विकासन्युज

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा कृषि विकास बैंक, आशा लघुवित्त वित्तीय संस्था र शिवम् सिमेन्टको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार कृषि विकास बैंकको ३.२५ प्रतिशत बोनस बापतको ४५ लाख २ हजार ९४७ कित्ता, आशा लघुवित्तको ९.५ प्रतिशत बोनस बापतको ६ लाख ९६ हजार ३९३ कित्ता र शिवम् सिमेन्टको २.५ प्रतिशत बोनस बापतको १३ लाख ६४ हजार २०२ कित्ता सेयर सूचीकृत भएको हो । 

१ लाख बढी मतदाताको सहभागितामा कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ । नेपाली कांग्रेस मधेश प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुन लागेको प्रतिज्ञा सभामा प्रतिज्ञा पत्र सार्वजनिक गरिने भएको हो । प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उप-सभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मधेशको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रुपमा कांग्रेसले लिएको छ । मधेशको माटोले सधैं प्रजातन्त्र, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको कांग्रेसका नेताहरूले बताउने गरेका छन् । मधेश आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेन्डाका रूपमा आत्मसात गरेको नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको भनाइ छ ।  यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति गगन कुमार थापा स्वयं मधेशको जिल्ला सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार बनेर मधेशको जनतासँग प्रत्यक्ष जोडिनुभएको छ । यो केवल चुनावी रणनीति मात्र नभई मधेश र राष्ट्रिय राजनीतिबीचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो ।’ मधेशको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापारको विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्य योजनासहित कांग्रेस अगाडि बढ्ने यादवको अठोट छ। प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको उनले जानकारी दिए । जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञा पत्रका बारेमा काठमाडौंमा पनि पत्रकार सम्मेलन गरेर जानकारी दिइने भएको छ। आज दिउँसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले प्रतिज्ञा पत्रबारे जानकारी दिने कांग्रेसले जनाएको छ ।

काठमाडौं-तराई द्रुतमार्गको डीपीआर संशोधन, ३.३ किलोमिटर तल फर्सिडोलमा शुल्क संकलन गरिने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं-तराई/मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छिन् । ललितपुरको खोकनामा धार्मिक-सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायका तर्फबाट चासो व्यक्त भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी हुन् ।  यसअघि गत माघ १३ गते प्रधानमन्त्री कार्कीले निर्माणाधीन द्रुतमार्गको निरीक्षण भ्रमण पनि गरेकी थिइन् । त्यसक्रममा उनले विकास निर्माणका काम गर्दा स्थानीयका सरोकारलाई गम्भीरता पूर्वक लिनुपर्ने बताएकी थिइन् । साथै सुरु विन्दु परिवर्तन गरेर भए पनि राष्ट्रिय गौरवको यो आयोजना चाँडो सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ थियो । मंगलबार प्रधानमन्त्री कार्कीले अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईँ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, प्रधान सेनापति अशोकराज सिग्देलसहित द्रुतमार्ग आयोजनासँग सम्बन्धित अधिकारीहरू, सम्बन्धित मन्त्रालयका सचिवहरूलाई बोलाएर छलफल गरेकी थिइन् ।  यसक्रममा नेपाली सेनाका तर्फबाट आयोजनामा हालसम्म भएको प्रगति, समस्याहरू र सरकारसँग अपेक्षाका विषयमा ब्रिफिङ भएको थियो । सबै सम्बन्धित निकायका अधिकारीहरूलाई राखेर उहाँले विकास निर्माणका काममा अनावश्यक ढिला सुस्ती नगर्न र विवादमा अल्झिएर पनि नबस्न निर्देशन दिइन् ।  ‘विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती गर्नु हुँदैन। सकेसम्म विवादको समाधान गर्ने हो। तर विवाद भयो भने अनिश्चितकालसम्म त्यहीँ अल्झिएर हुँदैन । विकल्प खोजेर अघि बढ्नुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अब विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरौँ । सुरु विन्दु खोकना हुँदैन भने जहाँ कुरा मिल्छ, त्यहीँबाट प्रस्थानविन्दु कायम गरौँ । आयोजनाको काम जहाँसम्म सम्पन्न हुन्छ, त्यहाँसम्म भए पनि सञ्चालन गरौँ ।’ ठूलो लगानीको आयोजना अनिश्चितकालसम्म लम्बिँदै गएमा आर्थिक बोझ थेग्न गाह्रो पर्न सक्ने भएकाले पनि चाँडो सञ्चालन हुने गरी निकास खोज्नुपर्ने उनको धारणा थियो । अब उनको निर्देशन बमोजिम खोकनाभन्दा ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा (शुल्क संकलन गृह) निर्माण गर्ने गरी डीपीआर संशोधन हुने भएको छ ।

एआईमा भारतको लगानी २ वर्षमा २०० अर्ब डलरभन्दा बढीको सम्भावना

काठमाडौं । भारतका इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले मङ्गलबार आगामी २ वर्षमा देशमा कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा २०० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी हुने सम्भावना रहेको बताएका छन् । मन्त्री वैष्णवले उक्त जानकारी भारत ‘कृत्रिम बौद्धिकता प्रभाव सम्मेलन २०२६’ को अवसरमा प्रेस सम्मेलनमा साझा गरेका थिए । उनले सम्मेलनमा देशभरका मानिसहरूको ठूलो सहभागिता देखिएको उल्लेख गरे । यस सम्मेलनले भारतमा कृत्रिम बौद्धिकता क्षेत्रको महत्व र सम्भावनालाई व्यापक रूपमा प्रस्तुत गरेको छ । उनले भने, ‘विश्वका प्रमुख कम्पनीका कार्यकारीहरूले नयाँ प्रविधि सम्बन्धी स्टार्टअप तथा पूर्वाधार परियोजनामा उच्च रुचि देखाइरहेका छन् । यसले भारतमा प्रविधि क्षेत्रको वृद्धि र नव प्रवर्तनलाई प्रोत्साहन गर्नेछ ।’ वैष्णवले सम्मानजनक शैलीमा भारतले विश्वका नेताहरूबीच कृत्रिम बौद्धिकताको सही र जिम्मेवार प्रयोग सुनिश्चित गर्न पहल गर्ने जोड दिए । यसले कृत्रिम बौद्धिकतालाई मानव समाजको भलोमा प्रयोग गर्न मद्दत पुर्याउने उनको विश्वास रहेको छ । मन्त्रीले भने, ‘हालको अवस्थामा कृत्रिम बौद्धिकता प्रणालीमा केही चुनौती र कठिनाइहरू अवश्य छन् । ती समस्याहरू प्रविधि र कानूनी उपायहरू मार्फत समाधान गर्न आवश्यक छ । यसले मात्र एआई प्रणालीको दिगो र उत्तरदायी विकास सम्भव हुनेछ ।’ वैष्णवले सम्मेलनमा सहभागी सबैलाई आभार व्यक्त गर्दै यस्तो सम्मेलनले देशमा नयाँ सोच र नव प्रवर्तनको वातावरण सिर्जना गर्ने र कृत्रिम बौद्धिकता क्षेत्रलाई अझ समृद्ध बनाउने बताए । 

बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब

काठमाडौं । बेलायतमा बेरोजगारी दर पछिल्ला पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ । हालै सार्वजनिक गरिएको तीन महिनाको श्रम बजारसम्बन्धी विवरण अनुसार बेरोजगारी दर ५.२ प्रतिशत पुगेको छ ।  यस अवधिमा करिब १८ लाख ८३ हजार मानिस रोजगारी विहीन रहेका छन् । उक्त तथ्याङ्क ‘अफिस फर नेशनल स्ट्याटिस्टिक्स’ ले सार्वजनिक गरेको हो । यसै अवधिमा रोजगार दर ७५ प्रतिशत कायम रहेको छ भने करिब २०.८ प्रतिशत जनसङ्ख्या आर्थिक रूपमा निष्क्रिय रहेको देखिएको छ, जसमा विद्यार्थी, दीर्घ रोगी तथा काम खोज्न निरुत्साहित भएका व्यक्तिहरू समावेश छन् । विज्ञहरूका अनुसार बढ्दो जीवनयापन खर्च, आर्थिक वृद्धिमा सुस्तता तथा निजी क्षेत्रको भर्ती प्रक्रियामा कमी आउनु बेरोजगारी वृद्धि हुनुका मुख्य कारण हुन् । श्रम बजारमा देखिएको सुस्तताप्रति बैंक अफ इङ्ग्ल्यान्डले पनि चिन्ता व्यक्त गरेको छ । केन्द्रीय बैंकले आगामी महिनाहरूमा रोजगार सिर्जना दर कमजोर रहन सक्ने सङ्केत गर्दै बेरोजगारी अझ बढ्न सक्ने चेतावनी दिएको छ । यस अवस्थाले देशको समग्र अर्थतन्त्र, उपभोग क्षमता र कर संकलनमा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।

विभिन्न कार्यक्रम गरी आज ग्याल्पो ल्होसार मनाइँदै

काठमाडौं । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात् नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ । नयाँ वर्षका रुपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ । यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्दछ । यस अवसरमा गुम्बा दर्शन, धर्म गुरु र लामाबाट आशीर्वाद प्राप्त गर्ने परम्परा, विशेष परिकार खाप्से, डेशिल, गुथुक आदिको स्वाद लिनु र परिवारसँग मिलेर उल्लास पूर्वक समय बिताउनु नेपालीहरूको मौलिक पहिचान हो ।

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौं । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ । सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ । विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ । यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम सङ्कलन हुने जनाएको छ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले स्पष्ट पारेको छ । 

स्वीकृति नलिई भित्तेपात्रो छापे १ लाखसम्म जरिवाना, स्वीकृतिका १० हजारसम्म शुल्क लाग्ने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रो छापे १ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको हो ।  समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले कानुनअनुसार समितिबाट स्वीकृति नलिई पात्रो तथा क्यालेन्डर प्रकाशन गर्न नपाइने बताए । ‘समितिबाट स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइँदैन, यदि कसैले स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गरे एक लाखसम्म जरिवाना हुन्छ,’ कार्यकारी निर्देशक पन्थीले भने । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश २०७७ को दफा ७ (ञ) र (ढ) मा समितिबाट स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइने भन्ने व्यवस्था छ । उक्त समितिको दिग्दर्शनको परिच्छेद १५ मा स्वीकृत नलिई पात्रो तथा क्यालेन्डर प्रकाशन गरे १० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । कसैले स्वीकृत नलिई पात्रो वा क्यालेन्डर प्रकाशन गरेको विषयको अनुगमन गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई तोकिएको छ । कार्यकारी निर्देशक पन्थीले पात्रो र भित्तेपात्रो प्रकाशन गर्ने सबै संस्था, कम्पनी, निकाय वा व्यक्तिलाई अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने बताए ।  बेच्ने प्रयोजनको लागि प्रकाशन गरिएका र निःशुल्क वितरण गर्न लागिएका पात्रो वा भित्तेपात्रो प्रकाशनको लागि अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने हुन्छ । समितिले भित्तेपात्रो प्रकाशनको स्वीकृतिका लागि शुल्क तय गरेको छ । समितिले शैक्षिक संस्थाले प्रकाशन गर्ने क्यालेन्डरको स्वीकृतिका लागि २ हजार रुपैयाँ, निःशुल्क वितरण गर्न प्रकाशन गरिने क्यालेन्डरको स्वीकृतिका लागि ५ हजार रुपैयाँ र मूल्य राखेर प्रकाशन गरिने क्यालेन्डर स्वीकृतिमा १० हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ ।