लेमन ट्री प्रिमियरको अध्यक्षमा अम्बिका पौडेल, हकप्रद र आईपीओ ल्याउने तयारी
काठमाडौं । बुढानिलकण्ठ हेरिटेजबाट प्रवर्द्धित होटल लेमन ट्री प्रिमियरको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले अम्बिका पौडेललाई सञ्चालक समितिको अध्यक्षमा चयन गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी दिएको छ । यस्तै सभाले शिवनाथ पाण्डे, नवराज बुर्लाकोटी, बाबुकाजी कार्की र सिर्जना केसीलाई अन्य सञ्चालक पदमा निर्वाचित गरिएको छ । नयाँ नेतृत्वले होटलको व्यवस्थापनमा नयाँ दृष्टिकोण र उत्साह भर्ने अपेक्षा गरिएको छ । सभाले कम्पनीका सेयरधनीहरूलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने र सर्वसाधारणका लागि २० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । बुढानिलकण्ठ क्षेत्रको बढ्दो पर्यटकीय सम्भावना ध्यानमा राख्दै, होटलले सेवा स्तर र व्यवस्थापनमा सुधार ल्याउने योजना अघि सारेको जनाएको छ । सभामा सहभागी सेयरधनीहरूले नयाँ नेतृत्व र पूँजी योजनाप्रति विश्वास व्यक्त गर्दै दीर्घकालीन प्रगतिको आशा प्रकट गरेका छन् ।
प्रसाईं नेतृत्वको महाअभियानका प्रतिनिधिहरूले २६ बुँदे मागसहित गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाए
काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सञ्चालित राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको प्रतिनिधिमण्डलले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् । सिंहदरबारस्थित गृहमन्त्रालयमा बुधवार पुगेका अभियानका प्रतिनिधिहरूले मुलुकको राजनीतिक, सामाजिक र सांस्कृतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सुधारका लागि २६ बुँदे मागपत्र हस्तान्तरण गरेका हुन् । प्रसाईंका तर्फबाट पठाइएका ६ जना प्रतिनिधिहरूले गृहमन्त्री अर्यालसँग भेट गरी मुलुकमा राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिको संरक्षण अत्यावश्यक भएको धारणा राखेका थिए । उनीहरूले सरकारले जनताको सुरक्षासँग सम्बन्धित विषयमा तत्काल प्रभावकारी कदम चाल्नुपर्ने, राष्ट्रिय स्वाधीनता र पहिचान जोगाउन ठोस नीति बनाउनुपर्ने माग पनि राखेका छन् । गृहमन्त्री अर्यालले प्रतिनिधिहरूको मागपत्र ग्रहण गर्दै सरकार जनताका सुझाव र मागप्रति संवेदनशील रहेको बताएका छन् ।
विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालय
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ केन्द्रका नाममा भएका जग्गा र भोगचलनको अवस्थाबारे विवरण मागेको छ । मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत सामुदायिक विद्यालय र सिकाइ केन्द्रका नाममा भएका जग्गा विवरण, तिनको भोगचलनको अवस्था र जग्गासम्बन्धी के कस्ता समस्या छन् भनेर देशैभरिबाट त्यसको विवरण उपलब्ध गराउन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय र सिकाइ केन्द्रका जग्गा हिनामिना भएको भनी जिल्लाहरूबाट जानकारी आएको अवस्थामा विवरण जुटाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आफूले निर्देशन दिएको बताए । हाल मुलुकभर ३५ हजार चार सय ४७ कूल विद्यालय रहेकामा ७३ प्रतिशत सामुदायिक विद्यालय रहेका छन् ।
सरकारको नीतिगत अवरोधका कारण जलविद्युत आयोजना निर्माणमा समस्या
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बनाएको नीतिगत अवरोधका कारण जलविद्युत आयोजनाहरू निर्माणमा समस्या भएको बताएका छन् । बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले १० महिनादखि रुख काट्नको लागि वनमा छिर्न नपाइएको गुनासो गरे । २०७७ सालमै आयोजना सम्बन्धी वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न भएपनि अहिलेसम्म रुख काट्न र आयोजना क्षेत्रमा प्रवेश गर्न नपाइएको उनको भनाइ छ । कार्कीका अनुसार सरकारले उत्पादकहरूसँग निर्धारित समयभित्र बिजुली उत्पादन नगरे सम्झौता रद्द गर्नेगरी सम्झौता गरेको छ । सरकारले तोकिएको समयमा उत्पादन नभए किन्दिनँ भन्ने गरेको भन्दै योजनाअनुसार आफूहरू अघि बढ्न नपाएको उनले बताए । अध्यक्ष कार्कीले ऊर्जामन्त्री तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसँग पनि समस्या समाधानका लागि पटक–पटक छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको बताए । उनले आरसीयुडीका मुद्दाहरूमा दुई वर्षको समय थप गर्न अनुरोध गरेको पनि तीन वर्षभन्दा बढी भइसकेको बताए । सरकार परिवर्तन भइरहँदा नीतिमा पनि अस्थिरता भएकोले लगानीकर्ता अन्योलमा परेको उनको भनाइ छ । उनले सरकार परिवर्तन भएपनि नीति परिवर्तन नहुनेगरी स्थायित्व खोज्नुपर्नेमा जोड दिए । अध्यक्ष कार्कीले जलविद्युत आयोजनाका लगानीकर्ताले ३०–३५ वर्षको लगानीमा स्थायित्व चाहने उल्लेख गरे । हाल नेपाली लगानीकर्ता नै अन्योलमा हुँदा विदेशी लगानीकर्ताले नेपालमा लगानी उनको भनाइ छ ।
पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ र बौद्धनाथ चैत्य जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकको कालोपत्र उप्काएर ‘आस्फाल्ड प्रविधि’ को कालोपत्र गर्न लागिएको छ । कालोपत्र भइरहेको सडक उप्काउन थालेपछि दुई विश्व सम्पदा जोड्ने मार्गमा धुलो उड्न थालेको स्थाीनयवासीको गुनासो छ । आयोजनाले सूचना पाटीसमेत नराखी कालोपत्र उप्काएर के गर्न खोजेको हो भन्ने थाहा नभएको स्थानीयवासी मङ्गलबहादुर तामाङले गुनासो गरे । कालोपत्र भइरहेको र त्यति धेरै नबिग्रिएको सडक भत्काएर स्रोतको दुरुपयोग भइरहेको उनको भनाइ छ । अपारदर्शी रूपमा हुने यस्ता काम रोकिनुपर्ने स्थानीयवासीको भनाइ छ । काठमाडौं महानगरपालिका–६ का अध्यक्ष भुवन लामा भने आस्फाल्ड प्रविधि प्रयोग गरेर कालोपत्र राम्रो हुने भएकाले दुई विश्व सम्पदा क्षेत्रलाई राम्रो सडक बनाउने उद्देश्यले यस्तो कालोपत्र गर्न लागिएको बताउँछन् । महानगरपालिका सार्वजनिक निर्माण विभागले छिटो गरी यो सडक निर्माण सक्ने जनाएको छ । विभागका तर्फबाट साइट इञ्चार्जका रूपमा खटिएका इञ्जिनीयर प्रफुल्ल गर्तौला मङ्सिरसम्ममा करिब चार किलोमिटर लामो सडक कालोपत्र सकिने बताउँछन् । दुई करोड रुपैयाँ लागतमा सडक कालोपत्र भइरहेको उनले सुनाए ।
मेलम्ची खानेपानीको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न टेण्डर आह्वान
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेण्डर आह्वान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरूबीच भएको समझदारी कार्यान्वयनका क्रममा सडक डिभिजन कार्यालय, चरिकोटले उक्त टेण्डर आह्वान गरेको हो । मेलम्ची–अम्बाथान–मेलम्चीघ्याङ सडक खण्डको करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न तीनवटा प्याकेजमा विभाजन गरी टेण्डर गरिएको छ । सडक निर्माण तथा स्तरोन्नति सम्बन्धी समझदारी भएपछि गत कात्तिक २० गतेदेखि मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौं उपत्यकामा ल्याउने विषयमा स्थानीय पक्ष सहमत भएका थिए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन
लुम्बिनी । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ । आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको लगानीमा जडान जारी रहेको एमआरआई मेसिन सञ्चालनपछि चर्को शुल्क तिरेर निजी अस्पतालमा एमआरआई गराउनुपर्ने बाध्यताबाट सेवाग्राही मुक्त हुने उनले बताए । लुम्बिनी प्रदेशको सुविधासम्पन्न यो अस्पतालमा थप उपकरण जडान तथा सेवा विस्तारमा अस्पताल विकास समितिले प्रयास गरिरहेको समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए । सिटीस्क्यान मेसिन खरिदको पनि प्रारम्भ गरिएको छ । हाल अस्पतालमा सात वर्ष पुरानो १६ स्लाइसको मेसिनबाट सेवा प्रवाह भइरहेको छ ।
पोर्शेमा आएको संकटले शीर्ष सेयरधनीको नाफा धराशायी
काठमाडौं । लक्जरी कार निर्माता पोर्शे एजीमा आएको संकटका कारण यसको शीर्ष सेयरधनी पोर्शे एसईको आम्दानी यस वर्षको पहिलो नौ महिनामा घटेको छ । होल्डिङ कम्पनीले मंगलबार जनाएअनुसार करपछिको समायोजित नाफा एक तिहाइभन्दा बढीले घटेको छ । पोर्शे र पीएच परिवारको नियन्त्रणमा रहेको पोर्शे एसईले पोर्शे एजीको १२.५ प्रतिशत स्वामित्व राखेको छ भने बाँकी सेयरहरूको ठूलो हिस्सा फक्सवागन समूहको स्वामित्वमा छ । पोर्शे एसई फक्सवागन समूहको पनि प्रमुख लगानीकर्ता हो, जसको ३१.९ प्रतिशत सेयर र ५३.३ प्रतिशत मतदान अधिकार छ । जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा पोर्शे एसईले करपछिको समायोजित आम्दानी १.६ अर्ब युरो (अर्थात् करिब १.८७ अर्ब डलर) भएको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशत कम हो । कम्पनीले बताएअनुसार यो परिणाम फक्सवागन र पोर्शे एजीमा देखिएका समस्याले ‘महत्त्वपूर्ण रूपमा प्रभाव पारेको’ हो । यी दुबै कम्पनीहरूले चीनमा घट्दो माग रोक्ने प्रयास गर्दै इलेक्ट्रिक सवारीसाधनको उत्पादन ढिलो गर्दा यस वर्ष अर्बौं युरोको लागत बेहोर्नु परेको छ । तर, पोर्शे एसईका वित्त प्रमुख योहान्स लाटवाइनले भने कम्पनीले आफ्नो वित्तीय संरचना सुधार गरेको र ‘अटोमोबाइल उद्योगको चुनौतीपूर्ण वातावरणमा पनि सुदृढ’ रहेको बताए । समूहको शुद्ध ऋण नौ महिनाको अवधिमा ३ प्रतिशतले घट्दै ५ अर्ब युरोमा पुगेको छ । सेप्टेम्बरमा रणनीतिक पुनरावलोकनका कारण मुनाफा चेतावनी जारी गरे पनि पोर्शे एसईले पूरा वर्षको मार्गनिर्देशन यथावत राखेको छ । समूहले आफ्नो लगानी विविधीकरण गर्न रक्षा क्षेत्रमा लगानी गर्ने सम्भावना खोजिरहेको जनाएको छ, जसले उक्त क्षेत्रमा सरकारी खर्च बढेसँगै अवसर सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ । जहाँ राइनमेटलजस्ता रक्षा कम्पनीहरूले अर्डर बुक भरिरहेका छन्, त्यहीँ जर्मनीको अटो उद्योग भने महँगो ईभी रूपान्तरण, चीनसँगको तीव्र प्रतिस्पर्धा, ट्यारिफ र आपूर्ति श्रृंखला अवरोधका कारण संघर्षरत रहेको छ । दक्षिणपूर्वी एसियामा होन्डाको वर्चस्व धरापमा, ठूलो चुनौती चीनका ईभी निर्माता सुनको खेल अझै बाँकी ! मूल्य घट्ने कि फेरि इतिहास दोहोरिने ?