मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने
पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । कालोेपत्रको काम धमाधम भइरहेको सडकखण्डमा सवारीसाधन आवतजावत गर्दा समस्या भएपछि मंसिर १ गतेदेखि २० गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो । सवारीसाधन आवतजावत गर्दा कालोपत्र गर्ने कार्य प्रभावित भएपछि बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोको अनुरोधमा एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक बाहेकका सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले अनुरोध गरेका छन् । कुश्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिका ८, ७, ४ र ३ वडा हुँदै म्याग्दीको बेनी जोड्ने १३ किमी दुरीमा दुई लेनको सडक स्तरोन्नति भइरहेको छ । उक्त सडक बन्दको समयमा मालढुंगा, बागलुङबाट रत्नेचौर हुँदै बेनीको सडक प्रयोग गर्न सकिन्छ । ठेकेदारको ढिलासुस्ती र आयोजना पक्ष निरिह हुँदा विसं २०७७ साल चैत्र महिनामा रु ५२ करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको ठेक्का अहिलेसम्म पूरा हुन सकेको छैन । विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ ।
भिभो बन्यो एनपीएलको आधिकारिक स्मार्टफोन पार्टनर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण ‘फेस्टिभल अफ द हिमालयज’ मंसिर १ गतेबाट औपचारिक रूपमा सुरु हुँदैछ । महोत्सवको पूर्वसन्ध्यामा विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभो पुनः नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गर्दै एनपीएलको आधिकारिक स्मार्टफोन पार्टनर बनेको घोषणा गरेको छ । भिभोले साझेदारीसम्बन्धी घोषणा आफ्नो तथा एनपीएलको आधिकारिक फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेको हो । प्रतियोगिता प्रारम्भ हुनुअघि नै गरिएको यो घोषणाले क्रिकेटप्रेमीहरूमा थप उत्साह, ऊर्जा र अपेक्षा जगाएको छ । पहिलो संस्करण सफल रूपमा सम्पन्न भएपछि यस वर्षको एनपीएल अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागितासहित २७ दिनसम्म चल्ने यस लिगलाई नेपाली क्रिकेटको उत्सवका रूपमा हेरिएको छ । भिभोले सहकार्यमार्फत नेपालमा खेलकुद, विशेषगरी क्रिकेटको विकासप्रति आफ्नो निरन्तर प्रतिबद्धता दोहोर्याएको छ । अत्याधुनिक प्रविधि, फ्यान–केन्द्रित गतिविधि र मनोरञ्जनात्मक कार्यक्रममार्फत यस वर्ष फ्यानहरूको खेल अनुभवलाई अझ प्रभावशाली बनाउन भिभोले लक्ष्य लिएको जनाएको छ । भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भोलिदेखि सुरु हुने एनपीएलप्रति उत्साह प्रकट गर्दै भने, 'क्रिकेट नेपालीहरूलाई एकै ठाउँमा जोड्ने खेल हो । भिभो हरेक वर्ष फ्यानहरूको उत्साहलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित एनपीएलको यात्रा पुनः निरन्तरता दिन पाउँदा अत्यन्त खुशी छ ।' नेपाल क्रिकेट संघ (क्यान)का महासचिव पारस खड्काले भिभोको निरन्तर सहकार्यले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुगेको बताए । उनले भने, 'एनपीएल नेपाली खेलाडीहरूका लागि प्रतिभा प्रदर्शन गर्ने महत्त्वपूर्ण मञ्च बनेको छ । दोस्रो संस्करणले खेलाडी र फ्यान दुवैलाई नयाँ प्रेरणा र अवसर प्रदान गर्नेछ ।' प्रतियोगिताको अवधिभर भिभोले फ्यानहरूलाई लक्षित विविध डिजिटल तथा ग्राउण्ड एक्टिभेशन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यी गतिविधिहरूले फ्यान संलग्नता, मनोरञ्जन र क्रिकेटप्रतिको आकर्षणलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
तीन महिनामा सलिकोको नाफाबाहेक अधिकांश सूचक बढ्यो
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ऋणात्मक रहेको छ । वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीको नाफा २६ करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको नाफा ८ करोड ९५ लाख रुपैयाँले घाटामा थियो । नाफा ऋणात्मक भएपनि सलिकाको अन्य अधिकाश सूचक भने बढेको छ । तीन महिनाको अवधिमा कम्पनीले समीक्षा अवधिसम्ममा कम्पनीले १ अर्ब २६ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७७ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ६२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीले ६२ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३१ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९९ प्रतिशतले वृद्धि भएको छ । तीन महिनाको अवधिमा कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा पनि कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ नै थियो । कम्पनीको महाविपत्ति कोषमा २३ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १७ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा ४३ करोड ३४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २३ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४४ करोड १६ लाख रुपैयाँ र अन्य इक्युटीमा ५३ करोड ९४ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४०.७८ रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, पीई रेसियो १४.७६ रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ २२९.४८ रुपैयाँ रहेको छ ।
सोलुमा जहाज टिकटको संकट : सर्वसाधारणले पावरबिना टिकट पाउन मुस्किल
सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्कीलाई शनिबार अचानक काठमाडौं जानुपर्ने बाध्यता आयो । अत्यावश्यक काम परेपछि उनले फाप्लुस्थित नेपाल एयरलाइन्सको कार्यालयमा फोन गरेर टिकट मागे, तर जवाफ फेरि–फेरि एउटै रह्योस् 'टिकट छैन ।' यही अनुभवले कार्की मात्र होइन, समग्र तल्लो सोलुखुम्बुका सर्वसाधारणको विमान सेवासँगको वर्तमान अवस्था स्पष्ट गरेको छ । अन्ततः कार्की सडकमार्ग रोज्न बाध्य भए । स्थानीय सल्लेरीका रश्विन मगरले भने, 'यो व्यक्तिगत समस्या मात्र होइन, सोलुखुम्बुमा विमान सेवा कति अव्यवस्थित, पहुँचवाला व्यक्तिको नियन्त्रणमा र सर्वसाधारणविरोधी बनेको छ भन्ने यथार्थ हो ।' हाल फाप्लु–काठमाडौं उडान हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) मात्रै संचालनमा छन् । निजी क्षेत्रका कम्पनीहरूले व्यस्तता र अनुकुलता नदेखाइ उडान तालिका हटाउँदा स्थानीयहरू नेपाल एयरलाइन्समै निर्भर हुन बाध्य छन् । तर सामान्य नागरिकले टिकट माग्दा 'छैन' भन्ने जवाफ पाउँछन्, जबकि उच्च पदस्थ वा पहुँचवाला व्यक्तिले तुरुन्तै टिकट पाउँछन् । सोलुकै सन्देश राईले भने, 'काठमाडौंबाट सोलु आउँदा सहज छ, तर सोलुबाट काठमाडौं जानु भनेको फलामको चिउरा चपाएसरह हो । विदेशी पर्यटकलाई प्राथमिकता दिने कारणले सामान्य यात्रुलाई सिट दिन समस्या हुन्छ ।' नेपाल एयरलाइन्स फाप्लुका स्टेशन इन्चार्ज तेन्जी शेर्पाले भने, 'विदेशी पर्यटकलाई प्राथमिकता दिनुपर्छ ।' स्थानीयहरूले भने विमान टिकट पाउन 'पावर' वा पहुँचवाला आफन्तको सहायताको आवश्यकता पर्नुलाई गम्भीर समस्या मान्छन् । यसबारे गुनासो काठमाडौंको ट्राभल्स एजेन्सीमा समेत आइरहेको छ । सोलुखुम्बु पर्यटनको आधार र सगरमाथाको प्रवेशद्वार भएकाले यहाँ हवाई टिकट जस्तो आधारभूत सेवा प्राप्त गर्न पावर आवश्यक पर्नु प्रशासनिक कमजोरी मात्र नभई सरकारले सम्बोधन गर्नुपर्ने नागरिक समस्या भएको स्थानीयहरूले जोड दिएका छन् ।
शिखर इन्स्योरेन्सको खुद बीमा शुल्क २९ करोड ७ लाख, यस्ता छन् अन्य सूचक
काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको सार्वजनिक गरेको वित्तीय विरणअनुसार कम्पनीको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीले १५ करोड ८५ लाख रुपैयाँ घाटा बेहोरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ११ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो । तीन महिनाको अवधिमा कम्पनीले ९० करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ८१ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११.०३ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३.०२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २८ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवको तीन महिनामा २९ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । असोजसम्ममा कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा पनि कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ नै थियो । कम्पनीको महाविपत्ति कोषमा १६ करोड ३० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा १६ करोड ३० लाख रुपैयाँ नै थियो । त्यस्तै, रिटेन्ड अर्निङ ६ करोड ७७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा रटेन्ड अर्निङमा २२ करोड ६३ लाख रुपैयाँ थियो । अघिल्लो आवको तीन महिनाको अवधिमा कम्पनीको अन्य इक्युटीमा ५८ करोड ४२ लाख रुपैयाँ रहेकोमा चालु आवको यही अवधिमा ५४ करोड २ लाख रुपैयाँ रहेको छ । सेयर पुँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २१.७० रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९२.६३ रुपैयाँ, पीई रेसियो २८.१४ रुपैयाँ रहेको छ ।
नबिल बैंकको मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
काठमाडौं । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौंमा आयोजित एक कार्यक्रममा नयाँ डेविट कार्ड जारी गरेको जनाएको छ । कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय सुविधा दिने बैंकको प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको बताए । उनले भने, 'बैंकले सुरुआतदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा उपलब्ध गराउँदै आएको छ, यसै यात्रामा नयाँ डेविट कार्ड जारी गरिएको हो ।' मास्टरकार्ड, दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलाले आफूहरु नयाँ डेविट कार्ड जारी गरी नबिल बैंकसँगको सहकार्यलाई थप बलियो बनाउन पाउँदा खुसी लागेको बताए । मास्टरकार्डमार्फत आफूहरु ग्राहकलाई सुरक्षित र सहज भुक्तानीको सुविधा उपलब्ध गराउन प्रतिबद्ध भएको उनको भनाइ छ । नयाँ डेविट कार्डमार्फत ग्राहकहरुले मास्टरकार्डको विश्वस्तरीय सञ्जाल तथा दैनिक जीवनमा नयाँ बैंकिङ सेवाको अनुभव लिन पाउने बैंकले जनाएको छ । बैंकका अनुसार नयाँ डेविट कार्ड आकर्षक डिजाइनमा उपलब्ध हुनेछ । जसमा शालीनता, स्वतन्त्रता र राष्ट्रिय गौरवको प्रतिक मानिने नेपालको राष्ट्रिय चरा डाँफेको चित्र अंकित गरिएको छ । मास्टरकार्डको नयाँ डेविट कार्ड प्रयोगकर्ताले प्रिमियम सुविधा पाउनेछन् । जसमा विभिन्न रेष्टुरेन्ट, स्पा, फिटसेन सेन्टर तथा मनोरञ्जनका क्षेत्रमा छुट उपलब्ध हुनेछ । नबिल बैंक मास्टरकार्डको एक प्रमुख सदस्य हो । नबिल बैंक नेपालमा मास्टरकार्डको क्रेडिट कार्ड जारी गर्ने नेपालको पहिलो बैंक पनि हो । बैंकले मास्टरकार्डको क्रेडिट कार्ड नेपाली रुपैयाँ र अमेरिकी डलरमा कारोबार गर्न मिल्ने गरी उपलब्ध गराउँदै आएको थियो । कार्ड प्राप्त गर्नका लागि ग्राहकले बैंकको कुनै पनि शाखा वा एनबैंक एपमार्फत आवेदन दिनसक्ने जनाइएको छ ।
जेनजी आन्दोलनकारीले दमकल समेत छोडेनन्, अपाङ्गता भएकाहरू बोक्ने बस पनि जलाए : चिरिबाबु महर्जन
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरपालिकाको काम नगरवासीलाई संरक्षण गर्ने र दिनचर्या झनै राम्रो बनाउने रहेको बताएका छन् । आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ललितपुर महानगरपालिकाको सबैभन्दा महत्वपूर्ण काम नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उनीहरुको दिनचर्या राम्रो पार्ने र कसरी उहाँहरुको इन्कम जेनेरेशनमा कसरी टेवा पुर्याउने ? भन्ने रहेको बताए । जेनजी आन्दोलनका क्रममा ललितपुर महानगरपालिकाले दमकलको सेवा ललितपुर नगर क्षेत्रमा मात्रै नभइ काठमाडौं महानगरपालिकामा समेत दिएको बताए । सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानहरुमा ७९ पटक दमकलको सेवा दिएको उनको भनाइ छ । उनले भने, ‘ललितपुर महानगरपालिकाले सबैभन्दा महत्वपूर्ण काम भनेको नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उहाँहरुको दिनचर्या राम्रो पार्ने र कसरी उहाँहरुको इन्कम जेनेरेशनमा हामीले कसरी टेवा पुर्याउने ? भन्ने नै हाम्रो काम हो । ललितपुर महानगरपालिकाको दमकलको सेवा ललितपुर नगर क्षेत्रमा होइन, काठमाडौंको हिल्टन होटल, सिंहदरबार, सर्वोच्च, पाल्र्यामेण्ट बिल्डिङ्ग लगायतमा ७९ पटक दमकलको सेवा प्रवाह गरेका छौँ ।’ उनले मन्त्रीक्वार्टर जलेर फोन आएपछि दमकल पठाएको तर आन्दोलनमा सहभागी भएकाहरुले बाधा सिर्जन गरेको बताए । प्रमुख महर्जनले नगरवासीका लागि गर्नुपर्ने आवश्यक कामहरु आफूहरुले क्रमशः पूरा गरिरहेको बताए । आगो निभाउन गएको दमकललाई समेत आन्दोलनकारीले आगो लगाएको बताए । अब अत्याधुनिक दुई वटा दमकल खरिद गर्ने निर्णय समेत गरेको बताए । अपाङ्गता भएका व्यक्तिहरुका लागि खरिद गरेको गाडीमा समेत आगजनी भएकाले अब झनै अत्याधुनिक गाडी किन्ने जानकारी दिए ।
रिलायबल नेपाल लाइफको नाफा २९.६५ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीले २५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा २९.६५ प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १ अर्ब २० करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क २५.३० प्रतिशतले बढेको छ । त्यस्तै, तीन महिनाको अवधिमा कम्पनीले १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब १२ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क २७.४८ प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा कम्पनीको महाविपत्ति कोषमा २५ करोड ५६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २२ करोड ९७ लाख रुपैयाँ थियो । त्यस्तै, कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ११ करोड ६६ लाख रुपैयाँ र अन्य इक्विटीमा ५ करोड ७६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ८८ करोड ७९ लाख रुपैयाँ र अन्य इक्विटीमा ४ करोड ४ लाख रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १० अर्ब ८३ करोड ५ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३२.१५ प्रतिशतले बढेको छ । कुल सेयरपुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९.९० रुपैयाँ कायम भएको छ । कम्पनीको पीई रेसियो २१.९१ गुणा र प्रतिसेयर नेटवर्थ १५४.२९ रुपैयाँ रहेको छ ।