विकासन्युज

४ लाख अमेरिकी डलरमा सगरमाथा चढ्ने बाटो खुल्दै, ८० प्रतिशत काम सम्पन्न

सुवास दर्नाल काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैत भित्रमा सञ्चालन हुने भएको छ । न्युजिल्यान्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु आइसफल तर्फको भन्दा सुरक्षित रहेकाले आगामी वसन्त याम (स्प्रिङ) मौसमभित्र सञ्चालन हुने गरी तयारी भइरहेको छ । यो करिब २०० मिटर जति लामो हुने भएकाले छोटो बाटोका लागि सिधै खुम्बु आइसफल हुँदै सगरमाथा आरोहण गर्ने मार्ग खोलिएको उनले बताए ।  खुम्बु आइसफलको बाटो पहिलोपटक सन् १९८४ मा सञ्चालनमा ल्याइएको विश्व पर्वतारोहण महासङ्घका विज्ञ एवं पर्यटन विद् आङ्छिरिङ शेर्पाले बताए । उनका अनुसार खुम्बु आइसफलको बाटो खुलेपछि परम्परागत मार्गको नामले परिचित नुप्सेतर्फको उक्त बाटो उपयोग विहीन भएको हो । यो बाटो खुम्बु आइसफल तर्फको भन्दा धेरै गुणा सुरक्षित र भरपर्दो रहेको उनको भनाइ छ । सोही मार्गको खोजी, अनुसन्धान तथा पुनः सञ्चालनका लागि विश्वविख्यात आरोही तथा अनुसन्धानकर्ता काजी शेर्पा, फ्रान्सका आरोही मार्क वटाई र फ्रान्सकै अर्का विश्वविख्यात आरोही एन्ट्वान एरोलाई जिम्मा दिइएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए । उनका अनुसार नुप्से हिमालको फेदीमा सगरमाथा आधार शिविर हुने गरी उक्त मार्ग निर्माणको करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ । बाँकी २० प्रतिशत कार्य पूरा गरी आगामी वसन्त याम (फागुन-चैत) भित्रमा सञ्चालन गर्ने गरी तयारी भइरहेको विभागका निर्देशक गौतमले बताए । ‘विश्वविख्यात आरोही नेपालका काजी शेर्पा र सगरमाथा आरोही फ्रान्सका मार्क वटाईको टोली सक्रिय भएका छन्, मन्त्रिपरिषद्को निर्णयअनुसार विभागले अनुमति दिइसकेको छ । यद्यपि त्यसका लागि सरकारको आर्थिक लगानी भने गरेको छैन,’ उनले भने । फ्रान्सस्थित विभिन्न पर्वतारोहण सङ्घसंस्थाको आर्थिक सहयोगमा पर्यटन मन्त्रालयले उक्त ऐतिहासिक बाटोलाई वैकल्पिक रूपमा खुलाउन लागेको गौतमले जानकारी दिए । ‘सगरमाथा आरोहणका लागि अहिले सञ्चालनमा रहेको खुम्बु आइसफल हुँदै क्याम्प एकसम्मको बाटो असाध्यै जोखिमयुक्त मानिन्छ । बर्सेनि आधा दर्जनभन्दा बढी आरोहीले अवरोहणका क्रममा सगरमाथा क्षेत्रमा ज्यान गुमाउने गरेका छन् । तीमध्ये एक चौथायी घटना खुम्बु आइसफलमा हुने गरेको छ,’ विभागका निर्देशक गौतमले भने । सगरमाथा आरोहण गर्दा पहिलो जोखिम भनेको खुम्बु आइसफलमा हो । यहाँ हिउँ पग्लने, फाट्ने भइरहने हुनाले धेरै खतरा मोलेर जानुपर्ने सगरमाथा आरोही विजय घिमिरेले बताए । नयाँ मार्ग नुप्सेको फेदीबाट खुम्बु आइसफल छलेर जाने भएकाले अत्यन्त उपयोगी र कम जोखिमयुक्त हुनसक्ने उनको भनाइ छ । सोही बाटो हुँदै ७२ वर्षअघि तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा शिखरमा पाइला टेकेका थिए । यही पुरानो मार्गलाई पुनः जीवन दिनेगरी करिब १० जना विश्वविख्यात आरोहीसहितको समूहले करिब ३ वर्षअघिदेखि सक्रिय नयाँ पद मार्ग खोजी गरेको खोज तथा अनुसन्धानकर्ता काजी शेर्पाले बताए । उनका अनुसार आगामी वसन्त याम (स्प्रिङ सिजन) भित्र सो आरोहण मार्ग औपचारिक रूपमा खुल्ने तयारी तीव्र गतिमा अघि बढेको छ ।  काजीले भने, ‘यो केबल हिमाल आरोहणको बाटो होइन । यो नेपालको इतिहास, गौरव र पहिचानको पुनर्जन्म हो, जसमा यसपटक स्थानीय समुदाय, नेपाली आरोही, अन्तर्राष्ट्रिय दाताहरू र नेपाल सरकार सबैको सहकार्य जोडिएको छ । अहिलेसम्म पूरै मार्गको ८० प्रतिशत काम पूरा भइसकेको छ । बाँकी काम आगामी मार्च-अप्रिल अर्थात् वसन्त यामभित्र सक्ने लक्ष्य राखिएको छ ।’ सरकारद्वारा अनुमति प्राप्त सगरमाथाका लागि ऐतिहासिक उक्त मार्ग खुलाउन सरकारले काजी शेर्पा र फ्रान्सका मार्क वटाईको नेतृत्वमा अनुमति प्रदान गरेको छ । सङ्घीय सरकारको २०८१ पुस २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा र वटाईको टोलीलाई लिखित रूपमा अनुमति दिइएको विभागका निर्देशक गौतमले जानकारी दिए । विभिन्न फ्रान्सेली संस्था तथा दाताहरूको आर्थिक सहयोगमा काम अघि बढे पनि अन्य सहयोग र समन्वयमा सङ्घीय सरकार अन्तर्गत पर्यटन विभागको साथ रहेको उक्त समूहको नेतृत्व लिएका शेर्पाले बताए । विभागले आरोही शेर्पाको नेतृत्वमा रहेको समूहलाई ६ हजार १०० मिटर उचाइसम्म मार्ग विस्तार र निश्चित मार्ग निर्माणको लिखित अनुमति दिएको छ ।  ‘सगरमाथा क्याम्प एकसम्म मात्रै अनुमति दिइएको छ । क्याम्प एकभन्दा माथि जाने बाटो भने एउटै छ,’ पर्यटन विभागका निर्देशक गौतमले भने ।  यो मार्ग सञ्चालनमा ल्याउन सके आरोहण यामका बेला हालको आधार शिविरमा भइरहेको मानवीय चाप, कोलाहल तथा प्रदूषणलाई कम गर्न सकिने विभागको विश्वास छ । यो परियोजना नेपालको पर्वतारोहण इतिहाससँग सम्बन्धित भएकाले मन्त्रालयको सहमति र पर्यावरणीय स्वीकृति सहित अघि बढाइएको गौतमले बताए ।  ‘हामीले यसलाई सुरक्षित र स्थायी बनाउन सबै प्राविधिक मापदण्डमा ध्यान दिएका छौँ,’ उनले भने । स्थानीय र अन्तर्राष्ट्रिय सहकार्यको नमुना यो अभियानको विशेषता केबल सरकारी परियोजना मात्र नभएर मुलुकको इतिहाससँग जोडिएको विज्ञको भनाइ छ । यस अभियानमा हिमालयन एक्सपेडिसन लुम्बिनी विकास कोषका गुडविल एम्बासडर तथा ग्रिसका कन्सुलर विक्रम पाँडे काजीले पनि आर्थिक सहयोग गरेका छन् । साथै पर्यटन विभागका तत्कालीन महानिर्देशक डा नारायणप्रसाद रेग्मीले प्राविधिक र नीतिगत समन्वयमा सक्रिय रूपमा साथ दिनुभएको शेर्पाले उल्लेख गरे । फ्रान्सका एन्तोनियो इरोडले पनि उक्त टोलीसँग जोडिएर काम गरिरहेका छन् । ‘यो केबल मार्ग निर्माण होइन, यो विश्वका आरोहीहरूसँग नेपालको पुरानो सम्बन्ध पुनःस्थापना हो,’ इरोडले भने । उनका अनुसार अहिलेसम्म करिब २२० वटा निश्चित खुड्किला तयार भइसकेका छन् ।  ‘यसले आरोहणमा प्रयोग हुने सुरक्षा डोरी र सिँढीहरूको आधार तयार गर्छ । कूल करिब २७० वटा खुड्किला बनाउनुपर्नेमा बाँकी ५० वटाको काम आगामी फागुन, चैतभित्र सम्पन्न हुने योजना छ,’ उनले भने ।  ४ लाख अमेरिकी डलरको अनुमानित लागत यो मार्ग पूर्ण रूपमा तयार गर्नका लागि करिब ४ लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । अहिलेसम्म ३ लाख डलर खर्च भइसकेको आरोही काजी शेर्पाले बताए । बाँकी १ लाख डलर दाताहरूले अझै सङ्कलन गरिरहेको उनको भनाइ छ ।  शेर्पाले भने, ‘मुख्य सहयोग फ्रान्सका पर्वतारोहण प्रेमी र निजी दाताबाट आएको छ । यो रकम निश्चित मार्गसहित खुड्किला निर्माण, सुरक्षा व्यवस्थापन, प्राविधिक उपकरण र मार्ग सफाइका लागि प्रयोग भइरहेको छ ।’ नयाँ बाटो: कम जोखिम, बढी सुरक्षा नयाँ बाटो पुरानो खुम्बु आइसफल मार्गको विकल्पका रूपमा तयार हुँदैछ । खुम्बु आइसफल सगरमाथाको सबैभन्दा जोखिमपूर्ण भाग मानिन्छ । जहाँ वार्षिक रूपमा हिउँ पहिरो र हिउँका ब्लक खस्ने घटनाले आरोहीको ज्यान लिने गर्छ । आरोहीको ज्यान लिने अधिकांश घटना खतरायुक्त खुम्बु आइसफल क्षेत्रमा हुने गरेको पर्यटन विभागका निर्देशक गौतमले बताए ।  उनका अनुसार सगरमाथा आरोहणका लागि बर्सेनि करिब ५०० जना विदेशी तथा ३०० जति नेपाली सहयोगी गरी ८०० जनाभन्दा बढीले अनुमति लिने गर्दछन् । खुम्बु आइसफल जोखिमयुक्त भएकाले कतिपय आरोहीले आरोहण नगरी फर्कने गरेका गौतमको भनाइ छ । अब खुल्ने भनिएको वैकल्पिक बाटो दूरीको हिसाबले करिब २०० मिटर जति लामो रहेको जनाउँदै जोखिम निकै कम हुने आरोहण क्षेत्रका जानकारहरू बताउँछन् ।  पर्यटन विज्ञ आङ्छिरिङ शेर्पाले भने, ‘यो बाटोले खुम्बु आइसफलको खतरा घटाउँछ र सगरमाथा आरोहण अझ सुरक्षित र विश्वसनीय बन्नेछ ।’ यो बाटो खुल्दा नेपालको पर्वतारोहण उद्योगमा क्रान्ति ल्याउने विश्वास व्यक्त गर्दै उहाँले यो बाटो खुल्ने हो भने नेपालमा सगरमाथा आरोहणका लागि आउने आरोहीहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुने बताए ।  अन्तर्राष्ट्रिय ध्यान पुन: सगरमाथातर्फ यो परियोजनाले अन्तर्राष्ट्रिय पर्वतारोहण जगतको ध्यान फेरि नेपालतिर तानेको छ । विश्वका प्रमुख पर्वतारोहण संस्था र डोनरहरूले यसलाई ‘हिस्टोरिक रुट रिभाइभल’ का रूपमा नियालेका छन् । मार्ग निर्माणका क्रममा उनीहरुले पर्यावरणीय सन्तुलनमा विशेष ध्यान दिएका छन् । पर्यटनमा हुने सम्भावित प्रभाव यो मार्ग खुलेपछि सगरमाथा आरोहणका लागि आउने पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ । नेपाल पर्वतारोहण सङ्घका अनुसार हरेक वर्ष करिब ८०० भन्दा बढी आरोही सगरमाथाको अनुमति लिन्छन् । तर खुम्बु आइसफलको जोखिमका कारण धेरै आरोही नेपाल बाहिरका अन्य हिमाल रोज्ने गरेका छन् । नयाँ मार्गले त्यो धारणा तोड्ने अपेक्षा गरिएको छ । सगरमाथा क्षेत्रका पर्यटन व्यवसायी दावा शेर्पाले भने, ‘यो बाटो खुल्दा नेपालका गाइड, पोर्टर र स्थानीय व्यवसायी सबैको रोजगारी बढ्नेछ । सगरमाथा पुनः विश्व पर्वतारोहणको केन्द्र बन्नेछ ।’ इतिहास, संस्कृति र आत्मसम्मानको पुनर्जन्म तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले सन् १९५३ मा सगरमाथा आरोहण गर्दा नेपाली जनताको आत्मसम्मान विश्वमाझ पुगेको थियो । सगरमाथा आरोही तेम्बा छिरी शेर्पाले भने, ‘हिँडेको बाटो पुनः खुल्दैछ, त्यसले त्यो गौरवलाई पुनर्जीवित गरेको अनुभूति सबैमा छ ।’ यो मार्ग नेपालका युवाका लागि प्रेरणाको बाटो हो, सगरमाथा राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले भने, ‘यो केबल चढाइ होइन, इतिहाससँगको पुनः सम्बन्ध हो ।’ रासस

राष्ट्र बैंकले उपदान कोषको ३.७० अर्ब रुपैयाँ बैंकमा लगानी गर्ने, खुद एनपीएल ३ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको ३ अर्ब ७० करोड रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने जनाएको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ९६ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५५ करोड ५० लाख रुपैयाँ, राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड ५० लाख रुपैयाँ बराबरको रकम लगानी गर्न लागिएको उल्लेख छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम् कूल पुँजी कोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात (एनपीएल ) ३ प्रतिशत ननाघेको हुनुपर्ने जनाइएको छ । बैंक तथा वित्तीय संस्था कर्जा निक्षेप अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षको नाफा-नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको हुनुपर्ने लगायत सर्त पूरा गरेको हुनुपर्नेछ । साथै बैंक तथा वित्तीय संस्थाले उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदरसहित आवेदन दिन सूचनामा आग्रह गरिएको छ । 

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट, ८ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन नजिकै सोमबार साँझ भएको विस्फोटमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य ७ जना सख्त घाइते भएका छन् ।  स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याई पुर्याउँदा ८ जनाको मृत्यु भइसकेको र अन्य ७ जनाको उपचार भइरहेको जानकारी दिए ।  दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् । उनले भने, ‘अहिलेसम्म, म तपाईंलाई केही भन्न सक्दिन। घटनाबारे अनुसन्धान भइरहेको छ ।’ घटनास्थलमा पुगेका डीआइजी सिआरपिएफले तत्काल केही भन्न हतार हुने बताए । अग्नि नियन्त्रण कार्यालयका उप प्रमुख एके मलिकले चाँदनी चोक मेट्रो स्टेसन नजिकै एउटा कारमा विस्फोट भएको जानकारी प्राप्त भएको बताए ।  ‘हामीले घटना लगत्तै प्रतिक्रिया दियौँ र ७ युनिटहरू घटनास्थलमा पठाइयो । विस्फोटपछि लागेको आगो साँझ ७:३० सम्ममा नियन्त्रणमा आएको छ । यसमा हाताहाती हुने सम्भावना रहेको छ । हाम्रा सबै टोली घटनास्थलमा उपस्थित छन्,’ उनले भने ।  प्रत्यक्षदर्शीले केही व्यक्तिको मृत्यु भएको बताएका छन् । एक स्थानीयले एएनआईलाई भने, ‘जब हामीले सडकमा कसैको हात देख्यौँ, हामी पूर्ण रूपमा स्तब्ध भयौँ । म यसलाई शब्दमा व्याख्या गर्न सक्दिनँ ।’ अर्का प्रत्यक्षदर्शीले भने, ‘जब हामी घटनास्थल नजिक पुग्यौँ, हामीले सडकमा शरीरका अङ्गहरू छरिएको देख्यौँ। के भयो कसैले पनि बुझ्न सकेनन् । धेरै कारहरू क्षतिग्रस्त भएका छन् ।’  एक स्थानीय पसलेले एएनआईलाई बताए अनुसार उनले आफ्नो जीवनमा यति ठूलो विस्फोट कहिल्यै सुनेका थिएनन् । उनले भने, ‘विष्फोटका कारण म तीन पटक लडेँ । यस्तो लाग्यो कि हामी सबै मृत्युको मुखमा गइरहेका छौँ । घटनामा धेरै कारहरू क्षतिग्रस्त भएका छन् ।’ एलएनजेपी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले घाइतेमध्ये एक जनाको अवस्था स्थिर रहेको बताएका छन् । उनले भने, ‘१५ जनालाई लोक नायक अस्पतालमा ल्याइएको छ । तीमध्ये ८ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भएको थियो । ३ जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था स्थिर रहेको छ।’

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा जनकपुर र काठमाडौं गोर्खाज भिड्ने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तालिका आज सार्वजनिक गरेको छ । आगामी मङ्सिर १ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ ।  आगामी मङ्सिर १ गते हुने उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ । उक्त खेल दिउँसो ४ बजे हुने तय भएको छ । प्रतियोगितामा विभिन्न ८ टोली सहभागी छन् । दिनमा २ वटा खेल हुँदा पहिलो खेल दिउँसो ११:४५ र दोस्रो खेल ३:३० तथा ४ बजे सुरू हुनेछन् । प्लेअफका ३ खेल भने दिउँसो ४ बजे सुरू हुनेछन् । आगामी मङ्सिर २७ गते हुने फाइनल पनि फ्लडलाइटमा हुने तयारी रहेको क्यानले जनाएको छ । कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाइने छन् । 

अशोक राई नेतृत्वको जसपा र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने

काठमाडौं । जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने भएको छ । दुवै पार्टीका नेताहरूबीच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली तथा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने सैद्धान्तिक समझदारी भएकाले एकीकरणका लागि प्रक्रिया सुरु गरिएको हो । अशोक राई नेतृत्वको पार्टीले हालै सम्पन्न केन्द्रीय बैठकबाट एकताका लागि केन्द्रीय कार्यकारिणी परिषदलाई जिम्मेवारीसमेत प्रदान गरेको केन्द्रीय सदस्य सोनाम लामाले जानकारी दिए । उनले दुवै पक्ष सैद्धान्तिक विषयमा सहमत भएपछि केही नेताहरु व्यवस्थापनलगायत प्राविधिक विषयको टुङ्गो लगाइने र केही दिनभित्र एकताको घोषणा गरिने जानकारी दिए ।  नेपाली कम्युनिष्ट पार्टीले समान विचारधारा भएका समूह तथा राजनीतिक दलसँग एकता गरी वृहत् कम्युनिष्ट केन्द्र निर्माणको अभियान थालेको छ । नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायत दश वामपन्थी दलले गत बुधबार एकता गरेपछि गठन भएको उक्त पार्टीले चुनाव अगाडि वाम शक्ति ध्रुवीकरण गर्ने जनाएको छ । छिट्टै सातै प्रदेशमा एकता सभा गर्ने तयारी समेत गरेको पार्टीले नेकपा (एमाले) का पूर्व उपाध्यक्ष एवं मातृभूमि जागरण अभियानका संयोजक भीम रावलसँग पनि एकताको सम्पूर्ण तयारी पूरा गरेको जनाइएको छ ।

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की, को हुन् उनी ?

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले कार्कीलाई यही कात्तिक २७ गतेदेखि लागू हुने गरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । २०५४ चैत १८ मा नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना भएका कार्की २०२९ साउन १५ मा गुल्मीमा जन्मिएका हुन् । कार्कीले प्रहरी सेवाका क्रममा लुम्बिनी प्रदेश, काठमाडौं उपत्यकासहित काठमाडौं, कास्की र कपिलवस्तु जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनले इन्स्पेक्टर दर्जामा इलाका प्रहरी कार्यालय काकडभित्ता, झापा र तनहुँको आबुखैरेनीमा कार्यालय प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए ।

सरकारले यी १६ आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त सूचीमा राख्यो, कुन-कुन परे?

काठमाडौं । सरकारले विभिन्न १६ वटा आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त सूचीमा राखेको छ । मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त सूचीमा राखेको हो । नेपाल सरकारबाट र निजी प्रवर्द्धकबाट कार्यान्वयन हुने ऊर्जा विकास र जलविद्युत विकाससम्बन्धी उत्पादन, प्रसारण तथा वितरण आयोजनाहरू राष्ट्रिय प्राथमिकता प्राप्त सूचीमा राखिएको हो । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाअन्तर्गत बबई सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ आयोजना, महाकाली सिँचाइ आयोजना (तेस्रो चरण), रानी जमरा कुलरिया सिँचाइ आयोजना (प्रणाली आधुनिकीकरण समेत) रहेका छन् । त्यसैगरी कालीगण्डकी(तिनाउँ बहुउद्देश्यीय आयोजना, बागमती सिँचाइ आयोजना, नवीनतम यान्त्रिक सिँचाइ आयोजना, प्रगन्न तथा बड्कापथ सिँचाइ आयोजना, सुनसरी मोरङ सिँचाइ आयोजना (तेस्रो), सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, बृहद् दाङ उपत्यका सिँचाइ आयोजना, जलस्रोत संरक्षण आयोजना (रुपाताल र नागमती तथा धाप बाँध) र कर्णाली, पश्चिम राप्ती र नारायणी नदी व्यवस्थापन आयोजना पनि सूचीमा राखिएको छ।  

शिवम् सिमन्टले तिर्यो विद्युत महसुल बक्यौताको पहिलो किस्ता

काठमाडौं । मकवानपुरको हैटौंडामा सञ्चालित शिवम् सिमेन्टले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम सोमबारबाट तिर्न सुरु गरेको छ ।  पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको विद्युत लाइन सोमबार जडान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । शिवम्ले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।  शिवम्को ६६ करोड ८९ लाख  रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरीे शिवम्ले २ करोड ३८ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।