विकासन्युज

प्रधानमन्त्रीसँग उपनिर्वाचनबारे निर्वाचन आयोगको परामर्श

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने  विषयमा आज परामर्श गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो । प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ ९२० को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ ।  यसैगरी स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले अवगत गराएको छ । प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारी अनुसार आवश्यक सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाए । उनले संवत् २०८४ को निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि गर्दै गर्न आयोगलाई सुझाव दिए ।  भेटका अवसरमा आयुक्तहरू डा. जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारीलगायत सहभागी थिए ।

विद्युत ट्रिपिङप्रति प्राधिकरणलाई सम्वदेनशील हुन उद्योग संगठन मोरङको आग्रह

काठमाडौं । उद्योग संगठन मोरङले नेपाल विद्युत प्राधिकरणलाई विद्युत ट्रिपिङप्रति संवेदनशील हुन आग्रह गरेको छ । संगठनका अनुसार सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायी हाल दैनिक कयौंपटक भइरहेको ट्रिपिङका कारण प्रताडित भएका छन् ।   वर्षायाम सुरु भएसँगै विद्युत उत्पादन वृद्धि भई निरन्तर आपूर्ति हुने आश्वासन नेपाल विद्युत प्राधिकरणबाट पाएपनि उनीहरू ट्रिपिङका कारण पीडित भएका हुन् । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले दैनिक निरन्तर भइरहने ट्रिपिङले उद्योगको मिल मेशिनेरीमा समस्या आएको, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर गएको, श्रमिकको काम नभई त्यसै राख्नु परेको, जेनेरेटर सञ्चालन गर्नुपर्दा उत्पादन लागत वृद्धि भएको जानकारी दिए । उद्योगी व्यवसायीको गुनासो सम्बन्धित निकायलाई बारम्बार सुनाउँदा समेत समस्या समाधानमा ठोस पहल नभएकोमा उनले चिन्ता व्यक्त गरे ।   नेपालमा उत्पादन हुने विद्युत भारत तथा बंगलादेश निर्यात गरिरहँदा स्वदेशी उद्योग व्यवसाय ट्रिपिङका कारण लामो समयसम्म हुने विद्युत कटौतीको मार खेप्न बाध्य रहेको उनले बताए । उनले सुख्खायामा विद्युतको अभाव र वर्षायाममा ट्रिपिङको मारले गर्दा उद्योगले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परिरहेको भन्दै विद्युत आपूर्तिमा देखिने समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न विद्युत प्राधिकरणलाई संवेदनशील हुन आग्रह गरे ।     

इनड्राइभ नेपालको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु

काठमाडौं । इनड्राइभले नेपालमा ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेनको सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि यस पटक अभियानलाई अझ बढी परिष्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे सुरुवात गरेको हो ।  इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरूपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो । ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेका छन् । जुन १६ देखि जून २२, २०२५ सम्म, चालकहरूले प्लाटिनम स्ट्याटस प्राप्त गर्न र गिभअवे क्याम्पेनमा प्रवेश गर्नका लागि योग्य हुन ३५ ओटा राइड पूरा गर्नुपर्नेछ । जुन २३, २०२५ देखि  इनड्राइभ चालकहरूले विक्ली च्यालेन्जेजको सिरिजमा भाग लिने मौका पाउनेछन्, प्रत्येक हप्ताको उनीहरूले विशेष पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।  जुन २३ देखि जुलाई १३ सम्मको विक्ली च्यालेन्जेजमा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरू साप्ताहिक पुरस्कारहरूको लागि मात्र नभई ग्रान्ड प्राइजको लागि पनि योग्य हुनेछन् । जसमा क्याब ९ट्याक्सी० चालकहरूको लागि टाटा एक्सप्रेस–टी इभी र बाइक राइडरहरूको लागि टीभीएस रेइडर मोटरसाइकल रहेको छ । क्याम्पेन तीन हप्तासम्म आयोजना हुनेगरी डिजाइन गरिएको छ । प्रत्येक हप्ता विजेताहरूको घोषणा गरिने र जुलाई १७, २०२५ मा ग्राण्ड विनरको घोषणा गरिनेछ। पुरस्कारहरू टाटा एक्सप्रेस–टी इभी (क्याब श्रेणीको ग्रान्ड प्राइज)​​​​​​​ टीभीएस रेइडर  मोटरसाइकल (बाइक श्रेणीको ग्रान्ड प्राइज) स्मार्टफोनः १५ वटा​​​​​​​​​​​​​​ स्मार्टवाचः ३० वटा इयरबड्सः ३० वटा साप्ताहिक पुरस्कार (५ स्मार्टफोन, १० स्मार्टवाच, १० इयरबड) ​​​​​​​ग्रान्ड प्राइजको लागि योग्य हुन, चालकहरूले क्याम्पेनको तीनै हप्ताको लागि प्लेटिनम स्ट्याटस मेन्टेन गर्नुपर्नेछ ।  कुनै पनि हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरूलाई साप्ताहिक पुरस्कार विजेतामा सहभागी गराइनेछ।

काभ्रेको रोशी खोलामा फसेका ५ जनाको सकुशल उद्धार

काठमाडौं । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ५ र ७ को बीच भागमा रहेको रोशी खोलामा फसेका ५ जनाको असार ५ गते सकुशल उद्धार भएको छ । सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा बेस पनौतीबाट सशस्त्र प्रहरी नायव निरीक्षक भीमसेना केसीको कमाण्डमा खटिएको सुरक्षा फौजसँगै नेपाली सेना र नेपाल प्रहरीसहितको टोलीले उद्धार गरेको हो । ढुंगा संकलन गएका उनीहरू खोलामा पानीको बहाव बढेपछि बीच भागमा फसेका थिए । उनीहरूले प्रयोग गर्दै गरेको १ वटा जेसीबी र १ वटा टिपरसमेत फसेको थियो ।

चिनियाँ ईभीको बाढीले ब्राजिलका अटो उद्योग संकटमा

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो सवारीसाधन बोक्ने पानीजहाज (जसमा २० वटा फुटबल मैदान बराबरका गाडी अटाउन सक्छन्) गत महिनाको अन्त्यतिर पहिलो यात्रा पूरा गर्दै ब्राजिलको इताजाइ बन्दरगाहमा पुगेको छ। चीनको अग्रणी इलेक्ट्रिक र प्लग-इन हाइब्रिड गाडी निर्माता बाइडी (बीवाईडी) ले ब्राजिलेली ग्राहकलाई तुलनात्मक रूपमा सस्तो मूल्यमा हरित गाडी उपलब्ध गराउँदैछ, यद्यपि यहाँ हरित गाडी प्रवर्द्धन अझै प्रारम्भिक चरणमै छ । ब्राजिलको अटो उद्योगका अधिकारी र श्रमिक नेताहरू चिनियाँ कम्पनीहरूबाट ठूलो मात्रामा आउने गाडीहरूले स्वदेशी उत्पादनलाई पछाडि धकेल्ने र रोजगारीमा हानी पुर्‍याउने चिन्ता व्यक्त गर्छन् । रोयटर्सले शिपिङ तथ्यांक र कम्पनीका बयानहरूका आधारमा गरेको विश्लेषण अनुसार बाइडीले विदेश विस्तार तीव्र बनाउन बढ्दो संख्यामा आफ्नो कार्गो जहाज परिचालन गरेको छ, जसमा ब्राजिल प्रमुख लक्ष्य बनेको छ । मे महिनाको अन्त्यमा आएको यो जहाज यस वर्ष ब्राजिलमा डुंगा लगेको बीवाईडीको चौथो जहाज हो, जसबाट करिब २२ हजार गाडी ल्याइएको छ । बाइडी विश्वकै ठूलो इलेक्ट्रिक र प्लग–इन हाइब्रिड गाडी निर्माता हो र ब्राजिलमा विस्तार गर्ने लक्ष्य राख्ने थुप्रै चिनियाँ ब्रान्डहरूमध्ये सबैभन्दा ठूलो कम्पनी हो । ब्राजिलको मुख्य अटो संघका अनुसार चीनमा बनेका गाडीहरूको आयात यस वर्ष झन्डै ४० प्रतिशतले बढेर करिब २ लाख पुग्ने अनुमान गरिएको छ, जसले कुल साना गाडी दर्ताको करिब ८ प्रतिशत हिस्सा ओगट्नेछ । उद्योग र श्रमिक समूहहरू भन्छन्, ‘चीनले ब्राजिलमा अस्थायी रूपमा न्यून ट्यारिफको फाइदा उठाएर कारखाना खोल्नेभन्दा बढी निर्यातमै जोड दिइरहेको छ ।’ उनीहरूले सबै इभी आयातमा लागू हुने ट्यारिफ १० प्रतिशतबाट सिधै ३५ प्रतिशत पु‍र्याउने योजना एक वर्ष अघि सार्न सरकारसँग माग गरिरहेका छन् । इन्डस्ट्रीअल ब्राजिलका अध्यक्ष र मर्सिडिज–बेन्जका उत्पादन श्रमिक आरोआल्डो दा सिल्भाले भने, ‘विश्वका धेरै देशहरूले चिनियाँ गाडीको बाटो बन्द गरे तर ब्राजिलले गरेन । चीनले त्यसको भरपुर फाइदा उठायो ।’ अतिरिक्त उत्पादन ब्राजिल चीनको अटो उद्योगको तीव्र विश्वव्यापी विस्तारको केन्द्र बिन्दु बनेको छ । चिनियाँ कारखानाबाट बढी उत्पादन भएर निर्यात बढेपछि चीन २०२३ मा जापानलाई उछिन्दै विश्वकै ठूलो गाडी निर्यातकर्ता बनेको हो । धेरैजसो अतिरिक्त गाडीहरू युरोप, दक्षिण-पूर्वी एसिया र ल्याटिन अमेरिकामा पठाइँदै छन् । ब्राजिलमा ठूलो बजार रहेको छ- बजार आकारका आधारमा यो विश्वकै छैठौं ठूलो बजार हो( जहाँ फक्सवागन, जनरल मोटर्स र जिप निर्माता स्टेलान्टिस जस्ता कम्पनीहरूले दशकौंदेखि स्थानीय रूपमा गाडी उत्पादन गर्दै आएका छन् । ब्राजिल सरकारले पनि इलेक्ट्रिक र प्लग–इन हाइब्रिड गाडीको बिक्री बढाउन नीति बनाएको छ, जुन बीवाईडीको प्रमुख क्षेत्र हो । यसैबीच, बीवाईडीलाई स्वदेश र विदेश दुवै ठाउँमा विस्तार गर्ने बाटो साँघुरिँदै गएको छ । स्वदेशमा बीवाईडी तीव्र मूल्ययुद्धमा फसेको छ, जसले गर्दा यसको सिगल नामक सस्तो मोडेलको मूल्य १० हजार डलरभन्दा तल झार्नुपरेको छ र नाफा कम भएको छ । विदेशमा युरोपले ४५.३ प्रतिशत शुल्क र अमेरिकाले १०० प्रतिशतभन्दा बढी ट्यारिफ लगाउनुका  साथै चिनियाँ सफ्टवेयर प्रतिबन्ध गरेर कडा व्यापार अवरोध लगाएका छन् । विगतमा ब्राजिलले चिनियाँ गाडी कम्पनीलाई स्वतन्त्र प्रवेशबाट जोगाउन कदम चाले पनि अन्य देशजस्तो छिटो र कडा कारबाही गरेको छैन । २०१५ मा ब्राजिलले इलेक्ट्रिक गाडी प्रवर्द्धन गर्न बीवाईडी जस्ता निर्माता कम्पनीलाई ट्यारिफ छुट दिएको थियो तर गत वर्ष त्यसमा फेरि १० प्रतिशत ट्यारिफ लगाइयो । यो शुल्क हरेक ६ महिनामा बढाउँदै २०२६ सम्ममा ३५ प्रतिशत पुग्ने योजना छ । ब्राजिलको विकास, उद्योग र वैदेशिक व्यापार मन्त्रालयका अनुसार ट्यारिफ चाँडै बढाउने उद्योग संघको मागमाथि समीक्षा भइरहेको छ । बीवाईडी र अन्य चिनियाँ कम्पनीहरूले हाल ब्राजिलमा प्लग(इन हाइब्रिड र ब्याट्री–इलेक्ट्रिक गाडीमा करिब १६९ मिलियन डलर र २२६ मिलियन डलरसम्म ट्यारिफ-मुक्त आयात गर्न पाउने नीतिको फाइदा उठाइरहेका छन् । यसले पुरा कोटा सकिनुअघि धेरै गाडी ल्याउन प्रेरणा दिएको विश्लेषकहरू बताउँछन् । आयातको बाढी बीवाईडीको रणनीति स्थानीय अधिकारीको कडा प्रतिरोध बिना निर्यात विस्तार गर्नेमा निर्भर छ । तर ब्राजिलमा उद्योगका प्रतिनिधिहरू बीवाईडीले स्वदेशमै उत्पादन सुरु गर्ने योजना पछि धकेलिएकोमा चिन्तित छन्। २०२३ मा ब्राजिल सरकारले बीवाईडीलाई बाहियास्थित फोर्डको पुरानो कारखाना किनेर उत्पादन सुरु गर्ने योजना स्वागत गरेको थियो । तर निर्माण स्थलमा श्रम शोषणको अनुसन्धानका कारण अब उत्पादन २०२६ को डिसेम्बरसम्म मात्र ‘पूर्ण रूपमा सञ्चालनमा आउने’ स्थानीय अधिकारीहरूले बताएका छन् । अरू चिनियाँ कम्पनी जीडब्लुएमले पनि मर्सिडिज–बेन्जको पुरानो कारखानामा गाडी बनाउन थाल्ने योजना एक वर्षभन्दा बढी पछि सारेको  छ। सरकारले भने यो कारखाना यसै वर्ष सञ्चालन हुने अपेक्षा गरेको छ । ब्राजिलको अटो संघ एएनएफएभीईएका अध्यक्ष इगोर काल्भेटले भने, ‘हामी नयाँ ब्रान्डहरूलाई ब्राजिलमा उत्पादन गर्न, स्थानीय उद्योग बढाउन, रोजगारी सिर्जना गर्न र नयाँ प्रविधि भित्र्याउन स्वागत गर्छौं । तर अत्यधिक आयातले स्वदेशी उत्पादनमा लगानी घटाउँछ भने त्यो हाम्रो लागि चिन्ताको कुरा हो ।’   इन्डस्ट्रीअलका दा सिल्भाले भने, ‘बीवाईडी कारखाना सुरु हुनुभन्दा १८ महिना अगाडि नै स्थानीय आपूर्तिकर्तासँग सम्झौता हुनुपर्ने हो तर अहिले सम्म त्यस्तो केही सुनिएको छैन ।’ ‘कारखाना भए पनि यदि सबै उपकरण, विकास र प्रविधि बाहिरबाट आउँछ भने त्यसले कति मूल्य थप्छ ?,’ उनले थपे । राष्ट्रपति लुला दा सिल्भाको बामपन्थी सरकारले रोजगारी र वातावरण जोगाउने प्रयास गरिरहेको छ । आगामी नोभेम्बरमा कोप ३० विश्वव्यापी जलवायु सम्मेलन आयोजना गर्न लागेको ब्राजिलले आफ्नो हरित छवि बलियो पार्न उद्योग फिर्ता ल्याउन चाहन्छ । तर ब्राजिलको हरित गाडी बजार अझै पनि चिनियाँ आयातमा निर्भर छ । ब्राजिलको ईभी संघ एबीभीईका अनुसार ब्राजिलमा बिक्री हुने इलेक्ट्रिक गाडीमध्ये ८० प्रतिशत चिनियाँ हुन् । ब्राजिलमा लिथियम लगायत ईभी ब्याट्री बनाउन चाहिने खनिज प्रशस्त छन् तर सबै आवश्यक पाटपुर्जा उत्पादन गर्ने पूर्वाधार अझै नभएको जीडब्लुएम ब्राजिलका सरकारी सम्बन्ध निर्देशक र एबीभीईका अध्यक्ष रिकार्डो बास्टोसले भने । जीडब्लुएमले २०२१ मा वार्षिक ५० हजार गाडी उत्पादन क्षमताको कारखाना किनेर यस जुलाईदेखि हवाल एच ६ एसयूभी उत्पादन सुरु गर्ने तयारी गरेको छ । बास्टोसका अनुसार करिब १०० वटा ब्राजिलेली आपूर्तिकर्तासँग सम्झौता गर्न छलफल भइरहेको छ । मस्कको रोबोट्याक्सीमा डेमोक्र्याटको हस्तक्षेप कमजोर मागले फरारीको दोस्रो ईभी २०२८ सम्मका लागि स्थगित  

पेवेल र सजिलो पेमा ग्राहकको लाखौं रकम होल्ड, फिर्ता पाउँछन् कि पाउँदैनन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्नेगरी दिइएको अनुमति खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ । भुक्तानी तथा फर्स्यौट ऐन, भुक्तानी तथा फर्स्यौट विनियमावली, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐनका विभिन्न प्रावधान उल्लङ्घन गरेको पाइएपछि लाइसेन्स खारेज गरिएको हो । यी दुई वालेट कम्पनीमा ग्राहकको १५/२० लाख रुपैयाँ बचत रहेको राष्ट्र बैंक स्रोतले बताएकाे छ । उक्त रकम ग्राहकले कहिले पाउँछन् ? कसरी फिर्ता पाउँछन् भनेर चासोका रूपमा हेरिएकाे छ ।  नेपाल राष्ट्र बैंकका कार्यकारी अधिकृत तथा प्रवक्ता किरण पण्डितका अनुसार दुई कम्पनीको सेटलमेन्ट गर्ने काम कुमारी बैंकको थियो । कुमारी बैंकमार्फत ग्राहकहरुको (जसको प्रणालीमा इमोनी) रकम फिर्ता गर्नका लागि एक/दुई दिनभित्रमा सूचना निकाल्ने उनले बताए । ग्राहकले पनि आफ्नो बचत रहेको रकम फिर्ता पाउने गरी कुमारी बैंकमा जानकारी निवेदन दिनुपर्ने र सोही आधारमा फिर्ता हुने उनको भनाइ छ ।  ‘ग्राहकले मेरो इमोनी यति थियो भनेर प्रमाण देखाउनु भयो भने बैंकले सहज रुपमा दिनेछ । तत्कालीन समयको कुन ग्राहकको कति रकम थियो भन्ने तथ्याङ्क कुमारी बैंकसँग छ होला । दुइटै कम्पनीमा पनि छ,’ पण्डितले भने, ‘मेरो यति रकम थियो भनेर ग्राहकले माग्नु भयो भने फिर्ता हुनेछ । कसरी सेटलमेन्ट गर्ने विषयमा कुमारी बैंकले सूचना निकाल्छ ।’  उनका अनुसार व्यापारिक लेनदेन, संस्थागत हिसाब किताब कानुन बमोजिम हुन्छ । अहिलेलाई ग्राहकको इमोनी मात्रै फिर्ता गर्ने हो ।  कुमारी बैंकका सहायक सूचना अधिकारी अर्पण पौडेलले राष्ट्र बैंकको निर्देशन अनुसार वालेटमा रहेको रकम छिट्टै भुक्तानी गर्ने बताए । हालसम्म कुनै निर्देशन आइनसकेको र राष्ट्र बैंकको निर्देशनका आधारमा अघि बढ्ने उनको भनाइ छ ।  यी दुई कम्पनी यसअघि ६१ किलो सुन तस्करीमा मुछिएका थिए । कम्पनीमा सुन तस्करीमा संलग्न रहेका आरोपीहरूको करिब ३ अर्बको कारोबार देखिएको सीआईबीले जानकारी दिएको थियो । त्यतिबेला राष्ट्र बैंकले यी दुई कम्पनीमा रहेका सम्पूर्ण खाताहरू रोक्का गरिएको जानकारी पनि गरेको थियो । यी दुई कम्पनीबाट नै बैंकिङ प्रणालीमा रकम जाने गरेको देखिएको थियो । यी दुई कम्पनीमा आवद्ध केही कर्मचारीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।  

युद्धमा हरेक दिन १०१ अर्ब रुपैयाँ खर्च गर्दै ‍इजरायल, अमेरिकाले सहयोग नगरे मिसाइल रक्षा प्रणाली ठप्प हुने

काठमाडौं । इरान र इजरायलबीच चलिरहेको युद्धमा दुवै देशले पैसा पानी झैं खर्च गरिरहेका छन् । तर सबैभन्दा धेरै खर्च इजरायलले गरिरहेको छ । यसले इजरायलको अर्थतन्त्रमा नराम्रो प्रभाव पारेको छ ।  एक रिपोर्टअनुसार यो युद्धमा इजरायलले हरेक दिन करिब ७२५ मिलियन डलर (करिब १०१ अर्ब रुपैयाँ) सैन्य खर्चमा मात्रै खर्च गरिरहेको छ । यो जानकारी ब्रिगेडियर जनरल (रिजर्भ) रीम अमीनाचले दिएका हुन् । उनी पहिले इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रमुखको वित्तीय सल्लाहकार थिए । सुरुवाती दुई दिनमै ठूलो खर्च वाईनेट न्यूजको रिपोर्टअनुसार अमीनाचले बताएका छन् कि युद्धको पहिलो दुई दिनमै इजरायलले करिब १.४५ अर्ब डलर (१९ हजार करोड रुपैयाँभन्दा बढी) खर्च गरिसकेको छ । यसमा आक्रमण र सुरक्षा दुबै खर्च सामेल छन् । यो रकममध्ये ५०० मिलियन डलरभन्दा बढी बमबारी र जेट इन्धनमा खर्च भएको छ भने बाँकी पैसा मिसाइल रोक्ने प्रणाली र सैनिक परिचालनमा खर्च भएको हो । खर्च अझै बढ्ने अनुमान इजरायलले इरानमाथि गरेको पहिलो आक्रमणमा विमान उडाउन र हतियार प्रयोग गर्न मात्रै ५९३ मिलियन डलर खर्च भयो । बाँकी पैसा मिसाइल रोक्ने सिस्टम र रिजर्भ सैनिक बोलाउन खर्च भयो । अमीनाचका अनुसार यो सीधा खर्च मात्रै हो । अप्रत्यक्ष खर्च, जस्तै जीडीपीमा पर्ने असर अझै गणना भएको छैन । वास्तविक खर्च तब मात्र पत्ता लाग्नेछ जब नागरिक सम्पत्तिमा भएको क्षति र काममा आएको कमीलाई पनि जोडिनेछ । अर्थतन्त्रमा नकारात्मक प्रभाव युद्धका कारण इजरायलको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको छ । वित्त मन्त्रालयले यस वर्षको लागि पहिले नै जीडीपी‍को ४.९ प्रतिशत घाटा हुने प्रक्षेपण गरेको थियो, जुन करिब २७.६ अर्ब डलर बराबर छ । देशको बजेटमा आपतकालीन कोषका लागि केही रकम राखिएको थियो, तर त्यो रकम गाजामा भएको युद्धमा नै सकिएको छ । अहिले इरानसँगको युद्धका लागि छुट्टै व्यवस्था छैन। यस युद्धका कारण २०२५ को लागि विकास दरको अनुमान ४.३ प्रतिशतबाट घटाएर ३.६ प्रतिशतमा झारिएको छ । यसको मतलब इजरायलको अर्थतन्त्र पहिले जति तीव्र गतिमा बढ्ने अपेक्षा थियो, त्यो अब घटेको छ । इजरायललाई सहयोग आवश्यक वाशिंगटन पोस्टको रिपोर्ट अनुसार इजरायलसँग मिसाइल रोक्ने उपकरणको आपूर्ति निकै कम हुँदै गएको छ । विश्लेषकहरूको अनुमान अनुसार यदि अमेरिकाबाट सहयोग नभएमा इजरायलको मिसाइल रक्षा प्रणालीले अब १० देखि १२ दिन मात्रै काम गर्नेछ । त्यसपछि प्रणाली नै ठप्प हुने जोखिम छ । कच्चा तेलको मूल्यमा तीव्र वृद्धि इरान-इजरायल युद्धका कारण कच्चा तेलको मूल्यमा पनि निकै वृद्धि भएको छ । रेटिङ एजेन्सी इक्राका अनुसार १३ जुनमा दुबै देशबीच तनाव बढेपछि कच्चा तेलको मूल्य ६४-६५ डलर प्रति ब्यारेलबाट बढेर ७४-७५ डलर प्रति ब्यारेल पुगेको छ । यसले तेल र ग्यास आयात गर्ने देशका लागि चिन्ता थपिदिएको छ । यदि कच्चा तेलको औसत मूल्य प्रति ब्यारेल १० डलरले बढ्यो भने भारतको तेल आयात १३-१४ अर्ब डलरसम्म बढ्न सक्छ । यसले भारतको चालु खाता घाटा (सीएडी) जीडीपीको ०.३ प्रतिशतले बढाउन सक्छ ।

बुटवलका व्यवसायी कृष्ण पौडेलले २ अर्ब लगानीमा खोले ‘फ्रेन्च फ्राई उद्योग’, वार्षिक २ हजार टन उत्पादन

काठमाडौं । रुपन्देहीमा २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राई उद्योग फर्स्ट च्वाइस फुड सञ्चालनमा आएको छ।   गुल्मीको मदाने गाउँपालिका वडानम्बर ६ घर भई बुटवल बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोदन गाउँपालिकामा उद्योग सञ्चालनमा ल्याएका हुन् ।  काठमाडौंमा बिहीबार एक कार्यक्रमका बीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले फर्स्ट च्वाइस फुडको उत्पादन सार्वजनिक गरे ।  आयात कम गर्ने र किसानलाई आत्मनिर्भर बनाएर अघि बढ्ने योजनाका साथ उद्योग सञ्चालनमा ल्याएको व्यवसायी पौडेलले बताए । अहिले वर्षको २ हजार टन उत्पादन गर्नेगरी उत्पादन भइरहेको र हरेक वर्ष बढाउँदै जाने लक्ष्य रहेको उनले जानकारी दिए । ५ विघा क्षेत्रफलमा फैलिएको यो उद्योगले आलुका परिकारमात्रै उत्पादन गर्नेछ ।  १० हजार किसान उद्योगसँग जोडिएको र उनीहरुको उत्पादन आफ्नो उद्योगले किनिरहेको पौडेलले जानकारी दिए । उनका अनुसार अहिले उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर काम गरिरहेको छ ।  प्रत्यक्ष र अप्रत्यक्ष गरी २ सय जतिले उद्योगमा काम गरिरहेका छन् । अमेरिका, दुबई, साउदी अरब लगायतका तेस्रो मुलुकमा निर्यात गर्ने तयारीमा रहेको पौडेलले बताए । अहिले उद्योगले भारतमा निर्यात गरिरहेको र मलेसिया, युएई र साउदी अरेबियामा निर्यात गर्ने तयारीमा रहेको पनि पौडेलले जानकारी दिए ।  उद्योगका अहिले काठमाडौं, धरान, काठमाडौं, नेपालगञ्ज र दाङ गरी ५ ठाउँमा डिलर छन् भने देशभर ४ सय वटा रेष्टुरेण्ट पनि छन् । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निष्ठा र मेहनतका साथ काम गरेको खण्डमा जो कोहीले पनि चमत्कार गर्नसक्ने जिकिर गरे ।  पौडेलले पाँच बिघा जग्गा खरिद गरेर उद्योग सञ्चालन गरेको जानकारी दिएका छन् । उनका अनुसार उद्योग सञ्चालनका लागि मेसिनमा मात्र ४४ करोड रूपैयाँ लगानी भएको छ ।  पौडेल २०५८ सालदेखि बुटवलमा क्वालिटी मिट प्रोसेसिङ इन्डस्ट्रिजमार्फत मासुको तयारी परिकार उत्पादन गरी निर्यात गर्ने व्यवयास सञ्चालन गर्दै आएका छन् ।