स्वीकृति नलिई भित्तेपात्रो छापे १ लाखसम्म जरिवाना, स्वीकृतिका १० हजारसम्म शुल्क लाग्ने
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रो छापे १ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको हो । समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले कानुनअनुसार समितिबाट स्वीकृति नलिई पात्रो तथा क्यालेन्डर प्रकाशन गर्न नपाइने बताए । ‘समितिबाट स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइँदैन, यदि कसैले स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गरे एक लाखसम्म जरिवाना हुन्छ,’ कार्यकारी निर्देशक पन्थीले भने । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश २०७७ को दफा ७ (ञ) र (ढ) मा समितिबाट स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइने भन्ने व्यवस्था छ । उक्त समितिको दिग्दर्शनको परिच्छेद १५ मा स्वीकृत नलिई पात्रो तथा क्यालेन्डर प्रकाशन गरे १० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । कसैले स्वीकृत नलिई पात्रो वा क्यालेन्डर प्रकाशन गरेको विषयको अनुगमन गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई तोकिएको छ । कार्यकारी निर्देशक पन्थीले पात्रो र भित्तेपात्रो प्रकाशन गर्ने सबै संस्था, कम्पनी, निकाय वा व्यक्तिलाई अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने बताए । बेच्ने प्रयोजनको लागि प्रकाशन गरिएका र निःशुल्क वितरण गर्न लागिएका पात्रो वा भित्तेपात्रो प्रकाशनको लागि अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने हुन्छ । समितिले भित्तेपात्रो प्रकाशनको स्वीकृतिका लागि शुल्क तय गरेको छ । समितिले शैक्षिक संस्थाले प्रकाशन गर्ने क्यालेन्डरको स्वीकृतिका लागि २ हजार रुपैयाँ, निःशुल्क वितरण गर्न प्रकाशन गरिने क्यालेन्डरको स्वीकृतिका लागि ५ हजार रुपैयाँ र मूल्य राखेर प्रकाशन गरिने क्यालेन्डर स्वीकृतिमा १० हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ ।
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भई बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्यतया बदली हुनेछ भने लुम्बिनीसहित सुदूरपश्चिम प्रदेशका तराई तथा बाँकी पहाडी र हिमाली भागमा आंशिक बदली हुनेछ । देशका अन्य भागमा मुख्यतया मौसम सफा रहनेछ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति तराईका केही स्थानमा तुवाँलो रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुनेछ भने बाँकी उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुनेछ । देशका अन्य स्थानमा मुख्यतया मौसम सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । महाशाखाले तराईका केही स्थानमा हुस्सु लाग्ने र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
एनसेलको आम्दानी साढे ३२ अर्ब, बैंकमा ऋण ३२ अर्ब रुपैयाँ
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ८ अर्ब १८ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा कुल ३२ अर्ब ५४ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ४.४७ प्रतिशत अर्थात् १ अर्ब ५२ करोड ३० लाख रुपैयाँले कम हो र आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी ३४ अर्ब ६ करोड ८० लाख रुपैयाँ रहेको थियो । यसअघि आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ, आव २०७७/७८ मा ४० अर्ब ४० करोड ४० लाख रुपैयाँ, आव २०७६/७७ मा ४६ अर्ब ८७ करोड ४० लाख रुपैयाँ, आव २०७५/७६ मा ५५ अर्ब ३९ करोड ८० लाख रुपैयाँ, आव २०७४/७५ मा ५९ अर्ब ८१ करोड ७० लाख रुपैयाँ र आव २०७३/७४ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको आम्दानीमा निरन्तर गिरावट देखिए पनि नाफासम्बन्धी सूचकहरू भने सन्तोषजनक अवस्थामा रहेका छन् । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन नाफा मार्जिन करिब ५० प्रतिशत कायम रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको करिब ५४ प्रतिशतभन्दा केही कम हो । यस अवधिमा कम्पनीको जीएसएम आम्दानी बजार हिस्सा ५१ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ५३ प्रतिशत थियो । भ्वाइस सेवा तथा अन्तर्राष्ट्रिय लामो दूरीका कलबाट हुने आम्दानी घट्दा मार्जिनमा दबाब परेको भए पनि लागत नियन्त्रण रणनीतिका कारण ठूलो गिरावट रोकिएको कम्पनीको भनाइ छ । गत वर्ष एनसेलको भ्वाइस तथा डेटा बजार हिस्सा करिब ४८ प्रतिशत रहेको छ । कम्पनीका अनुसार २०२५ अक्टोबर मध्यसम्म करिब १४ अर्ब रुपैयाँ बराबरको नगद मौज्दात रहेको छ । यद्यपि हालसम्म नेपाल बाहिर पठाउन स्वीकृति नपाएको लाभांश रकम ७ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । दूरसञ्चार उद्योगमा उच्च नियामकीय जोखिम, प्रविधि चाँडै पुरानो हुने सम्भावना, नियमित तथा प्रविधिगत सुधारका लागि आवश्यक ठूलो पुँजीगत खर्च, साथै सन् २०२९ सेप्टेम्बरमा प्रारम्भिक २५ वर्षे लाइसेन्स अवधि समाप्त भएपछि लाइसेन्स नवीकरणबारेको अनिश्चितता प्रमुख चिन्ताका विषय रहेको कम्पनीले जनाएको छ । सन् २०२५ जुलाई मध्यसम्म कम्पनीसँग करिब ८६ अर्ब रुपैयाँ बराबरका सशर्त दायित्व रहेका छन् । तीमध्ये करिब ६७ प्रतिशत २०१६ मा भएको स्वामित्व परिवर्तनसँग सम्बन्धित कर दाबी हुन् । कम्पनीले यसअघि नै सोही घटनासँग सम्बन्धित पुँजीगत लाभकर, जरिवाना तथा शुल्क गरी करिब ४७ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ । ती दायित्वहरू वास्तविक रूपमा लागू भएमा कम्पनीको वित्तीय अवस्थामाथि ठूलो असर पर्न सक्ने बताइएको छ । दूरसञ्चार उद्योगमा उच्च नियामकीय जोखिम, प्रविधि छिटो पुरानो हुने सम्भावना, सेवा विस्तार तथा गुणस्तर सुधारका लागि आवश्यक ठूलो पुँजीगत खर्च, साथै सन् २०२९ सेप्टेम्बरमा प्रारम्भिक २५ वर्षे लाइसेन्स अवधि समाप्त भएपछि लाइसेन्स नवीकरणबारेको अनिश्चितता प्रमुख चिन्ताका विषय रहेको कम्पनीले जनाएको छ । सन् २००१ मा स्पाइस नेपालको नामबाट स्थापना भएको कम्पनीले सन् २००५ सेप्टेम्बरदेखि ‘मेरो मोबाइल’ ब्रान्डमार्फत नेपालमा पहिलो निजी क्षेत्रको जीएसएम दूरसञ्चार सेवा प्रदायकका रूपमा व्यावसायिक सेवा सुरु गरेको थियो । सन् २००८ सेप्टेम्बरमा युरोपेली दूरसञ्चार कम्पनी टेलियासोनेराले कम्पनीको सेयर खरिद गरेपछि सन् २०१० मार्चमा ब्रान्ड नाम परिवर्तन गरी ‘एनसेल’ राखिएको थियो । त्यसपछि कम्पनीको कानुनी नाम पनि परिवर्तन भई एनसेल प्राइभेट लिमिटेड कायम गरिएको थियो । सन् २०१६ अप्रिल १२ मा मलेसियास्थित दूरसञ्चार ग्रुप आजियाटा ग्रुप बर्हाडले वेस्ट इन्डिजमा दर्ता रहेको रेनोल्ड्स होल्डिंग लिमिटेडको १०० प्रतिशत सेयर खरिद गरेसँगै एनसेल औपचारिक रूपमा आजियाटा ग्रुपअन्तर्गत समावेश भएको थियो । रेनोल्ड्स होल्डिङ लिमिटेडमार्फत एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी २० प्रतिशत सेयर नेपालस्थित सुनिभेरा क्यापिटल भेन्चर प्राइभेट लिमिटेडको स्वामित्वमा छ । सन् २०१६ अप्रिल १२ मा मलेसियास्थित दूरसञ्चार समूह आजियाटा ग्रुप बर्हाडले वेस्ट इन्डिजमा दर्ता रहेको रेनोल्ड्स होल्डिङ लिमिटेडको १०० प्रतिशत सेयर खरिद गरेसँगै एनसेल औपचारिक रूपमा आजियाटा समूहअन्तर्गत समावेश भएको थियो । रेनोल्ड्स होल्डिङ लिमिटेडमार्फत एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी २० प्रतिशत सेयर नेपालस्थित सुनिभेरा क्यापिटल भेन्चर प्राइभेट लिमिटेडको स्वामित्वमा छ । यसपछि कम्पनीको नाम परिवर्तन गरी एनसेल आजियाटा लिमिटेड राखियो भने सन् २०२० अगस्ट ३ मा कम्पनी पब्लिक लिमिटेडमा रूपान्तरण गरिएको थियो । सन् २०२३ डिसेम्बरमा आजियाटा समूहले रेनोल्ड्स होल्डिङ लिमिटेडमा रहेको आफ्नो १०० प्रतिशत सेयर बेलायतमा दर्ता भएको पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको छ । तर उक्त सेयर हस्तान्तरण नेपालका सम्बन्धित नियामक निकायबाट स्वीकृत हुन बाँकी रहेकाले कम्पनीको कानुनी नाम हालसम्म पनि परिवर्तन नभएको एनसेलले जनाएको छ । स्पेक्ट्रलाइट युके लिमिटेडका सम्पूर्ण सेयर सिंगापुर नागरिक तथा नेपाली मूलका व्यवसायी सतिशलाल आचार्यको स्वामित्वमा छ । विगत केही वर्षदेखि सञ्चालन नाफा मार्जिनमा क्रमिक गिरावट देखिए पनि गत वर्ष ५० प्रतिशत मार्जिन कायम रहनु सकारात्मक मानिएको छ, जुन अघिल्लो वर्ष ५४ प्रतिशत थियो । भ्वाइस तथा अन्तर्राष्ट्रिय लामो दूरी (आईएलडी) कलबाट हुने आम्दानी घट्दा मार्जिनमा असर परे पनि लागत नियन्त्रण रणनीतिका कारण ठूलो गिरावट रोकिएको कम्पनीको भनाइ छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ दीर्घकालीन र १२ अर्ब रुपैयाँ अल्पकालीन गरी कुल ३२ अर्ब रुपैयाँ ऋण लिएको छ । यसअघि कम्पनीले १० अर्ब ६० करोड रुपैयाँ दीर्घकालीन र १२ अर्ब रुपैयाँ अल्पकालीन गरी २२ अर्ब ६० करोड रुपैयाँ ऋण लिएको थियो ।
ऊर्जा र दीर्घकालीन विकासका योजनासहित चुनावी दौडमा पोखरेल
काठमाडौं । विकास र अर्थतन्त्रका विज्ञ प्राडा गोविन्दराज पोखरेल यतिबेला ‘समृद्ध प्यूठान’ को सपना बोकेर चुनावी मैदानमा छन् । विगतमा विकासको स्पष्ट दृष्टि र नीतिगत समझ भएका प्रतिनिधि नहुँदा जिल्ला पछाडि परेको उनको दाबी छ । यसपटक भने ऊर्जा, अर्थतन्त्र र दीर्घकालीन विकास योजनाको स्पष्ट खाका लिएर उनी मतदातामाझ पुगेका छन्। भारतबाट इन्जिनियरिङमा स्नातक अध्ययन गरेका पोखरेलले जर्मनीबाट स्नातकोत्तर तथा विद्यावारिधि उपाधि हासिल गरेका छन् । ऊर्जा प्रणाली, दिगो विकास, जलवायु परिवर्तन, सार्वजनिक नीति र ऊर्जा अर्थतन्त्रमा उनको विशेषज्ञता छ । अन्तर्राष्ट्रिय विश्वविद्यालय र अनुसन्धान वातावरणमा अध्ययन–अनुसन्धानको अनुभवले उनलाई नीतिगत तहमा सुदृढ बनाएको मानिन्छ । २० वर्षभन्दा बढी समय उच्च शिक्षा र अनुसन्धान क्षेत्रमा सक्रिय रहेका उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसमा २०५७ देखि २०७८ सम्म प्राध्यापन गरे । एक वर्ष निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी पनि सम्हाले। ऊर्जा नीति, नवीकरणीय ऊर्जा र विकास योजनासम्बन्धी उनका अनुसन्धान र प्रकाशनहरू चर्चित छन् । पोखरेल २०६२ देखि २०७० सम्म वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक (दुई कार्यकाल) रहे । ग्रामीण तथा दुर्गम क्षेत्रमा सौर्य, लघु जलविद्युत् र बायोग्यास विस्तारमा उनले नेतृत्व गरे । ०७२ बैशाख १२ को विनाशकारी भूकम्पपछि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतका रूपमा उनले राष्ट्रिय पुनर्निर्माण अभियानको नेतृत्व गरे। त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्षका रूपमा राष्ट्रिय आर्थिक योजना, पूर्वाधार विकास र नीति समन्वयमा भूमिका निर्वाह गरेका थिए । अन्तर्राष्ट्रिय स्तरमा एसएनभी नेदरल्याण्ड्स डेभलपमेन्ट अर्गनाइजेसनलगायत संस्थासँग सहकार्य गर्दै दक्षिण एसियाली विकास परियोजनामा वरिष्ठ सल्लाहकारका रूपमा काम गरेको अनुभव पनि उनीसँग छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । ०६८ सालमा नेपाल प्राध्यापक संघमा संगठित भई ०७४ देखि उनी सक्रिय राजनीतिमा छन्। ०७४ को निर्वाचनमा उनी एमाले–माओवादी समर्थनप्राप्त राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसँग पराजित भएका थिए । ०७९ मा गठबन्धन समीकरणका कारण उम्मेदवार बन्न पाएनन् । २१ फागुनमा हुने निर्वाचनमा कांग्रेस देशभर एक्लै प्रतिस्पर्धा गरिरहेको सन्दर्भमा प्यूठानमा पोखरेल पुनः मैदानमा छन् । उनका प्रमुख प्रतिस्पर्धीमध्ये सूर्य थापा (नेकपा एमाले), कृष्णध्वज खड्का (नेपाली कम्युनिष्ट पार्टी), सुशान्त वैदिक (रास्वपा) र तिलकबहादुर जीसी (राष्ट्रिय जनमोर्चा) छन् । पोखरेल भने आफ्नो अभियानलाई ‘विकास र अर्थतन्त्रको यथार्थवादी खाका’ का रूपमा प्रस्तुत गरिरहेका छन् । ऊर्जा आत्मनिर्भरता, कृषि–उद्योगको आधुनिकीकरण, रोजगारी सृजना र स्थानीय पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै उनले प्यूठानलाई विकासको नयाँ चरणमा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
होटल फरेस्ट इनको सेयर रजिस्टारमा एनआईसी एशिया क्यापिटल नियुक्त
काठमाडौं । होटल फरेस्ट इन (होलिडे इन रिसोर्ट, बुढानीलकण्ठ) ले आफ्नो सेयर रजिस्टारमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच सेयर रजिस्टार नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार सेयर रजिष्ट्रार सेवाअन्तर्गत एनआईसी एशिया क्यापिटलले कम्पनीका संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण सेयरहरू सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) मा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबारका लागि सूचीकृत गर्ने, तथा सर्वसाधारणमा बाँडफाँड भएका सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गर्नेछ । यसैगरी, कारोबार भएका सेयरहरूको अभिलेख राख्ने, दाखिला–खारेज गर्ने, सेयरधनी लगत अद्यावधिक गर्ने लगायतका सम्पूर्ण सेयर रजिस्टारसम्बन्धी कार्यहरू फागुन १० गतेदेखि एनआईसी एशिया क्यापिटलमार्फत सञ्चालन हुने कम्पनीले जनाएको छ ।
राहदानी विभागले भोलि र पर्सिको बिदामा पनि सेवा दिने
काठमाडौं । राहदानी विभागले दुई दिनको सार्वजनिक बिदामा सेवा दिने भएको छ । विभागले मंगलबार (आज) सूचना जारी गरेर फागुन ६ गते ग्याल्पो ल्होछार र फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पनि सेवा सुचारु गर्ने जनाएको हो । विभागका अनुसार बुधबार राहदानी वितरण गरिने र बिहीबार राहदानीको आवेदन फारम संकलन हुने भएको हो । भोलि बिहान १० देखि दिउँसो १ बजेसम्म सेवा सुचारू हुने भएको छ ।
राष्ट्रिय गौरवको आयोजना चाँडो सम्पन्न गर्न प्रधानमन्त्री कार्कीले दिइन् निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराईरमधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छन् । ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायका तर्फबाट चासो व्यक्त भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी हुन् । यसअघि गत माघ १३ गते प्रधानमन्त्री कार्कीले निर्माणाधीन द्रुतमार्गको निरीक्षण भ्रमण पनि गरेकी थिइन् । त्यस क्रममा पनि उनले विकास निर्माणका काम गर्दा स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी थिइन् । साथै सुरु विन्दु परिवर्तन गरेर भए पनि राष्ट्रिय गौरवको यो आयोजना चाँडो सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ थियो । आज प्रधानमन्त्री कार्कीले अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधव चौलागाईं, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, प्रधान सेनापति अशोकराज सिग्देलसहित द्रुतमार्ग आयोजनासँग सम्बन्धित अधिकारीहरू एवं सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर छलफल गरेकी छन् । यस क्रममा नेपाली सेनाका तर्फबाट आयोजनामा हालसम्म भएको प्रगति, समस्याहरू र सरकारसँग अपेक्षाका विषयमा ब्रिफिङ भएको थियो । सबै सम्बन्धित निकायका अधिकारीहरुलाई राखेर उनले विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती नगर्न र विवादमा अल्झिएर पनि नबस्न निर्देशन दिएकी छन् । ‘विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती गर्नुहुँदैन । सकेसम्म विवादको समाधान गर्ने हो । तर विवाद भयो भने अनिश्चितकालसम्म त्यहीँ अल्झिएर हुँदैन । विकल्प खोजेर अघि बढ्नुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अब विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरौं । सुरु विन्दु खोकना हुँदैन भने जहाँ कुरा मिल्छ, त्यहीँबाट प्रस्थानविन्दु कायम गरौं । आयोजनाको काम जहाँसम्म सम्पन्न हुन्छ, त्यहाँसम्म भए पनि सञ्चालन गरौं।’ ठूलो लगानीको आयोजना अनिश्चितकालसम्म लम्बिँदै गएमा आर्थिक बोझ थेग्न गाह्रो पर्न सक्ने भएकाले पनि चाँडो सञ्चालन हुनेगरी निकास खोज्नुपर्ने उनको धारणा थियो । अब उनको निर्देशनबमोजिम खोकनाभन्दा ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा (शुल्क संकलन गृह) निर्माण गर्ने गरी डीपीआर संशोधन हुने भएको छ ।
कांग्रेस जनकपुरको ‘प्रतीज्ञा सभा’ तयारी पूरा, करिब एक लाख सहभागी हुने दाबी
जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेश समितिले फागुन ६ गते जनकपुरधाममा आयोजना हुने ‘प्रतीज्ञा सभा’ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचन (फागुन २१) लक्षित उक्त सभालाई कांग्रेसले ‘पहिलो ऐतिहासिक प्रतीज्ञा सभा’ का रूपमा प्रस्तुत गरेको छ । प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवले सभामा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहने जानकारी दिए । सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । वक्तव्यमा जनकपुरधामलाई ‘ऐतिहासिक तथा सांस्कृतिक नगरी’ का रूपमा वर्णन गर्दै मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको बताइएको छ । नेपाली कांग्रेसले मधेश आन्दोलनपछिको राजनीतिक यात्रामा मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई मूल एजेण्डाका रूपमा आत्मसात गरेको सभापति यादवले बताए । मधेशको विकास, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारमा पार्टी सधैं प्रतिबद्ध रहेको दाबी गरिएको छ । कांग्रेसले आगामी चुनावी घोषणा पत्रका रूपमा सार्वजनिक गर्न गइरहेको ‘प्रतीज्ञा पत्र’ मधेशबाटै प्रारम्भ गर्ने निर्णय गरिएको यादवले जारी गरेको वक्तव्यमा जनाइएको छ । मधेशको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापार विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने कार्ययोजनासहित पार्टी अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । ‘प्रतीज्ञा सभा’ मार्फत जनतासँग प्रत्यक्ष संवाद गर्दै सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सेवा, संघीयताको प्रभावकारी कार्यान्वयन तथा प्रदेश र स्थानीय तहको सुदृढीकरणका विषयमा पनि धारणा प्रस्तुत गरिनेछ । वक्तव्यमा आसन्न निर्वाचनमा कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न अपिल पनि गरिएको छ ।