सार्वजनिक सुरक्षाको सुनिश्चितताका लागि गृहमन्त्री अर्यालले गरे केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचन र देशभरि भइरहेका सुरक्षा चुनौतीहरूको परिप्रेक्ष्यमा केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेका छन् । यो बैठक आइतबार दिउँसो ३ बजे गृह मन्त्रालयको सिंहदरबारस्थित कार्यालयमा हुनेछ । गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेका अनुसार बैठकमा शान्ति सुरक्षाको व्यवस्था र आगामी फागुन २१ गतेको प्रतिनिधि सभा चुनावका सुरक्षा उपायहरूमा चर्चा हुनेछ । यससँगै दुर्गा प्रसाईंको आन्दोलनको प्रभाव र त्यससँग सम्बद्ध सुरक्षा चुनौतीहरूको बारेमा पनि विचार गरिनेछ । बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र शान्ति सुरक्षा महाशाखाका उच्च अधिकारीहरू सहभागी हुने जनाइएको छ। यो बैठकले आगामी निर्वाचनमा शान्ति र सुरक्षा सुनिश्चित गर्न सरकारको रणनीति बनाउन महत्वपूर्ण भूमिका निभाउनेछ ।
अन्तरराष्ट्रिय उतारचढावको असर नेपालमा, तोलामा ६९ सयले घट्यो सुनको मूल्य
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यको मूल्यमा ६ हजार ९०० रुपैयाँले गिरावट आएको छ । आइतबार एक तोला सुनको मोल दुई लाख ४२ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन दुई लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि १५० रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला तीन हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार त्यति नै परिमाणको चाँदी तीन हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर र आशा लघुवित्तको लाभांश घोषणा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १०.३५८३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारित गरेको हो । यस लाभांश दरलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले चालू चुक्ता पूँजीको आधारमा ९ प्रतिशत बोनस सेयर तथा ०.४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार बोनसतर्फ ३ करोड ४९ लाख ३७ हजार ६९९.६७ रूपैयाँ बराबरका सेयर र नगदतर्फ १८ लाख ३८ हजार ८२६.३० रुपैयाँ वितरण हुने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई हस्तान्तरण गरिनेछ । त्यस्तै, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय पारित गरेको संस्थाले जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
मेटलाइफको पहिलो त्रैमासमा १ अर्ब ६६ करोड बीमाशुल्क आर्जन, नाफा ९ करोड ७० लाख
काठमाडौं । मेटलाइफ नेपालले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक रिपोर्टअनुसार कम्पनीले यस अवधिमा १ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही त्रैमासिकको तुलनामा मेटलाइफको व्यवसायमा सुधार देखिएको छ । यस त्रैमासमा कुल बीमाशुल्कमा १५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै प्रथम तथा एकल बीमाशुल्क १७ प्रतिशतले बढेको छ भने नवीकरण बीमाशुल्क पनि १५ प्रतिशतले बढेको छ । रिपोर्टअनुसार सोही अवधिमा कम्पनीले ७७ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशत वृद्धि हो । मेटलाइफको जीवन बीमा कोष ३०.६० अर्ब रुपैयाँमा पुगेको छ भने पहिलो त्रैमासमा कम्पनीले ९ करोड ७० लाख नाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै, कम्पनीको जगेडा तथा कोष ४.४६ अर्ब रूपैयाँ रहेको छ ।
डोंगफेङ नामीको नयाँ अत्याधुनिक शोरूम बिर्तामोडमा सञ्चालनमा
काठमाडौं । डोंगफेङ नामीका अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रालिले बिर्तामोडमा नयाँ अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ । नेपालभर सञ्जाल विस्तार गर्ने र ग्राहकहरूको आवश्यकता र सुविधालाई थप प्रभावकारी बनाउने कम्पनीकाे अपेक्षा छ । उद्घाटन समारोहमा झापा उद्योग वाणिज्य संघका संस्थापक सदस्य बलराम थापाले प्रमुख अतिथिको भूमिका निर्वाह गरे भने एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त, सञ्चारकर्मी, ग्राहक, स्थानीय व्यवसायी तथा उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बिर्तामोडको केन्द्रमा अवस्थित यो शोरूममा डोंगफेङ र सेरेसका अत्याधुनिक ईभी मोडेलहरूको अवलोकन, अनुभव तथा परीक्षण सवारी गर्ने सुविधा रहनेछ । ग्राहक अनुभवलाई प्राथमिकता दिँदै शोरूममा प्रशिक्षित कर्मचारीहरूको टोलीले व्यक्तिगत परामर्श, विस्तृत जानकारी तथा टेस्ट ड्राइभ सेवा उपलब्ध गराउनेछ, जसले कम्पनीको पूर्वी क्षेत्रमा उपस्थितिलाई अझ सबल बनाउने विश्वास गरिएको छ । शोरूम उद्घाटनको अवसरमा एमएडब्लू वृद्धिले कार्तिक २९ देखि १ मंसिरसम्म बिर्तामोड–चारपानेस्थित डोंगफेङ नामी शोरूममा तीन दिने टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । क्याम्प अवधिमा ग्राहकहरूले नामी ०१, नामी भिगो तथा सेरेस ईभी मोडेलहरू खरिद वा एक्सचेन्ज गर्ने सुविधा पाउनेछन् । यस समयमा नामी ०१ विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा तथा सेरेस ३ मा अधिकतम ६ लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सकिनेछ । साथै ग्राहकहरूले एक्सचेन्जमा उत्कृष्ट मूल्याङ्कन र बोनस पाउने छन् भने प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहारसमेत प्रदान गरिने कम्पनीले जनाएको छ ।
मंसिरमा ११ बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?
काठमाडौं । वाणिज्य बैंकहरूले मंसिरमा पनि ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । मंसिर महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१७ प्रतिशत घटेर औसत ५.०३ प्रतिशतमा झरेको छ । जबकि असोजमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.२० प्रतिशत थियो । यस्तै, मंसिरमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.१० प्रतिशत घटेर ३.५८ प्रतिशतमा झरेको छ । यसअघि असोजमा संस्थागततर्फ औसत ३.६८ प्रतिशत ब्याजदर थियो । मंसिर महिनाका लागि ११ बैंकले ब्याजदर घटाएका छन् भने ९ बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । यस्तै, एभरेष्ट बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् । जसमध्ये एनआईएमबिले संस्थागततर्फ भने ब्याजदर घटाएको छ ।
हुम्लाबाट हुने प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य
अदानचुली । हुम्लाबाट सञ्चालन हुने तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ । सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने माग राखेर तालाबन्दी गरिएको थियो । सदरमुकाम सिमकोट गाउँपालिका–५ का युवाले हवाई टिकट वितरणमा पारदर्शिता नगरी मिलोमतोमा वितरण गर्ने तथा पछिल्लो समय चिठ्ठाका आधारमा गर्दा टिकट वितरण गर्दा समस्या आएको भन्दै तालाबन्दी गरेका थिए । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय बैठकपछि ताला खोलिएको छ । बैठकले प्रत्येक उडानमा दुई हवाई टिकट अनिवार्य बिरामीलाई वितरण गर्ने, तीन सरकारी कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालयले सिफारिस गर्ने तथा तीन टिकट एयरलाइन्सले अग्रिम सूचना जारी गरी अनलाइन माध्यमबाट वितरण गर्ने सम्झौता भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए । त्यसैगरी, सिमकोट गाउँपालिका–५ र ६ का स्थानीयका लागि वडा कार्यालयको सिफारिसमा एक–एक टिकट वितरण गर्ने तथा बाँकी टिकट एयरलायन्सले प्राथमिकता र सहजताका आधारमा वितरण गर्ने निर्णय भएको छ । सिमकोट गाउँपालिका–५ र ६ ले पहिलोपटक आरक्षण सिट पाउने भएको छ । यो तालिका सिमकोट विमानस्थलमा उडान भर्ने सीता, समिट, तारा र नेपाल एयरलाइन्सका सबै उडानमा लागु हुनेछ । रासस
कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए : बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी
म्याग्दी । यहाँ उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन् । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरको अन्नपूर्ण बेकरी हाउसका सञ्चालक कृष्ण खड्काले उपभोक्ताबाट माग आउन थालेपछि कोदोको बिस्कुट उत्पादन गर्न थालेका छन् । 'पहिलेपहिले कोदोखेती गर्ने र यसका परिकार उपभोग गर्नेलाई गरिब भनेर हेप्ने चलन थियो', उनले भने, 'स्वस्थकर र पोषिलो कोदोको महत्व बुझेपछि माग आउन थालेपछि मैले पनि बिस्कुट बनाएर बेच्न थालेको छु ।' यसअघि धवलागिरि गाउँपालिका–७ ताकममा धवलागिरि बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारीले कोदाको पीठो प्रशोधन गरी बिस्कुट उत्पादन गरेर बिक्री गर्दै आएका छन् । रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको टोड्के हिल रिसोर्टले पनि पाहुनालाई चखाउन र बजारमा बिक्री गर्न कोदोको बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना गरेको छ । उद्यमी खड्काले गाउँबाट काम विशेषले बजारमा बसाइँसराइ गरेका, विदेशमा रहेका र भ्रमणमा आउने पाहुनाले कोदोको पीठो र बिस्कुट किनेर लैजाने गरेको बताए । कोदोको बिस्कुटको माग ग्रामीण क्षेत्रको तुलनामा बजारबाट बढी आउने गरेको व्यवसायी खड्काले बताउनुभयो । भुटेको कोदोको पीठोमा चिनी, मह, उखुको खुदो मिसाएर बिस्कुट बनाउने गरिएको छ । प्रतिदर्जन (१२ वटा) कोदोको बिस्कुट रु ६० का दरले बिक्री हुने गरेको छ । पर्यटकीय जिल्ला मुस्ताङ र अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थलको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र पोखरबेगरमा स्थानीय उत्पादनको कोसेलीघर सञ्चालन र कोदोको बिस्कुटका साथै पाउरोटी बनाउने तयारी गरेको उद्यमी खड्काले बताए । कोसेलीघर स्थापना र कोदोको बिस्कुट बनाउन आवश्यक पर्ने ‘ओभन’ गर्न कृषि ज्ञान केन्द्रले गत आर्थिक वर्षमा रु दुई लाख अनुदान सहयोग गरेको थियो । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले परम्परागत बाली संरक्षण र प्रवर्द्धन कार्यक्रममार्फत कोदोलगायत खाद्य, दलहन बालीको खेती विस्तार, प्रशोधन, प्याकेजिङ र बजारीकरणमा सहयोग गर्ने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको बताए । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि म्याग्दीमा प्रदेश सरकारबाट रु १५ लाख बजेट विनियोजन भएको छ । कार्यक्रममार्फत उद्यमी तथा किसानले परियोजनाको कुल लागतको ५० प्रतिशत अनुदान पाउनेछन् । केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ । समुद्री सतहदेखि तीन हजार १०० मिटर उचाइको भूगोलसम्म कोदोखेती गर्न सकिन्छ । क्याल्सियम, फस्फोरस र आइरन प्रशस्त मात्रामा पाइने कोदोलाई बालबालिकादेखि ज्येष्ठ नागरिकका लागि उत्तम खानाका रूपमा लिइन्छ । गर्भवतीहरूका लागि पनि कोदो पोषिलो खाना हो । मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने र झाडापखलाका रोगीका लागि कोदो अति राम्रो मानिने केन्द्रका प्रमुख बाँस्तोलाले बताए । कोदोको उपभोगले रगतमा बोसो र कोलस्टेरोलको मात्रा घटाउँछ । नेपालमा नसर्ने रोगबाट ग्रसित हुनेको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा कोदोको परिकार उपभोगका लागि माग बढेको ताकमका उद्यमी अनिल भण्डारीले बताए । खेती घटेर संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको कोदोको परिकारलाई विविधकरण र बजारीकरण गर्दा किसानलाई फाइदा पुग्ने र आयात घटाउन सहयोग पुग्ने उनको भनाइ छ । रासस