विकासन्युज

गोयन्का स्टिल्सको आम्दानी ४७ प्रतिशत बढ्यो, बैंकमा ऋण २.२२ अर्ब रुपैयाँ

काठमाडौं । गोयन्का ग्रुपद्वारा प्रवर्द्धित गोयन्का स्टिल्सले सन् २०२५ मा १ अर्ब १७ करोड २० लाख रुपैयाँ बराबर आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ४७.०५ प्रतिशत अर्थात् ३७ करोड ५० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ७९ करोड ७० लाख रुपैयाँ बराबर आम्दानी गरेको थियो । गोयन्का स्टिल्सले मुख्य रूपमा ‘गोयन्का गोल्ड’ ब्रान्ड नामबाट टीएमटी स्टिल डण्डी (बार) उत्पादन गर्दै आएको छ । कम्पनीले खरिद तथा आयात गरिएका बिलेट प्रयोग गरी उत्पादन गर्दै आएको छ भने पछिल्लो समय फ्ल्याट, एङ्गल जस्ता नयाँ स्टिलजन्य उत्पादनहरू पनि बजारमा ल्याएको छ । कम्पनीको आम्दानीको ठूलो हिस्सा अझै टीएमटी उत्पादनमै केन्द्रित रहेको छ । सन् २०२५ मा करिब ८१ प्रतिशत टीएमटी उत्पादनको रहेको कम्पनीले जनाएको छ । तर, फ्ल्याट र एङ्गलजस्ता उत्पादन सञ्चालनमा आएसँगै विविधीकरण हुने अपेक्षा कम्पनीले गरेको छ ।  कम्पनीले सन् २०२३ मा २ अर्ब २६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ४३ करोड ४० लाख रुपैयाँ, सन् २०२१ मा २ अर्ब ६६ करोड २० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब १४ करोड ३६ लाख रुपैयाँ र सन् २०१९ मा ३ अर्ब ९४ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  हाल देशमा निर्माण गतिविधिमा आएको सुस्तताका कारण स्टिलको माग केही कमजोर देखिए पनि दीर्घकालीन रूपमा स्टिल उत्पादनको माग सकारात्मक रहने अपेक्षा कम्पनीको छ । देशमा विद्यमान ठूलो पूर्वाधार अभाव तथा सार्वजनिक तथा निजी क्षेत्रका थुप्रै पूर्वाधार परियोजनाहरू पाइपलाइनमा रहेकाले स्टिल उद्योगका लागि दीर्घकालीन सम्भावना मजबुत देखिएको कम्पनीको दाबी छ  । जसले लामो अनुभव र स्थापित आपूर्ति शृंखला भएका एकीकृत उद्योगहरू, गोयोयन्का स्टिल्स जस्ता कम्पनीहरूलाई फाइदा पुग्ने विश्वास गरिएको छ । कम्पनीको उत्पादन इकाइ रुपन्देही जिल्लाको गोनाहामा अवस्थित छ, जसको उत्पादन क्षमता वार्षिक ८८ हजार ५०० मेट्रिक टन रहेको छ । गोयन्का स्टिल्सको कर्पोरेट कार्यालय सिद्धार्थनगर, रुपन्देहीमा रहेको छ भने काठमाडौँ कार्यालय नक्सालस्थित भगवतीबहालमा छ । गोयन्का स्टिल्स सन् २००८ मा स्थापना गरिएको एक पारिवारिक स्वामित्वको उद्योग हो । कम्पनीमा संस्थापक राम गोपाल गोयन्का तथा उनका दुई छोरा अमित कुमार गोयन्का र अजय गोयन्काको पूर्ण सेयर स्वामित्व रहेको छ । कम्पनीको प्रवद्र्धक समूहसँग नेपाली बजारमा उत्पादन तथा व्यापार क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव छ । स्टिलसम्बन्धी उत्पादनका अतिरिक्त, गोयन्का ग्रुप सिमेन्ट उत्पादन, प्राथमिक खाद्य वस्तुहरूको व्यापार, इलेक्ट्रोनिक्स लगायतका विविध क्षेत्रमा समेत संलग्न रहँदै आएको छ । गोयन्का स्टिल्सको वित्तीय अवस्था अझै पनि कमजोर नै रहेको देखिन्छ । कम्पनीको सञ्चालन नाफा मार्जिन निरन्तर नकारात्मक रहेको छ, जहाँ सन् २०२५ मा करिब २ प्रतिशत ऋणात्मक रहेको छ भने सन् २०२४ मा यो करिब ७ प्रतिशत ऋणात्मक थियो । सन् २०२५ मा आम्दानी र सञ्चालन नाफामा केही सुधार देखिए पनि कर्जाको मात्रा बढ्नु र सो अनुसार ब्याज खर्च उच्च रहेको कम्पनीले जनाएको छ । यसले भविष्यमा ऋण समयमै भुक्तानी गर्ने क्षमतामाथि दबाब सिर्जना गरेको कम्पनीले जनाएको छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब २२ करोड ४० लाख रुपैयाँ ऋण लिएको छ । जसमा ५१ करोड ४० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ७१ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ लिएको थियो । 

शिवम् सिमेन्टको नाफामा ५२८ प्रतिशत उछाल, ईपीएस १२.७७ रुपैयाँ

काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा उल्लेखनीय नाफा वृद्धि गरेको छ । कम्पनीको खुद नाफा ५२८.५२ प्रतिशतले बढेर ३५ करोड ७० लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ६८ लाख १० हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ९ करोड ८२ लाख ८६ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा सञ्चालन आम्दानी ३ अर्ब १० करोड १६ लाख ९६ हजार रुपैयाँ थियो । चालु आवको ६ महिनामा कम्पनीले १० करोड ८२ लाख ३० हजार रुपैयाँ अन्य आम्दानी गर्दै कुल ६५ करोड ४४ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा अन्य आम्दानी १२ करोड २६ लाख २७ हजार रुपैयाँ र कुल नाफा ४० करोड १ लाख ८६ हजार रुपैयाँ रहेको थियो । खर्चतर्फ समीक्षा अवधिमा कम्पनीले २ अर्ब ४४ करोड ३७ लाख ९९ हजार रुपैयाँ बिक्री लागत, १२ करोड ११ लाख ४ हजार रुपैयाँ प्रशासनिक खर्च र २२ करोड ७८ लाख ५८ हजार रुपैयाँ बिक्री तथा वितरण खर्च व्यहोरेको छ । यस अवधिमा कुल खर्च ३५ करोड ६६ लाख १४ हजार रुपैयाँ पुगेको छ । करअघिको नाफा भने ४० करोड ६१ लाख २ हजार रुपैयाँ रहेको छ । ५ अर्ब ५९ करोड ३२ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ५३ करोड ९८ लाख ७६ हजार रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १२.७७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८०.३८ रुपैयाँ रहेको छ ।

सत्ता प्राप्ति भन्दा पनि व्यवस्था बदल्ने चुनाव हो: डिपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचन सत्ताभन्दा पनि व्यवस्था बदल्ने चुनाव भएको बताएका छन् । काठमाडौं महानगरपालिका-१४ मा घरदैलो कार्यक्रमका क्रममा उपसभापति अर्यालले निर्वाचन केबल सत्ता प्राप्तिको माध्यम मात्र नभई राजनीतिक संस्कृतिको रूपान्तरण, इमानदार नेतृत्व स्थापना तथा परिणाममुखी शासन प्रणाली निर्माणको अवसर भएको बताए ।  उनले स्थानीय आवश्यकता र सम्भावनालाई आधार बनाएर विकासको स्पष्ट कार्ययोजना अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । योग्य र काम गर्नसक्ने उम्मेदवारलाई चुनावमा जिताउनुपर्ने उपसभापति अर्यालले जोड दिए ।  काठमाडौं-१४ माउते दोबाटोबाट सुरु भएको घरदैलो कार्यक्रम रञ्जित कोलोनी, एलआरआई स्कुल, गुणकेशरी क्लब, सुनाखरी टोल, भलुभैरव मन्दिर, खड्का गाउँ, मालिकानगर आर्किड कोलोनी, न्यू डायमण्ड चोक, गणेशस्थान, पाण्डेगाउँ, पीपलबोट, हिमशिखर स्कूल, देउला टोल हुँदै खड्का गाउँ दोबाटोबाट थापागाउँमा पुगेर सम्पन्न भएको थियो । 

आइतबार बिहान २ बजेदेखि पशुपतिनाथका चारै ढोका खोल्ने, बंगलादेश, म्यानमारबाट भक्तजनको उपस्थिति

काठमाडौं । महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि पर्व मनाउनका लागि आराध्य देव भगवान पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढ्न थालेको छ । महाशिवरात्रि पर्व सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोष सञ्चालक परिषदका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति गठन गरिएको छ । मन्त्रीको अध्यक्षतामा गठन गरिएको १७१ सदस्यीय मूल समारोह समितिले पनि सक्रिय रुपमा काम गरिरहेको छ ।  मन्त्री सिन्हाको निर्देशन र प्रत्यक्ष उपस्थितिमा कोषले तयारीका काम गरिरहेको छ । पर्व सम्पन्न गर्न ९ वटा विषयगत उप-समिति गठन गरिएको छ । पशुपतिनाथ आउने दर्शनार्थीलाई सहज सेवा दिन सम्पूर्ण ध्यान केन्द्रित गरेको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले बताए । यसपटक महाशिवरात्रि पर्व उल्लासमय वातावरणमा मनाइँदैछ । पशुपति क्षेत्र फूल र बत्तीले आकर्षक रुपमा सिँगार्न थालिएको छ । नेपाल, भारत, भुटान, बंगलादेश, म्यानमारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति भइरहेको छ । व्यवस्थित रुपमा पूजाआजा र दर्शनको व्यवस्था गर्नका लागि आइतबार बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने निर्णय भएको उनले बताए । कोषको प्राथमिकता भक्तजनको सुविधा र सहजता भएकाले त्यसै अनुरूप काम गरिएको छ । दर्शनार्थी, साधुसन्त एवं भक्तजनको सङ्ख्या वृद्धि भएकाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्न कोषले आह्वान गरेको छ । भगवानको दर्शन गर्न लामो समय प्रतीक्षा गर्न नपर्ने गरी व्यवस्थापन गरिएको छ । पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था पनि महाशिवरात्रिकै लागि प्रभावकारी बनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ । सुरक्षा निकायसँगै कोषको आफ्नो सुरक्षा टोली पनि पशुपति क्षेत्रमा खटाइएको छ । दर्शनार्थीको सुरक्षामा विशेष ध्यान दिइएको छ । साधुसन्त, महन्थ र भक्तजनको सुरक्षा गर्दै अनुगमन गर्ने प्रबन्ध गरिएको छ । सामाजिक एवं धार्मिक संघसंस्था परिचालन गरी महाशिवरात्रि पर्वलाई सहज रुपमा व्यवस्थापन गर्न लागिएको छ । कालिका साधना संघ, नेपाल रेडक्रस, स्काउट, लायन्स क्लब र धार्मिक संघ संगठनका तर्फबाट स्वयंसेवक खटाइएको कोषले जनाएको छ । भक्तजनका लागि स्वास्थ्य सेवाको उचित व्यवस्था गरिएको छ । अस्पतालमा शय्या बुक गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै विभिन्न क्षेत्रबाट स्वास्थ्यकर्मी, औषधी र एम्बुलेन्स तयार अवस्थामा राखिएको छ । साधुसन्तको व्यवस्थापन मन्दिर परिसरमा गरिएको छ । मन्दिर परिसरस्थित धर्मशालामा बस्ने व्यवस्था गरिएको छ । तिलगंगासँगै हंशमण्डप, वनकालीसहितका क्षेत्रमा निःशुल्क आवास, भोजन आदिको व्यवस्थापन गरिएको छ । यी स्थलमा हजारौं भक्तजनको भीड जम्मा हुन थालेको छ । भगवान पशुपतिनाथको दर्शन, चन्दन वितरणसहित दर्शनार्थीको सम्पूर्ण सेवालाई व्यवस्थित गर्ने गरी महाशिवरात्रि पर्व मनाउने तयारी गरिएको छ । महाशिवरात्रि पर्वलाई विशेष बनाउन मन्दिर परिसरलाई आकर्षक रुपमा सिँगारिएको छ ।  पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीलाई फेरि पनि आउने गरी आकर्षित गर्ने गरी तयारी गरिएको छ । पशुपतिनाथ मन्दिर आउने भक्तजनलाई फागुन कृष्ण एकादशी अर्थात् शुक्रबारदेखि नै गुठी संस्थानले खाने, बस्ने र धुनी जगाउने व्यवस्था गरेको जनाइएको छ । कोषका सदस्य सचिव प्रकाशमणि शर्मा भुसाल विश्व शान्ति शिवतत्वबाट नै हुने भएकाले विश्व शान्तिसँग जोडेर महाशिवरात्रि पर्व मनाउने तयारी गरिएको बताउँछन् । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रको सरसफाइमा विशेष ध्यान दिइएको र पर्यावरण जोगाएर नै पर्व मनाउने व्यवस्था मिलाइएको उनले बताए । 

वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौंका स्थानीय तहको अवस्था

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा मोरङको विराटनगर महानगर पालिका शीर्ष स्थानमा रहेको छ । सो महानगरले चालु आर्थिक वर्षमा ७८.११ प्रतिशत अङ्क प्राप्त गरी प्रथम स्थानमा रहेको हो । त्यस्तै ललितपुर महानगरपालिका दोस्रो स्थानमा रहेको छ । विभिन्न सूचकहरूका आधारमा ललितपुर महानगरपालिकाले ७६.३३ प्रतिशत अङ्क प्राप्त गरेको छ । यस्तै, काठमाडौं महानगरपालिकाले ४४.९७ प्रतिशत अङ्क प्राप्त गरेको छ । चितवनको भरतपुर महानगरपालिकाले ६८.०८ प्रतिशत अङ्क प्राप्त गरेको छ । पर्साको वीरगन्ज महानगरपालिकाले ५४ प्रतिशत अङ्क प्राप्त गरेको छ । कास्कीको पोखरा महानगरपालिकाले ५८.७६ अङ्क प्राप्त गरेको छ ।  यस आधारमा काठमाडौंका कुल ११ वटा स्थानीय तहमध्ये शीर्षस्थानमा नागार्जुन नगरपालिका परेको छ । आयोगको मूल्याङ्कनका आधारमा सो नगरपालिकाले ७०.६३ अङ्क प्राप्त गरेको छ ।  आयोगका अनुसार शङ्खरापुर नगरपालिकाले ५५.२० प्रतिशत, कागेश्वरी मनहरा नगरपालिकाले ६१.८२ प्रतिशत, गोकर्णेश्वर नगरपालिकाले ५६.७८ प्रतिशत, बूढानीलकण्ठ नगरपालिकाले ५१.३९ प्रतिशत अङ्क पाउँदा टोखा नगरपालिकाले ६५.६७ प्रतिशत अङ्क पाएको छ । त्यस्तै, तारकेश्वर नगरपालिकाले ५९.२९, कीर्तिपुर नगरपालिकाले ६२.१५ प्रतिशत, चन्द्रागिरि नगरपालिकाले ६७.५९ र दक्षिणकाली नगरपालिकाले ५३.२२ अङ्क प्राप्त गरेको छ । आयोगका अनुसार भक्तपुरको भक्तपुर नगरपालिकाले ६८.३२ प्रतिशत अङ्क पाएको छ । चाँगुनारायण नगरपालिकाले ६२.५९, मध्यपुरथिमि नगरपालिकाले ५०.९२ र सूर्यविनायक नगरपालिकाले ६६.५२  अङ्क पाएको छ । ललितपुरको  महालक्ष्मी नगरपालिकाले ५१.७८, गोदावरी नगरपालिकाले ४०.९३, कोन्योसोम गाउँपालिकाले ६८.७९, महाँकाल गाउँपालिकाले ७२.९९ र बागमती गाउँपालिकाले ६७.८४ प्रतिशत अङ्क प्राप्त गरेको छ । आयोगले विभिन्न १७ वटा सूचक निर्धारण गरी मूल्याङ्कन गर्दै आएको छ । त्यसमा गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले असार १० गतेभित्र चालु आर्थिक वर्षको बजेट पेस गरे/नगरेको, राजस्वको अनुमान पारित गरे/नगरेको, घरजग्गा, रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर बापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको सूचक निर्धारण गरेको छ । त्यसैगरी, चालु आवको बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी विवरण कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको राजस्व परिचालन गरेको अवस्था, स्थानीय तहको गत आवको विनियोजित रकम अनुसारको खर्चको अवस्था, लेखापरीक्षणबाट औंल्याएको बेरुजुको अवस्थालगायतका सूचक निर्धारण गरिएको छ । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली प्रयोग गरे/नगरेको, स्थानीय तहले आवद्यिक योजना तर्जुमा गरे÷नगरेको, शैक्षिक सत्र २०८२ मा कक्षा १ देखि ८ सम्म पाँचदेखि १२ वर्ष उमेर समूहका विद्यार्थी खुद भर्नादर, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउदर प्रस्तुत गर्नुपर्नेछ । त्यस्तै, सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कुल विद्यार्थी सङ्ख्याको तुलनामा कम्तीमा स्तरीकृत अङ्क (जीपीए १.६) वा सोभन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थीको प्रतिशत उल्लेख गर्नुपर्नेछ । यस्तै, कम्तीमा चारपटक गर्भ जाँच गर्ने महिलाको अनुपात, पूर्णखोप पाएका बालबालिकाको अनुपात र आयोगले तयार गरेको विद्युतीय अनलाइन पोर्टलमा कार्यसम्पादन सूचकसम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्ट गरे/नगरेको लगायतका सूचक निर्धारण गरेको छ । सोही सूचकका आधारमा आयोगले गाउँपालिका र नगरपालिकाको मूल्याङ्कन गर्दै आएको छ ।

जेनजी आन्दोलनमा भरिएको थियो ल्यान्डफिल साइट, पोखरामा २ सातापछि उठ्यो फोहोर

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहोर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक छेउ र चोकहरूमा थुप्रिएका फोहोर लामो समयदेखि नउठ्दा पोखरा दुर्गन्धित बनेको थियो । पोखरा-३२ लामेआहालमा रहेको अस्थायी फोहोर व्यवस्थापन केन्द्र भरिएपछि फोहोर उठ्न सकेको थिएन । फोहोर व्यवस्थापनका लागि महानगरले विभिन्न स्थानमा जमिन खोजी गरे पनि सफल भएको थिएन । सडक किनार, चोक, बिजुलीका पोलको वरिपरि मात्र नभई मुख्य सडकमै फोहोर थुप्रो लागेपछि बजारमा दुर्गन्धसमेत फैलिन थालेको छ । महानगर प्रमुख धनराज आचार्यले बिहीबार साँझदेखि क्रमशः फोहोर सङ्कलन गर्ने गाडी सञ्चालनमा आएको बताए । उनले सार्वजनिक बाटो तथा खुला स्थानमा फोहोर विसर्जन नगर्न समेत आग्रह गरे । महानगरले फोहोर उठाउन सुरु गरे पनि कहाँ लगेर व्यवस्थापन गर्ने भन्ने खुलाएको छैनन् । ‘पोखरा महानगरपालिका तत्कालीन, अल्पकालीन, अस्थायी तथा स्थायी रूपमा फोहोर व्यवस्थापनको काममा सक्रिय रूपमा लागिरहेको र तत्कालका लागि केही प्रबन्ध गरेका छौँ । गाडी नआउँदासम्म कृपया धैर्यतापूर्वक पर्खनुहुन अनुरोध गरेका छौँ, धेरै दिनदेखि सङ्कलन भएका फोहोर भएकाले सुरुका एक/दुई दिन केही बढी चाप हुनसक्छ तर सार्वजनिक बाटो तथा खुला स्थानमा फोहोर विसर्जन नगर्नुहोस् भन्ने अपिल नगरवासीसँग गरेका छौँ,’ महानगर प्रमुख आचार्यले भने । प्रमुख आचार्यले शनिबारसम्म हालसम्म जम्मा भएको सम्पूर्ण फोहोरमैला उठाइ सकिने उल्लेख गरे । महानगरले जथाभावी सार्वजनिक स्थानमा फोहोर फालिएको पाइएमा अनुगमन टोलीले स्थलमै कारबाही गर्ने समेत जनाएको छ ।  पोखरामा जेनजी आन्दोलनका क्रममा भारी मात्रामा फोहोर निक्लेपछि लामेआहालको ल्यान्डफिल साइट नै भरिएकाले फोहोर व्यवस्थापनमा समस्या निम्तिएको हो । महानगरले यसबीचमा धेरै स्थानमा फोहोर व्यवस्थापनको स्थान खोजी गरे पनि स्थानीयको विरोधका कारण सफल हुनसकेको थिएन । महानगरले फोहोर व्यवस्थापनमा सहयोग गर्न बुधबार सरोकारवालाहरूको सर्वदलीय र सर्वपक्षीय बैठक आह्वान गरेको थियो । बैठकमा ७२ घण्टाभित्र पोखरा महानगरको फोहोर उठाउने र दलहरूले सहयोग गर्ने सहमति भएको थियो । महानगरले पोखरा-३३ मा फोहोर प्रशोधन केन्द्र निर्माण गरी फोहोरको स्थायी समाधानको प्रक्रिया अघि बढाएको छ । तर स्थानीयवासी विरोधमा उत्रिएका छन् । स्थानीयको विरोधका कारण प्रशोधन केन्द्र निर्माणको अन्य काम अघि बढ्न सकेको छैन । महानगरले समन्वय र सहमति बेगर निजी कम्पनी छनोट गरी फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् ।

१२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न, कर्णालीका १० जिल्लामा मतपत्र ढुवानी सुरु

काठमाडौं । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो । आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । यस्तै, ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ । कुल १ करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभाको मतपत्र छपाइ सम्पन्न भएको छ । त्यसैगरी, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्तापश्चिम ९नवलपरासी०, मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी ९बर्दघाट सुस्तापूर्व०, पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोकको मतपत्रसमेत छपाइ सम्पन्न भएको छ ।  आयेगका अनुसार हालसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । हाल दैनिक करिब १ हजार बाकस मतपत्र प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा मतपत्र छपाइ भइरहेको छ । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको पनि आयोगले जनाएको छ । यस्तै, प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । यही माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको हो ।

विमानस्थलमा जुलुस, प्रदर्शन, भेला कार्यक्रम गर्न नपाइने, कारबाही गर्ने चेतावनी

काठमाडौं । काठमाडौं प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस, प्रदर्शन, हड्ताल तथा भेलाजस्ता कार्यक्रम गर्न नपाइने जानकारी गराउँदै यस्ता गतिविधि भए कारबाही गर्ने स्पष्ट पारेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले फागुन १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा केही प्रदर्शन, भेला र र्यालीजस्ता गतिविधि गर्ने भनी केही समूह तथा राजनीतिक दलबाट जारी भएका विज्ञप्ति एवं सूचना र सामाजिक सञ्जालका विषयवस्तुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताए ।  यस प्रकारका प्रदर्शन, र्याली, भेलाजस्ता गतिविधि गर्नका लागि स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम अनुमति लिनुर्पेमा कोही कसैले यस कार्यालयमा जानकारी गराउने वा पूर्व स्वीकृति लिने कार्य नगरेको पनि उनको भनाइ छ ।  उनले एक सार्वजनिक सूचना जारी गरी निर्वाचन आचारसंहिता लागू भइसकेको हालको अवस्थामा यस्ता प्रकृतिका कार्यक्रम गर्न बन्देज रहेको तथा यस प्रकारका कार्यक्रममा निर्वाचन विरोधी भनिएका समूह समेतको घुसपैठ हुनसक्ने सम्भावना रहेको पनि बताए । काठमाडौं प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आसन्न निर्वाचनको सन्दर्भ, फागुन ३ गतेको महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक एवं सांस्कृतिक आस्थाको सम्मान गर्दै उक्त पर्वलाई भव्य रूपमा सम्पन्न गर्न, अन्तर्राष्ट्रिय विमानस्थलजस्तो अत्यन्त संवेदनशील स्थान र आसपासका क्षेत्र समेतको सुरक्षालाई मध्यनजर गर्दै, विमानस्थलसम्म आवतजावत गर्ने यात्रुहरूको सहज आवागमनलाई सुनिश्चित गर्न, विमानस्थल आसपासका क्षेत्र एवं सार्वजनिक सडक मार्गमा यातायात सञ्चालन तथा आम सर्वसाधारणको निर्वाध आवतजावत गर्न पाउने हक सङ्कुचन हुने गरी कुनै प्रकारको जुलुस, प्रदर्शन, हड्ताल, र्याली, भेला हुने जस्ता कार्य नगर्न/नगराउन, सामाजिक सञ्जालका माध्यमबाट यस प्रकारका कार्यहरूलाई प्रेरित गर्ने वा उक्साउने जस्ता गतिविधि नगर्न/नगराउन जानकारी गराइएको छ ।’ निषेधित र संवेदनशील क्षेत्रमा यस प्रकारका कानुन विपरीतका कार्यहरूमा संलग्न हुने जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने पनि प्रशासनले जानकारी गराएको छ ।