विकासन्युज

एनपीएल सिजन २ का लागि काठमाडौं गोर्खाजसँग फोनपे प्लाटिनम प्रायोजक

काठमाडौं । फोनपेले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि काठमाडौं गोर्खाजसँग प्लाटिनम प्रायोजकको रूपमा सहकार्य गरेको घोषणा गरेको छ । यस साझेदारीमार्फत फोनपेले राष्ट्रिय खेलकुदको प्रवर्द्धन, स्थानीय प्रतिभा विकास र समुदायस्तरमा सहभागिता वृद्धि गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः दोहोर्याएको छ ।  फोनपेका अनुसार यो प्रायोजन युवालाई सशक्त बनाउने, खेलकुदमार्फत एकता र अनुशासनको संस्कृति विस्तार गर्ने, तथा राष्ट्रव्यापी डिजिटल भुक्तानीको प्रयोगलाई अझ प्रोत्साहित गर्ने उद्देश्यसहित अघि बढाइएको हो । फोनपे नेपालका सीईओ दिवासकुमारले सहकार्यप्रति खुशी व्यक्त गर्दै भने, 'हामी एनपीएल सिजन २ मा काठमाडौं गोर्खाजलाई समर्थन गर्न पाउँदा गर्व गर्छौँ । फोनपेले युवालाई प्रेरणा दिने, राष्ट्रिय गौरव बढाउने, र सुरक्षित तथा सहज डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने अभियानलाई निरन्तर अघि बढाइरहेको छ । खेलकुद मानिसहरूलाई एकत्रित गर्ने माध्यम हो, र त्यही भावना बोकेको टोलीसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ ।' काठमाडौं गोर्खाजले पनि फोनपेले प्रदान गरेको समर्थनप्रति आभार व्यक्त गर्दै आगामी सिजनमा यो सहकार्यले टोलीलाई थप ऊर्जा र आत्मविश्वास प्रदान गर्ने प्रतिक्रिया दिएको छ ।  एनपीएल सिजन २ का लागि भएको यो प्रायोजनले देशमा खेलकुदको विकास र व्यावसायिक क्रिकेटको उचाइ बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

नेको इन्स्योरेन्सको खुद बीमा शुल्क २९ करोड ५४ लाख, अन्य सूचक कस्ता ?

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा ऋणात्मक रहेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिनाको अवधिमा कम्पनीको नाफा ८ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले नाफा ७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तीन महिनाको अवधिमा कम्पनीले ५२ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५० करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क ४ दशलमव २३ प्रतिशतले बढेको छ ।  तेस्रो त्रैमाससम्ममा कम्पनीले २९ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २८ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ दशलमव ४६ प्रतिशतले बढेको छ । २ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ३० करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा १६ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४८ करोड ७४ लाख रुपैयाँ र अन्य इक्विटीमा ३५ करोड ६९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा १६ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७५ करोड ४६ लाख रुपैयाँ र अन्य इक्युटीमा ३२ करोड ७४ लाख रुपैयाँ थियो।  पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३५ पैसाले ऋणात्मक रहेको छ । पीई रेसियो ४६.९४ रुपैयाँले ऋणात्मक रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २२७.१५ रुपैयाँ रहेको छ । 

मागअनुसार उत्पादन नहुँदा कफीको आयातमा वृद्धि, २३० मेट्रिक टन कफी आयात

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ‘कफी खेती गरौँ, स्वरोजगार बनौँ’ नारासहित २१ औँ राष्ट्रिय कफी दिवस मनाउन लागेको छ । बोर्डले कफीसँग सम्बद्ध किसान, स्टेट, उद्योग तथा उपभोक्ताहरूको सहभागितामा सोमवार मूल समारोह कीर्तिपुरस्थित समशितोष्ण वागवानी केन्द्रमा आयोजना गर्न लागेको हो ।  नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेपनि उत्पादन हुन नसक्दा नेपाली बजारमा नै कफी आयात बढ्दो क्रममा रहेको छ । शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले कफीको आन्तरिक बजारमा पनि व्यापक वृद्धि भएको हो । बोर्डका अनुसार नेपालको कफी उत्पादन गुणस्तरका आधारमा अन्तर्राष्ट्रिय बजारमा नेपाल कफीको उच्च माग छ । तर उत्पादन वृद्धि नहुँदा नेपालमा नै आयात लगातार बढिरहेको बोर्डद्वारा जारी विज्ञेप्तीमा उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ मा नेपालले ६ सय ४२ मेट्रिक टन ग्रीन बीन कफी उत्पादन गरेपनि १४ करोड ४१ लाख रुपैयाँ बराबरको २३० मे.टन कफी आयात गर्नुपरेको बोर्डले जनाएको छ । सोही अवधिमा ११ करोड ४३ लाख रुपैयाँ बराबरको मात्र ६४ मे.टन कफी निर्यात भएको बोर्डले जनाएको छ ।  बोर्डकाअनुसार नेपालमा कफी उत्पादन २०७०/७१ को ४२९ मे.टनबाट २०८१/८२ मा ६४१ दशमलब ९ मे.टन पुगेको छ । तर त्यही अवधिमा कफी आयात झनै तीब्र रूपमा बढेको देखिन्छ । २०८१/८२ मा कफी आयात २३४ मे.टन रहँदा आयात मूल्य १४४ करोड नाघेको छ । निर्यात भने अघिल्लो वर्षको तुलनामा घट्दै ६३ हजार ९९८ किलोमा झरेको छ । अघिल्लो वर्षमा ८८ हजार ८५६ किलो कफी निर्यात भएको थियो ।  बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेकाअनुसार आन्तरिक माग तीब्र रूपमा बढिरहेका बेला किसान संरक्षण र क्षेत्र विस्तारमा तीनै तहका सरकारबीच समन्वय आवश्यक छ । नेपाली कफीले अन्तराष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । देशभित्रै पनि कफीको माग बढ्दै गइरहेकाले आन्तरिक माग पुर्तीका लागि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्न जरुरी रहेको बोर्डका कार्यकारी निर्देशक पाण्डेले बताए । आयातित कफीको नियमनमा पनि ध्यान दिनुपर्ने उनको भनाई छ ।  बोर्डले कफी उत्पादन वृद्धिको लागी सम्भावित प्रदेशमा चक्लाबन्दीमार्फत कफी क्षेत्र विस्तार, डेमोन्स्ट्रेसन प्लट स्थापना, व्यवसायिक नर्सरी तथा अनुसन्धान प्रवर्द्धनका कार्यक्रम अघि बढाइरहेको जनाएको छ । युवालाई आकर्षित गर्दै कफी स्टेट विकास तथा व्यवसायिक उत्पादन विस्तारलाई प्राथमिकता दिन बोर्डले आगामी वर्षहरूमा युवा लक्षित स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने बताएको छ । ७५ औँ बोर्ड बैठकले कफी मूल्य शृङ्खलाका सबै तहको भुमिका स्पष्ट हुने गरी ऐन तथा नीतिको संशोधन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । कफीको न्यूनतम मूल्य यथावत बोर्डले २०८२ मंसिर १ देखि लागू हुनेगरी कच्चा कफीको न्यूनतम मूल्य गत वर्षकै दर कायम गर्दै यथावत राखेको छ । बोर्डका अनुसार फ्रेस चेरी कफी ग्रेड ए को मूल्यप्रति केजी १०५ रुपैया र  ग्रेड बी को ९५ रुपैयाँ तोकिएको छ । पार्चमेन्ट कफीको भने ग्रेड ए को प्रतिकेजी ५३५ रुपैयाँ र ग्रेड बी को प्रतिकेजी ४८२ रुपैयाँ ताकिएको छ । ड्राइ चेरी कफीको ग्रेड ए को प्रतिकेजी २८० र ग्रेड बीको प्रतिकेजी २४७ रुपैयाँ तोकिएको बोर्डले जनाएको छ । 

निर्वाचन आयोगमा १२२ दल दर्ता, सात खारेज, २८ प्रक्रियामै

काठमाडौं । निर्वाचन आयोगमा १२२ दल दर्ता भएका छन् । आयोगले आइतबार (कात्तिक ३०) पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणाका दिन १२२ दल दर्ता थियो भने अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेका छन् । उनका अनुसार,  यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन् ।  एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दल नेतृत्वको आग्रहमा खारेज गरिएको उनको भनाइ छ । उनले हाल २८ दल दर्ता प्रक्रियामा रहेको बताए । भदौ २७ गते प्रतिनिधिसभा विघटन भई नयाँ निर्वचन मिति घोषणा भएको थियो । भट्टराईले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भए पनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने प्रयोजनको अवधिभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरूले निर्वाचनमा सहभागस् हुन पाउने जानकारी दिए ।  उनले भने, 'आज हामीले मुख्य दुई वटा कामहरु गरिरहेका छौं । एउटा दल दर्ता र अर्को मतदाता नामावलीमा नाम दर्ता गर्ने काम समेत भइरहेको छ । निर्वाचन घोषणा हुने मितिमा जम्मा १२२ वटा दल दर्ता भएको अवस्था थियो । यो बीचमा राजनीतिक दल दर्ता हुने क्रम पनि बढिरहेको छ । र, खारेज हुने क्रम पनि बढिरहेको छ ।'  उनले मतदाता नामावलीमा नाम संकलनको कार्य जारी रहेको उल्लेख गरे । उनका अनुसार मतदाता नामावलीमा नाम संकलन गर्ने कार्य अगामी मंसिर ५ गतेसम्म जारी रहने छ । शनिबार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीको लागि आयोगमा पुगेर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचय पत्रबाट आवेदन दिनेको संख्या दुई लाख रहेको समेत प्रवक्ता भट्टराईले बताए । 

सेयर बजारमा सामान्य गिरावट, नेप्से २५४० बिन्दुमा

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २५४० बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३७ कम्पनीको ७९ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार १०.७५ प्रतिशत एसबीएल डिभेन्चर २०८९ को २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै नेपाल रिइन्स्योरेन्सको २१ करोड, माउन्टेन इनर्जीको २० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १८ करोड र युनियन हाइड्रोको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी, बुंगल हाइड्रो र बन्दीपुर केबलकारको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  आइतबारको कारोबारका समूहगत सूचकमा  होटल तथा पर्यटन ०.१८, उत्पादन तथा प्रशोधन ०.०२ र अन्य समूह ०.७२ प्रतिशतले बढेको छ । बैंकिङ ०.३०, विकास बैंक ०.५२, फाइनान्स ०.८७, हाइड्रोपावर ०.४९, लगानी ०.३४, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.४९ तथा व्यापार ०.१० प्रतिशतले घटेको छ ।

जेनजी आन्दोलनपछि कस्तो छ देशको अर्थतन्त्र ?

काठमाडौं । दुई दिनको जेनीजी आन्दोलनले देशलाई उथलपुथल अवस्थामा पुर्यायो । एमाले–कांग्रेस सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली सबै सरकारका सबै मन्त्रीहरू दुई दिनको आन्दोलनले घर फर्किए । संसद विघटन भयो । भदौ २३ गते १९ जनाको मृत्यु भएपछि भदौ २४ गते देशका ठूला भनिएका भौतिक संरचना ध्वस्त भए । सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत लगायत जिल्ला अदालतहरू, प्रहरी कार्यालयहरू र निजी सम्पत्तिहरू ध्वस्त भए ।  यसले आम उद्योगी व्यवसायीको मनोबल घटायो । देशमा लगानीमैत्री वातावरणमा अन्योलता सिर्जना भयो । कतिपयको अनुमान र विश्लेषण थियो कि अब देशको अर्थतन्त्र ध्वस्त हुन्छ । जेनजी आन्दोलनअघि नै सही दिशामा नरहेको देशको अर्थतन्त्र जेनजी आन्दोलनपछि थप शिथिल बन्ने विश्लेषण धेरैको थियो । तर, व्यवसायीले खरानी टकटक्याएर अगाडि बढ्यो । परिणामस्वरूप अर्थतन्त्र त्यति ठूलो विध्वंशपछि पनि आफ्नै ट्र्याकमा अगाडि बढेको तथ्यांकले देखाएको छ ।  नेपाल राष्ट्र बैंकले आइतबार देशको पछिल्लो आर्थिक स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकका केही महत्त्वपूर्ण सूचकहरूलाई संक्षिप्त रूपमा केलाएका छौं ।  जीडीपीको आधा हिस्सा वैदेशिक विनिमय सञ्चिति  नेपाल राष्ट्र बैंकले विदेशी विनिमयको सञ्चिति धमाधम बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भई २०८२ असोज मसान्तमा २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई २१ अर्ब २१ करोड पुगेको छ ।  आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४८.८ प्रतिशत, १३६.६ प्रतिशत र ३६.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए । विगतका वर्षहरुमा नेपाललाई विदेशी मुद्राकै अभाव झेल्नु पथ्र्यो । तर, पछिल्ला वर्षहरुमा नेपालसँग प्रयाप्त मात्रामा विदेशी मुद्रा छ । यसको अन्तर्राष्ट्रिय रुपमा व्यापार गर्न र वस्तु तथा सेवाको आयात गर्न नेपालसँग प्रयाप्त विदेशी मुद्रा छ भनेर बुझ्नुपर्छ ।  महँगी ह्वात्तै घटेको विश्लेषण नेपाल राष्ट्र बैंकले महँगी घटेको तथ्यांक सार्वजनिक गरेको छ । २०८२ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको उल्लेख गरेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो ।  समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.२० प्रतिशत र ३.४९ प्रतिशत रहेको थियो ।  आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रयमासको औसत मुद्रास्फीति १.६७ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.२६ प्रतिशत रहेको थियो ।  प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.३३ प्रतिशत, मधेश प्रदेशको १.२० प्रतिशत, बागमती प्रदेशको १.१३ प्रतिशत, गण्डकी प्रदेशको १.१६ प्रतिशत, लुम्बिनी प्रदेशको १.८९ प्रतिशत, कर्णाली प्रदेशको १.९१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.६९ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.४३ प्रतिशत, तराईको १.२९ प्रतिशत, पहाडको १.५० प्रतिशत र हिमालको २.३३ प्रतिशत रहेको छ । तलब सूचकाङ्क ४.४८ प्रतिशत बढ्यो नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रयमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले वृृद्धि भएको बताएको छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको तीन महिनासम्मको देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक गर्दै तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले वृृद्धि भएको बताएको हो ।  राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही त्रैमासमा यस्तो सूचकाङ्क ३.३१ प्रतिशतले बढेको थियो । प्रदेशगत रुपमा समीक्षा अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्कको बृद्धिदर १.१२ प्रतिशत, मधेश प्रदेशको ३.६२ प्रतिशत, बागमती प्रदेशको ४.१६ प्रतिशत, गण्डकी प्रदेशको ९.४२ प्रतिशत, लुम्बिनी प्रदेशको ६.६८ प्रतिशत, कर्णाली प्रदेशको १.३६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.६२ प्रतिशत रहेको छ । जेनजी आन्दोलनपछि थप बढ्यो रेमिट्यान्स आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । २०८२ असोज महिनाको विप्रेषण आप्रवाह २ खर्ब १ अर्ब २२ करोड रहको छ ।  अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ ।  अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो । द्दछ। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४३ अर्ब ७६ करोड रहेको थियो । शोधान्तर स्थिति बचतमा  समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत अमेरिकी डलरमा १ अर्ब ३८ करोड रहेकोमा समीक्षा अवधिमा १ अर्ब ८८ करोड रहेको छ । समीक्षा अवधिमा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब १५ अर्ब ३६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ६९ करोडले बचतमा रहेको छ ।  समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १ अर्ब ७४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ४ अर्ब ८१ करोड रहेको थियो ।  व्यापार घाटा १२.२ प्रतिशतले बढ्यो आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा कुल वस्तु व्यापार घाटा १२.२ प्रतिशतले वृद्धि भई ३ खर्ब ९५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ४.० प्रतिशतले कमी आएको थियो ।  समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ४० अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४४ अर्ब १३ करोड रुपैयाँ बराबरको भएको थियो । साढे ३ खर्ब खर्च  आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिनासम्ममा नेपाल सरकारको कुल खर्च ३ खर्ब ६४ अर्ब ५९ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च २ खर्ब ५६ अर्ब ८१ करोड, पँुजीगत खर्च १९ अर्ब १८ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च ८८ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) २ खर्ब ४९ अर्ब ५ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व २ खर्ब ३४ अर्ब ३३ करोड र गैरकर राजस्व १४ अर्ब ७२ करोड परिचालन भएको छ ।  २०८२ असोज मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ७४ अर्ब ९२ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ३० अर्ब ७३ करोड रहेको थियो ।  यस्तो छ निक्षेप र कर्जा प्रवाह  बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.३ प्रतिशतले बढेको छ ।  बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.५८ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर १.९१ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ३.८५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.५० प्रतिशत रहेको छ ।

मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । कालोेपत्रको काम धमाधम भइरहेको सडकखण्डमा सवारीसाधन आवतजावत गर्दा समस्या भएपछि मंसिर १ गतेदेखि २० गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो ।  सवारीसाधन आवतजावत गर्दा कालोपत्र गर्ने कार्य प्रभावित भएपछि बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोको अनुरोधमा एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक बाहेकका सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले अनुरोध गरेका छन् ।  कुश्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिका ८, ७, ४ र ३ वडा हुँदै म्याग्दीको बेनी जोड्ने १३ किमी दुरीमा दुई लेनको सडक स्तरोन्नति भइरहेको छ । उक्त सडक बन्दको समयमा मालढुंगा, बागलुङबाट रत्नेचौर हुँदै बेनीको सडक प्रयोग गर्न सकिन्छ ।  ठेकेदारको ढिलासुस्ती र आयोजना पक्ष निरिह हुँदा विसं २०७७ साल चैत्र महिनामा रु ५२ करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको ठेक्का अहिलेसम्म पूरा हुन सकेको छैन । विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो ।  म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ ।  

भिभो बन्यो एनपीएलको आधिकारिक स्मार्टफोन पार्टनर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण ‘फेस्टिभल अफ द हिमालयज’ मंसिर १ गतेबाट औपचारिक रूपमा सुरु हुँदैछ । महोत्सवको पूर्वसन्ध्यामा विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभो पुनः नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गर्दै एनपीएलको आधिकारिक स्मार्टफोन पार्टनर बनेको घोषणा गरेको छ । भिभोले साझेदारीसम्बन्धी घोषणा आफ्नो तथा एनपीएलको आधिकारिक फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेको हो । प्रतियोगिता प्रारम्भ हुनुअघि नै गरिएको यो घोषणाले क्रिकेटप्रेमीहरूमा थप उत्साह, ऊर्जा र अपेक्षा जगाएको छ । पहिलो संस्करण सफल रूपमा सम्पन्न भएपछि यस वर्षको एनपीएल अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागितासहित २७ दिनसम्म चल्ने यस लिगलाई नेपाली क्रिकेटको उत्सवका रूपमा हेरिएको छ । भिभोले सहकार्यमार्फत नेपालमा खेलकुद, विशेषगरी क्रिकेटको विकासप्रति आफ्नो निरन्तर प्रतिबद्धता दोहोर्याएको छ । अत्याधुनिक प्रविधि, फ्यान–केन्द्रित गतिविधि र मनोरञ्जनात्मक कार्यक्रममार्फत यस वर्ष फ्यानहरूको खेल अनुभवलाई अझ प्रभावशाली बनाउन भिभोले लक्ष्य लिएको जनाएको छ । भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भोलिदेखि सुरु हुने एनपीएलप्रति उत्साह प्रकट गर्दै भने, 'क्रिकेट नेपालीहरूलाई एकै ठाउँमा जोड्ने खेल हो । भिभो हरेक वर्ष फ्यानहरूको उत्साहलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित एनपीएलको यात्रा पुनः निरन्तरता दिन पाउँदा अत्यन्त खुशी छ ।' नेपाल क्रिकेट संघ (क्यान)का महासचिव पारस खड्काले भिभोको निरन्तर सहकार्यले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुगेको बताए । उनले भने, 'एनपीएल नेपाली खेलाडीहरूका लागि प्रतिभा प्रदर्शन गर्ने महत्त्वपूर्ण मञ्च बनेको छ । दोस्रो संस्करणले खेलाडी र फ्यान दुवैलाई नयाँ प्रेरणा र अवसर प्रदान गर्नेछ ।' प्रतियोगिताको अवधिभर भिभोले फ्यानहरूलाई लक्षित विविध डिजिटल तथा ग्राउण्ड एक्टिभेशन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यी गतिविधिहरूले फ्यान संलग्नता, मनोरञ्जन र क्रिकेटप्रतिको आकर्षणलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।