१७९ कम्पनीको सेयर मूल्य घट्यो, ८ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० अंकले घटेर २६६२ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार २३४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोको भएको छ । अरुण भ्यालीको ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युतको ४० करोड, रिडि पावरको ३८ करोड र युनियन हाइड्रोको ३२ करोड रुपैयाँको कारोबार भएको छ ।
चुनावी सुरक्षामा नचुक्न प्रधानमन्त्री कार्कीको नेपाली सेनालाई निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई लक्षित गर्दै चुनावी सुरक्षामा कुनै कमजोरी हुन नदिन नेपाली सेनालाई निर्देशन दिएकी छन् । सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबार (आज) देखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले विगतका निर्वाचनमा सुरक्षा संयन्त्रबीच समन्वयको अभाव देखिएको स्वीकार गरिन् । उनले अघिल्ला अनुभवबाट पाठ सिक्दै यसपटक सुरक्षा निकायहरूबीच स्पष्ट समन्वय, सूचना आदान–प्रदान र जिम्मेवारीको विभाजन प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिइन् । ‘विगतमा देखिएका कमजोरी, त्रुटि वा रिक्तता दोहोरिनु हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘लोकतान्त्रिक प्रक्रियाको विश्वसनीयता कायम राख्न सुरक्षामा कुनै सम्झौता हुँदैन ।’ प्रधानमन्त्रीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सेनाको भूमिका निर्णायक हुने उल्लेख गर्दै सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरिन् । बैठकमा निर्वाचन सुरक्षासँग सम्बन्धित रणनीति, कार्ययोजना र अन्तर–निकाय समन्वयबारे छलफल हुने बताइएको छ ।
६ महिनामा ६ खर्ब ९० अर्ब खर्च, १ खर्ब १९ अर्ब बजेट स्थगन
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको छ महिनामा कुल बजेटमध्ये ६ खर्ब ९० अर्ब खर्च गरेको छ । मंगलबार बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्रालयले बजेट खर्च र स्रोत परिचालनबारे जानकारी दिएको हो। अर्थमन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकोमा पुस मसान्तसम्म ६ खर्ब ९० अर्ब २१ करोड ७८ लाख खर्च भएको छ । विनियोजित रकममध्ये चालु खर्च ४१.२५ प्रतिशत, पुँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.१५ प्रतिशत खर्च भएको छ । समीक्षा अवधिको समग्र खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३९ प्रतिशतले वृद्धि भएको छ । पुँजीगत खर्च न्यून हुनुका कारण योजनाको पूर्वतयारीको अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको उपयोगमा जटिलता तथा भदौ २३ र २४ को आन्दोलनका कारण भौतिक संरचनामा भएको क्षतिले प्रभाव पारेको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा बजेट स्थगन गरिएको छ । पूर्वतयारी नभएका र अनुत्पादक साना आयोजनाहरूमा विनियोजित १ खर्ब १९ अर्ब ५३ करोड ६५ लाख बजेट मन्त्रिपरिषद्को निर्णयअनुसार स्थगन गरिएको हो । जसमध्ये खरिद प्रक्रिया सुरु भइसकेका र विषयगत मन्त्रालयबाट औचित्य पुष्टि भई फुकुवाका लागि अनुरोध भएका आधारमा ४२ अर्ब २८ करोड ३४ लाख फुकुवा गरिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा कुल १४ खर्ब ८० अर्ब राजस्व परिचालन गर्ने लक्ष्य राखिएको छ । जसमा संघीय सरकारको हिस्सा १३ खर्ब १५ अर्ब रहने अनुमान छ । राजस्व संकलनतर्फ पुस मसान्तसम्मको ७ खर्ब ११ अर्ब २० करोड ७८ लाख लक्ष्यको तुलनामा विविध प्राप्तिसहित ५ खर्ब ५ अर्ब ४० करोड ७२ लाख (७१.०५ प्रतिशत) संकलन भएको छ । समीक्षा अवधिको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४७ प्रतिशतले वृद्धि भएको छ ।आन्तरिक ऋण परिचालनतर्फ वार्षिक ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य रहेकोमा पुस मसान्तसम्म १ खर्ब ७७ अर्ब ६६ करोड ६९ लाख (४९.०८ प्रतिशत) प्राप्त भएको छ । सार्वजनिक ऋण भुक्तानीतर्फ ऋणको साँवा–व्याज भुक्तानीका लागि विनियोजित बजेटमध्ये पुस मसान्तसम्म १ खर्ब ८७ अर्ब १२ करोड ६६ लाख (४५.५३ प्रतिशत) भुक्तानी भइसकेको छ । वैदेशिक सहायता प्रतिबद्धतातर्फ समीक्षा अवधिमा कुल ६५ अर्ब ३९ करोड रुपैयाँ बराबरको विकास सहायता प्रतिबद्धता प्राप्त भएको छ, जसमा २९.४४ प्रतिशत अनुदान र ७०.५६ प्रतिशत ऋण रहेको छ । अर्थमन्त्रालयले पुनः प्राथमिकता निर्धारण र मितव्ययितामा जोड दिएको जनाएको छ । आन्दोलनबाट सिर्जित भौतिक संरचनाको पुनर्निर्माण र अनिवार्य दायित्वलाई प्राथमिकतामा राखी अनुत्पादक खर्च कटौती तथा बैठक भत्ता जस्ता खर्चमा रोक लगाउने नीति लिइएको अर्थमन्त्री खनालले जानकारी दिए ।
तामाकोशीमा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो
काठमाडौं । तामाकोशी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मृत्यु हुनेको संख्या १२ पुगेको जानकारी दिए । उनका अनुसार ८ जना घाइतेको मन्थली र खुर्कोटका अस्पतालमा उपचार भइरहेको छ। थापाले केही शव बगेको आशंकामा गोताखोर लगाएर खोजी कार्य भइरहेको जानकारी दिए । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बा प्र ०१००६ ख ९९७५ नम्बरको बस मंगलबार बिहान रामेछापको मन्थली नगरपालिका-६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँमा दुर्घटना भएको थियो ।
कनेक्ट किसान र एनएएएमपीबीच समझदारी, किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराइने
काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसानबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार समझदारीपत्रमा कनेक्ट किसानको तर्फबाट निर्देशक राजन दाहाल र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको तर्फबाट कार्यक्रम निर्देशक हिक्मतकुमार श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौताको उद्देश्य नेपाली किसानलाई डिजिटल प्लेटफर्ममार्फत कृषि सम्बन्धी समस्या समाधानमा सजिलो बनाउनु हो । कनेक्ट किसानले विकसित गरेको भ्वाइस बेस र टेक्स्ट बेस एआई एडभाइजरी प्रविधिले किसानलाई खेतबारीमा प्रत्यक्ष सहायता पुर्याउनेछ । यो प्रणालीमा किसानले खेतीबारीमा काम गर्दा आउने समस्या जस्तै मल, बजार, रोगरकीरा व्यवस्थापनको तत्काल समाधान वा सुझाव प्राप्त गर्न सक्नेछन् । कनेक्ट किसानका निर्देशक राजन दाहालले भारतमा प्रविधिमैत्री किसानले एआईको प्रयोग गरेर उत्पादन वृद्धि गरिरहेका छन् भने नेपालमा पनि यस्ता प्रविधि प्रयोग गर्दा किसानलाई ठूलो फाइदा हुने बताए । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले किसानलाई डिजिटल प्लेटफर्ममा पुर्याउन र समस्या समाधानमा सहयोग पुर्याउन कनेक्ट किसानसँग सम्झौता गरिएको बताए । यस समझौताको माध्यमबाट किसानको समस्या दिर्घकालीन रूपमा समाधान गर्ने उद्देश्य राखिएको छ। कृषि नीतिगत चुनौती जस्तै बजारमा पहुँच नपाउनु, मल अभाव, रोग व्यवस्थापन जस्ता समस्या पनि एआई प्रणालीमा डेटा बनाइने र भविष्यमा त्यसको आधारमा समाधानको योजना तयार पारिने निर्देशन श्रेष्ठले बताए । कनेक्ट किसानको एआई प्रविधि भनेको कृषकको आवश्यकता अनुसार कृषि सल्लाह, रोगरकीरा व्यवस्थापन, मल र बीउ सुझाव, बजार जानकारी लगायतका सेवाहरू उपलब्ध गराउने डिजिटल प्लेटफर्म हो । यो प्रणालीले किसानलाई आफ्नो खेतमा प्रत्यक्ष निर्णय लिन सजिलो बनाउनेछ र कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
निर्वाचन आचारसंहितासम्बन्धी टिकटक भिडियो बनाए ५० हजार पाइने
काठमाडौं । के तपाईं टिकटक बनाउनु हुन्छ ? यदि टिकटक बनाउनु हुन्छ भने निर्वाचन आयोगले तपाईंहरूको लागि खुसीको खबर ल्याएको छ । आयोगले निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषयमा आधारित भएर एक मिनेटसम्म अवधिको टिकटक भिडियो बनाई ५० हजार रुपैयाँ जित्न आग्रह गरेको हो । आयोगले टिकटक प्रयोगकर्तालाई फागुन ३ गतेदेखि १७ गतेसम्म आयोगकै इमेल ठेगाना [email protected] मा पठाउन अनुरोध गरेको छ । आयोगमा प्राप्त भएका भिडियोहरूमध्ये सबैभन्दा बढी भ्युअर्स भएका उत्कृष्ट तीनवटा भिडियोलाई आयोगले ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।
भीड बढेपछि राहदानी विभागले भन्यो– तोकिएको समयमा मात्र पुग्नू
काठमाडौं । राहदानी विभागले सेवाग्राहीलाई अपोइन्टमेन्ट लिएको समयमा मात्र सेवा लिन अनुरोध गरेको छ । विभागका अनुसार तोकिएको समयमा आएर सेवाग्राहीले सहजै सेवा पाउने छन् । ‘राहदानीका लागि फाराम भर्दा सेवाग्राहीले छनौट गरेको समयमा आउँदा आवेदन दिएको एक घण्टा भित्रमा सेवा पाइसक्ने छन्,’ मंगलबार विभागले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । सेवाग्राहीले छनौट गरेको समयमा सेवा लिन आउन नसक्ने सेवाग्राहीहरूलाई क्रमशः सेवा दिइने व्यवस्था गरिएको विभागले बताएको छ । आवेदनमा तोकिएको समयमा विभागमा सेवाग्राही पुगेमा ढिला नहुने र बढी भीडभाडसमेत नहुनेसमेत विभागले प्रस्ट पारेको छ ।
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
अमेरिका । संयुक्त राज्य अमेरिकाको एक अपील अदालतले होन्डुरस, नेपाल र निकारागुआबाट आएका आप्रवासीहरूलाई प्रदान गरिएको कानूनी संरक्षण अन्त्य गरी उनीहरूलाई निर्वासनतर्फ लैजान सकिने बाटो सोमबार खुला गरिदिएको छ । ट्रम्प प्रशासनले गत वर्ष हजारौँ होन्डुरान, नेपाली र निकारागुआन नागरिकहरूको अस्थायी संरक्षित स्थिति (टिपिएस) समाप्त गर्ने निर्णय गरेको थियो, जसअन्तर्गत ती आप्रवासीहरूले कानूनी रूपमा अमेरिका बस्न र काम गर्न अनुमति पाएका थिए । यसअघि एक सङ्घीय न्यायाधीशले प्रशासनको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएका थिए । तर नवौँ सर्किट कोर्ट अफ अपील्सले सोमबार सरकारलाई उक्त आदेशविरुद्ध अपिल जारी रहँदासमेत निर्वासन प्रक्रिया अगाडि बढाउन सकिने भन्दै अनुमति दिएको छ । अदालतको निर्णयमा भनिएको छ, 'नेपाल, होन्डुरस र निकारागुआका लागि टिपिएस समाप्ति रोक्ने अघिल्लो आदेश अपिलको प्रक्रिया पूरा नहुन्जेल स्थगित गरिएको छ ।' टिपिएस कार्यक्रमले युद्ध, प्राकृतिक प्रकोप वा अन्य असाधारण परिस्थितिका कारण आफ्नो देश फर्किँदा जोखिममा पर्न सक्ने ठानिएका सीमित समूहका मानिसहरूलाई अस्थायी रूपमा अमेरिकामा बस्न र काम गर्न अनुमति दिन्छ । सन् १९९८ मा मध्य अमेरिकी क्षेत्रलाई विनाशकारी तूफान मिचले क्षति पुर्याएपछि अमेरिका पुगेका ५१ हजारभन्दा बढी होन्डुरान र करिब तीन हजार निकारागुआन नागरिकहरूले टिपिएस अन्तर्गत सुरक्षा पाएका थिए । त्यसैगरी, सन् २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्पपछि करिब सात हजार नेपाली नागरिकलाई पनि यस कार्यक्रमअन्तर्गत अस्थायी संरक्षण दिइएको थियो । इतिहासमा हेर्दा, अमेरिकी राष्ट्रपतिहरूले यस्ता आप्रवासीहरूको टिपिएस स्थिति बारम्बार नवीकरण गर्दै आएका छन्, जसले उनीहरूलाई कागजातविहीन बनाउने र देशनिकाला गर्ने अवस्थाबाट जोगाएको थियो । तर ट्रम्पले सामूहिक निर्वासन अभियान चलाउने वाचा गर्नुभएको छ । गृहमन्त्री क्रिस्टी नोमले सोमबार ‘टिपिएस कहिल्यै स्थायी कार्यक्रमका रूपमा डिजाइन गरिएको थिएन’ भनेर स्पष्ट पारेका छन् । गृह मन्त्रालयले टिपिएस हटाउने निर्णयका क्रममा ती देशहरूमा अवस्था सुधार भएको र त्यहाँका नागरिकहरू सुरक्षित रूपमा स्वदेश फर्कन सक्ने अवस्थामा पुगेको निष्कर्ष निकालिएको बताएको छ । रासस