शिवरात्रिको दिन प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
काठमाडौं । प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ परेका छन् । मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ पक्राउ परेका हुन् । श्रेष्ठलाई बुधबार बिहान नियन्त्रणमा लिएको प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । उनले शिवरात्रिका दिन पशुपतिमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेका थिए । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । मंगलबार प्रहरीले एक सूचना जारी गर्दै प्रहरीमाथि आक्रमण गर्ने ती युवक पहिचानका लागि नागरिकसँग सहयोग मागेको थियो ।
केपी शर्मा ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धतापत्र
काठमाडौं । पार्टीको औपचारिक घोषणापत्र सार्वजनिक हुनुअघि नै एमाले अध्यक्ष तथा झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले मंगलबार आफ्नो व्यक्तिगत ४२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । चार मुख्य शीर्षकअन्तर्गत राष्ट्रिय र स्थानीय एजेन्डा समेटिएको उक्त दस्तावेजलाई उनले ‘जनतासँगको प्रत्यक्ष करार’ का रूपमा व्याख्या गरेका छन् । प्रतिबद्धतापत्र सार्वजनिक गर्दै ओलीले भने, ‘यो केवल चुनावी नारा होइन, कार्यान्वयनका लागि तयार गरिएको स्पष्ट कार्ययोजना हो । झापा–५ लाई समृद्ध, व्यवस्थित र नमुना निर्वाचन क्षेत्र बनाउने मेरो संकल्प छ ।’ उनले आफू निर्वाचित भए अधुरा विकास आयोजना पूरा गर्ने, नयाँ परियोजना अघि बढाउने र जनताको जीवनस्तर सुधारलाई प्राथमिकतामा राख्ने बताए । राष्ट्रिय एजेन्डातर्फ आर्थिक आत्मनिर्भरता, उत्पादन र निर्यात वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण तथा सामाजिक सुरक्षा सुदृढीकरणलाई मुख्य प्राथमिकता दिइएको छ । पूर्वाधार विस्तार, ऊर्जा उत्पादन वृद्धि, कृषि आधुनिकीकरण र औद्योगिक लगानी विस्तारमार्फत देशको अर्थतन्त्र बलियो बनाउने लक्ष्य उल्लेख गरिएको छ । स्थानीय एजेन्डामा झापा–५ केन्द्रित सडक स्तरोन्नति, पुल निर्माण, सिँचाइ सुविधा विस्तार, आधुनिक कृषि प्रविधिको प्रयोग, साना तथा मझौला उद्योग प्रवर्द्धन, स्वास्थ्य सेवा सुधार र शिक्षामा गुणस्तर वृद्धि गर्ने योजना समेटिएको छ । युवाका लागि सीपमूलक तालिम, स्टार्टअप प्रोत्साहन र रोजगारी सिर्जना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । ओलीले भने, ‘विकासका काममा ढिलासुस्ती अन्त्य गरिनेछ । स्थानीय तहसँग समन्वय गरेर प्रत्यक्ष लाभ पुग्ने आयोजना अघि बढाइनेछ ।’ उनले जनताको विश्वासलाई सबैभन्दा ठूलो शक्ति बताउँदै यसपटक स्पष्ट योजना र परिणाममुखी नेतृत्वसहित अघि बढ्ने दाबी गरे । एमाले स्रोतका अनुसार केन्द्रीय घोषणापत्रसमेत चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
५० करोडको सीमा हट्यो, विदेशी लगानीमा सहजीकरण
काठमाडौं । सरकारले उद्योग व्यवसायका क्षेत्रमा विदेशी लगानी भित्र्याउने प्रक्रियालाई सहज बनाएको छ । नेपाल सरकारले विदेशी लगानीलाई थप सहज र डिजिटल बनाउने क्रममा स्वचालित मार्गमार्फत विदेशी लगानी अनलाइन स्वीकृति दिने प्रक्रियालाई सहजीकरण गरेको हो । यसअघि स्वचालित मार्गबाट ५० करोड रुपैयाँसम्म मात्र विदेशी लगानी स्वीकृत हुन्थ्यो । तर हालैको मन्त्रिपरिषद् बैठकले यो सीमालाई हटाएको छ । अब जुनसुकै रकमको विदेशी लगानी पनि तोकिएका क्षेत्रमा स्वचालित मार्गबाट स्वीकृत हुनसक्छ । नयाँ व्यवस्थाले मुख्य सातवटा औद्योगिक क्षेत्रका कुल १ सय २ वटा व्यावसायिक क्षेत्रमा कुनै पनि सीमा बिना लगानी भित्राउने बाटो खोलेको छ । यसअघि २०८० असोज १५ गते प्रकाशित राजपत्रको सूचनाअनुसार स्वचालित मार्गबाट हुने विदेशी लगानीमा ५० करोड रुपैयाँको अधिकतम सीमा तोकिएको थियो । उक्त पुरानो सूचनालाई अहिलेको नयाँ राजपत्रले खारेज गरिदिएको हो । लगानीकर्ताले उद्योग विभागको अनलाइन प्रणाली मा आवेदन दिएपछि आवेदन दिएको तुरुन्तै वा ७ कार्य दिनभित्र स्वीकृति प्रमाणपत्र इमेलमार्फत प्राप्त हुन्छ । यसले कम्पनी दर्ता र उद्योग सञ्चालनलाई छिटो बनाउँछ । स्वचालित मार्ग लागू हुने क्षेत्रहरूमा ऊर्जा उत्पादन, कृषि तथा वन उत्पादन,पूर्वाधार, पर्यटन, सूचना प्रविधि आधारित उद्योग, सेवा क्षेत्र,उत्पादनमूलक उद्योग लगायत रहेका छन् । सूचना प्रविधि क्षेत्रमा पनि न्यूनतम लगानी सीमा पनि छैन । विदेशी लगानीकर्ताले अनलाइन फारम भर्नुपर्छ । कम्पनीको देश, लगानी रकम, क्षेत्र आदि विवरणसहित अनलाइनमार्फत आवश्यक कागजात अपलोड गरेपछि सबै मापदण्ड पूरा भएमा प्रणालीले स्वतः स्वीकृति दिनेछ । स्वीकृति पाएपछि नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा स्रोत प्रमाणित गर्नुपर्ने हुन्छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिनामा कुल ४० अर्ब २८ करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ, जसमा स्वचालित मार्गबाट पनि त्यस्तो लगानी आउने क्रम बढ्दो छ । स्वचालित व्यवस्थाले विदेशी लगानीकर्तालाई नेपालमा व्यवसाय शुरु गर्न निकै सहज बनाएको छ ।
सुजल डेरीको ३ महिनामा डेढ अर्ब आम्दानी, ९५ करोड ६१ लाख रुपैयाँ ऋण
काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको सुजल डेरी प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा करिब डेढ अर्ब रुपैयाँको सञ्चालन आम्दानी गरेको छ । कम्पनीले चालु आवको तीन महिनामा १ अर्ब ५१ करोड ६० लाख रुपैयाँ आम्दानी हासिल गरेको हो । सुजल डेरीको सञ्चालन आम्दानी क्रमशः आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ८८ करोड ३० लाख, आव २०८०/८१ मा २ अर्ब ३३ करोड १० लाख, आव २०७९/८० मा १ अर्ब ८६ करोड ९० लाख, आव २०७८/७९ मा १ अर्ब ७१ करोड ६० लाख र आव २०७७/७८ मा १ अर्ब २१ करोड ४० लाख रुपैयाँ पुगेको थियो । विसं २०६२ (सन् २००५) मा स्थापना भएको सुजल डेरीले स्ट्यान्डर्ड दूध, फुल क्रीम दूध, दही, आइसक्रिम, स्किम्ड मिल्क पाउडर, बटर, घिउ, पनीर, फुल क्रीम मिल्क पाउडर लगायतका दुग्धजन्य उत्पादन गर्दै आएको छ । यी उत्पादनहरूले कुल आम्दानीको करिब दुई तिहाइ हिस्सा ओगटेका छन् भने बाँकी आम्दानी पनीर, घिउ, स्किम्ड मिल्क पाउडर र बटरजस्ता विविध उत्पादनबाट आएको हो । कम्पनीका उत्पादनहरू ‘सफल’ र ‘लभ बड्र्स’ ब्रान्ड नामबाट बिक्री वितरण भइरहेको छ । सुजल डेरीको दर्ता कार्यालय र उत्पादन इकाई पोखरा-१, कास्की, गण्डकी प्रदेशमा रहेको छ । सुजल डेरीका प्रमुख सेयरधनीहरूमा अध्यक्ष गणेश बहादुर श्रेष्ठ, सुनील श्रेष्ठ, अञ्जन श्रेष्ठ, निरञ्जन श्रेष्ठ र निराकर श्रेष्ठ रहेका छन्, जसले प्रत्येकले करिब १८ प्रतिशत सेयर धारण गरेका छन् । बाँकी करिब १० प्रतिशत सेयर लक्ष्मी ग्रुपकै अर्को कम्पनी सुजल फुड प्रालिको नाममा रहेको छ । कम्पनीका अनुसार जुलाई २०२५ सम्म आफ्नो ड्रइङ पावर करिब १४१ प्रतिशत उपयोग गरिएको छ । पछिल्ला तीन वर्षमा नेपालमा दूध उत्पादन वृद्धिदर ०.४ प्रतिशतदेखि १.८ प्रतिशत सीमित रहेकाले दूध संकलनमा तीव्र प्रतिस्पर्धा छ । उच्च प्रतिस्पर्धा र प्रमुख दुग्धजन्य उत्पादनमा मूल्य समायोजनको सीमित क्षमताले लागत बढ्दा नाफामा दबाब परेको छ । साथै, कृषि-जलवायु जोखिमले दूध आपूर्तिमा समस्या ल्याएर कच्चा दूधको मूल्य बढाउने जोखिम रहेको कम्पनीले जनाएको छ । यद्यपि, २० वर्षभन्दा बढी अनुभव, किसान र सहकारीहरूसँग स्थापित बलियो सम्बन्ध तथा पछिल्ला दुई वर्षमा देखिएको उल्लेखनीय आम्दानी वृद्धिले कम्पनीलाई मजबुती प्रदान गरेको छ । घरेलु उपभोक्ता तथा खाद्य प्रशोधन उद्योगबाट स्थिर माग रहनु पनि सकारात्मक पक्ष मानिएको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६० करोड ६६ लाख रुपैयाँ दीर्घकालीन र ३४ करोड ९५ लाख रुपैयाँ अल्पकालीन गरी कुल ९५ करोड ६१ लाख रुपैयाँ बराबर ऋण लिएको देखिन्छ । यसअघि ६५ करोड १२ लाख रुपैयाँ दीर्घकालीन र २४ करोड ९५ लाख रुपैयाँ अल्पकालीन गरी कुल ९० करोड ७ लाख रुपैयाँ लिएको थियो ।
घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मंगबारको तुलनामा आज सुन तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ भने चाँदी ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ४०० तथा एक तोला चाँदीको मोल ४ हजार ८८० निर्धारण भएको छ । हिजो मङ्गलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल ४ हजार ८८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुनको मूल्य ३ लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल ४ हजार ८६० निर्धारण भएको छ । साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन ३ लाख पाँच हजार ८०० र त्यति नै चाँदी ४ हजार ९८५ मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ९२० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अमेरिकाका अधिकारवादी नेता जेसी ज्याक्सनको निधन
काठमाडौं । अमेरिकाका अधिकारवादी नेता जेसी ज्याक्सनको ८४ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारद्वारा जारी वक्तव्यमा मंगलबार बिहान उनको निधन भएको जानकारी दिइएको छ । वक्तव्य अनुसार अन्तिम क्षणमा ज्याक्सन परिवारजनको साथमै रहेका थिए । साथै उनको निधन शान्तिपूर्वक भएको पनि उल्लेख गरिएको छ । मृत्युको आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन । यद्यपि, ज्याक्सन ‘प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी’ नामक रोगबाट पीडित थिए र गत वर्षको अन्त्यतिर अस्पतालमा भर्ना भएका थिए। पूर्वराष्ट्रपति बाराक ओबामा लगायतकाले उनलाई श्रद्धाञ्जलि दिएका छन् ।
अण्डाको मूल्य बढ्यो, प्रतिगोटा १९ रुपैयाँ १२ पैसा
काठमाडौं । नेपाल लेयर्स संघले बुधबार (आज) देखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ रुपैयाँ तोकिएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।
जेनजी आन्दोलनमा क्षतिग्रस्त हिमालयन बैंकको बत्तीसपुतली शाखा पुनः सञ्चालनमा
काठमाडौं । हिमालयन बैंकको बत्तीसपुतली शाखा कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको शाखा कार्यालय पुनर्निर्माण सम्पन्न भएपछि साविककै भवनबाट सम्पूर्ण बैंकिङ सेवा-सुविधासहित सञ्चालनमा ल्याइने बैंकले जनाएको छ । बैंकका अनुसार काठमाडौं महानगरपालिका-९, बत्तीसपुतलीस्थित नेपाल राष्ट्रिय मारवाडी परिषदको भवन (द्वारिका होटल अगाडि, राम मन्दिर जाने बाटो) मा रहेको बत्तीसपुतली शाखा फागुन १० गतेदेखि नियमित रूपमा सञ्चालनमा आउनेछ । यस असहज अवधिमा ग्राहकले बैंकप्रति देखाएको सदाशयता र सहयोगप्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ । साथै, शाखा बन्द रहँदा ग्राहकहरूलाई परेको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।