पहिलो त्रैमासमा सानिमा रिलायन्सको नाफा १४ करोड ९६ लाख, जीवन बीमा कोषमा २० अर्ब ८७ करोड
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीले १४ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको यही अवधिमा १३ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा १२.५३ प्रतिशतले बढेको छ । तीन महिनाको अवधिमा कम्पनीको जीवन बीमा कोषमा २० अर्ब ८७ करोड ७१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा जीवन बीमा कोषमा १५ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३४.१२ प्रतिशतले बढेको छ । त्यस्तै पहिलो त्रैमासमा कम्पनीको महाविपत्ति कोषमा १४ करोड ९२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ७४ लाख रुपैयाँ थियो । यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ४० करोड ६९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ३४ करोड २६ लाख रुपैयाँ थियो । कम्पनीको अन्य इक्विटी २ करोड ६२ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको अन्य इक्विटीमा ८ करोड ९ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिसम्म कम्पनीले १ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क आर्जन १७.९९ प्रतिशतले बढेको छ। यो अवधिमा कम्पनीले १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५० करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १८.५२ प्रतिशतले बढेको छ । कुल ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ सेयर पुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.९३ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ४९.१२ गुणा, प्रतिसेयर नेटवर्थ ११०.५७ रुपैयनन् रहेको छ ।
सेयरधनीलाई २० प्रतिशत लाभांश दिने सर्वोत्तम सिमेन्टको घोषणा
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विवरण पारित गर्दै कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम ४ अर्ब ९७ करोड ५५ लाख चुक्ता पूँजी मध्येबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । जसको रकम २४ करोड ८७ लाख ७५ हजार रुपैयाँ बराबर पर्छ । त्यस्तै १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरिएको छ, जसको रकम ७४ करोड ६३ लाख २५ हजार रुपैयाँ रहेको छ । यससँगै सर्वोत्तम सिमेन्टले प्रस्ताव गरेको कुल लाभांश रकम ९९ करोड ५१ लाख रुपैयाँ बराबर हुने कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत जानकारी गराएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
कांग्रेसभित्र महाधिवेशन विवाद बढेपछि सभापति देउवा सक्रिय
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १८ दिनको सिंगापुर उपचारपछि नेपाल फर्किएलगत्तै पार्टीभित्र महाधिवेशनसम्बन्धी देखिएको विवाद समाधान गर्न सक्रिय भएका छन् । शुक्रबार राति काठमाडौं आएपछि उनले शनिबारदेखि नेताहरूसँग अनौपचारिक भेटघाटलाई तीव्रता दिएको देउवा निकट स्रोतले बताएको छ । देउवाले गत असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति नियुक्त गरेका थिए । कार्यवाहक सभापति खड्काले शनिबार बिहान देउवालाई पछिल्लो एक महिना बसेको केन्द्रीय समिति बैठकमा भएको छलफल र महाधिवेशन प्रक्रियालाई लिएर बढेको असन्तुष्टिबारे जानकारी गराएका थिए । देउवा निकट स्रोतले खड्काले उक्त जानकारी गराएपछि देउवाले अनौपचारिक भेटघाट बढाएको बताएको छ । स्रोतका अनुसार खड्कासँगको विस्तृत संवादपछि देउवाले पार्टीभित्र बढ्दो विवाद चिस्याउने उद्देश्यले प्रवक्ता डाक्टर प्रकाशशरण महत, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदसहितका नेताहरूसँग पनि भेटवार्ता गरेका छन् । महाधिवेशनको तयारी, सदस्यता विवाद र समय तालिकासम्बन्धी असहमति पार्टीभित्र मुख्य विवादको विषय बनिरहेका बेला देउवाको अनौपचारिक भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेताहरूका अनुसार देउवाले औपचारिक रूपमा निर्णय लिने स्थिति नबने पनि उनले आन्तरिक तनाव बढ्न नदिने र महाधिवेशन प्रक्रियालाई छलफलमार्फत अघि बढाउने संकेत दिएका छन् । पार्टीभित्र नेतृत्वको भूमिकाबारे बढ्दो बहसका बीच देउवाको सक्रियताले कांग्रेसलाई महाधिवेशनतर्फ एकीकृत रूपमा अघि बढाउन महत्त्वपूर्ण हुने विश्लेषण गरिएको छ ।
कार्बन साझेदारी कोषबाट मुलुकलाई एक अर्ब १९ करोड प्राप्त
काठमाडौं । तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट एक अर्ब १९ करोड रुपैयाँ प्राप्त प्राप्त गरेको छ । यो रकम कोषअन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट (इआरपिए)अनुसार नेपालले पाएको यो पहिलो भुक्तानी हो । यसले वन विनाश रोक्ने, समावेशी तथा दिगो वन व्यवस्थापन प्रवद्र्धन गर्ने नेपालका प्रयास मुखरित भएको विश्व बैंकले आइतबार एक विज्ञप्ति निकालेर जनाएको छ । बैंकले यो उपलब्धिबाट नेपालले वन विनाश रोक्न, जैविक विविधता संरक्षण बढाउन र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर विस्तार बल पुग्ने विश्वास व्यक्त गरेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले प्राप्त रकमले वनमा निर्भर समुदाय, आदिवासी जनजाति तथा सरकारको संयुक्त प्रतिबद्धतालाई प्रमाणित गरेको बताए ।
बाल्यकालको संघर्षबाट विश्वप्रसिद्ध परफ्यूम उद्यमी बनेकी जो मेलोनको यात्रा
काठमाडौं । ब्रिटिश उद्यमी तथा चर्चित परफ्यूमर जो मेलोन (सीबीई) ले आफ्ना कठोर बाल्यकाल र ११ वर्षकै उमेरमा परिवारको मुख्य आम्दानीकर्ता बनेको अनुभवले कसरी उद्यमशीलता बीउ रोप्यो भन्नेबारे खुलाएकी छन्। जो मेलोन लन्डन र जो लभ्स जस्ता सफल पर्फ्यूम ब्रान्डकी संस्थापक मेलोन हालै सीएनबीसीको पोडकास्टमा स्टीभ सेजविकसँग सहभागी भएकी थिइन् । सो एपिसोड मंगलबार सार्वजनिक गरिएको थियो । जो मेलोन लन्डन ब्रान्ड सन् १९९९ मा इस्ती लाउडर कम्पनीजले खरिद गरेको थियो, जसबाट मेलोनले करोडौं पाउन्ड बराबरको रकम पाएकी थिइन्, यद्यपि कति पाएकी थिइन् भन्ने सार्वजनिक गरिएको छैन । तर करोडपति बन्नुभन्दा धेरै पहिले मेलोनले बेलायतको केन्टस्थित एक काउन्सिल इस्टेटमा बिताएको बाल्यकाल सम्झिइन्—उनकी आमाले ब्युटी क्षेत्रमा काम गर्थिन् भने उनका बुबा कलाकार मात्र नभई जुवाडे र पोकर खेलाडी पनि थिए । उनले भनिन्, ‘११ वर्षको उमेरदेखि नै म नै घरको ठूलीजस्तै भइसकेकी थिएँ । ‘बिजुली–ग्यासको मीटर रिचार्ज गर्न पैसा छ कि छैन?’ भनेर हेर्ने काम म गर्थेँ । किनकि यदि उहाँ (बुबा) ले सबै पैसा जुवामा हारे हामीसँग खानेकुरा पनि हुँदैनथ्यो।’ मेलोन किशोरावस्थामा पुग्नुअघि नै उनकी आमा मानसिक रूपमा निकै कमजोर भइन् । त्यसका कारण उनले लगभग एक वर्ष स्कुल जानै सकिनन् र आमाबुबा तथा कान्छी बहिनीका लागि घर चलाउने उपाय खोजिरहेकी थिइन् । चतुर मेलोनले आमाले सिकाएका कला प्रयोग गर्दै आमाले बेच्ने फेस क्रिमको नक्कल बनाइन् जसलाई उनले ट्रेन चढेर लन्डन लगेर ४.५० यूरोमा बेच्थिन् । ‘यस्तै गर्थें जसले हाम्रो परिवार एकैसाथ टिकाइरह्यो । बुबा कहिल्यै घरमा हुनुहुँदैनथियो, जहिल्यै हराउनुहुन्थ्यो,’ उनले भनिन् । ‘त्यस्तै कठिन क्षणहरूले नै मलाई बनाएको हो । जे आए पनि म बाँच्ने बाटो फेला पार्थें– कहिले सुरुङ, कहिले सिँढी तर अर्को २० यूरो कसरी कमाउने भनेर सोच्थें,’ उनले थपिन् । शनिबारका दिन उनी बुबाका चित्रहरू बेच्थिन् किनकि घरमा खानेकुरा किन्न पैसा चाहिन्थ्यो र बुबाले सबै पैसा खर्च गर्थे । आइतबार उनी बुबासँग पोकर खेल हेर्न जान्थिन् । आज मेलोन सफल उद्यमीका रूपमा स्थापित छिन् र ती कठिन बाल्यकालका अनुभवलाई उनले आफूलाई कडा, दृढ र उद्यमशील बनाएको समयका रूपमा सम्झिन्छिन् । सुरुवातमा मात्र बाँच्ने संघर्ष ‘म सधैं भन्थेँ— म ठूलो भएपछि यस्तै जीवन जीउँदिनँ, यस्तो परिवार बनाउँदिनँ,’ एक दिनको सम्झना सुनाउँदै उनले भनिन्, ‘मेरो कोठामा कुनै हिटर थिएन । निकै जाडो थियो, झ्यालमा बरफ जमेको थियो । मैले औंलाले त्यो बरफ छेरेर बाहिर हेरिरहेँ र सोचेँ– ‘म आफ्नो भाग्य बदल्नैपर्छ ।’ किशोरी हुँदा उनी साथीहरू जस्तै खेलकुद वा रमाइलो गर्न पाउँदिनथिन् । उनी घरमै कपडा धुने, खाना पकाउने, बहिनीलाई स्कुलबाट ल्याउने काम गर्थिन् । धेरै पछि मात्र उनले बुझिन्—उही आत्मनिर्भरता नै उद्यमशील भावना बन्न पुगेको रहेछ । ‘सुरुमा यो बाँच्नकै लागि थियो,’ उनले भनिन् । फुलबारीमा काम गर्नु, रेस्टुरेन्टमा भाँडा माझ्नु, कुकुर हिँडाउनुजस्ता कामबाट उनको यात्रा सुरु भएको थियो । ‘म कहिल्यै लजाइनँ । जुनसुकै काम गर्नुपरे पनि तयार थिएँ । तर जब मैले पहिलो स्किनकेयर व्यवसाय सुरु गरेँ—त्यही बेला थाहा पाएँ कि ‘अब मेरो जीवन ममै छ,’ र यही नै उद्यमशीलताको जन्म क्षण थियो,’ उनले भनिन् । मेलोन हाल दुबईमा बस्छिन् र यसै वर्ष उनले जो भोड्का नामको लक्जरी स्पिरिट ब्रान्ड सुरु गरेकी छन् । साथै उनी जो लभ्स नामक सुगन्ध व्यवसाय पनि सञ्चालन गर्छिन् । घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य
सार्वजनिक सुरक्षाको सुनिश्चितताका लागि गृहमन्त्री अर्यालले गरे केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचन र देशभरि भइरहेका सुरक्षा चुनौतीहरूको परिप्रेक्ष्यमा केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेका छन् । यो बैठक आइतबार दिउँसो ३ बजे गृह मन्त्रालयको सिंहदरबारस्थित कार्यालयमा हुनेछ । गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेका अनुसार बैठकमा शान्ति सुरक्षाको व्यवस्था र आगामी फागुन २१ गतेको प्रतिनिधि सभा चुनावका सुरक्षा उपायहरूमा चर्चा हुनेछ । यससँगै दुर्गा प्रसाईंको आन्दोलनको प्रभाव र त्यससँग सम्बद्ध सुरक्षा चुनौतीहरूको बारेमा पनि विचार गरिनेछ । बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र शान्ति सुरक्षा महाशाखाका उच्च अधिकारीहरू सहभागी हुने जनाइएको छ। यो बैठकले आगामी निर्वाचनमा शान्ति र सुरक्षा सुनिश्चित गर्न सरकारको रणनीति बनाउन महत्वपूर्ण भूमिका निभाउनेछ ।
अन्तरराष्ट्रिय उतारचढावको असर नेपालमा, तोलामा ६९ सयले घट्यो सुनको मूल्य
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यको मूल्यमा ६ हजार ९०० रुपैयाँले गिरावट आएको छ । आइतबार एक तोला सुनको मोल दुई लाख ४२ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन दुई लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि १५० रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला तीन हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार त्यति नै परिमाणको चाँदी तीन हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर र आशा लघुवित्तको लाभांश घोषणा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १०.३५८३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारित गरेको हो । यस लाभांश दरलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले चालू चुक्ता पूँजीको आधारमा ९ प्रतिशत बोनस सेयर तथा ०.४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार बोनसतर्फ ३ करोड ४९ लाख ३७ हजार ६९९.६७ रूपैयाँ बराबरका सेयर र नगदतर्फ १८ लाख ३८ हजार ८२६.३० रुपैयाँ वितरण हुने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई हस्तान्तरण गरिनेछ । त्यस्तै, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय पारित गरेको संस्थाले जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।