विकासन्युज

नेपाल एसबिआई बैंकले गर्यो चौदण्डीगढी नगरपालिकालाई सीसीटीभी सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिवृद्धि गर्ने उद्देश्यले सीसीटीभी हस्तान्तरण गरेको छ ।  बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरेले नगरपालिकाका उपमेयर मनिकादेवी दुलाललाई एक कार्यक्रमका बीच उक्त सामग्रीहरू हस्तान्तरण गरे ।  कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य कर्मचारीको पनि उपस्थिति रहेको थियो ।  बैंकले समुदाय स्तरमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।  

प्रधानमन्त्री ओलीले गरे ग्वार्को फ्लाइओभरको उद्घाटन

काठमाडौं । काठमाडौं उपत्यकाको व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘फ्लाई ओभरको उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एक समारोहबीच फ्लाई ओभरको उद्घाटन गरेका हुन् । चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ग्वार्को चोकमा ओभरपास निर्माण गरेको हो ।  चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलङ्कीसम्म जाम हुने तीन क्षेत्रमध्ये ग्वार्को चोकमा पहिलो ओभरपास निर्माण भएको हो ।  ६ मिटर उचाइ र ४ सय ५५ मिटरको लम्बाइ हुने ओभरपासमा ग्राउन्ड क्लियरेन्स ६ मिटर तथा सवारी साधन चढ्नका लागि १ सय ८० मिटर दायाँतर्फ र १ सय १० मिटर बायाँतर्फ र्‍याम्प निर्माण भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब जामको समस्या कम हुने अपेक्षा लिएको बताए । उनले देशले विकासमा फड्को मारिरहेको पनि बताए ।  कार्यक्रममा निर्माण कम्पनी समानान्तर ग्रुपलाई सम्मान पनि गरिएको छ ।

ललितपुर महानगरको पुँजीगत खर्च ४१ प्रतिशत

ललितपुर । ललितपुर महानगरपालिकाले चालु आर्थिक २०८१/८२ को जेठ मसान्तसम्ममा ४१ प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । जेठ मसान्तसम्म पुँजीगततर्फ १ अर्ब ९५ करोड बजेटमात्रै खर्च गर्न सफल भएको हो । महानगरको वार्षिक पुँजीगत बजेट चार अर्ब ६७ करोड ९४ लाख २३ हजार रुपैयाँ रहेकोमा कुल बजेटको ४१ प्रतिशत मात्रै खर्च भएको हो ।  महानगरले चालुतर्फ २ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ । जुन कुल बजेटको ७२ प्रतिशत हो । महानगरको चालुतर्फ छुट्याएको बजेट २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ थियो । त्यस्तै, जेठ मसान्तसम्ममा महानगरको कुल बजेटको ६० प्रतिशत मात्रै खर्च गरेको छ । महानगरको वार्षिक बजेट ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ रहेकोमा जेठ मसान्तसम्ममा ४ अर्ब ५० करोड रुपैयाँ मात्रै खर्च भएको छ । आन्तरिक आयतर्फ ललितपुर महानगरका ३ अर्ब ५५ करोड ९६ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म ५८.७ अर्थात् २ अर्ब ९ करोड संकलन गरेको छ । 

वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढ्दै, आयात साढे १६ अर्ब पुग्दा निर्यात ७७.७७ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२को ११ महिनासम्ममा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ महिनामा सो मुल्य बराबरको वस्तु आयात भएको हो ।  जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।  भन्सार विभागका अनुसार यो अवधिसम्म कुल २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा निर्यात ७७.७७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो ।  विभागका अनुसार यो अवधिसम्म कुल १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ व्यापार घाटा छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.३० प्रतिशत बढी हो । गत आवको ११ महिनासम्म कुल १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँको व्यापार घाटा रहेको थियो ।  गत आवको सोही अवधिमा आयात निर्यात अनुपात १०.४४ प्रतिशत रहेकोमा अहिले ६.६४ प्रतिशत छ । यस्तो अनुपात ३६.३५ प्रतिशतले घटेको हो ।  कुल व्यापारमा निर्यात अनुपात १३.०८ प्रतिशत रहेको छ भने आयात अनुपात ८६.९२ प्रतिशत कायम भएको छ ।  भन्सार विभागका अनुसार यो अवधिमा सबैभन्दा बढी डिजेल, भटमासको कच्चा तेल, पेट्रोल, खाना पकाउने ग्यास आयात भएको छ । ११ महिनामा डिजेल मात्रै १ खर्ब १५ अर्ब ५५ करोड १ लाख रुपैयाँको आयात भएको छ । कच्चा भटमासको तेल ९५ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ, पेट्रोलको ५८ अर्ब ५८ करोड ९० लाख, खाना पकाउने ग्यास ५७ अर्ब ३६ करोड ७७ लाख रुपैयाँको आयात भएको छ ।  

नेपालको वित्तीय क्षेत्रमा साइबर सुरक्षा रोडम्याप : राष्ट्र बैंकको नयाँ पहल

काठमाडौं । नेपालको डिजिटल अर्थतन्त्रलाई साइबर खतराबाट जोगाउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि पहिलोपटक व्यापक साइबर सुरक्षा रोडम्याप सार्वजनिक गरेको छ ।  फेडेरेसन अफ कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) र वन कभर प्रालिका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीको परिकल्पनामा तयार पारिएको यो रणनीति नवनियुक्त गभर्नर विश्वनाथ पौडेललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । रोडम्याप अनुसार अब सबै बैंक तथा वित्तीय संस्थाहरूमा प्रमुख सूचना सुरक्षा अधिकारी (सीआईएसओ) नियुक्ति अनिवार्य हुनेछ ।  साइबर जोखिम व्यवस्थापनका लागि बोर्डस्तरीय समिति र फाइनान्सियल सेक्टर कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (फिनसर्ट–नेपाल) नामक विशेष आपतकालीन टोली गठन गरिनेछ, जसले  इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) र नेपाल प्रहरीको साइबर ब्युरोसँग सहकार्य गर्दै साइबर आक्रमणको तत्काल प्रतिक्रिया र व्यवस्थापन गर्नेछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई) नेपालले अनुसन्धान, तालिम र सिमुलेसन अभ्यासमार्फत साइबर अपराध न्यूनीकरणमा सहयोग गर्नेछन्। डिजिटल कारोबारका सबै प्लेटफर्ममा बलियो प्रमाणीकरण, इन्क्रिप्शन, नियमित जोखिम परीक्षण र सेक्युरिटी अपरेसन सेन्टर (एसओसी) स्थापना जस्ता प्रावधानलाई कडाइका साथ लागू गरिनेछ । नेपाल राष्ट्र बैंकले साइबर सुरक्षा छात्रवृत्ति कोष स्थापना, वार्षिक तालिम, सार्वजनिक सचेतना र आवधिक अडिटमार्फत दीर्घकालीन साइबर प्रतिरोधात्मक क्षमता विकासमा ध्यान दिने जनाएको छ । विशेषज्ञहरूको सामूहिक प्रयासबाट तयार भएको यो रोडम्यापले सुरक्षित र लचिलो वित्तीय प्रणाली निर्माण गर्दै नेपालको डिजिटल अर्थतन्त्रलाई थप विश्वसनीय बनाउने अपेक्षा गरिएको छ । 

ललितपुर महानगरले ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रूपमा अघि बढाउने

ललितपुर । ललितपुर महानगरले परम्परागत पानीका मुहान संरक्षण गर्न ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रुपमा अघि बढाउने भएको छ । ललितपुर महानगरको सातौं नगरसभामा आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले  ढुंगेधारा , कुवा, इनार र पोखरीजस्ता स्रोतलाई संरक्षण गर्न विशेष ध्यान दिने बताए । त्यसैगरी निजी जग्गामा रहेका पानीका मुहानहरु संरक्षणका गर्न महानगरले अधिग्रहण गरेर मुहान संरक्षण उनले बताए । खानेपानीको मुहानको संरक्षण, विकास गर्न अन्तरपालिका तथा सरोकारवाला निकायबीच समन्वय गर्ने समेत नीतिमा उल्लेख छ । यसैगरी, खोकना, बुङमती धापाखेल, सुनाकोठीमा खानेपानी व्यवस्थापनका लागि पानीट्याङ्की निर्माणको काम थलिने छ । यसैगरी परम्परा राजकुलो , जलमार्गलाई पुनर्जीवित गर्न र परम्परागत  पानीको मुहानको पानी स्रोत विस्तार गर्न आवश्यक कार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

दरबारमार्गमा जे एण्ड कोको नयाँ लक्जरी स्टोर, नेपालमा पहिलो पटक अर्मानी

काठमाडौं । नेपालको लक्जरी खुद्रा बजारमा नयाँ अध्याय सुरु भएको छ । अग्रणी लक्जरी रिटेलर जे एण्ड कोले काठमाडौंको दरबारमार्गमा आफ्नो नयाँ फ्ल्यागशिप स्टोर भव्य समारोहका बीच उद्घाटन गरेको हो ।  यससँगै नेपालमा पहिलो पटक विश्वप्रसिद्ध इटालियन फेसन ब्रान्ड एम्पेरियो अर्मानीको औपचारिक प्रवेश भएको छ भने प्रतिष्ठित स्विस ब्रान्ड बालीलाई नयाँ अवधारणासहित पुनः लन्च गरिएको छ । उद्घाटन कार्यक्रममा ख्यातिप्राप्त उद्योगपति राजेन्द्र खेतान र आइरा झुनझुनवालाको उपस्थिति थियो । दरबारमार्गको मुटुमा अवस्थित यस आधुनिक स्टोरले अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड तथा सेवाहरू नेपाली ग्राहकसमक्ष ल्याउने जे एण्ड कोको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।  सुन्दर इन्टेरियर, सुव्यवस्थित डिस्प्ले र उत्कृष्ट ग्राहक सेवा सुविधासहितको यो बुटिकले उच्चस्तरीय किनमेल अनुभव दिने विश्वास कम्पनीले व्यक्त गरेको छ । जे एण्ड कोका प्रबन्ध निर्देशक पंकज झुनझुनवाला भन्छन्, ‘यो विस्तारसँगै हामी नेपालको फेसन बजारमा नयाँ आयाम थप्दैछौं । एम्पोरियो अरमानी ले इटालियन फेसनको शालीनता र सहरी आकर्षण ल्याउँछ भने बालीले आफ्नो समृद्ध स्विस इतिहासलाई आधुनिक डिजाइनसँग समायोजन गरी फर्किएको छ । यी ब्रान्डहरूलाई एउटै छानामुनि नेपाली ग्राहकसमक्ष ल्याउन पाउँदा हामी गौरवान्वित छौं । नेपालमा पहिलो पटक भित्रिएको एम्पोरियो अरमानीले परिष्कृत डिजाइन, न्यूनतावाद र आधुनिक सहरी फेसनलाई नेपाली युवापुस्ताको लागि सजिलै उपलब्ध गराउनेछ । त्यसैगरी, बाली ले आफ्नो हस्तकला परम्परा र स्विस उत्कृष्टतालाई नयाँ डिजाइन दृष्टिकोणमा पुनः प्रस्तुत गर्दै लक्जरी सौन्दर्यमा नयाँ युगको संकेत दिएको छ । उद्घाटन समारोहमा फेसन, व्यापार र जीवनशैली क्षेत्रका चर्चित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। यसले जे एण्ड को लाई नेपालको लक्जरी खुद्रा बजारमा ट्रेन्डसेटरको रूपमा थप सुदृढ पारेको छ। जे एण्ड को नेपालमा लक्जरी खुद्रा व्यापारको अग्रणी नाम हो । यसले विश्वप्रसिद्ध घडी, फेसन र जीवनशैली ब्रान्डहरू नेपाली बजारमा ल्याउँदै आएको छ।

ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने

ललितपुर । ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने भएको छ । ललितपुर महानगरको सातौं नगरसभामा आर्थिक वर्ष २०८२/२०८३को नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले हस्तकलाको संरक्षण र सम्वर्द्धनका लागि कलेज स्थापना गर्ने बताए । उनले भने, ‘सरोकारवाला र सम्बन्धित निकायसँग छलफल गरेर हस्तकलासम्बन्धी औपचारिक शिक्षाका लागि कलेज स्थापना गर्नेछौं । ’ लोप हुन लागेका सीप र कला संरक्षण  सम्वर्द्धनका लागि सीप हस्तान्तरण र पुस्तान्तरण सम्बन्धी कार्यलाई पनि प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।