विकासन्युज

३१ अर्ब बढी घुस लिएको आरोपमा चीनका पूर्वअधिकारीलाई मृत्युदण्ड

काठमाडौं । पूर्वी चीनको एक अदालतले करिब ३० वर्षको अवधिमा २.२ अर्ब युआन (३१ अर्ब रुपैयाँ बढी) ने भन्दा बढी घुस लिएको आरोपमा एक पूर्व नगर अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । सन् १९९३ देखि २०२३ सम्म याङ योलिनले नानजिङमा विभिन्न सरकारी पदमा कार्यरत रहँदा घुस लिएको, सरकारी सम्पत्ति हिनामिना गरेको, अधिकारको दुरुपयोग गरेको तथा अवैध रूपमा कमाएको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको ठहर अदालतले गरेको छ ।  हालैका वर्षहरूमा उनको अवैध आम्दानी सबैभन्दा ठूलोमध्ये एक मानिएको छ । ६९ वर्षीय याङले आफ्नो पदको दुरुपयोग गर्दै अन्य व्यक्तिहरूलाई इन्जिनियरिङ ठेक्का, जग्गा हस्तान्तरण तथा वित्तीय सुविधा उपलब्ध गराउन सहयोग गरेबापत नगद र बहुमूल्य वस्तुहरू लिएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । याङमाथिको अनुसन्धान सी चिनफिङको नेतृत्वमा सञ्चालन भइरहेको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत गरिएको हो । उक्त अभियानले सेना, बैंकिङ क्षेत्रलगायत विभिन्न उच्च तहका सरकारी निकायहरूमा व्यापक कारबाही गरेको छ । छाङझाउको अदालतले सोमबार जारी गरेको निर्णयमा याङले गरेका अपराधहरू ‘अत्यन्त गम्भीर प्रकृतिका’ रहेको र त्यसबाट ‘राज्य तथा जनताको हितमा अत्यधिक क्षति पुगेको’ उल्लेख गरेको छ । राष्ट्रपति सी चिनफिङ सत्तामा आएपछि चीनमा पटक–पटक भ्रष्टाचारविरोधी अभियान सञ्चालन भएका छन् । आलोचकहरूले भने ती अभियानलाई राजनीतिक प्रतिद्वन्द्वी हटाउने माध्यमका रूपमा पनि प्रयोग गरिएको आरोप लगाउँदै आएका छन् । आर्थिक तथा भ्रष्टाचारसम्बन्धी अपराधमा मृत्युदण्ड दिने घटना भने चीनमा विरलै हुने गर्छ । तर, एक अर्ब युआनभन्दा बढी रकम जोडिएका अत्यन्त ठूला भ्रष्टाचारका मुद्दामा कहिलेकाहीँ यस्तो सजाय सुनाइने गरेको छ । यसअघि लाइ सियाओमिनलाई १० वर्षको अवधिमा १.८ अर्ब युआन घुस लिएको अभियोगमा सन् २०२१ मा मृत्युदण्ड कार्यान्वयन गरिएको थियो । त्यस्तै, ली जियानपिङलाई ३ अर्ब युआनभन्दा बढी रकम घुस लिएको अभियोगमा सन् २०२४ मा मृत्युदण्ड दिइएको थियो । धेरै अन्य भ्रष्टाचारका मुद्दामा भने अदालतहरूले कैद सजाय वा स्थगित मृत्युदण्ड सुनाउने गरेका छन्। यस्तो अवस्थामा निश्चित अवधि पूरा भएपछि मृत्युदण्डलाई आजीवन कारावासमा रूपान्तरण गरिन्छ । कतिपय मुद्दामा दोषी ठहर भएका व्यक्तिले अन्य अपराधीबारे जानकारी दिएमा अदालतले सजाय पनि घटाउने गरेको छ । याङले पनि अनुसन्धानमा सहयोग गरेको भए पनि उनको अपराध अत्यन्त गम्भीर भएकाले त्यो सहयोग सजाय कम गर्न पर्याप्त नभएको छाङझाउ अदालतले जनाएको छ ।

घुससहित पक्राउ परे वन कार्यालयका प्रमुख राम केवल राय यादव

काठमाडौं । जिल्ला सिरहाको बन्दीपुरस्थित सव-डिभिजन वन कार्यालयका कार्यालय प्रमुख राम केवल राय यादव घुस रकमसहित पक्राउ परेका छन् । उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए–नभएको रुजु गरी आवश्यक कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार यादवले सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउका क्रममा उनीसँग घुसबापत लिएको १२ हजार रुपैयाँसहित स्रोत नखुलेको १ लाख ३३ हजार १२० रुपैयाँ बरामद भएको छ । यससँगै उनको साथबाट एक थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ । उनीलाई सिरहाको कर्जन्हा नगरपालिका–४ स्थित मिर्चौयाबाट बन्दीपुर जाने महेन्द्र राजमार्गमा बुधबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

भुजुङ हाइड्रोको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउनमा सकिने

काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लक–इन अवधि यही साउनमा समाप्त हुने भएको छ। कम्पनीका अनुसार सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५० हजार कित्ता साधारण सेयरको लक–इन अवधि अवधि सेयर बाँडफाँट भएको मितिले ६ महिनापछि अर्थात् २०८३ साउन २६ गते समाप्त हुनेछ ।  

विश्वकपको उपाधि होड थप रोमाञ्चक

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेको सन् २०२६ को फिफा विश्वकप फुटबल अन्तिम आठ टोलीमा सीमित भएको छ ।  राउन्ड अफ १६ का रोमाञ्चक खेलपछि साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन, बेल्जियम, इङ्ग्ल्यान्ड, नर्वे, मोरक्को र स्विट्जरल्यान्डले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन् । तस्बिर :  फिफा विश्वकप  साविक च्याम्पियन अर्जेन्टिनाले राउन्ड अफ १६ मा इजिप्टविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै ३–२ को जित निकालेको थियो । २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटभित्र तीन गोल गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो ।  अब अर्जेन्टिनाले अन्तिम आठमा स्विट्जरल्यान्डको सामना गर्नेछ । स्विट्जरल्यान्डले भने कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो ।   यस्तै, स्पेनले छिमेकी राष्ट्र पोर्चुगललाई कठिन प्रतिस्पर्धामा १–० ले हराउँदै अन्तिम आठमा स्थान बनायो भने फ्रान्सले पनि पाराग्वेलाई १–० ले हराउँदै आफ्नो यात्रा निरन्तर राखेको छ ।  बेल्जियम, मोरक्को, इङ्ग्ल्यान्ड र नर्वेले पनि नकआउट चरणमा प्रभावशाली जित निकाल्दै उपाधि होडलाई थप प्रतिस्पर्धात्मक बनाएका छन् । बेल्जियमले अमेरिकालाई ४–१ ले हराएको हो भने मोरक्कोले आयोजक राष्ट्र क्यानडालाई ३–० ले हराएको हो ।  त्यस्तै, इङ्ल्यान्डले मेक्सिकोलाई ३–२ ले हराउँदा नर्वेले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले पराजित गर्यो। क्वार्टरफाइनलमा पहिलो खेल फ्रान्स र मोरक्कोबीच जुलाई ९ (नेपाली समयअनुसार पर्सि शुक्रबार बिहान पौने २ बजे) हुनेछ । त्यसपछि स्पेन र बेल्जियमबीच नेपाली समयअनुसार शनिबार बिहान पौने १ बजे अर्को रोमाञ्चक भिडन्त हुनेछ ।  जुलाई ११ मा अर्जेन्टिना र स्विट्जरल्यान्डबीच (नेपाली समयअनुसार आगामी आइतबार बिहान पौने ७ बजे) खेल हुनेछ भने इङ्ग्ल्यान्ड र नर्वेबीच आइतबार बिहान पौने ३ बजे क्वार्टरफाइनल खेलिने तालिका छ ।  यी चार खेलका विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्। गोल्डेनबुटको प्रतिस्पर्धा पनि निकै रोचक बनेको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसी ८ गोलसहित प्रतिस्पर्धामा अग्रस्थानमा छन् । त्यस्तै,  फ्रान्सका स्टार फरवार्ड केलियन एम्बाप्पे र नर्वेका स्ट्राइकर अर्लिङ हालान्ड ७ गोलसहित उनीहरूलाई पछ्याइरहेका छन् । त्यस्तै, इङ्ग्ल्यान्डका ह्यारी केनले ६ गोल गरेका छन् । यस संस्करणको विश्वकपमा धेरै ठूला टोली बाहिरिँदा केही नयाँ टोलीले ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । विशेषगरी मोरक्को र नर्वेको प्रभावशाली प्रदर्शनले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ । अबको प्रत्येक खेल ‘गर वा मर’ को अवस्थामा हुने भएकाले सानो गल्तीले पनि उपाधि यात्रामा पूर्णविराम लाग्न सक्छ । विश्व फुटबलका समर्थकहरूको नजर अहिले क्वार्टरफाइनलतर्फ केन्द्रित छ । उपाधि दाबेदार टोलीबीच हुने कडा प्रतिस्पर्धाले यसपटकको विश्वकप झन् रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । सान्दर्भिक सामग्रीहरू : क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती  यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]  विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान  मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः  लेखे

नक्कली प्रमाणपत्र पेस गरेर शिक्षक बनेका गुन्जेश्वर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा सिरहाका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार सिरहाको धनगढीमाई नगरपालिका–स्थित जनता माध्यमिक विद्यालय, वेतहा भवानीपुरमा माध्यमिक तह तृतीय श्रेणीका शिक्षकका रूपमा कार्यरत गुन्जेश्वर मण्डलले नियुक्तिका क्रममा झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । अनुसन्धानका क्रममा मण्डलले भारतस्थित बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल, पटनाबाट आईएससी तथा चौधरी चरण सिंह विश्वविद्यालय, मेरठबाट विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेको भन्दै पेस गरेका प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ । ती झुट्टा प्रमाणपत्रका आधारमा शिक्षक पदमा नियुक्ति लिई ओहदा, तलब तथा अन्य सुविधा प्राप्त गरेको देखिएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कैद र जरिवाना सजायको माग गर्दै बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

२५ जनाको ज्यान लिने ध्रुवे हात्तीको दाह्रा काटिँदै

काठमाडौं । पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ ।  दुई वर्षअघि पनि उक्त हात्तीको दाह्रा काटिएको थियो । उक्त हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए । उक्त हात्तीले गत शनिबार राति एकै परिवारका दुई जनाको ज्यान लिएको थियो । उक्त घटनासहित २५ जनाको सोही हात्तीका कारण मृत्यु भएको अधिकृत पुर्जा पुनले बताए ।  उनका अनुसार त्यस घटनापछि हात्तीको निरन्तर अनुगमन भइरहेको छ । त्यस हात्तीले मेघौलीको गोलाघाटस्थित सामुदायिक वनको गेटमा हानेर सोमबार साँझ स्थानीय दुई घरको अन्न खाएको थियो ।  उनले भने, ‘हामी तयारी अवस्थामा छौं, भेटिनासाथ ‘डार्ट’ गर्छौ, त्यसपछि दाह्रा काट्ने र नयाँ रेडियो कलर लगाउने तयारी छ ।’  यसअघि लगाइएको रेडियो कलरले समयमा सूचना दिन नसक्ने भएपछि नयाँ जडानको तयारी गरिएको हो । हात्तीलाई लगाउने रेडियो कलर आइसकेको छ । उक्त उपकरण जडानपछि हात्ती बस्ती पसेको सूचना पाएसँगै स्थानीयलाई समेत खबर गरेर सतर्कता अपनाउन सहज हुनेछ ।   गत शनिबार राति ध्रुवेले भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो । आमाछोरालाई आक्रमण गरी भागेको ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको थियो।   घरमै बसिरहेका बेला शनिबार राति अचानक जङ्गलबाट आएको ध्रुवेलाई धपाउन आशिकाका श्रीमान्ले आगो बाल्न खोज्दा घर नै जलेर नष्ट भएको छ । विसं २०७४ मा नेपाली सेनाका एक सेनानीलाई आक्रमण गरेर मारेपछि ध्रुवेले झन्डै नौ वर्षपछि ती दुई आमाछोराको ज्यान लिएको हो ।  चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रूपमा परिचित ध्रुवेले २०६८/६९ सालताका दैनिकजसो मान्छेको ज्यान लिन थालेपछि  मार्न आदेश दिइएको थियो । त्यस हात्ती २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चार जनाको ज्यान लिएपछि स्थानीय प्रशासनले मार्ने निर्णय गरेको थियो ।  विसं २०६६ माघदेखि मान्छेलाई आक्रमण गरेर ज्यान लिन थालेको ध्रुवेले २०६९ सालसम्म आइपुग्दा १५ जनाको ज्यान लिसकेको थियो । ध्रुवेको घाँटीमा पटकपटक रेडियोकलर जडान गर्ने र दाह्रा काट्ने गरिँदै आएको छ । निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवेलगायत नाम गरेका जङ्गली भाले हात्ती छन् । निकुञ्जका पोथी हात्ती यिनै भाले हात्तीबाट प्रजनन हुँदै आएको छ । प्रमुख संरक्षण अधिकृत पुर्जा पुनका अनुसार निकुञ्जभित्र ४५ देखि ५० वटा जङ्गली हात्ती  छन् ।  अन्य हात्तीले त्यस क्षेत्रमा दुःख दिएका छैनन् । निकुञ्ज, विपद् व्यवस्थापन समितिलगायतका सरोकारवाला सङ्घसंस्था मिलेर हात्तीले भत्काएपछि आगोसमेत लागेको घर पुनर्निर्माण गर्ने तयारी गरिएको छ । रासस

बीमा कार्यक्रम बन्द : सेवाग्राही समस्यामा

भजनी । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बीमा योजना बन्द भएपछि सेवाग्राहीलाई उपचारमा समस्या परेको छ ।       प्राथमिक स्वास्थ्य केन्द्रले बीमा गरेबापत पाउनुपर्ने रकम नपाएपछि उपचारमा समस्या भएको हो । जेठ २९ गतेदेखि केन्द्रले फार्मेसी र प्रयोगशाला सेवामा बीमा कटौती गरेको केन्द्रका अधिकारी अमरसिंह चौधरीले जानकारी दिए ।       चौधरीले भने, 'सरकारबाट बीमावापत प्राप्त हुने रकम कटौती गरेपछि अस्पतालको स्रोतले व्ययभार थेग्न नसक्ने हुँदा सेवाग्राहीले पाउँदै  आएको फार्मेसी र प्रयोगशाला सेवाको बिमा कार्यक्रम रोकेका छौँ ।'      चालु आर्थिक वर्षमा प्राथमिक स्वास्थ्य केन्द्रमा चार हजार ३७६  जनाले स्वास्थ्य बीमामार्फत सेवा लिएका छन् । बीमा सेवा कटौती हुँदा ६५ जना मात्रै स्वास्थ्य केन्द्रमा सेवा लिन आएका छन् । 'स्थानीय सरकारसँग पटकपटक स्वास्थ्य केन्द्रलाई बजेटका लागि आग्रह गर्दा सुनुवाइ हुँदैन', केन्द्रका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले भने ।   

सामुदायिक लघुवित्तको सञ्चालकमा निगेल प्याथ मनोनीत

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा निगेल प्याथलाई मनोनीत गरेको छ । संस्थाको असार २३ गते बसेको सञ्चालक समितिको ४८औँ बैठकले भक्तपुरको मध्यपुर ठिमी निवासी प्याथलाई सञ्चालक पदमा मनोनीत गर्ने निर्णय गरेको हो । उनको नियुक्ति आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुने गरी बाँकी कार्यकालका लागि गरिएको संस्थाले जनाएको छ । यस सम्बन्धमा संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ । साथै, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, सीडीएस एण्ड क्लियरिङ लिमिटेड तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई समेत उक्त निर्णयबारे जानकारी गराइएको संस्थाले उल्लेख गरेको छ ।