विकासन्युज

शिखर इन्स्योरेन्सको खुद बीमा शुल्क २९ करोड ७ लाख, यस्ता छन् अन्य सूचक

काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको सार्वजनिक गरेको वित्तीय विरणअनुसार कम्पनीको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीले १५ करोड ८५ लाख रुपैयाँ घाटा बेहोरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ११ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो । तीन महिनाको अवधिमा कम्पनीले ९० करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ८१ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११.०३ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३.०२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २८ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवको तीन महिनामा २९ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । असोजसम्ममा कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा पनि कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ नै थियो । कम्पनीको महाविपत्ति कोषमा १६ करोड ३० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा १६ करोड ३० लाख रुपैयाँ नै थियो । त्यस्तै, रिटेन्ड अर्निङ ६ करोड ७७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा रटेन्ड अर्निङमा २२ करोड ६३ लाख रुपैयाँ थियो । अघिल्लो आवको तीन महिनाको अवधिमा कम्पनीको अन्य इक्युटीमा ५८ करोड ४२ लाख रुपैयाँ रहेकोमा चालु आवको यही अवधिमा ५४ करोड २ लाख रुपैयाँ रहेको छ । सेयर पुँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २१.७० रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९२.६३ रुपैयाँ, पीई रेसियो २८.१४ रुपैयाँ रहेको छ ।   

नबिल बैंकको​​​​​​​ मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौं । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौंमा आयोजित एक कार्यक्रममा नयाँ डेविट कार्ड जारी गरेको जनाएको छ । कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय सुविधा दिने बैंकको प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको बताए । उनले भने, 'बैंकले सुरुआतदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा उपलब्ध गराउँदै आएको छ, यसै यात्रामा नयाँ डेविट कार्ड जारी गरिएको हो ।'  मास्टरकार्ड, दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलाले आफूहरु नयाँ डेविट कार्ड जारी गरी नबिल बैंकसँगको सहकार्यलाई थप बलियो बनाउन पाउँदा खुसी लागेको बताए ।  मास्टरकार्डमार्फत आफूहरु ग्राहकलाई सुरक्षित र सहज भुक्तानीको सुविधा उपलब्ध गराउन प्रतिबद्ध भएको उनको भनाइ छ । नयाँ डेविट कार्डमार्फत ग्राहकहरुले मास्टरकार्डको विश्वस्तरीय सञ्जाल तथा दैनिक जीवनमा नयाँ बैंकिङ सेवाको अनुभव लिन पाउने बैंकले जनाएको छ । बैंकका अनुसार नयाँ डेविट कार्ड आकर्षक डिजाइनमा उपलब्ध हुनेछ । जसमा शालीनता, स्वतन्त्रता र राष्ट्रिय गौरवको प्रतिक मानिने नेपालको राष्ट्रिय चरा डाँफेको चित्र अंकित गरिएको छ ।   मास्टरकार्डको नयाँ डेविट कार्ड प्रयोगकर्ताले प्रिमियम सुविधा पाउनेछन् । जसमा विभिन्न रेष्टुरेन्ट, स्पा, फिटसेन सेन्टर तथा मनोरञ्जनका क्षेत्रमा छुट उपलब्ध हुनेछ ।  ​​​​​​​नबिल बैंक मास्टरकार्डको एक प्रमुख सदस्य हो । नबिल बैंक नेपालमा मास्टरकार्डको क्रेडिट कार्ड जारी गर्ने नेपालको पहिलो बैंक पनि हो । बैंकले मास्टरकार्डको क्रेडिट कार्ड नेपाली रुपैयाँ र अमेरिकी डलरमा कारोबार गर्न मिल्ने गरी उपलब्ध गराउँदै आएको थियो । कार्ड प्राप्त गर्नका लागि ग्राहकले बैंकको कुनै पनि शाखा वा एनबैंक एपमार्फत आवेदन दिनसक्ने जनाइएको छ ।

जेनजी आन्दोलनकारीले दमकल समेत छोडेनन्, अपाङ्गता भएकाहरू बोक्ने बस पनि जलाए : चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरपालिकाको काम नगरवासीलाई संरक्षण गर्ने र दिनचर्या झनै राम्रो बनाउने रहेको बताएका छन् । आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले ललितपुर महानगरपालिकाको सबैभन्दा महत्वपूर्ण काम नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उनीहरुको दिनचर्या राम्रो पार्ने र कसरी उहाँहरुको इन्कम जेनेरेशनमा कसरी टेवा पुर्याउने ? भन्ने रहेको बताए । जेनजी आन्दोलनका क्रममा ललितपुर महानगरपालिकाले दमकलको सेवा ललितपुर नगर क्षेत्रमा मात्रै नभइ काठमाडौं महानगरपालिकामा समेत दिएको बताए । सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानहरुमा ७९ पटक दमकलको सेवा दिएको उनको भनाइ छ । उनले भने, ‘ललितपुर महानगरपालिकाले सबैभन्दा महत्वपूर्ण काम भनेको नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उहाँहरुको दिनचर्या राम्रो पार्ने र कसरी उहाँहरुको इन्कम जेनेरेशनमा हामीले कसरी टेवा पुर्याउने ? भन्ने नै हाम्रो काम हो । ललितपुर महानगरपालिकाको दमकलको सेवा ललितपुर नगर क्षेत्रमा होइन, काठमाडौंको हिल्टन होटल, सिंहदरबार, सर्वोच्च, पाल्र्यामेण्ट बिल्डिङ्ग लगायतमा ७९ पटक दमकलको सेवा प्रवाह गरेका छौँ ।’ उनले मन्त्रीक्वार्टर जलेर फोन आएपछि दमकल पठाएको तर आन्दोलनमा सहभागी भएकाहरुले बाधा सिर्जन गरेको बताए । प्रमुख महर्जनले नगरवासीका लागि गर्नुपर्ने आवश्यक कामहरु आफूहरुले क्रमशः पूरा गरिरहेको बताए । आगो निभाउन गएको दमकललाई समेत आन्दोलनकारीले आगो लगाएको बताए । अब अत्याधुनिक दुई वटा दमकल खरिद गर्ने निर्णय समेत गरेको बताए । अपाङ्गता भएका व्यक्तिहरुका लागि खरिद गरेको गाडीमा समेत आगजनी भएकाले अब झनै अत्याधुनिक गाडी किन्ने जानकारी दिए ।   

रिलायबल नेपाल लाइफको नाफा २९.६५ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीले २५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा २९.६५ प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १ अर्ब २० करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क २५.३० प्रतिशतले बढेको छ । त्यस्तै, तीन महिनाको अवधिमा कम्पनीले १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब १२ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क २७.४८ प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा कम्पनीको महाविपत्ति कोषमा २५ करोड ५६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २२ करोड ९७ लाख रुपैयाँ थियो ।  त्यस्तै, कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ११ करोड ६६ लाख रुपैयाँ र अन्य इक्विटीमा ५ करोड ७६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ८८ करोड ७९ लाख रुपैयाँ र अन्य इक्विटीमा ४ करोड ४ लाख रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १० अर्ब ८३ करोड ५ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३२.१५ प्रतिशतले बढेको छ । कुल सेयरपुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९.९० रुपैयाँ कायम भएको छ । कम्पनीको पीई रेसियो २१.९१ गुणा र प्रतिसेयर नेटवर्थ १५४.२९ रुपैयाँ रहेको छ । 

झण्डै ३० खर्ब पुग्यो विदेशी विनिमयको सञ्चिति, जीडीपीको आधा हिस्सा

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयको सञ्चिति धमाधम बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक गर्दै विदेशी विनिमय सञ्चिति बढ्दै गएको देखाएको हो ।  २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भई २०८२ असोज मसान्तमा २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई २१ अर्ब २१ करोड पुगेको छ ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १०.५ प्रतिशतले वृद्धि भई २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ ।  बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई ३ खर्ब १२ अर्ब १० करोड कायम भएको छ । २०८२ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४८.८ प्रतिशत, १३६.६ प्रतिशत र ३६.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।  

मेक्सिकोमा सरकारविरुद्ध हजारौं मानिसहरूको प्रदर्शन, झडपमा १२० घाइते

काठमाडौं । मेक्सिको सिटीमा सरकार विरोधी प्रदर्शनका क्रममा भएका झडपमा कम्तीमा १२० मानिस घाइते भएका छन् । घाइतेमध्ये १०० जना प्रहरीसमेत रहेको मेक्सिको प्रहरीले जनाएको छ । शनिबार प्रदर्शनकारीहरू मेक्सिकोको राजधानीमा बढ्दो हिंसात्मक अपराध र राष्ट्रपति क्लाउडिया शिनबामको सरकारविरुद्ध मार्च गर्न सडकमा उत्रिएका थिए । यस्ता प्रदर्शन अन्य सहरहरूमा पनि भएका छन् । प्रदर्शनकारीहरूले राष्ट्रपति शिनबाम बस्ने नेशनल प्यालेसको सुरक्षा बार (ब्यारिकेड) को एक भाग तोडे । परिसरको सुरक्षा गरिरहेका प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास प्रयोग गर्यो । मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भास्केजले पत्रकारहरूलाई बताएअनुसार अधिकारीहरूले लुटपाट र आक्रमणसहितका विभिन्न अपराधमा २० जनालाई पक्राउ गरेका छन् । राष्ट्रपति शिनबामले भनेका छन् कि यो मार्च दक्षिणपन्थी नेताहरूले फन्ड गरेको हो, जसले उनको सरकारको विरोध गर्छन् । यो ‍र्याली ‘जेन जेड’ युवाहरूले आयोजना गरेका थिए र यसलाई उच्च–प्रोफाइल हत्याहरूविरुद्ध आवाज उठाउनेहरूबाट समर्थन प्राप्त भएको थियो । यिनै घटनामा उरुआपानका मेयर कार्लोस मान्जोको हत्या पनि पर्छ। मान्जोलाई नोभेम्बर १ का दिन ‘डे अफ द डेड’ पर्वका क्रममा गोली हानिएको थियो ।

३ महिनामा भित्रियो साढे ५ खर्ब रुपैयाँ रेमिट्यान्स, असोजमा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा साढे ५ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको असोजसम्ममा विप्रेषण आप्रवाह ३५.४ प्रतिशत बढेर ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो ।  असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । जबकि गत वर्षको असोजमा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार ३ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।  चालु आवको असोजसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।  

मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी ।  धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी ‘एमएस दोङयी मिनरल्स’ प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन् । धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले भूगर्भविद्हरुको टोली खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययनका लागि आएको बताए । 'गतहप्ता आएको टोलीले पहिलो चरणमा तामाखानी भएको ठाउँको निरीक्षण गरेको थियो', उनले भने 'टोलीले खानी भएको ठाउँसम्म जाने पहुँचमार्ग निर्माणका लागि पनि छलफल गरेको छ ।' खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले बताए । स्थानीयले खानी उत्खननका लागि अध्ययन थालिएकामा खुसी व्यक्त गरेका छन् । वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने मच्छिमका बासिन्दा कुलबहादुर छन्त्यालले बताए । उनका अनुसार मच्छिमको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको छन्त्यालले बताए । तामाखानी उत्खननका लागि आएका छन्त्याल समुदायले मच्छिममा बस्ती बसाएको इतिहास छ । छन्त्याल समुदायको पुर्ख्यौली पेसा खानी खन्ने हो । त्यहाँ अझैसम्म पनि तामाका धाउ देख्न सकिन्छ । तामाखानीका सुरुङ छन् । स्थानीयहरुले त्यही सुरुङबाट भित्र छिरेर घन, छिनोको प्रयोग गरेर तामा निकाल्ने गरेका थिए । उक्त कम्पनीले मालिका गाउँपालिकाको ओखरबोट तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ । खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुङ्गा, स्लेटढुङ्गा, मार्बल र तातोपानीका मुहान (हटस्पिङ) पाइन्छन् । जिल्लामा बढी पाइने खनिज पदार्थमा तामा प्रमुख हो । रासस