति लिएको दाबी गरे। ‘दैलेखमा मिथेन ग्यास भेटिएको छ, फलामको उत्खनन सुरु हुँदैछ, कृषिमा आधुनिकीकरण र नयाँ उद्योग स्थापनाको तयारी भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘देशको आर्थिक आत्मनिर्भरताको दिशामा महत्वपूर्ण कदमहरू चालिएका छन्।’ साथै, उनले निराश नहुने र सम्भावनाका आधारमा अघि बढ्ने मनोबल राख्न सबैमा आग्रह गरे। हुलाकी राजमार्ग, सुनकोसी मरिन डाइभर्सन, मदन भण्डारी राजमार्गलगायतका परियोजनाले देशको भौगोलिक र आर्थिक संरचनामा रूपान्तरण ल्याउने प्रधानमन्त्रीको भनाइ थियो। ओभरपास उद्घाटनसँगै सवारीसाधनको नियमित सञ्चालन सुरु गरिएको छ।  उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले ओभरपास सञ्चालनले उपत्यकाको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सहजता आउने विश्वास व्यक्त गरे। 

मनसुनमा सडक अवरुद्ध हुन नदिने, खतरा रहेका सडकमा उपकरणसहित जनशक्ति खटाइयो

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मनसुन सक्रिय हुँदै गएकाले देशभरको यातायात व्यवस्थालाई सुरक्षित बनाउन सम्बद्ध निकायलाई आवश्यक निर्देशन दिएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित बैठकमा मन्त्री दाहालले मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा। विजय जैशीलगायत अधिकारीहरूलाई जोखिमयुक्त क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन निर्देशन दिएका हुन्। ‘सकेसम्म यातायात अवरुद्ध हुन नदिने व्यवस्था मिलाउनुस्,’ मन्त्री दाहालले भने, ‘जोखिम भएका स्थानहरूमा उपकरण, जनशक्ति र साधन तयारी अवस्थामा राख्नुपर्छ।’ उनले प्रहरी, प्रशासन तथा सुरक्षाका अन्य निकायहरूसँग प्रभावकारी समन्वय गरी सडक तथा यातायात सेवा नियमित, चुस्त र सुरक्षित बनाउन पनि निर्देशन दिए। मन्त्री दाहालका अनुसार अत्यधिक जोखिम भएका स्थानहरूमा ट्राफिक प्रहरीसँग सहकार्य गरी सुरक्षित रूपमा सवारी सञ्चालन गरिनुपर्नेछ। साथै, सम्भावित जोखिमबारे सर्वसाधारणमा पूर्वजानकारी दिने व्यवस्था गर्न पनि उनले निर्देशन दिए। जोखिम क्षेत्रमा उपकरण र जनशक्ति परिचालन मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार पहिरो, बाढी तथा पानी जम्ने सम्भावित स्थानहरूको पहिचान गरी ती क्षेत्रमा सडक विभागमार्फत आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरिएको छ। ‘हामीले सुरक्षासम्बन्धी निकायहरूसँग समन्वय गरेर सवारी सञ्चालनको समयसमेत व्यवस्थापन गर्ने प्रयास गरेका छौं,’ सचिव शर्माले जानकारी दिए। सडक विभागका महानिर्देशक डा. विजय जैशीले बिपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वीराजपथ तथा निर्माणाधीन दाउन्ने खण्डजस्ता संवेदनशील क्षेत्रमा विशेष सतर्कता अपनाइएको बताए। उनका अनुसार काठमाडौं उपत्यकाभित्रका पानी जम्ने स्थानहरूको सरसफाइ गरिएको छ भने राजमार्ग र कोरिडोरहरूमा आवश्यक औजार र उपकरण तयारी अवस्थामा राखिएको छ। ‘ जैशीले भने, प्रशासन, ट्राफिक प्रहरी तथा अन्य सुरक्षा निकायहरूसँग नियमित समन्वय भइरहेको छ ।  यातायात सुरक्षाका लागि सबै निकायको सहयोग अपरिहार्य छ।’   

यी हुन् ११ महिनामा सबैभन्दा बढी निर्यात भएका १० वस्तु, करिब आधा हिस्सा भटमासको तेलको

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ महिनाको अवधिमा सो रकम बराबरको वस्तु निर्यात भएको हो ।  यो अवधिमा ४४ करोड २६ लाख ५१ हजार बढी केजीको ९३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको सोयविन तेल  निर्यात भएको छ । जुन नेपालबाट सबैभन्दा बढी निर्यात भएको वस्तु हो । यो अवधिमा ५ करोड १० लाख लिटर बढीको ११ अर्ब ३३ करोड रकमको सनफ्लावर तेल निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालबाट बढी निर्यात हुने वस्तुको तेस्रो नम्बरमा कार्पेट रहेको छ । यो ११ महिनाको अवधिमा नेपालबाट ४ लाख २७ हजार स्क्वायर मिटरको ९ अर्ब ७८ करोड १० लाख रुपैयाँ बराबरको कार्पेट निर्यात भएको हो ।  यस्तै, बढी निर्यात हुने वस्तुको चौथो नम्बरमा अलैंची रहेको छ । यो अवधिमा  ३९ लाख  ९५ हजार बढी केजीको ७ अर्ब १९ करोड रकम बराबरको अलैंची निर्यात भएको हो ।  चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ४ करोड ५३ लाख केजी बढीको ५ अर्ब १३ करोड मूल्य बराबरको रकमको रोल्ड आइरन तथा स्टील निर्यात भएको छ भने १० करोड ६७ लाख बढी स्क्वायर मिटरकोे ५ अर्ब १० करोड ३२ लाख रुपैयाँको उन निर्यात भएको छ ।  यस्तै, यो अवधिमा बढी निर्यात हुने १० वस्तुभित्र जुस पनि रहेको छ । यो अवधिमा कुल ५ करोड ४५ लाख बढी लिटरको ४ अर्ब ९४ करोड ३३ लाख रकमको मिक्स जुस निर्यात भएको छ ।  ११ महिनासम्ममा १ करोड ८८ लाख बढी केजीको ५ अर्ब ७० करोड रुपैयाँबराबरको धागो निर्यात भएको छ भने ११ लाख ५३ हजार केजी बराबरको ४ अर्ब २९ करोड रुपैयाँको पातलो कार्पेट निर्यात भएको भन्सार विभागले जनाएको छ ।

घुस आरोपमा निलम्बित नागार्जुन नगरपालिकाका मेयर दोषी ठहर

काठमाडौं । नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत घुस प्रकरणमा दोषी ठहर भएका छन । व्यवसायी राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लागेका बस्नेतलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।  शुक्रबार मुख्य न्यायाधीश टेक बहादुर कुँवर र न्यायाधीश रामबहादुर थापाको संयुक्त इजलासले घुस आरोपमा उनलाई दोषी ठहर गरेको हो । निलम्बित प्रमुख बस्नेतलाई सो घुस बाहेक १३ करोड १२ लाख रुपैयाँ बराबरको सम्पति शुद्धीकरणमा समेत दोषी ठहर गरेको छ । उक्त मुद्दामा बस्नेतकी श्रीमती उर्मिला बस्नेतलाई भने सफाइ दिइएको छ ।  विशेष अदालतबाट अभियोग प्रमाणित भएपनि बस्नेतको कैद सजाय बारे असार १६ को इजलासबाट तय हुने जानकारी दिइएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष पुस १४ गते ९ करोड २२ लाख घुस लिएको दाबी गर्दै उनीविरुद्ध मुद्दा दायर गरेको थियो । 

सिन्धुपाल्चोकमा कृषकलाई लक्षित गरी निर्जीवन बीमा सचेतना कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, चौतारा शाखाको आयोजनामा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका- ४, कुविण्डेमा निर्जीवन बीमासम्बन्धी सचेतनामूलक छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । २०८२ साल असार ५ गते आयोजित उक्त कार्यक्रममा कुविण्डे दुग्ध संकलन केन्द्रमा आबद्ध करिब २० जना कृषकले सहभागिता जनाएका थिए ।  उनीहरूलाई बीमाको महत्त्व, प्रयोग, लाभ तथा स्थानीयस्तरमा उपलब्ध निर्जीवन बीमालेखहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । कृषक तथा ग्रामीण समुदायमा बीमाप्रति जागरुकता अभिवृद्धि गर्दै जोखिम व्यवस्थापनलाई सहज बनाउन कार्यक्रमको उद्देश्य राखिएको शाखा प्रमुखले बताए । कुविण्डे दुग्ध कृषि सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटाले कृषकको जीवनस्तर उकास्न बीमाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै बीमा कम्पनीहरूले पहुँच विस्तारसँगै दाबी प्रक्रिया सरल बनाउन अझ सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आगामी दिनमा पनि विभिन्न स्थानीय तहमा यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।