नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६ जना संस्थापक सेयरधनी बाहिरिँदै
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)का ६ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर ६ जना संस्थापक सेयरधनी बाहिरिन लागेका हुन् । बैंकका अनुसार विभिन्न ६ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ४ लाख ८८ हजार ३०९ कित्ता संस्थापक सेयर आंशकि वा पु्रै बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिनुपर्ने जनाएको छ । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर र मूल्य समेत तोकि निवेदन दिनुपर्नेछ । यदि उक्त समय भित्र बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
साल्ट ट्रेडिङको नाफामा २९.३४ प्रतिशत उछाल, साढे ६ अर्ब रुपैयाँ आम्दानी
काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेशनले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा ४ करोड ५७ लाख ४४ हजार रुपैयाँ गरेको छ । यो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २९.३४ प्रतिशत अर्थात् १ करोड ३ लाख ७८ हजार रुपैयाँ बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको पुससम्ममा कम्पनीले ६ अर्ब ४१ करोड ७६ लाख १३ हजार रुपैयाँ बिक्री आम्दानी गरेको गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ५८ करोड ३५ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो । यस्तै समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी २२ करोड २५ लाख रुपैयाँ रहेको छ । गत वर्षको पुसमा २ करोड ५७ लाख रुपैयाँ मात्रै अन्य आम्दानी थियो । चालु आवको ६ महिनामा कम्पनीले ४४ करोड ९२ लाख ३२ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड १८ लाख रुपैयाँ कुल नाफा गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको बिक्री लागत ५ अर्ब ९६ करोड ८३ लाख ८० हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको ४ अर्ब ३ करोड १६ लाख ४७ हजार रुपैयाँ बिक्री लागत थियो । समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च २१ करोड २९ लाख ६४ हजार रुपैयाँ, प्रशासकीय खर्च ९ करोड ४४ लाख ३८ हजार रुपैयाँ, ब्याज खर्च १६ करोड ६२ लाख रुपैयाँ रहेको छ । ३५ करोड २७ लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ३५ करोड १३ लाख ९९ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३५९.६० रुपैयाँ छ ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, केही ठाउँमा हल्का वर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । आज दिउँसो तराईका केही स्थानमा हुस्सु रहनेछ भने हिमाली भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा तथा बाँकी पहाडी र हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति तराईका केही स्थानमा तुवाँलो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भागमा बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भ-भागका एक/दुई स्थानमा हल्का र वर्षा हिमपातको सम्भावना रहेकाले यातायातका साधन सञ्चालन, कृषि कर्म लगायत अन्य दैनिक गतिविधिमा संलग्न सर्वसाधारण तथा सरोकार भएका सबैलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ : कावा प्रमुख आयुक्त भण्डारी
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रता पूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गरेका छन् । दसौँ निर्वाचन दिवसका अवसरमा उनले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक र आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूति सहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न अपिल समेत गरे । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, ‘स्वच्छ, स्वतन्त्र, विश्वसनीय, पारदर्शी एवं मितव्ययी निर्वाचन शान्ति, स्थिरता, समृद्धि र सुशासन भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सबै सरोकार भएकाहरूसँगको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा यही फागुन २१ गते हुने निर्वाचनले विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास गरेको छु ।’ नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०१५ फागुन ७ गते सुरु भई २०१६ वैशाख २१ गते सम्पन्न भएको थियो । यो नै नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएको पहिलो आमनिर्वाचन हो । नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्न पाएको सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउने गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन आउन अब १४ दिन बाँकी छ । यस पटकको निर्वाचन दिवस आयोगका लागि मात्र नभएर आममतदाता, नागरिक, राजनीतिक दल र उम्मेदवारका लागि पनि विशेष र अविस्मरणीय रहेको कावा प्रमुख आयुक्त भण्डारीको भनाइ छ । लोकतान्त्रिक शासन व्यवस्थालाई जीवन्त राख्न र उत्तरदायी बनाउन आवधिक निर्वाचनको भूमिका महत्त्वपूर्ण रहने र यो स्वाभाविक र लोकतान्त्रिक प्रक्रियाको एक हिस्सा भएको उल्लेख गरे । कावा प्रमुख आयुक्त भण्डारीले भने, ‘लोकतान्त्रिक व्यवस्थामा जनताको मनोभावना, अपेक्षा र निर्णयको अभिव्यक्ति आवधिक रूपमा प्रकट भइरहनु अनिवार्य हुन्छ । आममतदाताले मताधिकारमार्फत प्रकट गर्ने अभिमतले शासन व्यवस्थालाई पुनर्ताजगी गर्छ । स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार हो ।’ स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धाबाट नियमित रूपमा जनप्रतिनिधि चुनिने प्रक्रियाले नै लोकतन्त्रलाई चिरस्थायी बनाउने भन्दै उनले निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरे । ‘निर्वाचनले नै शासनमा जनताको स्वामित्व सुनिश्चित गर्छ,’ उनले भने ।
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गरे । शुभकामना सन्देशमा भनिएको छ, ‘प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने अग्रजहरूप्रति सम्मान एवं श्रद्धा प्रकट गर्दछु ।’ राष्ट्रपति पौडेलले संविधान, लोकतन्त्र र जनताले चाहेको सुशासन र तीव्र विकासको बाटो पहिल्याउन यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै त्यसमा योगदान गर्न सबैलाई अपिल पनि गरे । विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशता विरुद्ध बलिदानी पूर्ण सङ्घर्षको परिणाम स्वरूप मानवअधिकार तथा नागरिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरुप प्रत्येक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ । मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा अङ्कित भएको राष्ट्रपति पौडेलको भनाइ छ । लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने कुरालाई बिर्सन नहुने बताउँदै उहाँले प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउनका साथै सहिदहरूको अमर गाथा पनि सदैव स्मरण गराउने उल्लेख गरे । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि हो । लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित वृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने छ,’ शुभकामना सन्देशमा उल्लेख छ, ‘जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ । नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।’ राष्ट्रपति पौडेलले सुशासनमार्फत मुलुकको विकास र समृद्धि नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट भएकाले यस कार्यमा लाग्न अपिल समेत गरे ।
भरतपुर विमानस्थलमै इन्धन सेवा सुरु, दैनिक ८ वटा उडान
काठमाडौं । चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि इन्धन ‘रिफिलिङ’सेवा सुरु गरेको हो । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताए । हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा सुरु गरिएको उनको भनाइ छ । हाल भरतपुरबाट दैनिक ८ वटा उडान हुँदै आएको बताउँदै उनले आवश्यकता अनुसार हवाई इन्धन भर्न सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भरतपुरमा दुइवटा रिफिलिङ काउण्टर स्थापना गरिएको छ, जहाँबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने छ । हाललाई निगमको सिनामङ्गल कार्यालयमा रहेका ६ जना कर्मचारीमार्फत सेवा सुरु गरिएको उनको भनाइ छ । भरतपुरबाट हाल दैनिक भरतपुर-काठमाडौं-भरतपुर र आंशिक रूपमा भरतपुर-पोखरा-भरतपुर उडान हुँदै आएको छ । बुद्ध एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले रिफिल काउण्टर स्थापना भएसँगै यात्रु तथा जहाजलाई सहज भएको बताए । ‘अब जहाजले तेल बोकेर आउनुपर्ने समस्या हुने छैन, जसका कारण काठमाडौंबाट आउने जहाजमा थप यात्रु ल्याउन पाइने छ,’ उनले भने ।
नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्न १० कम्पनीबीच प्रतिस्पर्धा
काठमाडौं । नेपालकै पहिलो नागढुङ्गा सुरुङमार्ग सञ्चालनका लागि नेपाली कम्पनीहरूले पनि आवेदन दिएका छन् । नागढुङ्गा सुरुङमार्ग आयोजनाका सूचना तथा उपसचिव अधिकारी सञ्जय पन्थीका अनुसार सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि १० वटा नेपाली कम्पनीले पनि आवेदन दिएका हुन् । उनले सुरुङमार्ग सञ्चालनका लागि ६ वटा चिनियाँ, ३ वटा भारतीय र १ वटा टर्की कम्पनीले नेपाली कम्पनीहरूसँग संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मा काम गर्ने गरी आवेदन दिएको जानकारी दिए । उनका अनुसार नेपाली कम्पनीहरूमा स्वच्छन्द निर्माण सेवा, काष्ठमण्डप कन्स्ट्रक्सन प्रालि, कुमार श्रेष्ठ निर्माण सेवा प्रालि, भागेश्वर कन्स्ट्रक्सन प्रालि, समानान्तर निर्माण सेवा प्रालि, वेदान्शी इन्फ्रास्ट्रक्चर लिमिटेड, एआरटी कन्स्ट्रक्सन, बावरी कन्स्ट्रक्सन प्रालि, ब्राइट बुल निर्माण सेवा तथा दान्फे कन्स्ट्रक्सन कम्पनी प्रालि रहेका छन् । यी मध्ये छनोट हुने कम्पनीले ज्वाइन्ट भेन्चरका रूपमा विदेशी कम्पनीसँग मिलेर काम गर्नेछन् । जसअनुसार स्वच्छन्द निर्माण सेवासँग विदेशी कम्पनी सेग्मेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड मिलेर सेग्मेन्टल–स्वच्छन्द जेभीका रुपमा भएर काम काम गर्नेछ भने काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिसँग गान्सु हेङतोङ रोड एण्ड ब्रिज इन्जिनियरिङ कम्पनी लिमिटेड मिलेर काष्ठमण्डप–गान्सु हेङतोङ जेभीका रूपमा काम गर्ने आयोजनाको भनाइ छ । यस्तै, कुमार श्रेष्ठ निर्माण सेवा प्रालिसँग अल्टिनोक कन्सल्टिङ इन्जिनियरिङ इन्क र भागेश्वर कन्स्ट्रक्सन प्रालि मिलेर केएसएनएस–अल्टिनोक–बीसीपीएल जेभीले मिलेर आवेदन दिएका छन् । ब्राइट बुल निर्माण सेवासँग सान्सी रोड एन्ड ब्रिज ग्रुप कर्पोरेसन लिमिटेड मिलेर एसएक्सआरबी–ब्राइट बुल जेभीले आवेदन दिएका छन् । यस्तै, दान्फे कन्स्ट्रक्सन कम्पनी प्रालिसँग जियाङसी तियानफेङ कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड मिलेर जेटीसीजी–डाँफे जेभीले आवेदन दिएको उनले जानकारी दिए । बावरी कन्स्ट्रक्सन प्रालिसँग विदेशी कम्पनी टनलटेक सोलुसन्स प्राइभेट लिमिटेड मिलेर बावरी कन्स्ट्रक्सन–टनलटेक सोलुसन्स जेभीका रूपमा आवेदन दिएको बुझिएको छ । पशुपति शिवाजी कन्स्ट्रक्सन प्रालिसँग एल्सामेक्स मर्मत सेवा लिमिटेड मिलेर ईएमएसएल–पीएससीपीएल जेभीका रुपमा काम गर्ने तथा समानान्तर निर्माण सेवा प्रालिसँग चाइना फस्र्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेड मिलेर समानान्तर–सीएफएचईसी जेभीका रुपमा काम गर्नेछ । यसैगरी, नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सन प्रालिसँग चोङछिङ युजिन रोड एन्ड ब्रिज डेभलपमेन्ट कम्पनी लिमिटेड मिलेर युजिन–एआरटी जेभीका रुपमा काम गर्नेछ । वेदान्शी इन्फ्रास्ट्रक्चर लिमिटेडसँग विदेशी कम्पनी रांकेन रेलवे कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड मिलेर वेदान्शी–रांकेन जेभीका रुपमा काम गर्ने आयोजनाका सूचना अधिकारी पन्थीले जानकारी दिए । हाल यी कम्पनीहरूको प्राविधिक मूल्याङ्कन भइरहेको छ । मापदण्डअनुसार यो सुरुङमार्ग सञ्चालनको ठेक्का पाउने कम्पनीले कम्तीमा ३ वर्ष करिब १६०० मिटर लामो सुरुङमार्ग सञ्चालन गरेको अनुभव र सुरुङमार्ग विज्ञहरूको टिम भएका कम्पनीलाई मात्र प्राथमिकता दिइने आयोजनाले जनाएको छ । सुरुङमार्गभित्रको सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ । मुख्य सुरुङमार्गको समानान्तरमा इभाकुएसन (आपतकालीन) सुरुङ निर्माण गरिएको छ, जसमा ७ वटा ढोकाहरू रहेका छन् । सुरुङ भित्र प्रत्येक ५० मिटरमा फायर हाइड्रन्ट (आगो निभाउने संयन्त्र) जडान गरिएको छ । अत्याधुनिक भेन्टिलेसन र २४सै घण्टा निगरानीका लागि सीसीटीभी क्यामेराहरू राखिएका छन् । हावाको गुणस्तर र दृश्यता मापनका लागि विशेष सेन्सरहरू जडान गरिएका छन्, जसको नियन्त्रण कक्षबाट निरन्तर अनुगमन हुनेछ । सुरुङमार्गभित्रको सुरक्षा र हावाको गुणस्तर कायम राख्न मोटरसाइकललाई प्रवेश निषेध गरिनेछ । यात्रुहरूले सुरुङ प्रयोग गरेबापत निश्चित टोल दस्तुर तिर्नुपर्नेछ । दस्तुर भुक्तानीका लागि नगदका साथै गाडीमा स्टिकर टाँसेर स्वचालित रूपमा पैसा काटिने आरएफआईडी प्रविधि पनि प्रयोगमा ल्याइनेछ । सञ्चालनका लागि चिटिक्क बन्यो देशकै पहिलो सुरुङमार्ग {भिडियो स्टोरी}
ओली र बालेनले आफै चलाउँदैनन् आफ्नै बैंक खाता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह (बालेन)को निर्वाचन प्रयोजनका लागि खोलिएको बैंक खाता प्रतिनिधिले नचलाएको खुलेको छ । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई खाता खोल्न निर्देशन दिएको थियो । तर, ओली र बालेनले आफ्नो बैंक खाता आफ्ना प्रतिनिधिले चलाउने गरी कागज बनाएका हुन् । रोमनाथ ओली र रामनाथ गौतमले अध्यक्ष ओलीको प्रतिनिधि बनेर बैंक खाता चलाउने निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ । त्यस्तै, बालेन्द्र शाहको खाता उनका प्रतिनिधि नवीन भण्डारीले चलाउन पाउनेगरी कागजात बनाइएको छ । झापाका विभिन्न निर्वाचन क्षेत्रका ६५ जना उम्मेदवारले बैंक खाता खोलिसकेका छन् । निर्वाचन आयोगले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारहरूलाई आर्थिक अनुशासनमा बाँध्न र निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन यस्तो कदम चालिएको हो । आयोगले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ स्वीकृत गर्दै सबै उम्मेदवारलाई छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ । नयाँ व्यवस्थाअनुसार २५ हजार रुपैयाँभन्दा बढीको कुनै पनि आर्थिक सहयोग प्राप्त गर्दा अनिवार्य रूपमा बैंकमार्फत नै गर्नुपर्नेछ । नेपाली नागरिक वा संगठित संस्थाबाट प्राप्त हुने स्वेच्छिक सहयोगलाई पारदर्शी बनाउन रसिदको व्यवस्था गरिएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार निर्वाचन आचारसंहिताको दफा १६ ले निर्दिष्ट गरे बमोजिम खर्चको विवरण र बिल भरपाई तोकिएको समयभित्र आयोगमा बुझाउनु पर्नेछ ।