कजारियाको लमजुङको बेसीसहरमा नयाँ शोरूम उद्घाटन
काठमाडौं । कजारियाले लमजुङको बेसीसहरमा नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ । न्यु आलम मार्बल एण्ड टायल्सद्वारा सञ्चालित यस शोरूमले लमजुङ तथा आसपासका क्षेत्रमा बढ्दो टायल मागलाई सम्बोधन गर्ने लक्ष्य लिएको छ । शोरूमको औपचारिक उद्घाटन २५ माघ आयोजित समारोहका बीच सम्पन्न भएको थियो । कार्यक्रममा उद्योग क्षेत्रका प्रतिनिधि, व्यवसायिक साझेदार तथा स्थानीय ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कजारियाका कन्ट्री म्यानेजर अभ्याश तिवारीले शोरूमको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै तिवारीले कजारिया उच्च गुणस्तरीय उत्पादन, आधुनिक डिजाइन र भरपर्दो समाधान प्रदान गर्न प्रतिबद्ध रहेको बताए । उनले बेसीसहरमा नयाँ शोरूम सञ्चालन हुनु लमजुङ तथा आसपासका ग्राहकसम्म विश्वस्तरीय टायल संग्रह पुर्याउने महत्वपूर्ण कदम भएको उल्लेख गरे । साथै, न्यु आलम मार्बल एण्ड टायल्ससँगको साझेदारीप्रति खुशी व्यक्त गरे । नयाँ शोरूममा कजारियाका प्रिमियम टायलहरूको विस्तृत र आकर्षक संग्रह प्रदर्शनीका लागि राखिएको छ । यसले घरधनी, वास्तुकार, निर्माण व्यवसायी तथा ठेकेदारहरूलाई टिकाउ, स्टाइलिश र उच्च कार्यक्षमता भएका टायल समाधान उपलब्ध गराउने अपेक्षा गरिएको छ । न्यु आलम मार्बल एण्ड टायल्ससँगको सहकार्यमार्फत कजारियाले विस्तार यात्रा निरन्तरता दिँदै स्थानीय व्यवसाय प्रवर्द्धन तथा ग्राहक सेवामा योगदान पुर्याउँदै आएको छ । कजारिया रमेश टायल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । अत्याधुनिक प्रविधियुक्त यस उद्योगबाट अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादन तयार हुँदै आएका छन् । कम्पनीले हाल ३ हजारभन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ ।
ताप्लेजुङमा थेबेको परीक्षा, जोगाउलान् एमालेको विरासत ?
काठमाडौं । ताप्लेजुङमा यस पटक पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा विभिन्न राजनीतिक दल र उम्मेदवारहरू आफ्नो पक्षमा मत बढाउने होडबाजीमा छन् । नयाँ अनुहारदेखि दोहोरिएका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । पार्टीको र व्यक्तिगत एजेण्डा लिएर मतदाताको आँगनमा उम्मेदवारहरू पुगिरहेका छन् । ‘निर्वाचनमा उम्मेदवारहरू भाषण गर्दै हिँड्छन् । उम्मेदवारहरू मिलेर टेबलमा खुला बहस गरौं । एजेण्डामा दैनिक छलफल गरौं, बहस गरौं, त्यहीँ भोटिङ पनि गरौं । एजेण्डा बहसलाई गाउँ र मतदाताको सम्म पुर्याऔं,’ दश महिनाअघि युवासंघका तत्कालीन अध्यक्ष क्षितिज थेवे एक अन्तर्वार्तामा भन्दै थिए । उनै थेवे अहिले ताप्लेजुङमा एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । उनले एक पोडकास्टमा भनेका थिए, ‘राम्रोलाई जिताऔं र राम्रो एजेण्डा भएका उम्मेदवारले जित्नुपर्छ ।’ ताप्लेजुङमा योगेश भट्टराईले टिकट पाउँदै आएका थिए । यसपटक भने उनले टिकट पाएनन् । जनजाति तथा लिम्बु समुदायको बाहुल्यता रहेको ठाउँमा एमालेले उनै लिम्बुको छोरालाई टिकट दिइसकेको छ । केही समयअघि एक टेलिभिजन अन्तर्वार्तामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङमा योगेश भट्टराईले जित्ने अवस्था नरहेको बताएका थिए । यसअघि उक्त क्षेत्रबाट भट्टराईले निर्वाचन जित्दै आएका थिए । भट्टराईले गत निर्वाचनमा २१ हजार ९४३ मत प्राप्त गरेर विजयी भएका थिए । ताप्लेजुङमा एमालेले समानुपातिकतर्फ १९ हजार ६०४ मत प्राप्त गरेको थियो । विगतमा प्राप्त गरेको मतलाई लिएर ताप्लेजुङमा एमाले पुनः हौसिएको छ । एमालेको केन्द्रीय सदस्यसमेत रहेका थेबे अध्यक्ष ओलीको निकट मानिन्छन् । उनी दुई पटक युवासंघको अध्यक्ष भइसकेका छन् । पार्टीका गतिविधिमा पास भएका उनी यो पटक जनताको परीक्षामा पास हुने दाउमा छन् । भट्टराईले २०७४ र २०७९ मा जितेको हुनाले थेबे जित्नैपर्ने बाध्यतामा पनि छन् । एमालेलाई पहिचानविरोधी पार्टी भनेर चिनिने भएकाले थेवेले पहिचान पक्षधरलाई आफ्नो पक्षमा पार्न सक्छन् कि सक्दैनन् भन्ने मुख्य विषय रहेको स्थानीय बताउँछन् । संगठनको हिसाबले ताप्लेजुङलाई एमालेको उर्वर भूमि मानिन्छ । जित हासिल गर्ने लक्ष्यसहित थेवे यतिबेला चुनावी प्रचार प्रसारमा मस्त छन् । उनले सँगसँगै चुनावी एजेण्डा पनि लिएर हिँडेका छन् । तमोर करिडोरको विकास, ग्रामीण सडक सञ्जाल विस्तार, कृषि तथा जडीबुटीको व्यावसायिक उत्पादन, पाथीभरा र कञ्चनजङ्घा क्षेत्रको दिगो पर्यटन विकासलाई थेवेले प्राथमिक एजेन्डा बनाएका छन् । साथै जिल्लाबाट वैदेशिक रोजगारीमा जान बाध्य युवालाई स्थानीय स्तरमै अवसर सिर्जना गर्ने उनको प्रतिबद्धता जाहेर गरेका छन् । ताप्लेजुङमा विशेष गरी एमालेका थेवे, नेपाली कांग्रेसबाट गजेन्द्रप्रसाद तुम्याङ लिम्बु, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट खेलप्रसाद बुढाक्षेत्रीबीच कडा प्रतिस्पर्धा हुने देखिएको स्थानीय बताउँछन् । गत निर्वाचनमा गठबन्धनको तर्फबाट तत्कालीन माओवादीका उम्मेदवार खेलप्रसाद क्षेत्री उठेका थिए । उनले २१ हजार ७३५ मत प्राप्त गरेका थिए । उनै क्षेत्री यसपटक नेकपाको तर्फबाट दोहोरिएका छन् । उनी पार्टीको मुख्य एजेण्डासहित चुनावी मैदानमा होमिइसकेका छन् । मतदातासँग भेटघाटमा लागिसकेका उनले प्राकृतिक रूपमा पछाडि परेको जिल्लालाई विकासका पूर्वाधार खडा गरेर अगाडि बढाउने एजेन्डा राखेका छन् । ताप्लेजुङ जलस्रोतको धनी भएकाले हाइड्रोको विकासलाई पहिलो प्राथमिकतामा राखेको उम्मेदवार क्षेत्रीले बताए । ‘विविध जातजातिको समिश्रण भएकाले सबैको संस्कृति जोगाउने पहिलो कर्तव्य रहन जान्छ,’ उनले भने, ‘भ्रष्ट्राचार विरोधी अभियानलाई पहिलो प्राथमिकतालाई राखेर काम गर्नेछु । यहाँ विशेष गरेर अलैंची खेती रहेकालाई उत्पादन तथा प्रवर्द्धन गर्नेछु ।’ ताप्लेजुङ धार्मिक पर्यटकीय स्थलको रूपमा प्रसिद्ध रहेको उनले बताए । ‘धार्मिक पर्यटक भित्र्याउने विभिन्न योजनाहरू ल्याएर आम्दानीको स्रोत बढाउने काम गर्नेछु,’ उनले भने । कांग्रेस उम्मेदवार लिम्बु यो चुनावमा नेपाली कांग्रेसलाई पुनःस्थापित गर्ने दावी गर्छन् । ‘अगिल्लो चुनावमा गठबन्धनका कारण रुख चिन्ह हराएको थियो । यो चुनावमा हामीले रुखलाई पुनःस्थापित गर्छौं,’ उनले भने । यसपटक गठबन्धन नभएकाले कांग्रेसमा राम्रो भोट आउने उनको दावीसमेत छ । तमोर करिडोरको विकास र जलविद्युत आयोजना निर्माणमा सहजीकरण गरेर स्थानीयका लागि रोजगारी सिर्जना गर्ने लिम्बुको मुख्य एजेन्डा हुन् । त्यस्तै, श्रम संस्कृति पार्टीको तर्फबाट सन्तोष राई उम्मेदवार छन् । उनी व्यक्तिगत एजेण्डाबिना मतदाताको घरआँगनमा पुगिरहेका छन् । एजेण्डा लिएर गए पनि मतदाताले नपत्याउने भएकाले व्यक्तिगत एजेण्डा नभएको राईको भनाइ छ । ‘निर्वाचित भएमा मतदाताको घरआँगनमा गएर समस्या सुनेर समाधान गर्नेछु,’ उनले भने । पुराना दलले जस्तै हामीजस्ता नयाँ दलले मतदातालाई ढाँट्न नहुने उनको भनाइ छ । ‘श्रम संस्कृतिलाई सबैले अंगाल्नु पर्ने भएकाले हाम्रो एजेण्डा श्रमको महत्त्व बुझाउनु हो,’ उनी भन्छन् आफूले नजिते पनि श्रम संस्कृति पार्टी किङ मेकर रहेको पनि स्थानीयको भनाइ छ । अन्य उम्मेदवारहरू : अरुन सुब्बा (लेछर्वो) जनता समाजवादी पार्टी, इन्द्र कुमार लिम्बू नेपाल जनमुक्ति पार्टी, ईन्द्रप्रसाद थापा राष्ट्रिय प्रजातन्त्र पार्टी, किर्ती मान मादेन उज्यालो नेपाल पार्टी, नरपति पौडेल नेपाल कम्युनिष्ट पार्टी माओवादी, वीरेन्द्र श्रेष्ठ रास्वपा, मुकसाम लाबुङ, लिम्बु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सन्तबहादुर लिम्बु मंगोल नेशनल अर्गनाइजेशन, सन्तोष राई श्रम संस्कृति पार्टी र जनता समाजवादी पार्टी नेपालबाट सुर्य गुरुङ रहेका छन् । निर्वाचन आयोगका अनुसार ताप्लेजुङमा ९० हजार ३२७ मतदाता रहेका छन् । महिला मतदाता ४२ हजार ४२ र ४८ हजार २८५ मतदाता छन् । मतदान स्थल ८० र मतदान केन्द्र १ सय २७ वटा छन् । सामान्य मतदानस्थल २७, संवेदनशील २५ र अति संवेदनशील २८ वटा मतदानस्थल रहेको छ ।
तस्कर समूहको आक्रमणबाट ३ सशस्त्र प्रहरी घाइते, १२ लाख बढीको कपडा बरामद
काठमाडौं । पर्सामा अवैध गोदाममा सशस्त्र प्रहरी र तस्कर समूहबीच भीडन्त भएको छ । सोमबार बिहान वीरगञ्जव महानगरपालिका १० स्थित एक गोदाममा छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् । वीरगञ्जको आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाममा राखिएको १२ लाख ७२ हजार रुपैयाँ बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । बरामद गरिएका सम्पूर्ण सामग्री भन्सार कार्यालयमा बुझाइएको उनले बताए । उनका अनुसार तस्कर समूहको खोजी भइरहेको छ । तस्करको समूहमा वीरगञ्जका नेपालीहरूसमेत रहेका छन् । ‘ तस्करको पहिचान खुल्ने क्रम जारी रहेको छ,’ उनले भने ।
डिशहोम गो एपमा ‘नाइ नभन्नु ल ६’ र ‘प्रसाद २’ रिलिज
काठमाडौं । नेपाली चलचित्रप्रेमी दर्शकहरूका लागि खुसीको खबर छ । बहुप्रतीक्षित तथा लोकप्रिय दुई नेपाली चलचित्र ‘नाइ नभन्नु ल ६’ र ‘प्रसाद २’ अब डिशहोम गो एपमार्फत हेर्न सकिने भएको छ । पारिवारिक भावना, प्रेम र सामाजिक यथार्थलाई समेटिएका यी दुवै चलचित्रले दर्शकको मन जित्न सफल भएका छन् । डिजिटल प्लेटफर्ममार्फत रिलिज भएसँगै नेपाल तथा विदेशमा रहेका नेपाली दर्शकले सहज रूपमा यी चलचित्र हेर्न पाउने भएका छन् । ‘नाइ नभन्नु ल ६’ नेपाली चलचित्रको चर्चित शृंखलाको छैटौँ संस्करण हो । विकासराज आचार्यद्वारा निर्देशित यस चलचित्रमा आँचल शर्मा, आशीर्वाद बी. क्षेत्री, सरोज खनाल र प्रियंका कार्की मुख्य भूमिकामा छन् । चलचित्रका निर्माता विकासराज आचार्य र विष्णु मणि दाहाल हुन् । चलचित्रले अभिनेता शिशिर र उनकी छोरी दित्याबीचको गहिरो सम्बन्धलाई केन्द्रमा राख्दै परिवार, प्रेम र जीवनका उतार–चढावलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ । दित्याकी आमासँग जोडिएको रहस्यले कथालाई थप रोचक बनाएको छ । पारिवारिक दर्शकका लागि उपयुक्त यस चलचित्रले रिलिजपछि सकारात्मक प्रतिक्रिया पाएको थियो । त्यसैगरी, ‘प्रसाद २’ नेपाली समाजका संवेदनशील सामाजिक विषयहरूलाई निरन्तरता दिने सशक्त चलचित्र हो । सुदर्शन थापाको निर्देशन तथा सुदर्शन बस्नेतको निर्माणमा बनेको यस चलचित्रमा बिपिन कार्की, केकी अधिकारी, अर्पण थापा र महेश त्रिपाठी प्रमुख भूमिकामा छन् । पहिलो भागको कथालाई अगाडि बढाउँदै ‘प्रसाद २’ ले जातीय विभेद, अन्तरजातीय विवाहका चुनौती र राजनीतिक द्वन्द्वजस्ता विषयलाई गहिराइमा प्रस्तुत गरेको छ । समाज परिवर्तनको संघर्ष र मानवीय संवेदनालाई प्रभावशाली रूपमा उठान गरेको यस चलचित्र समीक्षक तथा दर्शक दुवैबाट प्रशंसित बनेको थियो । यी दुवै चलचित्र डिशहोम गोमार्फत नेपाल तथा विदेशमा रहेका नेपाली दर्शकले सहज रूपमा हेर्न सक्नेछन्। डिशहोम गो एक आधुनिक डिजिटल मनोरञ्जन प्लेटफर्म हो, जहाँ नेपाली तथा विदेशी चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष खेलकुद, छोटा चलचित्र तथा कोरियन ड्रामा लगायत विविध सामग्री उपलब्ध छन् । एकै एपमार्फत गुणस्तरीय मनोरञ्जन लिन चाहने दर्शकका लागि डिशहोम गो उपयुक्त गन्तव्य बनेको छ ।
सेयर बजारमा १० अर्ब ७७ करोड रुपैयाँको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले घटेर २६७२ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ४२ कम्पनीको सेयर मूल्य बढ्दा २१२ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३२४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको भएको छ । रिडि पावरको ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एसवाई प्यानलको ५४ करोड, आँखु खोला जलविद्युतको ४८ करोड, लिबरटी इनर्जीको ३७ करोड र न्यादी गुप्रको ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको कारोबारमा खानीखोला हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशत र रिडि पावर कम्पनीको सेयर मूल्य ९.११ प्रतिशतले घटेको छ ।
पशुपतिनाथमा रङरोगन र सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु
काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रहरूमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ । भक्तजनलाई सहज तथा सुरक्षित रूपमा दर्शन गराउने उद्देश्यले मन्दिरलगायत आसपासका क्षेत्रमा विशेष सरसफाइदेखि अन्य तयारी सञ्चालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिको तयारीका लागि मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी काम अघि बढाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिए । उनले भने, 'महाशिवरात्रिको तयारीका लागि समिति पूर्ण रूपमा सक्रिय छ । साधु–सन्त, भक्तजन तथा दर्शनार्थीलाई सुविधा पुर्याउने लक्ष्यका साथ व्यवस्थापन, सुरक्षा, स्वास्थ्य, सरसफाइ, यातायात र प्रचार–प्रसारलगायत क्षेत्रमा काम भइरहेको छ ।' महाशिवरात्रिका दिन ठूलो सङ्ख्यामा भक्तजन पशुपतिनाथ दर्शनका लागि आउने भएकाले भीड व्यवस्थापन, सुरक्षा व्यवस्था र आपत्कालीन सेवामा विशेष ध्यान दिइएको र सुरक्षाकर्मी, स्वयंसेवक र विभिन्न सङ्घसंस्थासँगको समन्वयमा तयारीलाई तीव्रता दिइएको प्रवक्ता जोशीले बताए । यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समितिले महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्य राखेको छ । महाशिवरात्रि पर्वलाई लक्षित गर्दै अहिले पशुपतिनाथमा साधु–सन्तहरूको आगमन हुने क्रम तीव्र रूपमा सुरु भएको छ । देशका विभिन्न भू–भागका साथै छिमेकी मुलुक भारतबाट साधु–सन्तहरू पशुपतिनाथ क्षेत्रमा आउन थालेका छन् । महाशिवरात्रि पर्व नजिकिँदै जाँदा यहाँ साधु–सन्तहरूको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विभिन्न अखडा तथा सम्प्रदायका साधु–सन्तहरू पशुपति क्षेत्रमा आइपुगी आ–आफ्ना धुनी स्थापना गर्न थालेका छन् । साधु–सन्तहरूले पशुपति क्षेत्रका विभिन्न स्थानमा ध्यान, तपस्या र साधनाका लागि धुनी तयार गरिरहेका छन् । यस वर्ष महाशिवरात्रि पर्व फागुन ३ गते परेको छ । महाशिवरात्रि नजिकिँदै जाँदा पशुपति क्षेत्रमा धार्मिक गतिविधि बढ्दै गएको छ । साधु–सन्तहरूको आगमनसँगै भक्तजनको आवागमन पनि बढ्न थालेको कोषले जनाएको छ । महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व भएकाले स्वदेशी तथा विदेशी श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ । यस पर्वलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोष, नेपाल सरकार तथा सम्बन्धित निकायहरू सक्रिय रूपमा जुटिरहेका छन् । रासस
नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल
काठमाडौं । नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिबीच भेटवार्ता भएको हो । भेटघाटमा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवद्र्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो । विशेषगरी नेपाल र कतारबीच सिधा हवाई उडानको सङ्ख्या बढाउने, नयाँ गन्तव्य थप गर्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्यका सम्भावनाबारे छलफल केन्द्रित थियो । छलफलका क्रममा मन्त्री सिन्हाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कतार एयरवेजको भूमिकालाई महत्वपूर्ण हुने बताए । उनले नेपालमा पर्यटन, लगानी र व्यापार विस्तारका लागि सरकारले नीतिगत सुधार र सहजीकरणमा जोड दिइरहेको पनि जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले नेपाल–कतारबीच पर्यटन, लगानी, उड्डयन, होटल तथा पूर्वाधार क्षेत्रमा विस्तारको सम्भावना भएको बताए । उनले कतारी लगानीकर्ताका लागि नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा सेवा क्षेत्रमा आकर्षक सम्भावना रहेको उल्लेख गरे । कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदलीले नेपालसँग दीर्घकालीन आर्थिक सहकार्यमा कतार निजी क्षेत्रको चासो रहेको उल्लेख गर्दै उड्डयन र पर्यटन सहकार्यले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे । उक्त भेटघाटले नेपाल–कतार सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने, पर्यटन प्रवद्र्धन तथा हवाई सम्पर्क विस्तारमार्फत आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । कतारी प्रतिनिधि मन्डल नेपाल कतार संयुक्त व्यवसाय परिषद् (जेबिसी) को बैंठकका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा आइतबार नेपाल आएको हो ।
नर्भिकको ६ महिनामा १.३८ अर्ब आम्दानी, अस्पतालको शय्या २७५ पुर्याउने
काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा १ अर्ब ३८ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा कम्पनीले २ अर्ब २२ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् १९९३ मा स्थापना भएको नर्भिक इन्टरनेशनल हस्पिटल तथा मेडिकल कलेज सन् २०२१ जुलाईमा पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो । हाल कम्पनी ठूलो पुँजीगत खर्चसहित अस्पताल विस्तारको चरणमा रहेको छ । थापाथली, काठमाडौंमा अवस्थित नर्भिक हाल ११६ शय्या सञ्चालनमा छ भने आगामी दिनमा शय्या संख्या बढाएर २७५ पुर्याउने योजना बनाएको छ । अस्पताललाई हालसम्म २०० शय्यासम्म सञ्चालनको औपचारिक अनुमति प्राप्त भए पनि विस्तारपछि थप सेवा र सुविधासहित बहु-विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । कम्पनीमा व्यवसायी वसन्तकुमार चौधरीको प्रत्यक्ष तथा बीएलसी ग्लोबल होल्डिङ्स प्रालिमार्फत अप्रत्यक्ष स्वामित्वसहित उल्लेखनीय हिस्सेदारी रहेको छ । नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी कम्पनीकी सेयरधनीसमेत हुन् भने कम्पनीको अध्यक्षमा राजेन्द्रबहादुर सिंह रहेका छन् । व्यवस्थापन पक्षले विस्तार परियोजनाले अस्पतालको सेवा गुणस्तर र स्वास्थ्य पहुँचमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को (सन् २०२४) मा १ अर्ब ९९ करोड ९० लाख, आर्थिक वर्ष २०७९/८० को (सन् २०२३) मा १ अर्ब ९१ करोड १० लाख र आर्थिक वर्ष २०७८/७९ को (सन् २०२२) मा १ अर्ब ७८ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् १९९३ देखि निरन्तर सञ्चालनमा रहेको नर्भिकले वार्षिक नाफाको ठूलो हिस्सा पुनः लगानी गर्दै आएको छ, जसका कारण कम्पनीको पुँजी संरचना तथा वित्तीय सूचकहरू मजबुत रहँदै आएका छन् । अनुभवी तथा स्रोतसाधन सम्पन्न प्रवर्द्धन र व्यवस्थापन टोली, काठमाडौंको केन्द्रीय स्थान, आधुनिक पूर्वाधार र सुविधाले बिरामीको चाप बढाउन सहयोग पुगेको कम्पनीको भनाइ छ । पछिल्ला तीन वर्ष (२०२५ जुलाई मध्यसम्म) नर्भिकले औसत ७० प्रतिशत वा सोभन्दा बढी शय्या उपयोग दर कायम राख्न सफल भएको छ । प्रति बिरामी आम्दानी वृद्धिसँगै सञ्चालन नाफा मार्जिन पनि आर्थिक वर्ष २०२२ को करिब १७ प्रतिशतबाट आर्थिक वर्ष २०२५ मा करिब २४ प्रतिशत पुगेको छ । नेपालमा स्वास्थ्य सेवाप्रति बढ्दो सचेतना, स्वास्थ्य बीमाको पहुँच विस्तार र फार्मेसी व्यवसाय गाभ्ने प्रस्तावित योजनाले भविष्यको आम्दानीमा सकारात्मक प्रभाव पार्ने कम्पनीको अपेक्षा छ । १५९ शय्या थप गर्ने विस्तार परियोजनाको करिब ५० प्रतिशत वित्तीय प्रगति सन् २०२६ जनवरी मध्यसम्म पूरा भइसकेको छ भने व्यावसायिक सञ्चालन आर्थिक वर्ष २०२६ को अन्त्यबाट सुरु गर्ने लक्ष्य लिइएको छ । यद्यपि परियोजनाको करिब ११ प्रतिशत ऋण आवश्यकता अझै सुनिश्चित हुन बाँकी रहेको जनाइएको छ । यसैबीच, काठमाडौं उपत्यकामा अन्य बहुविशेषज्ञ अस्पतालहरूको उपस्थिति, बढ्दो प्रतिस्पर्धा, मूल्य निर्धारणमा दबाब तथा दक्ष चिकित्सक र प्राविधिक जनशक्तिको आवागमनले कम्पनीको आम्दानीमा असर पार्न सक्ने जोखिम पनि रहेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाइसकेको छ । कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत अर्थात् २५ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरिएको छ । कम्पनीले आईपीओबाट संकलित रकम आंशिक रूपमा ऋण घटाउन प्रयोग गर्ने जनाएको छ । यसैबीच नर्भिकले गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट ४० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद गरी कुल ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।