सिन्धुपाल्चोकमा कृषकलाई लक्षित गरी निर्जीवन बीमा सचेतना कार्यक्रम सम्पन्न
सिन्धुपाल्चोक । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, चौतारा शाखाको आयोजनामा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका- ४, कुविण्डेमा निर्जीवन बीमासम्बन्धी सचेतनामूलक छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । २०८२ साल असार ५ गते आयोजित उक्त कार्यक्रममा कुविण्डे दुग्ध संकलन केन्द्रमा आबद्ध करिब २० जना कृषकले सहभागिता जनाएका थिए । उनीहरूलाई बीमाको महत्त्व, प्रयोग, लाभ तथा स्थानीयस्तरमा उपलब्ध निर्जीवन बीमालेखहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । कृषक तथा ग्रामीण समुदायमा बीमाप्रति जागरुकता अभिवृद्धि गर्दै जोखिम व्यवस्थापनलाई सहज बनाउन कार्यक्रमको उद्देश्य राखिएको शाखा प्रमुखले बताए । कुविण्डे दुग्ध कृषि सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटाले कृषकको जीवनस्तर उकास्न बीमाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै बीमा कम्पनीहरूले पहुँच विस्तारसँगै दाबी प्रक्रिया सरल बनाउन अझ सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आगामी दिनमा पनि विभिन्न स्थानीय तहमा यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सीप मेला २०८२’ मा संस्थागत साझेदार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौं महानगर सीप मेला’ २०८२ मा संस्थागत साझेदारी गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा सहभागिता जनाएको हो । महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘सीप मेला २०८२’ को मुख्य उद्देश्य सीप नभएकाहरूलाई सीप सिकाउने र आधारभूत सीप भएकाहरूलाई थप दक्ष बनाउने हो । मेलामा रोजगारी र आय वृद्धिको माध्यमबाट काठमाडौंको समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । मेला अन्तर्गत १० विधामा ३७ पेशासँग सम्बन्धित तालिमहरू पूर्ण रूपमा निःशुल्क प्रदान गरिँदैछ । काठमाडौं महानगरपालिकाको यस अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए । सीप मेला केवल एउटा कार्यक्रम होइन, सामाजिक परिवर्तनको अभियान हो । जहाँ युवाहरूको आत्मनिर्भरता र देशको समृद्धिको सम्भावना समेटिएको छ । सीप मेलामा नेपालभरिका युवाहरू सहभागी छन् । सीप मेला विशेष गरी काठमाडौं महानगर क्षेत्रमा बसोबास गरिरहेका स्थायी वा अस्थायी बासिन्दा, करदाताहरू, ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दा, बेरोजगार युवा (महिला–पुरुष), विदेशबाट फर्किएर काम खोज्दै गरेका व्यक्तिहरूलाई लक्षित गरेर सञ्चालन गरिएको हो ।
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक सभा सम्पन्न
काठमाडौं । लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार कम्पनी सञ्चालक समितिका अध्यक्ष निकोलस पाण्डेको अध्यक्षता बसेको सभा कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा सम्पन्न भएको हो । साधारणसभालेअध्यक्ष निकोलस पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्ताव उपर छलफल भई सर्वसम्मतिले पारित गरेको छ । साथै साधारण सभाले आर्थिक वर्ष २०८०–०८१ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ अषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ । सोही साधारण सभाबाट आर्थिक वर्ष २०८१/०८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल भई पारित भएको छ ।
ललितपुर महानगरको नीति तथा कार्यक्रममा के-के विषय समेटिए ?
काठमाडौं । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पेश गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सातौं नगरसभामा आगामी आव २०८२/२०८३ को नीति तथा कार्यक्रम पेश गरेका हुन्। महानगरपालिकाले नीति तथा कार्यक्रममा महानगरभित्रका सडकलाई रणनीतिक, सांस्कृतिक सडक निर्माण गर्ने भएको छ । नीति तथा कार्यक्रममार्फत महानगर प्रमुख महर्जनले पाटन दरबार क्षेत्र, बुङमती, खोकना, सुनाकोठी, धापाखेल हरिसिद्धिलाई समेटेर रणनीतिक सांस्कृतिक सडक निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए । यो अवधारणाले यी वडालाई सांस्कृतिक वडा बनाउन सहयोग पुग्ने नगर प्रमुख महर्जनले बताए । त्यसैगरी, दीर्घकालीन महत्व बोकेका सडकहरू पहिचान गरी ती सडकलाई रणनीतिक सडकहरूको रूपमा वर्गीकरण गरिने पेश गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । महानगर प्रमुख महर्जन नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर र वडाले गर्ने सडकको समेत वर्गीकरण गर्ने बताए । कलेज अफ आर्ट स्थापना गर्ने महानगरले हस्तकलाको संरक्षण र सम्वर्द्धनका लागि कलेज स्थापना गर्ने भएको छ । महानगरका प्रमुख महर्जनले भने, ‘सरोकारवाला र सम्बन्धित निकायसँग छलफल गरेर हस्तकलासम्बन्धी औपचारिक शिक्षाका लागि कलेज स्थापना गर्नेछौं ।’ लोप हुन लागेका सीप र कला संरक्षण सम्वर्द्धनका लागि सीप हस्तान्तरण र पुस्तान्तरण सम्बन्धी कार्यलाई पनि प्राथमिकतामा राखेर काम गर्ने महर्जनले बताए। ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रूपमा अघि बढाउने ललितपुर महानगरले परम्परागत पानीका मुहान संरक्षण गर्न ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रुपमा अघि बढाउने भएको छ । नीति तथा कार्यक्रममा ढुंगेधारा , कुवा, इनार र पोखरीजस्ता स्रोतलाई संरक्षण गर्न विशेष ध्यान दिने उल्लेख छ । त्यसैगरी निजी जग्गामा रहेका पानीका मुहानहरू संरक्षणका गर्न महनगरले अधिग्रहण गरेर मुहान संरक्षण गर्ने भएको छ । खानेपानीको मुहानको संरक्षण, विकास गर्न अन्तरपालिका तथा सरोकारवाला निकायबीच समन्वय गर्ने समेत नीतिमा उल्लेख छ । यसैगरी, खोकना, बुङमती धापाखेल, सुनाकोठीमा खानेपानी व्यवस्थापनका लागि पानीट्याङ्की निर्माणको काम थलिने भएको छ । परम्परा राजकुलो, जलमार्गलाई पुनर्जीवित गर्न र परम्परागत पानीको मुहानको पानी स्रोत विस्तार गर्न आवश्यक कार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । बसपार्क तथा बसस्टपलाई व्यवस्थित बनाइने महानगरले महानगरभित्र रहेका बसपार्क तथा बसस्टपहरू सरोकारवालाहरु निकायसँग समन्वय गरी व्यवस्थित बनाइने भएको छ । त्यस्तै, साविक उपमहानगरपालिका अवस्थाको तयार भएको महागरस्तरीय यातायात गुरुयोजना लाई महागनर घोषणापश्चात थप भएका हाल वडा नं १८,२१,२२, २३,२४,२५, २६,२७,२८ र २९ समेत समेटेर एकीकृत रुपमा मास्टर प्लान तयार गरिने कार्यक्रममा उल्लेख छ । त्यस्तै महानगरभित्र सम्भावना भएका रुटहरूमा साझा बस सञ्चालनको लागि साझा यातायातसँग समन्वय गरिने भएको छ । एक विद्यालय एक सम्पदा संरक्षण कार्यक्रम सञ्चालन गरिने सम्पदा संरक्षणमा विद्यालय र विद्यार्थीहरूलाई संलग्न गराउन यो कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी महानगरभित्रका सामुदायिक विद्यालयको नियमित अनुगमन तथा निरीक्षण कार्यलाई प्रभावकारी बनाउन प्रविधिमा आधारित अनुगमन प्रणालीको विकास गर्ने समेत नीति तथा कार्यक्रम उल्लेख छ । महानगरभित्र सामुदायिक विद्यालयमा संचालित हरित विद्यालय वा विद्यालय बगैंचा कार्यक्रमलाई निरन्तरता दिइनेछ । यो कार्यक्रमलाई प्रतिस्पर्धी बनाउँदै उत्कृष्ट बगैंचा बनाउने ३ वटा विद्यालयलाई महानगर स्थापना दिवसको दिन आयोजित कार्यक्रममा नगद सहित पुरस्कृत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरले आगामी शैक्षिक सत्रदेखि कक्षा पाँच सम्मको स्थानीय पाठ्यक्रममा नेपाल भाषालाई समावेश गर्ने भएको छ । महानगरभित्र संस्थागत र सामुदायिक विद्यालयमा संस्कृत भाषा, परियत्ति शिक्षा, नैतिक र संस्कारयुक्त शिक्षा पठनपाठनलाई महत्व दिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी, कला, संस्कृति र सम्पदाको संरक्षणमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसबाहेक नीति तथा कार्यक्रमममा स्वास्थ्यतर्फ विभिन्न कार्यक्रमहरू समेटिएका छन् । महानगरपालिकाले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरु, अपंगता भएका व्यक्तिहरूको लागि सञ्चालनमा रहेको स्वास्थ्य उपचारसम्बन्धी ‘जेष्ठ नागरिक महानगर’ कार्यक्रममा नि:शुल्क थेरापी सेवा विस्तार गरी निरन्तरता दिने भएको छ। नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रथम सेवा बिन्दुको रूपमा रहने गरी स्वास्थ्य सेवा केन्द्रको विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, महानगरभित्रका कार्यरत स्वास्थ्यकर्मीहरूलाई आवश्यकताका आधारमा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको छ । महानगरभित्र स्थायी रूपमा बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई निमोनिया रोग विरुद्धको खोप दिने व्यवस्थालाई पनि निरन्तरता दिने भएकाे छ । यसैगरी नगरभित्रका नागरिकलाई गुणस्तरीय र पहुँच योग्य स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य नीति लागू गर्ने नीतिमा उल्लेख छ । फागुन महिनामा नसर्ने रोग परीक्षण महिना ललितपुर महानगरले फागुन महिनालाई नसर्ने रोग परीक्षण महिनाको रुपमा व्याख्या गर्दै अभियान संचालन गर्ने भएको छ । नीति तथा कार्यक्रममा मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, क्यान्सर, मोटोपन जस्ता नसर्ने रोग न्यूनीकरणका लागि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नाराका साथ यो अभियान संचालन गर्ने नीतिमा उल्लेख छ । महानगरले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई फिजियोथेरापी सेवा प्रदान गर्न आवश्यक व्यवस्थापन गरिने उल्लेख गरेको छ । सरकारी कार्यालयहरू, सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बैंक, व्यापारिक मलहरू, निजी र सामुदायिक विद्यालयहरुको साथै सबै वडा कार्यालयहरूको भौतिक संरचना अनुगमन गरी अपाङ्गतामैत्री बनाउन सुझावसहितको प्रतिवेदन तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, सरोकारवाला निकाय, अभिभावक तथा महिला स्वास्थ्य स्वयमसेविका लगायतको समन्वय र सहकार्यमा बौद्धिक अपाङ्गता तथा अटिज्म भएका व्यक्तिहरूको यर्थाथपरक विवरण संकलन गरिने भएको छ । अटिज्मको क्षेत्रमा रोवा सुविधा सहजरूपमा उपलब्ध गराउन कार्यविधि निर्माण गरिने उल्लेख छ । महानगरले अटिज्म तथा अपाङ्गता भएका व्यक्तिहरूलाई महानगरपालिकाले सञ्चालन गर्ने जेष्ठ नागरिकसँग महानगर सम्बन्धी स्वास्थ्य सेवा कार्यक्रममा आवद्ध गराइने भएको छ । अटिज्म भएका व्यक्तिहरूलाई निःशुल्क थेरापी सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ ।
वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर सूचना सम्प्रेषण गर्नु जरुरी छ : डेपुटी सीइओ पाण्डे
काठमाडौंं । नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) भूपेन्द्र पाण्डेले वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर मात्रै सूचना सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् । नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको शुक्रवार उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । वित्तीय क्षेत्रको संवेदनशीलतालाई नबुझी सूचना सम्प्रेषण गर्न नहुने उनको भनाइ छ । ‘अहिले बैङ्किङ क्षेत्रलाई लिएर धेरै नकारात्मक सूचनाहरू आइरहेका हुन्छन् । त्यसलाई नबुझेर पनि धेरै गलत सूचना सम्प्रेषित भइदिँदा त्यसको असर समग्र क्षेत्रमा पर्न गइरहेको छ । तसर्थ, राम्रोसँग बुझेर सकारात्मक सूचना सम्प्रेषण गर्नुपर्नेछ’ उनले भने । उनले आर्थिक समृद्धिमा संवाहकको भूमिका खेलिरहेको पत्रकारहरूले बैंक जस्तो क्षेत्रको संवेदनशीलता बुझेर सकारात्मक सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए । आर्थिक पत्रकारमार्फत नै वित्तीय साक्षरताले सार्थकता पाउने उनले बताए । ‘वित्तीय साक्षरताका लागि जति कार्यक्रम ल्याए पनि पुगेको छैन । बैङ्कबाट ऋण लिएर तिर्नु पर्दैन भन्छन्,’ उनले भने, ‘यो अवस्थामा वित्तीय साक्षरता अघि बढाउन आवश्यक छ । त्यसमा आर्थिक पत्रकारको भूमिका पनि महत्त्वपूर्ण छ ।’ मुलुकको आर्थिक अवस्था सुधार गर्न सही ढङ्गले समाचार प्रकाशन गर्नुपर्ने उनले बताए । ‘अहिले मुलुकको आर्थिक स्थिति त्यति राम्रो छैन । यस्तो बेलामा सकारात्मक ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्छ । सञ्चार माध्यमले प्रवाह गर्ने सूचनाले बजारमा गहिरो प्रभाव पार्छ । तसर्थ, आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने गरि सूचना प्रवाह गर्नुपर्छ,’ उनले बताए ।
वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ : डेपुटी गभर्नर मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले आर्थिक तथा वित्तीय क्षेत्रको विकासमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको शुक्रवार उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै, उनले सही सूचनाको आजको आवश्यकता भएको पनि बताए । आर्थिक तथा वित्तीय क्षेत्र संवेदनशील भएकाले सही सूचनाका आधारमा समाचार लेख्नुपर्ने पनि उनले बताए । ‘समाजमा गलत सूचना सम्प्रेषण नगरी सही सूचना सम्प्रेषण गर्नु पनि अहिलेको चुनौती हो,’ डेपुटी गभर्नर मिश्रले भने । उनले सत्य तथ्य सूचनामा आधारित भएर समाचार लेख्नुपर्नेमा सुझाव दिए । उनले बैंकिङ क्षेत्र संवेदशील क्षेत्र भएकाले गलत सूचनाको असर छिटो देखिने भन्दै पत्रकारहरूलाई सही सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरे । अर्थतन्त्रमा वित्तीय क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको अवस्थामा यो क्षेत्रलाई असर पार्ने सूचनाले समग्र अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव पार्ने डेपुटी गभर्नर मिश्रले बताए । अहिले आर्थिक पत्रकारितामा फरकपन देखिन थालेको उनले बताए । ‘यस्ता तालिम कार्यक्रमले आर्थिक पत्रकारहरूको क्षमता बढाउने सहयोग पुगेको छ । त्यसले आर्थिक पत्रकारितामा फरकपन आउन थालेको छ,’ उनले भने, ‘यद्यपि, आर्थिक पत्रकारहरूलाई नियमित रूपमा क्षमता अभिवृद्धि गर्न आवश्यक छ । नयाँ-नयाँ तथ्याङ्क आइरहेका हुन्छन् । प्रविधि पनि नयाँ नयाँ आइरहेका छन् । त्यसका लागि पत्रकारहरूको नियमित रूपमा क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।’ अझै पनि कतिपय विषयवस्तु समाचारमा नआउने गरेको उनले बताए । ‘राष्ट्र बैंकले ९० अर्ब रुपियाँ निक्षेप तान्ने भनेर समाचार लेखिन्छ । बिडका क्रममा राष्ट्र बैंकले ७० अर्ब रुपियाँ मात्रै निक्षेप तान्छ । तर, त्यसको अपडेट समाचार भने आउँदैनन्,’ उनले भने, ‘यो उदाहरण मात्रै हो । राष्ट्र बैंकले ल्याउने अन्य विषयका तथ्याङ्कहरूको पनि समाचार देखिन्न । यस्ता किसिमका तालिम कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्नुपर्ने बताउँदै उनले यसमा राष्ट्र बैंक पनि सहकार्य गर्न तयार रहेको बताए ।
६० किलो सुन प्रकरणमा फरार अमला रोका पक्राउ
काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा संलग्न फरार प्रतिवादी अमला रोका पक्राउ परेकी छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । रोल्पाको थवाङ गाउँपालिका- २ की रोका टोखा नगरपालिका( ३ मा बस्दै आएकी थिइन् । आवश्यक कानुनी कारवाहीको लागि उनलाई काठमाडौं जिल्ला अदालत लगिने सीआईबीले जनाएको छ । रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत हुन् । उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती समेत हुन् । गत वर्ष साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थ्ति भन्सार कार्यालय परिसरबाट ६० किलो सुन बरामद गरेको थियो । सुन भन्सार पास भएर निस्किएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम शुद्ध सुन भएको थियो । अहिले उक्त सुन राष्ट्र बैंकको संरक्षणमा रहेको छ ।
नेपाल एसबिआई बैंकले गर्यो चौदण्डीगढी नगरपालिकालाई सीसीटीभी सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिवृद्धि गर्ने उद्देश्यले सीसीटीभी हस्तान्तरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरेले नगरपालिकाका उपमेयर मनिकादेवी दुलाललाई एक कार्यक्रमका बीच उक्त सामग्रीहरू हस्तान्तरण गरे । कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य कर्मचारीको पनि उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।