८९औँ वर्षमा नेपाल बैंक, साढे ३ खर्ब निक्षेप, २.२३ खर्ब लगानी
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक, आज (२०८२ कात्तिक ३० गते)देखि ८९औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा बचत सँस्कृतिको विकास सँगसँगै औद्योगिक एवं व्यापार व्यवसायको विकास एवं विस्तारमा नेपाल बैंकको महत्वपूर्ण योगदान छ । देशको पहिलो बैंकको रुपमा राष्ट्रिय वित्तीय संरचनालाई दिशा दिँदै नेपाल राष्ट्र बैंक स्थापना हुनुभन्दा अगाडि केन्द्रीय बैंकको समेत जिम्मेवारी बहन गरेको नेपाल बैंकले ८८ वर्षको लामो यात्रा पार गरिसकेको छ । यति लामो यात्रामा ग्राहकको विश्वास तथा भरोसा, कर्मचारीको अथक परिश्रम र सेयरधनीहरूको दृढ आत्मविश्वासले मात्रै सम्भव भएको बैंकका चीफ अप्रेटिङ अफिसर होम बहादुर खड्का बताउँछन् । समयसँगै परिवर्तन अथवा समयको मागलाई आत्मसात गर्दै आएको उनको भनाइ छ । आजभन्दा ८८ वर्ष अगाडि अर्थात् बिक्रम संवत् १९९४ साल कात्तिक ३० गते सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले ८ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजीमा नेपाल बैंक स्थापना गरेका थिए । अहिले बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ छ । करिब ९ दशक पहिला थोरै मान्छेले मात्रै बैंक शब्द सुनेका बेलामा केही लगानीकर्ताबाट नेपाल बैंक स्थापना भएको हो । र, २० वर्ष केन्द्रीय बैंकको भूमिका समेत यस बैंकले निर्वाह गरेको छ । वि.सं २००२ सालमा नेपाल सरकारले पहिलोपटक नोट निष्काशन गर्दा नेपाल बैंकले भूमिका निर्वाह गरेको थियो । स्थापना कालदेखि हालसम्म अनवरत सेवा प्रवाह गर्दै आएको नेपाल बैंक, बैंकिङकै पर्यायका रूपमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलक राज पाण्डेय बताउँछन् । बैंकिङ क्षेत्रको जननी बैंकका रूपमा स्थापित यस बैंकले देशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । सबै पिँढीको साथीका रूपमा युवादेखि ज्येष्ठ नागरिकसम्म २७ लाख ग्राहकले बैंकको सेवा उपभोग गरिरहेको उनले बताए । सरकारी बैंकिङ कारोबार समेत गर्ने जिम्मेवारी पाएको नेपाल बैंंकले मुनाफा सँगसँगै सामाजिक सेवालाई समेत उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ । सीईओ पाण्डेयका अनुसार जनताको निक्षेपको सुरक्षा गर्दै अत्यन्त सावधानी पूर्वक निक्षेपलाई परिचालन गर्दै आइरहेको छ । लगानी विविधिकृत गरिएकै कारण बैंकको कर्जा जोखिमको समस्यालाई न्यूनीकरण गर्न सफल भएको उनले बताए । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न बैंक सफल भएको छ । बैंकको जगेडा कोषमा २३.९३ अर्ब रुपैयाँ रहेको छ भने ३८ अर्बभन्दा बढी नेटवर्थ रहेको छ । पछिल्लो तथ्याङ्क अनुसार बैंकको पर्याप्तता अनुपात १३.०२ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ५.४९ प्रतिशत, कर्जा निक्षेप अनुपात, ७६९.४२ प्रतिशत रहेको छ । यस्तै, बैंकले २३१ शाखा, ६१ वटा एक्सटेन्सन काउण्टर, २३७ वटा एटीएम मार्फत २७ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । बैंकका अनुसार १० लाख मोबाइल बैंकिङ ग्राहक रहेका छन् । सीईओ पाण्डेयका अनुसार आधुनिक डिजिटल प्रविधिसँगै साक्षात्कार गर्ने युवा पुस्ताको बाहुल्य रहेको बैंकमा आउटसोर्सिङ सहित करिब ३ हजार ६०० को सङ्ख्यामा कर्मचारी कार्यरत छन् । ‘नेपालको अर्थतन्त्रको नेपाल बैंक एउटा प्लेयर हो । २० वटा वाणिज्य बैंकसङ्ग तुलना गरेर नेपाल बैंकलाई हेर्नुपर्छ । रुस युक्रेन, इजरायल-हमास लगायत क्षेत्रीय युद्धको कारण बैंकको व्यवसायमा प्रभाव परेको छ,’ बैंकको ८९औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘५० करोड भन्दा बढी कर्जा लिएका ३/४ वटा उद्योगको प्रोभिजन गर्दा बैंकको नाफामा असर गरेको छ । मंसिरसम्ममा सबै व्यवस्थापन गर्ने कोसिस गरिरहेका छौं ।’ उनका अनुसार जेनजी आन्दोलन पछि कर्जाको माग हुन सकिरहेको छैन, उद्योगी व्यवसायी पर्ख र हेरको अवस्थामा छन् । विगतमा चाकरी गरेर निक्षेपका लागि दौडधूप गर्नुपर्ने बाध्यता अहिले नरहेको र बजारमा पैसा कहाँ राखौँ भन्ने अवस्था रहेको उनले सुनाए । नेपाल बैंकका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्मा बैंकिङ क्षेत्रको तरलता व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बताउँछन् । बाह्य र आन्तरिक कारणले अर्थतन्त्र चुनौतीको घेरामा रहेकाले सबै मिलेर काम गर्नुपर्ने उनको भनाइ छ । ‘हाम्रो मात्रै समस्या होइन, बाह्य परिवेशबाट उत्पन्न भएको समस्याका कारणले पनि अर्थतन्त्रमा कठिनाइ छ । जसले गर्दा दैनिक क्रियाकलाप र वित्तीय गतिविधि प्रभावित भइरहेको छ । साथै देशभित्रका विभिन्न क्रियाकलापले समेत बैंकिङ व्यवसायलाई प्रभावित गर्ने गरेको छ,’ उनले भने, ‘हामी राम्रै छौं, हामी भन्दा अरु नराम्रो भएका कारणले पनि हामी राम्रा भएका हौला । तर, हामीभित्र नियालेर हेर्दा चुनौती दिइरहेको छ । कर्मचारीको अथक मिहिनेतले बैंक यहाँसम्म पुगेको हो । बैंक बनाउने चिन्ता सबैभन्दा धेरै कर्मचारीलाई नै छ ।’
एनसेलले यसपटक पनि एनपीएलका हरेक चौकावापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने
काठमाडौं । एनसेल फाउन्डेसनले यस वर्ष पनि नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौकावापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ । गत वर्ष एनपीएलसँगको साझेदारी अन्तर्गत २ हजार ६१२ विद्यार्थी लाभान्वित भएकाले यस वर्ष पनि एनसेल फाउन्डेसनले यो साझेदारीलाई निरन्तरता दिएको हो । गत वर्ष एनपीएलका खेलहरूमा कुल ६५३ चौका हानिएका थिए । क्रिकेटको रोमाञ्चकता शिक्षासँग जोडिएको यो कार्यक्रमका २ हजार ६१२ सहित एनसेलले देशभरका ९ हजारभन्दा बढी विद्याथीहरूलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ । क्रिकेटदेखि कक्षाकोठासम्मको यस नवीन पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने विश्वास लिएको छ । विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरू जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुन्छन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ । एनसेलका अनुसार फाउन्डेसनले प्रदान गर्ने शैक्षिक सामग्री नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र कार्यन्वयन साझेदारलगायतको सहकार्यमा प्रदान गरिनेछ । यो पहलले क्रिकेट मैदानको उत्साह र खेलाडीका उत्कृष्ट प्रदर्शनमार्फत विद्यालयका कक्षाकोठासम्म पुगी पठनपाठनमा सुधार ल्याउन योगदान पुर्याउने विश्वास लिइएको छ ।
खेल पर्यटन प्रबर्द्धन गर्न पर्यटन बोर्ड र क्यानबीच समझदारी
काठमाडौं । नेपालको खेल पर्यटन प्रबर्द्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) ले नेपाल प्रिमियर लिग सिजन–२ प्रबर्द्धनका लागि क्रिकेट संघ नेपाल (क्यान) सँग समझदारी गरेको छ । यस साझेदारीमार्फत एनपीएल–२ लाई नेपालको क्रिकेट तथा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख प्लाटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । सम्झौताअनुसार बोर्डले एनपीएल–२ को ब्रान्डिङ, प्रचार तथा अन्तर्राष्ट्रिय पहुँच वृद्धिमा सक्रिय भूमिका खेल्नेछ । छोटो समयमैअन्तर्राष्ट्रिय स्तरमा विश्वासिलो फ्रेन्चाइज क्रिकेट लिगका रूपमा स्थापित भएको एनपीएल–२ लाई नेपालमा क्रिकेट प्रशंसक, विदेशी खेलाडी, टिप्पणीकार तथा खेलकुदमा रुचि राख्ने पर्यटक आकर्षित गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा हेरिएको छ । बोर्डका अधिकारीहरूका अनुसार नेपालमा क्रिकेटलाई नेपालमा अन्तर्राष्ट्रियस्तरका इभेन्ट आयोजना गर्नसक्ने प्रमुख खेलका रूपमा लिइएको छ । एनपीएल–२ को सफलताले नेपालमा खेलकुद पर्यटन विकासमा क्रिकेटलाई केन्द्रीय आधार बनाउने अपेक्षा गरिएको छ । एनपीएल- २ को प्रत्यक्ष प्रसारण स्टार स्पोर्टस्‌बाट गरिने भएको छ । जसले गर्दा विश्वभरका करोडौँ दर्शकसम्म नेपालको क्रिकेट, खेल पर्यटन र नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा थप टेवा पुग्‍ने बोर्डको विश्वास छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले देशभर बढ्दो खेलकुद गतिविधि विशेषगरी एनपीएल–२ ले–खेलकुद पर्यटनको नयाँ आयाम खुला गरेको बताए । अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति, विश्वस्तरका कमेन्टेटर, तथा उच्च गुणस्तरको प्रसारणसहित एनपीएल–२ ले नेपालले विश्व–स्तरीय खेलकुद कार्यक्रम आयोजना गर्न सक्ने क्षमता स्पष्ट रूपमा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस लिगले फ्रेन्चाइज खेलकुदमार्फत नेपालमा पर्यटनका अवसरहरू विस्तार गर्न, विविधता थप्न र नेपाललाई आकर्षक ‘स्पोर्ट्स टुरिजम डेस्टिनेशन’का रूपमा स्थापित गर्न मद्दत गर्नेछ । एनपीएल–२ को सफलतामा नेपालले आफ्नो क्रिकेट क्षमता मात्रै होइन, आफ्ना मनमोहक गन्तव्य, साहसिक अनुभवहरू र सांस्कृतिक समृद्धिलाई समेत विश्वसामु प्रस्तुत गर्दै दक्षिण एसियाको उदयीमान खेल पर्यटन हबका रूपमा आफ्नो पहिचान मजबुत बनाउँदै लैजाने लक्ष्य राखेको छ ।
कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीलाई होटल सब्रिनामा छुट
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बुढानीलकण्ठस्थित होटल सब्रिनासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरे । यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध ग्राहक र कर्मचारीले लाभ लिने बैंकले विश्वास लिएको छ।
राजस्व अनुसन्धान विभाग आवश्यक छैन : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । मन्त्री खनालले अमेरिकालगायतका मुलुकहरुको दृष्टान्त दिँदै राजस्व सम्बन्धि केही समस्या भए त्यसलाई समाधान गर्न सोही सम्बन्धि विभागले नै काम गर्ने व्यवस्था गर्न उपयुक्त हुने स्पष्ट पारे । उनले वर्तमान सरकारसँग काम गर्ने समय करिव साढे ३ महिना मात्रै भएको उल्लेख गर्दै त्यस बीचमा आफूले अर्थतन्त्र सुधारका लागि आवश्यक प्रणालीको विकासमा आफू केन्द्रित हुने समेत बताए । अर्थमन्त्री खनालले भने,‘मेरो कार्यकाल अव साढे ३ महिना मात्रै बाँकि छ । फागुन २१ गते निर्वाचन भईसकेपछि त म मन्त्री पदमा रहन्न । त्यो भन्दा एक महिना अघिनै निर्वाचन आचार संहिता लागू होला । त्यो बेला पनि आर्थिक सुधारका कामहरु गर्न पाइन्न । सरकारी, निजी क्षेत्र वा समुदायमा पनि गलत कारोबार गर्ने केही अवश्य पनि हुन्छन । त्यसलाई कारबाही गर्ने निकाय सम्बन्धित निकायमा नै हुनुपर्छ । केही मुलुकहरुमा भन्सार सम्बन्धि काम त्यस अन्तर्गतकै निकायले हेर्छन् ।’ अर्थमन्त्री खनालले आपसी विश्वासमा आधारित प्रणालीको विकास गरेर मात्रै मुलुकको अर्थतन्त्रलाई सवल बनाउन सकिने बताए । सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्ने नीति लिएको पनि दोहोर्याए ।
जेनजी आन्दोलन र बाढीको असर निर्जीवन बीमा कम्पनीको नाफामा, १४ मध्ये १२ कम्पनी ऋणात्मक
काठमाडौं । गत भदौको जेनजी आन्दोलन र असोज महिनामा गएको बाढीको प्रत्यक्ष असर निर्जीवन बीमा कम्पनीहरूको नाफामा परेको छ । बीमा कम्पनीहरूले सार्वजनिक गरेको पहिलो त्रैमास (साउन–असोज) सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ मध्ये १२ कम्पनीको नाफा ऋणात्मक देखिएको हो । पहिलो त्रैमासमा नेशनल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स मात्रै नाफामा गएको छ । नेशनल इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासमा ३ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनी १८ करोड ३ लाख रुपैयाँले घाटामा थियो । प्रभु इन्स्योरेन्सले असोज मसान्तसम्ममा ६ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत जेनजी आन्दोलनको क्रममा भएको क्षतिको सबैभन्दा धेरै दाबी परेको सिद्धार्थ प्रिमियरको असोज मसान्तसम्ममा नाफा २९ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले नाफा ६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । पछिल्लो तथ्यांकअनुसार जेनजी आन्दोनबाट सिद्धार्थ प्रिमियरमा ५ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ बराबरको ४०१ वटा दाबी परेको छ । त्यस्तै, असोज १८ गतेदेखि देशभर परेको अविरल वर्षाको कारण भएको क्षतिको ५० करोड ९४ लाख रुपैयाँ दाबी परेको छ । जेनजी आन्दोलनको क्रममा भएको क्षतिको दोस्रो धेरै दाबी परेको द ओरियन्टलको पहिलो त्रैमासमा नाफा २८ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनी २४ करोड ५१ लाख रुपैयाँले ऋणात्मक थियो । उक्त कम्पनीको जेनजी आन्दोलनको मात्रै ५ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ बराबरको १०१ वटा र बाढीको २१ करोड ४३ लाख रुपैयाँ दाबी परेको छ । त्यस्तै, तेस्रो धेरै जेनजी आन्दोलनको दाबी परेको सिद्धार्थ प्रिमियरको पहिलो त्रैमासमा नाफा २० करोड ७६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको थियो । असोजसम्ममा शिखर इन्स्योरेन्सको नाफा १५ करोड ८५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनी ११ करोड ५२ लाख रुपैयाँ ऋणात्मक थियो । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स २६ करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । सलिकोले अघिल्लो आवको यही अवधिमा ८ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । सलिकोपछि नेको इन्स्योरेन्सको नाफा ८ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो आवको यही अवधिमा नेकोले ७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । हिमालय एभरेष्ट इन्स्यारेन्सको १० करोड ९३ लाख रुपैयाँ, सानिमा जिआइसीको २० करोड २ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको १५ करोड ११ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १० करोड १० लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको ९ करोड ९५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ९ करोड ६३ लाख रुपैयाँ बराबरको नाफा ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा हिमालयन एभरेष्टले ६ करोड ६१ लाख रुपैयाँ, सानिमा जिआइसीले ५ करोड ८ लाख रुपैयाँ, एनएलजीले ४ करोड ८९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १५ करोड ६५ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
एक मिलियन वृक्षरोपण अभियानका लागि सन नेपाल लाइफ र लुम्बिनी वर्ल्ड पीस फोरमबीच सम्झौता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले दीर्घकालीन सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी वर्ल्ड पीस फोरमसँग संयुक्त रूपमा ‘वान मिलियन ट्रीज क्याम्पेन’ सञ्चालन गर्न औपचारिक सम्झौता गरेको छ । प्राकृतिक संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारलाई मुख्य उद्देश्य बनाइएको यो अभियानले देशभरका समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार एक मिलियन रूख रोप्ने यस अभियानले जलवायु परिवर्तनका चुनौतीहरू न्यूनीकरण गर्न, कार्बन उत्सर्जन घटाउन र देशभर हरियाली वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । वातावरणीय सन्तुलन कायम गर्दै भविष्यका पुस्तालाई सुरक्षित र स्वस्थ वातावरण प्रदान गर्नु यस अभियानको मूल लक्ष्य हो । सहकार्यपछि कम्पनीले सबै प्रदेशमा शाखामार्फत अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सले हाल देशभर १४८ वटा शाखा तथा उपशाखाबाट सेवा प्रदान गर्दै आएको छ ।
एनएफआरएस–१७ अनुसार त्रैमासिक विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो शिखर इन्स्योरेन्स
काठमाडौं । शिखर इन्स्योरेन्सले नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस- १७) अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकको संक्षिप्त वित्तीय विवरण सार्वजनिक गर्ने पहिलाे बीमा कम्पनी बनेकाे छ । नेपाल लेखामान बोर्डले चालु आर्थिक वर्षदेखि लागू हुने गरी जारी गरेको एनएफआरएस- १७ पूर्ण रूपमा अपनाउने देशको पहिलो कम्पनी बन्न सफल भएको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणको वित्तीय विवरणसम्बन्धी निर्देशिका अनुसारको नियमित त्रैमासिक विवरणसँगै एनएफआरएस–१७ बमोजिमको विशेष संरचित विवरण समेत एकैसाथ प्रकाशन गरेको हो । विश्वव्यापी रूपमा प्रयोग हुने वित्तीय प्रतिवेदनका मापदण्डहरूसँग तालमेल मिलाउने यो कदमले कम्पनीको सुशासन, जोखिम व्यवस्थापन र दीर्घकालीन पारदर्शितामा महत्त्वपूर्ण फड्को मार्ने कम्पनीले जनाएकाे छ । यो उपलब्धीसँगै शिखर इन्स्योरेन्स नेपाली बीमा बजारमा गुणस्तरीय वित्तीय प्रतिवेदन र अन्तर्राष्ट्रिय मानकको प्रयोगमा अग्रणी संस्थाको रूपमा स्थापित भएको छ । शिखर इन्स्योरेन्सको खुद बीमा शुल्क २९ करोड ७ लाख, यस्ता छन् अन्य सूचक