विकासन्युज

जेनजी आन्दोलनले ध्वस्त बनेको सिप्रदीको शोरुम ७० दिनमै ठडियो, ग्राहकलाई थप परिष्कृत सेवा दिने दाबी

काठमाडौं । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भएको सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड अन्तर्गतको टाटा मोटर्सको थापाथलीस्थित मुख्य शोरूम ७० दिनमै पुन:निर्माण गरी सोमबारबाट पुनः सञ्चालनमा आएको छ । कम्पनीले सोमबार (आज) रुद्री पूजा र होम गरेर शोरूमको औपचारिक उद्घाटन गरेको हो ।  सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडका महाप्रबन्धक शावन्तजंग सिजापतिले आन्दोलनका क्रममा आफ्नो शोरूम र केही सवारीसाधनमा ठूलो क्षति पुगेको जानकारी दिए ।  उनले विकासन्युजसँग भने, ‘हामीले सन् २०१६ मा उद्घाटन गरेको यो शोरूम आन्दोलनका क्रममा नराम्ररी प्रभावित भयो । हाम्रा केही गाडी र हाम्रो मुख्य शोरूमको पूर्वाधारमा ठूलो क्षति भयो ।’ महाप्रबन्धक सेजापतिका अनुसार शोरूमको डिस्प्लेमा राखिएका ६ वटा विद्युतीय गाडी (ईभी) पूर्ण रूपमा जलेर खरानी भएका थिए भने अन्य दुईवटा गाडीमा तोडफोड गरिएको थियो । उनले क्षति बाबजुद एउटा सकारात्मक पक्ष पनि औंल्याए ।  बजारमा विद्युतीय गाडीको ब्याट्रीमा आगो लागे पड्किन सक्छ भन्ने भ्रम फैलिएकोमा जलेका ६ वटै विद्युतीय गाडीका ब्याट्रीमा कुनै बिस्फोट नभएको उनले बताए । यसले विद्युतीय गाडीको सुरक्षाबारेको भ्रम चिर्न मद्दत पुगेको उनको भनाइ थियो । गाडीबाहेक शोरूमको ८० प्रतिशत संरचनामा क्षति पुगेको थियो । क्षतिको बाबजुद ग्राहक सेवामा भने कुनै कमी आउन नदिएको सेजापतिले दाबी गरे ।  उनका अनुसार कम्पनीका वर्कशपहरू प्रभावित नभएकोले टाटाका गाडी प्रयोग गर्ने ग्राहकहरूले सर्भिसमा निरन्तरता पाएका थिए । बिक्रीतर्फ भने मुख्य शोरूममा क्षति पुगेपछि पछाडिको सानो खाली ठाउँमा अस्थायी शेल्टर बनाएर बिक्री सेवा दिइएको थियो ।   उनले अब नयाँ ढङ्गले सञ्चालनमा आएको शोरूमबाट पहिलेभन्दा राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत जनाए । कर्मचारीहरूको सुविधामा कुनै कटौती नभएको र उनीहरूलाई बिदा दिनु नपरेको सेजापतिले स्पष्ट पारे । ‘हामीले दुई दिनभित्रै अस्थायी शोरूमबाट काम सुरु गरिसकेका थियौं । हाम्रो काममा कुनै रोकतोक भएन । हामी त जहाँ बसेर पनि काम गर्छौं । तर ग्राहकलाई राम्रो अनुभव होस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।  उनले शोरुममा आगजनी भए पनि आफूहरुको मनोबल नखस्किएको बताए । उनले अब थप ऊर्जावान बनेको सुनाए । उनले ४४ वर्षदेखि नेपालमा व्यवसाय गर्दै आएको सिप्रदी नेपालको सबैभन्दा ठूलो नेटवर्क भएको र कमर्सियल गाडी तथा विद्युतीय गाडी दुवैमा हिस्सा राम्रो रहेको सुनाए ।  टाटा नेक्सन ईभी, टियागो ईभी, पञ्च ईभी जस्ता मोडलको सफलताले कम्पनीलाई पहिलो नम्बर पुर्याएको उनको भनाइ छ । नयाँ शोरूममा ग्राहकका लागि छुट्टाछुट्टै लाउञ्ज र पहिलेभन्दा अझ ग्राहकमैत्री वातावरण सिर्जना गरिएको उनले बताए ।  सिजापतीका अनुसार भारतमा टाटा सिएराको पुनः लन्चको तयारी भइरहेको र त्यो गाडी नेपालमा पनि ल्याउने जानकारी दिए । सिप्रदीले नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा पुरस्कार प्राप्त गरेको र करिब ८०० स्थायी तथा १५०० अस्थायी कर्मचारीलाई रोजगारी दिएर राष्ट्र निर्माणमा योगदान गरिरहेको उनले उल्लेख गरे ।  हाल सिप्रदीसँग नेपालभर ३८ वटा डीसी फास्ट चार्जर रहेको र अहिले बजारमा पर्याप्त चार्जर उपलब्ध रहेकाले चार्जिङको समस्या त्यति नरहेको उनले बताए । ग्राहकको मागअनुसार आवश्यक परेका ठाउँमा चार्जिङ स्टेशन थप्न कम्पनी जहिले पनि तयार रहेको उनको भनाइ थियो ।  सेजापतिले पछिल्लो ७० दिनमा धैर्य धारण गरी अस्थायी शोरूममा आएका सम्पूर्ण ग्राहकहरूलाई टाटा मोटर्सको नयाँ शोरूममा स्वागत गर्न तयार रहेको बताए । सन् २०२२ देखि विद्युतीय सवारी (ईभी) मा आक्रामक बजार विस्तार गरिरहेको सिप्रदी नेपालमा सबैभन्दा धेरै ईभी बेच्ने कम्पनीका रूपमा चिनिन्छ । यो कम्पनी भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता हो ।  

दूधकोशी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एडीबीलाई मन्त्री घिसिङको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एशियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेका छन् । एडीबी दक्षिण एसिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडीबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग सोमबार भएको भेटमा मन्त्री घिसिङले दूधकोशीको वित्तीय व्यवस्थापन धेरै लामो समयदेखि चर्चामा रहेकाले यसलाई तत्काल टुंगो लगाइनुपर्ने बताए । आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर (करिब दुई खर्ब २५ अर्ब रुपैयाँ ) रहेको छ । यसमध्ये ऋणबाट एक अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी स्वपुँजीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ । एडीबीको नेतृत्वमा विभिन्न अन्तर्राष्टिय वित्तीय संस्थाबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुने छ । यसमध्ये एडीबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ । आयोजनाको हाल निर्माणपूर्वका तयारीका काम भइरहेका छन् । भेटमा मन्त्री घिसिङले खानेपानी, सडक, सिँचाइ, विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।काठमाडौं उपत्यकाका विभिन्न चोकको ट्राफिक व्यवस्थापनका लागि फ्लाइओभर, सुरुङमार्गलगायतको सम्भाव्यता अध्ययनका लागि आवश्यक सहायता उपलब्ध गराउन घिसिङले आग्रह गरे । उनले एडीबीको सहायतामा सञ्चालित आयोजनामा वन क्षेत्रका जग्गा प्रयोग एवम् रुख कटान, जग्गा प्राप्ति, ऐलानी जग्गाको क्षतिपूर्तिलगायत वातावरणीय तथा सामाजिक सुरक्षणका विषय कार्यान्वयनमा देखिएका समस्या समाधान गरिने र कार्यान्वयन गर्ने निकायका संस्थागत क्षमता विकास गर्दै जाने बताए । सहायतामा सञ्चालित आयोजनाको खर्च गर्ने क्षमता बढाउन, जग्गा अधिग्रहण तथा ऐलानी जग्गाको क्षतिपूर्तिमा देखिएको समस्या समाधान गर्न, आयोजना कार्यान्वयन गर्ने निकायको क्षमता अभिबृद्धि गर्न एडीबीकातर्फबाट अनुरोध गरिएको थियो ।

एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्ति विवरणका लागि अनलाइन पोर्टल सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्रीमा राख्दै आएका बैंकिङ तथा गैर–बैंकिङ सम्पत्ति र धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको विस्तृत विवरण उपलब्ध गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त पोर्टलमार्फत लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापसहितका सम्पूर्ण जानकारी एउटै प्लेटफर्मबाट प्राप्त गर्न सकिनेछ । ग्राहकहरूले लिलाम सम्बन्धी प्रकाशनमा उपलब्ध क्युआर कोड स्क्यान गरी उक्त पोर्टलमा प्रवेश गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा ग्राहकहरूले पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखी सो सम्पत्तिबारे मेल पठाउन सक्ने सुविधा समेत प्रदान गरिएको छ । बैंकका अनुसार पोर्टलमा बैंकिङ, गैर–बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका लिलाम योग्य सम्पत्तिहरूको जानकारी नियमित रूपमा प्रकाशन गरिनेछ । जसले लिलाममा राखिएका सम्पत्तिहरूबारे विस्तृत विवरण प्राप्त गरी खरिदमा रुचि राख्ने ग्राहकहरूलाई सहज र पारदर्शी पहुँच उपलब्ध गराउने बैंकको विश्वास छ ।

सुदूरपश्चिममा पर्यटन प्रर्वद्धनात्मक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रर्वद्धनात्मक बृहत अन्तरक्रिया कार्यक्रम कैलालीको अत्तरियामा सम्पन्न भएको छ । शनिबार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालको आयोजनामा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि गर्नुपर्ने कामका बारेमा छलफल भएको थियो । कार्यक्रममा उपस्थित सरोकारवालाहरूले पर्यटकीय क्षेत्रको संरक्षण, सम्बर्द्धनका साथै पर्यटकको लागि आवश्यक सुविधाहरूको व्यवस्था हुनुपर्ने विषय उठाएका थिए । होटल व्यवसायी सहासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घ नारायण कोइराला प्रमुख अतिथि र नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्ट विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा गोदावरी नगरपालिकाका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिसँगै सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

बढ्यो सेयर बजार, ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ अंकले बढेर २५५० बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार १६७ कम्पनीको सेयर मूल्य बढ्दा ७६ कम्पनीको मूल्य घटेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३५ कम्पनीको ८८ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको भएको छ । साहसको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै शिवम् सिमेन्टको १६ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १५ करोड ८० लाख, राधी विद्युत कम्पनीको १५ करोड ३२ लाख र युनियन हाइड्रोको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बन्दीपुर केबलकारको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सागर डिस्टीलरी, बुंगल हाइड्रो र झापा इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । सोमबारको कारोबारमा समूहमा नन लाइफ इन्स्योरेन्स र अन्यको सूचक बाहेक अरु सबै सूचक बढेका छन् । बैंकिङ ०.१३, विकास बैंक १.५०, फाइनान्स ०.५६, होटल तथा पर्यटन १.०८, हाइड्रोपावर ०.८८, लगानी ०.५३, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.३४ तथा व्यापार समूह ०.०९ प्रतिशतले बढेका छन् ।

शेख हसीनालाई बंगलादेशको अदालतले सुनायो मृत्युदण्ड, मानवता विरुद्धको अपराधमा दोषी ठहर

काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसीनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ । शेख हसीनामाथि गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहको क्रममा मानवता विरुद्ध अपराधको आरोप तय गरिएको थियो । भारतमा निर्वासनमा रहेकी शेख हसीनाको गैरहाजिरीमा उनीविरुद्ध मुद्दा चलाइएको थियो । न्यायाधीश मोहम्मद गुलाम मुत्र्जा मजूमदारको अध्यक्षतामा रहेको तीन सदस्यीय अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण- १ ले यो फैसला सुनाएको हो । शेख हसीनासहित तीनै अभियुक्तलाई न्यायाधीकरणले दोषी ठहर गरेको छ । उनीमाथि लगाइएका पाँचमध्ये दुई घटनामा मृत्युदण्ड दिइएको छ भने अर्को घटनामा आजीवन कारावासको फैसला सुनाइएको छ । त्यसैगरी, पूर्वगृहमन्त्री असदुज्जमाँ खान कमाललाई पनि मृत्युदण्ड सुनाइएको छ । पूर्वआईजी पुलिस अब्दुल्ला अल मनूनलाई सरकारी साक्षी बनेपछि पाँच वर्षको सजाय दिइएको छ । शेख हसीनालाई मृत्युदण्ड सुनाउँदै गर्दा अदालत भित्र र बाहिर ठूलो संख्यामा मानिसहरू उपस्थित थिए । साना–साना समूहहरूमा रहेका मानिसहरूले फाँसीको नाराहरू लगाइरहेका थिए ।  ४५३ पृष्ठको फैसला पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजूमदारले भनेका थिए कि यो फैसला छ भागमा सुनाइनेछ । बंगलादेश टेलिभिजनमा फैसला घोषणा प्रत्यक्ष प्रसारण गरिएको थियो । जुनमा अभियोजन पक्षले बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा शेख हसीनासहित तीन व्यक्तिविरुद्ध आधिकारिक रूपमा पाँच आरोप दायर गरेको थियो । यसको आधारमा न्यायाधिकरणले शेख हसीना र पूर्वगृहमन्त्री असदुज्जमाँ खान कमालविरुद्ध पक्राउ पूर्जी पनि जारी गरेको थियो । गत वर्ष सरकार विरोधी प्रदर्शनको समयमा बंगलादेशमा धेरै हिंसात्मक घटनाहरू भएका थिए । त्यसबेला प्रधानमन्त्री शेख हसीनामाथि मानवता विरुद्ध भएका अपराधमा संलग्न भएको आरोप लागेको थियो । यस आन्दोलनको कारण शेख हसीनाले सत्ता गुमाउनु परेको थियो र अगस्त २०२४ मा देश छोड्नुपरेको थियो । तबदेखि उनी भारतमा बसिरहेकी छिन् । गत जूनमा आरोप तय हुँदा मुख्य अभियोजक ताजुल इस्लामले दाबी गरेका थिए कि गत वर्ष जुलाई–अगस्टमा १४०० मानिसको हत्या भएको थियो र करिब २५ हजार घाइते भएका थिए । अभियोग पक्षले मृत व्यक्तिहरूको सूची पनि न्यायाधीकरणलाई बुझाएको थियो । पूर्वप्रधानमन्त्री शेख हसीनासहित तीनै अभियुक्तविरुद्ध दायर आरोपको समर्थनमा ७४७ पृष्ठका दस्तावेज पनि न्यायाधीकरणमा पेश गरिएको थियो । तीनै अभियुक्तमाथि हत्या, हत्या प्रयास, षड्यन्त्र, सहायता र प्रोत्साहन, उक्साउने र तिनीहरूमा संलग्न हुने जस्ता पाँच आरोप लगाइएको थियो । ताजुल इस्लामले न्यायाधीकरणलाई जानकारी दिएका थिए कि ती पाँच आरोपमा १३ जनाको हत्या पनि समावेश छ । बंगलादेशमा रजाकार शब्द देशद्रोही वा गद्दारको रूपमा प्रयोग हुने अपमानजनक शब्द हो । यो शब्द १९७१ को बंगलादेश मुक्तिको युद्धमा पाकिस्तानी सेनासँग मिलेर काम गर्ने र भयानक अपराधमा संलग्न भएकाहरूमाथि प्रयोग हुन्छ । षड्यन्त्रको आरोपसहित भनिएको छ कि यी सबै अपराध अभियुक्तहरूको जानकारीमा गरिएका थिए । शेख हसीनासहित तीनै व्यक्ति विरुद्ध रंगपुरको बेगम रोकैया विश्वविद्यालयका छात्र अबु सईदको हत्या र राजधानीको चंखर पुलमा छ जनाको हत्या गर्ने आरोप पनि लगाइएको छ । त्यसबाहेक गत वर्ष ५ अगस्टमा जब उनी बंगलादेश छोड्न बाध्य भएकी थिइन् तबअशुलियामा पाँच जनाको गोली हानी हत्या, शव जलाउने र एक व्यक्तिलाई जीवित जलाउने आरोप पनि उनीमाथि लगाइएको थियो ।

कफी उत्पादनमा २८ प्रतिशतले वृद्धि भए पनि मागअनुसार अझै कमी

काठमाडौं । नेपालमा कफी उत्पादन २८ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सोमवार २१ औँ राष्ट्रिय कफी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा कफी उत्पादन वृद्धि भएको जानकारी दिएको हो ।  बोर्डका कृषि विकास अधिकृत गौरव लुइँटेलले आर्थिक वर्ष २०८१/८२ मा नेपालले ६ सय ४१ दशमलव ९ मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको बताए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ५०१ दशमलब ३ मेट्रिक टन कफी उत्पादन भएको थियो ।  लुइँटेलले पछिल्लो समय कफी रोपणको क्षेत्रमा पनि वृद्धि भएको जानकारी दिए । पछिल्लो ५ वर्षमा कफीको उत्पादन र कफी रोपण क्षेत्रमा पनि वृद्धि भईरहेको बताए । यद्यपि नेपालको मागअनुसार भने उत्पादन हुन नसकेको उनको भनाइ छ । उनले उत्पादन धरै कम भएपनि पछिल्लो वर्षहरुमा भने क्रमशः बढीरहेको जानकारी दिए ।   उनले नेपालले कफी आयात र निर्याद दुवै गर्ने बताए । महँगो कफी निर्यात गरेर सस्तो मूल्यको कफी आयात गर्ने गरेको उनको भनाइ छ । उनले आर्थिक वर्ष २०८१/८२ मा नेपालले १४ करोड ४१ लाख रुपैयाँ बराबरको २३० मेट्रिक टन कफी आयात गरेको जानकारी दिए ।  सोही अवधिमा ११ करोड ४३ लाख रुपैयाँ बराबरको ६४ मे.टन कफी निर्यात भएको छ । बोर्डका अनुसार नेपालमा कफी उत्पादन २०७०/७१ को ४२९ मे.टनबाट २०८१/८२ मा ६४१ दशमलव ९ मे.टन पुगेको छ । तर त्यही अवधिमा कफी आयात झनै तीव्र रूपमा बढेको देखिन्छ ।  २०८१/८२ मा कफी आयात २३४ मे.टन रहँदा आयात मूल्य १४ करोड नाघेको छ । निर्यात भने अघिल्लो वर्षको तुलनामा घट्दै ६३ हजार ९९८ किलोमा झरेको छ । अघिल्लो वर्षमा ८८ हजार ८५६ किलो कफि निर्यात भएको थियो । बोर्डले सोमवारदेखि लागू हुनेगरी कच्चा कफीको न्युनतम मूल्य पनि तोकेको छ । मूल्य गत वर्षकै दर कायम गरिएको हो । बोर्डका अनुसार फ्रेस चेरी कफी ग्रेड ए को मूल्य प्रतिकेजी १०५ रुपैयाँ र  ग्रेड बी को ९५ रुपैयाँ तोकिएको छ ।  पार्चमेन्ट कफीको भने ग्रेड ए को प्रति केजी ५३५ रुपैयाँ र ग्रेड बी को प्रति केजी ४८२ रुपैयाँ ताकिएको छ । ड्राइ चेरी कफीको ग्रेड ए को प्रतिकेजी २८० र ग्रेड बी को प्रति केजी २४७ रुपैयाँ तोकिएको बोर्डले जनाएको छ । वोर्डले बोर्डले ‘कफी खेती गरौँ, स्वरोजगार बनौँ’ नारासहित २१ औँ राष्ट्रिय कफी दिवस मनाएको हो । कफी दिवसको अवसरमा कफी प्रदर्शनी समेत गरिएको थियो । 

सर्वाधिक कर तिर्ने रेमिट्यान्स आइएमई

काठमाडौं । रेमिट्यान्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेललाई उक्त सम्मान प्रदान गरे । सीईओ पौडेलले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आइएमईका लागि गौरवको विषय रहेको बताए । कर दिवस समारोहलाई सम्बोधन गर्दै आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले करदाताको सम्मानसँगै सुरक्षालाई पनि प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।  सन् २००१ मा स्थापना भएको आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।  यस योगदानका आधारमा आइएमईले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरिरहेको छ । यसअघि पनि पटक–पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा आइएमई सम्मानित हुँदै आएको छ । आइएमईको विभिन्न देशमा १०० भन्दा बढी व्यावसायिक साझेदार नेटवर्क रहेका छन् ।