म्याग्दीमा साढे ३१ करोडको सुन्तला उत्पादन, गत वर्षको तुलनामा ५.५६ प्रतिशत घट्यो
काठमाडौं । यस वर्ष म्याग्दीमा ३१ करोड ६० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १०.५ मेट्रिक टनका दरले ४ हजार ५१५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ । जिल्लाका विभिन्न ठाउँका बगैँचामा बाली कटानी गरेर सुन्तला उत्पादनको तथ्याङ्क सङ्कलन गरिएको कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिए । ‘४३० हेक्टर जमिनको बगैँचामा सुन्तला उत्पादन भएको छ । किसानले सरदर प्रतिकिलो ७० रुपैयाँका दरले ३१ करोड ६० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन्,’ उनले भने । म्याग्दीको ८३५ हेक्टर क्षेत्रफलमा सुन्तलाको बगैँचा रहेको छ । गत वर्ष ४२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११.२५ मेट्रिक टनका दरले ४ हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष ३४ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो । गत वर्षको तुलनामा ५.५६ प्रतिशतले उत्पादन घटेको हो । यस वर्ष विभिन्न रोगकीराको सङ्क्रमण नभए पनि बोटमा दाना पातलो लागेकाले उत्पादन घटेको कार्यालय प्रमुख बास्तोलाले बताए । ‘यस वर्ष मौसमले साथ दिएको हो । रोग, कीरा नदेखिएको र विपद्ले क्षति नगरे पनि यसपालि दाना कम लागेको छ,’ बास्तोलाले भने, ‘एक वर्ष अत्यधिक फल्ने र अर्को वर्ष कम दाना लाग्ने सुन्तला खेतीको प्राकृतिक विशेषताका कारण उत्पादनमा असर परेको हो ।’ सुन्तला खेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो । गत वर्ष प्रतिकिलो ६५ रुपैयाँका दरले सुन्तला बेचेका किसानले यस वर्ष प्रतिकिलो ५ रुपैयाँ बढी मूल्यमा बिक्री गरेका छन् । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका छन् । जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिन लगायत बजारमा सुन्तला बिक्री भएको मङ्गला गाउँपालिका-३ भोर्लेनीका किसान ओम गिरीले बताए । गिरीले आफ्नो बगैँचाबाट यस वर्ष ११ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको बताए । यातायात सुविधा भएकाले व्यापारी सुन्तला खरिद गर्न गाडी लिएर बगैँचामै आउने गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन् ।
भारतको मेघालयमा कोइलाखानी विस्फोट, खोटाङका ३ जनाको निधन, एक बेपत्ता
काठमाडौं । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा खोटाङका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका जनाइएको छ । मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाखानीमा माघ २२ गते विस्फोट हुँदा खोटाङको बरापोखरी गाउँपालिका-१ बरापोखरी सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो । कामदार कोइलाखानीभित्र काम गर्दागर्दै भएको विष्फोटमा परेका हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित जोरकाफलका ५० वर्षीय रत्न राई बेपत्ता भएको जानकारी आएको छ । विस्फोटपछि बेपत्ता भएका राईको कोइलाखानीभित्रै जलेर ज्यान गएको हुन सक्ने जनाइएको छ । मेघालयमासँगै बसेर काम गर्दै आएका भोजपुरका आफन्तका अनुसार रत्न कोइलाखानीभित्र पसेको समयमा विस्फोट भएको खबर आएको दुर्छिमका युवा नेता नेत्र विक्रम राउतले बताए । विष्फोटपछि उद्धार गर्ने क्रममा कोइलाखानीभित्र भेटिएका शव आगोले डढेर नचिनिने अवस्थामा रहेकोसँगै बस्दै आएका आफन्तले परिवारलाई जानकारी गराएका छन् । विष्फोटमा बेपत्ता रत्नको नागरिकता, डायरी र मोबाइल कोठामै भेटिएको जनाइएको छ । कोइलाखानीमा बेपत्ता रत्न रोजगारीका सिलसिलामा गत असोज–९ गते मेघालय गएका आफन्तले जनाएका छन् । विष्फोटमा गम्भीर घाइते हुनुभएका नरबहादुरको उपचारको क्रममा यही माघ २३ गते मृत्यु भएको जानकारी प्राप्त भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए । घटना भएकै दिन ज्यान गुमाएका पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ भएको स्थानीयवासी इन्द्र लिमेल मगरले जानकारी दिए । विस्फोटमा परेका बरापोखरी गाउँपालिका–१ सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ४० वर्षीय ललित लुङ्गेली मगर गम्भीर घाइते छन् । उनीहरुको मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सँगै काम गर्दै आउनुभएका राहपोखरीस्थित वालम्पाका ताराबल मगरले बताए । विष्फोटपछि ताराबलले नै फोनमार्फत घटनाको बारेमा जानकारी गराएको मृतकका आफन्तले बताएका छन् । विष्फोटमा ज्यान गुमाएका खोटाङ्गे युवाको शव मेघालयबाट नेपालमा ल्याउनका लागि परिवारका सदस्यलाई कठिनाइ भएको छ । विष्फोटमा आफन्तको ज्यान गएको जानकारी प्राप्त भएपछि घरबाट तीन दिन लगाएर भारतको मेघालय पुगेको मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिए । शव स्वदेश ल्याउन तथा गम्भीर घाइतेको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरुआत गरिएको स्थानीयवासी प्रकाश बञ्जराले जानकारी दिए ।
इंग्ल्यान्डविरुद्ध नेपालको झिनो हार
काठमाडौं । आईसीसी टी–२० विश्वकप–२०२६ को पहिलो खेलमा नेपालले इंग्ल्यान्डसँग चार रनको झिनो हार बेहोरेको छ । आइतबार भारतको मुम्बईस्थित वान्खडे रंगशालामा भएको खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि ६ विकेट गुमाएर १८० रनमात्र बनाउन सक्यो । जितका निम्ति अन्तिम ओभरमा १० रनको आवश्यकता भए पनि नेपालले अन्तिम ओभरमा ५ रनमात्र बनाउन सक्यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । उनले २९ बलमा ६ चौका र एक छक्का प्रहार गरेका हुन् । कप्तान रोहित पौडेलले ३४ बलमा दुई चौका र दुई छक्कासहित ३९ रन बनाए । लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २० बलमा ३९ रन बनाए । उनले ४ चौका र ४ छक्का प्रहार गरे । त्यसैगरी, आरिफ शेखले आठ बल खेल्दा एक छक्कासहित १० रन जोडे । ओपनर कुशल भुर्तेलले १७ बलमा २९ रन बनाए । इंग्ल्यान्डका लियम ड्वसनले दुई विकेट लिए । चार ओभरमा उनले २१ रन खर्चिए । जोफ्रा आर्चर, लुक वुड, विल ज्याक र साम करनले समान एक विकेट विकेट लिए। टस जितेर ब्याटिङमा आएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८४ रनको योगफल बनाएको थियो । इंग्ल्यान्डका ज्याकोब बेथेलले ५५ रन जोडे । उनले ३५ बलमा चार चौका र चार छक्का प्रहार गरे । कप्तान ह्यारी ब्रुकले ५३ रन बनाए । उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरेका हुन् । त्यसैगरी, जस बटलरले १७ बलमा २६ रन बनाए । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाल र इंग्ल्यान्डबीचको यो पहिलो खेल हो ।
टफसिटमा एमालेका महिला उम्मेदवारको नेतृत्व परीक्षा
काठमाडौं । प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचनका लागि नेकपा एमालेले अघि सारेका महिला उम्मेदवारहरू संख्या र प्रभाव दुवै हिसाबले सीमित भए पनि राजनीतिक अर्थमा उनीहरूको उपस्थितिलाई हल्का रूपमा लिन मिल्दैन । एमालेबाट उम्मेदवार बनेका धेरैजसो महिलाहरूका लागि उनीहरूको निर्वाचन क्षेत्र सुरक्षित छैन । बरु, पार्टीले अधिकांश महिला उम्मेदवारलाई कडा प्रतिस्पर्धा हुने ‘टफ’ निर्वाचन क्षेत्रमा मैदानमा उतारेको छ । जहाँ उनीहरूले आफ्नो भविष्य खोजिरहेका छन् । एमालेले प्रत्यक्ष निर्वाचनमा १० महिला उम्मेदवार मैदानमा उतारेको छ । बर्दिया–२ मा विमला विक, बागलुङ–२ मा मञ्जु शर्मा र तनहुँ–१ मा भगवती न्यौपाने मैदानमा छन् । यस्तै, पर्सा–२ बाट रिमाकुमारी यादव, बारा–३ बाट ज्वालाकुमारी साह र महोत्तरी–४ बाट नीलम अधिकारीले उम्मेदवारी दिएका छन् । त्यस्तै, धनुषा–३ बाट जुलीकुमारी महतो महासेठ, ओखलढुङ्गाबाट अस्मिता थापा, सोलुखुम्बुबाट कल्पना राई र सुनसरी–३ बाट भगवती चौधरी एमालेका महिला उम्मेदवार रहेका छन् । बर्दिया–२ मा एमालेकी विमला विक महिला, दलित र युवामाझ लोकप्रिय नेतृ मानिन्छिन् । स्थानीय मतदाताले उनलाई समाजसेवी, प्रत्यक्ष संवाद गर्ने र क्षेत्रीय मुद्दामा सक्रिय नेता समेत भन्छन् । तर उनको सामना कांग्रेसका किशोरसिंह राठौर, नेकपाका सुरेश पन्थ र रास्वपाका सुशील चौधरीसँग छ । यो क्षेत्र थारु बहुल भएकोले जातीय समीकरणले निर्णायक भूमिका खेल्ने देखिन्छ । स्थानीय कृष्णप्रसाद पाण्डेका अनुसार यहाँ केवल पार्टीको समर्थन मात्रै पर्याप्त नहुने भएकोले व्यक्तिगत छवि र समुदायसँगको सम्बन्धले मत आकर्षणमा निर्णायक भूमिका निभाउँछ । बागलुङ–२ की मञ्जु शर्मा स्थानीयस्तरमा लोकप्रिय नेतृ हुन् । शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरणमा देखाएको सक्रियताले उनलाई जनविश्वासमा स्थापित गरेको स्थानीय हिरामणि आचार्य बताउँछन् । उनका प्रतिस्पर्धी कांग्रेसका टेकराज पौडेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ज्ञामनाथ गैरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोम शर्मा हुन् । यस क्षेत्रमा शर्मालाई पार्टीमा आधारित मतमा मात्र निर्भर हुने छुट छैन । शर्माले व्यक्तिगत जनसम्पर्क र विश्वासलाई मतमा कसरी रूपान्तरण गर्छिन् त्यसैले सिंहदरबारको यात्रा तय गराउने स्थानीयको मत रहेको छ । शर्माको सामाजिक कार्य, महिला समुदाय र युवाहरूसँगको प्रत्यक्ष संवाद निर्णायक सावित हुनसक्ने स्थानीयहरूको सुझाव रहेको छ । भगवती न्यौपानेका लागि तनहँ–१ राजनीतिक रूपमा कठिन मानिन्छ । यहाँ गोविन्द भट्टराई र स्वर्णिम वाग्लेजस्ता स्थापित पुरुष नेतासँगको उनको प्रतिस्पर्धा हुँदैछ । स्थानीय देवेन्द्र अधिकारीका अनुसार यो क्षेत्रमा न्यौपानेको जित केवल पार्टी मतमा निर्भर छैन । क्रस–भोट र असन्तुष्ट मत कुन उम्मेदवारतर्फ तानिन्छ भन्नेले नै अन्तिम नतिजा निर्धारण गर्न प्रमुख कारक बन्ने अधिकारीको मत रहेको छ । मधेशका चुनौतीपूर्ण क्षेत्रहरूमध्येको पर्सा–२ मा एमाले उम्मेदवार रिमाकुमारी यादवले मधेसकेन्द्रित दल र काँग्रेसको प्रभावसँग जुध्नुपर्ने देखिन्छ । यस क्षेत्रमा कांग्रेसका अजयकुमार चौरासिया, रास्वपाका सुशील कानु र नेकपाका मनोज चौधरीसँग यादवको प्रतिस्पर्धा हुँदैछ । बारा–३ मा ज्वालाकुमारी साहको मुख्य चुनौती जातीय समीकरणको सन्तुलन कायम राख्नु हो । यसअघि समेत सांसद र मन्त्री रहेकी साह यस क्षेत्रकी प्रभावशाली उम्मेदवार मानिन्छिन् । साहको बाटोमा कांग्रेसका फरमुल्लाह मन्सुर रहेका छन् । कांग्रेसका सहमहामन्त्रीसमेत रहेका मन्सुर हेभीवेट उम्मेदवार हुन् । मन्सुरबाहेक रास्वपाका अरविन्द साह र नेकपाका भरत साह पनि ज्वालाका लागि अवरोध हुन सक्छन् । महोत्तरी–४ मा एमालेको उपस्थिति कमजोर रहेकाले नीलम अधिकारीले धेरै नै जोड गर्नुपर्ने स्थानीय बताउँछन् । अधिकारीको सिंहदरवार यात्रामा अर्की महिला उम्मेदवार रास्वपाकी गौरीकुमारीसहित कांग्रेसका महेन्द्र यादव र नेकपाका भरत साह पनि अवरोध हुन सक्छन् । यस्तै, धनुषा–३ मा जुलीकुमारी महतो महासेठको सफलता स्थानीय पहिचान, जातीय सञ्जाल र समुदायमा प्रत्यक्ष पहुँचमा निर्भर रहने विश्लेषण गरिएको छ । यहाँ नेपाली कांग्रेसका हेभीवेट विमलेन्द्र निधि र रास्वपाका मनिष झा पहाड बनेर उभिएका छन् । एमालेले लुम्बिनी र मधेसजस्तै पहाडी र हिमाली जिल्ला ओखलढुङ्गामा अस्मिता थापा र सोलुखुम्बमा कल्पना राईका लागि व्यक्ति केन्द्रित प्रचार निर्णायक हुने बुझाइ स्थानीयको रहेको छ । ओखलढुंगामा पार्टीको आधार बलियो भए पनि अन्तिम मत परिणाम उम्मेदवारको व्यक्तिगत छवि, स्थानीय सम्बन्ध र क्षेत्रीय समर्थनमा निर्भर रहने स्थानीय बताउँछन् ।यस क्षेत्रमा थापाका लागि कांग्रेसका कुमार लुइँटेल, नेकपाका अम्बिर गुरुङ र रास्वपाका विश्वराज पोखरेल प्रमुख प्रतिस्पर्धी हुन् । सुनसरी–३ मा भगवती चौधरीले महिला मुद्दा उठाई अप्रत्याशित परिणाम निकाल्ने सम्भावना रहेको स्थानीय बताउँछन् । सोलुमा कल्पना राई पनि एमालेकी अर्की महिला उम्मेदवार हुन् । पहिलो पटक संघीय संसदको उम्मेदवार बनेकी राईसँग चुनावी यात्रामा उत्रेका अन्य उम्मेदवार पनि उनीजस्तै नयाँ छन् । राईलाई काउन्टर गर्न कांग्रेसले प्रकाशसिंह कार्की र रास्वपाले ऋषिधन राईलाई मैदानमा उतारेको छ । सुनसरी– ३ मा भगवती चौधरीले गत निर्वाचनमा पाँच दलीय गठबन्धनका हेभीवेट उम्मेदवार कांग्रेसका विजयकुमार गच्छेदारलाई पराजित गरेकी थिइन् । यसपटक गच्छेदार अघिल्लो पराजयको वदला लिने दाउमा छन् भने चौधरी विजयको निरन्तरताको तयारीमा छिन् । यस क्षेत्रमा चौधरीलाई रास्वपाका अशोक चौधरी र नेकपाका दुर्गेश चौधरीले पनि कडा टक्कर दिने देखिन्छ । यो निर्वाचन एमालेका महिला उम्मेदवारहरूका लागि चुनाव व्यक्तिगत जीत या हार मात्र होइन, नेपाली राजनीतिमा महिला नेतृत्वको सम्भावनाको परीक्षासमेत हो। यदि केही उम्मेदवार सफल भए त्यो केवल पार्टीका लागि होइन, समग्र राजनीतिक परिदृश्यमा महिला सशक्तिकरणका लागि निर्णायक मोड बन्न सक्छ ।
साइबर सुरक्षा र मिथ्या सूचना स्वतन्त्र तथा निष्पक्ष निर्वाचनका लागि गम्भीर चुनौती
काठमाडौं । आगामी फागुन २१ गते देशभर हुन गइरहेको निर्वाचनको सन्दर्भमा साइबर सुरक्षा र मिथ्या तथा भ्रामक सूचनाको बढ्दो जोखिमप्रति डिजिटल राइट्स नेपाललगायत विभिन्न सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । सरोकारवाला संस्थाहरूले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनअघिको समग्र अवस्था क्रमशः संवेदनशील बन्दै गएको उल्लेख गर्दै विशेषगरी मतदान अघिका तीन दिन अत्यन्तै जोखिमपूर्ण हुन सक्ने बताएको छ । विज्ञप्तिमा स्वतन्त्र तथा निष्पक्ष निर्वाचन भन्नाले केवल भौतिक मतदान प्रक्रियाको सुरक्षा मात्र नभई सूचना वातावरण मिथ्या सूचना, दुष्प्रचार र सूचना हेरफेरबाट मुक्त हुनु पनि उत्तिकै आवश्यक रहेको उल्लेख छ । योजनाबद्ध रूपमा फैलाइने गलत सूचनाले निर्वाचनको विश्वसनीयता, सामाजिक सद्भाव र सार्वजनिक विश्वासमा गम्भीर असर पार्न सक्ने सरोकारवालाहरूको धारणा छ । विज्ञप्तिअनुसार निर्वाचन आयोग र केही नागरिक समाज मिथ्या सूचना पहिचान तथा विश्लेषणमा सक्रिय देखिए पनि समग्र निर्वाचन पर्यवेक्षण संयन्त्र पर्याप्त रूपमा सक्रिय हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ । मतदानको मिति नजिकिँदै गर्दा मिथ्या सूचनाविरुद्ध सार्वजनिक सचेतना अभियान तीव्र बनाउन, सरकार, निर्वाचन आयोग, मिडिया र नागरिक समाजबीच प्रभावकारी समन्वय गर्न तथा पत्रकारहरूका लागि ‘मिथ्या सूचना ड्यासबोर्ड’ जस्ता साझा संयन्त्र विकास गर्न सुझाव दिइएको छ । त्यस्तै, डिजिटल युगमा निर्वाचनका बेला साइबर सुरक्षाले सार्वजनिक विश्वास र लोकतान्त्रिक स्थायित्वमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले नेपाल प्रहरीको साइबर ब्युरोलाई पर्याप्त स्रोत, जनशक्ति र प्राविधिक क्षमता उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । सामाजिक सञ्जालमा सक्रिय कन्टेन्ट क्रिएटरहरूलाई जिम्मेवार सूचना प्रवाहका लागि सचेत गराउन तथा मेटा र टिकटकजस्ता अन्तर्राष्ट्रिय प्लेटफर्मसँग निर्वाचन आयोगले समन्वय गरी मिथ्या सामग्री नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा नेपालको लोकतान्त्रिक प्रक्रियाको विश्वसनीयता सुरक्षित मतपेटिकाले मात्र नभई तथ्यपरक र सचेत सूचनामा आधारित जनमतले निर्धारण गर्ने उल्लेख गर्दै यस पहलको नेतृत्व निर्वाचन आयोगले गर्नुपर्ने धारणा राखिएको छ ।
ओखलढुंगा हत्या प्रकरण : २ जना पक्राउ, काठमाडौंमै बनेको थियो लुट्ने योजना
काठमाडौं । ओखलढुंगामा वृद्ध दम्पती हत्या गर्ने २ जना पक्राउ परेका छन् । गत माघ १२ गते चिशंखुगढी ६ का ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको हत्या गरेको आरोपमा २ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा सोही गाउँपालिकाकै ३४ वर्षीय धनबहादुर मगर र १७ वर्षीय बालक रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका १५ डल्लुको लखतीर्थ मार्गबाट पक्राउ गरेको हो । मगर र बालक लुटपाट गर्ने उद्देश्यले काठमाडौंमै योजना बनाएर हत्या गरेको खुल्न आएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए । गाउँघरमा अन्य व्यक्तिहरूले चिन्न सक्ने भनेर उनीहरूले राति हत्या गरेर फरार भएका थिए । हत्या गरेर भाग्दा काठमाडौंबाट गएको बाटो प्रयोग गरेको श्रेष्ठले जानकारी दिए । ‘उनीहरूले बस टिकट काट्दासमेत अर्को नाम प्रयोग गरेर टिकट लिएका थिए,’ उनले भने । उक्त हत्याको अनुसन्धान गर्न कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगा प्रहरीको टोलीले संयुक्त रूपमा अनुसन्धान गरेको थियो । गत १९ गते थप अनुसन्धानको विज्ञ टोली माग भएको र ब्यूरोबाट थप टोली गएर अनुसन्धान गरेको थियो ।
इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य
काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत इंग्ल्यान्डले नेपाललाई १८५ रनको उच्च लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको इंग्लान्डलेर निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो । इंग्ल्यान्डका लागि ज्याको बेथहेलले ५५ रनको र ह्यारी ब्रुक्सले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । बेथहेलले ३५ बलमा समान ४ चौका र छक्का प्रहार गर्दा कप्तान ब्रुक्सले भने ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । यी दुईबाहेक जोस बटलरले २६ रन बनाउँदा विल ज्याक्स ३९ रनमा नटआउट रहे । उनले १८ बलमा १ चौका र ४ छक्काको विष्फोटक इनिङ्स खेले । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिँदा शेर मल्ल र सन्दीप लामिछानेको नाममा १(१ विकेट रह्यो । विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ । समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।
‘फेक रेस्क्यू’ को आरोपमा डा. गिर्वाणराज तिमिल्सिना पक्राउ
काठमाडौं । ‘फेस्क रेस्क्यू’ गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ४४ वर्षीय डा. गीर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको हो । पर्वत मोदी गाउँपालिका २ का तिम्सिनालाई प्रहरीले श्रीधि अस्पताल लाजिम्पाटबाट पक्राउ गरेको हो । सीआईबीले माघ ११ गते पर्वतीय क्षेत्रबाट नक्कली उद्धार कागजात तयार गरी ठगी गरेको आरोपमा विभिन्न ट्राभल एजेन्सीका ६ जनालाई पक्राउ गरिएको जानकारी दिएको थियो । यसअघि सीआईबीले माउन्टेन रेस्क्युका सञ्चालक जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया तथा एभरेस्ट एक्स्पेरेन्स एन्ड एसीस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चालक एवं प्रबन्धक सुभाष केसीलाई पक्राउ गरिसकेको छ। उनीहरूले एउटै नियमित वा चार्टर्डबाट पाँच जनासम्म ल्याई फरक(फरक उद्दार गरेको बताएर करौडौंको बीमा दाबी गरेको देखिएको थियो । त्यस्तै, अनुसन्धानबाट एउटै स्थानबाट चार्टडमार्फत आएका धेरै पर्यटकलाई छुट्टाछुटै स्थानबाट फरक(फरक समयमा उद्धार गरेको भन्दै फाइदा उठाएको पनि देखिएको थियो। उनीहरूले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छविमा समेत असर पर्ने र बीमा सुविधासमेत बन्द हुन सक्ने गरेर काम गरेका थिए । पक्राउ परेकाविरुद्ध राष्ट्रहित कसुर, आपराधिक लाभको कसुर र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। फेक रेस्क्युको असर : बीमा प्रिमियम दोब्बर, नेपाल ‘नो-गो डेस्टिनेसन’ बन्ने खतरा पौने ३ अर्बको बीमा रकम पचाउने षडयन्त्र, सीआईबीले गर्यो भण्डाफोर