विकासन्युज

वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढ्दै, आयात साढे १६ अर्ब पुग्दा निर्यात ७७.७७ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२को ११ महिनासम्ममा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ महिनामा सो मुल्य बराबरको वस्तु आयात भएको हो ।  जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।  भन्सार विभागका अनुसार यो अवधिसम्म कुल २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा निर्यात ७७.७७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो ।  विभागका अनुसार यो अवधिसम्म कुल १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ व्यापार घाटा छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.३० प्रतिशत बढी हो । गत आवको ११ महिनासम्म कुल १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँको व्यापार घाटा रहेको थियो ।  गत आवको सोही अवधिमा आयात निर्यात अनुपात १०.४४ प्रतिशत रहेकोमा अहिले ६.६४ प्रतिशत छ । यस्तो अनुपात ३६.३५ प्रतिशतले घटेको हो ।  कुल व्यापारमा निर्यात अनुपात १३.०८ प्रतिशत रहेको छ भने आयात अनुपात ८६.९२ प्रतिशत कायम भएको छ ।  भन्सार विभागका अनुसार यो अवधिमा सबैभन्दा बढी डिजेल, भटमासको कच्चा तेल, पेट्रोल, खाना पकाउने ग्यास आयात भएको छ । ११ महिनामा डिजेल मात्रै १ खर्ब १५ अर्ब ५५ करोड १ लाख रुपैयाँको आयात भएको छ । कच्चा भटमासको तेल ९५ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ, पेट्रोलको ५८ अर्ब ५८ करोड ९० लाख, खाना पकाउने ग्यास ५७ अर्ब ३६ करोड ७७ लाख रुपैयाँको आयात भएको छ ।  

नेपालको वित्तीय क्षेत्रमा साइबर सुरक्षा रोडम्याप : राष्ट्र बैंकको नयाँ पहल

काठमाडौं । नेपालको डिजिटल अर्थतन्त्रलाई साइबर खतराबाट जोगाउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि पहिलोपटक व्यापक साइबर सुरक्षा रोडम्याप सार्वजनिक गरेको छ ।  फेडेरेसन अफ कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) र वन कभर प्रालिका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीको परिकल्पनामा तयार पारिएको यो रणनीति नवनियुक्त गभर्नर विश्वनाथ पौडेललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । रोडम्याप अनुसार अब सबै बैंक तथा वित्तीय संस्थाहरूमा प्रमुख सूचना सुरक्षा अधिकारी (सीआईएसओ) नियुक्ति अनिवार्य हुनेछ ।  साइबर जोखिम व्यवस्थापनका लागि बोर्डस्तरीय समिति र फाइनान्सियल सेक्टर कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (फिनसर्ट–नेपाल) नामक विशेष आपतकालीन टोली गठन गरिनेछ, जसले  इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) र नेपाल प्रहरीको साइबर ब्युरोसँग सहकार्य गर्दै साइबर आक्रमणको तत्काल प्रतिक्रिया र व्यवस्थापन गर्नेछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई) नेपालले अनुसन्धान, तालिम र सिमुलेसन अभ्यासमार्फत साइबर अपराध न्यूनीकरणमा सहयोग गर्नेछन्। डिजिटल कारोबारका सबै प्लेटफर्ममा बलियो प्रमाणीकरण, इन्क्रिप्शन, नियमित जोखिम परीक्षण र सेक्युरिटी अपरेसन सेन्टर (एसओसी) स्थापना जस्ता प्रावधानलाई कडाइका साथ लागू गरिनेछ । नेपाल राष्ट्र बैंकले साइबर सुरक्षा छात्रवृत्ति कोष स्थापना, वार्षिक तालिम, सार्वजनिक सचेतना र आवधिक अडिटमार्फत दीर्घकालीन साइबर प्रतिरोधात्मक क्षमता विकासमा ध्यान दिने जनाएको छ । विशेषज्ञहरूको सामूहिक प्रयासबाट तयार भएको यो रोडम्यापले सुरक्षित र लचिलो वित्तीय प्रणाली निर्माण गर्दै नेपालको डिजिटल अर्थतन्त्रलाई थप विश्वसनीय बनाउने अपेक्षा गरिएको छ । 

ललितपुर महानगरले ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रूपमा अघि बढाउने

ललितपुर । ललितपुर महानगरले परम्परागत पानीका मुहान संरक्षण गर्न ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रुपमा अघि बढाउने भएको छ । ललितपुर महानगरको सातौं नगरसभामा आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले  ढुंगेधारा , कुवा, इनार र पोखरीजस्ता स्रोतलाई संरक्षण गर्न विशेष ध्यान दिने बताए । त्यसैगरी निजी जग्गामा रहेका पानीका मुहानहरु संरक्षणका गर्न महानगरले अधिग्रहण गरेर मुहान संरक्षण उनले बताए । खानेपानीको मुहानको संरक्षण, विकास गर्न अन्तरपालिका तथा सरोकारवाला निकायबीच समन्वय गर्ने समेत नीतिमा उल्लेख छ । यसैगरी, खोकना, बुङमती धापाखेल, सुनाकोठीमा खानेपानी व्यवस्थापनका लागि पानीट्याङ्की निर्माणको काम थलिने छ । यसैगरी परम्परा राजकुलो , जलमार्गलाई पुनर्जीवित गर्न र परम्परागत  पानीको मुहानको पानी स्रोत विस्तार गर्न आवश्यक कार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

दरबारमार्गमा जे एण्ड कोको नयाँ लक्जरी स्टोर, नेपालमा पहिलो पटक अर्मानी

काठमाडौं । नेपालको लक्जरी खुद्रा बजारमा नयाँ अध्याय सुरु भएको छ । अग्रणी लक्जरी रिटेलर जे एण्ड कोले काठमाडौंको दरबारमार्गमा आफ्नो नयाँ फ्ल्यागशिप स्टोर भव्य समारोहका बीच उद्घाटन गरेको हो ।  यससँगै नेपालमा पहिलो पटक विश्वप्रसिद्ध इटालियन फेसन ब्रान्ड एम्पेरियो अर्मानीको औपचारिक प्रवेश भएको छ भने प्रतिष्ठित स्विस ब्रान्ड बालीलाई नयाँ अवधारणासहित पुनः लन्च गरिएको छ । उद्घाटन कार्यक्रममा ख्यातिप्राप्त उद्योगपति राजेन्द्र खेतान र आइरा झुनझुनवालाको उपस्थिति थियो । दरबारमार्गको मुटुमा अवस्थित यस आधुनिक स्टोरले अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड तथा सेवाहरू नेपाली ग्राहकसमक्ष ल्याउने जे एण्ड कोको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।  सुन्दर इन्टेरियर, सुव्यवस्थित डिस्प्ले र उत्कृष्ट ग्राहक सेवा सुविधासहितको यो बुटिकले उच्चस्तरीय किनमेल अनुभव दिने विश्वास कम्पनीले व्यक्त गरेको छ । जे एण्ड कोका प्रबन्ध निर्देशक पंकज झुनझुनवाला भन्छन्, ‘यो विस्तारसँगै हामी नेपालको फेसन बजारमा नयाँ आयाम थप्दैछौं । एम्पोरियो अरमानी ले इटालियन फेसनको शालीनता र सहरी आकर्षण ल्याउँछ भने बालीले आफ्नो समृद्ध स्विस इतिहासलाई आधुनिक डिजाइनसँग समायोजन गरी फर्किएको छ । यी ब्रान्डहरूलाई एउटै छानामुनि नेपाली ग्राहकसमक्ष ल्याउन पाउँदा हामी गौरवान्वित छौं । नेपालमा पहिलो पटक भित्रिएको एम्पोरियो अरमानीले परिष्कृत डिजाइन, न्यूनतावाद र आधुनिक सहरी फेसनलाई नेपाली युवापुस्ताको लागि सजिलै उपलब्ध गराउनेछ । त्यसैगरी, बाली ले आफ्नो हस्तकला परम्परा र स्विस उत्कृष्टतालाई नयाँ डिजाइन दृष्टिकोणमा पुनः प्रस्तुत गर्दै लक्जरी सौन्दर्यमा नयाँ युगको संकेत दिएको छ । उद्घाटन समारोहमा फेसन, व्यापार र जीवनशैली क्षेत्रका चर्चित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। यसले जे एण्ड को लाई नेपालको लक्जरी खुद्रा बजारमा ट्रेन्डसेटरको रूपमा थप सुदृढ पारेको छ। जे एण्ड को नेपालमा लक्जरी खुद्रा व्यापारको अग्रणी नाम हो । यसले विश्वप्रसिद्ध घडी, फेसन र जीवनशैली ब्रान्डहरू नेपाली बजारमा ल्याउँदै आएको छ।

ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने

ललितपुर । ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने भएको छ । ललितपुर महानगरको सातौं नगरसभामा आर्थिक वर्ष २०८२/२०८३को नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले हस्तकलाको संरक्षण र सम्वर्द्धनका लागि कलेज स्थापना गर्ने बताए । उनले भने, ‘सरोकारवाला र सम्बन्धित निकायसँग छलफल गरेर हस्तकलासम्बन्धी औपचारिक शिक्षाका लागि कलेज स्थापना गर्नेछौं । ’ लोप हुन लागेका सीप र कला संरक्षण  सम्वर्द्धनका लागि सीप हस्तान्तरण र पुस्तान्तरण सम्बन्धी कार्यलाई पनि प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।

रियल सेक्टर विस्तार गर्नु अहिलेको अपरिहार्यताः योजना आयोग सदस्य श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले रियल सेक्टर विस्तारमैत्री मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् ।  नबिल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैंकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको शुक्रबार उद्घाटन समारोहमा बोल्दै डा.श्रेष्ठले आर्थिक समृद्धिका लागि रियल सेक्टर विस्तार अपरिहार्य रहेको बताए ।  उनले आर्थिक शिथितलाको असर बैंकिङ क्षेत्रमा परिरहेको बताए । ‘रियल सेक्टर विस्तार गर्न नसक्दा त्यसको असर बैंकमा पनि देखिन थालेको छ । यसका लागि रियल सेक्टरलाई थप विस्तार गर्नुपर्छ,’ उनले भने । उनले कर्जाको माग बढाउने गरी आगामी मौद्रिक नीति ल्याउनुपर्ने बताए ।  ‘अहिले पनि बैंकहरुका सात खर्ब रुपैयाँ बराबरको कर्जा योग्य रकम रहेको छ । त्यो अवस्था कर्जाको माग बढाउने गरी आगामी मौद्रिक नीति ल्याउनुपर्ने छ,’ उनले बताए ।  उद्योग क्षेत्रलाई चलायमान बनाउन सकेमा कर्जाको माग स्वतः बढ्ने उनको भनाइ छ।  हाल नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति निर्माणको तयारीमा छ। डा। श्रेष्ठले मौद्रिक नीतिले उद्यम क्षेत्रलाई कर्जा उपयोगमा सहजीकरण गर्ने गरी मौद्रिक नीति आउनुपर्ने बताए । ‘अहिले नबिल बैंकले उद्यमी कर्जा सञ्चालन गरिरहेको छ । यस्तै प्रकारका कर्जालाई अन्य बैंकहरुले प्राथमिकतामा राखेर कर्जा प्रवाह गरेमा समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पार्छ,’ उनले भने ।  सरकारले पर्याप्त खर्च गर्न नसक्दा आन्तरिक कर्जाको माग बढ्न नसकेको उनले बताए ।  सरकारी खर्च गर्ने चक्रलाई बिगारेको उल्लेख गर्दै उनले सरकारले वित्तीय खर्चलाई सुधार गर्दै आन्तरिक ऋण पनि बढाउनुपर्ने बताए ।  यस्तै, उनले आर्थिक पत्रकारहरूको क्षमता बढ्दै गएको बताए ।  ‘पहिला पत्र पत्रिकामा आर्थिक बिषय बस्तुले प्राथमिकता पाउने थिएनन् । अहिले सञ्चार माध्ययममा आर्थिक समाचारहरु व्यापक रूपमा देख्न पाइन्छ,’ उनले भने, ‘साथै आर्थिक पत्रकारहरुको क्षमता पनि बृद्धि हुँदै गएको देखिन्छ । पहिला आर्थिक बिषयमा बुझेका पत्रकार कम थिए । अहिले यस विषयमा पत्रकारहरू सक्षम हुँदै गएका छन् ।'

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई आमा हस्पिटलमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अब आमा हस्पिटलमा उपचार सेवा लिँदा ५० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । क्याबिन बेड मा ५० प्रतिशत, जनरल बेडमा ३० प्रतिशत र हस्पिटलका अन्य सेवामा २० प्रतिशतका साथै आकस्मिक एम्बुलेन्स सेवामा कुनै शुल्क नलाग्ने आईएमई लाइफले जनाएको छ । साथै हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशतको विषेश सहुलियत पनि रहेको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप९आईएमई लाइफ मोबाइल एप० मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् । त्यसैगरी अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।

सानिमा बैंकका ग्राहकलाई गोरखामा मेडिकल चेकअप र फिटनेस सेवामा  छुट

काठमाडौं । सानिमा बैंकका ग्राहक र कर्मचारीका लागि गोरखामा स्वास्थ्य र फिटनेस सेवामा विशेष छुटको व्यवस्था गरिएको छ ।  सानिमा बैंक र गोरखा नगरपालिका- ६ मा अवस्थित संगम मेडिहेल्थ क्लिनिक तथा गोरखा फिटनेस क्लब बीचको सम्झौताअनुसार अब बैंकका सेवाग्राहीहरूले विभिन्न सेवामा २० देखि ५० प्रतिशतसम्मको छुट पाउने भएका छन्। सम्झौता अनुसार संगम मेडिहेल्थमा ल्याब परीक्षण, डेन्टल सेवा, हामेल बडी चेकअप तथा फिजियो थेरापी सेवामा २० प्रतिशत छुट उपलब्ध हुनेछ । यस्तै, गोरखा फिटनेस क्लबमा भर्ना शुल्कमा ५० प्रतिशत छुट र मासिक शुल्कमा २० प्रतिशत छुट दिइनेछ । सो सम्झौतामा सानिमा बैंकको तर्फबाट शाखा प्रबन्धक प्रवीण न्यौपाने र संगम मेडिकल हल तथा गोरखा फिटनेस क्लबका सञ्चालक संगम बाबु श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सानिमा बैंकले आफ्नो ग्राहकलाई थप सुविधा पुर्‍याउन देशभर विभिन्न अस्पताल, क्लिनिक र फिटनेस सेन्टरसँग सहकार्य गर्दै आएको छ । गोरखामा भएको यो सहकार्यले बैंकका ग्राहकलाई थप स्वास्थ्य लाभ पुग्ने विश्वास लिइएको छ ।