जेनजीले माग गरेको पुस्ता हुँ, मसँग स्पष्ट भिजन छ’ : बदन भण्डारी {अन्तर्वार्ता}
पूर्वसञ्चारकर्मी बदन भण्डारी २० वर्षदेखि सामाजिक तथा राजनीतिक जीवनमा सक्रिय छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिव हुन् । उनले काभ्रेपलाञ्चोकको २ नम्बर निर्वाचन क्षेत्रमा रास्वपाबाट उम्मेदवारी दिएका छन् । उनी जनताहरूले पुराना दलसँग आशा गरेको नगरेकाले संसदमा अब नयाँ पुस्ताले प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिन्छन् । हाल उनी घरदैलो कार्यक्रममा व्यस्त छन् । पुराना दलका उम्मेदवारभन्दा फरक विचार र ऊर्जा भएको दावी गर्ने उनै भण्डारीसँग विकासन्युकर्मी अतिन आचार्यले गरेको संक्षिप्त संवाद : मतदातासँग मत माग्दै गर्दा उहाँहरूले तपाईंसँग के-के अपेक्षा राख्नुभएको छ ? हामीलाई देखेर उहाँहरू निकै उत्साहित हुनुहुन्छ । उहाँहरूको निष्कर्ष पटक–पटक गरेको मत दुरुपयोग भयो, हाम्रो मत लगानी हो । सुशासन, विकास र परिवर्तन हाम्रो चाहना रहेका कुराहरू मतदाताहरूले भनिरहनु भएको छ । वैकल्पिक र परिवर्तनकामी शक्तिलाई मत हाल्न मतदाताहरू आतुर हुनुहुन्छ । अधिकांश मतदाताहरू रास्वपालाई मतदान गर्न चाहनुहुन्छ । नयाँ शक्तिलाई हेर्ने मनोविज्ञानमा हुनुहुन्छ । मतदाताको घरदैलोमा पुग्दा तपाईंले के–कस्ता एजेण्डा लिएर जानु भएको छ ? मतदाताको घरमा पुग्दा उहाहरूसँग ठूलो अपेक्षा राखेको पाइनँ । पूर्वाधारको विषयमा चासो राख्नु भएको छ । जनप्रतिनिधि भनेको राज्यसँग जोड्ने पुल पनि हो । संविधानले गैरसांसदलाई सरकारमा पुग्ने परिकल्पना गर्दैन । यिनै निर्वाचित व्यक्तिहरू सरकारमा पुग्ने हुन् । हामी सरकारमा पुग्दा जनताको समस्यालाई मिहिन ढंगले अध्ययन गरेर समाधान गर्नेछौं । काभ्रे भनेको कृषिप्रधान भूगोल हो । किसानलाई मल र उत्पादित वस्तुको बजारीकरणको अभाव रहेको छ । किसानको वस्तुले मूल्य पाएको छैन । लागत मूल्यभन्दा कम मूल्यमा पाउने गरेका छन् । तरकारीको बजारीकरण होस् भन्ने छ । समयमा मल पुर्याउने तथा उत्पादित वस्तुको बजारीकरणको अपेक्षा छ । कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा विकास गर्नु मेरो मुख्य एजेण्डा हो । पर्यटन र कृषिमा प्रचुर सम्भावना रहेको ठाउँ भएकाले यी दुई विषयमा बढी काम गर्ने बताउँदै आएको छु । उम्मेदवारी दर्ता गराउँदै बदन भण्डारी । तपाईं सांसदमा विजयी हुनुभयो भने के–के गर्ने योजनामा हुनुहुन्छ ? रास्वपाबाट काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेको छु । जेनजी आन्दोलनपश्चात बनेको सरकारले गराउन लागेको निर्वाचन हो । सुशासन र भ्रष्टाचारको अन्त्य मेरो पहिलो एजेण्डा बन्ने छ । नीतिगत ढंगले केके काम गर्न सकिन्छ त्यसमा केन्द्रित रहनेछु । पूर्वाधारको विकासमा नीतिगत कुराहरूले धेरै बाधा अड्चन पुर्याएको छ । स्वास्थ्य, शिक्षा, खानेपानी तथा अन्य संरचनाको विकासमा लाग्नेछु । शिक्षा र स्वास्थ्यको समस्या जस्ताको तस्तै छ । देखिएका समस्यालाई समाधान गर्न तत्काल तत्पर रहनेछु । शिक्षा तथा स्वास्थ्यमा निजीकरण भएको छ, त्यसमा राज्य सहयात्री भएकाले न्यूनीकरण लाग्नेछु । राज्य दलाल र निजीकरणबाट चलेको छ । स्वास्थ्यमा पनि बीमाको नीतिगत कुराहरू लागू गराउनु पर्नेछ । तपाईंको क्षेत्रमा धेरै उम्मेदवारहरू हुनुहुन्छ होला । रोचक प्रतिस्पर्धा हुने देखिएकाले तपाईंले मुख्य गरेर कसलाई प्रतिस्पर्धी मान्नु भएको छ ? मैले कसैलाई मुख्य प्रतिस्पर्धी मानेको छैन । जेनजी आन्दोलनले पुराना दलसँग आशा गरेको छैन । मैले नयाँ पुस्तालाई प्रतिनिधित्व गर्नुपर्छ । मैले आफ्नो खाका बनाएर लागेको छु । हामी निर्वाचन जित्ने कुरामा ढुक्क छौं । जनताहरूको मत नै हाम्रो लागि निर्णायक बन्ने छ । हाम्रो प्रतिस्पर्धा उन्नत काभ्रे बनाउन हुनेछ । यसभन्दा अघिका जनप्रतिनिधिले गर्न नसकेका कामहरूमा प्रतिस्पर्धा हुनेछ । यद्यपि चुनावी मैदानमा रहेकाले दलसँग लड्नुपर्ने छ । तर यहीँ उम्मेदवार यहीँ दल भन्ने कुनै पनि छैन । हामी विजयको नजिक छौं । प्रक्रियागत रूपमा अगाडि बढिरहेका छौं । अन्य उम्मेदवार र तपाईंबीच के फरक छ ? जेनजी आन्दोलनले युवाको माग गरेको छ । अहिले पनि ६० कटेका उम्मेदवार छन् । आन्दोलनले र मुलुकले नपत्याएको उम्मेदवार छन् । म नयाँ छु । विचार भएकाले मसँग ऊर्जा छ । जेजनीले माग गरेको पुस्ता हुँ । प्रस्टसँग भिजन भएकाले म अन्यभन्दा फरक अवश्य पनि छु । नयाँ शक्ति भएकाले गर्नसक्छ भन्ने विचार कायम छ । पुराना दलसँग त्यो शक्ति क्षीण हुँदै गएको छ । उहाँहरूले बारम्बार अवसर पाउनु भएको छ । पुराना दलका उम्मेदवार परीक्षित भएकाले अन्यभन्दा फरक नै छौं । भोलिको देशलाई निर्विकल्प शक्ति दिनेको रूपमा हेरेका छौं । म वैचारिक र सैद्धान्तिक हिसाबले अब्बल रहेको छु । नागरिक शक्तिशाली छन् र लोकतन्त्रमा विचार नै शक्तिशाली हुन्छ भन्ने लाग्छ । काभ्रेली मतदाताले नयाँ र पुराना मतदाताको भिन्नता बुझ्नुहुनेछ भनेर विश्वास लिएको छु । निर्वाचन महँगो हुँदै गएको टिप्पणी भइरहन्छ । तपाईंले नयाँ दलको उम्मेदवार भएकाले कति खर्च हुँदै हुनुहुन्छ र खर्चको स्रोत के हो ? निर्वाचन आयोगले मेरो क्षेत्रमा ३३ लाखभन्दा बढी खर्च गर्न नपाउने व्यवस्था गरेको छ । ३३ लाखभन्दा कम खर्चमा निर्वाचन सम्पन्न गर्नेछु । अझ म त ५–१० लाख खर्च गर्ने योजनामा छु । अहिले भने मेरो व्यक्तिगत खातामा बचत गरेर राखेको पैसा खर्च गरिरहेको छु । मतदाताको घरमा पुग्दा पनि यातायातमा खर्च हुन्छ, प्रचारप्रसारमा खर्च हुन्छ । मेरा साथीभाइ तथा आफन्तहरूले मलाई सहयोग गर्नु भएको छ । खाना खर्चमा मितव्ययिता अपनाइएको छ । धेरै साथीहरूले खाएको पैसा आफै तिर्ने गर्नु भएको छ । निर्वाचन आयोगले भनेअनुसार बैंकमा खाता खोलेर खर्च गर्नेछु । कमभन्दा कम खर्च गरेर निर्वाचनमा सहभागी भइरहेको छु । अहिलेका उम्मेदवारले चुनावी खर्चका लागि पैसा माग्न थाल्नुभएको छ । निर्वाचनताका पैसा माग्नु संस्कृति बनिसकेको छ । तपाईंले यसरी खुलेर पैसा माग्नु भयो या भएन ? निर्वाचनमा होमिँदै गर्दा विश्वभर शुभचिन्तकहरूबाट पैसा लिने चलन छ । हामीले पैसा वा सहयोग लिँदा निःशर्त लिनुपर्छ, सःशर्त लिनुहुन्न भन्ने म मान्यता राख्छु । शर्तसहित पैसा लिएमा भोलि स्वार्थ समूहले राज्य र हामीमाथि आक्रमण गर्न थाल्छन् । चन्दा लिने काम राम्रो होइन । यो एउटा संस्कृतिको रूपमा विकास भएको छ । यसलाई कुनै पनि हालतमा राम्रो मान्न सकिन्न । पैसा दिएमा उम्मेदवार खुसी हुने र चाहेको अवस्थाम काम लिन सक्ने भनेर मानिसले उम्मेदवारको प्रयोग गर्न सक्छन् । निःस्वार्थ भावनाले प्राप्त भएको पैसा लिँदा असर पर्दैन । सांसद मन्त्री बनेपछि उनीहरूको महँगो जीवनशैलीको व्यापक आलोचना हुँदै आएको छ । सांसद बनेपछि तपाईंको जीवनशैली पनि त्यस्तै हुने हो कि ? आजजनताको गुनासो जनप्रतिनिधिप्रति छ– उहाँहरू मत माग्न आउनुहुन्छ तर विजयी भएर गएपछि फर्केर आउनुहुन्न । जनप्रतिनिधिले जनताको घरमा आउने/जाने गर्नुपर्छ । मतदाताको घरमा जाँदा हामीलाई सहज हुन्छ । जनताको घरआँगनमा पुग्दैमा कोही नेता तथा सांसदहरू साना हुँदैनन् । म सामान्य जीवनशैली अपनाउनेछु । गाउँबाट आएको जनप्रतिनिधि हुनाले गाउँलाई कहिल्यै पनि बिर्सन्न हुन्न भन्ने मान्यता राखेर हिँडेको छु । समाजका सबै तह र तप्काका मानिसहरूसँग नीति निर्माणको विषयमा छलफल गर्नेछु । सार्वजनिक सुनुवाइ गर्ने तथा मन्थन गर्नुपर्ने भएकाले जनप्रतिनिधिको मन बदलिनु हुन्न भन्ने पक्षमा रहेको छु । राजनीतिलाई पेशा बनाएर होइन, यसलाई त उत्पादन तथा विकासमा जोड्नुपर्छ भन्ने मान्यतामा म छु । म राजनीतिमा लागेकै कारण परिवारको सदस्यलाई सुविधा दिनुहुन्न भन्ने मान्यता बोकेको छु । भ्रष्टाचार र परिवारवाद हाबी नहोस् भनी म सचेत रहनेछु । आगामी चुनावमा बहुमत ल्याएर सरकार बनाउने तपाईंको पार्टीको दाबी छ । देश बनाउने रास्वपाको योजना के हो ? पार्टीले घोषणापत्रमार्फत केही दिनमा आफ्नो योजना अवश्य सार्वजनिक गर्नेछ । वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा घोषणा गरिएको छ । जेनजी आन्दोलनको मुद्दाहरू स्थापित गराउनु छ । शासकीय स्वरुप परिवर्तन गराउनुपर्ने छ । प्रदेशको संरचना खर्चिलो र भड्किलो हुनुहुँदैन भनेका छौ । अहिलेको व्यवस्थालाई टेक्दै समृद्धितर्फ अगाडि बढ्नेछौं । व्यवस्था परिवर्तन भएकाले समाज र जनताको जीवनस्तर सुधार गर्न सक्ने व्यवस्था लागू गर्नेछौं । मुख्य कुरा भ्रष्टाचार र दलाल नोकरशाहीको अन्त्य गर्ने भन्ने छ । सुशासन कायम गर्ने हाम्रो अर्को योजना हो । भ्रष्टाचार काण्डमा छानबिन गर्ने आयोग गठन गरेर मिहिन ढंगले अध्ययन गर्नेछौं । जेनजी पुस्ताको मागलाई स्थापित गरेर सबैलाई समेट्नेछौं । हाम्रो पार्टीले शिक्षा, स्वास्थ्य र समृद्धिमा अगाडि बढेर काम गर्ने कुरामा म ढुक्क छु ।
बीमा प्राधिकरणमा ४६५ उजुरी, ४९ वटा मात्रै फर्छ्यौट
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा नेपाल बीमा प्राधिकरणमा ४६५ उजुरी दर्ता भएका छन् । जसमध्ये ७१ वटा उजुरी यसै आवमा दर्ता भएका हुन् । प्राधिकरणका अनुसार ३९४ वटा उजुरी गत वर्ष नै दर्ता भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार ६ महिनाको अवधिमा केन्द्रीय कार्यालयमा ५० वटा नयाँ उजुरी दर्ता भएका छन् । केन्द्रीय कार्यालयमा दर्ता भएको नयाँ उजुरी गत आवको सोही अवधिको तुलनामा कम हो । गत आवको सोही अवधिमा १४४ वटा उजुरी दर्ता भएका थिए । पुससम्ममा प्रदेश कार्यालयमा २१ वटा दर्ता भएको छ । गत आवको यही अवधिमा ९१ वटा उजुरी दर्ता भएका थिए । प्राधिकणमा दर्ता भएका उजुरीमध्ये ४९ वटा उजुरी मात्रै फछ्र्यौट भएको प्राधिकरणले जनाएको छ । चालु आवमा फर्छ्यौट भएको उजुरी गत आवको सोही अवधिको तुलनामा न्यून‍ हो । गत आवको सोही अवधिमा १३१ वटा उजुरी फर्छ्यौट भएका थिए । चालु आवको ६ महिनामा फर्छ्यौट भएका उजुरीमध्ये ३३ उजुरी फैसलाबाट र १६ वटा उजुरी सहमतिबाट भएको छ । प्राधिकरणका अनुसार ४१६ वटा उजुरी अझै विचाराधीन अवस्थामै रहेको छ ।
एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस् : मन्त्री गौतम
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पाठेघरको मुखको क्यान्सर सुरुको अवस्थामा पहिचान गर्न सके उपचार गरेर निको हुने बताएकी छन् । आइतबारदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’९एचपिभी० खोप अभियानको भिडियो सन्देशमार्फत सफलताको शुभकामना दिँदै उनले खोप सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन सबैलाई अनुरोध गरिन् । उनले ३० वर्ष भन्दामाथि सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउनसमेत अनुरोध गरिन् । 'पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी भाइरसको सङ्क्रमण हो । उक्त भाइरसविरुद्धको खोपबाट यो रोग रोकथाम गर्न सकिन्छ', मन्त्री डा. गौतमले भनिन् । पाठेघरको मुखको क्यान्सरलाई नेपालमा निवारण गर्ने उद्देश्यले गत वर्षदेखि एचपिभी खोपलाई नियमित अभियानअन्तर्गत सञ्चालन गर्दै आइएको उनले बताइन् । सरकारले आजदेखि आगामी फागुन १५ सम्म देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्ध कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाउन थालेको छ । यस्तै गत वर्षको खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरी पनि खोप लगाइने छ । मन्त्री गौतमले खोप सुरक्षित र महिलाको जीवन रक्षा गर्ने भएकाले सबैले लगाउनुपर्नेमा जोड दिइन् । उनले आफ्ना बालिकालाई खोप लगाउन अभिभावकले पनि प्रोत्साहन गर्नुपर्ने धारणा राखिन् । नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ भने चार जनाको ज्यान जाने गरेको छ ।
काठमाडौं–७ का उम्मेदवारको प्राथमिकता : स्थानीयका माग र मुद्दा सम्बोधन
काठमाडौं । सुगमताका हिसाबले राजधानीको सहरी क्षेत्र रहेर पनि न्यूनतम आधारभूत खानेपानी, ढल निकास, डुबान र गुठीसम्बन्धी समस्या झेलिरहेको काठमाडौं निवार्चन क्षेत्र नं ७ का उम्मेदवारले मतदाताका यिनै माग र मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी गरिरहेका राजनीतिक दल र उम्मेदवारहरु मतदातासँगको भेटघाटमा स्थानीयले उठाएका आधारभूत आवश्यकता र पूर्वाधार निर्माणसम्बन्धी समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न पहल गर्ने आश्वासन दिइरहेका छन् । यस निर्वाचन क्षेत्रबाट विसं २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली विजय भएका थिए । उनी आठ हजार ७४३ मतले विजयी भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का श्यामकुमार घिमिरेले छ हजार ८०० मत ल्याएका थिए । सोही क्षेत्रबाट पराजुलीले पुनः उम्मेदवारी दिएका छन् । आगामी निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ७ बाट प्रत्यक्षतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रकाश श्रेष्ठ, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं, नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालकुमार लामा, जनता समाजवादी पार्र्टी नेपालका बाबुराम लामा, राष्ट्रिय जनमोर्चाका दीर्घकुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का गुणबहादुर बञ्जारा क्षेत्री, नेपाल मजदुर किसान पार्टीकी गणेश माया डङ्गोल चुनावी दौडमा रहेका छन् । यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका अमिनरत्न ताम्राकार, राष्ट्रिय एकता दलका विनोदकुमार गुरुङ, जय मातृभूमि पार्टीका वैकुण्ठ फुयाँल, श्रम संस्कृति पार्टीका मणिराम बहादुर प्रधान, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) दीपक मानन्धर, उज्यालो नेपाल पार्टीकी विमला लामा, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न)का दिपीन पन्त र आमजनता पार्टी (एकल चुनाव चिह्न) प्रदीप भट्टराई चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी, स्वतन्त्रतर्फ १० जनाको उम्मेदवार चुनावी मैदानमा रहेका छन् । सविता गमाल, सुजिता श्रेष्ठ, अञ्जला बज्राचार्य, पुष्प बानियाँ, शर्मिला फुयाँल, सुमन पुतुवार/महर्जन, अमन श्रेष्ठ, बुद्धिप्रसाद रेग्मी, भरत पौडेल र प्रकाश कुँवर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिका, तारकेश्वर र नागार्जुन नगरपालिकाका १० वटा वडा पर्छन् । महानगरका १६, १७, १८, २५ वडाका बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, म्हैपि, धोबीचौर, ठहिटी, भुरुञ्खेल, ढल्को, नरदेवी, न्हयौखा, मछिन्द्रटोल तथा तारकेश्वर नगरपालिकाका–३, ४, ५ का तीनपिपले, गोलढुङ्गा, लोलाङ र नागार्जुन नगरपालिकाका– १, २, ३ का रानीवन, ठूलोभर्याङ, गैरीगाउँ यस क्षेत्रमा पर्छन् । यस क्षेत्रमा ७८ वटा मतदान केन्द्र रहेका छन् भने मतदाता सङ्ख्या ६७ हजार ४११ छ । काठमाडौं क्षेत्र ७ की निर्वाचन अधिकृत सविता शर्माले निर्वाचन आचारसंहितासम्बन्धी छलफल गरिरहेको जानकारी गराउँदै निर्वाचन प्रचारप्रसार व्यवस्थित तुल्याउन सर्वपक्षीय र सर्वदलीय छलफल आयोजना गरिएको बताए । उनका अनुसार यस क्षेत्रबाट २७ जना उम्मेदवारमा १० जना स्वतन्त्र रहेका छन् भने साथै पाँच जना महिला उम्मेदवार रहेका छन् । उज्यालो नेपाल पार्टीबाट प्रत्यक्षतर्फका उम्मेदवार विमला लामाले जनताको काम गर्ने उद्देश्यले उम्मेदवारी दिएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, बेरोजगारी अन्त्य, पर्यटन प्रवद्र्धन र भ्रष्टाचारमुक्त देश बनाउने आफ्नो प्रमुख एजेन्डा रहेको बताए । महिला उद्यमीसमेत रहेकी लामाले भनिन्, 'महिलाले प्रत्यक्षतर्फ उम्मेदवारी दिने आँट गर्दैनन् । अवसर पनि दिँइदैन । अध्याँरो राजनीतिलाई उज्यालो बनाउनेतर्फ लाग्नुस् भनेर मतदाताले हौसला दिनुभएको छ ।' रास्वपाका उम्मेदवार पराजुलीले मतदाताले भविष्यको बाटो कोर्न, सुशासन कायम गर्न, नीतिनियम बनाउनमा ध्यान केन्द्रित गर्न सुझाव दिएको बताए । उनले जनताहरुले राजनीतिक स्थायित्व चाहेको बताउँदै जनताका आशा र विश्वासलाई यथार्थमा परिवर्तन गर्न आसन्न चुनाव पर्खिरहेको प्रतिक्रिया दिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रकाश श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई सांस्कृतिक नगरीका रुपमा अघि बढाउन सम्पदा संरक्षण र पुनःनिर्माणको एजेन्डालाई निरन्तरता दिने बताए । उनले जनतासँगको समन्वय र सहकार्यमा स्थानीय आवश्यकता खानेपानी, ढल निकास, डुबान क्षेत्र, सांस्कृतिक सम्पदा, बाजागाजा संरक्षणलगायत प्राथमिकतामा राखेको बताए । यसअघि बागमती प्रदेशसभा सदस्यसमेत रहिसकेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार वसन्तप्रसाद मानन्धरले विकाससँग जोडेर कानुन निर्माणमा ध्यान दिने जनतासामु प्रतिबद्धता गरेको बताए । उनले पहिला पनि जनप्रतिनिधिका रुपमा काम गरिसकेका हुनाले जनताले विश्वास गरेको र मत आफ्नो पक्षमा हुने विश्वास व्यक्त गरे । आगामी हुने निर्वाचनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ ६५ राजनीतिक दलले ६१ निर्वाचन चिह्नमा प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै सामानुपातिक निर्वाचन प्रणालीतर्फ ६३ राजनीतिक दलले ५७ निर्वाचन चिन्हमा चुनाव लड्दैछन् । यसपटकको निर्वाचनका लागि मुलुकभर ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कुल करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । रासस
बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र शाहका घरमा चोरी गर्ने तीन जना व्यक्ति पक्राउ परेका छन् । ४२ वर्षीय मनिष राजवाहक, ४६ वर्षीय खिमबहादुर खड्का र ४५ वर्षीय सञ्जय श्रेष्ठ पक्राउ परेका हुन् । राजवाहक भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार रहेका थिए । काठमाडौं महानगरपालिका ४ को चप्पल कारखानास्थित सीता गुरुङको घरमा डेरा बसेका बालेन्द्र शाहको कोठाबाट चोरी भएको थियो । राजवाहकले पूर्वमेयर शाहको घरमा चोरी स्वीकार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौं प्रवक्त पवनकुमार भट्टराईले जानकारी दिए । कारागारबाट फरार रहेपछि राजवाहकले पाँच ठाउँमा चोरी गरेका थिए । यसअघि पनि विभिन्न समयमा राजवाहकविरुद्ध मुद्दा चलिसकेको छ । १० वर्षअघि कालीमाटी प्रहरीमा मुद्दा दर्ता भएको थियो । त्यसैगरी, महाराजगञ्ज प्रहरी वृत्तमा चोरी अभियोगमा मुद्दा दर्ता भएको थियो ।
एशियन फर्मास्युटिकल्सको आम्दानी सवा २ अर्ब नाघ्यो, मर्जरपछि बैंकको ऋण बढ्यो
काठमाडौं । विभिन्न प्रकारका औषधी उत्पादन गर्दै आएको एशियन फर्मास्युटिकल्स प्रालिले एक वर्षमै सवा दुई अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा २ अर्ब २६ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा १२.१९ प्रतिशत अर्थात् २४ करोड ६० लाख रुपैयाँले वृद्धि भएको हो । सन् २०२४ मा कम्पनीले २ अर्ब १ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् १९९७ मा स्थापना भएको एशियन फर्मास्युटिकल्सले दुई दशकभन्दा बढी समयदेखि औषधी उत्पादन तथा बिक्री गर्दै आएको छ । यस अवधिमा कम्पनीले सुदृढ आपूर्ति शृंखला, व्यापक वितरण सञ्जाल तथा अनुभवी सञ्चालक समिति र व्यवस्थापन टोली विकास गरेको जनाएको छ । कम्पनीले एन्टिबायोटिक, जठरान्त्र प्रणालीसम्बन्धी औषधि (एसिड स्राव नियन्त्रण), हाडजोर्नी तथा युरिक एसिडसम्बन्धी औषधि, पेनकिलर तथा एन्टी–इन्फ्लेमेटरी, दम, एलर्जी तथा विभिन्न प्रकारका भिटामिन उत्पादन गरी बजारमा आपूर्ति गर्दै आएको छ । विगत वर्षहरूमा कम्पनीको आम्दानी निरन्तर बढ्दो क्रममा देखिएको छ । सन् २०२३ मा १ अर्ब ८८ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ६७ करोड रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले जनाएको छ । लामो सञ्चालन अनुभव, स्थिर आम्दानी वृद्धि र सुधारिँदो वित्तीय सूचकहरूले कम्पनीको समग्र वित्तीय अवस्था सुदृढ रहेको उल्लेख गरिएको छ । साथै, कम्पनीको सञ्चालन मुनाफा मार्जिन (ओपीएम) करिब १५ देखि १६ प्रतिशतको दायरामा स्थिर रहेको जनाएको छ । उत्पादन विविधताका हिसाबले पनि कम्पनी बलियो देखिएको छ । एशियन फर्मास्युटिकल्सले जठरान्त्र प्रणालीसम्बन्धी, मानसिक रोगसम्बन्धी, एन्टिबायोटिक, अर्थोपेडिक तथा भेटेरिनरी औषधिसहित विभिन्न उपचारात्मक क्षेत्र समेट्ने उत्पादन गर्दै आएको छ । कम्पनीले सञ्चालन अवधिमा ६ वटा विभिन्न डिभिजनमार्फत औषधी उत्पादन तथा बिक्री गर्दै आएको छ । विशेषगरी जठरान्त्र र मानसिक रोगसम्बन्धी औषधीमा कम्पनीको राम्रो बजार उपस्थिति रहेको र यसले भविष्यमा पनि आम्दानीको दिगोपनालाई समर्थन गर्ने कम्पनीले दाबी गरेको छ । कम्पनीको दर्ता कार्यालय तथा उत्पादन इकाइ रूपन्देहीको खुनसा–९ मा अवस्थित छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुतानन्द खनाल रहेका छन् भने कार्यकारी निर्देशकका रूपमा शंकर घिमिरे कार्यरत छन् । सेयर स्वामित्व संरचनामा खगिसरा घिमिरे कम्पनीकी सबैभन्दा ठूलो सेयरधनी हुन्, जसको करिब १०.३ प्रतिशत हिस्सा रहेको छ । बाँकी सेयर २१ जना अन्य सेयरधनीको स्वामित्वमा रहेको कम्पनीले जनाएको छ । स्थापनाकालदेखि नै गुणस्तरीय औषधि उत्पादनमा जोड दिँदै आएको एशियन फर्मास्युटिकल्सले स्वदेशी औषधि उद्योगलाई सबल बनाउँदै आयात प्रतिस्थापनमा योगदान पुर्याउँदै आएको छ । यद्यपि पछिल्ला वर्षहरूमा बढ्दो प्रतिस्पर्धा, आयात तथा नियामक जोखिमले कम्पनीको वित्तीय संवेदनशीलतालाई असर पार्न सक्ने देखिएको छ । सन् २०२४ मा कम्पनीले अत्यधिक ऋण बोकेको सहायक तथा भगिनी संस्था युनिभर्सल फर्मुलेसन्स प्रालिलाई गाभेपछि कम्पनीको बैंक ऋण उल्लेख्य रूपमा बढेको छ । हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ८६ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ । जबकि मर्जरअघि कम्पनीको ऋण १ अर्ब ५० करोड ८२ लाख रुपैयाँ मात्रै थियो । कम्पनीका अनुसार हाल १ अर्ब ७ करोड रुपैयाँ दीर्घकालीन र ७९ करोड ५० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । अधिग्रहण गरिएको प्लान्टमा थप पुँजीगत खर्च योजना अघि बढाइएकाले आगामी दिनमा ऋणस्तर अझै बढ्न सक्ने सम्भावना रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार घरेलु औषधी उद्योग अत्यन्त प्रतिस्पर्धी र खण्डित रहेको छ । हाल नेपालमा ५० भन्दा बढी सक्रिय औषधी उत्पादक कम्पनीहरू सञ्चालनमा रहेका छन् । पछिल्ला वर्षहरूमा अनुसन्धान तथा विकास सुविधासहित नयाँ क्षमता विस्तारमा समेत लगानी बढ्दै गएकाले प्रतिस्पर्धा थप तीव्र हुने, मूल्यमा दबाब बढ्ने र उद्योगको समग्र मुनाफा मार्जिनमा असर पर्ने सम्भावना रहेको कम्पनीले जनाएको छ । यससँगै औषधी उत्पादनमा कम आयात अवरोध (लो ड्युटी प्रोटेक्सन) रहेकाले सस्ता आयातित औषधीसँग घरेलु उत्पादकहरूले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ, जसले दीर्घकालीन विस्तार क्षमता र नाफामा चुनौती थप्ने देखिएको छ । कच्चा पदार्थका लागि आयातमा निर्भरता पनि एशियन फर्मास्युटिकल्सका लागि अर्को चुनौतीको विषय बनेको छ । कम्पनी सक्रिय औषधी तत्व (एपीआई), एक्सिपिएन्ट, प्याकिङ सामग्रीलगायत सबै कच्चा पदार्थ आयातमा निर्भर छ, जसले आपूर्ति शृंखला अवरुद्ध हुने जोखिम र विदेशी मुद्रा उतारचढावको असर कम्पनीले वहन गर्नुपर्ने अवस्था सिर्जना गर्छ ।
प्रतिनिधिसभा निर्वाचन : आयोगले नौ प्रकारका सामग्री पठाउने
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने गरी तयारी गरेको सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम र मतदान केन्द्रका लागि सुरक्षणशील, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटिका स्टीकर रहेका उनले उल्लेख गरे । यसैगरी जिल्लामा व्यवस्थापन गरिने निर्वाचन सामग्रीमा सिलिङ बक्स, अनुसूची फारम, पुसपिन, डायरी (पोल बुकको काम गर्ने), मार्कर पेन, स्केल, स्टापलर मेसिन, स्टाप्लर पिन, स्कीसर्स, ग्लुस्टिक, सोसर (काउन्टिङ डम्पर), पञ्चिङ मेसिन, परिचयपत्र होल्डर, भित्री र बाहिरी कार्ड, पुरुष र महिला कार्ड, मतदाता क्रमसङ्ख्या, मतदान केन्द्र कार्ड, प्लास्टिक झोला, बोरा, सुतली र प्याकिङ टेप रहेका छन् । त्यस्तै नेपाली कागजको खाम (१० बाइ १५ इन्च), नेपाली खाम कपडा भएको (निबिदा मतपत्र राख्ने), सेतो कागज (ए४) ३० पाना, रेकर्ड फाइल (फित्तासहित), धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाइ, कोरा कपडा (दुई मिटरको टुक्रा), जेल पेन कालो र रातो एवं चार वटाको मैनबत्ती प्याकेट पनि जिल्लामै व्यवस्थापन गरिने निर्वाचन सामग्रीका रुपमा सूचीकृत गरिएको आयोगले जनाएको छ ।
कपिलवस्तुमा फरार रहेका चार जना पक्राउ
काठमाडौं । कपिलवस्तु प्रहरीले विभिन्न मुद्दामा फरार रहेका चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सवारी ज्यान र गर्भ संरक्षण कसुरसहितको मुद्दामा उनीहरू पक्राउ परेका हुन् । प्रहरीले फरार प्रतिवादीहरू मायादेवी ५ लुकेर बसेको अवस्थामा उनीहरूलाई प्रहरी गरेको सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।